राजनीतिक र प्रशासनिक कारणले महासङ्घको चुनाव रोकियो
रोल्पा, चैत १६। नेपाल पत्रकार महासङ्घ रोल्पाको यही चैत ११ गते हुने भनिएको चुनाव राजनीतिक र प्रशासनिक कारण रोकिएको खुलासा भएको छ ।
नेपाल पत्रकार महासङ्घको ६२ औं स्थापना दिवसका अवसरमा रोल्पाको लिबाङमा आयोजित स्थानीय तहको निर्वाचनमा मिडियाको भूमिका विषयक अन्तक्र्रिया तथा चियापान कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो खुलासा गरेका हुन् ।
महासङ्घ जिल्ला शाखाका अध्यक्ष महेश न्यौपानेले यही चैत ११ गते सम्पन्न गर्ने भनिएको चुनावका लागि केन्द्रले केन्द्रीय प्रतिनिधि खटाइसकेको र अन्य जिल्लामा अधिवेशन भइरहेकै अवस्थामा चैत ७ गते प्रशासन र राजनीतिक दलका हस्तक्षेपका कारण चुनाव नगर्न दबाब आएको खुलासा गरेका छन् । जसका कारण रोल्पामा पत्रकार महासङ्घको चुनाव सम्पन्न हुन नसकेको उनले बताए ।
नेपाल पत्रकार महासङ्घ रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगीले महासङ्घको चुनाव रोकिनुको पछाडि राजनीतिक दल र प्रशासनको हस्तक्षेप हुनु राम्रो नभएको विचार व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार निर्वाचनको आचार संहिताको कारणले पत्रकार महासङ्घको चुनाव गराउन नमिल्ने भएको हुँदा चुनाव रोकिएको बताए ।
मालपोत प्रमुखलाई स्थानीयले नियन्त्रणमा लिई जिप्रकामा बुझाए
पर्सा, चैत १६ । वीरगन्ज उपमहानगरपालिका–२ का स्थानीयले मालपोत कार्यालय, पर्साका कार्यालय प्रमुख प्रकाश पोख्रेललाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् । कार्यालय प्रमुख पोख्रेलले बिहान ९ बजे कार्यालय पुगेर हाजिरी पुस्तिकामा हाजिर गर्ने र त्यसपछि दिनभरि अनुपस्थित हुने गरेको भन्दै आज स्थानीयले उहाँलाई नियन्त्रणमा लिई जिप्रका, पर्सामा बुझाएका हुन् । जनताको काम नगरी सर्वसाधारणलाई दुःख दिने गरेको र जनताको समस्या नसुनी आफ्नो मनोपोली गर्ने गरेको भन्दै आक्रोशित स्थानीयले उहाँलाई आवश्यक कारवाहीका लागि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेललाई बुझाएका हुन् । घटनाका सम्बन्धमा पर्साका सहायक प्रजिअ पौडेलले कर्मचारी भनेको प्रत्यक्ष रुपमा जनताका सेवक हुन् र उसले जनताको काम नगरी आलटाल गर्न नहुने भन्दै कुनै कर्मचारीले गल्ती गरेको छ भने त्यसलाई कारबाही हुने बताउनुभयो । मालपोत कार्यालय पर्साका प्रमुख पोख्रेलले अनलाइन सेवा नभएकाले गर्दा मालपोत कार्यालयमा केहि समस्या आएको बताउँदै मन्त्रालयले खटाएको काममा आफू खटिँदा कुनैबेला बिहानै हाजिर गर्नु परेको छ भन्नुभयो । उहाँले मालपोत कार्यालय पर्सामा केही त्रुटि भए त्यसलाई आगामी दिनमा सुधार गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शाहको हत्याको विरोधमा बन्द आह्वान
जाजरकोट, चैत १६ । नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य तथा पाँचतारा संरक्षण मञ्चका अध्यक्ष रवीन्द्र शाहको हत्याको विरोधमा आज जिल्ला बन्द आह्वान गरिएको छ। स्थानीय बासिन्दाले दोषीमाथि तत्काल कारबाहीको माग गर्दै बन्द गरेका हुन् । मङ्गलबार बेलुका भेरी नगरपालिका–३ निवासी ३६ वर्षीय शाहलाई कार्यालयको काम सकेर घुम्न निक्लिएको अवस्थामा जिल्ला अस्पताल नजिक जाजरकोट डोल्पा सडकमा ढुङ्गा प्रहार गरी अज्ञात समूहले हत्या गरेको थियो । हत्याको नागरिक समाज, नेविसङ्घ, नेपाली काँग्रेस जाजरकोटलगायतले विज्ञप्ति निकालेर विरोध गरेका छन् । सँगै घुम्न गएका पाँच जनालाई प्रहरीले नियन्त्रण लिएर सोधपुछ जारी राखेको छ ।
स्थानिय तह निर्वाचनको सुरक्षा तयारी पूरा
काठमाडौँ, चैत १६ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको गृहमन्त्रालया प्रवक्ता बालकृष्ण पन्थीले बताउनुभयो । केन्द्रीयतहमा सुरक्षा योजना बनिसकेको छ भने क्षेत्रीय र जिल्ला तहमासमेत सुरक्षा योजना बन्दैछन्, उहाँले भन्नुभयो– ‘ एक हप्ताअघिनै १५ दिनभित्र योजना प्रस्तुत गर्न सबै जिल्लामा निर्देशन जारी गरिसकिएकाले अबको एक हप्ताभित्र सबै जिल्लाबाट सुरक्षा योजना आइपुग्नेछ ।’ उन्नाइस वर्षपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनले ३६ हजार जनप्रतिनिधि चयन हुने भएकाले पनि यसले गाउँ, टोलस्तरसम्म प्रत्यक्ष प्रभाव पार्ने छ । निर्वाचनमा भित्रि घेरमा नेपाल प्रहरी र बाहिरी घेरमा सशस्त्र प्रहरीको परिचालन गरिने उहाँले बताउनुभयो । त्यसैगरी मतदान केन्द्र र मतपेटिकाको सुरक्षार्थ नेपाली सेना बाहिरी घेरामा खटाउने निर्णय गत हप्ता सुरक्षा परिषद्को बैठकले गरिसकेको छ । निर्वाचनमा सेनाको थप भूमिकाबारे मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ । निर्वाचन आयोगले हालसम्म सबै जिल्लाको मतदान केन्द्र कहाँ÷कहाँ हुने र कति हुने भनी विवरण नदिएका कारण सोहीबमोजिमको जिल्लामा सुरक्षा योजना बनाउन नसकिएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचनमा दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने तयारी गृहप्रशासनले गरेको छ । सोहीअनुरुप ७५ हजार म्यादी प्रहरीका लागि प्रहरी प्रधान कार्यालयले चैत ११ गते एक हप्ताभित्र आवेदन माग गरिसकेको छ । आवेदन दिने समय दुई दिन बाँकी छँदै ६२ हजार पुरुष र १० हजार महिलाले म्यादी प्रहरीका लागि आवेदन दिइसकेको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । म्यादीका लागि युवामा आकर्षण बढ्दो देखिएको र यसले निर्वाचनको सफलतामा सहयोग पुग्ने प्रवक्ता खनालले विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचनका लागि प्रहरीले आवश्यक सुरक्षा योजना बनाइसकेको र त्यसलाई कार्यान्वयनको चरणमा लगिएको जानकारी दिनुभयो । निर्वाचनका लागि आवश्यक स्रोत, साधनको तयारीमा तीव्ररुपमा गृहमन्त्रालय लागेको गृह प्रवक्ता पन्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “निर्वाचनका लागि आवश्यक बजेटका लागि यसअघि पनि अर्थमन्त्रालयमा प्रस्ताव पठाइसकेका छौँ, केही रकम निकासा पनि भइसक्यो, थप आवश्यक रकमका लागि अर्थमा फेरि माग पठाउँदैछौँ ।” समय थोरै भएकाले नियमित प्रक्रियाबाट आवश्यक स्रोत, साधन र बन्दोबस्तीका साधन खरिद गर्न नसक्ने भएकाले छिटो प्रक्रिया अवलम्बन गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– सार्वजनिक खरिद ऐनअनुरुप ती सामग्री किन्न लागे महिनौँ लाग्ने भएकाले छोटो प्रक्रियाबाट बन्दोबस्तीका सामान किन्न लागिएको हो । विशेष परिस्थिति भएकाले मन्त्रिपरिषद्बाट सो निर्णय गराउने तयारी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि अश्रुग्याससहित केही हतियारसमेत तत्कालै किन्नका लागि बजेट माग गर्न लागिएको छ । यस्तै म्यादी प्रहरीका लागि चाहिने लाठी, पोसाक, हेल्मेटसमेत छिटो प्रक्रियाबाट किन्ने तयारी गरिएको छ । सुरक्षा निकाय र मन्त्रालयका लागि सवारीसाधन किन्न मात्रै रु चार अर्ब अर्थसँग गृह मन्त्रालयले माग गरिसकेको छ । विसं २०७० को संविधानसभाको निर्वाचन मतदान केन्द्रलाई आधार मानेर सुरक्षा व्यवस्था बनाई राखिएको छ, पन्थीले भन्नुभयो– २०७० सालको मतदान केन्द्रभन्दा सङ्ख्या घट्दैन, त्यो सङ्ख्याभन्दा थोरै भए पनि बढ्छ । मन्त्रालयले संवेदनशीलताको आधारमा जिल्ला र मतदान केन्द्रका लागि आवश्यक सुरक्षा रणनीति बनाउने छ, उहाँले भन्नुभयो– “अहिले सामान्य भनिएका ठाउँमा निर्वाचनको समयमा असमान्य हुनसक्छ भने अहिले असमान्य भनिएका ठाउँ निर्वाचनको बेला सामान्य बन्न सकछ, त्यसैले पूर्ण सुरक्षा येजना त निर्वाचन सकिने बलोसम्म बनिरहन्छ ।” चैत मसान्तभित्रै पूर्ण सुरक्षा कार्ययोजना कार्यान्वयनमा आउने गरी गृहप्रशासनले तयारी थालेको छ । विशेषत २ नम्बर प्रदेशमा तराई केन्द्रित दलले निर्वाचनको विरोध गरिरहेको सन्दर्भमा गृह मन्त्रालयले आफ्नो ध्यान सो प्रदेशअन्तर्गतका जिल्लामा केन्द्रित गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि सुरक्षा निकायले निगरानीमा राखिरहेको छ । गृह प्रवक्ता पन्थीले आफूहरुले निर्वाचनमा तराई केन्द्रित सबै दलले भाग लिन्छन् र सहजरुपमै निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षा गरेकोे बताउनुभयो । त्यस्तै दुई चरणमा निर्वाचन हुने चर्चामा कुनै सत्यता नभएको बताउँदै उहाँले अहिलेसम्म एकै चरणमा निर्वाचन गर्ने गरी सुरक्षा रणनीति बनाई राखिएको प्रष्ट पार्नुभयो । देशैभरका जनता मतदानका लागि आतुर रहेकाले यसमा सबैको सहयोग हुनेमा गृह मन्त्रालय आशावादी छ ।
धार्मिक पर्यटकीयस्थलको विकासमा सरकार प्रतिबद्ध
पोखरा, चैत १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङले धार्मिक पर्यटकीयस्थलको विकासमा सरकार प्रतिबद्ध भएको बताउनुभएको छ । पोखरा लेखनाथ महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाको आज स्थलगत अवलोकन गर्दै उहाँले नेपालमा धार्मिक एवम् पर्यटकीय दुवै महत्व राख्ने पर्याप्त स्थल रहेकाले तिनको प्रचार एवम् नीतिगत सहयोगका लागि सरकार तयार रहेको बताउनुभयो । गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णु पौडेल, सदस्य हिक्मत कार्कीलगायतले धार्मिक एवम् पर्यटकीय महत्वको गुफा क्षेत्रको विकासले पोखरा र आसपासको पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
एकै वर्षमा ७७ हजारले हवाईमार्ग प्रयोग गरे
