सबै मधेसवादी दल एउटै झन्डामुनि आउनुपर्ने प्रस्ताव
काठमाडौं, चैत १४ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध मधेसी दलका अध्यक्षहरूले मोर्चाको एउटै दल बनाउने प्रस्ताव गरेका छन् । मधेसवादी दलहरू विभाजित भएकै कारण मधेसी समुदाय अधिकारबाट वञ्चित भएको उनीहरूको निष्कर्ष छ ।
सप्तरीको मलेठमा आइतबार भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सबै मधेसवादी दल एउटै झन्डामुनि आउनुपर्ने प्रस्ताव गरे । उनले भने, ‘विगतमा मसहित अन्य मधेसी नेताहरूबाट भएको गल्ती बिर्सेर अब पार्टी एकता गर्नुपर्ने आवश्यकता छ ।’
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले पनि आफू विनासर्त पार्टी एकता गर्न तयार रहेको बताए । तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले पनि सबै मधेसवादी दल एक बनाउन आफू अग्रसर रहेको बताएका थिए । मधेसवादी दलहरू एक भएको दिन मधेसी समुदायको आधा माग पूरा हुने उनको भनाइ छ । ‘मधेसका युवा, बुद्धिजीवी तथा आमजनताको आवाज सबै मधेसी दल एक हुनुपर्ने भन्ने छ,’ उनले भने, ‘म पार्टी एकता लागि तयार छु, मधेसी दलहरू एक भएकै दिन मधेसी समुदायको आधा माग पूरा हुनेछन् ।’
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टी एकताका लागि आफू तयार रहेको भन्दै एकताको विपक्षमा जान नहुने बताए । उनले भने, ‘गजेन्द्रनारायण सिंहले मधेसमा एउटा पार्टी मात्रै बनाउनुभएको थियो, किन अरू पार्टी जन्मिए रु’ उनले भने, ‘जे–जस्तो भए पनि अब पार्टी एकताका लागि म तयार छु ।’ उनले पार्टी एकताको विपक्षमा हुनेलाई मधेसी जनताले बेवास्ता गर्ने उनको भनाइ थियो ।
मधेसवादी दलहरूबीच एकताको प्रसंग उठ्दा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव भने हिँडिसकेका थिए । मोर्चाको संयोजकसमेत रहेका उनले सुरुमै सभालाई सम्बोधन गर्दै शान्तिपूर्ण ढंगले मधेसलाई अधिकार नदिइए हतियार उठाउन बाध्य हुने चेतावनी दिएका थिए । उनले बल सरकारको कोर्टमा रहेको भन्दै जबर्जस्ती चुनाव गराउन खोजिए राज्यका लागि घातक हुने बताए ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।
धुर्मुस सुन्तलीलाई अमेरिकाबाट १४ लाख सहयोग
चैत १३ । महोत्तरीको बर्दिवासमा रहेको एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई अमेरिकाको बोष्टनबासीले झण्डै १४ लाख रुपैयाँ सहयोग गरेका छन् । बोस्टनमा भएको एक कार्यम्रममा उपस्थित भएका एक सय ३१ जना सहयोगीहरु बाट फाउण्डेशनलाई १३ लाख ८८ हजार १ सय रुपैयाँ सहयोग संकलन भएको हो । ‘मानवता र सद्भावका लागि सहकार्य, राष्ट्र निर्माण तपाई हाम्रो अभियान’ भन्ने मुल नाराका साथ फाउण्डेशनले थालेको अभियानलाई बोष्टनबासीले आत्मसाथ गदै सहयोग संकलन गरेका हुन् । ‘धुर्मुस सुन्तली अभियान सहयोग कार्यक्रम बोस्टन’ नामक कार्यक्रमको आयोजना गर्दै बोस्टनबासीले फाउण्डेशनको सामाजिक कार्यमा सहकार्य गदै सहयोग संकलन गरेको हो । कार्यक्रममा हिमालयन हेरिटेज कल्चरल एकेडेमीका कलाकारहरुले साङ्गीतिक प्रस्तुती दिएका थिए । अभियानले फाउण्डेशनलाई दुई किस्तामा सहयोग रकम पठाएको छ । कार्यक्रमबाट पहिलो पटक पाँच लाख १४ हजार पाँच सय पठाइएको थियो भने शुक्रबार आठ लाख ७३ हजार ६ सय रुपैयाँ पठाएको छ । सहयोग पठाएको जानकारी दिदैं अभियानका सहयोगी सुरेश वाग्लेले फाउण्डेशनलाई सहयोग गर्न पाउदा आफुहरु खुसी भएको बताए । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल‘धुर्मुस’ ले भने नसोचेको सहयोग प्राप्त भएको बताउँदै सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएका छन् । फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती निर्माणको अन्तिम चरणमा पुगेको बताएका छन् ।
आरआरमा स्ववियु निर्वाचन रोक्न माग
