टोनी हागनद्वारा खिचिएका फोटोको प्रदर्शनी

पोखरा, चैत १० । पोखरा लेखनाथ महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा स्विस विकास सहायताका प्रवर्तक टोनी हागनद्वारा खिचिएका फोटोको प्रदर्शनी सुरु भएको छ ।

तीन महिनासम्म सञ्चालन हुने सो प्रदर्शनीमा नेपालको विशेष गरी हिमाली क्षेत्रसहित काठमाडौँ र पोखराको विभिन्न स्थानबाट छ दशक पहिले खिचिएका १०५ वटा फोटो रहेका छन् ।

काठमाडौंँ विश्वविद्यालयका पूर्वउपकूलपति डा.सुरेशराज शर्माले सो प्रदर्शनीको आज यहाँ उद्घाटन गर्दै नेपालको शैक्षिक एवम् औद्योगिक विकासमा टोनी हागनको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

टोनी हागनका छोरी डा काट्रिन हागनले फोटोले विगतलाई जीवन्त राखेको बताउँदै प्रदर्शनीलाई सर्वसाधारणको पहँुचसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । टोनी हागन फाउन्डेसनका अध्यक्ष प्रा प्रमोदकुमार झाले टोनी हागनले नेपालको ७५ जिल्लाको करिब ४० हजार किलोमिटर पैदलयात्रा सम्पन्न गरेको जानकारी दिनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरीङ शेर्पाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रथम उपाध्यक्ष एवम् सङ्ग्रहालयका संयोजक सान्तवीर लामाले फोटो प्रदर्शनीले सङ्ग्रहालयको गरिमालाई उच्च बनाएको बताउनुभयो ।

नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

काठमाडौं, चैत ९ । महानगरीय प्रहरी परिसर ललितपुरले नक्कली लाइसेन्स बनाउने गिरोहका दुई जनालाई पक्राउ गरेको छ । लाइसेन्स बनाउनका लागि यातायात जाने सर्वसाधारणलाई सजिलै तरिकाबाट लाइसेन्स बनाइदिने भन्दै पैसा असुल्ने ती दुई जनालाई एक सय २१ वटा नक्कली लाइसेन्ससहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीको भद्रकाली–४ का अनिलकुमार पाख्रिन र सिन्धुली भद्रकाली–९ का गणेशकुमार गोले रहेका छन् । उनीहरुको साथबाट विभिन्न व्यक्तीको नाममा बनाइसकेको नक्कली लाइसेन्स ६ वटा, एक सय १५ वटा प्रिन्ट गरेको लाइसेन्स गरी एक सय २१ वटा नक्कली लाइसेन्स, ३० वटा प्रिन्ट गर्न लागेको लाइसेन्स, यातायात कार्यालयको होलोग्राम एक सय १० वटा, कम्युटर, प्रिन्टर, छापलगायतका सामग्री बरामद गरेको छ । बरामद गरेको होलोग्राम सक्कली हुन सक्ने भन्दै यस विषयमा प्रहरीले थप अनुसन्धान थाल्ने बताएको छ । एक हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म लिएर उनीहरुले नक्कली लाइसेन्स बेच्चे गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

प्रचण्डको चीन भ्रमण, कुनै सम्झौता नहुने (तालिकासहित)

काठमाडौं, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा कुने पनि सन्धी सम्झौतामा हस्ताक्षर नहुने भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी परराष्ट्रमन्त्री प्रकाशशरण महतले आन्तरिक तयारी नपुगेका कारण सम्झौता प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशबीच कुनै पनि सम्झौता तथा साझदारीमा हस्ताक्षर नहुने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल बिहिबारदेखि एक साताका लागि चीन भ्रमणमा जाँदैछन् । महतले पूर्ववर्ति सरकारले चीनसँग गरेको सम्झौता कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताएकाका छन् । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण तालिका

अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता हुने

काठमाडौँ, चैत ९ । सङ्घीय मामिला तथा स्थानीय मन्त्रालय, पञ्जीकरण विभागले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको छ । विभागले आगामी वैशाखदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाअन्तर्गतका स्थानीय तहमा अनलाइनमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धबिच्छेद दर्ता गर्ने भएको विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले जानकारी गराउनुभयो । सर्वसाधारणले अनलाइनमा रहेको फाराम भरेर सम्बन्धित नगरपालिकामा पठाएपछि प्रमाणपत्र मात्र लिन जानुपर्ने छ । उहाँले पहिलो चरणमा सबै नगरपालिकामा गरिसकेपछि दोस्रो चरणमा सबै गाउँपालिकामा विस्तार गरिने बताउनुभयो । “देशभरि नै सबै नगरपालिका र गाउँपालिकामा एकैसाथ अनलाइनमार्फत सेवा सुरु गर्ने योजनामा थियाँै”, उहाँले भन्नुभयो, “सबै गाउँपालिका इन्टरनेटको पहुँच नपुगेकाले पहिलो चरणमा नगरपालिकामा सेवा सुरु गर्न थालेका हाँै ।” यसैगरी विभागले पहिले दर्ता भएका व्यक्तिगत घटना तथा दुर्घटना पनि अनलाइनमा राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

