आरआरमा अनेरास्ववियुको प्यानल विजयी
काठमाडौं, चैत १६ । उपत्यकाका विभिन्न प्रहरी युनिटका १० डिएसपीसहित ४८० सुरक्षाकर्मीको घेरामा रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को स्ववियु चुनाव सम्पन्न भएको छ । मंगलबार दिनभर नेपाल प्रहरीका नौ डिएसपीसहित ३५० र सशस्त्रका एक डिएसपीसहित एक सय ३० गरी ४८० प्रहरी सुरक्षाका लागि खटिएका थिए ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख (एसएसपी) छविलाल जोशीका अनुसार उपत्यकाका विभिन्न युनिटबाट ३५० नेपाल प्रहरी खटिएका थिए । एसएसपी जोशी आफैं पनि क्याम्पसको सुरक्षामा खटिएका थिए । परिसरका डिएसपी वसन्त रजौरेको अप्रेसन कमान्डमा ठूलो सुरक्षा घेरामा स्ववियु चुनाव सम्पन्न भएको थियो । बुथको सुरक्षादेखि विभिन्न तहमा गरी पद्मोदय मोडसम्म सुरक्षाकर्मी खटिएका थिए ।
यी हुन् चुनावमा खटिने डिएसपी : आरआरको चुनावमा सुरक्षाका लागि महानगरिय प्रहरी परिसरका अप्रेसन कमान्डर बसन्त रजौरे, सिंहदरबार वृत्तका मनोहार भट्ट, महाराजगन्ज वृत्तका गोविन्द पुरी, गौशाला वृत्तका नवराज कार्की, थानकोट वृत्तका कृष्ण पंगेनी, नगर प्रहरी इन्चार्ज रमेश थापा, बानेश्वर वृत्तका नारायण चिमोरिया, लैनचौर वृत्तका सोमन्द्रसिंह राठौर, बालाजु वृत्तका सन्तोष तामाङ फिल्डमा खटिएका थिए । बालाजुका डिएसपी तामाङको विद्यार्थीसँगको झडपमा औंलामा चोट लागेपछि उनको ठाउँमा महाराजगन्जका डिएसपी पुरी खटिएका थिए।
त्यसैगरी, सशस्त्रका डिएसपी रविचन्द्र बज्राचार्य दिनभर चुनावमा खटिएका थिए । बेलुकीको मतगणनामा वौद्ध वृत्तका डिएसपी विपिन रेग्मी र स्वयम्भू वृत्तका डिएसपी कोमल शाहसमेत खटिएका थिए ।
३५८१ मतदातामा १२७८ मत खस्यो : निर्वाचनमा एक हजार दुई सय ७६ मत खसेको छ । साँझ ५ बजेसम्मको मतदानको समयभित्र तीन हजार ५ सय ८१ मतदातामध्ये एक हजार दुई सय ७६ मात्र मत खसेको हो ।
निर्वाचन कमिटी प्रमुख प्रा. हरिप्रसाद पराजुलीले मत कम खस्नुमा धेरै कारण रहेको बताए । उनले सबै विद्यार्थी संगठनको सक्रिय सहभागिता नरहनु, बिहानको समयमा क्याम्पस बाहिर तनावको स्थितिलगायतका कारण कम मत खसेको बताए । चुनावमा पाँचवटा विद्यार्थी संगठन सहभागी भएका थिए । चारवटा संगठन एकल र एउटा संयुक्त प्यानल चुनावमा रहेको थियो । केही संगठनले चुनावमा भाग नलिने बताएका थिए।
२३ फागुनमा चुनाव गर्ने तयारी भए पनि स्थानीय तहको चुनावको घोषणा भएकाले आचारसंहिता लाग्ने भन्दै रोकिएको चुनाव सर्वोच्च अदालतको आदेशपछि मंगलबार सम्पन्न भएको हो ।
आरआर क्याम्पसमा अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्यासी तपेन्द्रबहादुर शाहीले निर्वाचनको माग गर्दै रिट दायर गरेका थिए । अध्यक्ष पदका उम्मेदवार शाहीको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले घोषित निर्वाचन रोक्नुपर्ने कुनैे ठोस कारण नरहेकोे आदेश दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले निर्वाचन गर्न २ चैतमा अन्तरिम आदेश दिएको हो ।
