विराटनगरमा सम्भावित उम्मेदवारको चर्चा–परिचर्चा
विराटनगर, चैत १९ । निर्वाचनको तिथि नजिकिँदै जाँदा मोरङमा चुनावी चर्चा–परिचर्चाले तीव्रता पाएको छ ।
मोरङको ग्रामीण क्षेत्रदेखि विभिन्न बजारका चोक चोक तथा विराटनगर उपमहानगरपालिकाका गल्ली गल्लीमा निर्वाचनकाका बारेमा चर्चा–परिचर्चा सुरु भएको छ ।
‘यो निर्वाचन सम्पन्न भएपछि बढीमा नौ महिनाभित्रै सङ्घीय प्रदेश र संसद्को निर्वाचन हुन्छ ।’ स्थानीय तहको निर्वाचनको अत्यधिक प्रभाव ती दुई निर्वाचनमा पर्ने भएकाले सबै दलले आफ्ना उम्मेदवारलाई जिताउनका लागि आन्तरिक रुपमा प्रचारप्रसार सुरु गरिसकेका छन् ।
यतिखेर विराटनगरका चोकहरुमा कुन पार्टीबाट को–को उम्मेदवार हुने विषयमा अड्कल सुरु भएका छन् । निर्वाचनमा कुन पार्टीका नगर प्रमुख हुने र कसलाई उम्मेदवार बनाउँदा जित हुने विषयमा समेत चर्चा हुन थालेका छन् ।
विराटनगर उपमहानगरपालिकाको प्रमुखमा एक दर्जनभन्दा बढी व्यक्तिले सार्वजनिक रुपमै उम्मेदवार बन्ने इच्छा प्रकट गरिसकेका छन् ।
वैशाख ३१ गते नै निर्वाचन हुने सम्भावना बढ्न थालेपछि मतदातामा देखिएका अन्योलता क्रमिक रुपमा घट्न थालेका छन् । दुई दशकको अन्तरालमा हुन गइरहेको यस निर्वाचनमा पहिलोपल्ट उम्मेदवार बन्न इच्छुक भएका व्यक्ति र पहिलोपल्ट मतदान गर्ने अवसर प्राप्त गरेका मतदाता दुबै अत्यधिक उत्साहित देखिन्छन् ।
विराटनगर उपमहानगरपालिकाको प्रमुख पदका लागि नेपाली काँग्रेसका आधा दर्जनभन्दा बढीले आफ्ना इच्छा सार्वजनिक गरिसकेका छन् । यसरी इच्छा जाहेर गर्नेहरुमा नेपाली काँग्रेस मोरङका सचिव नागेश कोइराला, नगर सभापति भीम पराजुलीका साथै राजु थापा, गीता आचार्य, मनोज बस्नेत, नारायणबाबु कार्की र पूmलकुमार लालवानी रहेका छन् ।
सो पदमा नेकपा (एमाले)को तर्फबाट पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, पार्टीका पूर्व जिल्ला अध्यक्ष महेश रेग्मी, सागर थापा, बाबुराम कार्की र भगवान थापाको चर्चा–परिचर्चा छन् । यस्तै नेकपा माओवादी(केन्द्र)बाट भोगेन्द्र यादव र उपप्रमुखमा नमिता न्यौपानेले विराटनगर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिइने सम्भावना रहेको चर्चा छ ।
विराटनगर उपमहानगरपालिकाको प्रमुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकातर्फबाट विराटनगर उपमहानगरपालिका पूर्वप्रमुख प्रह्लाद साह र दुर्गा अधिकारी तथा दिनेश साहको चर्चापनि त्यत्तिकै छ ।
मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने कि नहुने चर्चा सँगै अब निर्वाचन निश्चित रुपमै हुने विश्वास आम मतदातामा देखिएका छन् । रासस
नवलपरासी बस दुर्घटनाः पाँच जनाको मृत्यु
कावासोती, चैत १९ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा आज बिहान ट्रकले बसलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलममै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । इलाका प्रहरी नवलपुरका अनुसार पश्चिमबाट काठमाडौँ हिँडेको ना४ख ३९९५ नंको बसलाई सोही दिशातर्फ गुडिरहेको युपी ५८ टि ५४७ भारतीय ट्रकले ठक्कर दिँदा दाङका १६ वर्षीय राम चौधरी, १७ वर्षीय वीरबल चौधरी, सुर्खेतका ३८ वर्षीय हरिराम राम्जाली मगर र ट्रकका चालक भारत विहार घर भएका २५ रियाज खान र अर्का एक जनाको मृत्यु भएको हो । घाइतेको अहिले मध्यबिन्दु सामुदायिक अस्पताल डन्डामा उपचार भइरहेको छ । बस बिग्रेर टायर फेर्ने क्रममा आज बिहान २ः४५ बजे ट्रकले बसलाई ठक्कर दिएको थियो । रासस
सातै प्रदेशमा कांग्रेसले सभा गर्ने