बालविवाहका कारण महिलामा मानसिक समस्या

रुकुम, चैत ९ । बालविवाहका कारण ग्रामीण भेगका महिला मानसिक समस्या झेल्दै आएका छन् । बालविवाह गर्नेलाई कानुनी कारबाही नहुँदा बालविवाह घट्न सकेको छैन् । जनचेतनाको कमीले गाउँमा अझै पनि सानै उमेरमा विवाह गर्ने गरेका छन् । यसबाट महिला हिंसाका घटनामा समेत वृद्धि भएको छ । बहुविवाह र सम्बन्धविच्छेदका घटना समेत बढ्दै गएका छन् । बालविवाहकै कारण कतिपय महिलाले आत्महत्या समेत गर्ने गरेका महिला अधिकारकर्मी मनिषा भण्डारी बताउनुहुन्छ । बालविवाह न्यूनीकरणका लागि अभिभाकलाई सचेत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अन्तर्जातीय विवाह भएमा झगडा प्रहरीसम्म पुग्ने र अन्य भए गाउँमै मिलाउने गरेको भण्डारीले बताउनुभयो । गाउँमा बालविवाह भए पनि आपसी मिलेमतोमा कुरा मिलाउने तथा प्रहरीसम्म पुगे पनि लेनदेनमा कुरा मिलाउने प्रचलन रहेको छ । बालविवाहसम्बन्धी मुद्दा चलाउन समस्या रहेको प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी बताउनुहुन्छ । “दुवैपक्षको सहमति भएपछि मुद्दा चलाउन समस्या हुने गरेको छ,” उहाँले भन्नुभयो । महिला हिंसाका ८४ उजुरी दर्ता जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवमा महिला हिंसा सम्बन्धिका ८४ वटा उजुरी दर्ता भएका छन् । प्रहरीका अनुसार छवटा बहुविवाह, चारवटा आत्महत्या, नौवटा जबर्जस्ती करणी, तीनवटा जबर्जस्ती करणी उद्योग र ६३ वटा घरेलु हिंसाका उजुरी गर्दा भएका छन् । बालविवाह न्यूनीकरण र महिलामाथि हुने सबै प्रकारका हिंसाका घटनालाई निरुत्साहित पार्न सबैको सहयोग अपरिहार्य हुने प्रहरी नायब उपरीक्षक जिसी बताउनुहुन्छ ।

