रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् ।
श्रमाधान रोजगार मेलालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने बताएका हुन्।
“वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँदैछ,” प्रधानमन्त्री प्रचण्डले भने, “एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको छ ।”
दीगो विकासका लक्ष्यहरू तथा सरकारको अन्य नीति तथा योजनाले परिकल्पना गरेअनुरूप श्रम क्षेत्रमा पनि स्वास्थ्य र आरोग्यताका लागि काम गरी श्रमिकको हकहित संरक्षण गरिने बताउँदै प्रधानमन्त्रीले रेमिटेन्सबाट अर्थतन्त्रको उत्पादनशिलता बृद्धि गरी आन्तरिक रोजगारी बढाउन सरकार लागि परेको बताए। उनले सबै क्षेत्रको संयोजन गरी तत्कालका लागि सुरक्षित र उपलब्धिमूलक वैदेशिक रोजगारी र दीर्घकालीन रूपमा आन्तरिक रोजगारी बढाएर देशको समृद्धि र नागरिकको सन्तुष्टि बृद्धि गर्नुपर्नेमा जोड दिए।
“सरकारले श्रमिकहरू समस्यामा परेपछि होइन, श्रममा प्रवेश गर्न चाहनेहरूको सीप तथा क्षमता अभिबृद्धि गरेर प्रतिस्पर्धी बनाउनेसमेत लक्ष्य राखेको छ,” प्रधानमन्त्रीले भने, “यसको कार्यान्वयनले श्रममा प्रवेश गर्न चाहने धेरै युवा प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।” रोजगारीको सिर्जना र मर्यादित श्रम क्षेत्रको विकास गरेर समृद्धिको यात्रालाई तीव्रता दिन सकिने बताउँदै उनले त्यसका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयास एवं सहकार्यका लागि अपिल गरे।
‘श्रमाधान रोजगार मेला’ सरकारको अर्थपूर्ण कार्यक्रम भएको बताउँदै प्रधानमन्त्रीले श्रम र रोजगारीसँग सम्बन्धित सम्पूर्ण अवसर र समस्याहरूलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने र नागरिकको रोजगारीको संवैधानिक हक प्रत्याभूत गर्न यसले विषेश भूमिका खेल्ने विश्वास व्यक्त गरे।
आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत मुलुकभित्र रोजगारीका अवसर बृद्धि गर्न धेरै नयाँ कार्यक्रमहरू ल्याएको उल्लेख गर्दै प्रधानमन्त्रीले रोजगार बैंकको अवधारणा, वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको उद्यम विकास, प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना, कृषि क्षेत्रको पुनरोत्थान, औद्योगिक विकास, सूचना प्रविधिको विकासलगायत कार्यक्रमबाट रोजगारी सिर्जना हुने बताए।
नेपालमा उत्पादित वस्तुहरूको उपयोग र खपतका निम्ति प्रोत्साहन, ‘मेड इन नेपाल, मेक इन नेपाल’ को अवधारणा अगाडि बढाइएको बताउँदै प्रधानमन्त्री प्रचण्डले डाटा सेन्टर तथा सूचना प्रविधिको विकासमा उच्च प्राथमिकता, औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गरिने बताए।
“स्टार्ट अप र नवप्रवर्तनका लागि इकोसिस्टम विकास गरी उद्यमशील वातावरण सिर्जना, स्टार्ट अप बोर्डको गठन र कोष स्थापना, सातै प्रदेशमा बिजिनेस इन्क्युवेसन सेण्टर सञ्चालन गरिनेछ”, प्रधानमन्त्रीले भने, “सार्वजनिक–निजी साझेदारीमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण, महिला उद्यमीद्वारा उत्पादित वस्तु बिक्री गर्न कोसेली घरको स्थापना र सञ्चालन, उद्योग र लगानीसँग सम्बन्धित कानुनमा परिमार्जन गरिनेछ ।”
प्रधानमन्त्री प्रचण्डले स्थानीय कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्यम व्यवसाय सञ्चालन, रैथाने कृषि बाली विकास, कृषि प्रदर्शन, साप्ताहिक मेला र हाट बजार सञ्चालन लगायतका धेरै कार्यक्रम आगामी वर्षको बजेटमा सम्बोधन गरिएको जानकारी दिए।
नेप्से २३.८१ अंकले घट्यो
