प्रधानमन्त्रीओली हिमालयन एयरलाइन्स चार्टर्ड गरेर चीन प्रस्थान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गर्नुभएको छ ।
हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गर्नुभएको हो । चीन प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर दिएको थियो।
उहाँलाई विदाई गर्न गृहमन्त्री रमेश लेखक र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह विमानस्थल पुग्नुभएको थियो ।
प्रधानमन्त्री ओलीसहितको ८७ जनाको प्रतिनिधिमण्डल सोमबार साँझ पाँच बजे चीनको बेइजिङ पुग्ने छ ।दुईपक्षीय भेटवार्ता भने मंगलबारमात्रै हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मंगलबार प्रधानमन्त्री ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ, चिनियाँ जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीले बुधबार पेकिङ युनिभर्सिटीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रचण्ड सचिवालयले भन्यो- 'गगनको अभिव्यक्तिमा ओरालो बाटोको मनोदशा राम्रैसँग छचल्कियो'
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्ति गगन थापाको ओरालो बाटोको मनोदशाबाट ग्रसित भएर आएको टिप्पणी गरेका हुन् । आज (बिहीबार) काठमाडौँको कीर्तिपुरमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले ‘प्रचण्ड’ले प्रधानमन्त्री भइदिनुपर्यो भनेर हप्तामा एकपटक खबर पठाउने गरेको दाबी गरेका थिए। यसैको खण्डन गर्दै प्रचण्डको सचिवालयले वक्तव्य जारी गरेको हो। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले लेखेका छन्, ‘महामन्त्रीजी ! कीर्तिपुरको निर्वाचनमा नेका (नेपाली कांग्रेस) को ओरालो बाटो तपाईंको मनोदशाबाट राम्रैसँग छचल्किएछ। यति कुरा हेक्का राख्नुस्, माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, माओवादी नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ।’
उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षको जनमत सङ्ग्रहजस्तै होः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १६ गते हुने उपनिर्वाचन २०८४ को निर्वाचनका लागि आँखिझ्याल हुने बताउनुभएको छ । माओवादी केन्द्र कीर्तिपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको नतिजा इंगित गर्ने बताउनुभएको हो । ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ’– उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको बताउनुभयो । उहाँले सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । ‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन’– उहाँले भन्नुभयो– ‘मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् ।’ उहाँले नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको भन्दै हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै भएको बताउनुभयो । उहाँले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको बताउनुभयो । अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको स्पष्ट गर्दै उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन । बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’ ‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक रहेको औल्याउँदै उहाँले थप्नुभयो– ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु ।’ मंसिर १६ को निर्वाचनमा माओवादी केन्द्रलाई विजयी बनाउन आह्वान गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म ऐतिहासिक अपिल गर्न चाहन्छु । यो सामान्य कुरा छैन । यो सामान्य चुनाव जित र हारको कुरा मात्रै छैन । यो नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरू, अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्,’ उनले भने, ‘मैले त्यही विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो । पहिला दुई दुई पटक संसद् विघटन संविधान मिचेर गर्दा सेटिङमा भत्काइएको थियो । र यो सेटिङ भत्काउनैपर्छ भनेर हामीले ठूलो ठूलो आन्दोलन गरेका थियौँ । त्यतिबेला साँच्चै त्यो सेटिङ भत्किएको थियो ।’
उपनिर्वाचन : कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड
काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगरपालिकाले चुनावीसभा आयोजना गर्ने भएको छ । माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १३ गते २ः३० बजे कीर्तिपुर नःगाउँ दोबाटोमा चुनावी सभा गर्ने जनाएको छ । सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेयर पदका उम्मेदवार प्रा.डा.शिवशरण महर्जन लगायतले सम्बोधन गर्ने बताइएको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको माओवादी केन्द्रले जनाएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै महर्जनलाई मतदान गर्न अपिल गरेका छन् । सरल स्वभावका मर्हजनलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् । करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण निर्वाचन जित्नेमा पार्टी ढुक्क रहेको माओवादी केन्द्र कीर्तिपुरले जनाएको छ ।
बक्यौता नतिर्ने उद्योगको बैंक र सेयर खाता रोक्का गर्न प्राधिकरणको पत्राचार(पत्रसहित)
काठमाडौं । डेडिकेटेड तथा ट्रंक फिडरमा लाइन नकाट्न निर्देशन पाएपछि नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने उद्योगहरूको बैंक खाता, सेयर रोक्का गर्न पत्राचार गरेको छ । नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरण बैंक खाता रोक्का, सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा गएको हो । प्राधिकरणले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा खाता तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको छ । पत्रमा प्राधिकरणले खाताबाट रकम झिक्न नपाउने, सेयर निष्कासन गर्न नपाउने माग गरेको छ यस्तै, प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ विद्युत् खरिद सम्झौताबमोजिम भुक्तानी हुने रकमबाट असुल गर्न पियोर इनर्जीलाई पत्राचार गरेको छ । प्राधिकरणले ३४ वटा उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बाँकी रहेका उद्योगहरूको विवरणसहित पत्राचार गरेको हो । प्राधिकरणका अनुसार, उक्त अवधिको जम्मा ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ बाँकी छ । ३४ बाहेकका अन्य उद्योग भने किस्ताबन्दीमा आइसकेको प्राधिकरणले जनाएको छ ।
उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने महत्वपूर्ण अवसर: प्रचण्ड
काठमाडौं, १२ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभएको छ । उहाँले आज भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गर्नुभएको छ । ‘यो उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिनेछ । नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्वपूर्ण अवसर पनि हो’ अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमा ब्याप्त बेथिति, बिसंगति र विकृतिका विरुद्ध जनमत प्रकट गर्न म अनुरोध गर्न चाहन्छु ।’ उपनिर्वाचन केही निश्चित ठाउँमा मात्रै निर्वाचन हुने भए पनि यसको विशेष अर्थ र महत्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यहाँहरु सबैलाई अवगत नै छ, मैले आफ्नो नेतृत्वमा रहेको सरकारका तर्फबाट देशमा सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध, सामाजिक न्यायका पक्षमा, विभेद र अन्यायका विरुद्ध तथा आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ । त्यसैको परिणामस्वरुप देशमा सकारात्मक भाव पैदा भएको थियो र भइरहेको पनि छ ।’ अध्यक्ष प्रचण्डले यो उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने संकल्पको रुपमा, देशमा सुशासन कायम गर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धिको पक्षमा जागरण ल्याउन अभियानको रुपमा अघि बढाएको स्पष्ट गर्नुभयो । ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु ।’ उहाँले भन्नुभयो– ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु ।’
कीर्तिपुरमा जित सुनिश्चित बनाउँदै माओवादी