एउटै प्रदेशमा तीन महानगरपालिका

काठमाडौँ, चैत ९ । सङ्घीय संरचनाअनुसार प्रदेश नं ३ मा सबैभन्दा बढी तीनवटा महानगरपालिका रहेका छन् । अर्को एउटा महानगरपालिका प्रदेश नं ४ मा परेको छ । तीन नं प्रदेशमा काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा ४ नं प्रदेशमा पोखरा लेखनाथ महानगरपालिका निर्धारण गरिएको छ । जनसङ्ख्यालाई आधार मान्दा सबैभन्दा ठूलो काठमाडौँ महानगरपालिका रहेको छ । ४९ दशमलव ४५ वर्ग किलोमिटर क्षेत्रफल तथा ३२ वडा कायम गरिएको यस महानगरपालिकाको जनसङ्ख्या नौ लाख ७५ हजार रहेको छ । त्यस्तै ४३२ दशमलव ९५ वर्ग किमी क्षेत्रफल रहेको भरतपुर महानगरपालिकामा २९ वडा रहेका छन भने जनसङ्ख्या दुई लाख ८० हजार रहेको छ । क्षेत्रफलको हिसाबले सबैभन्दा सानो ललितपुर महानगरपालिका हो । ३६ दशमलव १२ वर्ग किलोमिटर क्षेत्रफल तथा २९ वडा रहेको यस महानगरपालिकाको जनसङ्ख्या दुई लाख ८४ हजार रहेको छ । त्यसैगरी प्रदेश नं ४ मा रहेको पोखरा लेखनाथ महानगरपालिका क्षेत्रफलको हिसाबले सबभन्दा ठूलो हो । ३३ वडा भएको उक्त महानगरपालिकाको क्षेत्रफल ४६४ दशमलव २४ वर्ग किमी रहेको छ भने त्यहाँ चार लाख १४ हजार नागरिकको बसोबास रहेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङका अनुसार महानगरपालिका हुनका लागि कम्तीमा तीन लाख जनसङ्ख्या, रु ४० करोडभन्दा बढी वार्षिक खर्च हुनुपर्ने, प्रतिवडा ११ हजार जनसङ्ख्या हुनुपर्ने सरकारी मापदण्ड रहेको छ । “ललितपुर र भरतपुर महानगरपालिमा सरकारी मापदण्ड पुरा भएको पाइँदैन,” तामाङले भन्नुभयो । नेपाल नगरपालिका कर्मचारी सङ्घका कार्यकारी सचिव कलानिधि देवकोटा पनि महानगरपालिकाले सरकारी मापदण्ड नै पूरा नगरेका बताउनुहुन्छ । “सरकार आफैले नियम बनाए पनि पालना गरिएको छैन,” उहाँले भन्नुभयो । सातवटा प्रदेशमा एक–एकवटा महानगर निर्माण गर्ने अवधारणासहित अघि बढ्नुपर्नेमा देवकोटाले जोड दिनुभयो । काठमाडौँ महानगरपालिका यसअघि नै महानगर थियो । ललितपुर र लेखनाथ उपमहानगरपालिका थिए भने भरतपुर नगरपालिका थियो । त्यतिबेला २१७ नगरपालिका र तीन हजार १५७ गाविस रहेका थिए । सरकारले २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी ७४४ स्थानीय तह घोषणा गरेको हो । जिविसलाई जिल्लाभित्रका नगरपालिका र गाउँपालिकासँग समन्वय गर्ने गरी जिल्ला समन्वय समितिमा परिणत गरिएको छ । नयाँ संरचनाअनुसार सरकारले चार महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका, ४८१ गाउँपालिका र वडाको सङ्ख्या छ हजार ६८० पुगेको छ । विराटनगर, इटहरी, धरान, जनकपुर, हेटौँडा, जीतपुरसिमरा, कलैया, वीरगन्ज, बुटवल, तुल्सीपुर, घोराही, नेपालगन्ज र धनगढी उपमहानगरपालिका कायम गरिएको छ ।

हतियार बुझाउन आग्रह

कोहलपुर (बाँके),चैत ९ । जिल्ला प्रशासन कार्यालय बाँकेले आफूहरुसँग भएका सम्पूर्ण हातहतियार यही चैत २४ गतेभित्र बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण एवम् भयरहित तरिकाले सम्पन्न गराउनका लागि नागरिकसँग भएका बन्दुक, पेस्तोललगायत हातहतियार सङ्कलन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । “स्थानीय तहको निर्वाचन अवधिसम्मका लागि कानुनबमोजिम अनुमति प्राप्त गरेका बन्दुक, पेस्तोल हातहतियार नेपाल प्रहरीको अधीनमा राख्नुपर्ने भएकाले सम्पूर्ण नागरिकलाई हातहतियार बुझाउनका लागि अनुरोध गरेका हौँ”, सहायक प्रजिअ कृष्णबहादुर खड्काले भन्नुभयो “सूचना प्राप्त गरेपछि यही चैत २४ गतेभित्र नजिकैको प्रहरी कार्यालयमा लगी हतियार बुझाइदिनुहोला ।” खड्काद्वारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा यही चैत २४ गतेभित्र नजिकैको प्रहरी कार्यालयमा हतियार बुझाउनुपर्ने जनाइएको छ । स्थानीय प्रशासनले समयमै हातहतियार नबुझाए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । रासस