काठमाडौं, चैत १३ । राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा आगामी मंगलबार हुन भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन रोक्न नौ विद्यार्थी संगठनले माग गरेका छन् । सत्तारुढ दलका नौ विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै स्नातकोत्तर तह द्वितीय वर्षको परीक्षा भइरहेको र निर्वाचनमा सबै विद्यार्थी संगठनको सहभागी हुने वातावरण नभएकाले हाल निर्वाचन स्थगन गरी नयाँ मिति तोक्न क्याम्पस प्रशासनसँग माग गरेका हुन् । यसअघि फागुन २३ गते स्ववियु निर्वाचन स्थगन भएको थियो । सर्वोच्च अदालतले काठमाडौंका प्रमुख जिल्ला अधिकारी र क्याम्पस प्रशासनका नाममा निर्वाचन गर्न यही चैत २ गते अन्तरिम आदेश जारी गरेपछि क्याम्पस प्रमुख डा. निर्मलकुमार सुवालले शनिबार सूचना प्रकाशन गरी मंगलबारका लागि स्ववियु निर्वाचनको मिति घोषणा गरिएको थियो । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले भने विद्यार्थी संगठनहरुलाई बाहिर राखेर निर्वाचन स्थगनको माग गरेको बताएका छन् । अनेरास्ववियु (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले अदालतको आदेशभन्दा पनि विद्यार्थी संगठनको सहमतिमा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । आरआरमा नेपाल विद्यार्थी संघ, अखिल छैटौँ र अखिल पाँचौँले मनोनयनपत्रसमेत दर्ता गराएका छैनन् ।
टर्बाइन मर्मत गर्ने जनशक्तिको अभाव
काठमाडौँ, चैत १३ । जलविद्युत् आयोजनामा विद्युत् उत्पादनका लागि जडान गरिने टर्बाइन बिग्रियो भने मर्मत गर्ने जनशक्तिको अभाव रहेको पाइएको छ । नेपालमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजनाको निर्माण प्रक्रियाले गति लिए पनि मर्मत गर्ने जनशक्ति र प्रविधिको अभावले बर्सेनि करोडौँ रकम बाहिरिने गरेको छ । सामान्य समस्या आउँदा समेत त्यसलाई हेर्ने र मर्मत गर्ने जनशक्ति उपलब्ध हुन नसक्दा नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका आयोजनासमेत प्रभावित हुने गरेको छ । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलमा सबैभन्दा बढी समस्या आउने गरेको छ । प्रवद्र्धकले मर्मत गर्ने प्रविधि र जनशक्तिको विकासमा लाग्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानलाई आग्रह गर्दै आएका छन् । मुलुकभर तीन हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणका क्रममा छन् । यस्तै आगामी डेढ वर्षभित्र एक हजार पाँच सय मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुने छन् । आयोजना सम्पन्न भएर सञ्चालनमा आए पनि सामान्य समस्या आउँदा मर्मत गर्ने जनशक्ति खोज्न विदेश नै भौँतारिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने भन्ने प्रवद्र्धकको भनाइलाई आत्मसात् गर्दै प्रतिष्ठानले अध्ययनको प्रक्रिया अगाडि बढाएको छ । प्रतिष्ठानका साना जलविद्युत् आयोजनाविज्ञ एवम् वैज्ञानिक रोशन पाण्डे जनशक्तिको विकास गर्ने लक्ष्यका साथ काम सुरु भएको बताउनुहुन्छ । सोही प्रयोजनका लागि प्रतिष्ठानले यही चैत १५ गतेदेखि तीन दिन साना जलविद्युत्सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको वैज्ञानिक पाण्डेले जानकारी दिनुभयो । सम्मेलनमा चीन र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका ३० प्रतिनिधि एवम् नेपालका जलविद्युत् प्रवद्र्धक तथा सोही क्षेत्रमा काम गर्ने व्यक्तित्व सहभागी हुनेछन् । चीन, नेपाललगायत सहभागीले आआफ्नो देशको ऊर्जा स्थिति र विशेष गरी साना जलविद्युत् आयोजनाको अवस्था र तिनको कार्यान्वयन तहमा देखिएका समस्याका बारेमा प्रतिवेदन प्रस्तुत गरिने तथा समस्या समाधानको उपायका बारेमा समेत छलफल गरिनेछ । यस्तै जलविद्युत् विकासको योजना, दक्षिण एसियामा एकीकृत जलविद्युत् परियोजनाको लक्ष्य हासिल गर्नाका साथै ती देशबाट गरिएका स्थानीय नदीनालाको व्यवस्थापन र क्षमता सुधार झल्काउने प्रयोगात्मक प्रदर्शनीसमेत गरिने नास्टका जनसम्पर्क अधिकृत राजेशमान केसी बताउनुहुन्छ । सम्मेलनमा चीनले जलविद्युत् क्षेत्रमा आफूले हासिल गरेको उपलब्धि र सो उपलब्धि हासिल गर्ने क्रममा सामना गर्नुपरेका समस्या, त्यसलाई समाधान गर्न अपनाएको उपाय, आगामी दिनमा हरित जलविद्युत् ऊर्जा विकास र पर्यावरण जोगाउनका लागि संयुक्त योजना तर्जुमा गर्ने विषयसमेत केन्द्रबिन्दुमा रहेको छ । जलविद्युत् क्षेत्रलाई आफ्नो देशमा प्रभावकारी रुपमा अगाडि बढाउनका लागि वातावरणमैत्री योजना बनाइने र सहभागी राष्ट्रबीच द्विपक्षीय सहयोगका लागि समझदारीपत्रमा समेत हस्ताक्षर गरिने कार्यक्रम छ ।
हराएका युवकको शव