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषणपछिको पहिलो कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा रोकिएको हो । बुधबार चार अर्ब ५७ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ५६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १९१ कम्पनीको सेयर मूल्य घटेको छ ।आज युनिलिभर नेपाल, कालिन्चोक दर्शन, अपर लाहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । युनिलिभरको सेयर मूल्य एकै दिन तीन हजार ९३५ रुपैयाँ बढेको छ भने कालिन्चोक दर्शनको सेयर मूल्य प्रतिकित्ता ११२ रुपैयाँले बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँले घटेको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढेको छ । सर्वाधिक परिसूचक घट्नेमा वाणिज्य बैंकिङ समूह छ ।
यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल जेठ १६ गते बुधबार सन् २०२४ मे २९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७९ पैसा र बिक्री दर १३३ रुपैयाँ ३९ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७५ पैसा र बिक्री दर १७० रुपैयाँ ५२ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
नेप्से र सीडीएससीको पुनर्संरचना गरिने
काठमाडौं । सरकारले आगामी वर्ष नेपाल स्टक एक्सचेन्ज -नेप्से_ र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको पुनर्संरचना गर्ने भएको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण -बजेट_ प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्। त्यस्तै, निश्चित पुँजी भएका कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत हुने व्यवस्था मिलाइने पनि मन्त्री पुनले बताए। पुँजी बजारका लगानीकर्ताको हित संरक्षण गर्न नेपाल धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गरिने पनि उनले बताए। बस्तु विनिमय बजारको सञ्चालन गर्न आवश्यक कानुनी व्यवस्था गरिने पनि उनले बताए।
१८ खर्ब ६० अर्बको बजेट, हेनूहोस् पूर्णपाठ
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख गरे । हेनूहोस् पूर्णपाठ
क्यूआर कोडसहितको करचुक्ता दिने व्यवस्था गरिने
काठमाडौं। सरकारले अब क्यूआर कोडसहितको करचुक्ता दिने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गर्ने
काठमाडौं । सरकारले वार्षिक पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासमा छुट्याइएको बताएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए । उनले आगार्मी आर्थिक वर्षमा एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गर्नेगरी बजेट ल्याइएको पनि बताए ।
रिटर्नी उद्यमशीलता कार्यक्रम घोषणा : १ लाखलाई स्वरोजगार बनाइने
काठमाडौं। वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई प्रोत्साहन गर्न सरकारले रिटर्नी उद्यमशीलता कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत विदेशबाट फर्किएकालाई रिटर्नी उद्यमशीलता कार्यक्रममार्फत एक लाख नागरिकलाई स्वरोजगार बनाउने घोषणा गरेका छन् । बजेट वक्तव्यमा अर्थमन्त्री पुनले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजीबाट उद्यमशीलता प्रवर्द्धन गर्ने बताएका छन् । उनले वैदेशिक रोजगारीमा गएकाहरुले बैंक मार्फत पठाएको रेमिट्यान्सको आधारमा बिना धितो ऋण उपलब्ध गराउने निती लिएको बताएका छन् ।
सहकारी सञ्चालकको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले समस्याग्रस्त घोषित सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले समस्याग्रस्त सहकारीमा पैसा राख्नेहरुको बचत फिर्ता गर्ने घोषणा गरेका हुन् । ती सहकारीको सञ्चालकको सम्पत्ति बेचेर भए पनि ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गर्ने अर्थमन्त्री वर्षमान पुनले बताए । उनले कानूनमा आवश्यक संशोधन गरी सहकारी सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गरिने बताए । यस्तै बचत तथा ऋण सहकारीको नियमन गर्न नियामक निकाय स्थापना गरिने पनि उनले बताए ।
सार्वजनिक निकायले नेपालमा बनेको गलैँचा खरिद गर्नुपर्ने