काठमाडौं, चैत १९ । कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गर्दै सातवटै प्रदेशमा आमसभा र सबै स्थानीय तहमा केन्द्रीय नेताको उपस्थितिमा सभा गर्ने निर्णय गरेको छ । नेता रामचन्द्र पौडेल नेतृत्वमा बनेको निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठकले सातवटै प्रदेशमा सभापतिसहित शीर्ष नेताले सम्बोधन गर्ने गरी आमसभा गर्ने भएको छ । साथै, ७ सय ४४ स्थानीय तहमै केन्द्रीय नेताको उपस्थितिमा सभा गर्ने निर्णय गरेको जानकारी केन्द्रीय सदस्य रमेश रिजालले दिए । ‘पार्टीका शीर्षस्थ नेताहरू सहभागी भई सातवटा प्रदेशमा ठूला आमसभा गर्ने र ७ सय ४४ स्थानीय तहमा केन्द्रीय नेताले सम्बोधन गर्ने गरी सभा गर्ने निर्णय समिति बैठकले गरेको छ,’ समिति सदस्यसमेत रहेका रिजालले नयाँ पत्रिकासँग भने, ‘ठूला आमसभालाई सभापतिसहित शीर्षस्थ नेतृत्वले सम्बोधन गर्नुहुन्छ । स्थानीय तहका सभालाई पनि सम्बन्धित प्रदेशका केन्द्रीय नेताले अगुवाइ गर्नेछन् ।’ चुनावमा कांग्रेसको पक्षमा जनमत बढाउन प्रचारप्रसारमा केन्द्रीय नेतालाई गाउँ तहसम्मै परिचालन गर्ने तयारी गरिएको जानकारी उनले दिए । ‘ठूला सभामा केन्द्रीय नेता सहभागी हुनुहुन्छ । तर, यसका लागि तालिका बनाएर ल्याउन संयोजकलाई सुझाएका छौँ,’ रिजालले भने, ‘अब संयोजकले चुनावलक्षित प्रचारप्रसारका कार्यक्रम बनाएपछि थप छलफल गर्छौँ ।’ केन्द्रीय कार्यालयका सचिव प्रेम केसीका अनुसार नेता पौडेलले शनिबार कार्यालयका कर्मचारीहरूको सहयोगमा चुनावी प्रचारप्रसारका कार्यक्रम बनाउन छलफल गर्ने भएका छन् । परिचालन समितिको बैठकले पार्टी केन्द्रदेखि जिल्ला क्षेत्र, गाउँ, नगर हुँदै वडा तहसम्म एउटै अठोट र अभियानका साथ पार्टीलाई थप संगठित गर्ने र स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई प्रथम स्थान हासिल गराउने गरी प्रचारप्रसार गर्नुका साथै संगठन सुदृढ गर्ने निर्णय पनि गरेको छ । पार्टीका सबै तहमा स्थानीय निर्वाचन परिचालन समिति गठन गरेर कांग्रेसको पक्षमा माहोल सिर्जना गर्ने तयारी कांग्रेसको छ । कांग्रेसले स्थानीय तहका उम्मेदवार सम्बन्धित पार्टीका समितिले नै गर्ने कार्यविधि बनाएको केन्द्रीय कार्यालयका सचिव केसीले जानकारी दिए । पार्टीमा निरन्तरता दिएका, योग्य र सक्षमलाई उम्मेदवार बनाउने तयारी कांग्रेसको छ । कार्यक्रमको खाका बनाउँदै पौडेल : संसद्को सबैभन्दा ठूलो पार्टी कांग्रेसले केही दिनअघि बसेको बैठकबाटै निर्वाचन परिचालन समिति गठन गरेको थियो । शुक्रबार पहिलो बैठकले चुनावलक्षित सभामा शीर्ष नेताले नै सम्बोधन गर्ने निर्णय गरे पनि कहाँ, कस्तो कार्यक्रम गर्ने भन्ने खाका छिटो बनाउन पौडेललाई जिम्मा दिएको छ । पौडेलले कार्यकर्ता परिचालन, प्रचारप्रसारको खाकासम्मका तालिका बनाउनेछन् । प्रदेश तहको घोषणापत्रको प्रस्ताव : निर्वाचन परिचालन समितिको बैठकमा सदस्यहरूले पार्टीले स्थानीय तहको चुनावलक्षित घोषणापत्र तयार गर्दा प्रदेश तहलाई आधार मान्न सुझाब दिएका छन् । ‘स्थानीय तहको जानकारी सम्बन्धित क्षेत्रकालाई नै बढी हुन्छ । त्यसैले चुनावी घोषणापत्र तयार केन्द्रको मात्रै होइन प्रदेश तहको पनि तयार गर्नुपर्छ भन्ने सुझाब दिएका छौँ,’ रिजालले भने । घोषणापत्र तयारी समितिले काम थाल्दै : केन्द्रीय सदस्य महेश आचार्य नेतृत्वको घोषणापत्र तयारी समितिले केही दिनपछि मात्रै घोषणापत्रको तयारी थाल्ने भएको छ । आचार्यले समिति अझै पूर्ण नभइसकेको भन्दै केही दिनपछि मात्रै चुनावी घोषणापत्र तयारी थाल्ने जानकारी दिए । निर्वाचन