स्थानीय कमिटिले नै उम्मेदवार छनौट गर्ने एमालेको निर्णय

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३१ वैशाख हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन ‘प्लान’ अघि सारेको छ । स्थानीय तह निर्वाचनका लागि नेता कार्यकर्ता जिल्ला जिल्लामा परिचालन गर्ने र एकैसाथ निर्वाचनमा होमिने एमालेले निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा विहीबार बसेको स्थायी समिति बैठकले स्थानीय तहमा उम्मेदवार चयन गर्ने जिम्मा स्थानीय कमिटीलाई नै दिने निर्णय गरेको छ ।

एमालेको देशभरिका स्थानीय तहको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार तय गर्ने अधिकार सम्बन्धित जिल्ला कमिटीले पाएको छ ।
वडा, गाउँ र नगर कमिटीको सिफारिसमा वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारी जिल्ला कमिटीले टुंग्याउने गरी अधिकार दिइएको छ । जिल्ला र प्रदेशमा विवाद देखिएमा भने केन्द्रले हस्तक्षेप गर्न सक्ने नीति बनाइएको छ ।

गाउँपालिका र नगरपालिकाको प्रमुख, उपप्रमुखको उम्मेदवारी तय गर्ने अधिकार भने सम्बन्धित प्रदेश कमिटीलाई दिइएको छ ।
उपमहानगर र महानगरपालिकाका उम्मेदवार चयन गर्ने अधिकार भने केन्द्रमा नै राखिएको छ ।

उपमहानगर र महानगरमा पार्टीको केन्द्रीय नेता नै उठ्ने भएकाले त्यसको अन्तिम निर्णय भने स्थायी कमिटीले नै गर्ने निर्णय गरिएको छ । नयाँ संरचनाअनुसार ७ सय ४४ वटा स्थानीय तहमा देशभर ६ हजार ६ सय ८० वडा रहेका छन् ।

दुर्घटनामा घाइते भएकी एमाले सांसद दुलारीको मृत्यु

काठमाडौं, चैत ११ । नेकपा एमालेकी सांसद दुलारी देवीको निधन भएको छ । गत चैत ५ गते भारतको सीतामगढीमा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएकी सांसद दुलारीको उपचारका क्रममा बिहीबार साँझ ललितपुरको बी एन्ड बी अस्पतालमा निधन भएको हो । सांसद दुलारीको शवलाई शुक्रबार अन्तिम श्रद्धाञ्जलिका लागि एमाले मुख्यालय धुम्बाराहीमा राखिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायतले दुलारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि व्यक्त गरेका थिए । अध्यक्ष ओलीले दुलारीको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए । दुलारीप्रति श्रद्धाञ्जलि दिन उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलगायत मन्त्रीहरु एमाले पार्टी कार्यालय पुगेका थिए ।

प्रधानसेनापति क्षत्री र चिनियाँ रक्षामन्त्री जनरल चाङबीच भेटवार्ता

काठमाडौं, चैत ११ । प्रधानसेनापति राजेन्द्र क्षत्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच सैनिक मुख्यालय जंगीअड्डामा शुक्रबार भेटवार्ता भएको छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जनरल चाङ र प्रधानसेनापति क्षत्रीबीच भएको भेटवार्ता दुबै देशका सेनाबीच रहिआएको सुमधुर सम्बन्ध र सहयोगका विभिन्न पक्षमा केन्द्रित रहेको थियो । सो अवसरमा उनीहरुबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रक्षामन्त्री चाङको सम्मानमा सैनिक मुख्यालयमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेका थिए । उनले सो अवसरमा सम्मानगारतको निरीक्षणसमेत गरे । यसअघि, जनरल चाङ सैनिकमञ्च टुँडिखेल गइ त्यहाँस्थित वीर सैनिकको स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रदाञ्जलि व्यक्त गरे । छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ व्यक्तिहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले शुक्रबारै दिउँसो भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री खाँणसँग बिहीबार भएको भेटमा चिनियाँ रक्षामन्त्री चाङले नेपाल र नेपाली सेनालाई दिँदै आएको सहयोगको निरन्तरता हुने विश्वास दिलाएका थिए । चीन र नेपालबीच ‘नङ र मासु’कोजस्तै सम्बन्ध रहेकाले क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमासमेत यसले राम्रो प्रभाव पारेको जनाउँदै चाङले नेपालले एकचीन नीतिअन्तर्गत् उत्तरी सीमा सुरक्षामा पुर्‍याएको योगदानको प्रशंसा गरेको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसलाई अझ प्रभावकारी बनाउन आवश्यक सहयोग बढाउने तत्परता चिनियाँ पक्षबाट व्यक्त भएको थियो । ‘हामी नेपालमा शान्ति, प्रगति र विकास भएको देख्न चाहान्छौं, हामी नेपालको हित चाहान्छौं, नेपाली जनताले चाहेजस्तो विकास होस् भन्ने हाम्रो सद्भाव रहेको’ कुरा रक्षामन्त्री चाङले सो अवसरमा उल्लेख गरेका थिए ।

