दुई कांग्रेस जुध्दा सेयर बजार अोरालो
काठमाडौं, माघ १४ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्चेन्जमा रहेका दुई काँग्रेसीको झगडाका कारण मुलुकको धितोपत्र बजार नराम्ररी प्रभावित भएको आजको जनआहवान साप्ताहिकमा खवर छ । धितोपत्र बोर्डको आवरणमा डा. रेवतवहादुर कार्कीले ब्यक्तिगत ’इगो’ साँध्न स्पष्टीकरण सोधेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दावी गरेको छ । कार्की काँग्रेस नेता डा रामशरण महतलाई मोटो थैली बुझाएर अध्यक्ष बनेका व्यक्ति हुन् । भने स्टकका महाप्रबन्धक रहेका सिताराम थपलिया पनि डा महतका असली कार्यकर्ता हुन् । दुई साताअघि बोर्डले नेप्सेका अध्यक्ष र महाप्रबन्धकलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टिकरण सोध्ने विषयमा पनि कुरा नमिले पनि हतार हतार स्पष्टिकरण पत्र काटियो र थपलियालाई साइजमा ल्याउने भन्दै कार्कीले युद्धको नै घोषणा गरेको थपलिया पक्षको आरोप छ । दुई वटा साँढे जुध्दा तोरी बारी माडिए जस्तै कार्की र थपलियाको साँढे जुधाईमा सेयर बजार परेको छ । सेयर बजार दैनिक जसो घट्दै गएको छ । बजार घटाउने विभिन्न कारणहरु रहेको भएपनि प्रमुख कारण भने कार्की र थपलियाको साँढे जुधाई नै प्रमुख कारण रहेको जानकारहरु बताउँछन् । कार्की र थपलिया दुवै काँग्रेस नेता डा महतलाई थैली बुझाएर आएका हुन् । उनीहरु दुवै महतका मान्छे समेत हुन् । तर समस्या कहाँ प¥यो भनेर बुझ्दै जाँदा पत्ता लाग्यो कि सेयर दलालसँग थपलियाले मोटो रकम उठाए । डा सावलाई पैसा दिनु पर्छ भन्दै उठाउने भनेको रकम दलालहरुले काँग्रेस पार्टी कार्यालयको खातामा हालिदिए । पार्टी कार्यालयको खातामा रकम गएपछि न त त्यो रकम थपलियाले पाए न त डा महतले नै । कसैले पनि पैसा नपाएपछि भाउन्न भएका डा महतले फेरि दुवै जनालाई बोलाएर जसरी भएपनि पैसा उठाउन निर्देशन दिए । डा महतको अगाडि हस हजुर भन्दै उठेका कार्की र थपलियाकै कारण यस अघिको पैसा नपाएको भन्दै पैसा उठाउने कि नउठाउने भन्नेमा विलखबन्दमा परे । पैसा उठाउन बोर्डले सहयोग गर्नुपर्ने थपलियाको सर्त थियो । तर कार्कीले उठेको पैसाको ४० प्रतिशत आफूलाई दिनुपर्ने शर्त थपलियालाई तेस्र्याए । बाँकी रहने ६० प्रतिशतमा २० प्रतिशत थपलियाले राख्ने र बाँकी रहने ४० प्रतिशत मात्रै डा महतलाई उपलब्ध गराउने भित्री सहमति भयो । सेयर दलालहरु अधिकाशं काँग्रेस निकटका छन् । थपलिया र कार्कीले उनीहरुलाई होटल हिमालयमा विशेष बैठक भन्दै बोलाए । आफूलाई नियुक्त गर्ने मन्त्रीको आशय समेत उनीहरुले संयुक्त रुपमा राखे । तालुकदार मन्त्रालयमा माओवादी केन्द्रका महासचिव भइसकेका कृष्णबहादुर महरा अर्थमन्त्री छन् । भोलि उनले थाहा पाए के उत्तर दिने भन्ने बारेमा समेत होटलमा राम्रै बहस भयो । थाहा पाए उनलाई समेत जानकारी गराउने सहमति भयो । सोही सहमति बमोजिम कार्की र थपलियासहित सेयर दलालहरु समेत उठे । पैसा पनि राम्रै उठ्यो । स्रोतका अनुसार लगानीकर्तालाई एकाध दिन मात्रै मार्दा पनि सेयर दलालले करिब ४० करोड रकम उठाए । पैसा देखेपछि महादेवको पनि तीन नत्रे भने जस्तै थपलियाले कार्कीलाई दिनु उचित ठानेनन् । काम मैले गर्ने उनलाई किन दिने भन्ने प्रसंग निकाल्दै थपलियाले लौ हजुर पैसा धेरै उठाउन सकिएन, मन्त्रीले थाहा पाए भने हामीलाई समेत अप्ठ्यारोमा पार्लान भन्दै डा महतको जी हजुरी गर्न थपलिया डा महतको निवास पुगे । उनले उठेको मध्य न्यून रकम मात्रै डा महतलाई बुझाए अरु रकम आफैले पच पारे । स्रोत भन्छ कार्की र थपलियाको विवादको प्रमुख कारण नै सोही सेयर दलालबाट उठेको पैसा रहेको बताइन्छ । पैसाको विषयमा कुरा नमिलेपछि बोर्डले थपलियालाई स्पष्टिकरण पत्र काट्यो । बोर्डले सोधेको प्रश्नमा