ट्राफिक प्रहरीको काम सह्रानीयः गृहमन्त्री

ट्राफिक सचेतना विशेष अभियान – २०८१ को उद्‍घाटन

ट्राफिक प्रहरीको काम सह्रानीयः गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आइतबार आयोजित विशेष समारोहबीच ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ को उद्‌घाटन गरेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा आयोजित कार्यक्रममा अभियानको उद्घाटन गरिएको हो । 

कार्यक्रममा गृहमन्त्री लामिछानेले ट्राफिक व्यवस्थापनमा सम्पूर्ण सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सरकारले ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर ऐन, नियमलाई समयानुकूल परिमार्जित, परिवर्तन तथा नयाँ कायम गर्नका लागि सक्रियताका साथ लागेको जानकारी दिए ।
दुर्घटना न्यूनीकण गरी नागरिकको ज्यान बचाउनु राज्यको प्राथमिकता रहेको भन्दै उनले बाटो परिक्षण नगरिकन लाईसेन्स दिने परिपाटीले धेरै सवारी दुर्घटनाहरू भएको बताए । 
यसलाई नियन्त्रण गर्न लाईसेन्स परीक्षाको विद्यमान प्रक्रियामा सुधार गर्नुपर्ने गृहमन्त्री लामिछानेले बताए ।

उनले सरकारका कामहरूमध्ये ट्राफिक व्यवस्थापन पनि एक महत्वपूर्ण काम रहेको चर्चा गर्दै हाल सम्मको काम सह्रानीय रहेको र आगामी दिनमा समेत ट्राफिक नियमलाई थप कडाईका साथ पालन गर्नगराउन निर्देशन दिए । 

ट्राफिक प्रहरीलाई छल्नलाई होइन आफू सुरक्षित हुनका लागि गम्भिर तथा सचेत भएर सार्वसाधारणले ट्रफिक नियम तथा लेन अनुशासनको पालना गर्नुपर्नेमा उनले जोड दिए । ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले ट्राफिक प्रहरीको बोली, वचन तथा व्यवहार नरम तर कारबाही कडा हुनुपर्ने बताए ।

यो विशेष अभियान अन्तर्गत एक हप्तासम्म यात्रुमैत्री विशेष अभियान, पैदल यात्रीसँग १ मिनेट कार्यक्रम, मोटरसाइकल चालकसँग २ मिनेट कार्यक्रम, जिरो ट्राफिक भायोलेशन, किप क्लियर, यात्रुबाहक सवारी साधन परीक्षण, प्रहरी बैंण्ड डिस्प्ले र ट्राफिक एफएममा ट्राफिक सचेतना विशेष सम्वाद कार्यक्रम संचालन गरिने बताइएको छ ।
कार्यक्रममा गृह सचिव एकनारायण अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका प्रवक्ता सह सचिव नारायण प्रसाद भट्टराई, काठमाडौं जिल्ला प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, विभिन्न विभागका महानिर्देशकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृत तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु, विभिन्न यातायात व्यवसायी संघसंस्थामा आवद्ध प्रतिनिधिहरू, हिसान, प्याव्सन तथा एन प्याव्सनका अध्यक्ष तथा प्रतिनिधिहरु र विद्यार्थी तथा संचारकर्मीहरू एवम् आमनत्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 
कार्यक्रम अगाडि सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली नेपाल वायुसेवा निगम प्राङ्गण सुन्धाराबाट शुरू भई वीर अस्पताल, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो ।

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय