राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा

 

पुरानो कपडाबाट तीन लाख आम्दानी

हेटौँडा, मङ्सिर १६। सामान्यतया धेरै मानिसहरु तपाईंहरु आफ्नो पुरानो कपडालाई के गर्नुहुन्छ ? भनेर सोध्यो भने त्यसको जवाफ धेरैजसोले फ्याक्ने कुरा गर्ने गर्छ । तर, यहाँ हेटौंडा उपमहानगरपालिका ८ का कमानसिंह लामाको हेटौँडा कपास उद्योगमा पुराना कपडाको कपास बनाउन आउनेको भिड लाग्दछ । होटल व्यवसायबाट मनग्य आम्दानी नभएर वैदेशिक रोजगारको सपना देख्न थालेका लामालाई आफन्तले थोरै लगानीमा गर्नसक्ने यस्तो व्यवसायको बारेमा सुझाएपछि आफन्तसँग ऋण मागेर उनले हेटौँडा कपास उद्योग सञ्चालन गरेको छ । डेढ वर्षअगाडि खोलेको सो उद्योगबाट मासिक रु तीन लाखभन्दा बढी आम्दानी हुने गरेको लामाले बताएको छ । करिब रु १५ लाख लगानीबाट सुरु गरेको उक्त उद्योगले १० जनालाई रोजगारी दिएको छ । एक किलो कपडा पेल्न उनले रु १८ लिने गर्छ । पुरानो कपडा नगरपालिकाको फोहर सङ्कलन गर्ने गाडीमा हाल्ने गरेको यहाँका बासिन्दा अहिले पेलेर डसना बनाउन थालेका छन् । ‘पैसाको बचत भएको छ’, हेटौँडा–४ की सुजता मैनालीले भने– ‘फोहरको गाडीमा कपडा हाल्न कस्तो माया लाग्थ्यो, राख्ने ठाँउसम्म हुन्नथ्यो तर बल्ल यसको सदुपयोग भएको छ ।’