नेप्सेले धितोपत्र बोर्डलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको पत्र पठाएको छ । पत्रको बोधार्थ अर्थमन्त्रालयलाई पनि दिइएको छ । नेप्सेले पत्रकार सम्मेलन गरी बोर्डको अवरोधका कारण पूँजी बजार विकासका योजनाहरु अगाडि बढाउन नसकिएको जनाएको छ । सार्वजनिक रुपमा बोर्डको बिरुद्ध अनर्गल प्रचारवाजी गरिएको भन्दै बोर्डले नेप्सेसँग स्पष्टीकरण सोधेको बताएको छ । बोर्डको स्पष्टीकरणमा नेप्सेले स्पष्टीकरण सोध्ने अधिकार बोर्डसँग नभएको उल्लेख गरेको छ । बोर्डले नेप्सेका अध्यक्ष रामजी रेग्मी र महाप्रबन्धक सीताराम थपलियासँग स्पष्टीकरण सोधेको थियो । सात दिनभित्र जवाफ दिन बोर्डले भनेपनि नेप्सेले दुई साता बितेपछि चेतावनीयुक्त जवाफ पठाएको छ । स्पष्टिकरणको दोहारी पनि असाध्यै रमाइलो छ । त्यसो त स्टकका अध्यक्ष रामजी रेग्मी पनि काँग्रेसी कार्यकर्ता नै हुन् ।
१० वर्षभित्र पुरै नेपाल विद्युतीय ‘इ’ नेपाल हुन्छ : उपप्रधानमन्त्री महरा
काठमाडौँ, माघ १३। उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आगामी १० वर्षभित्र नेपाल पुरै विद्युतीय ‘इ’ नेपाल हुने दाजी गरेका छन् । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले आयोजना गरेको ‘सुविसु क्यान इन्फोटेक–२०१७’ को उद्घाटन गर्दै मन्त्री महराले राज्य प्रणालीलाई प्रविधिमैत्री बनाउन आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिनुपर्नेमा जोड दिएका छन् । उपप्रधानमन्त्री महराले भने, “राज्य प्रणालीलाई आधुनिकीकरण गर्न जरुरी छ, परम्परागत कार्य प्रणालीलाई आधुनिक बनाई सेवा प्रणालीलाई सुलभ र छरितो बनाउन प्रविधिको अपरिहार्य भइसकेको छ । राज्य विज्ञान र प्रविधिको आधुनिक आविष्कारबाट बाहिर जानै नसक्ने भन्दै महराले विद्युतीय सिकाइ ‘इलर्निङ’ लाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले दूरसञ्चार प्रविधिको पहुँच ग्रामीण भेगका जनतासम्म पु¥याउन सरकार लागि परेको उल्लेख गर्दै अबको १० वर्षपछि पूरै नेपाल विद्युतीय ‘इ’ नेपाल हुने दाबी गरेका छन् । नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले आजदेखि सुरु भएको मेला माघ १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपको प्रदर्शनी कक्षमा सुरु भएको छ । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहने मेलामा २२२ कक्ष रहेका छन् । २३औँ संस्करणको क्यान इन्फोटेक मेलामा यस वर्ष व्यवसायीले व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनुका साथै एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने छन् । क्यान इन्फोटेकको अघिल्लो वर्ष तीन लाख ६३ हजारले अवलोकन गरेकामा यस वर्ष सो सङ्ख्या चार लाख पुग्ने विश्वास आयोजकको छ । इन्फोटेकमा अवलोकन शुल्कबापत सर्वसाधारणलाई रु एकसय र विद्यार्थीलाई रु ५० तोकिएको छ । क्यान मेला नयाँ प्रविधि र उपकरणको वस्तुस्थिति झल्काउने मञ्च भएकाले यसबाट अवलोकनकर्ताले मोबाइल कम्युनिकेसन र कम्प्युटर हार्डवेर सफ्टवेयरको नयाँ भर्सनका उपकरण देख्न पाउने क्यान महासङ्घका महासचिव विश्वराम बलामीले जानकारी दिएका छन् ।
सुरु भयो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