स्थानीय तहको चुनावसम्म प्रचार तथा अनुशिक्षण कार्यक्रम

काठमाडौँ, चैत ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावको प्रचार तथा अनुशिक्षण कार्यक्रम केन्द्रीय नेतृत्वले सञ्चालन गर्ने भएको छ । पार्टीले सोही प्रयोजनका लागि अहिलेसम्म करिब ५० जिल्लामा केन्द्रीय नेतृत्वलाई खटाइसकेको छ । पार्टीले बाँकी २५ जिल्लामा बिहीबारसम्म केन्द्रीय टोली खटाइसक्ने र निर्धारित बैठक समापन गर्ने योजना तयार गरेको पार्टीले जनाएको छ । नेता राजाराम श्रेष्ठका अनुसार आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावलाई मध्यनजर गरेर पार्टीले देशका ७५ वटै जिल्लामा बिहीबारसम्म (यही चैत १० गतेभित्र) जिल्ला कार्यसमितिको विस्तारित बैठक सम्पन्न गर्न निर्देशन दिएको छ । नयाँ संविधान जारी भएपछि सो अनुसार पार्टीको स्थानीय तहका सबै एकाई व्यवस्थित गर्ने कार्यक्रम भएको पार्टीले जनाएको छ । देशभर विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरी पार्टीका राजनीतिक उद्देश्य जनतालाई बुझाउनका लागि केन्द्रीय नेता तथा काठमाडौँ उपत्यकाबाहिरका केन्द्रीय सदस्यलाई काठमाडौँ छाड्न पार्टीले निर्देशन दिएको नेता श्रेष्ठले जानकारी दिनुभयो । पार्टीमा अहिले पदाधिकारी तथा केन्द्रीय सदस्यले स्थानीय तहको चुनावसम्म सम्बन्धित जिल्लामा राजनीतिक क्रियाकलाप सञ्चालन गरी सङ्गठन सुदृढीकरण गर्नेछन् ।

सप्तरीमा दुईजनाको मृत्यु

राजविराज, फागुन ९ । सप्तरीको छुट्टाछुट्टै घटनामा परी मङ्गलबार दुई जनाको मृत्यु भएको छ । जिल्लाको बोदेबरसाइन–१ मा मोरटसाइकल बयलगाडामा ठोक्किदाँ मोटरसाइकलको पछाडि सवार सप्तरीको धनगढी–५ निवासी ४५ वर्षीय सुभाष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको नम्बर अहिलेसम्म खुलेको छैन । मोटरसाइकल चालक भने फरार रहेका र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बोदेवसाइनले जनाएको छ । यस्तै, सप्तरीको कुसाहा–९ मा एकजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मधुवनी सकरी थाना घर भई हाल सप्तरी कुसाहा–९ स्थित हलेसी इँट्टा उद्योगमा कार्यरत ५० वर्षीया नन्दी पासवान रहेको बताइएको छ । पासवानलाई अचानक बान्ता र पखाला चलेपछि उपचारका लागि लहानस्थित नर्सिङ होममा भर्ना गरिएपनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ । यसैबीच, सोमबार बेलुका परेको असिनाका कारण सप्तरीको पूर्वी भेगका आँप, गहुँ र तरकारी बालीमा ठूलो क्षति पुगेको भन्दै रुपनगर आँप उत्पादक कृषक समूहले क्षतिपूर्तिको माग गरेका छन् । समूहका अध्यक्ष तीर्थराज पोखरेलले कृषकका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै क्षतिपूर्तिको माग गर्नुभएको हो । परेको असिनाबाट जिल्लाको पूर्वी तथा उत्तरी भेगको सीतापुर, महुली, जण्डौल, ठेलिया, रुपनगर, धरमपुर, कञ्चनरुप नगरपालिको विभिन्न भागमा लगाइएको आँप, गहुँ र तरकारी बालीमा ठूलो क्षति पुगेको थियो । गरिब किसानको हानि–नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्तिको व्यवस्था मिलाई दिनसमेत माग गरिएको छ ।

परीक्षा केन्द्रमै बच्चा जन्मियो

जाजरकोट,  चैत ९ । दीपेन्द्र मावि सक्लाबाट बुधबार माध्यमिक शिक्षा परीक्षा दिइरहेकी एक छात्राले छोराको जन्म दिएकी छिन् । सदरमुकामबाट दुईदिन पैदल दुरीको बारेकोट गाउँपालिकास्थित लिम्साको परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी अन्दाजी १६ बर्षीया निरुता सिंहले छोराको जन्म दिएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्साका प्राचार्य गोरखबहादुर सिंहले जानकारी दिनुभयो । बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको लिम्सा स्वास्थ्य कार्यालयले बताएको छ । रासस

