यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना पनि रहेको छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा अति ठूलो वर्षाको सम्भावना छ ।

आज सूर्योदय बिहान ५ बजेर २५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ ।

होली: उपत्यकामा ९ सय ट्राफिक प्रहरी परिचालन हुने

काठमाडौं । रङ्गहरूको पर्व फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन उपत्यकामा ९ सय बढि ट्राफिक खटिने भएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको हो ।  विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउन ९ सय बढि ट्राफिक प्रहरीहरू खटिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।  उनका अनुसार कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाइएको छ ।  त्यसै गरी ३० ओटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट समेत राखिने तथा दुर्घटना रहित होली पर्व मनाउन र उछ्रिङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्नका लागि तयार भएको सुरक्षा योजना बमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्ने योजना रहेको छ ।   प्रबक्ता श्रेष्ठले भने, ‘अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाई गरी ठुलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउने उपर विशेष निगरानी गरिनेछ भने अन्य ट्राफिक नियम उल्लङ्घन गर्नेलाई समेत कडाइका साथ कारबाही गरिने छ ।’ मादक पदार्थ र लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाइएको र अनुमती विपरीत रङ्ग दल्ने, लोला हान्ने, अनावश्यक हो–हल्ला गर्ने, झैंझगडा गर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्नेहरूलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने भएको छ ।  रङ्गहरूको पर्वमा सबै जना बढि रमाइलो मुडमा हुने, होहल्ला गरी सवारी चलाउने, मादक पदार्थ सेवन तथा लागू पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने हुँदा ट्राफिक चेकिङलाई कडा बनाइएको उनले बताए ।