माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्न बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदनको बारेमा चर्चा गर्नुभएको ।

null

पार्टीका आगामी कार्यक्रम र कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदनबारे छलफल सुरु भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । स्थायी समिति बैठक पुनः पुस १९ गते विहान ११ बजे सुरु हुने छ । 

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड त्रिवि शिक्षण अस्पतालमा

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । हिजो साँझ उहाँको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार भइरहेको छ।अध्यक्ष प्रचण्ड अहिले साझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिदै परिवारसित पनि भेट गर्नुभएको थियो । सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले उहाँको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए। सो क्रममा महासचिव किरणले  क्याविनको भन्दा आइसीयुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुभयो । अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गर्नुभयो । सो क्रममा दुबै जना भावुक पनि हुनुभएको थियो । अध्यक्ष प्रचण्ड र महासचिव किरणबीच २०३८ देखि २०६८ सम्म निकै घनिष्ट सम्बन्ध रहेको थियो । पार्टी बिभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उहाँहरुले एकले अर्कालाई निकै आदरभावका साथ सम्मान गर्दै आउनुभएको छ।

अध्यक्ष प्रचण्डद्वारा बडी विल्डिङ च्याम्पियनसिपका रजत पदक प्राप्त खेलाडीलाई सम्मान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पन्ध्रौं विश्व बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक प्राप्त गर्ने नेपाली खेलाडीहरुलाई सम्मान गर्नुभएको छ । अखिल नेपाल खेलकुद महासंघको आयोजनामा आज अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको कार्यक्रममा उहाँले सम्मान गर्नुभएको हो । शारीरिक सुगठन खेलको अन्तर्राष्ट्रिय महासंघ विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टस् फेडरेसनसँगको सहकार्यमा बडी बिल्डिङ एसोसिएसन अफ माल्दिभ्सले मालेमा आयोजना गरेको प्रतियोगितामा रजत प्राप्त गर्ने रुजेश शाही, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ र सनम मुलगुठीले रजत पदक प्राप्त गर्नुभएको थियो । रुजेशले ६० केजी तौल समूह, प्रज्वलले ६५ केजी तौल समूह रजनी ५५ केजी तौल समूह र र मुलगुठी स्विम सुट समूहबाट खेलेर रजत प्राप्त प्राप्त गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेल राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकाले यस क्षेत्रको विकासमा आफ्नो पार्टीले अत्यधिक महत्व दिने गरेको बताउनुभयो । आफू तीनपटक प्रधानमन्त्री हुँदा खेल पूर्वाधारको विकास र खेलाडीको प्रोत्साहनका लागि विभिन्न कार्यक्रम अघि सारिएको उल्लेख गर्दै उहाँले खेल वैश्विक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो । ‘नेपालमा विभिन्न विधाका खेल आयोजना गर्ने गरिएका छन् भने नेपाली खेलाडीहरुले विश्व तथा क्षेत्रीयस्तरका र विभिन्न देशसँगको प्रतिष्पर्धामा भाग लिएर देशको प्रतिष्ठा उँचो बनाउँदै आएका छन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसैले खेलकुदलाई राष्ट्रको महत्वपूर्ण एजेण्डाको रुपमा अघि बढाउनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ ।’ आफूले खेलकुद र संस्कृतिको विकासलाई मानवीय विकासको महत्वपूर्ण पक्षको रुपमा लिने गरेको उल्लेख गर्दै उहाँले सबै पक्ष यी क्षेत्रको विकासमा संवेदनशील हुनुपर्ने बताउनुभयो । अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ले उज्यालो बाटोतिर लम्किरहेको खेल क्षेत्रको विकासमा सरकार र दलहरु गम्भीर बन्नुपर्ने बेला आएको बताउनुभयो । एकैपटक चार जना खेलाडीले रजत पद प्राप्त गराउने बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टस् नेपालका लागि महत्वपूर्ण विधा भएको उल्लेख गर्दै उहाँले यो खेलको संघलाई व्यवस्थित गर्न कार्यालय स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।      