ठूलो परिमाणमा डलरसहित त्रिभुवन विमानस्थलबाट भिक्षुहरू पक्राउ

काठमाडौं, ११ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अमेरिकी डलर सहित भिक्षुहरु पक्राउ परेका छन् । थाइ एयरबाट थाइल्याण्ड जान लागेका चार जना भिक्षुणीले झोलामा बोकेको २ लाख ८६ हजार अमेरिकी डलर प्रहरीले बरामद गरेको जनाएको छ । ती भिक्षुणीहरुको झोलामा संकास्पद देखिएपछि चेक गर्दा सो ठूलो परिमाणमा डलर बरामद भएको विमानस्थलका डीआइजी पंकज श्रेष्ठले जानकारी दिएका छन् । उनीहरुको साथबाट २ लाख ८६ हजार डलर र २ लाख ६८ हजार भारतीय मुद्रा भेटिएको हो । नेपालमा यति ठूलो परिमाणमा डलरको ओसारपोसार अवैध छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाख्रापालनका लागि नौ लाख सहयोग

सिन्धुली, चैत ११ । सिन्धुलीमा बाख्रा पालनका लागि जिल्ला पशुसेवा कार्यालयले सहयोग स्वरुप नौ लाख आठ हजार रुपैयाँ प्रदान गरेको छ । रानीचुरी बाख्रा सोत केन्द्रलाई कार्यालयले सो सहयोग गरेको हो । पशुसेवा कार्यालयमा भएको एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले रानीचुरी बाख्रासोत केन्द्र समितिका अध्यक्ष रत्नबहादुर थापालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा साविकको रानीचुरी गाविसका १, २, ३ वडामा व्यावसायिक रुपमा बाख्रापालन गरी किसानलाई आत्मनिर्भर बनाउन सो सहयोग उपलब्ध गराएको कार्यालय प्रमुख रामकुमार कार्कीले बताए । समूहमा आवद्ध सदस्यले खोर निर्माण, औषधि व्यवस्थापन, उन्नत जातको बोका तथा न्यूनतम १० वटा माउ बाख्रा पाल्नुपर्ने उनले बताए ।

गिद्ध संरक्षणमा स्थानीयवासी

पाल्पा, चैत ११ । प्रकृतिको कुचिकारका रुपमा चिनिने लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षणमा स्थानीयवासी जुटेका छन् । रामपुर नगरपालिका–८ खैरेनी सामुदायिक वनमा वर्षौंदेखि वासस्थान बनाएर बसोबास गर्ने गिद्धको सङ्ख्या घट्दै गएपछि यहाँका स्थानीयवासी संरक्षणका लागि अग्रसर भएका हुन् । कालीगण्डकीको तटमा अवस्थित करिब १८ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वन क्षेत्रमा गिद्धको वासस्थान रहेको छ । वनभित्र रहेका सिमलका रुखमा गिद्धले गुँड बनाएर बस्दै आएका छन् । सो वन समूहका अध्यक्ष कृष्णप्रसाद अर्याल सिमलका रुख फँडानीमा वन समूहले प्रतिबन्ध लगाएर गिद्ध संरक्षण अभियानमा जुटेका बताए । “पहिला यहाँ चारसयदेखि पाँचसयको हाराहारीमा गिद्ध रहेका थिए, अहिले सङ्ख्या ह्वात्तै घटेर एकसय हाराहारीमा पुगेको छ,” उनले भने । स्थानीय बासिन्दा र वन समूहका उपभोक्ता मिलेर सिमलका रुख संरक्षण गर्न थालेपछि गिद्धको सङ्ख्या विस्तारै बढ्दै गएको अर्यालले बताए । स्थानीयवासीले जङ्गल फँडानी गरेपछि गिद्धको वासस्थान नै खलबलिँदा यसको सङ्ख्यामा कमी आएको हो । सो वनमा करिब एकसय ५० को हाराहारीमा साना ठूला सिमलका रुखमा गिद्धले गुँड बनाएर बसेका छन् । खैरेनी सामुदायिक वनले गिद्ध संरक्षणका लागि सिमलका रुख संरक्षण गर्नुका साथै गिद्धको आहारा व्यवस्थापनका लागि मरेका पशु परीक्षण गरेर मात्र सो वनमा फ्याँक्ने गरेका स्थानीयवासी एकराज अर्याल बताए । हिजोआज लोपोन्मुख अवस्थामा रहेका गिद्ध अवलोकनका निम्ति यस क्षेत्रमा विभिन्नस्थानबाट आन्तरिक पर्यटक दिनहुँ आउने गरेका छन् । नेपालमा पाइने नौ प्रजातिका मध्ये पाल्पामा चार प्रजातिका गिद्ध पाइने गर्छ । जिल्ला वन अधिकृत दधीलाल कँडेलका अनुसार यहाँ सुनगिद्ध, डँगर, हिमाली र सानो खैरो प्रजातिका गिद्धको बसोबास रहेको छ । मदनपोखराको अँधेरी छरछरे सामुदायिक वन र रामपुर नगरपालिकाको खैरेनी सामुदायिक वन क्षेत्रलाई गिद्ध संरक्षणको क्षेत्र घोषणा गरिएको छ । विसं २०६६ देखि जिल्ला पशुसेवा कार्यालयले डाइक्लोफेनिक नामक औषधि प्रयोगमा प्रतिबन्ध लगाएको छ । सो औषधि पशुमा प्रयोग भएपछि मरेका पशु गिद्धले आहारा सेवन गर्दा गिद्ध मर्न थालेपछि उक्त औषधिमा प्रतिबन्ध लगाएको वरिष्ठ पशु विकास अधिकृत डा चन्द्रबहादुर रानाले बताए ।

