उपराष्ट्रपति पुनद्धारा स्तुपको अवलोकन

नवलपरसी, मंसिर २३ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको अस्तुधातु राखी बनाईएको रामाग्रामा स्तुपको अवलोकन भ्रमण गरेका छन् । उनले आज (बिहीबार) विहान रामाग्रामा स्तुप पुगेर अवलोकन गर्नुका साथै शान्तिको कामना गर्दै दिप प्रज्वलन गरे ।

सो क्रममा दिगो पर्यटन प्रवर्धन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसारको निम्ति स्वतन्त्र निकाय रामग्राम विकास कोष गठनको लागि पहल गरिदिन आग्रह गरे ।
अवलोकन भ्रमणपछि उपराष्ट्रपतिले बुद्धका आठ अस्तुधातुमध्ये नेपालमा एकमात्रै अस्तुधातु रहेको रामग्राम स्तुपको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसार गर्नुपर्ने बताए । उनले रामग्राम स्तुप विश्वभरका बुद्ध धर्मलावम्बीहरुहरुको आस्थाका केन्द्र भएको बताउँदै वर्षमा हजारौँ पर्यटक रामग्राम भित्र्याउन सकिने बताए ।

उद्योग वाणिज्य संघ, नवलपरासी, उद्योग वाणिज्य महासंघ, स्थानीय निकाय र संघ संस्थाको संयुक्त आयोजनामा आज (बिहीबार)देखि सुनवलमा सुरु हुन लागेका नवलपरासी औद्योगिक व्यापार मेलाको उद्घाटनका लागि उपराष्ट्रपति बुधबार साँझ नवलपरासी आईपुगेका हुन् । उनले बुधबार साँझ जिल्लाका सुरक्षा निकायका प्रमुखहरु र उद्योग व्यवसायीहरुसँग भेटघाट तथा छलफल गरेका छन् ।

शुक्रबारसम्मका लागि व्यवस्थापिका संसद वैठक स्थगित

काठमाडौं, २२ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा केही साना दलहरुको अवरोधका कारण बुधबारको व्यवस्थापिका संसद बैठक पनि स्थगित भएको छ । यो लगातार चौथौ पटकको संसद बैठक स्थगित भएको हो । सरकारले ल्याएको संविधान संसोधनको विरोधमा प्रमुख प्रतिपक्षी एमाले तथा केही साना दलहरुले बैठक अवरुद्ध गरेका हुन् । बैठकको शुरुमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीको इशारामा सरकारले संशोधन विधेयक ल्याएको आरोप लगाए भने उनले विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने बताए । केसीले बोलिसक्ने वित्तिकै प्रतिपक्षी दलका सांसदहरुले आ–आफ्नो ठाउँबाट उठेर विरोध गरेपछि सभामुख ओनसरी घर्तीले मागप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद अवरोध नगर्न आग्रह गरेकी थिइन् । पटक–पटकको आग्रहलाई वेवास्ता गर्दै प्रतिपक्षी दलका सांसद उभिएपछि सभामुख घर्तीले बैठक शुक्रबारसम्मका लागि स्थगितको घोषणा गरेकी हुन् ।

सहमतिमै संशोधनको प्रस्ताव गरियाे, एमालेकाे टाउकाे दुखाई किन ?

दाङ, २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । संविधान संशोधनको प्रस्ताव दलहरुको समहतिमै गरिएको र हाल आएर एमालेले त्यसरी टाउको दुखाउन नहुने उनले बताए । सडकमा उफ्रिएर आन्दोलन गरेर संशोधन प्रस्ताव फिर्ता नहुने उनको भनाई छ । राप्ती नदीमा निर्माण गर्न लागिएको सिसाहनिया महादेव पुलको शिलान्यास कार्यक्रममा त्यहाँ पुगेका प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल रहुन्जेलसम्म संविधान संशोधन प्रस्ताव फिर्ता नहुने स्पष्ट पारेका छन् । अहिलेको नेपालको समस्याको निकास संविधान संशोधनबाट मात्रै संभाव रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले दलहरुको सहमतिमै संशोधनको प्रस्ताव गरिएकाले कुनै पनि हालतमा संशोधन प्रस्ताव फिर्ता नहुने जिकिर गरे । प्रचण्डले भने, ‘म प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन ।’ प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दा फिर्ता गर्न दवाव दिदै आएका बेला प्रधानमन्त्रीले फिर्ता गर्न नसकिने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले अहिले आन्दोलनरत एमालेले पनि गल्ती महसुस गर्ने बताए । ‘सरकारले हिमाल पहाड तराई जोडेर एकताबद्ध गर्न खोजेको तर आफूहरुले बिखण्डन गर्न खोजेका रहेछौं’ भनेर उनीहरुलाई आफ्नो गल्ती महशुस हुने प्रधानमन्त्री प्रचण्डले बताए । उनले अहिलेको सडक आन्दोलनको कुनै औचित्य नरहेको बताउँदै उनले छलफल र सहमति बाटै समास्याको निकास खोज्न एमाले लगायतका दलहरुलाई आग्रह गरे । रु ९२ करोडको लागतमा बन्न लागेको उक्त पुलको निर्माण कार्य चार वर्षमा सकिने लक्ष्य रहेको छ । पुलको लम्बाइ ८६० मिटर रहने छ । पुल निर्माण भएपछि दाङ्का गडहवा, सिसाहनिया, राजपुरलगायतका जनतालाई आवतजावत गर्न सजिलो हुनेछ ।

राजालाई दाम राख्ने धनुष्टंकारेहरु अझैपनि प्रतिगमनको बाटोमा : अध्यक्ष न्यौपाने

रुकुम, मंसिर २२ । अखिल(क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानले हिजो राजालाई दाम राख्ने धनुष्टंकारेहरुलाई अझै पनि लोकतन्त्र र संघीयता मन नपरेकाले उनीहरु प्रतिगमनतर्फ लागेको बताए । अखिल(क्रान्तिकारी) रुकुमको २५ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै न्यौपानेले त्यस्ता धनुष्टंकारेहरुले अझै पनि गणतन्त्र र संघीयता स्विकार नगरिसकाले तिनीहरु अझैपनि मौका पर्नसाथ प्रतिगमन तर्फ फर्कन उद्धत रहेको आरोप लगाएका छन्। एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै न्यौपानेले प्रश्न गरे, ‘राजाविरुद्ध आन्दोलन गर्नु भनेको गोरुगाडा चढेर अमेरिका जानू जस्तै हो भन्नेहरुलाई गणतन्त्र र संघीयता कसरी मनपर्छ र ।’ फरक प्रसङ्गमा न्यौपानेले सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरु विचको खाडल अन्त्य हुनुपर्ने वताए। स्थानीय तहको निर्वाचन गराएर मात्र संविधान कार्यान्वयन नहुने भन्दै न्यौपानेले थपे ‘संविधानले व्यवस्था गरेको माध्यामिक तहसम्मको निशुल्क शिक्षा लगायतका व्यवस्था व्यवहारमा लागु नभएसम्म संविधान कार्यान्वयन हुंदैन ।’ रुकुमको मुसिकोट स्थित खलंगा वहुमुखी क्याम्पसमा आयोजित सम्मेलनमा माओवादी केन्द्रका नेता गोपाल शर्मा, क्रान्तिकारी उपाध्यक्ष पञ्चा सिंह, ६ नं. प्रदेश इन्चार्ज खेम सिंह, ५ नं. प्रदेश इन्चार्ज ध्रुवविक्रम वली, ५ नं. प्रदेश संयोजक सुन्दर वली, दुर्गा बुढाथोकी,केशव रावल लगायतका विद्यार्थी नेताहरुहरुले संविधान कार्यान्वयनमा जुट्न अपिल गरेका थिए।