कीर्तिपुर । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले जित सुनिश्चित बनाएको दावी गरेको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको बताइएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले नै आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन गरेपछि माओवादीको जित थप सुनिश्चित भएको हो । माओवादीले मेयरमा प्राडा शिवशरण महर्जन र वडा अध्यक्षहरुमा १ नम्बरमा सरलगोपाल महर्जन र ४ नम्बरमा इन्जिनियर नारायण विष्टलाई अघि सारेको छ । धनबहादुर महर्जनका अनुसार दुवै वडा अध्यक्षको जित पनि सुनिश्चित भइसकेको छ । यसअघि माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीले समर्थन गर्दै साझा प्रतिवद्धता जारी गरिसकेका छन् । यस्तै डा.शिवशरणलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् । करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण पनि यसपटक उनीप्रतिको समर्थन बढ्दो छ । कीर्तिपुरका स्थानीय बासिन्दासमेत रहेका जसपाका पोलिटव्यूरो सदस्य पञ्चलाल महर्जन यस पटक कीर्तिपुरबासीले प्राडा शिवशरण महर्जनलाई जिताउनेमा आफूहरु विश्वस्त रहेको बताउँछन् । उनले यसअघि कीर्तिपुरको मेयरमा कांग्रेस र एमालेका उम्मेदवारले जितिसकेको र उनीहरुले जनता र कीर्तिपुरका लागि कुनै राम्रँे काम गर्न नसकेकाले यस पटक जनताले विकल्प खोजेको बताए । उनका अनुसार विगतमा कुनै पदमा नरहे पनि कीर्तिपुरका लागि शिक्षा, खानेपानी, यातायात, स्वास्थ्य र सामाजिक क्षेत्रमा धेरै राम्रा काम गरिसकेका, अति इमान्दार र निस्कलंक शिवशरण महर्जनलाई यसपटक मेयरमा जिताउने कीर्तिपुरबासीको अठोट छ । शिवशरणले अघि सारेका एजेण्डा र आफू जितेमा तलव भत्तासमेत समाजसेवामा लगाउने घोषणाले जनतालाई उत्साहित बनाएको उनको भनाई छ । यसैगरी कीर्तिपुरकै बासिन्दा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य सुरेश शाही पनि कीर्तिपुरको मेयर र वडा अध्यक्षमा आफूहरुको समर्थनमा माओवादीले अघि सारेका उम्मेदवारले जित्ने ठोकुवा गर्छन । उनले यसअघि पटक पटक अवसर पाउँदा पनि कांग्रेस र एमालेले कुनै काम नगरेकाले यसपटक काम गर्ने उम्मेदवार रोज्नुपर्ने जनताको मत रहेकाले माओवादीका उम्मेदवारले जित्ने दावी गरे । शाहीले आफूहरु शिवशरण जिताउन जनताको घरदैलोमा जाँदा पाएको समर्थनलाई हेर्दा पनि ठूलो मतान्तरले शिवशरणको टिमले जित निकाल्नेमा ढुक्क रहेको बताउछन् । कीर्तिपुरमा चुनावी अभियानको सुक्ष्म विष्लेषण गरिरहेका नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय उपाध्यक्ष निलकण्ठ तिवारी पनि यसपटक मेयरमा प्राडा शिवशरण महर्जनले करिव २ हजार मतान्तरले जित्ने विष्लेषण सुनाउँछन् । उनका अनुसार शिवशरणसँग प्रतिस्पर्धा कांग्रेस उम्मेदवार कृष्णमान डंगोलको भए पनि कांग्रेसभित्रैवाट बागी उठेका ४ जना स्वतन्त्र उम्मेदवारमा भोट बाँडिँदा उनको विगतमा पाएको मत ९ हजार ४३ मा झण्डै आधा घट्ने छ । विगतमा उनलाई समर्थन गरेको जनता समाजवादी पार्टी जसले कीर्तिपुरमा उपमेयर जितेको छले अहिले माओवादीलाई समर्थन गरेकाले कांग्रेसको २ हजार मत त स्वतः घटने देखिन्छ । त्यसबाहेक कांग्रेसका बागी स्वतन्त्र उमेदवार कविकुमार महर्जन एक्लैले कांग्रेसको १ हजारभन्दा बढी मत काट्ने छन् । कांग्रेसले मेयर जित्दा पनि कुनै काम गर्न नसकेको जनताको गुनासो सुनिएकाले यस पटक कांग्रेसले ५ हजार मत कटाउन नसक्ने स्वतन्त्र विष्लेषण छ । विष्लेषक तिवारीका अनुसार विगतको चुनावमा ५ हजार ५ सय ७ मत ल्याएको एमालेले पार्टीभित्रका ३ जना वागी उम्मेदवार मैदानमा खडा हुनु, पार्टीभित्र तीब्र मतभेद हुनु र विगतमा एमाले अध्यक्ष ओलीविरुद्ध गाली गलौजमा उत्रिएका सुरेन्द्र मानन्धरले टिकट पाउनु जस्ता कारणले ४ हजार मत कटाउन हम्मे हम्मे पर्ने देखिएको छ । विगतमा एमालेको राजनीतिमा रहेका राजमान मानवले स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेका कार्यकर्ताहरु नै उनको प्रचारमा खटेको देखिन्छ । स्थानीय सरकारको पहिलो निर्वाचनमा कीर्तिपुरमा मेयर जितेको एमालेले नगरपालिकामा बेथिति भित्र्याउँदा कीर्तिपुर धेरै पछि परेको छ । यस्तो अवस्थामा जनताले फेरि एमालेलाई भोट दिने रुची देखाएका छैनन । कीर्तिपुरको मेयर पदको प्रतिस्पर्धामा १० जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् । यी मध्ये राजमान मानव र कविकुमार महर्जनको प्रचार शैली आक्रामक देखिएको छ । अन्य उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् । कुनै पनि स्वतन्त्र उम्मेदवारले २ हजार मत नकटाउने अर्का विष्लेषक डा.चन्द्रकान्त पौडेलको विष्लेषण छ । उनले पनि यस पटक गोलाकारभित्रको हसिया हथौडा चुनाव चिन्ह लिएका माओवादीका उम्मेदवार प्राडा शिवशरण महर्जनले कीर्तिपुरको मेयरमा र वडा न १ मा शरल योपाल र ४ मा इन्जिनियर नारायण विष्टले बाजी पार्ने विष्लेषण सुनाए ।
बीआरआई र नयाँ विश्व व्यवस्था: पश्चिमी प्रभुत्वको विकल्प ?