निर्वाचनले पाल्पाका मतदातामा उत्साह

पाल्पा,  चैत ९ । आगामी २०७४ वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनले यहाँका मतदातामा उत्साह थपिएको छ । लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीय निकायप्रति नागरिकका समस्या तथा गुनासा बढेका बेला स्थानीय तहको निर्वाचन हुने भएपछि मतदातामा उत्साह थपिएको हो । स्थानीय तहको निर्वाचनमा एकपटक पनि मतदान नगरेका मतदाताले आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न पाउने भएसँगै खुसी देखिएका छन् । स्थानीय बासिन्दा शिव विश्वकर्माका अनुसार पहिलो पटक स्थानीय तहको निर्वाचनले आफूहरुले नेतृत्व चुन्न पाउनेभएकामा खुसी छन् । स्थानीय तहको निर्वाचनपछि वडा र गाउँपालिका तथा नगरपालिकामा जनप्रतिनिधि आउने र कर्मचारीको भरमा मात्र कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यतासमेत हट्नेछ । जनताका काम छिटोछरितो रुपमा सम्पादन हुने आशाका साथ मतदाता निर्वाचनमा सहभागी हुने देखिएका छन् । स्थानीय बासिन्दा आफूले रोजेको प्रतिनिधि चुन्न पाउने भएसँगै पाल्पाका आठ गाउँपालिका र दुई नगरपालिकामा उत्साह थपिएको हो । मतदाताले जनप्रतिनिधि चुन्न पाउने भएपछि निर्वाचनपछि वडाध्यक्ष, सदस्य र गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखसमेत चुनिँदा स्थानीय तहमा चहलपहल बढ्ने पनि बताएका छन् । करिब बीस वर्षसम्म स्थानीय निकायको निर्वाचन हुन सकेको थिएन । योग्य व्यक्ति निर्वाचित हुन सकेको अवस्थामा मात्र गाउँको विकास हुने भएकाले मतदाताले आफूले रोजेको योग्य, सक्षम, इमान्दारी व्यक्तिले मात्र मत पाउने देखिएको छ । सक्षम व्यक्तिलाई मात्र मतदान गर्ने र पार्टी नभन्ने स्थिति सिर्जना हुने भएपछि दललाई उम्मेदवारी दिने मोह बढेपनि उम्मेदवार छनौटमा समस्या हुने देखिएको हो । नेपालकै पुरानो नगरपालिकामा तानसेनमा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । त्यसले प्रतिनिधि छनौटमा ककसलाई उम्मेदवारमा उठाउँदा विजय हुन्छ भन्ने विषय नै दलमा महत्वका साथ उठेको छ । लोकप्रिय र विकासप्रेमी नेतालाई चुनावी मैदानमा उठाउनु बाध्यता रहेको छ । पाल्पाको पुरानो सहर तानसेनमा को को उम्मेदवार बन्ने हुन् र कसले निर्वाचनमा जित्ने हुन् भन्ने चर्चा चियापसलदेखि चोकचोकमा हुन थालेको छ । आफ्नो मान्छेभन्दा पनि राम्रो मान्छे मतदाताले रोज्ने कुरा दलले बुझेका छन् । तानसेनमा प्रभाव जमाएका प्रभावशाली नेतालाई निर्वाचनमा उठाउँदा पार्टीको अस्तित्व रहने भएकाले उम्मेदार उठाउने विषयले दलभित्र समेत चर्चा परिचर्चा हुन थालेको पाइन्छ । नेपाली काँग्रेसले तानसेन नगरपालिकाको प्रमुखमा पार्टी सचिव अजयमान कर्माचार्य, पूर्वनगरसभापति चोकमान शाक्य र राजेन्द्र गोपाल सिंहको नाम यतिबेला चर्चामा छ । नेकपा (एमाले)ले तानसेन नगरपालिकाको प्रमुखका पूर्वमेयर अशोक शाही, डा पुरन बज्राचार्य र एकप्रसाद भण्डारी तथा तीर्थप्रसाद गौतमको नाम चर्चाको विषय बनेको छ । त्यसैगरी, नेकपा (माओवादी केन्द्र)का पूर्वनगर अध्यक्ष केशव पौडेल, गोपाल पौडेल, विन्दु रावल र नवीन थापाको नाम चर्चामा रहेको छ । दलले यी स्थापित नेतालाई निर्वाचनमा उठेको अवस्थामा निर्वाचन कडा प्रतिस्पर्धा हुने र आफ्नो पक्षमा भारी मत पर्ने दाबी छ । तानसेन नगरपालिकामा मात्र होइन, दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिका, बगनाँसकाली गाउँपालिका माथागढी, तिनाउ, रिब्दीकोट, रम्भादेवी, छहरा, रैनादेवी, पूर्वखोला र निस्दी गाउँपालिकामा दलले निर्वाचनको माहोल बनाउन बैठक, सभा, सम्मेलन तथा कार्यकर्तासँग भेटघाटलाई निरन्तरता दिँदै आएका छन् । यसले निर्वाचनको माहोल बढेको छ । तानसेन नगरपालिकामा २१ मतदान केन्द्र, रामपुर नगरपालिकामा १४, बगनाँसकाली गाउँपालिका ११, माथागढीमा १०, तिनाउमा नौ, रिब्दीकोटमा १०, रम्भादेवीमा नौ, छहरा रैनादेवीमा १४, पूर्वखोलामा १० र निस्दी गाउँपालिकामा नौ गरी जिल्लामा एकसय १७ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय पाल्पाको प्रमुख धर्मा अर्यालले बताउनुभयो । हालसम्म एकलाख ६८ हजार मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । २०७० सालको संविधानसभाको निर्वाचनमा पाल्पामा एकलाख ३६ हजार मतदाता रहेका थिए । रासस