सोलुखुम्बु, चैत १३ । गत कात्तिक ११ गते माछा मार्न जाँदा सोलुखोलामा बेपत्ता बनेका तत्कालीन जिविस सोलुखुम्बु कार्यालय सहयोगी छिरिङ शेर्पाको शव शनिबार भेटिएको छ । स्थानीयवासीले खोलाभित्र उनलाई देखेको बताएपछि प्रहरीले पानीबाट शव निकालेको थियो । शेर्पाको परिवारले शव पहिचान गरेपछि आज आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।
मतदाता शिक्षा क्षेत्रीय प्रशिक्षक प्रशिक्षण सुरु
पोखरा, चैत १३ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी यहाँ मतदाता शिक्षा क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबारदेखि सुरु भएको छ। क्षेत्रीय निर्वाचन कार्यालय पोखराको आयोजनामा भएको सो कार्यक्रममा लुम्बिनीका गुल्मी, पाल्पा, गण्डकी र धवलागिरिका १० जिल्लाका प्रशिक्षकको सहभागिता रहेको कार्यालयका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । दुई दिनसम्म हुने सो कार्यक्रममा जिल्लाका निर्वाचन अधिकारी, माध्यमिक विद्यालयका महिला सामाजिक शिक्षक, जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति, सामाजिक अधिकृत र जिल्ला समन्वय समितिका सामाजिक शाखा अधिकृतसमेत ५० जनाको सहभागिता छ । प्रशिक्षकले प्रशिक्षण लिएपछि आआफ्ना जिल्लामा गएर हरेक मतदान केन्द्रका टोल टोलमा खटिने स्वयंसेवकलाई मतदाता शिक्षासम्बन्धी तालिम दिनेछन् । मतदाता शिक्षा कार्यक्रमले बदर मत घटाउने र मतदान केन्द्रमा बढीभन्दा बढी मतदाता सहभागी गराउन प्रेरित गर्ने विश्वास गरिएको छ । यही चैत २७ वा २८ गतेदेखि एक महिनासम्म मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गरिने बताइएको छ ।
तीन महिला ढिस्कोमा पुरिएर घाइते
बझाङ, चैत १३ । नजिकिँदै आएको नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो लिन गएका स्थानीयवासी तीन महिला माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् । तीमध्ये खप्तड छान्ना गाउँपालिका–७ बस्ने ४० वर्षीया बुदीदेवी चौहान भने गम्भीर घाइते भएकी छन् । घाइते चौहानको भित्री शरीरमा गम्भीर चोट लागेको छ । उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिप्रकाले जनाएको छ । सोही गाविस–३ बस्ने राधा रोकाया र सीता रोकाया सामान्य घाइते भएकामा नजिकको स्वास्थ्य चौकीमा उपचार गरी ठीक भएको घाइतेका आफन्तले बताएका छन् । उनीहरु शनिबार दिउँसो घरभन्दा एक घन्टा टाढा रहेको माटी खानमा माटो लिन गएका थिए ।
उच्चस्तरीय छानबिन टोली महोत्तरीमा
गौशाला, चैत १३ । पछिल्लो समयमा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुबारे सोधपुछ तथा उजुरी सङ्कलन गर्न उच्चस्तरीय छानबिन आयोग टोली महोत्तरी आइपुगेको छ । तराई, मधेस र थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय छानबिन आयोग शनिबार यहाँ पुगेर काम थालेको हो र आइतबार पनि महोत्तरीका पीडितसँग सोधपुछ तथा उजुरी सङ्कलनका काम गर्ने छ । संविधान जारी हुनुपूर्व र जारी भएपछि मधेस तथा थरुहटमा भएका आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड, आगजनी तथा मानवअधिकार हननका घटनाबारे जानकारी लिन, पीडित परिवारको समस्या बुझ्न तथा घटनास्थलको स्थलगत निरीक्षण गर्न अध्यक्ष लालसहित आयोगका सदस्य सूर्यप्रसाद कोइराला, नवराज ढकाल, सुखचन्द्र झा, सुजन लोकचनसहित आयोगका कर्मचारी अहिले महोत्तरी जिल्ला दौडाहामा छन् । शनिबारदेखि सुरु भएको स्थलगत निरीक्षण चैत १४ गतेसम्म जारी रहने तथा यस क्रममा महोत्तरीमा भएका मानव अधिकार हननसम्बन्धी घटनाको अध्ययन, प्रमाण तथा उजुरी सङ्कलन एवम् सरोकारवालासँग छलफल गरिने आयोगका अध्यक्ष गिरीशचन्द्र लालले बताउनुभयो । आयोगका अध्यक्ष लालका अनुसार आयोगमा अहिलेसम्म एक हजार ३०० उजुरी दर्ता भइसकेका छन् । सयौँ उजुरी अझै पनि दर्ता हुन बाँकी रहेको उहाँले स्वीकार गर्नुभयो । अन्तक्र्रियामा सहभागी सहिद परिवार, घाइते तथा मोर्चा सम्बद्ध राजनीतिक दलका नेताले आयोगको कामकाजबारे प्रश्न उठाएका थिए । दोषीमाथि कारबाही हुनुपर्ने माग पीडित परिवारले राखेका थिए ।
मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु
धनगढी, चैत १३ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको साविक साडेपानी गाविसका ३० वर्षीय प्रकाश चौधरी, सोही ठाउँका ३० वर्षकै हरिनारायण चौधरी र साविक मुनुवा गाविसका २३ वर्षीय रामलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका से५प २०७१ नम्बरको मोटरसाइकल सडक किनारमा रोकिराखेको लु३त ५०३२ नम्बरको ट्र्याक्टरको ट्रलीसँग ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार यी तीनै जनाको मृत्यु भएको हो । दुर्घटनापछि घाइते दुई जनाको पद्मा अस्पताल अत्तरियामा र एक जनाको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । रासस
क्यान्सरका कारण चार दिनमा दुई कैदीको मृत्यु
चितवन, चैत १३ । चार दिनमा भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ । यही चैत ९ गते एकजना क्यान्सर रोगी कैदीको मृत्यु भएकामा शनिबार अर्का एक जनाको क्यान्सरकै कारण ज्यान गएको जिल्ला कारागार चितवनले जनाएको छ । यसरी मृत्यु हुनेमा सन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेल रहेको जेलर कमल काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गिरी फोक्सोको क्यान्सरबाट पीडित थिए । उपचार कै क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको हो । उनी जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै थिए । विसं २०७० सालमा अदालतले उनलाई दोषी ठहर गर्दै २०८० साल माघ १८ गतेसम्मका लागि कैदको आदेश दिएको थियो । रामेछापमा कैद भुक्तान गरिरहेका उनलाई क्यान्सर रोग लागेपछि उपचारका लागि केही महिनाअघि चितवन ल्याइएको थियो । यसैगरी २०५४ फागुन १ गते जेल परेका ठगराजलाई २०७३ साल कात्तिक १ गते पाल्पा जेलबाट भरतपुर कारागारमा स्थानान्तरण गरिएको थियो । क्यान्सर रोगबाट पीडित पौडेलको शनिबार मृत्यु भएको भरतपुर कारागार प्रमुख कमलप्रसाद काफ्लेले जनाकारी दिनुभयो । पाँच वर्षको अवधिमा भरतपुर कारागारमा ३० जनाको मृत्यु भएको छ ।
शिक्षाको महत्वबारे मुसहर किशोरकिशोरीकाे चासो बढ्दै
बर्दिवास, चैत १३ । “सुनलही माय, आब जल्दिए चुनाव होतौ” (सुन्नुभयो आमा, अब चाँडै चुनाव हुन्छ रे) ध्यानपूर्वक रेडियो कानसम्मै पुर्याएर सुनिरहेकी महोत्तरी बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीकी १३ वर्षीया किशोरी ऐसा सादाले आफ्नी आमासँग भनिन् । देश दुनियाँको त कुरै छाडौँ, आफ्नै हक अधिकारबारे पूरै बेखबर रहने मुसहर समुदायमा अब पछिल्लो पुस्ताले आम चासोका विषयमा कुरा गर्नेमा अब ऐसा सादामात्र भने होइनन् । यस बस्तीका किशोरवयका सबैजसो नानी अब रेडियो सुन्ने, सुनिएका कुरा परिवारलाई बताउने र आफ्नो समुदायबारे चासो राख्ने जोसुकैसँग नजिकिएर कुराकानी गर्न खप्पिस हुँदै गएको देखिँदै छ । हिजो शनिबारमात्र सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (एकोराब) का अध्यक्ष सुवास खतिवडासहितको टोलीले यस बस्तीका ५० घरपरिवारलाई रेडियो वितरण गर्यो । यसअघि पनि घरछिमेकमा पुगेर रेडियो सुन्ने र टिभी हेर्ने गरेका बस्तीका किशोरवयका नानीहरु रेडियो हात पर्नासाथ बजाउन थालेका देखिएका थिए । “अपनासब् लेल घर बनायरहल धुर्मुस–सुन्तलीके अमेरिका आ कोरिया स रकम भेट्लैय” (हाम्रा लागि घर बनाइरहेका धुर्मुस–सुन्तलीलाई अमेरिका र कोरियाबाट रकम प्राप्त भएको छ) रेडियोमा समाचार सुनिरहेकी बस्तीकै अर्की १४ वर्षीया किशोरी आरती सादाले समारोहमा धेरैजसोले सुन्ने गरेर भनिन् । बस्तीका नयाँ पुस्तामा देखिएको आमसञ्चारप्रतिको आकर्षण र तिनले आफ्ना बाबुआमालाई रेडियोले भनेका खबर सुनाउँदा पुराना पुस्तामा देखिने सन्तोष भावले बस्ती निर्माणमा जुटेका धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष हाँस्यकलाकार धुर्मुस (सीताराम कट्टेल) पनि दङ्ग देखिनुभएको छ । “हामी गत वर्ष हिउँदमा पहिलो पटक आउँदा नाङ्गैभुतुङ्गै भएर नाकभरि सिङ्गानको लत्को देखिने नानीहरु अब देश र दुनियाँका कुरा गर्न लागेका छन्,” धुर्मुसले आँखाका डिलभरि खुसीले उच्छालिएका आँसु पुछ्दै भन्नुभयो – “बस्तीका ७० भन्दा बढी नानी विद्यालय जान थालेका छन्, हामी सन्तोष गर्न सक्छौँ, हाम्रो प्रयत्नले मुसहर फेरिँदो छन् ।” धुर्मुस–सुन्तलीको बस्ती प्रवेशले मुसहरका लागि पक्की घरमात्र नभएर उनीहरुको शैक्षिक, सामाजिक र नागरिक हकअधिकारबारेको सचेतनासमेत बढेको यस बस्तीलाई नजिकबाट नियाली रहनुभएका पत्रकार एवम् सामाजिक अभियन्ता राजकरण महतोको निष्कर्ष छ । “राज्यबाट पाउनुपर्ने सेवा सुविधा र सामाजिक बेवास्ताबारे पूरै