निर्वाचन तयारीका लागि नेता, कार्यकर्ता गाउँ पसे

रामपुर (पाल्पा),  चैत ११। स्थानीय निकायको निर्वाचनको तिथि मिति नजिकिँदै गर्दा यहाँका मुख्य राजनैतिक दलका नेतादेखि कार्यकर्तासम्मले मतदातालाई आफ्नो पकडमा राख्न, छलफल, अन्तरक्रियाका कार्यक्रमलाई अगाडि बढाएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले, नेकपा (माओवादी)का नेतादेखि कार्यकर्तासम्मका व्यक्ति आ–आफ्ना पार्टी नेतृत्व गर्ने दाबी गर्दै गाउँ पसेका छन् । लामो समयदेखि स्थानीय निर्वाचन नभएकाले कार्यकर्ताले उम्मेदवार बन्ने अपेक्षा गर्नु स्वाभाविक पनि हो । मतदातामा आफ्नो प्रतिनिधि चयन गर्न आतुर भएको देखियो त्यसैले निर्वाचनका लागि राम्रो वातावरण बन्दै गएको नेकपा (एमाले)का जिल्ला सदस्य कमल पौडेलले बताउनुभयो । संविधान कार्यान्वयन भनेको निर्वाचन हो, त्यसैले पहिलो चरणको काम गाउँपालिका बनाएर कामको सुरुवात नै भयो अब निर्वाचनलाई धकेल्नु वा पर सार्नु भनेको जनताप्रतिको बेइमानी हुनेछ सदस्य पौडेलले बताउनुभएको छ । एकातर्फ निर्वाचन लामो समयपछि हुनु, अर्कोतर्फ संविधान सभाद्वारा निर्मित संविधानले जनता र जनताका प्रतिनिधिलाई असीमित अधिकार दिएकाले गाउँपालिकाको प्रमुख, उपप्रमुख, सदस्य, नगरपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य, महिला, दलित, प्रतिनिधि बन्नका लागि आ–आफ्नो पार्टीमा टिकटका लागि लबिङ गर्नेहरु पनि उत्तिकै रहेका छन् । यसैक्रममा केही नेता, कार्यकर्ता आफू र आफ्नो पार्टीले अहिलेसम्म गरेका काम र संविधान निर्माणका क्रममा आफ्नो पार्टीले खेलेको भूमिकाका विषयमा बुझाउन जनताको घरदैलोमा पुगेका बखत, केही नेता सदरमुकाममा नै बसेर चिया गफमा आफ्नो राजनैतिक विवरण बताउँदै आफूले नै टिकट पाउनुपर्ने दाबी गर्नेहरु समेत भेटिएका छन् । जनयुद्धदेखि हालसम्मको अवस्थामा आइपुग्दा पार्टीका कार्यकर्ताले खेलेको भूमिकालाई उच्च मूल्याङ्कनकै आधारमा निर्वाचनमा टिकट दिइने एनेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य प्रेम सागर शाही बताउनुहुन्छ । नेकपा (एमाले)ले पनि तेस्रो चरणको कार्यक्रम बनाएर कार्यकर्ताको घरदैलोमा जाँदैछ । कुन गाउँपालिका, नगरमा को प्रमुख, उपप्रमुख तथा वडा सदस्यको उम्मेदवार को हुने भनेर पार्टीको आधिकारिक जिल्ला कार्यसमितिको बैठकबाट निर्णय गरिनेछ, पार्टीका जिम्मेवार एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा राससलाई बताउनुभयो । “पार्टीमा अहिले मत मतान्तर छैन, हामी गुट, समूहभन्दा पनि सिङ्गो पार्टी भनेर लागेका छौँ”, उहाँले भन्नुभयो । मुख्य ठूलो दल नेपाली काँग्रेसको दोस्रो चरणको कार्यक्रम सकिएको क्षेत्र नं १ का क्षेत्रीय सभापति सन्तोष थापाले बताउनुभयो । गाउँपालिका भइसकेपछि पनि गाउँपालिकाअन्तर्गतका पार्टीका क्षेत्रीय प्रतिनिधिको भेला सम्पन्न भइसकेको छ । त्यसअलावा पार्टीका जिम्मेवार पदाधिकारीसहित, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि गाउँकेन्द्रित नै छन् । संविधान जारी भएपछि मुलुकको राजनैतिक घटनाक्रमदेखि जनतालाई आर्थिक रुपमा कसरी बलियो बनाउने हो भन्ने विषयमा गाउँ जागरणको कार्यक्रम सकिएको नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले बताउनुभयो । रासस