प्रधानमन्त्री र जापानका पूर्व प्रधानमन्त्रीबीच भेट

काठमाडौं, चैत ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. युकियो हातोयामाबीच शिष्टाचार भेट भएको छ । मंगलबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा नेपाल र जापानबीचको आपसी हित र सम्वन्धका वारेमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपाल र जापानबीच आत्मीय र भावनात्मक सम्बन्ध रहेको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्वन्धलाई थप गतिशील बताउने बताए । प्रधानमन्त्रीले अहिले नेपालमा नेपाली जनता आफैले लेखेको संविधान कार्यान्वयन गर्ने क्रममा स्थानीय तहको निर्वाचनमा जुटेको वताउँदै आफूले राजनीतिक परिवर्तन संस्थागत गरेर आर्थिक विकास र सम्वृद्धिमा जोड गरिरहेको जानकारी गराए । प्रधानमन्त्रीले भुकम्पपछिको पुर्ननिर्माणमा जापानी सहयोगप्रति आभार प्रकट गर्दै सुरुङ मार्ग निर्माण सहित पूर्वाधार र विकास निर्माणमा प्राप्त सहयोगप्रति धन्यवाद दिए। प्रधानमन्त्रीले नेपालमा विदेशी लगानीका लागि सकारात्मक वातावरण वनाउन सरकार र राजनीतिक दलहरु लागिपरेको बताउँदै जापानको अनुभव र प्रविधिवाट नेपालले धेरै कुरा सिक्न सक्ने जनाए । जापानी पूर्व प्रधानमन्त्रीले तीन वर्षपछि पुनः नेपाल आउँदा यहाँ नयाँ संविधान बनेर चुनाव हुन लागेको खवर पाउँदा आफू धेरै खुशी भएको बताउँदै संविधान कार्यान्वयनसँगै आर्थिक विकास र सम्वृद्धिका लागि स्पष्ट धारणाका साथ अघि बढेकोमा प्रधानमन्त्रीलाई सफलताको कामना गरे । उनले बुद्धको देश नेपालमा प्रधानमन्त्री दाहालले भगवान अशोकाले झैं युद्धवाट शान्तिमा आएर शान्ति र विकासमा योगदान पुर्याएको भन्दै उनलाई आधुनिक अशोकाको संज्ञा दिए । प्रधानमन्त्री प्रचण्डले आफू युद्धवाट शान्तिमा आएकोमा खुशी रहेको बताउँदै अब आफ्नो सम्पूर्ण शक्ति, समय र क्षमता नेपालको विकास र सम्वृद्धिमा लगाउन इच्छुक रहेको जानकारी दिए । जापानले नेपाललाई नगिचवाट सहयोग गर्ने बताउँदै पूर्व प्रधानमन्त्री हातोयामाले नेपाल प्राकृतिक, साँस्कृतिक, धार्मिकरुपमा धेरै धनी रहेकाले छिट्टै आत्म निर्भर अर्थतन्त्र निर्माण र विकासमा फड्को मार्ने अपेक्षा गरे ।

साझा पार्टी निर्वाचनमा जाने

काठमाडौं, चैत ९ ।  साझा पार्टीले बैशाख ३१ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेद्वार उठाउने भएको छ । साझा पार्टी निर्वाचन आयोगमा दर्ता भइनसकेको र दल दर्ता प्रक्रिया स्थगित भएकाले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरिएको हो । ‘साझा पार्टीको मूल्यमान्यता तथा आदश आत्मसात प्रबद्र्धन गर्ने कुनै पनि नेपालीले स्थानीयस्तरमा सहमति जुटाई निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएमा पार्टीले समर्थन गर्न सक्नेछ’ पार्टीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । यो खबर आजको नागरिकमा छ ।

अमेरिका जाँदा ल्यापटब, क्यामेरा बोक्न नपाइने, के के छन् अरु प्रतिबन्धित सामान ?