पाल्पा, माघ १२ । पाल्पामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएको छ । कृषिलाई व्यवसायीकरण गरी उत्पादन बढाउने उद्देश्यले सो परियोजना सुरु भएको हो । परियोजनाअन्तर्गत जिल्लामा दुईवटा केन्द्र र २५ वटा पकेट क्षेत्र छनोट गरिएको छ । केन्द्र अन्तर्गत मकैको बीउ उत्पादन र अदुवाखेती छनोटमा परेका छन्, भने पकेटक्षेत्रअन्तर्गत तरकारी, सुन्तला, धान, मकै, अदुवा, कोदो, लिची छनोट गरी कार्यक्रम सुरु गरिएको छ । दुईवटा केन्द्र मकैको बीउ उत्पादन र अदुवाखेतीका लागि रु एक करोड १३ हजार र २५ वटा पकेटक्षेत्रमा सञ्चालन हुने तरकारी, सुन्तला, धान, मकै, अदुवा, कोदो, लिचीका लागि रु ७५ लाख १३ हजार बजेट रकम प्राप्त भएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमदले जानकारी दिए । यस परियोजनाबाट जिल्लाका करिब दुई हजार कृषक लाभान्वित हुने छन् । कार्यालयले तानसेन नगरपालिकामा मकैखेती, आर्यभन्ज्याङ कृषि सेवा केन्द्रअन्तर्गत तरकारी र सुन्तला खेती, छहरा कृषि सेवा केन्द्रअन्तर्गत तरकारी, धान र सुन्तलाखेती, कृषिसेवा केन्द्र रामपुरअन्तर्गत मकै, अदुवा, धान र कोदो, रिङनेहर कृषि सेवा केन्द्रअन्तर्गत अदुवाखेती, खस्यौली कृषिसेवा केन्द्रअन्तर्गत मकै, अदुवा, तरकारी र सुन्तलाखेती, मदनपोखरा कृषि सेवा केन्द्रअन्तर्गत धानखेती, कृषि सम्पर्क केन्द्र दोभानमार्फत तरकारीखेती र हुँगी सम्पर्क केन्द्रअन्तर्गत लिचीखेती छनोटमा परेको बागबानी विकास अधिकृत निशा कँडेलले जानकारी दिए । कृषि समूह र कृषि सहकारी संस्थामार्फत सञ्चालन हुने आयोजनामार्फत कृषि यान्त्रिकरण, पूर्वाधार विकास, व्यवसायीकरण र प्रवद्र्धनमा सघाउ पुग्ने कार्यक्रम गरिने भएको छ । सो कार्यक्रम सञ्चालनका लागि किसान समिति गठन गरेर कृषि विकास कार्यालयले जिम्मेवारी दिएको छ ।
नेपालको हाइड्रो पावरदेखि भौतिक संरचनामा बेलायतले लगानी गर्ने
काठमाण्डौ, माघ ११ । नेपालको हाइड्रोमा बेलायत सरकारले लगानी गर्ने भएको छ । मंगलबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग अर्थमन्त्रालयमा बेलायतको लण्डन शहरका लर्ड मेयर एन्ड्रयु पार्मलले शिष्टचार भेट गर्दै नेपालको हाइड्रो पावर र भौतिक निर्माणको क्षेत्रमा लगानी गर्ने बताएका हुन् । लण्डनका लर्ड मेयर पार्मलले आफुले नेपालमा रहँदा माउण्टेन फ्लाइट गरेको र व्यवसायीहरुसँग अन्र्तक्रिया गरेको जानकारी गराउँदै नेपालमा लगानी गर्न बेलायत सरकार आतुर रहेको जानकारी दिए । उप्रधानमन्त्री महराले बेलायत र नेपालबीचको लामो आत्मीय सम्बन्धलाई अझ प्रगाढ पार्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए । अर्थमन्त्री महराले वेलायत सरकारले नेपाललाई गरेको सहयोगको प्रशंसा गरे । नेपाल सक्रमणकालको अन्त्य गर्ने दिशामा अघि बढेको वताउँदै उपप्रधानमन्त्री महराले भने– “एक बर्ष भित्र तीन तहको चुनाव गराउने तयारीमा सरकार तयार छ । एक हप्ता भित्र सरकारले चुनावको मिति घोषणा गर्छ । हामी अव संबिधान कार्यान्वयनको दिशामा अघि बढ्यौ ।” भेटमा उपप्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डाक्टर पुण्य रेग्मी र नेपालका लागि बेलायतका राजदुत पनि सहभागी थिए ।
प्रधानमन्त्रीको निर्देशनः ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण हुनुपर्यो
काठमाडौं, माघ ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनालाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आपूर्ति र अर्थ मन्त्रालयसहित नेपाल आयल निगमका पदाधिकारीहरुलाई डाकेर प्रधानमन्त्री दाहालले ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्याससहितका पेट्रोलियम पदार्थ भण्डारण गराउन निर्देशन दिएका हुन् । पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिने उनले जानकारी गराएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै, प्रधानमन्त्री दाहालले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण यथाशक्य सक्ने गरी काम अघि बढाउन पनि निर्देशन दिएका छन् । जनतालाई राहत दिने गरी के गर्न सकिन्छ यसबारे उपाय खोज्नसमेत प्रधानमन्त्रीले ती निकाय र अधिकारीलाई निर्देशन दिए ।
एनसेलको ‘इन्टरनेट सबैका लागि’ नयाँ डेटा प्याक