पछिल्ला दुई शताब्दीमा पश्चिमी राष्ट्रहरूले अन्तर्राष्ट्रिय राजनीति र अर्थतन्त्रमा आफ्नो पकड मजबुत बनाए। यो पकड खासगरी औपनिवेशिक शासन, वैश्विक वित्तीय संस्थाको स्थापना, र सहायता कूटनीतिको माध्यमबाट स्थापित भयो। यसले अफ्रिका, ल्याटिन अमेरिका, र एशिया–प्रशान्तका देशहरूलाई सहयोग र आधुनिकीकरणका नाममा आर्थिक निर्भरता र विकासको सट्टा असमानताको चक्रमा फँसाउन प्रेरित गर्यो। यही सन्दर्भमा चीनले नयाँ विश्व व्यवस्थाको वैचारिक आयाम भन्दै बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अघि सारेको छ। विकासशील देशहरूका लागि नयाँ विकल्पका रूपमा प्रस्तुत भएको बिआरआई विश्वव्यापी पूर्वाधार र आर्थिक सहकार्य परियोजना हो। यो केवल आर्थिक पहल नभई बहुध्रुवीय विश्व व्यवस्था निर्माण गर्ने एउटा प्रयास हो, जसमा साझा समृद्धि र परस्पर सहकार्यलाई प्राथमिकता दिइएको छ। गत महिना अफ्रिकाका चार दर्जनबढी राष्ट्रप्रमुखहरु चीनमा भेला भए । उनीहरुको सामूहिक आवाज थियो- हिजो उपनिवेशविरुद्ध सँगै लड्यौ अब साझा मानव भविष्य र समृद्धिका लागि सँगै अघि बढ्छौ । उनीहरुको तात्पर्य विकास र आधुनिकीकरणका नाममा हिजो पश्चिमी देशहरुले जसरी तेश्रो विश्वलाई झनै परनिर्भर बनाए, बीआरआई मार्फत साझा सबै पक्षको जीत हुने नयाँ विश्व व्यवस्था स्थापना गर्न हातेमालो गर्ने थियो। यद्यपी यो नयाँ विकल्प कत्तिको प्रभावकारी हुनेछ भन्ने कुरा बीआरआईमा सहभागी देशहरूको क्षमता, योजना, र कूटनीतिक कौशलमा निर्भर हुनेछ। विशेष गरी नेपालजस्ता साना विकासशील देशहरूले यो अवसरलाई कसरी सदुपयोग गर्छन् भन्ने प्रश्न महत्त्वपूर्ण छ। पश्चिमी प्रभुत्वको जालो: औपनिवेशिक युगदेखि सहायता कूटनीतिसम्म १. औपनिवेशिक शासन र आर्थिक शोषण पश्चिमी शक्तिहरूले १६औँ शताब्दीदेखि २०औँ शताब्दीको सुरुवातसम्म उपनिवेशको निर्माण गरेर तेश्रो विश्व भनिने क्षेत्रहरूको स्रोत र श्रम शोषण गरे। (क) स्रोतसाधनको दोहन अफ्रिका: खनिज, सुन, हिरा र दास श्रमको अत्यधिक दोहन। भारत: कपास, नुन, चिया र अन्य कच्चा पदार्थको उत्पादन पश्चिमी उद्योगहरूको कच्चा पदार्थ आपूर्ति गर्ने माध्यम बन्यो। दक्षिण–पूर्वी एशिया: रबर, चिनी र अन्य कृषि उत्पादनले युरोपेली अर्थतन्त्रको सुदृढीकरण गर्यो। (ख) सांस्कृतिक उपनिवेशवाद स्थानीय परम्परा, धर्म, र संस्कृतिलाई कमजोर पारेर पश्चिमी शिक्षा, धर्म, र जीवनशैली थोपथाप गरियो। भारतमा लागू गरिएको "एङ्ग्लो–इण्डियन शिक्षा प्रणाली" यसको प्रमुख उदाहरण हो। २. ब्रेटन वुड्स प्रणाली: आर्थिक नियन्त्रणको नयाँ रूप दोस्रो विश्वयुद्धपछि स्थापित ब्रेटन वुड्स प्रणालीले पश्चिमी राष्ट्रहरूको आर्थिक प्रभुत्वलाई संस्थागत गर्यो। ब्रेटन वुड्स प्रणाली दोस्रो विश्वयुद्धपछि सन् १९४४ मा अमेरिकाको न्यु ह्याम्पसायर राज्यको ब्रेटन वुड्स भन्ने ठाउँमा भएको एक अन्तर्राष्ट्रिय सम्मेलन (ब्रेटन वुड्स सम्मेलन) बाट स्थापित भएको एक आर्थिक व्यवस्था थियो। यस प्रणालीको मुख्य उद्देश्य दोस्रो विश्वयुद्धपछिको आर्थिक पुनर्निर्माण, स्थायित्व कायम गर्नु, र अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउनु भनिएको थियो यो प्रणालीले अन्तर्राष्ट्रिय वित्तीय सम्बन्धहरूलाई व्यवस्थित गर्नका स्थिर विनिमय दर प्रणाली, अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको स्थापना (IMF र विश्व बैंक) तथा सुन र अमेरिकी डलरमा आधारित अर्थतन्त्रलाई अघि सार्यो । ३. सहायता राजनीतिले ल्याएको निर्भरता विकास सहायता पश्चिमी राष्ट्रहरूको प्रभुत्व विस्तार गर्ने अर्को माध्यम बन्यो। ब्रेटन वुड्स प्रणालीले विकासशील देशहरूलाई सहायता र सहयोगको नाममा परनिर्भर बनायो। यी देशहरू आर्थिक रूपमा आत्मनिर्भर हुन