बेखबर रहने मुसहर अब आफ्ना हकअधिकारबारे चासो राख्न थालेका छन्,” पत्रकार महतोले भन्नुभयो–, “बस्तीका ७० भन्दा बढी बालबालिका आफ्ना अभिभावकको स्वीकृतिमै विद्यालय जाँदैछन् । यसले शिक्षाको महत्वबारे मुसहरमा चासो बढेको देखाउँछ ।” पुस्तौँपुस्तादेखि दिउँसो घामको राप छिर्ने र राति आकाशका तारा देखिने पराले झोपडीभित्र जीवन गुजार्दै आएका यहाँका ५० घरपरिवार मुसहरका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले अहिले बस्ती निर्माण गरिरहेको छ । अब दुई सातापछि नै मुसहर नयाँ घरमा सर्ने तरखरमा छन् । सधैँ पराले झोपडीमा जीवन गुजारेका मुसहरका लागि अहिले निर्माणको अन्तिम चरणमा पुगेका सडक, बिजुली, खानेपानी र शौचालय सुविधासहितका पक्की घर ओतको दह्रो प्रबन्धमात्र नभएर मन परिवर्तनको समेत ठाउँ बनेको छ । गत हिउँदयता बराबर धुर्मुस–सुन्तलीको सङ्गत, प्रेरणा र उठबस पाएका मुसहर अब समाजमा आइपर्ने सबैजसो सामाजिक कामका मुख्य हिस्सेदार बन्न थालेका बर्दिवास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्की बताउनुहुन्छ ।
भक्तपुरमा मेयरका लागि उम्मेदवारको लर्को, प्रत्याशीहरुबाट भोट माग्न सुरु
भक्तपुर, १३ चैत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै भक्तपुरका नगरपालिकामा मेयरका लागि उम्मेदवारको लर्को लागेको छ । जिल्ला तहदेखि केन्द्रीय तहसम्मका नेताकहाँ आफूले टिकट पाउनु पर्ने दाबी गर्दै विभिन्न दलका नेताहरु धाउन थालेका छन् । जिल्लाका चारवटा नगरपालिकामध्ये भक्तपुर नगरपालिकाको तुलनामा मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा मेयरको उम्मेदवार बन्ने नेताको लर्को लागेको हो । भक्तपुरका चारवटा नगरपालिकामा मेयरको दाबी गर्ने नेताको सङ्ख्या सबभन्दा धेरै नेपाली काँग्रेसमा छ । मध्यपुरथिमि नगरपालिकामा काँग्रेसबाट मेयरका लागि अष्टकुमार कवेँको बढी चर्चा छ । काँग्रेस जिल्ला सभापतिको प्रत्याशी उम्मेदवार समेत भइसकेका कवँे विगतमा काँग्रेस मध्यपुरथिमि नगर समिति सभापति भएर योगदान पु¥याएको व्यक्तिका रुपमा काँग्रेसभित्र चर्चा चलेको छ । यही नगरपालिकामा हालका नगर समिति सभापति सुरेन्द्र श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, मुरारी आचार्य, केदार खड्का र गोकुल शर्माले आफू पनि काँग्रेसको तर्फबाट मेयरको उम्मेदवार रहेको बताएका छन् । यता, नेकपा (एमाले)का भने युवा नेता एवम् एमाले नगर कमिटीका अध्यक्ष मदनसुन्दर श्रेष्ठले मात्रै मेयरको उम्मेदवारको दाबी गर्नुभएको छ । पार्टीले समेत श्रेष्ठलाई उम्मेदवारका लागि अगाडि सारेको छ । युवा एवम् जुझारु नेताको रुपमा एमालेभित्र चिनिने श्रेष्ठले चुनावी तयारी गर्दै मत माग्ने कार्य सुरु गर्नुभएको छ । सूर्यविनायक नगरपालिकामा भने काँग्रेसका तर्फबाट मेयरका लागि निशान ढुङ्गेल, विष्णुराज कार्की, राजु खड्का, नारायणभक्त खाय्मली र सुशील बस्नेतले आफूलाई मेयरको उम्मेदवार भएको दाबी गर्नुभएको छ । मेयरको टिकट पाउन यीमध्ये ढुङ्गेल, कार्की र खड्का सबभन्दा बढी दौडधूपमा लागेको बताइन्छ । काँग्रेसका तर्फबाट आफू एकमात्र उम्मेदवार भएको दाबी गर्ने ढुङ्गेल अरुले टिकट नपाउने बताउनुहुन्छ भने विगतमा अवसर नपाएका, पार्टीमा धेरै योगदान पु¥याएका र जनतासँग बढी भिजेकाले आफूले टिकट पाउने पक्का भएको खड्का गर्नुहुन्छ । एमालेका तर्फबाट यस नगरपालिकामा शशीजङ्ग थापा, वासुदेव खड्का, राजकुमार जोशी र किरण थापाले मेयरको प्रत्याशीका रुपमा देखापर्नुभएको छ । यद्यपि, थापा र खड्कामध्ये एकजनाले टिकट पाउने एमाले स्रोतको दाबी छ । एमाले नेता कार्यकर्ता भने टिकट दिँदा आजीवन एमालेमा योगदान पु¥याएका र जनतासँग नजिक भएका व्यक्तिलाई टिकट दिनुपर्ने धारणा राख्छन् । त्यसैगरी, चाँगुनारायण नगरपालिकामा मेयरका लागि काँग्रेसका तर्फबाट कृष्णलाल भँडेल, सरु बानियाँ, जीवन खत्री, शिवहरि केसी र यादव अधिकारीले आफूलाई उम्मेदवार भएको दाबी गर्नुभएको छ । यसमध्ये भँडेल र बानियाँको चर्चामा छन् । भँडेलले भोट माग्न थालिसक्नुभएको छ । यस नगरपालिकामा एमालेको तर्फबाट भने एमाले केन्द्रीय सदस्य सोम मिश्र, हरिशरण लामिछाने, रमेश बुढाथोकी, दामोदर दङ्गाल र श्रीभक्त कासिछ्वाको नाम चर्चामा छ । राप्रपाबाट भने सूर्यविनायक