परिचालन समितिमा को–को ? : प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, डा. रामशरण महत, जीवनबहादुर शाही, अजुर्ननरसिंह केसी, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, एनपी सावद सदस्य छन् । त्यस्तै, अन्य सदस्यमा आनन्दप्रसाद ढुंगाना, दीपक गिरी, नवीन्द्रराज जोशी, कमला पन्त, अम्बिका बस्नेत, महेन्द्र यादव, पुष्पा भुसाल, शंकर भण्डारी, गगन थापा, जीवन परियार, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, गुरुराज घिमिरे, रामकृष्ण यादव, हृदयराम थानी, विश्वप्रकाश शर्मा, रमेश लेखक, सरिता प्रसाईं, सूर्यमान गुरुङ र रोमी गौचन छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।
अहिलेसम्म भए १२ स्थानीय निर्वाचन
काठमाडौं, चैत १९ । नेपालमा निर्वाचनको इतिहास वि.सं. २००४ को स्थानीय निर्वाचनबाट सुरु भएको थियो । काठमाडौं म्युनिसिपालिटीको नाममा २००४ जेठ ३ गते तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले निर्वाचन गराएका थिए । निर्वाचनबाट गेहेन्द्रशमशेर थापा म्युनिसिपालिटीको पहिलो सभापति भएका थिए । -त्यतिवेलाको निर्वाचनमा करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । महिलालाई भने मत हाल्ने अधिकार दिइएको थिएन । २१ वर्ष पुगेका पुरुषलाई मात्रै मतदान गर्न पाउने अधिकार थियो । -त्यतिवेला म्युनिसिपालिटीमा १३,५५३ घरधुरी र ६८,११८ मतदाता थिए । २१ वटा वडामध्ये सबैभन्दा धेरै मतदाता भएको ११ नम्बर वडामा ९३६ घरधुरी र ६,६०३ मतदाता थिए । सबैभन्दा सानो १८ नम्बर वडामा २०९ घरधुरीमा ४४२ जना मतदाता थिए । वडा नं. २१ बाट निर्विरोध निर्वाचित भएका भुवनलाल प्रधान नेपालका पहिलो जननिर्वाचित प्रतिनिधि हुन् । -मतदातालाई प्रधानमन्त्री पद्मशमशेरको आदेश थियो, ‘तिमीहरूको मद्दतको निमित्त खटिएका कर्मचारीहरूको रेखदेखमा नगरपालिकाको काम गर्न सक्ने तिमीहरूको प्रतीतको असल, लायक, अनुभवी, प्रतिनिधि छानी पठाउने काम गर ।’ तर, पहिलो निर्वाचित समितिमा भाँडभैलो -२१ वडाबाट निर्वाचित २१ जना र सरकारले मनोनीत गरेका १० जना मिलाएर म्युनिसिपालिटी बोर्ड गठन भएको थियो । तर, मनोनीतहरूसँग विवाद भएपछि निर्वाचित २१ मध्ये १६ जना सदस्यहरूले राजीनामा दिएका थिए । रिक्त स्थानमा उपचुनाव गराउने घोषणा भए पनि वडामा उम्मेदवार नै तयार नहुँदा निर्वाचन हुन सकेन । वडाहरूबाट निर्वाचित र मनोनीत गरी १५ जना पदाधिकारी भने २००७ सालको आन्दोलनसम्म नगरपालिकामा कार्यरत थिए । २०१० मा पहिलोपटक महिलालाई मताधिकार -००७ सालमा प्रजातन्त्र आएपछि १७ भदौ ०१० मा काठमाडौं नगरपालिकाको निर्वाचन भएको थियो । तर, यसपालि २१ वडालाई घटाएर १८ वटा बनाइएको थियो । साथै काठमाडौं म्युनिसिपालिटीको नाम परिवर्तन गरी काठमाडौं नगरपालिका पनि यसै वेला भएको हो । -२१ वर्ष उमेर पुगेकाहरूको गोप्य मतदानद्वारा निर्वाचन भएको थियो । यो निर्वाचनमा महिलाले पहिलोपटक मतदान गर्ने अधिकार पाएका थिए । साथै महिला प्रतिनिधि पनि निर्वाचित भएका थिए । ५ वटा दलले निर्वाचनमा भाग लिएका थिए भने स्वतन्त्र पनि उम्मेदवार भएका थिए । त्यतिवेला १८ पदका लागि ७३ जनाले उम्मेदवारी दिएका थिए । -काठमाडौंको वडा नम्बर ८ बाट ४ हजार ११३ मत खसेकोमा २ हजार ४५५ मत ल्याएर साधनादेवी प्रधान पहिलो महिला जनप्रतिनिधि बनेकी थिइन् । २०१४ मा सभापति कांग्रेस, उपसभापति कम्युनिस्ट -प्रत्येक ४ वर्षमा नगरपालिकाको निर्वाचन गर्ने व्यवस्थाअनुसार काठमाडौं नगरपालिकाको अर्को निर्वाचन २०१४ माघ ७ मा भएको थियो । निर्वाचनमा