यी सार्वजनिक विदामा खुल्नेछन् अस्पतालका ओपीडी

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न अस्पतालहरूलाई पुन: दबाब दिएको छ । मन्त्रालयले २४ वटा सार्वजनिक बिदामा सर्वसाधारणको सुविधाका निम्ति ओपीडी सेवा सञ्चालन गर्न सबै अस्पताललाई आग्रह गरेको हो ।
साथै, सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था अनुसार  पनि २०८० माघ २९ गते प्रकाशित नेपाल राजपत्रमा पनि बिदाका दिनहरूमा स्वास्थ्य संस्थाहरू सामान्य दिनसरह सबै प्रकारका स्वास्थ्य सेवा सुचारु रहने उल्लेख भएकाले सोहीअनुसार गर्न मन्त्रालयको निर्देशन छ । नेपाल चिकित्सक संघ भने अवैज्ञानिक र अव्यवहारिक भन्दै यो निर्णयको विरोधमा छ । 
यी हुन् ओपीडी चलाउनुपर्ने २४ दिन 
(क) पर्व बिदा
१. रामनवमी, २. चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व ३. रक्षाबन्धन ४. श्रीकृष्ण जन्माष्टमी, ५ . घटस्थापना, ६. क्रिसमस डे ७. धान्य पूर्णिमा उँधौली पर्व/योमरी पुन्ही (ज्यापु दिवस), ८. तमु ल्होसार, ९. माघी पर्व/माघे सङ्क्रान्ति, १० सोनम ल्होसार, ११. महाशिवरात्री १२. ग्याल्पो ल्होसार, १३. ईद (ईद उल फित्र) १४. वकर ईद (ईद उल अजहा ) ।
(ख) जात्रा बिदा
१. गाईजात्रा, २. इन्द्रजात्रा, ३. मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा ४. घोडेजात्रा बिदा ।
(ग) सार्वजनिक दिवस
१. गणतन्त्र दिवस, २. सहिद दिवस ३ राष्ट्रिय प्रजातन्त्र दिवस ४ अन्तर्राष्ट्रिय महिला दिवस ।
(घ) जन्मजयन्ती बिदा
१. बुद्ध जयन्ती २. पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) ।

चिनियाँ चिकित्सा पुनःस्थापना उपचार केन्द्रको उद्घाटन

काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय परम्परागत चिनियाँ औषधि पुनःस्थापना तथा उपचार केन्द्रको आइतबार उद्घाटन गरिएको छ । नेपालको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा केन्द्र सञ्चालनमा आएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदुत चेन सोङले लम्बरको समस्या भएका एकजना बिरामीले ३० डिग्रीसम्म कम्मर मात्र झुकाउन सक्ने र उपचारपछि ९० डिग्रीसम्म आफ्नो ढाडलाई सिधा समात्न सक्ने भएकाले स्थानीय जनतामा अकुपंक्चर उपचार लोकप्रिय भएको स्मरण गराए । विगत २५ वर्षमा नेपाली चिकित्सकसँगै नेपाली जनताको स्वास्थ्य सुधारका लागि मेमोरियल क्यान्सर अस्पतालमा २५० भन्दा बढी चिनियाँ चिकित्सक टोली पठाइएको चेनले बताए। सन् १९९८ को डिसेम्बरमा नेपाललाई हस्तान्तरण गरेदेखि नै चीनको सहयोगमा बनेको अस्पतालमा चिनियाँ मेडिकल टोलीहरू आलोपालो पठाइएको बताए। अस्पताल सञ्चालक समितिका अध्यक्ष विजय राई न्यौपानेले जनशक्ति आपूर्ति, चिकित्सा उपकरण तथा औषधि चन्दा र चिकित्सक तथा प्राविधिकहरुको तालिम लगायतका क्षेत्रमा चीनले गरेको सहयोगको प्रशंसा गरे।

देशभर डेंगीको संक्रमण, सबैभन्दा धेरै काठमाडौंमा

काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघेको छ । सन् २०२४ जनवरीयता २९ जुलाईसम्म २ हजार ६१ जना संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।   जसमध्ये जुलाईका २९ दिनमा ५७४ संक्रमित थपिएका हुन् । यो वर्ष (सन् २०२४)मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।     वाग्मती प्रदेशमा सबैभन्दा धेरै ६६६ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २४९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।  झापामा १३०, चितवनमा १०५, तनहुँमा ८७, मकवानपुरमा ७८, कास्कीमा ७४, भोजपुरमा ६२, काभ्रेमा ६०, ओखलढुंगामा ५९ र धनकुटामा ५८ जनामा डेंगी पुष्टि भएको छ ।  यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ। 