चितवन, चैत १६ । पछिल्लो समय भरतपुरबाट काठमाडौँ हवाईमार्ग प्रयोग गरी आवतजावत गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । सन् २०१६ मा ७७ हजार ८०५ जनाले भरतपुर–काठमाडौँ हवाईमार्ग प्रयोग गरेका छन् । भरतपुर विमानस्थलका अनुसार सन् २०१४ यता हवाईमार्ग प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि हँुदै गएको छ । सन् २०१४ मा चितवनबाट काठमाडौँ हवाईमार्ग प्रयोग गर्नेको सङ्ख्या २७ हजार ९४० जना तथा सन् २०१५ मा २८ हजार ५९१ जनाले हवाईमार्गको प्रयोग गरेका थिए । सन् २०१७ को जनवरी र फेब्रुअरीमा मात्रै १५ हजार ९३४ जनाले सो हवाईमार्गको प्रयोग गरेका छन् । सन् २०१४ मा भरतपुरदेखि काठमाडौँको हवाईमार्ग प्रयोग गर्ने विदेशी नागरिकको सङ्ख्या सात हजार १४४ तथा काठमाडौँदेखि भरतपुरसम्म पाँच हजार १८७ विदेशी नागरिकले हवाईमार्ग प्रयोग गरेका भरतपुर विमानस्थलले जनाएको छ । सन् २०१५ मा भरतपुरदेखि काठमाडौँसम्म हवाईमार्ग प्रयोग गर्ने विदेशी नागरिकको सङ्ख्या चार हजार १७९ र काठमाडौँ–भरतपुर हवाईमार्ग प्रयोग गर्ने विदेशी नागरिक दुई हजार ८८९ रहेका थिए । पछिल्लो समय चितवनमा जग्गाको कारोबारमा वृद्धि, नारायणगढ–मुग्लिन सडकखण्ड मर्मतमा भएको ढिलाइलगायत कारणले हवाईमार्ग प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायको भनाइ छ । अहिले भरतपुर– काठमाडौँ– भरतपुरका लागि वुद्ध एयरको छवटा, यति एयरको तीनवटा र सिम्रिक एयरले एउटा उडान भर्दै आएको छ । तर पनि यात्रुले समयमा टिकट नपाउने समस्या भने अझै उस्तै छ । चितवन घुम्नका लागि आउने विदेशी पर्यटक बढी मात्रामा हवाईमार्गको प्रयोग गर्ने गर्दछन् ।
सहिद गौतमको स्मृतिमा आनन्द बजारमा सालिक निर्माण हुने
कञ्चनपुर, चैत १६। राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्द बजारमा नेपाली भूमि रक्षामा लागिपर्दा भारतीय एसएसबीको गोली लागी ज्यान गुमाएका सहीद गोविन्द गौतमको सालिक निर्माण गर्ने भएको छ । राप्रपा पुनर्वास नगर कमिटीको पहलमा सहीद गौतमको उच्चसम्मान गर्दै सालिक बनाउने निर्णय गरेको हो । राप्रपाले पुनर्वास नगरपालिकाले उपलब्ध गराएको स्थानमा सालिक निर्माण गर्ने छ । राप्रपाका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले सहिद गौतमको सम्मानका साथ सालिक निर्माण गरिने बताउनुभयो । “राष्ट्रियतालाई पार्टीले मुख्य आदर्शका रुपमा लिएकाले सहादत प्राप्त गर्ने गौतमको स्मृतिमा पार्टीले आफ्नै लगानीमा सालिक निर्माण गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो । रासस
छाता बोक्नुस, आज दिनभरी वर्षा हुने
काठमाडौं, चैत १६ । आज दिनभरी नै वर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले राजधानी उपत्यका र नेपालको पूर्व र मध्य क्षेत्रमा दिनभरी पानी पर्ने शाखाले बताएको छ । राजधानीमा चैत १० गते राती असीना परेपछि तापक्रम उकालो लागेको थियो । तर गएरातीबाट पुनः वर्षा शुरु भएपछि यो अवस्थामा आजसम्म साँझसम्म रहनसक्ने शाखाले जनाएको छ । तर झरीजस्तो नियमित वर्षा भने हुनेछैन । वायुमण्डलको तल्लो भुगाग जमिनको सतह भन्दा केही माथी मात्रै रहेकाले पानी परेसँगै चिसो समेत बढेको बताउनुभयो । पश्चिमी वायुको प्रभाव कम भईसकेकाले नियमित वर्षा भने हुनेछैन । यद्यपी काठमाडौं उपत्यकामाथिको बादल हट्न भने केही दिन लाग्नेछ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । आवरण तस्वीरः काठमाडौंमा बिहान ९ बजेर ४५ मिनेट जाँदा मौसमको अवस्था श्रोतः एक्युवेदरडटकम
डा. लोहनीको नयाँ पार्टीको आज औपचारिक घोषणा हुने
काठमाडौं, चैत १६ । डा प्रकाशचन्द्र लोहनीआज एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन भएको औपचारिक घोषणा गर्ने भएका छन् । राप्रपा महाधिवेशनबाट छुट्टिए लगत्तै लोहनीले केशरबहादुर विष्टसँग मिलेर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन गरेका थिए । आज बुधबार लोहनीको पार्टी निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारीमा छ । एकीकृत राप्रपा राष्ट्रवादीले चुनाव चिन्ह हलोलाई निरन्तरता दिने जनाएको छ । लोहनी पार्टीमा विवाद भएपछि महाधिवेशनबाट पार्टी परित्याग गरेको घोषणा गरेका थिए भने विष्टलाई राप्रपा पार्टीले कारबाही गरेको थियो ।
१७ जिल्लाका भूकम्पपीडितले अब ५० हजार पाउने