नगरपालिकाका १८ वडा सदस्यका लागि ४९ जनाले उम्मेदवारी दिएका थिए । -निर्वाचनबाट नगरपालिका सभापतिमा कांग्रेसबाट प्रयागराजसिंह सुवाल र उपसभापतिमा नेपाल कम्युनिस्ट पार्टीका कृष्णलाल श्रेष्ठ चुनिएका थिए । ०१८ को निर्वाचनमा हात उठाएर मतदान -१ पुस ०१७ मा तत्कालीन राजा महेन्द्रले पञ्चायती व्यवस्था सुरु गरेपछि ०१८ फागुन ७ गते गाउँ पञ्चायतको निर्वाचन गराएका थिए । गाउँसभाभित्रका वडाबाट छानिएका सदस्यबाट प्रधानपञ्च र उपप्रधानपञ्च छान्ने व्यवस्था थियो । गाउँसभालाई ९ वटा वडामा विभाजन गरिएको थियो । निर्वाचन गर्न ४ लाख रुपैयाँ खर्च भएको थियो । -मतदातालाई मत दिने ठाउँको कोठामा लगेर ढोका बन्द गरी उम्मेदवारको नाम क्रमशः भन्दै हात उठाउन लगाइन्थ्यो । मत दिइसकेको मतदातालाई क्रमशः बाहिर पठाउँदै प्रत्येक उम्मेदवारको पक्षमा उठेको हातको गणनाका आधारमा विजयी घोषणा गरिन्थ्यो । ०१९ मा अञ्चल पञ्चायतको पनि निर्वाचन १० हजारभन्दा बढी जनसंख्या भएकोे नगरमा नगर पञ्चायतको स्थापना गर्न सक्ने व्यवस्थाअनुसार ०१९ मा नगर पञ्चायतको निर्वाचन गरिएको थियो । निर्वाचन आयोगले गराएको यो पहिलो निर्वाचनमा उम्मेदवारले ५० रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था थियो भने उम्मेदवारले चाहेको निर्वाचन चिह्न उपलब्ध गराउने व्यवस्था पनि थियो । सोही वर्ष जिल्ला पञ्चायतको निर्वाचन पनि भएको थियो । यो निर्वाचन गोप्य मतदानबाट सभापति, उपसभापति र ९ जना सदस्य गरी ११ जनाको कार्यकारिणी समितिको निर्वाचन भएको थियो । साथै, यसै वर्ष अञ्चल पञ्चायत निर्वाचन पनि भएको थियो । अञ्चलभित्रका जिल्ला पञ्चायतका सदस्यहरू स्वतः सदस्य बन्ने व्यवस्था थियो । सभापति, उपसभापति र ९ जना सदस्य हुने गरी अञ्चल पञ्चायत गठनको व्यवस्था थियो । ०२० मा उम्मेदवारलाई निर्वाचन रङ यसपालि निर्वाचन हुनु दुई दिनअघि उम्मेदवारलाई रङ रोजाइएको थियो । उम्मेदवारको रोजाइअनुसार गोप्य कोठामा थरीथरीका मतपेटिका राखिएको थियो । मतदाताहरू भित्र गएर आफूले रोजेको उम्मेदवारको रङको बाक्सामा मत खसाल्थे । जसको बाक्सामा धेरै मत हुन्थे उही उम्मेदवार विजयी घोषित हुने व्यवस्था थियो । यो खबर आजको नयाँ पत्रिकामा छ ।
‘एपी वान टेलिभिजन’ सुभारम्भ
काठमाडौँ, चैत १९। अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित ‘एपी वान टेलिभिजन’ आजबाट औपचारिक रुपमा प्रसारणमा आएको छ । शुक्रबार उक्त टिभीको आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सुभारम्भ गरेका छन् । सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालमा भएको राजनीतिक परिवर्तन र जागरणसँगै मिडियाको क्षेत्रमा पनि तीब्र विकास भएको बताए । मिडियाले तराई, पहाड, हिमाल तथा विभिन्न जातजाति, क्षेत्र, वर्ग र संसारभरी छरिएका नेपालीलाई एकताबद्ध गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा उनको जोड थियो । प्रधानमन्त्री दाहालले देशमा आएको परिवर्तनलाई संस्थागत गर्न राजनीतिक सङ्क्रमणको अन्त्य गरी आर्थिक विकास गर्न पनि सबै जुट्नुपर्ने खाँचो औँल्याए । उनले संविधानको स्वीकार्यता बढाउँदै त्यसको कार्यान्वयन गरी राजनीतिक स्थिरता कायम गरी देशको आर्थिक विकास गर्न निर्वाचन एउटा महत्वपूर्ण कडी भएको बताए। नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सञ्चार माध्यमको भीडमा अहिलेको आवश्यकतालाई ध्यान दिँदै मिडिया सञ्चालन गरिएको र मुलुकको आर्थिक विकासमा भूमिका खेल्ने धारणा व्यक्त गरे। रासस
के सहमति भयो सरकार र मधेसी मोर्चाबीच?