काठमाडौं । सार्वजनिक निकायले नेपालमा बनेको गलैँचा खरिद गर्नुपर्ने व्यवस्था गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले स्वदेशी गलैँचाको प्रवर्द्धनका लागि यस्तो व्यवस्था गरिएको उल्लेख गरे । निजगढदेखि ढल्केबरसम्म पुर्वपश्चिम राजमार्गलाई नेपाली गलैँचा करिडोर बनाइने पनि उनले बताए । स्वदेशी उत्पादन र उद्योगलाई प्रोत्साहनका लागि नेपालमै बनेको गलैँचा प्रयोग गर्न बाध्य पार्न लागिएको हो ।
१२ खर्ब ५३ अर्ब ५२ करोड राजस्व संकलन हुने संशोधित अनुमान
काठमाडौं । चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान गरिएको छ । मंगलबार संघीय संसद् बैठकमा सरकारको आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले लक्ष्यानुसार यो वर्ष राजस्व संकलन नहुने बताएका हुन् । यो लक्ष्यको तुलनामा ८८.१ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, आर्थिक शिथिलताका कारण यो वर्ष लक्ष्यानुसार राजस्व संकलन हुन नसकेको अर्थमन्त्री पुनले बताए ।
सरकारले गाँजाको व्यावसायिक खेती प्रवर्द्धन गर्ने
काठमाडौैं । गाँजाको व्यावसायिक खेती सुरु गर्न सरकारले कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत गाँजालाई व्यावसायिक उत्पादनको बाटो खुला गर्ने घोषणा गरेको हो । “गाँजाको व्यावसायिक प्रवर्द्धनका लागि कानुनी व्यवस्था मिलाइनेछ,” मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने । सरकारको यो घोषणलाई सांसदहरूले ताली बजाएर स्वागत गरेका छन् ।
२०८१ देखि २०९१ सम्म कृषि लगानी दशक घोषण गर्ने
काठमाडौँ। सरकारले कृषि क्षेत्रमा वि.सं.२०८१ देखि २०९१ सम्म कृषि लगानी दशक घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका छन् । कृषिको व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी सरकारी निजी सहरकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न कृषि लगानी दशक घोषणा गर्ने उनले बताए ।
आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य सुरू भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुन (अनन्त)ले बजेट सार्वजनिक गर्दै छन् ।
बजेट पढ्न तयार अर्थमन्त्री, ब्रिफकेसको ढाँचा फेरियो
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन (अनन्त)ले केहीबेरमा आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दैछन् । दिउँसो ३ बजेदेखि बस्ने संयुक्त सदनको बैठकमा उनले बजेट सार्वजनिक गर्नेछन् । बजेटको ब्रिफकेस बोकेर उनी क्याविनेट बैठकमा छिरेका छन् । मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्य पारित गर्नुपर्ने प्रावधान छ । यसपटक नेपाली ढाकाबाट निर्मित ब्रिफकेस प्रयोग गरेर उनले स्वदेशी उत्पादनको प्रवर्द्धनको सन्देश दिन खोजेका छन् ।
पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम
काठमाडौं। राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो। बजेटसँगै संसदमा टेवुल हुने भएकाले हरेक वर्ष वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना बनाएर राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गर्ने गरेको छ। आयोगका अनुसार सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनयोजन दक्षता पूर्ण रुपले पालना हुने, संस्थाहरूले गर्ने खर्चको क्षमता अनुसार नै बजेट विनियोजन गर्ने गरी सुनिश्चित गरिएको छ। बैठकममा प्रधानमन्त्री प्रचण्डले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तादम्यता नमिलेको गुनासो आउने गरेको भन्दै यस वर्ष त्यस्तो नहुने बताउनु भयो । कसरी हुन्छ नीति तथा कार्यक्रममा मिल्ने गरी जनमुखी बजेट निर्माणका लागि आफूले भनेको र सोही स्प्रिटमा अर्थमन्त्री वर्षमान पुनले बजेट तयार गरेको प्रधानमन्त्री प्रचण्डले बताए। बैठकमा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहित, आयोगका उपाध्यक्ष डा।मीनबहादुर श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, मूख्यसचिव बैकुण्ठ अर्याल, तथा आयोगका सदस्य र सदस्य सचिव लगायतको उपस्थिति रहेको थियो ।