काठमाडौं, माघ १० । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने नारासहित नयाँ डेटा प्याक सार्वजनिक गरेको छ । एनसेलले हिजो आइतबारदेखि लागु हुने गरी भोल्युममा आधारित नयाँ डेटा प्याक ल्याएको हो । यो योजनामा ग्राहकले अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयो गर्न सकिनेछ भने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिनेउछ । यिनीहरुको शूल्क दर फरक-फरक रहेको कम्पनीले जनाएको छ । प्याकेज छनाैट गर्नका लागि *१२३# मा डाइल गर्न सकिनेछ । यस्ताे छ एनसेलकाे नयाँ प्याक याेजना
सुन्तला उत्पादनमा कमी हुँदा बगैंचा सुदृढीकरण अभियान सुरु
डडेल्धुरा, माघ ९ । सुन्तलाका लागि प्रख्यात मानिएको डडेल्धुरामा पछिल्लो समय उत्पादनमा कमी आएपछि बगैंचा सुदृढिकरण अभियान सुरु गरिएको छ । केही वर्षयतादेखि सुन्तलाका बोट सुक्दै जान थालेपछि बिरुवालाई जोगाउनदेखि नयाँ बिरुवा लगाउन र उत्पादनमा समेत वृद्धि गर्न जिल्ला कृषि विकास कार्यालयले बगैंचा सुदृढिकरण अभियान सुरु गरेको हो । बगैंचा सुदृढिकरण अभियान अन्तर्गत सम्बद्ध किसानलाई तालिम प्रदान गरी बगैंचाको सुदृढीकरणलगायत बिरुवा बचाउने अभियानको थालनी गरिएको हो । जिल्लामा जुनार तथा सुन्तालाजातका फलफूलको उत्पादन घटन थालेको कृषकको गुनासो आएपछि फलफूल खेती संरक्षण तथा प्रवद्र्धन र सुदृढिकरण गर्न थालिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । तालिममा फलफूलका बोटलाई काँटछाँट गर्ने, चुना र निलोथुतो मिश्रण गरी पेस्टिङ गर्ने, सुरक्षा दिने र गुणस्तरीय उत्पादनका लागि प्रयोगात्मक र श्रव्यदृष्य माध्यमबाट जानकारी गराउनुका साथै आवश्यक उपकरण पनि प्रदान गर्दै आएको कार्यालयका वरिष्ठ कृषि अधिकृत दिलबहादुर विष्टले जानकारी गराए । फलफूलका बिरुवामा लाग्ने रोगदेखि विविध विषयमा जानकारी पाउन थालेपछि किसान हर्षित भएको सुन्तलाका बिरुवासमेत बेचबिखन गर्दै आएका बगरकोट–५ सिराडका नवराज जैसीले बताए । डडेल्धुरा जिल्लामा ४६७ हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाको खेती हुने गरेको वरिष्ठ अधिकृत विष्टले बताए ।
कांग्रेस नेताकै अगुवाईमा उदयपुरमा बन्दै गरेको पुल निर्माण रोकियो !
उदयपुुर माघ ९ । आफ्नै नेताले ल्याएको भनि प्रचार गरिएको एक योजनाको निर्माणमा नेपाली काग्रेसका कार्यकताले नै अवरोध गरेका छन । उदयपुरको रामपुर ठोक्सिला स्थित गिदेरी खोलाको निर्माणधीन पुल निर्माणमा अवरोध गरेका हुन । कम गुणस्तरको निर्माण समाग्री प्रयोग गरेको भन्दै काग्रेस गाउँ पार्टी सभापती शुशिल सेडाईको नेतृत्वमा पुल निर्माणमा रोक लगाईएको हो । पुलको पिल्लरको फाउन्डेसनमा प्रयोग गरिएको गिटी बालुवा कमसल भएको भन्दै काग्रेस, एमाले, माओवादी र ससपाले पुल निर्माणमा रोक लगाएका छन । स्थानीय राजनैतिक दलको संयुक्त टोली डिभिजन सडक कार्यालय लहान गई पुलको गुणस्तर जाँच नगरी काम अगाडी नबढाउन माग गरेका छन । २०७४ साल असारमा निर्माण सम्पन्न गरिसक्नु पर्ने पुलमा लगाईएको गिटी बालुवा कमसल प्रयोग गरेकोले निर्माण कार्य रोक्नु परेको काग्रेस गाँउपार्टी सभापती शुसिल सेडाईले बताए । ‘हातले कोट्याउदा भत्किने पुल हामीलाई चाहिदैन बरु पुल नै नबनोस ।’ नेता सेडाईले भने- ‘यहाँ डिभिजन सडक कार्यालय लहानको प्रमुख र मुख्य ठेकेदार नआई काम हुदैन ।’ यहाँ आएका डिभिजन सडक कार्यालयका इन्जिनियरले केही गर्न सक्दैनन त्यसकारण दुई जना प्रमुख नआई पुल निर्माण अगाडी बढाउन नदिने आक्रोशित हुदै घोषणा नै गरे । डिभिजन सडक कार्यालय लहानका प्रतिनिधी र ठेकेदारलाई निर्माण स्थलमा नै लगेर काग्रेस, एमाले, माओवादी केन्द र संघीय समाजवादी पार्टीका स्थानीय प्रतिनिधीहरुले पुल निर्माण स्थानीयहरुको सरोकार रहेकोले गुणस्तरयुक्त काम हुनु पर्ने माग गरे । काग्रेस नेता तथा सासद खड्काले निर्वाचन आउन लागेकाले भोटको लागि ठेकेदार पठाएर काम गरे जस्तो गरेको एमालेका नेता दुर्गा कुमार थापा स्वस्तीकले बताए । ‘उक्त पुल पहिलो संविधान सभाको चुनाव ताका २०६४ मा पहिलो पटक शिलान्यास गरे, दोस्रो पटक २०६९ सालमा पुलको योजना परेपछि गरे, तेस्रो पटक २०७० सालमा जम्मा तिन पटक शिलान्यास भएको पुलको हालत यस्तो हुनुमा सांसद खड्का नै दोषी हुन ।’ नेता स्वस्तीकले भने ‘आफुले शिलान्यास गरेको आफ्नो निर्वाचन क्षेत्रको पुल ३ बर्ष वित्दा पनि नबन्नु भनेको नेता खड्काको ठेकेदार सगँ मिलेमतो हो ।’ उता माओवादी केन्द्रका प्रतिनिधी सुमन कटुवालले पनि पुलमा गुणस्तरयुक्त निर्माण समाग्री प्रयोग गर्नु पर्नेमा जोड दिए । उनले भने ‘हामीले डिभिजन सडक कार्यालयमा पनि ज्ञापन पत्र बुझाएका छौ, सडकका ईन्जिनियर आउनु भएको छ, उहाँबाट समास्याको समाधान हुदैन ।’ पप्पु/मृत संजिवनी जेभी बानेश्वरले १४ करोड लागतमा निर्माण सम्झौता गरेको उक्त पुल मधेश आन्दोलन लगायत विभिन्न कारणले गर्दा ढिलाई भएको सडक डिभिजन कार्यालय लहानका ईन्जिनियर सोभित लाल ठाकुरले बताए । उनले भने ‘ढिलो हुनुको एउटा कारण त नाकाबन्दी नै हो तर ठेकेदारले चासो नदिएको कारणले पुल निर्माणमा ढिलाई भएको हो ।’ कम गुणस्तरको निर्माण समाग्री प्रयोग नगरी अर्काे निर्माण सामाग्री प्रयोग गर्ने इन्जिनियर ठाकुरले बताए । पुलको पील्लरको फाउन्डेसनमा प्रयोग भएको गिटी, बालुवा कमसल भएको भनि स्थानीयले हटाउन माग गरेको थिए । २०७४ सालमा असार भित्र निर्माण सम्पन्न हुनुपर्ने पुल ६ महिनामात्र बाँकी रहदा १० प्रतिसत भन्दा बढी काम हुन सकेको छैन । तिन बर्ष सम्म काम नगरी बसेको ठेकेदार स्थानीय तथा संसदीय चुनाव गर्ने चर्चा सगै नेता खड्काले काम गरे जस्तो गर्नको लागी पठाएको हुन सक्ने आरोप स्थानीयको छ । ७ वटा आरसीसी पिल्लर रहेको उक्त पुलमा ६ वटा स्पाम रहने जनाईएको छ । तीनवर्ष अघि काग्रेस नेता तथा उदयपुर क्षेत्र नं. १ का सांसद डक्टर नारायण खड्काले बडो तामझामका साथ शिलान्यास गरेको पुल काग्रेस कार्यकर्ताले नै गुणस्तरहीन भएको भनि सडका इन्जिनियरलाई देखाउनको लागि पुल हम्मरले फुटाउन व्यस्त थिए । २०७० सालमा असारमा नेता खड्काले शिलान्यास गर्दा ताली पिटने काग्रेस कार्यकर्ता पुल कमसल भएकोमा चिन्तित देखिएका थिए । सांसद डाक्टर खड्काको आडमा ठेकेदारले गुणस्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका छन ।
विद्युत चुहावट गर्ने सात सयलाई कारबाही, उठ्यो ४६ लाख
राजविराज, माघ ८ । नेपाल विद्युुत् प्राधिकरण, शाखा कार्यालय राजविराजले ६ महिनामा विद्युत चोरी गर्ने ६ सय ९८ व्यक्तिलाई कारबाही गरेको छ । चुुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत नेपाल विद्युुत प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युुतको पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत चोरी गर्नेमाथि कारबाही गरेको प्राधिकरण केन्द्रका प्रमुुख रामउद्गार साहले जानकारी दिए । केन्द्रका प्रमुख साहका अनुसार आव २०७३/०७४ को साउनदेखि हालसम्म विद्युत चोरी गर्ने ६ सय ९८ व्यक्ति तथा उपकरणमाथि विद्युत ऐन बमोजिम कारबाही गरिएको बताए । तीमध्ये ३ सय ८३ जना हुकिङ गर्ने मानिसलाई पाँच हजार जरिवाना र दुई सय ३४ वटा सामान जफत गरिएको उनले जानकारी दिए । यस्तै, तीमध्ये मिटरबाट सिधै विद्युत चुहावट गर्ने ८१ जनालाई समेत कारबाही गरिएको बताइएको छ । यता विद्युत चुहावटको कारबाहीबाट ४६ लाख १६ हजार ६ सय राजस्व संकलन समेत गरिएको प्राधिकरण राजविराजले जनाएको छ । यसैबिच, विद्युतको महसुल तिर्न बाँकी बक्यौता भएकाको लाइन काट्ने कार्य जारी राख्दै जिल्लामा विद्युत चुहावट नियन्त्रणका लागि अभियान थालिएको शाहले बताए । रासस