काठमाडौं,चैत १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सरकारमा संलग्न कांग्रेस, माओवादी केन्द्र र राप्रपा तथा मधेशी मोर्चाको संयुक्त बैठक सम्पन्न भएको छ । शुक्रबार साझसम्म बालुवाटामा बसेको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले यसअघि नै प्रस्तुत गरेका संविधान संशोधनमा सिमाकंनको विषय पछि टुंगो लगाउने गरी अन्य विषयमा सहमति जुटाएर स्थानीय तहको निर्वाचनमा जुट्ने प्रस्तावलाई पुन प्रस्तुत गरेका थिए । प्रधानमन्त्रीले पस्तुत गरेको प्रस्तावमा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरेका भाषाहरूलाई संविधानमा अनुसूची थप गरी समावेश गर्ने, राष्ट्रिय सभाको निर्वाचक मण्डलवाट गाउँ र नगरपालिकाका अध्यक्ष र उपाध्यक्षलाई नराख्ने, सिमांकनका लागि सङ्घीय आयोग गठन गर्ने, स्थानीय तहको सङ्ख्या जनसङ्ख्याको अनुपातमा निर्धारण गरिने, सङ्घीय संरचना र सीमाङ्कनको विषय सङघ र प्रदेशको निर्वाचन अघि नै टुङ्ग्याउने तथा सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका बाँकी मुद्दाहरूका सन्दर्भमा राजनीतिक सहमतिको आधारमा गर्ने प्रस्ताव राखेका थिए । आजको बैठकमा प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल र परामर्श गरी संविधान संशोधनको प्रस्ताव तयार पार्ने जिम्मा प्रधानमन्त्रीलाई दिइएको माओवादी केन्द्रकी प्रवक्ता पंफा भुषालले जानकारी दिएकि छिन्। बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीद्वय कृष्णबहादुर महरा र विमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान शिंह, माओवादी केन्द्रका नेताहरु वर्षमान पुन, मातृका यादव, पंफा भुषाल, चन्द्रप्रकाश खनाल, राप्रपा नेता दीपक बोहरा, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महत्तो, अनिल झा, शरदशिंह भण्डारी, राजेन्द्र श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो ।
आजबाट युरो-४ मापदण्डको तेल
काठमाडौं, चैत १९ । नेपाल आयल निगमले आजबाट युरो-४ मापदण्डको तेल बिक्रीवितरण गर्ने भएको छ । सन २००७ मा नै युरो-४ मापदण्डको इन्धनको अवधारणा आएपनि सन २०१० मा विश्व बजारमा लागू भएको थियो । आज (अप्रिल १)देखि युरो-४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात गर्न लागेको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए । हाल नेपालले युरो-३ मापदण्डको इन्धन आयात र विररण गरिरहेको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
‘डिप्रेसन न्यूनिकरणमा मिडियाको महत्वपूर्ण भूमिका हुन्छ’
महेन्द्रराज सिंह काठमाडौ, चैत १८ । प्रेस काउन्सिल नेपालको आयोजना तथा राष्ट्रिय मानसिक स्वास्थ्य स्वयंसेवा संघ (KOSHISH) को संयोजनमा आयोजित “मानसिक स्वास्थ्य सचेतनामा मिडियाको भूमिका” बिषयक छलफल कार्यक्रममा बक्ताहरुले मनोसामाजिक अपाङ्तालाई न्यूनिकरण गर्र्न मिडियाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरेका छन् । कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णवहादुर कार्कीले मानसिक समस्या बढ्दै गएपछि आत्महत्या तथा सडकमा पुग्ने गरेको घटनाहरु बढिरहेकोमा यसको न्यूनिकरणमा मिडिया लाग्नुपर्ने धारणा राख्नुभएको थियो भने राष्ट्रिय मानसिक स्वास्थ्य स्वयंसेवा संघ (KOSHISH) का अध्यक्ष मातृका देवकोटाले भुकम्प, कुलतबाट उत्पन्न लगायतका विविध समस्याले मनमा निरन्तर जरो गाडेर बस्ने, हप्तादिन भन्दा बढीलम्बियो भने मानसिक रोगको लक्षण देखा पर्दछ । यसको एक्सरे, एमआरआईबाट मापन नहुने बताए । उनले भने, ‘नेपालमा ६० लाख बढी कुनै न कुनै किसिमको डिप्रेसनबाट ग्रस्त रहेको प्रतिवेदन छ ।’ कार्यक्रमका अध्यक्षता गरेका काउन्सिल सदस्य किशोर श्रेष्ठले मानसिक रुपमा विक्षिप्त पत्रकारहरुको अवस्था र दुर्घटनाका बारेमा धारणा राख्दै काउन्सिलले प्रिन्ट मिडियामा सीमित नरही विद्युतीय माध्यममा अनुगमन भैरहेको बताएका छन् । कार्यक्रममा मानसिक स्वास्थ्यमा ध्यान मनोसामाजिक अपाङ्ताग्रस्त भई सडकमा पु¥याईएका र उनीहरुलाई उद्धार गरिएको सम्वन्धी भिडियो पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा चक्रपाणी नेपाल, सुनिलकुमार केसी, अंकुर न्यौपाने, अच्युत घिमिरे, अम्बिका भण्डारी, अनिल घिमिरे लगायतले पत्रकारिता खोज तथा अनुसन्धानमूलक, समस्या समाधानमूलक, सचेतनाका कार्यक्रम निरन्तर र ग्रामीणमूखि हुनुपर्ने र मानसिक समस्या डिप्रेसन न्यूनिकरण गर्नुपर्नेमा जोड दिएका थिए ।
बालिका बलात्कारीलाई १४ वर्ष जेल सजाय
ताप्लेजुङ, चैत १८ । नौवर्षीया बालिकालाई गत फागुनमा बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक पुरुषलाई जिल्ला अदालत ताप्लेजुङले आज १४ वर्षको कैदको फैसला गरेको छ । याङ्वरक गाउँपालिकास्थित थुम्बेदिनका २० वर्षीय विकास विश्वकर्मालाई जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले सो फैसला गरेको हो । विश्वकर्माको जायजेथा केही नदेखिएकाले रु ७५ हजार पीडितलाई क्षतिपूर्ति भराउनसमेत आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार गोपाल थापाले जानकारी दिए । त्यस्तै पीडित बालिकाको आर्थिक अवस्थासमेत नाजुक रहेकाले शिक्षादीक्षाका लागि जिल्ला बालकल्याण समितिलाई व्यवस्था गर्न आदेश दिइएको छ ।
स्थानीय तहनै जनसत्ता हो : अधिकारी
पोखरा, चैत १८ । नेकपा माओबादी केन्द्रको स्थायी समिति सदस्य एवं प्रदेश नं. ४ का संयोजक हरि अधिकारी कुमारले स्थानीय तहनै जनसत्ता भएको बताएका छन् । नेकपा माओबादी केन्द्र वडा नं. ६ को वडा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अधिकारीले आज गाउँ गाउँमा अधिकार पुग्नु जनसत्ता भएको बताए । माओबादीका कारण स्थानीय तह निर्माण भएको भन्दै अधिकारीले जस्तो सुक्कै अबस्थामा पनि माओबादी देशको लागिपछि नहट्ने बताएका छन् । अर्को प्रसंगमा अधिकारीले ‘सिङ नभएको गोरुको नाम तिखे’ भए जस्तै अहिले एमाले अध्यक्ष केपी ओलीका भक्तहरुले राष्ट्रबादी भन्ने गरेको बताए । राष्ट्रनिर्माणमा ओलीको योगदान गौण रहेको अधिकारीको भनाई छ । उखान टुक्काले कोही पनि राष्ट्रबादी हुन नसक्ने अधिकारीको भनाई छ । उनले भारतले अघोषित रुपमा नाका बन्दी लगाउँदा जनताले पाएको दुःखको स्मरण गर्दै केपी ओलीले संविधान कार्यन्वय गर्न नसकेकोले सरकार ढालेको बताए । अधिकारीले माओबादीले आधा निर्बाचन जितेको बताउदै निर्बाचन हुँदैन कि भन्ने शंका नगर्न कार्यकतालाई आग्रह गरे । कार्यकर्तालाई चुनावको तयारीमा लाग्न अधिकारीले निर्देशन दिए । यसै विच नयाँ शक्तिपार्टीमा आबद्ध भएका ३३ जना पूर्व माओबादीहरुले पार्टी परित्याग गरी माओबादी (केन्द्र)मा प्रवेश गरेका छन् । नयाँ शक्ति पार्टीका प्रदेशनं ४ का उद्योग बाणिज्य विभागका सदस्य गोविन्द प्रसाद न्यौपाने सहित ३३ जना माओबादी केन्द्रमा प्रवेश गरेका हुन यस्तै नेकपा एमाले युवा संघ पुरुन्चौरका वडा कमिटि सदस्य पुर्ण कार्की ,एमालेका टेकनाथ भण्डारी र विष्णु माया भण्डारी लगायत लाई कार्यक्रमका