वासिङटन – अमेरिकाले मध्यपूर्वका १० विमानस्थलबाट अमेरिका आउने हवाइजहाजमा मोबाइलभन्दा ठूला विद्युतीय उपकरण बोक्न प्रतिबन्ध लगाएको छ । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै ल्यापटप, आइप्याड, ट्याब्लेट, क्यामेराजस्ता उपकरणमा रोक लगाएको खबर आजको कान्तिपुरले छापेको छ । विद्रोही समूहले विद्युतीय उपकरणमार्फत विस्फोटक पदार्थहरु ओसारपसार गर्ने भएकोले उक्त प्रतिबन्ध लगाएको अमेरिकी प्रशासनले बताएको छ । प्रतिबन्ध लागेका विमानस्थलहरुमा कायरो, इस्तानबुल, कुवेत सिटी, दोहा, अम्मान, रियाद, जेदा, दुबाइ र अबुधावी छन् । यो प्रतिबन्धबाट ९ एयरलाइन्स प्रभावित हुनेछन् । ती विमानहरु मध्यपूर्वबाट अमेरिका सिधा उडान भर्ने गर्छन् । अमेरिकी एयरलाइन्स भने उक्त प्रतिबन्धबाट प्रभावित हुने छैनन् ।

स्ववियू चुनाव नहुँदा पनि लाखौं गुमाए क्याम्पसहरुले

काठमाडौं, ९ चैत । त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचन सम्पन्न हुन नसक्दा विभिन्न ३६ क्याम्पसले लाखौँ रुपैयाँ व्यर्थमा गुमाएका छन् । त्रिविका ठूला आंगिक क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया सुरु भए पनि सम्पन्न हुन सकेन । जसका कारण विद्यार्थीबाट उठाएको लाखौँ खर्च भए पनि उनीहरूले स्ववियु नेतृत्व पाउन सकेनन् । आजको नयाँ पत्रिकामा खबर छ– त्रिविले शंकरदेव क्याम्पसका लागि आठ लाख रुपैयाँ खर्च गर्न पाउने सिलिङ तोकेको थियो । एकपटक १८ फागुन र अर्कोपटक सर्वपक्षीय छलफलबाट २३ फागुनका लागि स्ववियु निर्वाचन गर्ने मिति तोकिएको थियो । तर, निर्वाचन हुन सकेन । क्याम्पस प्रमुख कृष्ण आचार्यका अनुसार यसक्रममा निर्वाचन तयारीमै करिब तीन लाख रुपैयाँ खर्च भइसकेको थियो । क्याम्पस प्रमुख आचार्यले भने, ‘न स्ववियु निर्वाचन सम्पन्न भएर परिणाम आयो, न रकम नै जोगियो ।’ आरआर क्याम्पसमा पनि स्ववियु निर्वाचनका नाममा दुई लाखको हारहारीमा खर्च भएको क्याम्पस प्रमुख डा। निर्मलाकुमारी सुवालले बताइन् । सुवालले भनिन्, ‘निर्वाचन सम्पन्न गर्न ९० प्रतिशत काम भएको थियो, तर अन्तिम समयमा रोकियो, रकम भुक्तानी गरेका छैनौँ, के गर्ने अलमलमा छौँ ।’ निर्वाचनका लागि आवश्यक सामग्री सबै जुटाइसकेकाले खर्च भइसकेको उनले जानकारी दिइन् । आवश्यक सामग्री खरिद गरे पनि आरआर क्याम्पसले भुक्तानी भने गरेको छैन । १८ फागुनमा तालाबन्दीका कारण स्ववियु निर्वाचन हुन नसकेपछि आरआर क्याम्पसले २३ फागुनका लागि निर्वाचन तयारी गरेको थियो । तर, अन्तिम समयमा स्थानीय तहको निर्वाचन आचारसंहिताको कारण देखाएर प्रशासनले निर्वाचन रोकेको थियो । सो क्याम्पसमा निर्वाचन नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिइसकेको छ । तर, अब कहिले निर्वाचन हुन्छ भन्ने तय हुन सकेको छैन । के–केमा भयो खर्च ? त्रिविले क्याम्पसमा विद्यार्थी संख्याका आधारमा खर्चको सिलिङ तोकेको थियो । क्याम्पसहरूले विद्यार्थी कल्याणकारी कोष वा अन्य शीर्षकबाट खर्च गरेका छन् । क्याम्पसको निर्वाचन कमिटीको बैठक भत्ता, खाना, खाजा, स्टेसनरी, छपाइलगायतमा खर्च गरेका छन् । त्रिविका ठूला आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । तर, अधिकांशले निर्वाचन प्रक्रिया सुरु भए पनि सम्पन्न गर्न सकेका छैनन् । त्रिविका ६० वटा आंगिक क्याम्पसमध्ये २४ वटामा मात्र निर्वाचन सम्पन्न भएको छ । उपत्यकाका शंकरदेव, आरआरसहित विश्वविद्यालय क्याम्पस, त्रिचन्द्र, अमृत साइन्स, महेन्द्ररत्न, सरस्वती, नेपाल ल, विश्वभाषाजस्ता ठूला क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न हुन सकेको छैन । ०६५ यता गत फागुनमा त्रिविले स्ववियु निर्वाचनको तालिकाअनुसार आधामा पनि सम्पन्न हुन सकेन । तर, स्ववियुका नाममा लाखौँ खर्च भएको छ । विद्यार्थीअनुसार खर्च सिलिङ त्रिविका विद्याथी कल्याण निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले विद्यार्थीअनुसार खर्चको सिलिङ तोकेको बताए । त्रिविले दिएको सिलिङभन्दा बढी खर्च भए केन्द्रमा जानकारी आउनुपर्ने व्यवस्था गरेको उनले बताए । त्रिविले दुई सयसम्म विद्यार्थी हुने क्याम्पसलाई ७५ हजार, एक हजारसम्म विद्यार्थी भएका क्याम्पसलाई एक लाख ५० हजार, तीन हजारसम्म विद्यार्थी हुनेलाई तीन लाख, ५ हजारसम्म विद्यार्थी हुनेलाई ६ लाख खर्चको सिलिङ तोकेको थियो । ५ हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा ८ लाखसम्म खर्च गर्न पाउने गरी सिलिङ तोकिएको थियो । निर्वाचन सम्पन्न भएका क्याम्पस पक्लीहवा कृषि क्याम्पस, नेपालगन्ज नर्सिङ क्याम्पस, हेटौँडा वन विज्ञान, डडेल्धुरा शिक्षा क्याम्पस, नर्सिङ क्याम्पस वीरगन्ज, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, धौलागिरि बहुमुखी क्याम्पस बाग्लुङ, लमजुङ कृषि क्याम्पस, नर्सिङ क्याम्पस महाराजगन्ज, सानोठिमी शिक्षा क्याम्पस, महाराजगन्ज चिकित्सा क्याम्पस, डोटी क्याम्पस, सुर्खेत शिक्षा, जनप्रशासन, भक्तपुर क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ । त्यसैगरी पश्चिमाञ्चल इन्जिनियरिङ, नर्सिङ क्याम्पस, वन विज्ञान, पूर्वाञ्चल इन्जिनियरिङ धरान, महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि, भोजपुर क्याम्पस र मेची क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ ।