नसक्दा पश्चिमी संस्थाहरूको निर्देशनमा आफ्नो नीति परिवर्तन गर्न बाध्य भए। ब्रेटन वुड्स प्रणाली अन्तर्गत स्थापित अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंक जस्ता संस्थाहरूले विकासशील देशहरूलाई पूर्वाधार विकासका लागि ऋण उपलब्ध गराए। तर यी ऋणहरूले सहयोगभन्दा निर्भरता बढायो। एकपटक बिस्तारमा हेरौं। IMF र विश्व बैंकका सर्तहरू: ऋण दिने क्रममा यी संस्थाहरूले कठोर नीतिगत सर्तहरू लागू गरे, जसले देशहरूको आन्तरिक नीति निर्माण क्षमतालाई कमजोर बनायो। उदाहरण: सन् १९८० को दशकमा अफ्रिका र ल्याटिन अमेरिकामा "Structural Adjustment Programs (SAPs)" लागू गरियो। यी कार्यक्रमले शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा लगानी घटाएर ऋण तिर्ने प्राथमिकता दिन बाध्य गरायो। जाम्बियाले आफ्नो तामाको उद्योग निजीकरण गरेपछि, यसको मूल्यमा गिरावट आयो, जसले देशको अर्थतन्त्रलाई झनै कमजोर बनायो। ऋणको चक्र: देशहरूले ऋण तिर्न थप ऋण लिनुपर्दथ्यो, जसले दीर्घकालीन विकासमा अवरोध पुर्यायो। नेपालको परिप्रेक्ष्यमा: नेपालले सन् १९७०-८० को दशकमा विश्व बैंक र IMF बाट शिक्षा र पूर्वाधार विकासका लागि ठूलो मात्रामा ऋण लियो। यी परियोजनाहरूले खासै आर्थिक प्रतिफल दिएनन्, तर ऋणको बोझ बढ्दै गयो। आर्थिक नीतिमा बाह्य हस्तक्षेप ब्रेटन वुड्स प्रणालीले आर्थिक स्वतन्त्रता समाप्त गर्दै विकासशील देशहरूको आन्तरिक नीतिमा हस्तक्षेप गर्यो। निजीकरण र उदारीकरणको दबाब: IMF र विश्व बैंकले ऋण दिने सर्तमा सरकारका स्वामित्वमा रहेका उद्योगहरू निजीकरण गर्न र खुला बजार नीति अपनाउन दबाब दिए। उदाहरण: भारतमा, १९९१ को आर्थिक संकटपछि IMF र विश्व बैंकले खुलेर उदारीकरण लागू गर्न लगायो। यसले अन्तर्राष्ट्रिय लगानीकर्ता प्रवेश त गरायो, तर साना उद्योग र कृषि क्षेत्र संकटमा पर्यो। नेपालमा १९९० को दशकमा IMF को दबाबमा सार्वजनिक संस्थानहरू जस्तै चिनी उद्योग र कपडा कारखाना निजीकरण गरिए। निजीकरणपछिका यी उद्योगहरू घाटामा गए र रोजगार गुम्यो। बजार र व्यापार नियन्त्रण: विकासशील देशहरूलाई निर्यातमा आधारित अर्थतन्त्र निर्माण गर्न दबाब दिइयो। यसको कारण, तिनीहरूको कृषि र उद्योगको दिशा केवल पश्चिमी बजारको मागमा निर्भर हुन पुग्यो। उदाहरण: अफ्रिकाका कफी उत्पादक देशहरूलाई कफी उत्पादनमा केन्द्रित गर्न लगाइयो, जसले अन्य उत्पादनहरू कमजोर बनायो। जब कफीको मूल्य घट्यो, तिनीहरूको अर्थतन्त्र संकटमा पर्यो। विकासको नाममा शोषण ब्रेटन वुड्स प्रणाली अन्तर्गत पश्चिमी राष्ट्रहरूले विकासशील देशहरूलाई आर्थिक सहायता प्रदान गरे। तर, यी सहयोगहरू प्रायः दातृ राष्ट्रको स्वार्थमा केन्द्रित थिए। तथाकथित विकास परियोजनाहरू: विकासको नाममा अनुदान वा ऋण दिन पश्चिमी देशहरूले आफ्ना कम्पनी र ठेकेदारलाई फाइदा पुग्ने परियोजनाहरूमा मात्र जोड दिए। उदाहरण: विश्व बैंकको निर्देशनमा "अरुण तेस्रो जलविद्युत परियोजना" नेपालको लागि डिजाइन गरिएको थियो। तर, यसको लागत उच्च थियो र स्थानीय आवश्यकताभन्दा बढी विदेशी विशेषज्ञ र उपकरणमा निर्भर थियो। परियोजना रद्द भए पनि, यसले नेपालको जलविद्युत् क्षेत्रमा विदेशी नियन्त्रणको खतरालाई उजागर गर्यो। सामाजिक क्षेत्रमा असर: सहायता मार्फत विकासशील देशहरूको शिक्षा, स्वास्थ्य, र सांस्कृतिक नीतिमा पश्चिमी प्रभाव हावी भयो। नेपालमा, पश्चिमी संस्थाहरूले ग्रामीण विकासका नाममा सांस्कृतिक परिवर्तन र धार्मिक संस्थाहरूको प्रभाव विस्तार गरे। व्यापारमा असमानता ब्रेटन वुड्स प्रणालीले व्यापारका लागि खुला बजार नीतिलाई प्रोत्साहित गरे पनि यसले विकासशील देशहरूलाई पश्चिमी राष्ट्रहरूको लागि मात्र कच्चा पदार्थ आपूर्तिकर्ता बनायो। न्यायोचित