प्रमुख अतिति अधिकारी र वडा अध्यक्ष हरि भण्डारीले खादा अविर लगाएर पार्टी प्रवेश गराएका छन् । कार्यक्रममा नेकपा माओबादी केन्द्रका पोलिट ब्युरो सदस्य एवं कास्की संयोजक दिपक कोइराला (रुपक), पोलिट ब्युरो सदस्य गंगा पोखरेल, अनेमसंघ क्रान्तिकारी कास्की अध्यक्ष कल्पना पाण्डे, शिक्षाविद एवं अधिबत्ता युवराज पराजुली, युवा नेता जितु गुरुङ, वडा नं. १७ का अध्यक्ष मनु खत्री लगायतले बोलेका थिए । हरि भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव इन्द्र भण्डारीले गरेका थिए ।
उपप्रधानमन्त्री थापाले भने, ‘२० वर्षपछि हुन लागेको याे चुनावमा सबैले सक्रिय रुपमा लाग्नुपर्छ’
काठमाडौँ, चैत १८ । उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा सहभागी हुन तराई–मधेस केन्द्रित दललाई आग्रह गरेका छन्र । काठमाडौँ महानगरपालिकाकोे तत्काल सुधारको कार्ययोजना सार्वजनिकीकरण समारोहमा बोल्दै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले २० वर्षपछि हुन लागेको चुनावमा सबै नेपाली जनतालाई सक्रिय रुपमा सहभागी हुन आग्रह गरेका छन् । मन्त्री थापाले जनप्रतिनिधिलाई सबल, सक्षम र व्यवस्थित स्थानीत तह हस्तान्तरण गर्नका लागि तयार रहन स्थानीय तहलाई निर्देशन दिए । मन्त्री थापाले पुरातात्विक महत्व रहेको काठमाडौँका भवनलाई संरक्षण गर्न, बालमैत्री उद्यान निर्माण तथा बर्खाको समय सुरु हुनुभन्दा पहिले नै काठमाडौँको सडकको सबै खाल्डाखुल्डी पुर्न आग्रह गरे । कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले काठमाडौँसहित अन्य तीन महानगरपालिका हुने सबै काम विद्युतीय माध्यमबाट गर्दै नागरिकलाई छिटो सजिलो र प्रभावकारी सेवा दिन कर्मचारीलाई अनुरोध गरे । प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले काठमाडौँ महानगरलाई छरितो नगरका रुपमा विकास गर्न खानेपानी, बिजुली, फोहोरमैला व्यवस्थापन, सुरक्षाको सुनिश्चिता जस्ता काममा ध्यान दिनुपर्नेमा जोड दिए । कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले नगरवासीलाई अनुभूत हुने गरी काम गर्नाका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए ।
कर्णाली नदीमा पौडी खेल्न गएका दुई वेपत्ता
कालीकोट, चैत १८ । कालिकोटको लालिघा जिटे बजारस्थित कर्णाली नदीमा पौडी खेल्न गएका दुई जना वेपत्ता भएका छन् । बेपत्ता हुनेमा भट्ट गाविस–८ का १३ वर्षीय महेन्द्र धिताल र राम्नाकोट–२ का रत्नप्रसाद आचार्य रहेका छन् । प्रहरी चौकी हुल्मका प्रमुख कर्मवीर चौधरीकाअनुसार धितालले पौडी खेल्ने क्रममा थाकेर बचाऔं–बचाऔं भनिरहेकाले आचार्य बचाउन जाँदा दुवैजना बेपत्ता भएका हुन् । बेपत्ता दुवैजनाको खोजी कार्य जारी रहेको प्रमुख चौधरीले बताए ।
भारतीय वन रक्षकद्वारा चार नेपाली पक्राउ
बर्दिया, चैत १८ । नेपाल–भारत सीमाअन्तर्गत बर्दियाको दशगजा नजिकैबाट भारतीय वन रक्षक टोलीले चारजना नेपालीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय २० वर्षीय सुशील कुमाल, २३ वर्षीय नरबहादुर कुमाल तथा ४५ वर्षीय सुनिल कुमाल र राजेन्द्र रेउ रहेका छन् । मधुवन नगरपालिका–३ दशगजा पिलर नम्बर ८२ नजिकैबाट भारतीय वन रक्षक गस्ती टोलीले उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ । भारतीय जङ्गलबाट १० फिट लामो दुईवटा काठको गोलिया लिएर नेपाल आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको दाबी भारतीय कतर्निया वन्यजन्तु आरक्ष टोलीको छ । रासस