भोजपुरमा एकसय ४४ मतदान केन्द्र

भोजपुर, चैत ११ । आगामी स्थानीय तहको निर्वाचनका लागि भोजपुरमा एकसय ४४ मतदान केन्द्र निर्धारण गरिएको छ । राजनीतिक दल, सरोकारवालाको सर्वपक्षीय निर्णयले जिल्लाभर एकसय ४४ मतदान केन्द्र राख्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिनुभयो । स्थानीय तह पुनर्संरचना भएसँगै भोजपुर जिल्लाका दुई नगरपालिका – भोजपुर र षडानन्द नपा र सात गाउँपालिका क्रमशः साल्पा–सिलिचो, टेम्के–मैयूँ, पौवा–दुम्मा, अरुण, हतुवागढी, आम्चोक तथा रामप्रसाद राई गाउँपालिकाका जम्मा ८७ ठाउँमा मतदानस्थल राख्न सिफारिस गरिएको छ । दुई नगरपालिकामा २६ र सात गाउँपालिकामा ६१ मतदानस्थल राखिने भएको हो । निर्वाचनका लागि कर्मचारीको लगत सङ्कलन भइरहेको र निर्वाचन शिक्षा भने चैत दोस्रो हप्तादेखि सञ्चालन गरिने निर्वाचन अधिकारी रेग्मीले बताउनुभयो । रासस

बैतडीमा टाउको नभएको अनौठो बच्चा जन्मियो, जन्मेको केही बेरमै मृत्यु

बैतडी,  चैत  ११ । बैतडीको दुर्गम तल्लोस्वराडकी एक महिलाले टाउको नभएको अनौठो बच्चा जन्माएकी छन् । मेलौली–६ महारुद्रकी २८ वर्षीया सुनिता पोखरेलले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिहिबार विहान सो बच्चा जन्माएको स्टाफ नर्स जानकी महतोले जानकारी दिनुभयो । जन्मिएको बच्चा छोरी रहेको छ, स्टाफ नर्स महतोले भन्नुभयो, “आठ महिनामै सुनिताले जन्माएको बच्चाको टाउको नभएको र जन्मिने बित्तिकै बच्चाको मृत्यु भएको छ ।” सुनिताको बच्चाको जन्म भने सामान्यरुपमा नै भएको तर बच्चाको जन्म भइसकेपछि अत्यधिक रक्तस्राव भएको अस्पताल स्रोतले बताएको छ । बच्चा जन्माउन स्वास्थ्य संस्थामा आएको भएपनि सुनिताको कोही पनि नआएका स्टार्फ नर्स महतोले बताउनुभयो । उहाँले भन्नुभयो, “घरपरिवार तथा आफन्त कोही नआउँदा रिफर गर्न पनि गाह्रो भएको थियो ।” सुनिताको भने अत्यधिक रक्तस्राव भएकाले बिहीबार बैतडीमा उपचार हुन नसक्दा सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा रिफर गरिएको छ । पोखरेलको चार महिना हुँदा गर्भ जाँच गराउँदाखेरी नै बच्चाको टाउको नभएको भनेर भने पनि आर्थिक अवस्था कमजोर हुँदा बाहिर जान नसकेको बताइएको छ । आर्थिक अवस्था कमजोर तथा अन्धविश्वासका कारण समयमै अस्पताल नजाँदा यस्तो अवस्था आएको स्थानीयवासी अर्जुन कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीले बच्चाको टाउको नभएको जानकारी दिएपनि धामीझाँक्रीको भरमा परेर अस्पताल नगएका हुन् ।” सुनिताका श्रीमान् करन पोखरेल रोजगारीको सिलसिलामा भारत रहनुभएको छ । सुनिताले यसपटक दोस्रो बच्चाका रुपमा जन्म दिएकी हुन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले चार महिनाअगाडि भिडियो एक्स–रे गर्दा नै टाउको नभएको भन्ने थाहा भएको र उपचार गर्न स्वास्थ्य संस्था नआएको बताउनुभयो । “गर्भ रहेको चार महिनाभित्र गर्भवती महिलाले कुनै पनि किसिमको औषधि सेवन गर्नु हुँदैन”, उहाँले भन्नुभयो, “केही औषधि सेवन गरेकोहुनसक्छ ।” औषधि सेवन गरेर बच्चाको शरीरको मात्रै विकास भएको र टाउकाको नभएको हुनसक्ने भएपनि यो अहिलेसम्म पुष्टि नभएको उहाँले बताउनुभयो । बैतडीमा उपचार हुन नसक्दा सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा रिफर गरिएकी सुनिताको डडेल्धुरामा पनि रगत नपाउँदा उपचारमा समस्या भएको डाक्टर नवराज जोशीले जानकारी दिनुभयो । रासस