नगरपालिका मेयरका लागि रामहरि थापा, रामेश्वर थापा, लवकुमार कार्की र प्रवीण ढुङ्गेल, मध्यपुरथिमिमा नरगोविन्द शङ्खदेव, चाँगुनारायणमा राप्रपा केन्द्रीय सदस्यद्वय यवती कार्की, रवीन्द्रप्रताप शाह र धनबहादुर लामा, भक्तपुर नगरपालिकामा राजेन्द्रप्रसाद लाखाले दाबी गरिरहनु भएको छ । नेपाल मजदुर किसान पार्टीमा भने भक्तपुरमा चैत्यराज शाक्य, मध्यपुरथिमिमा रमेश थापा श्रेष्ठको नाम चर्चामा आएका छन् । पार्टीले यसबारे आन्तरिक तयारी सुरु गरेकाले एकैपटक नाम बाहिर आउने जनाएको छ । यता, माओवादी केन्द्र र मालेले भने पार्टी निर्वाचनको आन्तरिक तयारीमा जुटेको तर कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा छलफल र बहस सुरु नगरिसकेको बताएका छन् । रासस
ड्रोनमार्फत धरान विमानस्थलको सर्भे सुरु
धरानमा निर्माण हुन लागेको विमानस्थलको ड्रोनमार्फत सर्भे सुरु गरिएको छ । पहिले ट्विनअटरजस्ता सानो विमान मात्र उडान तथा अवतरण गर्ने विमानस्थल बनाउने भनिए पनि अहिले ४२ सिट क्षमतासम्मका विमान उडान तथा अवतरण हुने गरी विमानस्थल बनाउन लागिएको हो । नागरिक उड्डयन प्राधिकरणले सर्भेका लागि जिम्मा दिएको रियल पाथ इन्जिनियरिङ कन्सल्टेन्टले धरान–१७ डाँडाघोपास्थित विमानस्थल निर्माणस्थलको सर्भेको काम गरेको हो । धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइरालाका अनुसार ड्रोन प्रयोग गरेर जग्गाको तस्बिर लिने तथा टोपोग्राफिक नक्सा तयार पार्ने काम हुनेछ । प्राधिकरणले खटाएका पाँचजना प्राविधिकको टोलीले शुक्रबार र शनिबार सर्भे गरेको उपमहानगरपालिकाका सूचना अधिकृत एवं विमानस्थल निर्माण परियोजनाका संयोजक भक्तिराज शर्माले बताए । प्राविधिक टोलीले सर्भेको प्रतिवेदन प्राधिकरणलाई बुझाउनेछ । ड्रोन प्रयोग गर्दा थोरै समयमा धेरै र विस्तृत तथ्यांक आउने उनको भनाइ छ । प्राविधिक टोलीका उत्सव गौतमले ७० हेक्टर जमिनको टोपोग्राफिक र थ्रिडी मोडल तयार पारेर बुझाइने बताए । पछिल्लो समय भने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सर्भेका लागि भनेर दुई करोड रुपैयाँ बजेट छुट्याएको छ । ड्रोनले जग्गा कति चाहिने, कस्तो बनाउनेलगायतको अध्ययन गर्नेछ । रन–वे कतिको हुने, कति क्षमताको जहाज उडान तथा अवतरण हुन सक्छ भन्नेबारे सर्भेबाट जानकारी पाइने प्राविधिकले बताएका छन् । मध्यम खालको विमान उडान तथा अवतरण गर्न सक्ने विमानस्थल बनाउन करिब ४० बिघा जमिन चाहिने बताइएको छ । धरान उपमहानगरपालिकाले केही दिनअघि मात्रै जग्गा उपलब्ध गराउने भन्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लिखित जानकारी गराएको छ । मन्त्रालयले जग्गा व्यवस्थापन भए विमानस्थल बनाउन कुनै समस्या नभएको जानकारी दिँदै आएको छ । १३ वर्षअघि निजी कम्पनी यति इन्कर्पोरेट प्रालिले ट्विनअटर उडान तथा अवतरण गराउने योजनाका साथ २४ जना स्थानीयबाट करिब ६ बिघा सात धुर जग्गा खरिद गरेको थियो । ०६० सालमै जग्गा खरिद गरिए पनि विमानस्थल निर्माण भने अगाडि बढ्न सकेको छैन । विमानस्थल निर्माण नहुँदा स्थानीयले जग्गा फिर्ता गर्न मागसमेत गर्दै आएका थिए । नया पत्रिकाबाट
क्यान्सरका कारण २ कैदीको मृत्यु
चितवन चैत १३ । भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ । यही चैत ९ गते एकजना क्यान्सर रोगी कैदीको मृत्यु भएकामा शनिबार अर्का एक जनाको क्यान्सरकै कारण ज्यान गएको जिल्ला कारागार चितवनले जनाएको छ । यसरी मृत्यु हुनेमा सन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेल रहेको जेलर कमल काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गिरी फोक्सोको क्यान्सरबाट पीडित थिए । उपचार कै क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको हो । उनी जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै थिए । विसं २०७० सालमा अदालतले उनलाई दोषी ठहर गर्दै २०८० साल माघ १८ गतेसम्मका लागि कैदको आदेश दिएको थियो । रामेछापमा कैद भुक्तान गरिरहेका उनलाई क्यान्सर रोग लागेपछि उपचारका लागि केही महिनाअघि चितवन ल्याइएको थियो । यसैगरी २०५४ फागुन १ गते जेल परेका ठगराजलाई २०७३ साल कात्तिक १ गते पाल्पा जेलबाट भरतपुर कारागारमा स्थानान्तरण गरिएको थियो । क्यान्सर रोगबाट पीडित पौडेलको शनिबार मृत्यु भएको भरतपुर कारागार प्रमुख कमलप्रसाद काफ्लेले जनाकारी दिनुभयो । पाँच वर्षको अवधिमा भरतपुर कारागारमा ३० जनाको मृत्यु भएको छ । रासस