रेडियो नेपालले प्रादेशिक प्रशारण सुरु गर्ने
काठमाडौ, चैत १८ । सङ्घीय प्रणालीमा मुलुकको रुपान्तरणसँगै रेडियो नेपालले प्रादेशिक प्रसारण आरम्भ गर्ने भएको छ । रेडियो नेपालको ६७औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा सातै प्रदेशमा आधुनिक सुविधासहितको प्रसारण केन्द्र स्थापना गरी प्रादेशिक प्रसारण आरम्भ गर्न लागिएको जानकारी दिइएको हो । ती प्रसारण आउँदो आर्थिक वर्षमा सुरु हुने योजना छ । संस्थाको साङ्गठनिक ढाँचालाई संविधानबमोजिम प्रदेश संरचनामा लान सङ्गठन तथा व्यवस्थापन अध्ययन भइसकेको र प्रादेशिक प्रसारणबारे सरोकारवाला र श्रोतासँग अन्तक्र्रिया गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले बताए । हाल २४ सैँ घन्टा केन्द्रीय प्रसारण गरिरहेको रेडियो नेपालले १८ घन्टा प्रदेश प्रसारणको तयारी गरेको छ । मुलुककै जेठो प्रसारण संस्था रेडियो नेपाल विसं २००७ चैत २० मा स्थापना भएको हो । हाल यसले २१ भाषामा समाचार र १८ भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ । यसले नियमितरुपमा जागरण गीत तथा फूलबारी गीत सम्मेलन गर्दै आएको छ । कार्यकारी निर्देशक कार्कीले रेडियो नेपाल हाल ८६ प्रतिशत जनसङ्ख्याबीचमा प्रसारण पहुँचमा रहेको र प्राविधिक स्तरोन्नतिका लागि नयाँ ट्रान्समिटर आउने क्रममा रहेको जानकारी दिए ।
दोलखामा भएको ट्रिपर दुर्घटनामा एक जनाको ज्यान गयो, दुई घाइते
दोलखा, चैत १८ । लु अ प ५४६ नम्बरको ट्रिपर दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोट कालीदहमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बिहीबार बेलुका भएको उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् । ज्यान जानेमा बैतेश्वर गाउँपालिका–१ गैरीमुदीका संजिव तमाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए । दुर्घटनामा गैरीमुदीका प्रभुशरण मोक्तान र गैरीमुदीकै ट्रिपर चालक अविनाश तमाङ घाइते भएका छन् । चालक तमाङको चरिकोटमा उपचार हुन नसकेपछि बिहीबार राति नै उपचारको लागि काठमाडौं लगिएको छ । अर्का घाइते प्रभुशरण मोक्तानको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालमा उपचार भइरहेको ।
मधेसी मोर्चाका कार्यकर्ताद्धारा नगरपालिका र जिससमा तोडफोड
कञ्चनपुर (सप्तरी), चैत १८ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समिति र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । सरकारद्वारा घोषित निर्वाचन र स्थानीय तह पुनःसंरचनामा असन्तुष्टि जनाउँदै १० दिनअघि लगाइएको ताला प्रहरीले खोलेको भन्दै मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् । तोडफोडका कारण राजविराज नगरपालिकाका झ्याल, ढोका, टेबुल कुर्सी, कम्प्युटरलगायतमा क्षति पुगेको छ । लगत्तै नाराजुलुससहित जिल्ला समन्वय समितिमा पुगेका मोर्चा कार्यकर्ताले त्यहाँ पनि लेखा, प्रशासन र योजना शाखामा तोडफोड गरे । उनीहरुले केही बेरअघि सुरक्षाकर्मीले खोलेका दुवै कार्यालयमा पुनः तालावन्दी गरेका छन् । दुवै कार्यालयमा गरिएको तोडफोडवाट रु १० लाखभन्दा बढीको क्षति भएको कर्मचारीले जानकारी दिएका छन् । त्यसैगरी जिल्ला मालपोत कार्यालयलाई पुरानै संरचनाअनुसार राजस्व नलिएको भन्दै मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेका छन् । मालपोत प्रमुख दधीराम गुरागार्इंले भने सरकारले भनेअनुसार हामीले राजस्व उठाउने हो र सोही अनुसार राजस्व उठाउने बताउनु भयो । रासस


>