काठमाडौं, चैत १६ ।भूकम्पबाट तुलनात्मक रूपमा कम क्षति पुगेका १७ जिल्लाका पीडितले पनि अब पहिलो किस्तास्वरूप घर बनाउन ५० हजार रुपैयाँ पाउने भएका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार पहिलो चरणमा १७ जिल्लाका १५ हजार ७ सय ४३ घरधुरीलाई पहिलो किस्ता वितरण गर्न लागिएको छ । अति प्रभावित १४ जिल्लामा जस्तै १७ जिल्लामा पनि बैंक खातामार्फत पहिलो किस्ता रकम भुक्तानी हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता सहसचिव यमलाल भुसालले बताए । ‘सम्बन्धित जिल्लामा पहिलो किस्ता वितरणका लागि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर काम अघि बढिरहेको छ,’ भुसालले भने, ‘कुन ठाउँमा कुन बैंक सहज हुन्छ भन्ने कुरा गाउँपालिका र नगरपालिकाबाट सिफारिस आएपछि नेपाल बैंकर्स संघसँगको सहकार्यमा बैंक तोकेर खाता खोल्ने व्यवस्था मिलाउँछौँ ।’ प्राधिकरणले बैंकको टुंगो लाग्नेबित्तिकै रकम वितरण सुरु गर्ने जनाएको छ । ‘यही दिन सुरु गर्ने भन्ने त टुंगो लागेको छैन, बैंकको टुंगो लाग्नेबित्तिकै पैसा वितरणको काम अघि बढाउनेछौँ,’ भुसालले भने, ‘१४ जिल्लाको अनुभवबाट पाठ सिकेर हामी अघि बढ्छौँ ।’ पुनर्निर्माण प्राधिकरणले गरेको वर्गीकरणअनुसार लमजुङ, चितवन, तनहुँ, खोटाङ, स्याङ्जा, पाल्पा, बागलुङ, गुल्मी, सोलुखुम्बु, कास्की, पर्वत, म्याग्दी, अर्घाखाँची, नवलपसारी, भोजपुर, धनकुटा र संखुवासभाका भूकम्प पीडितले अब पैसा पाउने छन् । यी जिल्लाका पीडितलाई तत्काल ७८ करोड ७१ लाख रुपैयाँ वितरण हुनेछ । प्राधिकरणका अनुसार हालसम्म लाभग्राहीका रुपमा ६ लाख २६ हजार प्रभावितको पहिचान भएको छ । यसमध्ये पाँचलाख ६० हजार परिवारसँग अनुदान वितरण सम्झौता सम्पन्न भएको छ । तीमध्ये पाँचलाख ४० हजार परिवारले पहिलो किस्ता पाएका छन् । त्यस्तै एकहजार आठसय परिवारले दोस्रो किस्ता रकम पाएका छन् । धनकुटादेखि अर्घाखाँचीसम्मका भूकम्पपीडितलाई पहिलो किस्ता रकम दिने तयारी २१ हजार गुनासा सम्बोधन हुने : पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको मंगलबारको बैठकले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये ११ जिल्लाबाट प्राप्त २० हजार नौ सय ६७ गुनासोलाई सम्बोधन गर्ने निर्णय गरेको छ । त्यसमध्ये पाँच हजार सात सय ५९ घरधुरी लाभग्राही सूचीमा समावेश भएका र तथ्यांक प्राप्त नभएका पाँच हजार सात सय ८६ को पुनः सर्वेक्षण गर्ने निर्णय भएको प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसालले बताए । त्यस्तै थप दुई हजार तीन सय ६१ घरधुरीको स्थलगत सर्वेक्षण गरिने उनले बताए । लाभग्राही सूचीमा नपर्ने देखिएका सात हजार ६१ घरधुरीको स्थलगत निरीक्षणबाट निक्र्योल निकालिने उनले बताए । यो खबर आजको नयाँ पत्रिकामा छ ।
आरआरमा अनेरास्ववियुको प्यानल विजयी
काठमाडौं, चैत १६ । उपत्यकाका विभिन्न प्रहरी युनिटका १० डिएसपीसहित ४८० सुरक्षाकर्मीको घेरामा रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को स्ववियु चुनाव सम्पन्न भएको छ । मंगलबार दिनभर नेपाल प्रहरीका नौ डिएसपीसहित ३५० र सशस्त्रका एक डिएसपीसहित एक सय ३० गरी ४८० प्रहरी सुरक्षाका लागि खटिएका थिए । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख (एसएसपी) छविलाल जोशीका अनुसार उपत्यकाका विभिन्न युनिटबाट ३५० नेपाल प्रहरी खटिएका थिए । एसएसपी जोशी आफैं पनि क्याम्पसको सुरक्षामा खटिएका थिए । परिसरका डिएसपी वसन्त रजौरेको अप्रेसन कमान्डमा ठूलो सुरक्षा घेरामा स्ववियु चुनाव सम्पन्न भएको थियो । बुथको सुरक्षादेखि विभिन्न तहमा गरी पद्मोदय मोडसम्म सुरक्षाकर्मी खटिएका थिए । यी हुन् चुनावमा खटिने डिएसपी : आरआरको चुनावमा सुरक्षाका लागि महानगरिय प्रहरी परिसरका अप्रेसन कमान्डर बसन्त रजौरे, सिंहदरबार वृत्तका मनोहार भट्ट, महाराजगन्ज वृत्तका गोविन्द पुरी, गौशाला वृत्तका नवराज कार्की, थानकोट वृत्तका कृष्ण पंगेनी, नगर प्रहरी इन्चार्ज रमेश थापा, बानेश्वर वृत्तका नारायण चिमोरिया, लैनचौर वृत्तका सोमन्द्रसिंह राठौर, बालाजु वृत्तका सन्तोष तामाङ फिल्डमा खटिएका थिए । बालाजुका डिएसपी तामाङको विद्यार्थीसँगको झडपमा औंलामा चोट लागेपछि उनको ठाउँमा महाराजगन्जका डिएसपी पुरी खटिएका थिए। त्यसैगरी, सशस्त्रका डिएसपी रविचन्द्र बज्राचार्य दिनभर चुनावमा खटिएका थिए । बेलुकीको मतगणनामा वौद्ध वृत्तका डिएसपी विपिन रेग्मी र स्वयम्भू वृत्तका डिएसपी कोमल शाहसमेत खटिएका थिए । ३५८१ मतदातामा १२७८ मत खस्यो : निर्वाचनमा एक हजार दुई सय ७६ मत खसेको छ । साँझ ५ बजेसम्मको मतदानको समयभित्र तीन हजार ५ सय ८१ मतदातामध्ये एक हजार दुई सय ७६ मात्र मत खसेको हो । निर्वाचन कमिटी प्रमुख प्रा. हरिप्रसाद पराजुलीले मत कम खस्नुमा धेरै कारण रहेको बताए । उनले सबै विद्यार्थी संगठनको सक्रिय सहभागिता नरहनु, बिहानको समयमा क्याम्पस बाहिर तनावको