देशभर डेंगु सङ्क्रमण, सबैभन्दा बढी काठमाडौँमा

काठमाडौं। देशभर ७३ जिल्लामा एक हजार ८२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ८२५ जनामा डेंगु पुष्टि भएको जानकारी आएको बताए। इडिसिडीको तथ्याङ्कअनुसार कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ५९३, कोशी प्रदेशमा ४६१ जनामा डेंगु पुष्टि भएको छ । किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ८२५ जनामा डेंगु पुष्टि भएको जानकारी आएको बताए। त्यसैगरी, गण्डकी प्रदेशमा २९४, लुम्बिनी प्रदेशमा २०१, सुदूरपश्चिममा २१०, मधेश प्रदेशमा ४३ र कर्णाली प्रदेशमा २३ जनामा डेंगु पुष्टि भएको डा. दाहालले जानकारी दिए। जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा २०९, झापामा १२९ जनामा डेंगु पुष्टि भएको देखिएको छ । चिकित्सकका अनुसार डेंगु हुनबाट बच्न एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो । उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमुख लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा।दाहालको सुझाव छ। कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । ‘‘लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाँडाहरु बेला–बेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ ।’उनले भने गोरखापत्रबाट ।

डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्नुस्ः काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ ।  अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।   परामर्श सेवाका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेंगुसम्बन्धी स्रोतव्यक्ति  ऋषि भुसालले जानकारी दिए ।  उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे । कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिए । “डेंगु सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनुहुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो”, उनले भने । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे ।  डेंगुको मुख्य लक्षण  डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेंगुसम्बन्धी फोकलपर्सन भुसालले बताए । “टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने हुन्छ”, उनले भने, “एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ ।” यसबाट बच्ने तरिका  डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने जस्ता काम गर्नुपर्छ । 

अस्पतालहरुको सुधार गर्नु नै मेरो मुख्य लक्ष्य हो : मन्त्री यादव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालहरुको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् ।सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री यादवले यस्तो बताएका हुन् । मन्त्री यादवले स्वास्थ्य संस्थाको सुधारका लागि मन्त्रालय रातदिन काम गरिरहेको बताए। उनले राजनीति अस्थिर रहेकाले सबै ठूलो काम गर्छु भनेर प्रतिवद्धता जनाउन नसकिने बताए। उनले अहिले भएका संरचनालाई अझ व्यवस्थित गर्नका लागि आफू लागिपरेको बताए । मन्त्री यादवले अस्पताल सुधारका लागि मन्त्रालयका अतिरिक्त दुई जना सचिवको नेतृत्वमा काम भइरहेको बताए। उनले स्वस्थ्य क्षेत्रमा जनशक्ति कम रहेको भन्दै करारमा लिएर भएपनि काम गराउने प्रतिवद्धता जनाए । उनले मन्त्रालय मातहतमा रहेका अस्पतालको सुधारका लागि विभिन्न कार्यक्रमसहित अघि बढेको बताए। उनले बीमामा धेरै महाभारत चलिरहेको बताए। मन्त्री यादवले स्वास्थ्य बीमा स्वास्थ्य मन्त्रालयअन्तर्गत नरहेको भन्दै राज्यले बीमालाई स्वायत्त गरिदिएको बताए। आफू अग्रसर भएर बीम बोर्डका अध्यक्षसँग कुरा गरेको र छलफल गरेर बीमामा भएका बेथितिको सुधार गर्ने बताए। सबै नागरिकलाई बीमामा समेट्न आफूहरु लाग्ने बताए। मन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि मन्त्रालय लागिरहेको बताए।