मतदाता शिक्षाका लागि एक्काइस हजार कार्यकर्ता तयार गरिने
(प्रकाश सिलवाल) काठमाडौँ, चैत १२ । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि देशका आठ स्थानमा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत कुल २१ हजार जना मतदाता शिक्षा कार्यकर्ता तयार गर्ने भएको छ । स्थानीय सरकारको नयाँ संरचना, समावेशी पद सङ्ख्यासहितको मतपत्रको ढाँचा र यसबारे आम जनतामा पर्याप्त जानकारी नहुँदा मतदाता शिक्षामा चुनौती देखिएको बेला आयोगले सो मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । झन्डै दुई दशकपछि हुन लागेको आगामी वैशाख ३१ मा हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारका रुपमा महिला सहभागिता ४० प्रतिशत हुने भएकाले आयोगले महिला केन्द्रित मतदाता शिक्षा कार्यक्रम अघि सारेको छ । स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदाता शिक्षित र सुसूचित हुनुपर्नेमा सचेत रहँदै आयोगले आज ‘क्षेत्रीय प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सुरु गरेको छ । प्रशिक्षण कार्यक्रम विराटनगर, सिन्धुली, हेटौँडा, ललितपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा एकैपटक सुरु भएको छ । मतदाता शिक्षामा महिला, दलित, सीमान्तकृत समूहबाट हुने उम्मेदवारी छनोट, उम्मेदवारी दर्तादेखि मतदानसम्मका कार्यका विषय समावेश छन् । प्रशिक्षकले ७४४ स्थानीय तहमा रहने अनुमानित २१ हजार मतदान केन्द्रमा खटिने मतदाता शिक्षा कार्यकर्तालाई जिल्लास्तरमा प्रशिक्षण दिनेछन् । जिल्लास्तरमा प्रशिक्षित मतदाता शिक्षा कार्यकर्ताले एक महिनासम्म मतदाताको घरघरमा गएर मतदाता शिक्षा प्रदान गर्ने निर्वाचन आयुक्त इला शर्माले जानकारी दिनुभयो । मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षित गर्न केन्द्रमा ३० जनालाई मुख्य प्रशिक्षक प्रशिक्षण तालिम दिइसकिएको छ । तीनसय ५० जनाले जिल्ला जिल्लामा गएर २१ हजार जना मतदाता शिक्षा कार्यकर्तालाई तालिम दिएपछि उनीहरूलाई यही चैत २८ देखि एक महिनासम्म घरघरमा खटाइनेछ । जिल्ला निर्वाचन अधिकारी, सामुदायिक विद्यालयका सामाजिक शिक्षा अध्यापन गराउने माध्यमिक शिक्षक (महिला), जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति तथा जिल्ला समन्वय समितिका सामाजिक परिचालक गरी देशभरिका ३५४ जनालाई क्षेत्रीय प्रशिक्षक प्रशिक्षण दिइएको छ । गोदावरीमा आयोजित उक्त ‘क्षेत्रीय प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा निर्वाचन आयुक्त नरेन्द्र दाहालले संविधान जारी भएपछि नयाँ संरचनामा हुन लागेको स्थानीय तह निर्वाचनमा मतदाताका घरघरमा मतदाता शिक्षा कार्यकर्ता पु¥याउने बताउनुभयो । निर्वाचनमा समावेशीताको कोटा भएको तथा निर्वाचनमा भाग लिने दल र निर्वाचन चिह्न एवम् मतदान प्रक्रियाबारे मतदातालाई शिक्षित तुल्याउन आयोग लागेको हो । गाउँपालिका वा नगरपालिकाको वडा समितिका एकजना दलित महिलासहित दुई महिला वडा सदस्य हुनेछन् । आयोगले तालिमप्राप्त मतदाता शिक्षा कार्यकर्तालाई घरघरमा पुग्ने गरी खटाउने र यसका लागि ‘एक मतदान केन्द्र, एक मतदाता शिक्षा कार्यकर्ता’का लागि २१ हजार कर्मचारी परिचालन गर्नेछ । साथै, आमसञ्चार माध्यम एवम् सामाजिक सञ्जालबाट पनि निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश प्रकाशन तथा प्रसारण गरिनेछ । मतदाता शिक्षाका लागि आवश्यक पर्ने सबै प्रकारका सामग्रीको उत्पादन गर्ने कार्य सुरु गरेको आयोगले नेपालमा बोलिने राष्ट्रभाषामध्ये १७ राष्ट्रभाषामा समेत मतदाता शिक्षा सामग्री तयारी गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ । रासस
सगरमाथा चढ्नेहरु अब निगरानीमा