स्थितिलगायतका कारण कम मत खसेको बताए । चुनावमा पाँचवटा विद्यार्थी संगठन सहभागी भएका थिए । चारवटा संगठन एकल र एउटा संयुक्त प्यानल चुनावमा रहेको थियो । केही संगठनले चुनावमा भाग नलिने बताएका थिए। २३ फागुनमा चुनाव गर्ने तयारी भए पनि स्थानीय तहको चुनावको घोषणा भएकाले आचारसंहिता लाग्ने भन्दै रोकिएको चुनाव सर्वोच्च अदालतको आदेशपछि मंगलबार सम्पन्न भएको हो । आरआर क्याम्पसमा अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्यासी तपेन्द्रबहादुर शाहीले निर्वाचनको माग गर्दै रिट दायर गरेका थिए । अध्यक्ष पदका उम्मेदवार शाहीको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले घोषित निर्वाचन रोक्नुपर्ने कुनैे ठोस कारण नरहेकोे आदेश दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले निर्वाचन गर्न २ चैतमा अन्तरिम आदेश दिएको हो । गत १८ फागुनमा त्रिविले तोकेको मितिमा स्ववियु निर्वाचन नभएपछि आरआर क्याम्पसले २३ फागुनमा निर्वाचन गर्ने मिति तोकेको थियो । तर, स्थानीय तह निर्वाचन आचारसंहिताले रोक लगाएको भन्दै स्ववियु निर्वाचन स्थगित भएको थियो । विद्यार्थीहरू निर्वाचनमा मतदान गर्न सहभागी भए पनि प्रहरीको हस्तक्षेपले निर्वाचन स्थगित भएको थियो । आरआरमा अनेरास्ववियुको प्यानल नै विजयी : रत्नराज्यलक्ष्मी क्याम्पस (आरआरमा) मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । सभापतिमा विजयी तपेन्द्रबहादुर शाहीले ६९९ मत प्राप्त गरेका छन् । कुल एक हजार दुई सय ७८ मत खसेको थियो । सचिवमा नारायण शर्माले ६९६ र कोषाध्यक्षमा संगमप्रसाद देवकोटाले ७१० मत प्राप्त गरी विजयी भएका छन् । पदाधिकारीमा अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । त्रिविमा यो वर्षदेखि मिश्रित प्रणालीमा स्ववियु चुनाव भएको हो । समानुपातिकतर्फ अनेरास्ववियुले ७ सय ७७, नेविसंघले तीन सय ५०, अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड)ले ५३, संयुक्त प्यानलले ५२, नेक्राविसंघले ५ र अनेरास्ववियु पाँचौँले ६ मत प्राप्त गरेका छन् । मतपरिणाम नमान्ने अनेरास्ववियु क्रान्तिकारीको घोषणा : माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले स्ववियु चुनावको परिणाम स्वीकार नगर्ने घोषणा गरेको छ । अध्यक्ष नरेन्द्र न्यौपानेले मंगलबार साँझ प्रेस विज्ञप्ति निकालेर एकतर्फ रूपमा स्ववियु चुनाव गरिएको आरोप लगाएका छन् । उनले धाँधली भएको र आचारसंहिताको उल्लंघन भएकोसमेत आरोप लगाएका छन् । ढुंगामुढा र प्रेट्रोल बमले क्याम्पस बाहिर त्रास : आरआर क्याम्पसमा मतदान सुरु भएदेखि नै तनाव सुरु भएको थियो । बिहान ८ बजेतिर स्ववियु चुनावको विरोधमा रहेको विद्यार्थी समूह र प्रहरीबीच झडप भएको थियो । ढुंगामुढा गर्नेक्रममा केही प्रदर्शनकारी विद्यार्थी र प्रहरीसमेत घाइते भएका थिए । झडपका क्रममा विद्यार्थीले घाइते भएको दाबी गरे पनि प्रहरीले भने विद्यार्थीहरू घाइते नभएको दाबी गरेको छ । आन्दोलनकारीले बिहान १० बजेतिर पेट्रोल बमसमेत हानेका थिए । पेट्रोल बम हानेको विषयमा कसैले पनि जिम्मेवारी लिएको छैन । महानगरीय प्रहरी परिसरका एसएसपी जोशीका अनुसार तीनवटा सिसिमा पेट्रोल बम प्रहार गरेका थिए । चुनावको विरोधमा रहेको पक्षले पेट्रोल बम प्रहार गरेको आशंका गरिए पनि त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जोशीका अनुसार मंगलबारको झडपमा डिएसपी तामाङ सहित तीन प्रहरी सामान्य घाइते भएका छन् । ‘प्रहरीले धेरै संयमित भएर काम ग¥यो, विद्यार्थी कोही पनि घाइते छैन,’ उनले भने । यो खबर आजको नयाँ पत्रिकामा छ ।
उपप्रधानमन्त्री निधि र भारतीय राजदूत पुरी भेटघाट
काठमाडौं, चैत १६ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिभसिंह पुरीबीच भेटघाट भएको छ । गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा दुई देशबीचको सम्बन्ध र पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो । भेटमा गृहमन्त्री निधिले नेपालमा हुन गइरहेको निर्बाचनमा लजिष्टिक सहयोगका लागि भारत सरकारको ध्यानाकर्षण गराएका थिए । जबाफमा राजदूत पुरीले नेपालको संबिधानसभा निर्बाचनका बेला पनि भारत सरकारले लजिस्टिक सहयोग गरेको स्मरण गराउँदै आगामी निर्बाचनमा पनि सहयोग गर्ने उल्लेख गरे । सो भेटमा गृहमन्त्री निधिले नयाँ राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप मजबुत हुने बिश्वास व्यक्त गरे । राजदूत पुरीले नेपाल–भारतबीचको सदियौं पुरानो घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाए ।
कांग्रेसको आरोपः सरकारको अधिकारमाथि सर्वोच्चको हस्तक्षेप