माओवादी बलियो भए देशमा सुशासनको नयाँ युग सुरु हुन्छ : अध्यक्ष प्रचण्ड

पुनर्वास, कंचनपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताउनुभएको छ। कंचनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो। सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने उद्घोष गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो - 'हामीलाई दिनमा एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ । मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ । भ्रष्टाचारीलाई यसै छोडिने छैन। गिरिबन्दु, यति ओन्नीमा, नक्कली भुटानी सरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन। र यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ । हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुनेछ । भ्रष्टाचारीहरुलाई लखेट्ने प्रक्रिया सुरु गरिनै सक्यौं। अहिले मैले अब धेरै भन्नु छैन।' आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै अध्यक्ष प्रचण्डले मिटर ब्याजीहरू मिटर ब्याजको नाममा जनतालाई शोषण गर्नेहरु पनि भयभीत र आतंकित भएर सरकार ढाल्ल लागि परेको बताउनुभयो। 'सरकार सुशासनका विरुद्ध भ्रष्टाचारका पक्षमा छ। भ्रष्टाचारका विरुद्ध छैन ।' भन्नुहुँदै अध्यक्ष प्रचण्डले सरकार गलत कदम र आफु नेतृत्वले गरेका कामका कारण देशभर माओवादी केन्द्रमा देशैभरि पनि माओवादीमा एकताबद्ध हुने समायोजन हुने लहर चलेको बताउनुभयो । पुनर्वासमा एमाले, कांग्रेस लगायतका पार्टीमा क्रियाशिल नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गर्नुभएको प्रचण्डले  भन्नुभयो - 'देशैभरि पनि माओवादीमा एकताबद्ध हुने समायोजन हुने लहर चलेको छ । पर्सि म झापा जाँदै छु। प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा त्यहाँ पनि हजारौं प्रवेश गर्ने तयारी छ ।' सो क्रममा सुदूरपश्चिमको विकासमा आफु दत्तचित भएर लागेको बताउँदै भारत भ्रमणको बेलामा सिमानाको समस्या समाधान गर्नको निम्ति कञ्चनपुरका विभिन्न भागमा रहेका सीमा समस्यादेखि लिपुलेख कालापानीको समस्या सम्म पनि मैले खुलेर भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको, सुदूर पश्चिममा विश्वविद्यालय स्थापनाको प्रस्ताव गरेको, मध्ये पहाडी र हुलाकी लोकमार्गको प्रस्ताव गरेर कार्यान्वयनमा लगेको, कैलाली भजनीमा ४०० केबीको अन्तर देशीय प्रसारण लाइनको काम अगाडि बढाएको, कृषि तथा स्थानीय स्रोतमा आधारित उद्योग स्थापनाका लागि नीति निर्माण विद्युतको क्षेत्रमा पनि सेती परियोजना अगाडि बढाएको, सुदूरपश्चिमका युवाहरुमा क्रिकेटको राम्रो क्रेज राम्रो रंगशाला निर्माणमा पहल गरेको लगायतका काम गरेको बताउँनु हुँदै पञ्चेश्वर परियोजना टुङ्गोमा पुर्याउने कोशिस गर्दै गर्दा सरकार ढलाइएको उहाँले बताउनुभयो। त्यसैगरी, चीनसँग खुलेको नाकाले सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो। हुम्लाको चीनसँग नाका चीनले अनुदानमा बाटो बनाउने सहमति भइसकेको र सो काम अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो। सुदूरपश्चिममा भौतिक पूर्वाधारको क्षेत्रसँगै अन्य प्रगतिका निम्ति पनि कोसिस गरेको बताउँदै उहाँले कैलाली, कञ्चनपुर लगायतका क्षेत्रमा नदी नियन्त्रणसँग सम्बन्धित कामलाई दृढतापूर्वक अगाडि बढाउन आफुले पहल लिने विश्वास समेत दिलाउनुभयो। राज्य सत्ताबाट विभेद र अपमानमा परेको सेती महाकालीलाई न्याय दिने उद्देश्यले नै माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वासका समस्या समाधानमा दृढतापुर्वक लागेको उहाँले बताउनुभयो।

भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा अध्यक्ष प्रचण्डद्वारा शोक व्यक्त

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गर्नुभएको छ ।  सन् २००८ मा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीका रुपमा भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध र आपसी चासोका विषयमा विस्तृत र खुला छलफल गरेको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा नेतासिंहसँगको आफ्नो तस्बिर पनि सार्वजनिक गर्नुभएको छ । 

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ। ९२ वर्षको उमेरमा शुक्रबार साँझ सिंहको निधन भएको हो। डा.सिंहको स्वास्थ्य बिग्रिएपछि शुक्रबार साँझ नयाँदिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो। उहाँको स्थानीय समय अनुसार राति ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ। मनमोहन सिंह दुईपटक भारतको प्रधानमन्त्री हुनुभएको थियो। उहाँ सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ सन् १९९१ देखि ९६ सम्म देशको अर्थमन्त्री पनि बन्नुभएको थियो। उहाँ भारतको अर्थ सुधारक वित्तमन्त्रीका रूपमा परिचित हुनुहुन्थ्यो।

प्रधानमन्त्री ओलीलाई विप्लवको चेतावनीः 'जनयुद्धले लगाइदिएको ताज फुकालेर हस्तान्तरण गर'

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीहरु बन्दुकको मोर्चाबाट कलमको मोर्चामा आएपछि रक्षात्मक भएको टिप्पणी गनुभएको छ।  आज (बिहीबार)माओ दिवसको अवसरमा काठमाडोंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी वर्गप्रति इमानदार हुन नसकेको हो कि जस्तो देखिएको बताउनुभयो। अहिले माओवादीविरुद्ध भयाङ्कर गोलावारीहरु चलिरहेको उहाँले बताउनुभयो। ‘जनयुद्ध के थियो भन्नेबारेमा त्यसलाई विषयान्तर गर्ने, तोडमोड गर्ने, जनयुद्धलाई लागेपुगेसम्म जनताको हातबाट खोस्ने र जनयुद्धमाथि हमला बोल्ने लडाइँ चलिरहेको छ,’– विप्लले भन्नुभयो, ‘जसलाई जनयुद्धको ज पनि थाहा छैन । ती मान्छेहरुले जनयुद्धको बारेमा भयाङ्कर ठूलो हमला बोलिरहेको बेलामा हाम्रो कलमको मोर्चालाई अझ सशक्त बनाउनुपर्ने अवस्था छ ।’ सो क्रममा उहाँले जनयुद्धलाई विषयान्तर गर्न खोज्नेहरुलाई ढेडुको संज्ञा दिनुभयो । उहाँले अहिले नेपाल दलाल पुँजिपतिहरुको हैकमभित्र छट्पटाइरहेको बताउनुभयो । माओवादीले सामन्तवादलाई पछारेपनि दलाल पुँजिपति र साम्राज्वादीहरुलाई पछार्न बाँकी नै रहेको विप्लवको भनाइ छ । माओवादीले युद्ध जित्नै बाँकी रहेको उहाँको भनाइ छ । साथै,उहाँले माओवादी जनयुद्ध सुन्नै नचाहनेहरुले अहिले संसद्देखि न्यायलयसम्म खिसिट्यूरी गरिरहेको बताउनुभयो। ‘माओवादी जनयुद्धलाई सुन्नै नचाहने वा त्यसलाई खिसीट्यूरी गर्ने काम संसद्मा पनि चलिरहेको छ । त्यो कुरा अन्यत्र पनि चलिरहेको छ र विभिन्न क्षेत्रबाट न्यायलयमा पनि पुगेको छ । अस्तीमात्रै जनयुद्ध नभन्नु भनेर प्रतिबन्ध लगाएको कुरा पनि हामीले सुन्यौं । जनयुद्ध नभएर के हो त यो ?अरु त ठीक छ, तर सपना मल्ल प्रधानलाई एउटा कुरा सोध्न मन लागेको छ । सपना मल्लको हात काक्यो कि कामेन ? जनयुद्ध होईन भनेर भन्दा त्यहाँ कसले पुर्यायो ? नेपालमा महिलाहरुलाई, श्रमिकहरुलाई सत्ताको मालिक बन्ने ठाउँमा, फैसला गर्ने ठाउँमा कसले पुर्यायो । महिलाहरु योग्य छन् भन्ने कुरा कसले स्थापित गरायो ?’ प्रश्न गर्दैै उहाँले भन्नुभयो । सम्बोधनका क्रममा विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनयुद्धले लगाइदिएको ताज फुकालेर हस्तान्तरण गर्न चेतावनी दिनुभयो। प्रकाश सपुतको गीत स्मरण गराउँदै उहाँले भन्नुभयो  ‘प्रकाश सपुतले लेखेको गीतको याद आउँछ– रातो स्कुटर कसले किन्दियो ? केपीजीलाई सोध्नुपर्ने भएको छ– 'केपीजी तपाईँलाई ताज कसले पहिराइदियो, तपाईलाई कुर्सी कसले पहिराइदियो ? तपाईँलाई राज कसले ल्याइदियो ?’ तपाईँले लाएको ताज, तपाईँले चलाएको राज, तपाईँको कुर्सी, तपाईँको झुर्की सबै कसले खडा गर्दियो ? उसो हो भने सबै ताज फुकालेर हामीलाई हस्तान्तरण गर । जनयुद्धले ल्याइदिएको ताज तिमी लाउने पाउँदैनौं भन्नुपर्छ कि पर्दैन । हामीले पाउनुपर्यो नि । तिमीले अहिले भनेको गणतन्त्र के कारणले आएको ? गणतन्त्रको संस्थापक को हो ? यो कुरा सत्य बोल्नुपर्छ कि पर्दैन ?'

सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित

काठमाडौं। सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित भएको छ।बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकले उक्त विधेयकलाई सर्वसहमितले पारित गरेको हो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको अर्थ समितिमा आएको सुरक्षित कारोबार ऐनलाई केही संशोधनसहित पारित गरेको छ। विज्ञ, अर्थ मन्त्रालय र कानून मन्त्रालय, संशोधनकर्ता सांसदहरु र सांसदहरुबीच विधेयकका विषयमा दफाबार समेत गरी लामो छलफल पश्चात समितिले विधेयकलाई पास गरेको अर्थसमिति सभापति सन्तोष चालिसेले बताउनुभयो। सुरक्षित कारोबार ऐनले साना–साना घरायसी भैँसी,बाख्रा किनबेचदेखि अन्य प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने उहाँले बताउनुभयो। सभापति चालिसेले ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीहरुलाई सहज र फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अब बस्ने संसदमा समितिले पास गरेको विधेयक पेस गर्ने तयारी गरिने बताउनुभयो। उहाँले अर्थ समितिमा रहेका ६ विधेयकमध्ये दुईवटा विधेयक समितिबाट पास गरेको बताउनुभयो। समितिले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा चल सम्पती धितो राखि गरिने कारोबारलाई सुरक्षित बनाउने सम्बन्धमा एकीकृत कानूनी व्यवस्था गरी चल सम्पती भन्ने शब्द राखेको छ । विधेयकको दफा ८ को उपदफा १ मा सामान्य कुनै त्रुटी भएपनि भन्ने शब्दहरुको सट्टा धितो सम्बन्धी सम्झौतामा फरक नपर्ने सामान्य त्रुटी भएपनि भन्ने शब्द राखेर विधेयक पारित भएको छ।