दाङतिर लागे प्रचण्ड, कार्यक्रम विथाल्न एमालेद्धारा बन्द अाह्यवान

काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङतिर लागेका छन् । दाङको सिसनिया र गोवरडिहा जोड्ने राप्ती नदीको पुल शिलन्यासका लागि आज उनी त्यसतर्फ लागेका हुन् । दाङमा पुल शिलान्यासपश्चात उनी त्यहीबाट कैलालीको धनगढीमा आयोजित सुदुरपश्चिम महोत्वस उदघाट्न गर्न जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महोत्सव उदघाट्नपछि प्रधानमन्त्री दाहाल अपरान्ह साढे ३ बजे कञ्चनपुरको दोधारा चाँदनी सुख्खा बन्दरगाह अवलोकनका लागि पुग्ने कार्यक्रम छ । सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरेसंगै विभिन्न जिल्लामा विरोध प्रर्दशन चर्किएका छन् भने लागातारको बन्दले जनजीवन प्रभावित भएको छ । प्रधानमन्त्रीको कार्यक्रमलाई बिथोल्न एमाले जिल्ला कार्यसमिति दाङले आज जिल्ला बन्दको आह्वान गरेको छ ।

बाख्रोलाई भैंसी देख्ने अोलीको ‘नौलो राष्ट्रवाद’