काठमाडौं, चैत १६ । सत्ता साझेदार र संसद्भित्रको सबैभन्दा ठूलो पार्टी कांग्रेसले सरकारको कार्यकारी अधिकारमाथि सर्वोच्चबाट हस्तक्षेप भएको आरोप लगाएको छ । तीन दिनसम्म चलेको पार्टी केन्द्रीय समिति बैठकले पारित गरेको निर्णयमा सरकारले गरेको प्रहरी महानिरीक्षकको नियुक्ति बदर गर्ने सर्वोच्चको फैसलालाई हस्तक्षेपका रूपमा लिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले आईजी नियुक्तिमा सर्वोच्चको फैसलाको विरोध गर्दै कार्यपालिकाको अधिकार खोस्नतर्फ सर्वोच्च उद्यत देखिएको निष्कर्ष निकालेको हो । ‘संवैधानिक सर्वोच्चता र बहुदलीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संसदीय प्रणालीको सिद्धान्त स्वीकार गर्दै नेपालको संविधानले कार्यकारिणी अधिकारको स्पष्ट व्यवस्था गरेको भए पनि प्रहरी प्रमुख नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतले हालसालै गरेको निर्णयले कार्यकारिणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको नेपाली कांग्रेस महसुस गर्दछ’, बैठकको निर्णयमा भनिएको छ । सरकारले फागुन १ गते जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न गरेको निर्णय सर्वोच्चले बदर गरेको थियो । उक्त मुद्दामा सर्वोच्चले गठन गरेको बेन्चका विषयमा पनि यसअघि कांग्रेसका कतिपय नेताले गम्भीर असहमति राख्दै आएका थिए । बैठकले आसन्न स्थानीय निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा जिल्लालाई दिने निर्णय पनि गरेको छ । यसअघि केन्द्रले नै उम्मेदवार छान्ने भन्दै आएकोमा अब स्थानीय तहको सिफारिसमा जिल्लाले नै उम्मेदवार छान्ने निर्णय गरेको हो । आगामी वैशाख ३१ मा हुन लागेको स्थानीय निर्वाचनमा मधेसवादी दलहरूलाई पनि सँगै लिएर जान कांग्रेसले महतवपूर्ण भूमिका निर्वाह गर्ने भएको छ । संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव यथासक्य चाँडो सहमतिका आधारमा संशोधन गराएर निर्वाचनमा जाने निर्णय पनि कांग्रेसले गरेको छ । बैठक समापन गर्दै सभापति शेरबहादुर देउवाले आफूले पार्टीभित्र गुटउपगुट नहेरी सबैलाई न्याय गर्ने गरी काम गरेको बताएका थिए । सरकारले नियुक्त गर्ने चार महतवपूर्ण पदमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नियुक्त गरेका व्यक्तिलाई नै नियुक्ति दिएर पार्टीभित्रको गुटलाई नभई क्षमता र योग्यतालाई आधार बनाएको पनि देउवाले बताएका थिए । ‘मैले योजना आयोगमा स्वर्णिम वाग्ले, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा गोविन्द पोखरेल, भारतको राजदूतमा दीपकुमार उपाध्याय र न्यायपरिषद् सदस्यमा रामप्रसाद सिटौलालाई पुनर्नियुक्ति गराएको छु’, देउवाले बैठकमा भने, ‘मैले गुट वा आफ्नो मान्छे हेरेको भए त्यो नियुक्ति कसरी हुन्थ्यो ? ‘ उनले चुनावको वातावरण कांग्रेसका पक्षमा धेरै राम्रो भएको सूचना आफूसँग आएको भन्दै सबै एक भएर चुनावमा होमिनुपर्ने धारणा पनि बैठकमा राखेका थिए । देउवाले नेता रामचन्द्र पौडेलतर्फ संकेत गरी ‘साथीहरू देशबाहिर भएकाले बैठक नराखेको’ बताउँदै पत्र नै लेख्नुपर्ने त्यस्तो कारण के थियो भनेर प्रश्नसमेत गरेका थिए । नेता पौडेलले भने आफूले पत्रमा बैठक डाक्न माग गरेको उल्लेख गर्दै त्यसले पार्टीलाई चलायमान गराउन नै सहयोग गर्ने भन्दै अन्यथा लिन नहुने धारणा राखेका थिए ।पौडेलले पार्टीलाई कि पद्धति कि सहमतिमध्ये एउटा विधि अपनाएर अघि बढाउनुपर्ने धारणा पनि राखेका थिए । बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने राजदूत नियुक्तिमा पार्टीको आँच गिर्ने काम भएको धारणा राखेका थिए । ‘राजदूत नियुक्तिमा आशा लामाको नाम कसरी आयो’, सिंहले बैठकमा भने, ‘राजदूतमा फिर्ता गरे पनि त्यो घाटा तत्काल क्षतिपूर्ति हुने देखिएको छैन ।’उनले प्रहरी महानिरीक्षकमा मन्त्रिपरिषद्को निर्णय नै गलत भएको भन्दै त्यसको जिम्मेवार को भन्ने प्रश्न गरेका थिए । बैठकमा केन्द्रीय सदस्य पूर्णबहादुर खड्का, डिना उपाध्याय, बलबहादुर केसीलगायतले भने प्रहरी महानिरीक्षकको नियुक्तिको विषयमा सर्वोच्चको फैसला कार्यपालिकाको अधिकार खोस्ने गरी आएको भन्दै विरोध गरेका थिए । केन्द्रीय सदस्य एवं स्वास्थ्यमन्त्री गगन थापाले पार्टीले स्थानीय चुनावका लागि रणनीति नै बनाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । अनुशासनमा श्रेष्ठ र लेखामा यादव कांग्रेस बैठकले पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजकमा गोपालमान श्रेष्ठलाई नियुक्त गरेको छ । त्यस्तै लेखा समितिको संयोजकमा चित्रालेखा यादवलाई नियुक्त गरेको छ । बैठकले विधानअनुसार उनीहरूलाई नियुक्त गरेको हो । यो खबर आजको अन्नपुर्णपोस्टमा छ ।