मूल्यको अभाव: तेश्रो विश्वका देशहरूले निर्यात गरेका वस्तुहरूको मूल्य घटिरहँदा, उनीहरूले आयात गरेका औद्योगिक वस्तुहरूको मूल्य उच्च रह्यो। उदाहरण: नेपालले जडीबुटी, चिया, र अन्य कच्चा पदार्थ निर्यात गरेर अल्प आय आर्जन गर्यो। तर, ती वस्तुहरू प्रशोधन गरेर पश्चिमी बजारमा महँगो मूल्यमा बेचियो। विश्व व्यापार संगठन (WTO) को पक्षपात: WTO ले खुला व्यापारका नाममा औद्योगिक देशहरूलाई लाभ पुर्यायो। कृषिमा सब्सिडी जस्ता मुद्दामा, WTO का नीतिहरू विकासशील देशहरूको प्रतिकूल रहे। सांस्कृतिक र शैक्षिक प्रभुत्व ब्रेटन वुड्स प्रणालीले आर्थिक मात्र नभई सांस्कृतिक प्रभुत्व पनि फैलायो। पश्चिमी शिक्षा प्रणालीलाई प्राथमिकता दिँदै, स्थानीय ज्ञान र परम्परागत पद्धतिहरूलाई कमजोर बनाइयो। नेपालको सन्दर्भमा: पश्चिमी सहायता र शिक्षा कार्यक्रमले ग्रामीण इलाकाहरूमा पारम्परिक प्रणाली विस्थापित गर्दै पश्चिमी मान्यता विस्तार गर्यो। उदाहरणका लागि, USAID का परियोजनाहरूले नेपालमा कृषि सुधारका नाममा विदेशी बीउ र प्रविधि आयात गरे, जसले स्थानीय परम्परागत खेती प्रणालीलाई कमजोर बनायो। नेपालमा पश्चिमी प्रभुत्वका नकारात्मक प्रभावहरू १. आर्थिक निर्भरता र ऋणको बोझ पश्चिमी संस्थाहरूबाट लिइएका ऋणहरूले नेपालको वित्तीय प्रणालीलाई थिच्यो। उदाहरण: १९९० को दशकमा आर्थिक उदारीकरण र निजीकरणका कारण नेपालका सरकारी उद्योगहरू कमजोर भए। २. जलस्रोत विकासमा हस्तक्षेप पश्चिमी सहयोगले नेपालका रणनीतिक परियोजनाहरूमा प्रभुत्व जमाउन खोज्यो। अरुण तेस्रो जलविद्युत परियोजना: विश्व बैंकका सर्तहरूले परियोजनाको कार्यान्वयनमा समस्या सिर्जना गरे। ३. सांस्कृतिक प्रभाव र सामाजिक असमानता पश्चिमी शिक्षाको विस्तारले स्थानीय ज्ञान प्रणालीलाई कमजोर बनायो। पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदा स्थानीय सांस्कृतिक मूल्य र परम्परामा क्षति पुगेको छ। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई): नेपालको लागि नयाँ अवसर? १. बीआरआई के हो? बीआरआई चीनको बहु–क्षेत्रीय पूर्वाधार परियोजना हो, जसले व्यापार, लगानी, र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिन्छ। (क) आर्थिक जोड व्यापारिक मार्गहरूको विस्तार। स्थानीय उद्योग र कच्चा पदार्थको प्रभावकारी उपयोग। (ख) राजनीतिक जोड साझेदारीमा आधारित विकास मोडेल। सहयोग र सहअस्तित्व। (ग) वैचारिक जोड साझा समृद्धिको अवधारणा। २. नेपालका लागि सम्भावना (अ) पूर्वाधार विकास रसुवागढी–केरुङ रेलमार्ग: व्यापारिक गतिलाई तीव्र बनाउने। कर्णाली र कालीगण्डकी करिडोर: आन्तरिक सम्पर्क सुधार। (ब) जलस्रोतको प्रभावकारी उपयोग बुढीगण्डकी जलविद्युत परियोजना: चीनको लगानीबाट ऊर्जा उत्पादन र निर्यात। (स) आर्थिक विविधीकरण र व्यापार विस्तार भारत र पश्चिमी राष्ट्रहरूको निर्भरता घट्दै अन्य बजारहरूमा विस्तार। (द) सांस्कृतिक आदानप्रदान पर्यटन, भाषा, र शिक्षा परियोजनामा द्विपक्षीय सहकार्य। पश्चिमी सहयोग र बीआरआईबीचको भिन्नता १. ऋणको सट्टा साझेदारी बीआरआई सर्तयुक्त ऋणको सट्टा सहकार्यमा आधारित छ। २. स्थानीय आवश्यकतामा आधारित विकास विकास परियोजनाहरू स्थानीय आवश्यकता र क्षमता अनुसार परिकल्पना गरिन्छ। ३. वैकल्पिक विश्व व्यवस्था निर्माण बीआरआईले बहुध्रुवीय अर्थतन्त्रको स्थापना गर्ने प्रयास गर्छ। नेपालले बीआरआईबाट कसरी लाभ उठाउन सक्छ? १. दीर्घकालीन योजना निर्माण बीआरआई परियोजनालाई नेपालको दीर्घकालीन आर्थिक रणनीतिमा समाहित गर्नु। २. कूटनीतिक सन्तुलन चीन, भारत, र पश्चिमी राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्ने। ३. निजी क्षेत्रको संलग्नता परियोजनाहरूमा निजी क्षेत्रको