पवनराज फुयाल नेपाली कम्यूनिष्ट आन्दोलनका प्रखर बक्ता भनेर चिनिने ब्यक्ति मदन भण्डारीले पञ्चायतपछिको प्रजातान्त्रिक अभ्यास सुरू हुदा संबैधानिक राजतन्त्रको परिधिभित्र परम्परागत प्रजातान्त्रिक प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसको बीचमा पार्टीको अस्तित्व कसरी जोगाईराख्ने भनेर केही नौलो बिचारको आविष्कार गरे । जसलाई अहिलेको नेकपा एमालेले “मदन भण्डारीको बहुदलीय जनवादको नाममा पार्टीको मार्गनिर्देशक सिद्धान्त मानिआएको छ । २०६३/६४ यता जब माओवादी शान्ति प्रक्रियामा आएपछि एमाले र माओवादी पार्टीबीचको बैचारिक राजनीतिक टकरावले हाल देश नै गम्भीर चुनौतिमा फसेको छ । संबिधान निर्माण प्रकृयादेखि अहिले संबिधान कार्यान्वयनको चरणमा आउदासम्म दुई पार्टीको अन्तरबिरोधी र मतभिन्नता चरम उत्कर्षमा पुगेको छ । लगभग अबको चुनावसम्म दुईमध्य एक पार्टीको अस्थित्व नै संकटमा पर्ने अवस्थासम्म आईपुग्दा बर्तमान राजनीतिक बृतका एकदमै चतुर खेलाडी सावित नेकपा एमालेका अध्यक्ष केपी ओलिले दोस्रो संबिधानसभा अगाडिनै छिन्नभिन्न र कमजोर बनेका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड बिरुद्ध प्रचण्डकै जनयुद्धकालिन राष्ट्रवादी अश्त्र प्रहार गरेका छन् । भारतिय बिस्तारवाद जस बिरुद्ध हिजो प्रचण्डले हतियार उठाएको भनेका थिए आज परिस्थिति यस्तो बनिदियो कि त्यहि राष्ट्रवादको उल्टो प्रहारले प्रचण्डलाई सिध्याउन केपी ओली लागिपरेका देखिन्छन् । हिजो शान्ति प्रक्रिया, संबिधान निर्माण र केही महिना अघिसम्मका सत्ता साझेदार प्रचण्ड बिरुद्ध केपी ओलीले आविष्कार गरेको यो “नौलो राष्ट्रवाद”! साच्चिकै “नौलो राष्ट्रवाद”!! ‘हिजो भारतीय दुतावासबाट करोडौं पैसा लिएर पार्टी चलाउने उनकै भारूमा चिल्ला गाडीमा सयर गर्ने आज एक्कासि गरेको बिरोध कसको बिरुद्ध? साच्चिकै भारतीय बिस्तारवाद बिरुद्ध या प्रचण्ड र शेरबहादुरको सत्ता बिरुद्ध सिमित ?’ प्रचण्डबाट जबर्जस्ती खोसेर प्रचण्डकै बिरुद्ध प्रयोग गरिएको अश्त्र नक्कली बनावटी र भ्रामक छ जुन हिजो उनीलाई चाहिएको थिएन तर आज शख्त जरुरत पर्नाको कारण संकास्पद र विस्वासयोग्य देखिएन । यो एमालेको पुरानै चरित्र हो आफ्नो खास एजेन्डामाभन्दा नि जतिबेला जे भनिदिँदा जनतालाई भ्रममा पार्न सकिन्छ त्यहि अश्त्र प्रयोग गर्ने ! हिजो देशमा गणतन्त्रको बहस हुँदा बयलगाढा चढेर अमेरिका पुग्ने सपनाको संज्ञा दिने तर देश गणतन्त्रमय भए पछि गणतन्त्रै आफुले ल्याएको भन्दिने ! हिजो ०४७ सालको संबिधान नै विश्वको उत्कृष्ट भन्ने एमाले आज नयाँ संबिधान आफ्ना कारणले आएको भनिदिन पछि नपर्ने ! हिजो पटकपटक प्रतिगमन सच्चिएको भनेर दाम चाढाउने एमाले राजसंस्थै आफुले फालेको भनिदिने ! हिजो महाकाली लगायत नदिनाला भारतलाई बेचेर देशलाई धनी बनाउने सपना देखाउने एमाले आज जनतालाई देखाउन उग्रराष्ट्रवादको चरित्र प्रदर्शन गर्ने ? हिजो भारतीय दुतावासबाट करोडौं पैसा लिएर पार्टी चलाउने उनकै भारूमा चिल्ला गाडीमा सयर गर्ने आज एक्कासि गरेको बिरोध कसको बिरुद्ध? साच्चिकै भारतीय बिस्तारवाद बिरुद्ध या प्रचण्ड र शेरबहादुरको सत्ता बिरुद्ध सिमित ? सत्ताबाट बाहिरिनासाथ एमालेका कथित राष्ट्रियतावादी हर्कतहरू छरपस्ट भएका छन् । हिजो जसले उनलाई काँध हालेर प्रधानमन्त्रीको कुर्सीमा बसाए उनलाई बधाई दिनु त परै जावस उनिसँग हात मिलाउन र भेट्नु पनि राष्ट्रघाती भनेर आउदा दिनका आवस्यक सहकार्य र सहमति गर्ने नैतिक ढोका नै बन्द गरिदिए । भलै भारतले उनलाई नरुचाएकोले हटाउन र हटेको हेर्न चाहेको बेला प्रचण्डलाई मौन समर्थन भारतले पक्कै गरेको बुझिएकै हो तर उनै प्रचण्ड संसदको प्रमुख ठुलो दलको समर्थनमा प्रधानमन्त्री बन्दा कसरी रातारात राष्ट्रघाती भए? यसैबाट प्रष्ट हुन्छ केपी ओलीको राष्ट्रियताको नारा खोक्रो आडम्बर र सत्ताबाट ओर्लिनु पर्दाको चरम प्रतिशोध मात्रै हो भन्ने कुरा । संबिधान जारी गर्दा र केपी ओली आफैँ प्रधानमन्त्री हुदादेखि नै असन्तुष्ट मधेसीको माग संबोधन गरेर संबिधानको स्विकार्यतालाई बढाउदै संबिधान कार्यान्वयन र विभिन्न तहका चुनावहरु गर्ने बटमलाईन अहिलेका प्रमुख दलहरूको हैन र? त्यसैको लागि ओलीले पटकपटक वार्ता र संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेकै हुन लगत्तै प्रधानमन्त्रीको कुर्सीबाट हट्नु परेपछि त्यहि प्रस्ताव राष्ट्रघाती र भारतको माग कसरी भयो ? एमालेले केहि समय अघि प्रचण्डले संसदमा प्रस्ताव गरेको संशोधनका हरेक बिषयलाई कथित राष्ट्रियतासँग जोडेर झनै गैरजिम्मेवार प्रबृत्तिलाई निरन्तरता दिईरहेको छ: नागरिकता सम्बन्धि ब्यवस्था पुरानै अन्तरिम संविधानमा भएको ब्यवस्था गर्न लागिएकोलाई बङ्ग्याएर भारतीयलाई देशका प्रमुख पदहरू दिन लागेको राष्ट्रघाती कुप्रचार गरिरहेको छ । ५ नम्बर प्रदेशको सिमांकनका सम्बन्धमा त आज प्रचण्डले प्रस्तावित गरेको सिमाना हिजो एमाले आफैँले प्रस्ताव गरेको थियो । आज त्यहि कुरा गरेर मधेसको असन्तुष्टि साम्य पार्न प्रयास गरिँदा कुन नैतिकताले दियो एमालेलाई तराईका जिल्ला भारतलाई बुझाउन लागेको भनेर होहल्ला गर्न ? यद्यपि प्रदेशको सिमांकन र बिभाजन न हिजोको एमाले सहितका सबै दलले ल्याएको सात प्रदेश या अहिले प्रचण्डले प्रस्ताव गरेको परिमार्जन नै जनताको भावना अनुसार छ! वास्तवमा संघीयताको मोडल नै जनताको सम्बृध्दिको चाहना अनुसार छैन । मात्रै अहिलेको केन्द्र सत्तामा हालिमुहालि गर्न नपाएकाहरूलाई भोलि शक्तिशाली छोटेडन भएर राज गर्ने अनि सत्ताको केन्द्रमा रहनेलाई डनहरूको राजा बन्ने महत्वकांक्षा अनुसार संघीयता जबर्जस्ती लादिएको हो । ‘त्यसैका लागि त्यहीँका धेरै जनता र स्वयम् सत्तारूढ काङ्ग्रेस र माओवादीकै नेताहरू पनि सडकमा छन् । तर एमालेको जोड यो वास्तविकतामा भन्दा पनि राष्ट्रियतामा भएको छ । तर एमालेको भनाई पहाडबाट अलग गरिएका जिल्लाहरू भारतलाई बुझाउन लागिएको भनेर जनताको सेन्टिमेन्ट र स्वयं राष्ट्रियतामाथि नै गम्भीर चुनौति दिने खालको छ ।’ ५ नं पदेशको सन्दर्भमा प्रचण्डले हिजोकै एउटा सहमति बमोजिमको हेरफेर गर्दा जनचाहनाको नेतृत्व एमालेले गर्नु ठिक तर देश नै बेच्न लागेको भन्दा देश बेचेको भागिदारी आफुपनि हुन तयार हुनुनपर्ने गरि कोकोहोलो मच्चाउनु नक्कली उद्देश्यका लागि हो भन्ने बुझिन्छ । खास कुरा के हो भने बुटवल दाङ लगायतका तराई बेल्टमा पर्ने ठाँउहरूबाट त्यहाँका रुकुम रोल्पा र अर्घाखाँची जस्ता पहाडी जिल्लाहरुलाई अलग गर्दा जनतालाई मर्का पर्ने र असुबिधा हुनसक्ने कुराको चासो हो जुन एकदमै स्वभाविक छ । त्यसैका लागि त्यहीँका धेरै जनता र स्वयम् सत्तारूढ काङ्ग्रेस र माओवादीकै नेताहरू पनि सडकमा छन् । तर एमालेको जोड यो वास्तविकतामा भन्दा पनि राष्ट्रियतामा भएको छ । तर एमालेको भनाई पहाडबाट अलग गरिएका जिल्लाहरू भारतलाई बुझाउन लागिएको भनेर जनताको सेन्टिमेन्ट र स्वयं राष्ट्रियतामाथि नै गम्भीर चुनौति दिने खालको छ । यसले के निहुँ पाऊँ भनेर बसेका राष्ट्रघातीहरूलाई नै मलजल पुगेको छ । यस्तै हो भने सप्तरीदेखि सिराहसम्मको पहाडरहित भुभागलाई पनि केपी ओलीले भारतकै इसारामा हस्ताक्षर धस्काउनु भएको रहेछ भन्नुपर्यो । भाषाका सम्बन्धमा भाषा आयोगको सिफारिसमा मातृभाषाहरुलाई संविधानको अनुसूचीमा सामेल गर्ने भनिएको छ । र, सरकारी कामकाजको भाषा कुन प्रान्तमा के हुने मिलाउन सक्ने भनिएको छ । तर एमालेले यसै बिषयलाई हिन्दीलाई राष्ट्रिय भाषा बनाएर राष्ट्रघात गर्न खोजिएको बताउने गरेको छ । अब उहाँहरूले नै बताइदिनुपर्यो कहाँबाट आउछ नेपालमा हिन्दी भाषाको कुरा? यस्ता भ्रामक हावादारी कुराको खेती गरेर बनेको राष्ट्रवादी चरित्र कतिन्जेल टिक्ला बिचार गरौँ? सरकार वा कुनै पक्षबाट कमिकमजोरि हुनसक्छन भनेर सचेत गराउने दायित्व प्रतिपक्षी धर्म हो तर के यस्ता दुस्प्रचार गरेर भोलिका दिनमा यी सबै राष्ट्रघाती आरोप गलत साबित हुँदै गएपछि के तर्क गरेर आफ्नो राजनीतिक मुखुण्डो जनतासामु देखाउने ? जहाँजहाँ एमालेले चुनौतिपुर्ण र गम्भीर आरोप लगाएको छ त्यहिँ आरोपहरू खण्डित हुँदै गइरहेका छन् । यस्तो राष्ट्रवाद पक्का पनि सक्कली हुनै सक्दैन । र यो राष्ट्रियता वनावटी हो सत्ताबाट बहिर्गमन हुनुपर्दाको छट्पटी मात्रै हो भन्ने कुरा स्वयम् एमालेका अतिरञ्जित कपोलकल्पित र बिबादास्पद आरोपहरुबाटै प्रष्ट भईरहेका छन् । यस्तो लाग्छ राष्ट्रियता केपी ओलीको ठेक्का हो अरु कसैलाई नेपाल र नेपाली हुँ भन्ने छैन जुन हिजो उनलाई कहिले पनि चाहिएको थिएन । ‘यस्तो जटिल बिषयमा जथाभावी बोल्ने ओली र एमालेले आफ्नो हिजोको कालो पोतिएको अनुहार पनि हेर्ने कि ।’ तर आज राष्ट्रियताको नारा यसरी उठाइरहेका छन् कि सरकार र प्रचण्डले लोडसेडिङको अन्त्य गर्छु भनेपनि राष्ट्रघात देख्न लागे, फास्ट ट्रयाक आफैँले बनाउछु भने नि राष्ट्रघात या भारत लगायत छिमेकीसँगको बिग्रेको सम्बन्ध सुधार गर्छु भनेनि राष्ट्रघात, हुदाहुदा मधेस र मधेसीका मागहरू सम्बोधन गर्ने बिषयलाई नि राष्ट्रियतासँग जोड्ने केपी ओलीको नौलो राष्ट्रवाद! राष्ट्रियताको कुरा उठाउदा हामी आफैँ झुक्नुपर्ने अवस्था नआओस् । यस्तो जटिल बिषयमा जथाभावी बोल्ने ओली र एमालेले आफ्नो हिजोको कालो पोतिएको अनुहार पनि हेर्ने कि । आफ्नो घर मजबुत बनाउने प्रचण्डले गलत गरे सच्याउने उपायहरू धेरै छन् तर एकजना प्रचण्डको बिरोध गर्दा तीन करोड नेपाली जनताको स्वाभिमान माथि चोट पुर्याउनु गलत भयो । एकातिर एमालेको अन्ध राष्ट्रवादको बौलठ्टी हुटहुट र अर्कातिर पुरै तराईलाई छुट्टै प्रदेश दिनुपर्ने अमुक र वास्तवमै राष्ट्र बिरोधि नारा मधेसवादी भनेर चिनिएका केही कथित मधेसी जनताका प्रतिनिधी हुँ भन्ने मुठ्ठीभर नेताहरूका कारण राष्ट्रियता गम्भीर खतरामा परेको अवस्था छ । व्यक्तित्व र परिस्थिति जेजस्तो भएपनि जोखिमपूर्ण र पछिल्ला उपलब्धिहरूलाई हेर्ने हो भने केपी ओलीभन्दा प्रचण्डको योगदान र त्याग महत्त्वपूर्ण रहेको छ । राजतन्त्रको अन्त्य, गणतन्त्र र संबिधानमा केपी ओलीभन्दा प्रचण्डको योगदान अहम छ । यसैपनि देश गणतन्त्रमय हुँदाहुँदै नै केपी ओलीले बयलगाढाका तुक्का जोडेर गणतन्त्रको उपहास गरेका थिए र केही महिनाअघि मात्रै पनि संघीयता बाख्रोलाई भैँसीको टाउकोको संज्ञा दिएका थिए । वास्तवमा भन्ने होभने गणतन्त्र प्रचण्डले सबैलाई लटरपटर बनाएर आएको हो । केपी ओलिहरूले आजका धेरैजसो उपलब्धिहरू तत्कालीन अबस्थामा बाध्यताले स्विकार गरेका थिए । ‘चीनसँग पारबहन लगाएतका सम्झौता गरिनेछ भन्ने कुरा मात्रै भएका हुन तर काम शुन्य रहेको हो । संबिधान जारी गरेदेखि नै असन्तुष्ट मधेसी दलहरुलाई सहमतिमा ल्याउनको सट्टामा बिहार भारत र मोदीसँग माग राख भन्ने आशयको ओलीको बारम्बारको प्रतिक्रियाले समग्र मधेसी जनताले नै मन खिन्न भई तराई र पहाडबीच मै दुरी बढेको छ ।’ उखान र तुक्का जोडेर जस्तोसुकै गम्भीर बिषयलाई पनि हावामा उडाउने चतुरकलामा माहिर केपी ओलीले यहि कलाका कारण पछिल्लोपटक प्रधानमन्त्रीको कुर्सी छाडेपछि पनि यस्तै हावादारी भ्रामक होहल्ला गरेर आफ्ना कार्यकर्ताहरूमाझ लोकप्रियता कमाउनेमा निरन्तरता पाएका छन् । संबिधान जारी गरेपछि भद्र सहमति बमोजिम प्रधानमन्त्री पाउने आशामा शासकिय स्वरूप लगाएतका जटिल र महत्वपूर्ण बिषयमा धेरै आफ्नै पार्टीको मान्यता र घोषणा बिपरित प्रचण्डलाई बाईपास गरेर नेपाली काङ्ग्रेसको एजेन्डामा हस्ताक्षर धस्काउनमा हतारहतार गरेर आफूले संबिधान जारी गरेकोसम्म भन्न भ्याउने खेलाडीलाई शुसिल कोईरालाले नछाडेपछि उनै प्रचण्डले एमालेलाई तेस्रोपटक नयाँ प्रधानमन्त्रीको रूपमा केपी ओलीलाई काँध हाले । जतिबेला नेपाली जनतालाई भारतले लगाएको नाकाबन्दीले जरजर बनाएको थियो । त्यसबेला पनि प्रचण्डले हामी कसैका एसम्यान हैनौ भनि केपी ओलीको दायिना भएर काम गरेका कारण रातारात केपी ओली राष्ट्रबादी बन्न पुगे । यसबिचमा उनले घरघरमा ग्याँस पाइपलाई जोडिदिने, पहाडी रेल बनाउने, पानी जहाज किन्ने आदि जस्ता दिर्घकालीन योजना र सुझबुझपुर्ण बिषयलाई क्षणिक हावादारी तरीकाबाट उखान तुक्का मिलाउने नियतले हल्ला फैलाए । चीनसँग पारबहन लगाएतका सम्झौता गरिनेछ भन्ने कुरा मात्रै भएका हुन तर काम शुन्य रहेको हो । संबिधान जारी गरेदेखि नै असन्तुष्ट मधेसी दलहरुलाई सहमतिमा ल्याउनको सट्टामा बिहार भारत र मोदीसँग माग राख भन्ने आशयको ओलीको बारम्बारको प्रतिक्रियाले समग्र मधेसी जनताले नै मन खिन्न भई तराई र पहाडबीच मै दुरी बढेको छ । अन्तत: सत्ता साझेदार प्रचण्डसँग गरेको भद्र सहमति नै गरेको हैन भनेर चिड्याए पछि प्रचण्डले समर्थन फिर्ता लिइका थिए जसका कारण पदबाट हट्ने अबस्था आएको थियो । अनि केपी ओलीले प्रचण्ड र माओवादी नामको बर्ग दुश्मनसँग लड्ने नयाँ औजार र सिद्धान्तको प्रतिपादन गरे त्यहि हो केपी ओलीको “नौलो राष्ट्रवाद” ! ‘प्रचण्डले हिन्दीलाई राष्ट्रभाषा बनाउदैछन्, अंगीकृतलाई देशका प्रमुख अंगमा अधिकार दिदैछन्, फास्ट ट्रयाक लगाएतका राष्ट्रिय महत्त्व र गौरवका आयोजना भारतलाई सुम्पिदैछन् भन्ने कपोलकल्पित भ्रमहरू फैलाएर आफुलाई नक्कली राष्ट्रवादी भएको प्रमाण आफै दिदैछन् ।’ हिजो सत्ता साझेदार रहँदा प्रचण्ड खुब राष्ट्रबादी थिए उनकै दायाँबायाँ बसेर चर्काचर्का भाषण गरेर भारतलाई गाली गर्ने केपी ओली प्रचण्डले साथ छाड्नासाथ भारतलाई गर्ने गाली र आरोपहरू प्रचण्डमाथि बर्साउन पुगे । हिजोसम्म कट्टर राष्ट्रवादी प्रचण्ड केपी ओलीलाई समर्थन फिर्ता दिनासाथ दलाल र राष्ट्रघाती बने । र प्रचण्डले प्रधानमन्त्रीको पद पाउनासाथ देश भारतलाई जिम्मा लगाइदैछ भन्ने आरोप प्रचण्ड माथि तेर्स्याएका छन । यसैबीच केही बिषयहरू अहिले राजनीतिक बृतमा बिवादास्पद बनेका छन् जुन बिषयहरूलाई लिएर प्रचण्डको व्यापक आलोचना हुने अवस्था समेत पैदा भएको छ । प्रचण्डले हिन्दीलाई राष्ट्रभाषा बनाउदैछन्, अंगीकृतलाई देशका प्रमुख अंगमा अधिकार दिदैछन्, फास्ट ट्रयाक लगाएतका राष्ट्रिय महत्त्व र गौरवका आयोजना भारतलाई सुम्पिदैछन् भन्ने कपोलकल्पित भ्रमहरू फैलाएर आफुलाई नक्कली राष्ट्रवादी भएको प्रमाण आफै दिदैछन् । जबकि यी बिषयहरू प्रचण्डले आफ्नो र सरकारको एजेन्डा हैन भनि प्रष्ट पारिसकेको अवस्था छ र यससम्बन्धी केही सकारात्मक र जनपक्षीय कार्यहरूको थालनीको सुरुवात प्रचण्डले गरिसकेका छन्  । हुनत सरकारमा हुनेलाई कठपुतली दलाल भन्ने चलन नयाँ हैन तर यसपटक एमालेले प्रदर्शन गरेको राष्ट्रवाद नौलो र अन्तिम अश्त्रको रूपमा लिएको छ । यसको मुख्य कारण माओवादी र प्रचण्डको कमजोर बन्दै राजनीतिक साख: समाप्त गरेर प्रचण्डका कारण गुमेको आफ्नो पुरानो बर्चस्व फिर्ता गर्नु हो । शान्ति प्रकृयालाई टुंगो लगाउने क्रममा प्रचण्डले धेरै सम्झौताहरू गर्नुपरेको थियो जसको मूल्य ठुलै चुकाउनुपर्यो । यसको फाईदा प्रत्यक्ष रूपमा एमालेले उठाईरहेकै छ । जतिसुकै राष्ट्रवादी चरित्र देखाएर आरोप प्रत्यारोप गरेपनि संबिधानको कार्यान्वयन र संशोधन र आगामि चुनाव लगायतका कार्यहरू सम्पन्न गर्न कम्तिमा सबै प्रमुख राजनितिक दलहरुले सहमति गर्नुको बिकल्प नभएको अवस्था र हाम्रो भुराजनितिक जटिलका कारण प्रतिपक्षमा रहँदा सत्तापक्षलाई दलाल, कठपुतली र राष्ट्रघातिको आरोप लगाउने सन्दर्भलाई ख्याल गरि एमाले र केपी ओलीले राष्ट्रियताको नाममा आफ्नै स्वाभिमानमै ठेस पुग्नेखालका अभिव्यक्ति बन्द गर्दै भोलिका दिनमा पुनः यिनै राष्ट्रघाति भनिएका प्रचण्ड र शेरबहादुरहरुसँग सहमति र सहकार्य गर्ने नैतिक धरातल नगुमाई संसद र सडकमा रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्न आवस्यक छ । यसबाट एकातिर अस्थिरता र आन्तिरिक द्वन्द्वका कारण आफ्नो स्वार्थमा खेल्न चाहने वाह्य शक्तिहरु निरुत्साहित हुनेछन् भने अर्कातिर आन्तरिक एकता मजबुत भई सबैले चाहेको संबिधानको कार्यान्वयन हुनेछ । जसले लामो झन्झटिलो खर्चिलो सङ्क्रमणकालको अन्त्य भई आर्थिक सम्बृध्दितर्फ जान सकिन्छ । लेखक कतारमा आईटी इन्जिनियरको रूपमा कार्यरत छन्   