प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण, बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)भरतपुरबाट प्रवाह हुँदै आएको स्वास्थ्य सेवाबारे जानकारी लिएका छन् । सो अवसरमा प्रधानमन्त्रीले मेडिकल कलेजमा उपचाररत पूर्वमन्त्री घनश्याम दाहाल एवं सर्वसाधारणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।  उनले अस्पतालमा कार्यरत स्वास्थकर्मीसँग अन्तरक्रिया गर्नुका साथै त्यहाँबाट प्रवाह हुँदै आएको सेवाबारे जानकारी लिए। सामान्य र विशेषमा गरी यस अस्पतालबाट दैनिक एक हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिँदै आएको अस्पतालले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड आजै चितवन आएका हुन् ।

औषधि उद्योग तथा फार्मेसीको अनुगमन गर्न समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि उद्योग, फार्मेसी तथा औषधिसँग सम्बन्धित निकायहरूको स्थलगत अनुगमनका लागि समिति गठन गरेको छ। अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित समितिले जिल्लास्तरमा स्थलगत अनुगमन गर्नेछ। समितिले ती निकायहरूको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया तथा मापदण्ड, औषधिको गुणस्तर, समस्या र चुनौतीबारे स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछ । समितिलाई प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ ।

जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । जंगली विषालु च्याउ खाँदा मकवानपुरमा एक साताभित्र तीनजनाको मृत्यु भएको छ । अन्य १६ जना बिरामी परेका छन् ।  यो एउटा पछिल्लो उदाहरण हो, वर्षाको यो मौसममा जंगली च्याउ खाएर ज्यान गुमाउने गरेका समाचार वर्षेनी आउने गरेको छ । काँहाको च्याउ विसालु हुन्छ र कहाँको स्वास्थवर्धक हुन्छ भन्ने थाहा नपाउँदा ज्यान समेत गुमाउन परेको छ ।  त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि जंगली च्याउ नखान आग्रह गर्दै आएको छ।  वर्षा ऋतुको आगमनसँगै जंगली च्याउ उम्रिन थाल्छन् । जंगली च्याउ निकै विषालु हुन्छन् । त्यस्तो च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्यु समेत हुन सक्ने मन्त्रालयले जनाएको छ। पकाउँदा पनि जंगली च्याउमा हुने विष कम हुँदैन । त्यसैले जंगली च्याउ कहिल्यै नखान मन्त्रालयले आग्रह गरेको छ ।

डेंगु सङ्क्रमण बढ्न नदिनतर्फ सचेत रहन मन्त्रालयको आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस वर्ष डेंगु बढ्न सक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार यो वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने आङ्कलन गरेकाले डेँगु फैलिन सक्ने खतरा भएकोभन्दै मन्त्रालयले सचेत गराएको छ ।   मनसुन लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण हुने भएकाले सङ्क्रमणको सङ्ख्यामा समेत बढोत्तरी हुन सक्ने डा.बुढाथोकीले विज्ञप्तिमा उल्लेख गरे। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७२ जिल्लाहरूबाट १ हजार २४१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।   पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुलको प्रयोग गर्ने र पुरै शरीर छोपिने लुगा लगाउन उनको सुझाव छ ।  उनले डेंगु सङ्क्रमण रोकथाम नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक भएकाले यस अभियानमा सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबैले आफ्नो स्थानमा समन्वय, सहजीकरण एवं सहभागिता जनाउन अनुरोध गरे। डेंगुको बढ्दो सङ्क्रमणलाई न्यूनीकरण गर्न मन्त्रालयले सात प्रदेश तथा सबै स्थानीय तहहरूमा बर्षातको समयमा हुन सक्ने  डेंगु लगायत अन्य स्वास्थ्य विपद्का लागि द्रुत प्रतिकार्य समिति तथा टोलीलाई तयारी अवस्थामा रहन र आवश्यक भएको अवस्थामा परिचालन हुन पत्राचार गरिसकेको उनले जानकारी दिए।  मन्त्रालयले सङ्घ, प्रदेश, स्थानीय तह, मातहतका निकायसँगको समन्वय, रोगको बारेमा विभिन्न सञ्चारका माध्यमहरूमा सन्देशमूलक सूचना प्रकाशन गर्नुका साथै रोगलाई नियन्त्रण गर्न योजना बनाएको उल्लेख गरे। उनका अनुसार डेंगु रोग निदानका लागि चाहिने रोग निदान किट, औषधोपचार र अन्य आवश्यक सामग्री समेत तयारी अवस्थामा राखिएको छ।  उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु डेंगुका मुख्य लक्षण हुन्। एक्कासि उच्च ज्वरो आउने, वान्तामा रगत देखापर्ने, नाक वा गिजाबाट रगत, रक्तस्राव, धेरै पेट दुखाई, श्वास प्रश्वासमा समस्या, र बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा परामर्श गर्न उनको सुझाव छ।