सक्रिय सहभागिता सुनिश्चित गर्नु। ४. पर्यावरणीय र सामाजिक प्रभावको विश्लेषण दीर्घकालीन प्रभावलाई ध्यानमा राखी योजनाहरू कार्यान्वयन गर्नु। निष्कर्ष पश्चिमी प्रभुत्वको इतिहासले नेपालजस्ता विकासशील देशहरूलाई परनिर्भर बनायो। बीआरआईले भने नेपाललाई आत्मनिर्भरता र आर्थिक प्रगतिका लागि नयाँ अवसर प्रदान गरेको छ। तर यो अवसर उपयोग गर्न नेपालको नेतृत्व क्षमतामा निर्भर रहनेछ। सही योजना, पारदर्शिता, र बहुपक्षीय कूटनीतिले मात्रै नेपाललाई नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको सक्रिय साझेदार बनाउन सक्छ। बीआरआई नेपालको आर्थिक पुनर्जागरण र दीर्घकालीन समृद्धिको माध्यम बन्न सक्छ, यदि यसलाई सावधानीपूर्वक र कुशलतापूर्वक कार्यान्वयन गरियो भने।
कीर्तिपुरमा नेकपा एसको उम्मेदवारी निष्कृय, माओवादी केन्द्रलाई समर्थन
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदबाट नेकपा एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिउको छ । एकीकृत समाजवादीका उम्मेदवार भानु रिजालले विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् । रिजालले आफ्नो समर्थन नेकपा माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनलाई रहेको पनि बताएका छन् । ‘यही २०८१ मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को तर्फबाट कीर्तिपुर नगरपालिकाको प्रमुख पदको लागि मैले उम्मेदवारी दिएकोमा पार्टी केन्द्रको निर्णयबमोजिम मेरो उम्मेदवारी निष्क्रिय गरेको छु,’ विज्ञप्तिमा भनिएको छ,‘अतः कीर्तिपुर नगर प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रा. डा. शिवशरण महर्जनलाई र यसै नगरपालिका वडा नं. ४ मा हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)को तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार कमरेड रिता खड्कालाई मतदान गरी विजय गराउनु हुन आम जनसमुदायलाई हार्दिक अपिल गर्दछु ।’
राहदानी विभागको सेवा ठप्प
काठमाडौँ । केही दिनदेखि राहदानी आवेदन प्रणाली अवरुद्ध हुन पुगेको छ । राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेकाले यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनु पर्ने भएकोले जिल्लारईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूको राहदानी सेवा बन्द गर्नु परेको जनाएको छ । विभागले एक सूचनामार्फत उक्त स्थानहरूमा सेवा क्रमशः कार्य प्रारम्भ हुँदै जाने गरी व्यवस्था मिलाइएको र पूर्ण रूपमा कार्य प्रारम्भ हुन १–२ हप्तासम्म लाग्न सक्ने जनाएको छ । विभागले समस्या समाधान गर्दै २ दिन भित्रमा नयाँ आवेदन फाराम भर्नका लागि भने बुकिङ खुला गरिने छ ।‘भाईरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाईएको तथा आवेदकको तथ्याङ्क पूर्ण सुरक्षित रहेको बेहोरा अनुरोध गर्दै धैर्यता अपनाउनका लागि विभाग अनुरोध गर्दछ’, सूचनामा भनिएको छ। सेवाग्राहीलाई पर्नजाने असुविधाप्रति आफूहरु संवेदनशील रहेको भन्दै विभागले यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको जनाएको छ ।
रविलाई अझै १५ दिन हिरासतमा राख्न अनुमति
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