संविधान संसोधन विधेयकबारे यसो भन्छन डा. शंशाङ्क

चितवन, मङ्सिर २१ । नेपाली कांँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयनमा आफ्नो पार्टीले ध्यान दिनुपर्ने बताएका छन् । मंगलबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पाँच नम्बर प्रदेशबाट जिल्ला टुक्राउने विषयमा पार्टीमा छलफल र निर्णय नभएको बताए । सरकारले संसदमा दर्ता गरेको संविधान संसोधन विधेयकका बारेमा अनावश्यक भ्रम पैदा भएको विषयलाई प्रष्ट पार्ने जिम्म्ेवारी पार्टीको भएको उनको भनाइ थियो । जनस्तरमा भ्रम दिने विषयमा कांग्रसले पार्टीभित्र बृहत् छलफल गरी बैठकबाट आधिकारिक धारणा निकाल्नुपर्ने उनको भनाइ थियो । “अहिलेको मुख्य चुनौती संविधान कार्यान्वयन नै हो ” उहाँले भने । ५ नं प्रदेशलाई पहाड र तराईमा छुट्याउन विषयमा भ्रम परेको उनले बताए । “जनभावना विपरीत सीमाङ्कन परिवर्तन हुन सक्दैन” उनले भने– “पहाड र तराई छुट्याउन हुन्छ वा हुँदैन भन्ने विषयमा आवश्यक गृहकार्य नगरी सरकारले प्रस्ताव दर्ता गरेकाले अहिले समस्या उत्पन्न भएको हो, प्रस्ताव दर्ता गर्नुअघि बृहत् छलफल गर्नुपथ्र्यो, त्यो हुन सकेन ।” महामन्त्री कोइरालाले ठूला तीन दल, राप्रपासहित मधेसकेन्द्रित दलबीचमा सहमति हुन नसके संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने सुझाव दिए । भारतका मणिपुर, नागाल्यान्डलगायत प्रदेशमा रहेका आदिवासीलाई सरकारले छुट्टै रुपमा बजेट दिएर जीवनस्तर उकासिरहेको जानकारी दिँदै उनले नेपालमा पनि पिछडिएका जातिलाई प्रदेशभित्रै छुट्टै बजेटको व्यवस्था गर्न सकिने बताए । ठूलो दलको हिसाबले अहिलेको जिम्मेवारी काँग्रेसको भएकाले सबै दललाई मिलाएर लैजानुपर्ने उनको भनाइ थियो । “सबै पार्टी मिलेर निकास खोज्नुपर्छ, त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्छ,” कोइरालाले भने । रासस

चीनियाँ चित्रकारहरु पनि मनपराउँछन प्रचण्डलाई, यस्तो बनाएका छन प्रचण्ड–सीको तस्वीर

 काठमाडौं, मंसीर २१ । चीनियाँ चित्रकारको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी चीनियाँ राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री प्रचण्डको फोटो हस्तान्तरण गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटी टोलीले प्रधानमन्त्री प्रचण्ड र चीनियाँ राष्ट्रपतिबीच ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा भएको भेटको हस्तनिर्मित तस्वीर हस्तान्तरण गरेका हुन् । तस्वीर ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले चीनियाँ कलाबाट आफू निकै प्रभावित भएको र यसले नेपाल–चीन सम्बन्धमा हार्दिकता थपेको बताए । प्रधानमन्त्रीले भने– ‘नेपाल र चीनबीचको जनस्तरमा विकसित सम्बन्धले दुई देशबीचकै सम्बन्धमा प्रगाढता ल्याउँछ । जनता जनताबीचको सम्बन्ध विकसित गर्न तपाईहरुको कदम स्वागतयोग्य छ ।’ भेटका अवसरमा चीनियाँ टोलीले प्रधानमन्त्रीलाई बुद्धको जन्मस्थान लुम्बिनी लगायतको नेपालको ऐतिहासिकता समेटेर चलचित्र निर्माणको तयारी भइरहेको जानकारी गराएको थियो ।

चितवनमा ट्रक र माइक्रोबस जुध्दा चालकको मृत्यु

चितवन,  मङ्सिर २१ । भरतपु उपमहानगरपालिका–३ रेडक्रस चोकमा गएराति ट्रक र माइक्रोबस एकापसमा जुध्दा माइक्रोबस चालकको घटनास्थलमानै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख ८६३१ नम्बरको माइक्रोबस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ७०१२ नम्बरको ट्रक एकापसमा जुध्दा माइक्रोबसका चालक पाल्पा जिल्लाको हुगीका २५ वर्षीय प्रदीप परियारको घटनास्थलमानै मृत्यु भएको हो । राति १२ः४५ बजे भएको सो दुर्घटनामा माइक्रोबस र ट्रकमा रहेका अन्य यात्रु भने सकुशल रहेका छन् । रासस  

संविधान संशोधनका लागि अब चाँडै सहमति हुन्छः डा कोइराला

नवलपरासी, मङ्सिर २१ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान संशोधनका लागि अब चाँडै सहमति हुने बताएका छन् । सोमबारदेखि नवलपरासीको देवचुलीस्थित कालिका माध्यमिक विद्यालयमा सुरु भएको धनधान्याञ्चल महायज्ञको उद्घाटन गर्दै कोइरालाले यस्तो विचार बताएका हुन् । कोइरालाले संविधान संशोधन कार्यमा सबै दलको सहमति आवश्यक भएको विचार राख्दै कोइरालाले सबै दलको सहमतिमा मात्रै संशोधन प्रस्ताव पारित भएमा कार्यान्वयनमा सजिलो हुने बताए । सरकारले ल्याएको संविधान संशोधनमा सबैको समस्या समाधान हुने बाटो खोज्नु पर्नेमा जोड दिँदै कोइरालाले सबै दलले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नु आवश्यक रहेको बताए । सोमबारनै नवलपरासीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सरिक भएका कोइरालाले वर्तमान समस्या समाधान गर्न सबै दल एकजुट भई अघि बढ्नुपर्ने विचार व्यक्त गरे ।  

“छलफलबाट भाग्ने, सडकमा चाहि रास्ट्रियत्ताको कुरा गर्ने?”- परराष्ट्रमन्त्री महत

काठमाडौँ, २० मङ्सिर । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विपक्षी दलले कूटनीतिकस्तरमा टेबलमा कुरा नगरी सडकमा राष्ट्रियताको कुरा चर्काएर राजनीतिक मुद्दालाई अतिरञ्जीत गरेको आरोप लगाउनुभएको छ । रिपोटर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कर कार्यक्रममा उहाँले भन्नुभयो – सरकार र सत्तापक्षले अघि सारेका संविधान संशोधनको प्रस्तावलाई विपक्षी दलले अतिरञ्जीत रुपमा चर्काएको छ । मन्त्री डा. महतले “पहिले यही सीमाङ्कनको प्रस्तावमा नेकपा (एमाले)ले हस्ताक्षर गर्ने अनि अहिले बेठिक भन्ने ?” भन्दै संविधान संशोधनको प्रस्तावलाई मधेस केन्द्रित र प्रमुख प्रतिपक्षी दल सबैले आत्मसात् गरेर निर्वाचनको बाटोमा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । संविधान कार्यान्वयन गर्न र यसलाई सबैका लागि ग्रहण योग्य बनाउन संशोधनको प्रस्ताव ल्याएको बताउँदै उहाँले कतिपय असन्तुष्टिका बाबजुद निकासका लागि जोखिम मोलेर भए पनि सरकारले संविधान संशोधनको यो प्रस्ताव ल्याएको छ भन्नुभयो । मन्त्री डा. महतले सङ्घीयताका सन्दर्भमा विविध मत आएको बताउँदै “ती सबै मतलाई समेट्न चुनौती छ, कतिपय आफ्नै असन्तुष्टिलाई समेत थाती राखेर प्रस्ताव ल्याएका हौँ भन्नुभयो ।” केही दल तत्कालीक लाभका लागि अतिरञ्जीत गरेर संशोधनका विरुद्धमा लागेकोमा दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो, “आन्दोलनरत मधेस केन्द्रित दललाई सहमतिमा ल्याई निर्वाचन गर्न संशोधनको यो प्रस्ताव ल्याइएको हो ।” फरक प्रसङ्गमा मन्त्री डा. महतले बदलिँदो नयाँ परिवेशमा परराष्ट्र नीति परिमार्जन गर्न विज्ञ सम्मिलित टोली बनाई पुनःविचार गर्न तयारीमा आफू रहेको जानकारी गराउनुभयो । रासस