जुजुभाइले जिब्रो नछेड्ने घोषणा गरेपछि जिब्रो छेड्ने जात्रा सङ्कटमा

भक्तपुर, चैत १० । हरेक वर्ष वैशाख २ गते बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको छ । मध्यपुरथिमिको बोडेमा सयौँवर्ष अगाडिदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको हो । विगत आठ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाइ बाग श्रेष्ठले आज पत्रकार सम्मेलनको आयोजना गरी यसवर्ष आफूले जात्रालाई निरन्तरता दिन नसक्ने बताए । उनले भने, – ‘विगत आठ वर्षदेखि मैले जिब्रो छेड्दै आएको हुँ, यसवर्ष भने मैले यो जात्रालाई निरन्तरता दिन सकिन, मैले यसवर्ष जिब्रो नछेड्ने निर्णय गरे, अब बोडेका अरु व्यक्ति जिब्रो छेड्न तयार हुनुपर्छ ।’ विगतका वर्षमा पनि जिब्रो छेड्ने व्यक्ति तयार नहुँदा जात्रालाई निरन्तरता दिएका जुजुभाइले यसवर्ष जिब्रो नछेड्ने भएपछि अरू तयार नभए जात्रा नै रोकिने भएको छ । घरमा पारिवारिक समस्या आएको र बोडेका अरूलाई पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेड्ने अवसर प्रदान गर्नका लागि पनि आफूले यसवर्ष जिब्रो नछेड्ने निर्णय गरेको उनले बताए । जुजुभाइले जिब्रो छेड्नु अघि चार वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले र १२ वर्ष उनका दाजू कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए । हरेक वर्ष चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गा्े उठाएपछि वैशाख २ गते १२ बजेपछि हजारौँ मानिसको अगाडि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाई नायसिं बाजागाजाका साथ जिब्रो छेड्ने परम्परा छ । नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरो देवगणको पूजा एवम् प्रार्थना गरी हजारौँ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा छ । बोडेको नीलबाराहीसँग यो जात्रा जोडिएकाले पनि यसलाई निरन्तरता दिन सके बोडे बासिन्दाका लागि शुभ हुने विश्वास रहँदै आएको छ । रासस

गैँडाको नक्कली खागसहित तीन पक्राउ

काठमाडौँ, चैत १०। गैँडाको नक्कली खाग र खाग बनाउने उपकरणसहित प्रहरीले ललितपुरको खुमलटारबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर फापरबारीका सोमबहादुर सिङ्गर, धियाल गाविसका अनिलबहादुर लामा र ललितपुर, सानोगाउँ बस्ने काभ्रेपलाञ्चोक बल्थलीका शक्ति घिमिरे छन् । दुर्लभ वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने प्राप्त सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोेबाट खटिएको प्रहरी टोलीले ९४८ ग्राम तौल भएको गैँडाको जस्तो नक्कली खाग एक थान, नक्कली खाग बनाउन प्रयोग गरेका सामान हेक्सो ब्लेट एक, फलाम काट्ने कैँची एक, पिलास दुई, सानो हथौडा दुई, ठूलो हथौडा दुई, रेती दुई, छिनो एक, मूर्तिमा खोप्ने टाँगो तीन, मूर्तिमा लेप लगाउने फलाम एक र कोइलासहित उनीहरुलाई पक्राउ गरेको हो । गैँडाको जस्तो नक्कली खाग एक थानसहित सिङ्गर लामालाई चैत ८ गते पक्राउ गरी बुझ्दा उक्त खाग घिमिरेबाट खरिद गरेको खुल्न आएको थियो । थप अनुसन्धान एवम् आवश्यक कानुनी कारबाहीका लागि ब्युरोले उनीहरुलाई जिल्ला वन कार्यालय ललितपुरमा बुझाएको छ ।