हिउँ चितुवा संरक्षणका लागि वार्षिक रु पाँच करोड
काठमाडौँ, माघ ८ । सरकारले नेपालका हिमालमा पाइने हिउँ चितुवाको संरक्षणका लागि हिमालमा सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि वार्षिक रु पाँच करोड खर्च गर्ने भएको छ । ‘हिउँ चितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रम (जिएसएलइपी) को सञ्चालक समितिको दोस्रो बैठकको आज उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणा गरेअनुसार तय भएको उक्त बजेटले पहिलो चरणमा नेपालमा हिमालयन रिसर्च सेन्टर खोलिनेछ । सरकारले रिसर्च सेन्टरमार्फत यस क्षेत्रमा संलग्न युवालाई वैज्ञानिक अध्ययन र अनुसन्धानका लागि प्रोत्साहन गर्ने तयारी गरेको छ । जिएसएलइपीको सञ्चालक समितिको दोस्रो बैठक आज काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा नेपालमा हिमालयन रिसर्च सेन्टर खोल्ने एजेण्डासमेत पारिएको वन तथा भू–संरक्षण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी दिए । सरकारको यस कार्यले हिउँ चितुवा संरक्षण कार्यमा जुटेका युवा अनुसन्धानकर्ता र सरोकारवालाले खुसी व्यक्त गरेका छन् भने अन्तर्राष्ट्रिय जगतले नेपालको प्रशंसा गरेको छ । बैठकमा हिउँ चितुवा पाइने १२ देशमध्ये नेपालसहित छ देशबाट मन्त्री र अरु देशका सचिव वा सो सरहको सहभागिता थियो । विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, कजाखस्तान, किर्गिज्स्तान, भारत, मङ्गोलिया, रुस, पाकिस्तान, ताजिकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । हिउँ चितुवा नेपालमा करिब ३०० देखि ५०० र विश्वमा करिब तीनहजार ५०० देखि सात हजारको सङ्ख्यामा रहेको अनुमान छ । घोषणापत्रमा हिउँ चितुवाको प्राकृतिक बासस्थानमा रहने स्थानीय समुदाय र युवाको क्षमता अभिवृद्धि गर्ने र उनीहरुको जीविकोपार्जन सुधार्ने, पर्या–पर्यटनलाई प्रोत्साहन गर्ने तथा हिउँ चितुवालाई आर्थिक उन्नतिका रुपमा विकास गर्ने विषय समेटिएको डा ढकालले बताए । त्यस्तै, हिउँ चितुवा संरक्षण कार्यका लागि स्रोत जुटाउन संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमलगायत अन्तर्राष्ट्रिय दातृ निकायसँग मिलेर काम गर्ने, वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय समुदायसँग समूहगत रुपमा काम गर्ने विषय समेटिएका छन् । समितिको बैठक हिमाली क्षेत्रमा स्वच्छ पानी र स्वच्छ हावा कायम राख्न सकियो भने हिउँ चितुवा बाँच्ने आधार खडा हुन्छ भन्ने निष्कर्षमा पुगेको छ । जिएसएलइपीको अर्काे सम्मेलन सन् २०१७ को सेप्टेम्बरमा किर्गिज्स्तानमा हुने तय भएको छ भने त्यस सम्मेलनको तयारी स्वरुप यसै वर्षको जुलाई महिनामा पाकिस्तानमा तयारीस्वरुप पूर्वसम्मेलन गर्ने तय भएको उहाँले जानकारी दिए । जिएसएलइपी हिउँ चितुवा पाइने १२ वटा देशका नागरिक समाज, अन्तर्राष्ट्रिय तथा निजी सङ्घसंस्थाको संयुक्त प्रयास हो । यसको प्रमुख उद्देश्य हिउँ चितुवालाई आफ्नो प्राकृतिक बासस्थानमा जोगाइ राख्नु हो । रासस
वीरेन्द्र शाहको परिवारको चल सम्पत्ति ४१ करोड
काठमाडौं, माघ ७ । आर्थिक वर्ष २०७३र७४ मा तत्कालीन राजा वीरेन्द्र शाहको परिवारको चल सम्पत्ति रु ४० करोड ८८ लाख ७६ हजार रहेको छ । नेपाल ट्रष्टले दिएको जानकारीअनुसार तत्कालीन राजा वीरेन्द्र, तत्कालीन रानी ऐश्वर्य, तत्कालीन युवराज दीपेन्द्र र निराजनको नाममा उक्त चल सम्पत्ति रहेको छ । यस्तै, सेयरतर्फ विभिन्न बैंक तथा संघ–संस्थामा दुई लाख ९५ हजार एक सय १२ कित्ता रहेको छ । नबिल बैंक लिमिटेडमा दुई लाख ५७ हजार ६४२ कित्ता, होटल डेला अन्नपूर्णमा ३० हजार ७२० कित्ता र इन्ड्रस्ट्रियल डेभलपमेन्ट बैंकमा ६ हजार ७५० कित्ता रहेको ट्रष्टका सहसचिव लेखबहादुर कार्कीले जानकारी दिए । यस्तै, ट्रष्टको नाममा किष्ट बैंकको खातामा ४८ हजार ४६६ पाउन्ड स्टर्लिङ र प्रभु बैंकको खातामा एक लाख ३८ हजार ६२६ अमेरिकन डलर रहेको ट्रष्टले जनाएको छ । ट्रष्टले तत्कालीन राजाको परिवारको नाममा हालसम्म २३ हजार रोपनी जग्गा फेलापारेको जनाएको छ । फाइल फोटो
राजस्व सङ्कलनमा दोब्बर वृद्धि
विराटनगर, माघ ६ । मोरङमा चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिमा भन्दा दोब्बर बढी राजस्व सङ्कलन भएको छ । गत आवको सुरुको ६ महिनामा रु सात अर्ब १५ करोड ८४ लाख राजस्व सङ्कलन भएकामा चालु आवको पुस मसान्तसम्ममा रु १४ अर्ब ४५ करोड ३४ लाख राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख किशोर बरालले जानकारी दिए । सबैभन्दा बढी आन्तरिक राजस्व कार्यालयले रु आठ अर्ब ८१ करोड ६५ लाख तथा विराटनगर भन्सार कार्यालयले र.पाँच अर्ब १२ करोड ६० राजस्व संकलन गरेको छ । मालपोत कार्यालय विराटनगरले रु १४ करोड ७२ लाख, मालपोत कार्यालय, बेलबारीले रु सात करोड ५२ लाख र जिल्ला प्रशासन कार्यालयले रु तीन करोड ८१ लाख राजस्व सङ्कलन गरेको छ । जिल्लामा विकास निर्माणको काम सुस्त देखिएको छ । सरकारले पुँजीगत शीर्षकमार्फत विनियोजन गरेको बजेटमध्येबाट चालु आवको ६ महिनामा १७ प्रतिशत मात्र खर्च भएको छ । चालु आवका लागि पुँजीगततर्फ रु तीन अर्ब ८४ करोड १७ लाख रकम विनियोजन गरेकामा ६ महिनामा मात्र रु ६४ करोड ४९ लाख अर्थात् १७ प्रतिशतमात्र खर्च भएको बरालले बताए । त्यसैगरी चालु शीर्षकतर्फ रु आठ अर्ब ३५ करोड ५२ लाख रकम विनियोजन गरिएकामा चालु आवको ६ महिनाको अवधिमा रु तीन अर्ब ५१ करोड ८१ लाख अर्थात ४२ प्रतिशत खर्च भएको छ । एकसय एकवटा निजामती कार्यालय रहेको जिल्लामा रु एक अर्ब २५ करोड ६४ लाख बेरुजु फछ्र्र्याैट हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्द्वारा विश्व बैंकको १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार्ने निर्णय
काठमाडौँ, माघ ६ । सरकारले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले प्रदान गरेको रु.१६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा सुरेशकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए। कार्की यसअघि पनि रेडियो नेपालमा सोही पदमा कार्यरत रहेको थियो । बैठकले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय गर्नुका साथै २०७१ सालको बाढीबाट प्रभावित बाँके, बर्दिया, दाङ, सुर्खेत र सिन्धुपलाञ्चोकमा निजी आवास पुनःनिर्माण गर्न तयार पारिएको अनुदान वितरणसम्बन्धी कार्यविधि, २०७३ लाई स्वीकृत गरेको छ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त दुई सदस्य पदमा नियुक्तिका लागि सञ्चार सचिवको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ । मितिको सदस्यमा मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव र विज्ञ डा.भेषराज कँडेल रहेको छ । त्यस्तै, बैठकले प्राविधिक प्रमुख सेनानी खुमबहादुर कुँवरलाई प्राविधिक महासेनानीमा पदोन्नति गर्नुका साथै सचिवमा पदोन्नति भएका सहन्यायाधिवक्ता किरण पौडेललाई नायब महान्यायाधिवक्तामा नियुक्त गरेको छ । सरकारले सहरजिस्ट्रार नकुल सुवेदीलाई न्यायपरिषद्को सचिवमा नियुक्त गर्नुका साथै सहरजिस्ट्रार नृपध्वज निरौलालाई सर्वोच्च अदालतको रजिस्ट्रारमा नियुक्त गरेको छ । सह–रजिस्ट्रार राजीव गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा पदोन्नति गरिएको छ । त्यस्तै, सह–न्यायाधिवक्ता राजनप्रसाद भट्टराईलाई बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिवमा पदोन्नति गरिएको पनि उनले जानकारी दिए । सरकारले काभ्रेपलाञ्चोकमा केही दिनअघि वीभत्स हत्या गरिएका अजित मिजार र लक्ष्मी परियारको शव सद्गत गर्न, उनीहरुका परिवारलाई सहयोग गर्न र ती मुद्दालाई अदालतमा लैजान युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा समिति गठन गरेको छ । उनीहरु दुवैको शव हाल त्रिवि शिक्षण अस्पतालमा रहेका छन् ।