गत १८ फागुनमा त्रिविले तोकेको मितिमा स्ववियु निर्वाचन नभएपछि आरआर क्याम्पसले २३ फागुनमा निर्वाचन गर्ने मिति तोकेको थियो । तर, स्थानीय तह निर्वाचन आचारसंहिताले रोक लगाएको भन्दै स्ववियु निर्वाचन स्थगित भएको थियो । विद्यार्थीहरू निर्वाचनमा मतदान गर्न सहभागी भए पनि प्रहरीको हस्तक्षेपले निर्वाचन स्थगित भएको थियो ।
आरआरमा अनेरास्ववियुको प्यानल नै विजयी : रत्नराज्यलक्ष्मी क्याम्पस (आरआरमा) मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । सभापतिमा विजयी तपेन्द्रबहादुर शाहीले ६९९ मत प्राप्त गरेका छन् । कुल एक हजार दुई सय ७८ मत खसेको थियो ।
सचिवमा नारायण शर्माले ६९६ र कोषाध्यक्षमा संगमप्रसाद देवकोटाले ७१० मत प्राप्त गरी विजयी भएका छन् । पदाधिकारीमा अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । त्रिविमा यो वर्षदेखि मिश्रित प्रणालीमा स्ववियु चुनाव भएको हो । समानुपातिकतर्फ अनेरास्ववियुले ७ सय ७७, नेविसंघले तीन सय ५०, अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड)ले ५३, संयुक्त प्यानलले ५२, नेक्राविसंघले ५ र अनेरास्ववियु पाँचौँले ६ मत प्राप्त गरेका छन् ।
मतपरिणाम नमान्ने अनेरास्ववियु क्रान्तिकारीको घोषणा : माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले स्ववियु चुनावको परिणाम स्वीकार नगर्ने घोषणा गरेको छ । अध्यक्ष नरेन्द्र न्यौपानेले मंगलबार साँझ प्रेस विज्ञप्ति निकालेर एकतर्फ रूपमा स्ववियु चुनाव गरिएको आरोप लगाएका छन् । उनले धाँधली भएको र आचारसंहिताको उल्लंघन भएकोसमेत आरोप लगाएका छन् ।
ढुंगामुढा र प्रेट्रोल बमले क्याम्पस बाहिर त्रास : आरआर क्याम्पसमा मतदान सुरु भएदेखि नै तनाव सुरु भएको थियो । बिहान ८ बजेतिर स्ववियु चुनावको विरोधमा रहेको विद्यार्थी समूह र प्रहरीबीच झडप भएको थियो । ढुंगामुढा गर्नेक्रममा केही प्रदर्शनकारी विद्यार्थी र प्रहरीसमेत घाइते भएका थिए । झडपका क्रममा विद्यार्थीले घाइते भएको दाबी गरे पनि प्रहरीले भने विद्यार्थीहरू घाइते नभएको दाबी गरेको छ । आन्दोलनकारीले बिहान १० बजेतिर पेट्रोल बमसमेत हानेका थिए । पेट्रोल बम हानेको विषयमा कसैले पनि जिम्मेवारी लिएको छैन ।
महानगरीय प्रहरी परिसरका एसएसपी जोशीका अनुसार तीनवटा सिसिमा पेट्रोल बम प्रहार गरेका थिए । चुनावको विरोधमा रहेको पक्षले पेट्रोल बम प्रहार गरेको आशंका गरिए पनि त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जोशीका अनुसार मंगलबारको झडपमा डिएसपी तामाङ सहित तीन प्रहरी सामान्य घाइते भएका छन् । ‘प्रहरीले धेरै संयमित भएर काम ग¥यो, विद्यार्थी कोही पनि घाइते छैन,’ उनले भने ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