सगरमाथा आरोहण: पाइलाको छाप पछ्याउँदै बाटो खोज्नुपर्छ

सोलुखुम्बु, चैत १० । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो कस्तो होला ? ‘फराकिलो, चौडा, ढुङ्गा बिछ्याएकाे, अझ समाएर हिँड्नका लागि ठाउँठाउँमा फलामको रेलिङ, अनि सङ्केत चिन्ह् ?’ अधिकांशले यस्तै सोच्ने गर्दछन् । तर सगरमाथा जाने बाटो भने ठीक यसको उल्टो छ । खुम्जुङ गाविसको लबुचेदेखि गोरप्सेप हुँदै सगरमाथा आधार शिविरसम्म पुग्न अघिल्लो पदयात्रीको पाइला पहिल्याएको भरमा पुग्नुपर्छ । यस क्षेत्रमा पर्यटकका लागि सङ्केत चिन्ह्को समेत व्यवस्था छैन । सङ्केत चिन्ह्को अभावमा कयौँं पर्यटक बाटो बिराएर अन्यत्र समेत पुग्ने गरेको तीतो अनुभव पदयात्री सुनाउँछन् । विदेशी तथा स्वदेशीसमेत गरी वार्षिक एक लाखको हाराहारीमा पदयात्री आउने यस क्षेत्रको बाटो निर्माणका लागि अहिलेसम्म कसैले चासो नदिएको आधारशिविर नजिकैको गोरप्सेपका पेम्बा शेर्पा बताउनुहुन्छ । “पदयात्री हिँड्दाहिँड्दै बनेको पाइलाको छाप नै बाटो हो, अरु कसैले हालसम्म बाटो बनाएका छैननन्,” उहाँले भन्नुभयो । ढुङ्गामाथि टेक्दै हिँड्नु परेकाले एउटा यामका लागि प्रयोग हुने बाटो अर्को याममा पत्ता लगाउन नसकिने शेर्पाको भनाइ छ । “एउटै ठाउँबाट हिँड्ने निश्चित बाटो नै छैन, जहाँ मन लाग्यो त्यहीँबाट पदयात्री हिँड्छन्,” उहाँले भन्नुभयो । विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा जाने बाटो मात्र होइन, गोरक्सेपदेखि कालापत्थर, दिङबोचेदेखि छुकुङहँुदै आइस्ल्याण्ड पिक जाने बाटो, यस्तै लबुचे हँुदै गोक्यो जाने बाटोको अवस्था पनि यस्तै छ । चोला पास गर्नु अघि र गरेपछि पनि गोक्यो जाने बाटोको अवस्था उस्तै छ । ‘चोला पुग्न त अनुभवी शेर्पाको साथमा मात्र जानुपर्छ, होइन भने कुन बेला कहाँ पुगिन्छ थाहै हुँदैन,” जोङ्लाका आङनुरु शेर्पाले भन्नुभयो । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, नाम्चेमा रहेको अभिलेख अनुसार वार्षिक करिब ३५ हजार विदेशीका साथै उनीहरुका गाईड, भरिया र स्वदेशी पर्यटकसहित एक लाखको हाराहारीमा मानिस सगरमाथा क्षेत्रमा पुग्छन् । यत्तिका धेरै मानिसको आवातजावत हुने यसक्षेत्रको बाटो निर्माण नहुँदा कयौँले बाटो भूल्ने गरेका छन् । “हिउँ परेको बेला सबै भाग उस्तै देखिन्छ, लडेर अङ्गभङ्ग हुने खतरा सधैँ रहन्छ,” आइसफल ट्रेक्स् एन्ड एक्सिपिडिसन्का आरोही सोनाम शेर्पाले भन्नुभयो । पर्यटक हिँड्ने एउटै बाटो भएको भए बिर्सने सम्भावना न्यून हुुनुका साथै सोधेर हिँड्नुपर्ने अवस्था नआउने उहाँको भनाइ छ । सगरमाथाको आरोहण शुल्कबापत उठाएको रकमको एक प्रतिशत मात्र खर्च गर्ने हो भने पनि यस क्षेत्रमा बाटो निर्माण गर्न सकिने खुम्बु रक क्लाइमिङ सेन्टरका अध्यक्ष पानुरु शेर्पाले बताउनुभयो । “रोयल्टी उठाएर सगरमाथा जाने तर बाटो निर्माण नगर्ने ?” शेर्पाले प्रश्न गर्नुभयो । सगरमाथा आरोहण शुल्कबाट सरकारले बर्सेनि रु ३० करोडभन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ । सगरमाथाको कुल रोयल्टीको ३० प्रतिशत रकम जिल्लाले पाउने गरेको भए पनि खुम्बु क्षेत्रमा खर्च नगरी अन्य क्षेत्रमा खर्च गर्ने गरेको पाइएको स्थानीय लाफुटी शेर्पाले बताउनुभयो । “राज्यले आफ्नै क्षेत्रमा रहेको सगरमाथाको रोयल्टी उठाएर स्थानीय विकास निर्माणका लागि विदेशीलाई गुहार्नु परेको छ,” शेर्पाले गुनासो गर्नुभयो । स्थानीय स्वायत्त शासन ऐन र नियमावली अनुसार हिमाल आरोहणबापत राज्यबाट सोलुखुम्बुले प्राप्त गर्नुपर्ने करिब रु ५२ करोड साविकको जिल्ला विकास समितिमा पर्यटन मन्त्रालयले पठाए पनि रु ४० करोडभन्दा बढी रकम काम नगरी थन्किएको छ ।