आन्दोलनलाई देशभर चर्काउने एमालेको निर्णय

काठमाडौं, मंसिर २० । एमालेले देशव्यापी आन्दोलन चर्काउने भएको छ  । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा सोमबार बसेको स्थायी समिति बैठकले संविधान संसोधन विधेयक फिर्ता नभएसम्म तराई लगायत देशभर आन्दोलन चर्काउने निर्णय गरेको हो । बैठकमा पार्टी अध्यक्ष ओलीले यथास्थितिमा संसद चल्न नदिने पनि स्पष्ट पारेका छन । बैठकलाई संबोधन गर्दै अोलीले कांग्रेस-माअोवादी सत्तागठबन्धनले देशको हित नगर्ने भएकाले यसतर्फ सचेत हुनुपर्ने बताए । उनले सरकारले विद्येयक फिर्ता नलिएसम्म संसदमा जारी अवरोध कायम राख्ने, सँगै देश ब्यापी आन्दोलनलाई पनि अघि बढाउनुपर्ने बताएका थिए । ‘राष्ट्रघाती संसोधन बिधेयका बिरुद्धको आन्दोलनलाई देशब्यापी बनाउने बारेमा एमाले स्थायी बैठकमा छलफल भएको छ, साथै बिरोधलाइ थप प्रभावकारी बनाउने’ निर्णय गरेको पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले ट्वीट गरेर जानकारी दिए । स्थायी  समिति बैठकले संविधान संशोधन विद्येयकको विरुद्ध छ दिनदेख जारी राखेकाे अान्दोलनलाई देशभर विस्तार गर्ने र अझ बढी चर्काउने निर्णय गरेकाे हो ।   केही समयअघिमात्रै मधेसी मोर्चाले एमालेलाई तराईमा कार्यक्रम गर्न नदिने घोषणा गरेपश्चात एमालेले भने आफूहरुको आन्दोलनलाई तराई केन्द्रित विशेष अभियान सुरु गर्ने बताएको छ ।

एमाले सांसदको आफ्नै पार्टीलाई सुझाव– संसदबाटै समाधान खोज

बिर्तामोड, मंसीर २० । संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता भएपछि उत्पन्न परिस्थिति र समस्याको समाधान संसदबाटै खोज्न सांसद तथा झापाका राजनीतिक दलका नेताहरुले सुझाव दिएका छन् । एमालेका सांसद तथा नेताहरुले संसदमा उब्जिएको समस्याको समाधान संसदबाटै गर्नुको विकल्प नरहेको पनि बताए ।  संवाद समूहको सचिवालय बिर्तामोडमा सोमवार भएको छलफलमा सांसद तथा नेताहरुले त्यस्तो सुझाव दिएका हुन् । ‘संविधान संशोधनः उत्पन्न परिस्थिति र त्यसको निकास’ विषयमा भएको छलफलमा सांसद तथा एमाले केन्द्रीय सदस्य रवीन कोइरालाले सरकारले सबै दललाई समेटेर अघि बढ्नुपर्ने बताए । उनले समस्याको समाधान संसदबाटै हुने तर सरकारले असंवैधानिक तरिकाले संविधान संशोधनको प्रस्ताव ल्याएकोले खबरदारीका लागि मात्र सडकमा जानुपरेको बताए । एमाले सांसद प्रेमबहादुर गिरीले समस्या समाधानका लागि संसदबाटै निकास खोज्न सकिने बताउँदै सबैले राष्ट्रिय भावनाले सोच्नुपर्ने बताए । सांसद कोइराला र गिरीले संशोधन प्रस्तावबाट सरकार पछि हट्नुपर्ने, राष्ट्रपतिले सर्वदलीय बैठकमार्फत र संसदबाट समस्याको समाधानको पहल लिनुपर्ने बताए । दुबै सांसदको भनाई थियो–‘०७४ माघ ७ पछि सबै सांसदको बैधानिक अवधि सकिने हुँदा निर्वाचनको वातावरण बनाएर निर्वाचनमार्फत मुलुकलाई निकास दिनुपर्छ ।’ नेपाली कांग्रेसका नेता देउमान थेवे, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रोशन कन्दङ्वा, भर्खरै एकीकरण भई बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका सचिव केशवप्रसाद ओझाले समस्या समाधानमा सबै पार्टी गम्भीर बन्नुपर्ने र सडक छोडेर सदनबाटै निकास निकाल्न सुझाव दिए । स्थानीय शान्ति समितिका संयोजक तथा सद्भावना पार्टीका जिल्ला अध्यक्ष सूर्यनारायण गणेश, तमलोपाका अध्यक्ष त्रिनारायण राजवंशी, संघीय समाजवादी फोरम नेपालकी संगीता रौनियारले पूर्वाग्रह र दलीय स्वार्थ त्यागेर दलहरुले विभेदमा परेका नागरिकलाई अधिकार सम्पन्न हुने गरी पहिचान पक्षधरको मागलाई सम्बोधन गर्न संविधान संशोधनको वातावरण बनाउनुपर्नेमा जोड दिए । संघीय लिम्बुवान पार्टीका केन्द्रीय सदस्य टेकबहादुर खजुम, संघीय लिम्बुवान मञ्च नेपालका जिल्ला अध्यक्ष धनबहादुर पन्धाक, उपाध्यक्ष केशव मैनालीले सबै दलहरु जिम्मेवार बन्ने र दलीय स्वार्थ त्यागेर मुलुक र जनताको हितमा सोच्ने हो भने अहिलेको परिस्थितिले निकास पाउने बताए । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