सरकारले राष्ट्रियसभालाई बिजनेस दिएन : अध्यक्ष दाहाल

चितवन  । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताएका छन्। यहाँ आज स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिए।  उनले भने, “कानुन निर्माणको काम पनि जनचाहनाअनुसार हुन सकेको छैन। बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेका छन्।” आवश्यक ऐन बनाउन नसकिएको अध्यक्ष दाहालले स्वीकार गरे। फरक प्रसङ्गमा उनले स्थानीय तहसँगको समन्वय सम्पर्क र संवादको सबै तहमा कमी भएको अनुभूति भएको बताए। सातै प्रदेशका प्रदेशसभा सदस्य र पालिकासँगको छलफलबाट मात्रै वर्तमान समयमा तीनै तहका सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने अध्यक्ष दाहालको भनाइ थियो।

माओत्सेतुङबाट प्रेरणा लिंदै नेपाली विशेषताको समाजवाद निर्माणमा जुट्न आवश्यकः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक माओत्सेतुङबाट वैचारिक प्रेरणा लिंदै नेपाली विशेषतासहितको समाजवाद निर्माणमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ । माओत्सेतुङको जन्म दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । प्रस्तुत छ वक्तव्यको पूर्ण पाठः  आज २६ डिसेम्बर, अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान नेता एवं विचारक क. माओत्सेतुङको जन्म दिन । यस अवसरमा हाम्रो पार्टी कमरेड माओत्सेतुङप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ । उहाँको जन्म दिनलाई उत्सवका रुपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।  चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात १८९३ डिसेम्बर २६ मा कमरेड माओत्सेतुङको जन्म भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक कमरेड माओत्सेतुङ संसारभरिका वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्रस्रोत हुनुहुन्छ ।  कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढाउनुभयो । कमरेड माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार विश्व सन्दर्भमा र नेपाली क्रान्तिको लागि पनि मार्गदर्शकको रुपमा रहँदै आएको छ । हामी यतिबेला नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत छौं । विगतमा हामीले सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ । कमरेड माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।

सभापति रबि निलम्बन पछि बसेको रास्वपा सचिवालय बैठकले गर्यो यी तीन निर्णय

काठमाडौँ । सभापति रबि लामिछानेलाई संसद सचिवालयले निलम्बन गरेपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सचिवालयको आकस्मिक बैठकले तीन निर्णय गरेको छ ।  पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार आकस्मिक बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिने निर्णय गरेको छ ।  यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेविरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ भएको छ ।

संसद सचिवालयमा टासियो रवि निलम्बनमा परेको सूचना

काठमाडौं । सभामुख देवराज घिमिरेले रास्वपा सभापति रविलामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित गर्न लगाएका छन्। सभामुखको निर्णयपछि संसद सचिवालयले सूचना टाँस गरेको छ।   सूचनासँगै संघीय संसद सचिवालयले चितवन–२ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद निलम्बनमा परेको सूचना छ।   संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था उदृत गर्दै सूचना प्रकाशित गरे। 

नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्छः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्ने बताउनुभएको छ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा दशरथ रंगशाला त्रिपुरेश्वरमा आजदेखि सुरु भएका अन्तर्राष्ट्रिय प्रतियोगिता योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ र योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ को उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘नेपाल विभिन्न खेलकुद गतिविधिहरूका लागि आकर्षक स्थलको रूपमा लोकप्रिय बन्दै गएको छ । यसले खेलकुद पर्यटनको केन्द्र र प्रमुख गन्तव्य बनाउने सम्भावना बढाउँदै लगेको छ ।’ खेलले विभिन्न क्षेत्र, भाषा, र संस्कृतिका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने उल्लेख गर्दै उहाँले थप्नुभयो– ‘जसले खेल केवल प्रतिस्पर्धाका लागि नभई विभिन्न देशका खेलाडीहरू बीच सद्भाव, मित्रता, र समझदारीको प्रतीक हो भन्ने गहिरो अर्थ दिन्छ । अन्ततः खेलकुदले राजनीतिक सिमाना भन्दा परको वैश्विक सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।’ खेलकुदलाई राष्ट्रको प्रतिष्ठा बढाउन र अर्थतन्त्रलाई अघि बढाउनको लागि महत्वपूर्ण आधार बनाउनुपर्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘म तपाईंलाई स्मरण गराउन चाहन्छु कि मेरो प्रधानमन्त्रीत्वकालमा मैले खेलकुद पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्ने महत्वपूर्ण पहलहरू सुरु गरेको थिएँ । आगामी दिनमा म नेपाली खेलकुद क्षेत्रको विकासमा समर्पित रहनेछु ।’ सरकार र सम्बन्धित निकायहरूले खेल पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै उहाँले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्नुले नेपाललाई विश्वसँग जोड्ने र हाम्रो विकासलाई सहयोग गर्ने मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।  ब्याडमिन्टन विश्वमै एक लोकप्रिय खेल भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो खेल युवा तथा वृद्ध सबै उमेरका व्यक्तिहरूले खेल्न सक्ने भएकाले नागरिकको स्वास्थ्य र व्यक्तित्व विकासका लागि पनि महत्वपूर्ण रहेको बताउनुभयो । विश्व ब्याडमिन्टन महासंघ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले सबै उमेर समूहका साथै शारीरिक वा बौद्धिक चुनौती सामना गरिरहेका व्यक्तिहरूको लागि पनि कार्यक्रम आयोजना गर्दै आफ्नो पहुँच बढाएको उल्लेख गर्दै उहाँले यस समावेशिताले खेलको विश्वव्यापी महत्वव र बढ्दो लोकप्रियतालाई झल्काउने बताउनुभयो । ‘म यस्ता प्रयासहरूलाई प्रवद्र्धन गर्न पूर्ण रूपमा प्रतिबद्ध छु । यस्ता ठूला स्तरका अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना हाम्रो देशको विकासका लागि महत्वपूर्ण आधार हुन्’– उहाँले भन्नुभयो– ‘हामीले यस्ता उच्चस्तरीय प्रतियोगिताहरूको निरन्तरताका लागि सामूहिक रूपमा काम गर्नुपर्छ र भविष्यमा अझ ठूला कार्यक्रमहरू नेपालमा ल्याउन प्रयास गर्नुपर्छ।’ अध्यक्ष प्रचण्डले प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक अधिकारीहरू, चिकित्सकीय टोलीहरू, विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसिया कन्फेडेरेसनका प्रतिनिधिहरूलाई नेपालमा स्वागत पनि गर्नुभयो । दुबै प्रतियोगितामा गरी पाँच महादेशबाट २२ देशका ३३५ जना खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ ।   

तीन विश्वविद्यालयमा उपकुलपति कांग्रेस र एमालेको भाग लगाई नियुक्ति

काठमाडौँ । तीन वटा विश्वविद्यालय नेपाल संस्कृत, कृषि तथा वन विज्ञान र पोखरा विश्वविद्यालयमा कांग्रेस र एमालेले भाग लगाएर उपकुलपति नियुक्ति गरेका छन् ।  निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा अबदेखि मेरिटोक्रेसि लागु गरिने बताउँदै त्रिभुवन विश्वविद्यालयबाट मेरिटोक्रेसीको थालनी गरेको भएपनि हालका प्रधानमन्त्री केपी शर्मा ओलीले भने भागबन्डामा नियुक्ति गर्ने पुरानै शैली अपनाएका छन् । सत्तारूढ कांग्रेस र एमालेबीच भागबन्डा गरेर नेपाल संस्कृत विश्वविद्यालयमा धनेश्वर नेपाल, कृषि तथा वन विज्ञानमा शारदा थपलिया र पोखरा विश्वविद्यालयमा वेदराज केसीलाई उपकुलपतिमा नियुक्ति गरिएको हो । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले नियुक्त गरेका प्राध्यापक केसी र थपलिया एमाले तथा नेपाल कांग्रेसनिकट प्राध्यापक हुन् । नवनियुक्त उपकुलपति केसी एमालेनिकट नेपाल प्रगतिशील प्राध्यापक संगठन अध्यक्षसमेत हुन् । नेपाल भने प्रजातान्त्रिक प्रध्यापक संघ उपत्यका र संस्कृत विश्वविद्यालयका इकाईका पूर्वपदाधिकारी हुन् । थपलिया प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रकी प्राध्यापक हुन् । 