बिश्व शान्तिका लागि बुद्ध दर्शन महत्वपूर्णः प्रधानमन्त्री

काठमाडौं, चैत ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिश्व शान्तिका लागि बुद्ध दर्शनको निकै महत्व रहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा देशका विभिन्न गुम्बावाट आएका बौद्ध लामा गुरुहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले प्रचण्डले नेपालमा मात्रै नभई संसारभर शान्ति कायम गर्न बुद्ध धर्म र दर्शनको भुमिका महत्वपूर्ण रहने प्रष्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाल धर्म निरपेक्ष राज्य भएको स्पष्ट पार्दै यहाँ सबै धर्म, सँस्कृति र आस्थाप्रति राज्यको सम्मान रहने बताए । उनले नेपालमा जन्मिएका गौतम बुद्धले विकास गरेको बुद्ध दर्शन अहिले बिश्वभर फैलिएको बताउँदै शान्ति, सदभाव र भाइचारा सम्बन्ध प्रवद्र्धन गर्न यसको धेरै ठूलो योगदान रहेको बताए । प्रधानमन्त्रीले धार्मिक पर्यटनका माध्यमवाट देशको सम्वृद्धिमा योगदान दिन सकिने विश्वास व्यक्त गर्दै बुद्ध दर्शनको विस्तार र विकासका पक्षमा आफूले सक्दो योगदान पुर्याउने बताए । भेटमा बौद्ध दर्शन प्रबन्ध तथा गुम्बा विकास समितिका पदाधिकारी, देशका विभिन्न गुम्बाका २७ जना बौद्ध लामा गुरुहरुसमेतको सहभागिता थियो । भेटमा गुम्बा विकास समितिले देशका गुम्बाहरुको पुर्ननिर्माण र मर्मतका लागि प्रधानमन्त्रीसँग बजेटको माग गरेको थियो । प्रधानमन्त्रीले सरकारका तर्फवाट आवश्यक बजेटको व्यवस्था गरिने जानकारी दिएका थिए ।