ग्यालेनमा डिजेल भरेर गाडी चलाउन बाध्य !

जाजरकोट, चैत १० । यस जिल्लाको पूर्वी क्षेत्रको सडकमा निकै जोखिमपूर्ण ढङ्गले गाडी चलाउने गरिएको छ । अप्ठेरो सडकमा गाडीको ट्याङ्की फुटेको भन्दै खुल्ला ग्यालेनमा भरिएको डिजेलबाट पाइप जोडेर गाडी चलाउने गरिएको छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत जिल्लाको त्रिवेणी नलगाड नगरपालिकाको खगेनकोट बगरादेखि भगवती तल्लुसम्मको सडकमा यसरी गाडी चलाउने गरिएको छ । बीस किलोमिटर दूरीमा चलाइने अधिकांश गाडीमा इन्धन ग्यालेनमा पाइप हालेर गाडी चलाउने गरिएको मात्र छैन, पूरै सिसा फुटेका गाडी पनि असुरक्षित ढङ्गले चलाउने गरिएको छ । स्थानीय प्रशासनको लापरबाहीका कारण खुलेआम रुपमा यात्रु बस्ने सिटनजिकै राखिएका खुल्ला ग्यालेन राख्ने गरिएको छ । गाडीमा तेल भरिएका ग्यालेन खुल्ला राख्नु आफूहरूको रहर नभई बाध्यता भएको बताउँछन् यातायात व्यवसायी । उक्त सडकमा साना गाडी चलाइरहेका जिप चालक खिमबहादुर मल्लले अप्ठेरो सडकमा गाडीको ट्याङ्की फुटेपछि ग्यालेनमा तेल राखेर गाडी चलाउनु परेको बताउनुभयो । आगो लाग्ने जोखिम भए पनि आफूहरूले सुरक्षित रुपमा गाडी चलाउने गरेको उहाँको भनाइ छ । गाडीमा खुल्ला रुपमा तेल राखेर गाडी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक भएको रग्दाका रामबहादुर ध्यारले बताउनुभयो । गाडीमा खुल्ला ग्यालेनबाट तेल आपूर्ति गरेर गाडी चलाउँदा आगलागी हुने मात्र नभई अप्ठेरो बाटोमा दुर्घटनाको जोखिम पनि निकै रहन्छ । जति जोखिमपूर्ण ढङ्गले चलाए पनि प्रहरी र अन्य निकायले कुनै वास्ता नगर्ने गरेको स्थानीय यात्रुको गुनासो छ । “एक त पहाडको बाटो निकै अप्ठेरो, त्यही पनि व्यवसायीले खुल्ला ग्यालेनमा तेल राखेर गाडी चलाउँछन्, यात्रा गर्न निकै डर लाग्यो,” उक्त सडकमा यात्रा गरेर खलङ्गा फर्किएकी खलङ्गाकी स्थानीय सुधा हमालले बताउनुभयो । प्रजिअ कृष्णचन्द्र पौडेलले यसबारे प्रहरीलाई आवश्यक निर्देशन दिइसकिएको बताउनुभयो । उहाँले जोखिमपूर्ण ढङ्गले गाडी चलाउन तत्काल बन्द गर्न प्रहरी परिचालन गरिएको पनि बताउनुभयो ।