माओवादी घोषणापत्र तयार
काठमाडौं, चैत १५ । स्थानीय तहको वैशाख ३१ गते हुन लागेको चुनावमा सत्तारूढ माओवादी केन्द्रले आन्तरिक तयारी तीव्र पारेको छ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ संविधानप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनका लागि मनाउन कोसिस गरिरहेको भए पनि माओवादी केन्द्रले आन्तरिक रूपमा भने चुनावी अभियान तीव्र पारेको हो। माओवादी केन्द्रले देव गुरुङको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ। अध्यक्ष प्रचण्ड चीन भ्रमण जानु अघिल्लो दिन प्रतिवेदन बुझाएर समितिले तल्लो कमिटीलाई पनि परिपत्र जारी गरिसकेको छ। माओवादीले स्थानीय तहको निर्वाचनका लागि कतिपय स्थानमा उम्मेदवार घोषणासमेत गरिसकेको छ। केन्द्रीय सदस्य मदन चुडालका अनुसार ‘दमक नगरपालिका र विराटनगर उपमहानगरपालिका लागि पार्टीले उम्मेदवार घोषणा गरिसकेको छ। माओवादीले दमक नगरपालिकाका लागि मेयरमा रेवतराज पुरी र उपमेयरमा शान्ति धिमाललाई चयन गरेको छ भने विराटनगरका लागि मेयर/उपमेयरमा क्रमशः भोगेन्द्र यादव र नमिता न्यौपानेको नाम घोषणा गरिसकेको छ। अब केही दिनमा इटहरी र धरानको मेयर र उपमेयर घोषणा हुने पनि चुडालले बताए। आन्तरिक रूपमा इटहरीका लागि भीम सुवेदी र धरानका लागि महेन्द्रविक्रम मेघाको टुंगो लागे पनि उपमेयर चयन हुन बाँकी भएकाले केही दिनमा त्यहाँको उम्मेदवार सार्वजनिक हुने नेताहरुले बताएका छन्। यसैगरी, अन्य गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका लागि प्रमुख/उपप्रमुख, वडा अध्यक्ष, सदस्य चयन गर्न धमाधम आन्तरिक बैठक सञ्चालन जारी रहेको संयोजक देव गुरुङले बताए। गुरुङको नेतृत्वमा गत फागुन २३ गते गठन भएको निर्वाचन परिचालन समितिले चुनावी प्रतिबद्धता, नीति तथा कार्यक्रम, उम्मेदवारका लागि मापदण्ड तयार गरेर केन्द्रीय कार्यालयमा बुझाइसकेको छ। ‘समितिले चुनावी प्रतिबद्धता, अन्तरपार्टी निर्देशिका, उम्मेदवार छनोट मापदण्ड एवं निर्णय विधि केन्द्रीय कार्यालयमा बुझाइसकेको छ’, गुरुङले नागरिकसँग भने, ‘त्यसरी बुझाएको निर्णयलाई तल्लो कमिटीमा पनि पुर्याइसकेका छौं। त्यहाँ अहिले छलफल चलिरहेको छ।’ उनका अनुसार समितिले बुझाएको प्रतिवेदनअनुसार स्थानीय तहका कमिटीहरूले बैठक आह्वान गरेर निर्णय गर्न थालिसकेका छन्। समितिको प्रतिवेदनअनुसार वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारको हकमा सम्बन्धित गाउँपालिका/नगरपालिका स्तरका समितिले टुंगाउनेछ। गाउँपालिका र नगरपालिकाको प्रमुख उपप्रमुख भने सम्बन्धित जिल्ला समितिले, उपमहानगरपालिकाको मेयर/उपमेयरको उम्मेदवारी प्रदेश कमिटीले र महानगरको मेयर/उपमेयर केन्द्रीय समितिले टुंग्याउने गरी उम्मेदवार छनोट विधि तयार गरिएको समितिका अर्का सदस्य गिरिराजमणि पोखरेलले बताए। ‘हरेक उम्मेदवारको निर्णय एक तहमाथिको कमिटीले गर्ने विधि बनाएर तलका कमिटीलाई पठाएका छौं। स्थानीय तहको उम्मेदवारमा केन्द्रीय हस्तक्षेप गर्न नहुनेमा समिति सचेत भई अन्तरपार्टी निर्देशिका पनि जारी गरिसकेका छौं’, पोखरेलले भने। त्यसो त माओवादी केन्द्रले २९ बुँदे चुनावी प्रतिबद्धता तयार पारी तल्लो कमिटीमा थप सुझावका लागि पठाइसकेको छ। गत ९ चैतमा तल्लो कमिटीमा पठाएका प्रतिबद्धता पत्रलाई सुझावसहित केन्द्रमा पठाउन एक साताको समय छुट्ट्याइएको छ। ‘चैत अन्तिम साताभित्र चुनाव घोषणापत्र प्रकाशित गरिसक्ने लक्ष्य लिएका छौं। त्यसमाथि स्थानीय तहले आफ्नै खालको छुट्टै चुनावी घोषणापत्र पनि जारी गर्न सक्नेेछ’, पोखरेलले भने। गत फागुन २३ गते गठन भएको समितिलाई उम्मेदवार छनोटको मापदण्ड बनाउन दुई साता समय दिइएको थियो। समितिले उम्मेदवार छनोटको हकमा २३ वटा मापदण्ड सर्तका रूपमा राखेको अर्का सदस्य मणि थापाले बताए। पार्टीप्रतिको इमानदारी र स्वच्छ छविलाई मुख्य मापदण्ड बनाइएको थापाले बताए। उनले नागरिकसँग भने, ‘स्थानीय तहमा उसको लोकप्रियता र नेतृत्व गर्ने क्षमतालाई पनि ख्याल गरिनेछ।’ उनका अनुसार स्थानीय तहको विकास गर्ने ‘भिजनरी नेता’ लाई पार्टीले उम्मेदवार छनोटका क्रममा प्राथमिकतामा राख्नेछ। यो खबर आजको नागरिक दैनिकमा छ ।
झुक्यायो मौसमले