काठमाडौँ, चैत १२ । सगरमाथाको चुचुरोमा नपुगी सगरमाथा सफल आरोहण गरेको दाबी गर्नेको सङ्ख्या बढ्न थालेपछि सरकारले सगरमाथा आरोहीलाई ग्लोबल पोजिसिङ (जिपिएस) सिस्टममार्फत ट्याकिङ (निगरानी) गर्ने भएको छ । यसअघि विभिन्न मुलुकका आरोहीले झुटो विवरण पेस गरी सगरमाथा आरोहणको प्रमाणपत्र लिने प्रवृत्ति बढेपछि पर्यटन विभागले सरोकारवाला निकायसँग छलफल गरी जिपिएस प्रणाली सुरु गर्न लागेको हो । अघिल्लो वर्ष भारतीय एक दम्पतीले सगरमाथा चढेको भनेर नक्कली फोटो पेस गरेपछि विवादमा आएको थियो । अघिल्ला आरोहणमा कतिपय मुलुकका आरोहीले यस्ता विवरण पेस गरेको हुनसक्ने अनुमान गरिएको छ । त्यसो त, यसअघि पनि अप्रेटरहरुले जिपिएस प्रणाली लागू गरेका थिए तर यो प्रणाली लागू गरे पनि नगरे पनि विभागले वास्ता गरेका थिएन । अब भने विभागले जिपिएस प्रणालीलाई अनिवार्य गर्न लागेको छ । पाँच वर्षयता कतिपय अप्रेटरले यो प्रणाली प्रयोग गर्दै आएका थिए । सुरुमा परीक्षणका लागि प्रयोग गर्ने र सरोकारवालासँग छलफल गरी उपयुक्त मानिएमा अर्को सिजनबाट सबै आरोहीलाई अनिवार्य रुपमा निगरानी गर्ने योजना बनाइएको विभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकालले राससलाई जानकारी दिनुभयो । उहाँकाअनुसार, सगरमाथा आरोहणको यो मौसम स्प्रिङ (वसन्त ऋतु) मा कतिपय आरोही दलमा यो प्रणाली परीक्षणका रुपमा प्रयोग गरिनेछ । “पहिला अप्रेटरले अलिअलि प्रयोग गरेका थिए, तर यसका मोडेल फरक भएकाले सामान्यखालका मात्र प्रयोगमा थिए, अब यो जिपिएस डिभाइस आरोहीले खल्तीमा लिएर जान्छन् र आरोहणबाट फर्केपछि आरोहण प्रतिवेदनसँगै यो डिभाइस बुझाउनुपर्छ, त्यसपछि विभागले मेसिनमा अध्ययन गरी आरोहण टोली नेताको प्रतिवेदनअनुरुप मेसिनले देखाएमा मात्र आधिकारिक हुन्छ” – उहाँले भन्नुभयो । समान्यतः यस्ता डिभाइसको रु ३० हजार र रिडरको रु ६० हजार पर्छ । यो डिभाइसले आरोहीले कुन रुट प्रयोग गरेको छ, कति उचाइमा पुगे र कतिदिनमा आरोहण गरेर फर्किए भन्ने सबै विवरण राख्ने भएकाले यसबाट आधिकारिकता प्रदान गर्न विभागलाई सजिलो हुनुका साथै आरोहण सुरक्षाको सुनिश्चितता हुने विभागको बुझाइ छ । निमित्त निर्देशक ढकालले यस्तो प्रविधि अन्य विकसित देशहरुले पहिलादेखि नै प्रयोग गर्दै आएको र पर्यटन व्यवसायलाई विश्व्यापी रुपमा एकरुपतामा ल्याउन तथा गलत प्रवृत्तिलाई रोक्न यो प्रणालीको आवश्यकता देखिएको बताउनुभयो । जिपिएस निगरानी प्रणालीका लागि एउटा मोबाइल आकारको डिभाइस हुन्छ जसलाई आरोही स्वयम्ले बोकेर लैजानुपर्छ । पर्यटन विभागले उक्त डिभाइसमा आरोहीको नाम, ठेगानालगायतका सम्पूर्ण विवरण भरेर आरोहीलाई दिन्छ । आरोहण सकिएपछि डिभाइस आरोहीले विभागलाई फिर्ता गर्नुपर्छ जसलाई अर्को छुट्टै मेसिनले रिड गरिन्छ । त्यसमा आरोहीले के गर्दैछ, कुन दिशाबाट आरोहण गरेको, कति उचाइमा पुगेको लगायतका विस्तृत विवरण रेकर्ड भएको हुन्छ । त्यसका आधारमा आरोहण सफल भए नभएको पत्ता लगाउन सकिन्छ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष आङछिरिङ शेर्पाले विगत पाँच वर्षदेखि अप्रेटरले जिपिएस प्रणाली चलाएको भए पनि प्रभावकारी नहुँदा अहिले पर्यटन विभागले अनिवार्य गर्न लागेको बताउनुभयो । यो प्रणालीले आरोहण क्षेत्रलाई सुरक्षित बनाउनुका साथै कुनै पनि घटना र विपत्को खण्डमा तत्कालै उद्धार गर्न सकिने उहाँले बताउनुभयो । अध्यक्ष शेर्पाले भन्नुभयो – “आरोहणमा आरोहीले ढाँट्नु हुन्न भन्ने नैतिकता हो तर कतिपयले ढाँट्ने गरेका छन्, कतिपय आरोही एक्लो हुने भएकाले पनि यस्ता घटना हुन्छन् तर जिपिएस लगेपछि कसैले ढाँट्न पाउँदैन ।” पहिला अरुले चलाए पनि हुन्थ्यो, नचलाए पनि हुन्थ्यो । यो प्रणालीबाट अब कोही आरोहीले ढाँट्न र झुटो विवरण पेस गर्न पाउँदैन, यसमा जहाँसुकै बसेर कम्प्युटरबाट आरोहीका सबै प्रकारका गतिविधिलाई सहजै निगरानी गर्न सकिन्छ । हिमाल आरोहणका क्रममा आरोही सही दिशामा गएको छ कि छैन या कुनै दुर्घटनामा परेको भए पनि यस यन्त्रमार्फत पत्ता लगाई उद्धार गर्न सहज हुनेछ । एनएमएको विवरणअनुसार हालसम्म सात हजार ७०० बढीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । व्यक्तिगत रुपमा मात्रै करिब चार हजारले आरोहण गरेका छन् । सबैभन्दा बढी २१ पटक आप्पा र फुर्वा टासी शेर्पाले सगरमाथाको आरोहण गरेका छन् । नेपालमा हाल पाँच हजार ८०० मिटर अग्ला ४०३ वटा हिमाल आरोहणका लागि खुल्ला गरिएको छ । भूगर्भविद् स्व डा हर्क गुरुङको अध्ययन प्रतिवेदनअनुसार नौ लाख ५८ हजार मिटर अग्ला १७ हजार ९२ वटा हिमाल आरोहण योग्य छन् । एक हजार ३८९ हिमाल आरोहण खोल्न बाँकी छन् ।