छ दिनदेखिको बन्दले विरामीलाई सास्ती

वुटवल, मंसिर २० । पाँच नम्बर प्रदेशबाट जिल्ला छुट्याएको विरुद्धमा भएको आन्दोलनका कारण विरामीले सास्ती खेपेका छन् । लगातार छ दिनदेखिको बन्दले विरामीलाई उपचार गर्न अस्पताल पुर्याउन समस्या भएकाे छ । बन्दका कारण उपचारका लागि बाहिरी जिल्लाबाट आएका बिरामी र भारत आउजाउ गर्ने प्रवासी नेपाली समस्यामा परेका छन् । आज छैंठौ दिन पनि रुपेन्देही बन्द छ । बन्दकर्ताको अबरोधका कारण पूर्वपश्चिम राजमार्ग र उत्तर दक्षिण सिद्धार्थ राजमार्गमा सवारी साधन चलेका छैनन् । भित्री सडकमा पनि सवारी ठप्प छन् । शिक्षण सँस्था, बजार, उद्योग व्यवसाय, औद्योगीक प्रतिष्ठान समेत बन्द छन् । संसदमा दर्ता भएको संविधान संसोधनमा प्रस्तावमा पाँच नम्बर प्रदेशबाट तराई र पहाडलाई छुट्याएको भन्दै फिर्ता लिन माग गर्दै सोमबार पनि ती जिल्लामा विरोध प्रदर्शन जारी छ । संशोधन विद्येयक फिर्ताको माग गर्दै सोमबार विहानैदेखि विभिन्न जिल्लामा प्रर्दशन र बन्द आह्वान गरिएको छ । विधेयकको बिपक्षमा उत्रीएका एमाले निकट विद्यार्थी संगठन र प्रदेश नम्बर ५ संयुक्त संघर्ष समितिले राष्ट्रिय झण्डासहित विहानैदेखि बुटवलका विभिन्न स्थानमा प्रर्दशन सुरु गरेका छन् । रुपन्देही कांग्रेसले भने आइतबार एक विज्ञप्ती जारी गरेर एमालेले दाधारे चरित्र देखाउको भन्दै आनदोलनमा सहभागी नहुन आफ्ना नेता तथा कार्यकर्तालाई निदृेशन दिइसकेको छ । यसैगरी पाल्पामा पनि विभिन्न राजनीतिक दल, व्यवसायी तथा उद्योगीहरुले प्रस्तावित संशोधन प्रस्तावको बिरोधमा जिल्लामा बिरोध प्रर्दशनको तयारी गरेका छन् । त्यस क्षेत्रका अन्य जिल्लामा पनि बिरोध प्रर्दशनको तयारी भइरहेको जनाएका छन् । यस्तै ५ नम्बर प्रदेश टुक्राउने संविधान संशोधन प्रस्ताव दर्ता गरिएको बिरोधमा उद्योग वाणिज्य संघले बर्दियाको सदरमु्काम गुलरियामा बन्द आह्वान गरेको छ । आज विहानै देखि गुलरियाका सबै बजार, उद्योग, कलकारखाना बन्दले प्रभावित भएको छ । तर, यातायात, शिक्षण संस्थालाई भने सञ्चालन गर्न दिइएको छ । दिउँसो एमालेसहितका दल र व्यवसायीले समेत बिरोध जुलुस प्रदर्शन गर्ने तयारी गरेका छन् ।

यु–१९ एसिसी कप: सन्दीपको कप्तानीमा १५ खेलाडि छनौट

काठमाडौं, मंसिर २० । युवा क्रिकेटर सन्दीप लामिछानेको कप्तानीमा १९ वर्षमुनिको एसिया कप क्रिकेटका लागि खेलाडि छनौट भएको छ । श्रीलंकामा हुने क्रिकेटका लागि लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एसिया क्षेत्रकाका अधिकृत वेंकटपथी राजु, मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोद दास रहेको छनौट समितिले टोली घोषणा गरेको हो । एसिसी १९ वर्षमुनिको एसिया कप क्रिकेट डिसेम्बर १३ देखि २४ सम्म श्रीलंकामा हुनेछ । नेपाल क्रिकेट संघ क्यानले काठमाडौं, धनगढी, नेपालगञ्ज, विराटनगर, भैरहवा र कलैयामा सञ्चालन गरेको ट्यालेण्ट हण्टबाट छनौट गरेका ५२ खेलाडीबाट छनौट गरी अन्तिम टोली घोषणा गरेको हो । यी परे टीममा सन्दिप लामिछाने (कप्तान) मोहम्मद आसिफ शेख, रविन्द्र जंग शाही, आदिल खान, भीम सार्की, अनिल कुमार साह, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, सुवर्णाकार उराव, सन्दिप सुनार, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी, रोहित कुमार पौडेल, अविश कर्ण वैकल्पिक खेलाडी शाहब आलम, किशोर महतो, बिक्रम भुसाल, सुशान्त थापा

आमाको हत्या गर्ने दम्पतीलाई सर्वस्वसहित जन्मकैदको सजाय

जाजरकोट, मङ्सिर २०। आफ्नै आमाको हत्या गर्ने क्लिा–१ लैखमका वुद्धिबहादुरका श्रीमान्, श्रीमतीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको छ । सक्ला–१ लैखमका वुद्धिबहादुर खत्री र उनकी पत्नी शर्मिला वली खत्रीलाई आफ्नै आमा देउमी खत्रीको हत्या गरेको अभियोगमा जिल्ला अदालत जाजरकोटका जिल्ला न्यायाधीश लिलाराज अधिकारीको एकल इजलासले आइतबार सर्वस्वसहित जन्मकैदको सजायको फैसला सुनाएको हो । नलसिंहगाड जलविद्युत् आयोजना निर्माणका लागि अधिग्रहणमा परेको देउमीका नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गराउनका लागि वुद्धिबहादुर र उनकी श्रीमतीले दबाब दिँदै आएका थिए । जग्गाको नामसारी गराउन देउमीले जेठा छोराका छोराछोरीको सहमति बिना गर्न नमानेपछि उनीहरुले आमाको हत्या गर्ने योजना बनाएका थिए । जग्गा नामसारीका लागि श्रीमती शर्मिलाले कि आमालाई मार कि म भिरबाट हामफालेर मर्छु भनेपछि आफूले आमाको हत्या गरेको वुद्धिबहादुरले अदालतको बयानमा स्वीकार गरेका थिए । आमाको हत्यापछि उनीहरुले घर नजिकैको बारीमा शवलाई गाडेका थिए । प्रहरीका अनुसार सुतिरहेकी आमालाई वुुद्धिबहादुरले बन्चरोले टाउकोमा हिर्काएका थिए । अरुले थाहा पाउलान भनेर वुद्धिबहादुरका श्रीमान्, श्रीमतीले लास गाडेको ठाउँमाथि तिरमिलो बेर्नाे पनि रोपेका थिए । गत साउन २२ गते आमालाई मारेर मकैबारीमा गाडेका वुद्धिबहादुरले २३ गते बिहान गाउँभरि आमा घरबाट हराएको हल्ला चलाएका थिए । आमालाई खोजिदिन भन्दै उनले प्रहरी चौकीमा निवेदन दिएका थिए । देउमीका भतिजा हरिबहादुर खत्रीले भदौ ६ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए । घटना भएको तीन हप्तापछि प्रहरीले दुवै लोग्ने स्वास्नीलाई पक्राउ गरेको थियो । वुद्धिबहादुर जाजरकोट कारागारमा छन् भने शर्मिला साढे दुई वर्षको छोराका साथमा बर्दियाको कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो । देउमीका श्रीमान् लगवीर खत्री र जेठा छोरा बुहारीको पनि मृत्यु भइसकेको छ । देउमी जेठा छोराका दुईजना छोराछोरी पालेर बस्दै आएकोमा उनीहरु अध्ययनका लागि जिल्ला बाहिर गएपछि एक्लै बस्दै आएकी थिइन् । रासस