काठमाडौं, चैत १६ । बिहान काममा निस्कँदा रेनकोट र छाताविना हिँडेको मानिस साँझ घर फर्किंदा भिजेर घर पुग्छ । त्यही व्यक्ति भोलिपल्ट फेरि भिजिएला भन्दै रेनकोट र छाता बोकेर हिँड्छ, तर पानी पर्दैन । यो क्रम मार्च महिना सुरु भएसँगै सबैले भोग्दै आएका छन् । मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमानमा पनि फरक पर्दै आएको छ । मंगलबार बिहानपख खुलेको आकाश १० नबज्दै धुम्मिएको थियो । विभागले सोमबार गरेको पूर्वानुमानअनुसार मंगलबार केही स्थानमा छिटफुट वर्षा हुने देखिए पनि बुधबार भने ३२ मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । त्यो पनि अपराह्नपछि साँझसम्मै वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । यो कुन ठाउँमा हुने वर्षा हो भन्ने विषयमा महाशाखा मौसमविद्हरू नै अन्योलमा परेको देखिन्छ । केही मौसमविद् यो सामान्य प्रक्रिया भएको र अहिले मौसमले नै झुक्याएको बताउँछन् । मौसमविद्का अनुसार सामान्यतः मार्च अर्थात् फागुन–चैत मेघ गर्जनसहित वर्षात् हुने मौसम भए पनि पछिल्ला वर्षमा त्यस्तो वर्षा हुन छाडेको थियो । अघिल्ला वर्षको तुलनामा यस महिनामा बढी नै वर्षात् भएको छ । ‘वर्षात् मात्र होइन, लामो समयसम्म बदली गराउने प्रणालीको विकाससमेत गराएको छ,’ वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले भने, ‘मार्चको उत्तराद्र्धमा साताभन्दा बढी समयदेखि नेपालको मौसम बदलीसँगै वर्षा भएको छ, तर यसको प्रभाव पश्चिमी भेगमा त्यति छैन । खासगरी देशका पूर्वी र मध्य भेगमा बढी असर देखिएको छ ।’ मार्च महिना बढी पानी पर्ने समय भए पनि यस किसिमको निरन्तर प्रभाव अघिल्ला वर्षमा नभएको भन्दै उनले उपत्यकामा झन्डै दोब्बर वर्षा भएको बताए । सामान्यतः मार्चमा उपत्यकामा ३५ मिलिमिटर वर्षात् हुने गरेकामा मंगलबार ६५ मिलिमिटर वर्षात् भइसकेको छ । यो अझै केही दिन लम्बिने महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणका कारण मौसम बदलीसँगै वर्षात् भएको मौसमविद् मीनकुमार अर्यालले बताए । पश्चिम बंगाल र बंगलादेशमा न्यूनचापीय क्षेत्र रहिरहेका कारण त्यसको असर नेपालमा देखिएको छ । उक्त प्रणालीका कारण मेघ गर्जनसहितको असिना र वर्षा भएको छ । अर्कातर्फ वायुमण्डलका तल्लो सतहमा बंगालको खाडीबाट सामान्य खालको हल्का जलवाष्पयुक्त हावाको प्रवेशका कारण पनि मौसममा गडबडी आएको छ । जलवाष्पयुक्त हावा वायुमण्डलमा माथिसम्म जान नसकेका कारण दिन धुम्म हुने र राम्रोसँग वर्षात् गराउन नसकेको मौसमविद् अर्यालले बताए । ‘पश्चिमी वायुका साथै पूर्व र मध्य भागमा वायुमण्डलको तल्लो सतहमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रवेशले असर देखिएको छ,’ उनले भने, ‘तर यसको वायुमण्डलमा माथिसम्म प्रभाव छैन, जसका कारण पानी पर्न सकिरहेको छैन ।’ यस प्रणालीले मध्य र पूर्वी भागमा असर गरे पनि पश्चिमी भागमा खासै बदली हुने देखिँदैन । पूर्वी भागको तल्लो सतहमा सामान्य खालको न्यूनचापीय क्षेत्रको विकासले गर्दा बदली गराएको मौसमविद् अर्यालको भनाइ छ । उनका अनुसार पूर्वी र मध्य भेगमा अझै दुई–चार दिन बदलीसँगै वर्षात् हुनेछ । ती क्षेत्रमा मध्याह्नपछि यसको प्रभाव बढी देखिनेछ भने पश्चिमी पहाडी भेगमा सामान्य बदली रहनेछ । अहिले प्री–मनसुन पनि चलिरहेको छ । मार्च, अप्रिल र मे महिना प्री–मनसुन अवधि हुन् । जुन महिनाको पहिलो साताबाट मनसुन सुरु हुन्छ । मौसमविद् श्रेष्ठले लामो समयदेखि विकास भएको यो प्रणाली मध्य र पूर्वी भेगमा अझै दोहोरिने र यसले मेघ गर्जनसहित असिना पानी र हावाहुरी ल्याउने सम्भावना रहेको बताए । नेपालको पूर्वतिर सर्दै समाप्त हुनुपर्ने प्रणाली मध्य र पूर्वी भेगमा अडिएको छ, यसको असर बंगलादेशमा पनि बढी छ । ‘पश्चिमी वायुको प्रभावसँगै न्यूनचापीय क्षेत्र रहिरहेकाले यो प्रणाली लम्बिने देखिन्छ । यो सुक्खा मौसम हो, मनसुन सुरु भएपछि मात्र पानी पर्नुपर्ने हो, त्यसैले यो परिदृश्यलाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ, यकिनचाहिँ अनुसन्धान नभई भन्न सकिन्न,’ मौसमविद् श्रेष्ठले भने, ‘नेपालको पूर्वी तथा मध्य भागमा अलि बढी पानी परेको देखिन्छ ।’ मौसममा आइरहेको फेरबदलले मानव स्वास्थ्यमा समेत असर पर्नसक्ने आँकलन गरिएको छ । यो खबर आजको राजधानीमा छ ।
गाँजा तस्कर र प्रहरीबीच फायरिङ
हेटौंडा, चैत १६ । मनहरीमा मंगलबार गाँजा तस्कर र प्रहरी बीच फायरिङ भएको छ । पर्सा बन्यजन्तु आरक्षण हुँदै भारततर्फ गाँजा लगिरहेका तस्करलाई पछ्याउन खोज्दा उनीहरु फायरिङ गरेर भागेको प्रहरीले जनाएको छ । केही भरिया भने पक्राउ परेका छन् । जवाफी फायरिङ गरेपछि उनीहरु गाँजा र चरेशका बोरा छाडेर भागेका छन् । मनहरी ६ नयाँबस्तीमा फायरिङ भएको हो । तस्करहरुले ५-६ राउन्ड फायर गरेको प्रहरीले जनाएको छ । प्रहरीले ५ सय ६४ केजी गाँजा र ४५ केजी चरेश बरामद गरेको छ । यो खबर आजको कान्तिपुरमा छ ।