निर्वाचनपछि विकास निर्माणले गति लिने: राज्यमन्त्री महतो

पाँचथर, चैत १० । भौतिक पूर्वाधार राज्यमन्त्री सीताराम महतोले स्थानीय तहको निर्वाचनले मात्रै विकास निर्माणले गति लिने बताउनुभएको छ । पाँचथरको फिदिममा आज बिहान पार्टी भेटघाट कार्यक्रममा बोल्दै उहाँले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने र निर्वाचनपश्चात् जनताले चाहेअनुरुपको विकास हुने बताउनुभयो । उहाँले मधेसवादी दललाई पनि सामेल गराएर स्थानीय तहको निर्वाचनमा सँगै लैजानुपर्ने पनि बताउनुभयो । अबको स्थानीय तहको निर्वाचनमा वडादेखि तहसम्मको चुनावमा नेपाली काँग्रेसले जित्नुपर्ने उहाँले बताउनुभयो । त्यसका लागि पार्टीका आम नेता तथा कार्यकर्तालाई चुनावी अभियानमा लाग्न समेत उहाँले आग्रह गर्नुभयो । पार्टीले विकास निर्माणको निम्ति नीतिनिर्माण गरिसकेको हुँदा नेपाली काँग्रेसले नै स्थानीय तहमा जित्नुपर्ने उहाँको भनाइ थियो ।

राउटे र दलितका लागि पाँच सय घर निर्माण हुने

कञ्चनपुर, चैत १० । जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा बसोबास गर्दै आएका दलित र राउटे समुदायका परिवारका लागि पाँच सय घर निर्माण हुने भएका छन् । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले घर निर्माणका लागि दलित समुदायका विपन्न, घर नभएका, अपाङ्गता भएका, असहाय र एकल महिला तथा राउटे परिवारको छनोटको कार्य सुरु गरेको छ । कार्यक्रमअन्तर्गत स्वीकृत डिजाइन र स्फेसिफिकेसनबमोजिम घर निर्माण गरी आवास सुविधा दिइने डिभिजन कार्यालयका इन्जिनियर दिनेशकुमार श्रेष्ठले बताउनुभयो । जिल्ला समन्वय समिति कञ्चनपुरको गत पुस ३ गतेको बैठकमा साबिक सम्पूर्ण नगरपालिका र गाविसमा कार्यक्रम सञ्चलन गर्ने निर्णय गरिएको थियो । निर्णयअनुसार झलारी पिपलाडीमा ४०, वेदकोटमा ५३, बेलौरीमा ३२, पुनर्वासमा ५९, दोधारा चाँदनीमा ७४, कृष्णपुरमा ४७, बाइसे विचवा र रैकवार विचवामा १९, बेलडाँडीमा २६, रामपुर विलासिपुर र श्रीपुरमा १७ र भीमदत्तनगरपालिकामा एक सय २४ गरी कार्यक्रमअन्तर्गत पाँच सय घर निर्माण गरिनेछन् । प्रत्येक घर निर्माणका लागि रु दुई लाख १६ हजार रकम प्रदान गरिनेछ । सर्भेक्षण फाराम भरेका व्यक्तिको घरदैलो पुगी घर निर्माणका लागि सिफारिस गरिने इन्जिनियर श्रेष्ठले बताउनुभयो । “छनोटमा परेका परिवारको वैशाख १० गतेदेखि तोकिएको मापदण्डमा घर निर्माणको कार्य सुरु गरिनेछ,” उहाँले भन्नु भयो । सोही कार्यक्रमअन्र्तगत कैलालीमा समेत दलित, राउटे र मुस्लिम समुदायका पाँच सय घर निर्माण गरिने बताइएको छ ।

भारतबाट ६ नेपाली बालकको उद्धार

झापा, चैत १० । भारतको सिलिगुढी र दार्जीलिङमा अलपत्र अवस्थामा रहेका ६ नेपाली बालकको उद्धार गरी नेपाल ल्याइएको छ । महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट नेपाल ल्याइएको हो । इलाम साङ्रुम्बाका रोशन विक, जनकपुरका सागिर अन्सारी, झापा पृथ्वीनगरका मिलन सार्की, भद्रपुरका विवेक साह, इलाम जीतपुरका रोशन विक तथा ठेगाना बताउन नसक्ने सुदिप राई र भुवन मगरको उद्धार गरिएको महिला तथा बालबालिका कार्यालयका प्रमुख इन्दिरा ओझाले जानकारी दिनुभयो । उद्धार गरिएकाहरु ११ वर्षदेखि १५ वर्षसम्म उमेरका छन् । भारतको सिलिगुढी र न्यू जलपाइगुढीलगायत ठाउँमा अलपत्र अवस्थामा रहेका उनीहरुलाई भारतीय प्रहरीले सिलिगुढीस्थित बालगृहमा राखेको थियो । अहिले उनीहरुलाई काँकडभिट्टास्थित माइती नेपालको पुनःस्थापना गृहमा राखिएको छ । “ठेगाना पत्ता लागेकालाई सम्बन्धितको घरमा पुर्याइदिने र पत्ता लाग्न नसकेकालाई बाल गृहमा नै राख्छौँ,” ओझाले भन्नुभयो ।