नेता राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भयो : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य पदम राईको निधनबाट नेपाली कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । राइप्रति माओवादी केन्द्रको पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जली दिने क्रममा शोक वक्तव्य मार्फत श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले भन्नुभयो 'हाम्रो पार्टी कमरेड पदमबहादुर राईप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ। उहाँको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति हुन पुगेको छ । शोकको यस घडीमा आम पार्टीपंक्ति र जनसमुदायमा शोकलाई शक्तिमा बदल्न हाम्रो पार्टी हार्दिक अपील गर्दछ ।' 'हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कमरेड पदमबहादुर राईको ५८ वर्षको उमेरमा २०८१ मंसिर ८ गते बेलुकी ६ बजेर ३० मिनेट जाँदा वीर अस्पताल काठमाडौंमा निधन भएको खबरले हाम्रो सिङ्गो पार्टी मर्माहत भएको छ। यस शोकको घडीमा हाम्रो पार्टी दिवंगत कमरेड पदमबहादुर राई प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । उहाँ केही वर्ष यता पाकिन्सन्स रोगले बिरामी भई उपचारत हुनुहुन्थ्यो । कमरेड पदमबहादुर राईको जन्म २०२३ साल पुष १५ गते भोजपुर जिल्ला षडानन्द नगरपालिका १४ साविक बोया गाविसमा बुबा लालबहादुर राई र आमा दौलती राईको कोखबाट भएको थियो । उहाँका दुई दाजु, १ भाई र ६ जना दिदीहरु हुनुहुन्छ। उहाँको श्रीमती जमुना राई, छोरा सन्देश राई र छोरी सामना राई हुनुहुन्छ । उहाँले विद्योदय मा.वि.भोजपुरबाट एसएलसी उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय अन्तरगत जनता क्याम्पस सुनसरीबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको थियो,' उहाँले भन्नुभयो। राई २०४६ सालबाट अनेरास्ववियु छैटौंको सदस्यता प्राप्त गरी विद्यार्थी संगठनको इकाई र जिल्ला समिति हुदै तेह्रौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरी पार्टीको स्थानीय इकाई हुँदै २०५२ सालमा सुनसरी मोरङ जिल्ला पार्टी सदस्य, भोजपुर जिल्ला सचिव हुँदै २०५६ मा भोजपुर(तेह्रथुम(संखुवासभाको इन्चार्ज, २०६१ सालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसार, पार्टी केन्द्रीय समिति सदस्य हुँदै विगतमा पार्टी पोलिट्व्यूरो सदस्य बन्नुभएको थियो । उहाँले २०६३ को अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा भौतिक योजना राज्यमन्त्री, २०६४ सालको संविधानसभा निर्वाचनमा भोजपुर जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो ।
काठमाडौंमा भ्रष्टाचारीहरुको र्याली देख्न परेको छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौंमा भ्रष्टाचारीहरुले र्याली गरेको देख्न परेको बताउनुभएको छ । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार भ्रष्टाचारीहरुले कब्जा गरेर सडकमा समेत भ्रष्टाचारीहरुले नै प्रर्दशन गर्ने गरेको बताउनुभएको हो । सो क्रममा उहाँले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताउनुभयो ।हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उहाँले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताउनुभयो । ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उहाँले भन्नुभयो। नेपालमा अवैध ढंग्गले सामानहरु ल्याउने गतिविधि भैरहेको बताउनुभयो । उहाँले बिआरआई जस्तो विकासको योजना ल्याउन हुँदैन भन्ने तर विदेसी सेनालाई नेपालमा आमन्त्रण गर्ने खालका एमसिसि, एसपीपी जस्ता योजनाहरुलाई स्वागत गर्ने काम गरेको बताउनुहँदै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले सरकारसँग गरेको ३ बुँदे सहमतिलाई इमान्दारी पूर्वक कायान्वयनको माग गर्नुभयो । सो सहमति लागु गरेर जेल परेका नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गरे आगामी चुनावमा प्रतिस्प्रर्धा गरेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।
जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो । महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो । जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।
एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।