चिकित्सा शिक्षा आयोगको निर्देशकमा चार जना सिफारिस

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशक पद नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले चार जनाको नाम सिफारिस गरेको छ। समितिले सर्ट लिस्टमा परेका १२ जना मध्येबाट प्रा.डा. गुरुप्रसाद खनाल, प्रा।डा। सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य र डा. सरला श्रेष्ठलाई सिफारिस गरेको हो । प्रारम्भिक छनोटमा परेका १२ जनामध्येबाट खनाल, मरहट्टा, आचार्य र श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्त हुनेछन् । चिकित्सा शिक्षा आयोगमा निर्देशकका ४ पद रिक्त छन् । चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०८० कात्तिक २३ गते राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयाँलको संयोजकत्वमा ३ सदस्यीय निर्देशक नाम सिफारिस समिति गठन गरेका थिए। समितिले ०८० मंसिरमा माग गरेको विज्ञापनमा २० जनाले आवेदन दिएका थिए । त्यसमध्ये १२ जनाको नाम सर्ट लिस्टमा परेको थियो।

गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको कर्तव्य हो : प्रधामन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताएका छन् । चिकित्सा शिक्षा आयोगको बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, विकास, विस्तार तथा नियमनमा आयोगबाट प्रभावकारी भूमिका निर्वाह हुनुपर्नेमा जोड दिए।  “चिकित्सा शिक्षा प्रणालीले नवीनतम प्रविधि र अनुसन्धानलाई आत्मसात् गरी समय सापेक्ष ज्ञान र सीप प्रदान गर्नुका साथै शिक्षार्थीलाई मानवीय मूल्यहरू, नैतिकता र संवेदनशीलतामा प्रशिक्षित गरी एक आदर्श चिकित्सकको रूपमा स्थापित गर्न सक्नुपर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “चिकित्सा शिक्षा गुणस्तरीय हुनैपर्छ, शहरी क्षेत्रका अतिरिक्त ग्रामीण क्षेत्रमा समेत दक्ष स्वास्थ्यकर्मीहरूको उपलब्धता सुनिश्चित गरी गुणस्तरीय चिकित्सा सेवा प्रवाहमा उत्कृष्टता प्रदान गर्नुपर्छ ।” प्रधानमन्त्री प्रचण्डले चिकित्सा शिक्षाको क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीहरूलाई सरोकारवालासँगको समन्वय र सहकार्यमा समाधानको बाटो पहिल्याउन आयोगले पहल गर्नुपर्नेमा जोड दिए। उनले स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा चिकित्सा शिक्षामा पहुँच कायम गर्नका लागि तीनै तहका सरकार, चकित्सा शिक्षा प्रदान गर्ने शैक्षिक संस्था र स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाहरूले सहकार्य आवश्यक रहेको बताए। आयोगबाट सम्पादित कार्यलाई चिकित्सा शिक्षा र सेवा प्रवाह सुधारको सकारात्मक एवम् अभिन्न पाटोको रूपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस क्षेत्रको गुणस्तर सुधार, विकास, विस्तार तथा नियमनका निम्ति आगामी दिनमा आयोगबाट प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे। “चिकित्सा शिक्षाको महत्त्व केवल दक्ष स्वास्थ्यकर्मी उत्पादनमा मात्र सीमित रहनु हुँदैन,” प्रधानमन्त्री प्रचण्डले भने, “यसले सम्पूर्ण समाजमा स्वस्थ जीवनशैली अबलम्बन र स्वास्थ्य सचेतना फैलाउने महत्त्वपूर्ण भूमिका पनि निर्वाह गर्नुपर्दछ ।” उनले चिकित्सा शिक्षा मानव समुदायको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील विषय भएको बताए। 

पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्त्वपूर्ण छ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन्।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षदेखि एम.बि.बि.एस. तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउन निर्देशन दिए।  “चिकित्सा शिक्षाको स्नातकोत्तर तह सञ्चालनमा आएपछि यस प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने सरकारको अपेक्षा छ,” प्रधानमन्त्री प्रचण्डले भने, “आगामी आर्थिक वर्षदेखि एम।बि।बि।एस। तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउनेछ ।”  भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा र समग्र देशकै लागि दक्ष चिकित्सक उत्पादनमा यस प्रतिष्ठानले खेलेको भूमिका सबै प्रतिष्ठानका लागिसमेत अनुकरणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिष्ठानको विकास, विस्तार र उनन्नयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। उनले अर्थतन्त्रमा विद्यमान दवाव र स्रोत विनियोजनमा देखिएको सङ्कुचनका बीच पनि सरकारले प्रतिष्ठानको विकास र सेवा विस्तारमा प्राथमिकता दिएको उल्लेख गरे। प्रतिष्ठान चिकित्सा शिक्षामा समग्र देशकै लागिसमेत उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण सरोकारवाला निकाय र पोखरेली जनसमुदायमा बधाइ ज्ञापन गर्दै प्राप्त अवसरको पर्याप्त सदुपयोगका गर्न सुझाव दिए।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विगतमा समेत सबै राजनीतिक दल, सामाजिक संघसंस्था, स्वास्थ्य क्षेत्रसँग सरोकार राख्ने विज्ञहरूलगायत सबैसँग सहकार्य गर्दै अगाडि बढेको स्मरण गर्दै प्रधानमन्त्रीले सहकार्यका आधारमा पोखरेलीको गौरवको यस परियोजनालाई पूर्णत सफल पार्नुपर्नेमा जोड दिए।

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु

पाटन।  पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत  १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ ।  “सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आइपिभी’ को व्यवस्था गरेका  छौँ”, अभियान सुरु भएको जानकारी दिँदै केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले भने। यही जेठ  २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने उहाँले  बताए। विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको उनले जानकारी दिए। नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको उनले बताए। यसैबीच, ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारबाट रासस समाचारदाताले पठाएको समाचारअनुसार जिल्लामा सात हजार बालबालिकालाई लक्ष्य गरेर सञ्चालित खोप अभियान सुरु भएको छ ।  जिल्ला खोप समन्वय समितिले जिल्लाका नौमध्ये चार स्थानीय तहमा आजदेखि जेठ १८ गतेसम्म, जेठ २० देखि २५ गतेसम्म पाँच स्थानीय तहमा अभियान सञ्चालन हुने जनाएको छ । अभियानका लागि जिल्ला भरमा तीन सय ९८ वटा केन्द्र निर्धारण गरिएको छ । अभियानमा  एक सय २१ जना  स्वास्थ्यकर्मी र सात सय ९६ जना स्वयंसेवक परिचालन  भएका छन् । रासस

कोरोनाको ‘केपी’ भेरियन्ट सङ्क्रामक तर कम खतरनाक

काठमाडौं । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ।  सरुवा रोग विशेषज्ञ डा.सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ पुष्टि भएको थियो।  ‘यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक छैन,’ उनले भने, ‘तर दीर्घरोगी भएका बिरामीले सतर्कता अपनाउनु पर्दछ।’ कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फ्लुएन्जाको रुप लिने सक्ने भएकाले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने उनको भनाइ छ। ‘केपी.१’ १२ जनामा, ‘केपी.२’ १७ जनामा, ‘केपी.३’ र ‘केपी.४’ एक/एकजनामा देखिएको थियो। 

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको सरुवा, को–कहाँ ?

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य माताहतका निकायमा कर्मचारीको सरुवा गरेका छन्। मन्त्रालयका उच्च कर्मचारीका अनुसार स्वास्थ्यमन्त्री यादवले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) प्रमुख डा. रुद्र मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरेका छन्। यसअघिका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नियुक्त गरेका डा.प्रमोद यादवलाई हटाउँदै मरासिनीलाई जिम्मेवारी दिइएको हो। तर, इपिडिमियोलोजी महाशाखामा भने हालका लागि कसैललाई पनि जिम्मेवारी दिइएको छैन । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. रोशन न्यौपानेलाई निर्देशकको जिम्मेवारी दिइएको छ। अस्पतालमा निर्देशक रहेका डा. युवानिधि बसौलालाई कान्ति अस्पतालमा फिर्ता पठाइएको उच्च अधिकारीले बताए ।