अन्डाको मूल्य घट्यो
चितवन, माघ ६ । व्यवसायमा एकरुपता ल्याउन कुखुरा व्यवसायीले अन्डाको मूल्य निर्धारण गरेका छन् । नेपाल अन्डा उत्पादक सङ्घ केन्द्रीय समिति र अन्डा बिक्रेताले मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरेका हुन् । जिल्लालाई आधार मानी अन्डाको मूल्य यही माघको पहिलो हप्तादेखि नै लागू हुने गरी घटाइएको सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिएका छन् । ठूलो अन्डा प्रतिक्रेट फार्म मूल्य रु.३४५ र बिक्री मूल्य रु ३५० कायम गरिएको छ । मध्यम अन्डा प्रतिक्रेट फार्म मूल्य रु ३२५ र बिक्री मूल्य रु ३३० कायम गरिएको छ । यसअघि ठूलो अन्डा प्रतिक्रेट फार्म मूल्य रु ३५५ र बिक्री मूल्य रु ३६५ कायम गरिएको थियो भने मिडियम अन्डा फार्म मूल्य रु ३४० र बिक्री मूल्य रु ३५० थियो । जिल्लामा दैनिक करिब नौ लाख अन्डा उत्पादन हुँदै आएको छ । उत्पादनको करिब ९० प्रतिशत अन्डा काठमाडौं, पोखरालगायत पूर्वी नेपालमा निर्यात गरिन्छ । व्यवसायीले मौसम र समयको परिस्थिति हेरी अन्डाको मूल्य हेरफेर गर्दै आएका छन् ।
अर्थमन्त्रीले ल्याए महत्वाकांक्षी योजनाः एक व्यक्ति, एक खातादेखि साढे ४ लाख रोजगारी सिर्जना गर्नेसम्म (पूर्ण पाठ)
काठमाडौं, माघ ५ । अर्थमन्त्री कृष्णबहादुर महराले दशवटा आर्थिक क्षेत्रमा महत्वाकांक्षी कार्ययोजना सार्वजनिक गरेका छन् । अर्थमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार, अर्थमन्त्रालयले समयतालिका निर्माण गरेर अर्थमन्त्रालयका बिभिन्न निकायहरुलाई जिम्मेवारी विनियोजन गर्दै कार्ययोजना सार्वजनिक गरेको हो । मन्त्रालयले समष्टिगत् आर्थिक क्षेत्र, रोजगारी सिर्जना, पुनर्निर्माण, राजस्व प्रशासन, मौद्रिक र वित्तीय क्षेत्र, वैदेशिक सहायता र लगानी, बाह्य क्षेत्र, निजी क्षेत्र विकास, सार्वजनिक संस्थान, पूर्वाधार निर्माण, अन्तर मन्त्रालय तथा समन्वय तथा अनुगमनलगायतका क्षेत्रमा बिभिन्न कार्यक्रमहरु तर्जुमा गरेको छ । कार्ययोजनामा “एक व्यक्ति, एक बैंक खाता” कार्यक्रम अन्तर्गत सबै नेपालीको खाता खोल्ने कार्यलाई अभियानको रूपमा अघि बढाइने, विप्रेषण पठाउने वैदेशिक रोजगारमा गएका व्यक्तिहरूको सामाजिक सुरक्षा स्कीम तयार गरी लागु गरिने, मेरो श्रम मेरो विप्रेषण मेरो देश निर्माणमा भन्ने नारामा आधारित भई कार्यान्वयन गरिने, छानिएका सार्वजनिक संस्थानहरूलाई निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गरिने, केही ठूला आयोजनाको निर्माण कार्य तुरुन्तै शुरु गरिने र केही सार्वजनिक संस्थानहरू सार्वजनिक निजी साझेदारीको अवधारणामा सञ्चालन गरिने उल्लेख छ । यसैगरी एक सहकारी मुख्य चिनारी को नारा द्धारा सहकारी स्थापित गरिने, एक इलाका एक नमूना योजना, एक इलाका एक व्यवसाय र एक परिवार एक रोजगार को नारालाई कार्यान्वयन गरिने, वार्षिक ४ लाख ५० हजार श्रमशक्ति श्रम बजारमा आउने भएकाले तिनका लागि उपयुक्त रोजगारीको सिर्जना गरिने, चालु आर्थिक वर्षमा ३४ हजार हेक्टर जमीनमा तरकारी खेती विस्तार भई १० हजार थप रोजगारी सिर्जना हुने, सरकारी, निजी र सहकारीको सहयोगमा “एक स्थानीय सरकार एक एकीकृत व्यवसाय” कार्यक्रम लागु गरी व्यावसायिक रोजगारी सिर्जना गरिने कार्ययोजनामा उल्लेख छ । पढ्नुस कार्ययोजना विस्तृतमा अर्थ मन्त्रालय एक्सन प्लान