चिकित्साशास्त्र अध्ययन संस्थानले करारमा माग्यो २६ उपप्राध्यापक(सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानले करारमा नियुक्त गर्नेगरी २६ जना उपप्राध्यापक मागेको छ। सोमबार सूचना जारी गर्दै संस्थानले २६ जना उपप्राध्यापक करारमा नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको हो। हेर्नुहोस् सूचना 

यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका  निर्णय सार्वजनिक गरेको छ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूच्ना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आइतबार नियमित पत्रकार सम्मेलनमार्फत पुस ५ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो। सरकारले सवारी साधन बिक्री गर्ने व्यवसायीको लागि यातायात व्यवस्था विभाग र इन्भेष्टमेण्ट कम्पनीको लागि नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोकेको छ। त्यस्तै सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग र नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गरेको छ। यस्ता छन् सरकारका निर्णयः १.सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको लागि नेपाल राष्ट्र बैंक, सवारीसाधन बिक्री गर्ने व्यवसायीको लागि यातायात व्यवस्था विभाग र इन्भेष्टमेण्ट कम्पनीको लागि नेपाल धितोपत्र बोर्डलाई सम्पती शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोक्ने।  २.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिमार्जित कार्यविवरण स्वीकृत गर्ने। ३.दैलेख–कालिकोट–जुम्ला १३२ केभी प्रसारण लाइनको टावर निर्माणका लागि दैलेख, कालिकोट र जुम्ला जिल्लामा करिव १२ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने। ४.नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग र नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने।  ५.खर्ज्याङ प्रहरी चौकी, गुल्मीलाई नेपाल सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको ५ रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिने। ६.एग्रिमेण्ट बिट्विन गभर्मेण्ट अफ नेपाल एण्ड गभर्मेण्ट अफ इण्डिया फर रेगुलेशन फर प्यासेन्जर ट्राफिक बिट्विन द टु कन्ट्रिजको अवधि २४ नोभेम्बर, २०२५ सम्मका लागि नवीकरण गर्ने र सम्झौताको प्रोटोकलको अवधि सम्झौताको अवधिसँग बराबर हुनेगरी नवीकरण गर्ने। ७.तुम्लिङ्गटार सितलपाटी २२० केभी विद्युत प्रशारणलाईन आयोजना निर्माणको लागि संखुवासभा खाँदवारी नगरपालिकामा रहेको राष्ट्रिय वनको २८.४८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने। ८.शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेका सुविधा प्राप्त बाटोको सूचीमा महाँकाल–मुलखर्क–ओखेनी गाउँ ९३.५ किमी थप गर्ने र सवारी साधन र पैदल यात्रुको लागि बाटोको सूचीमा मुलखर्क–झुले–चिसापानी कायम गर्नेगरी नियमावलीको अनुसूची संशोधन गर्न स्वीकृति दिने। ९.भ्याकुरे जलविद्युत आयोजना निर्माणको लागि दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको राष्ट्रिय वनको ०।९८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।  १०.गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माण गर्नको लागि ललितपुरमा रहेको राष्ट्रिय वनको ३।४५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने। १०.अरुण ३ जलविद्युत परियोजनाको ४०० केभी प्रशारण लाइन आयोजना निर्माणको लागि संखुवासभाको चिचिला गाउँपालिका र खाँदवारी नगरपालिकाः उदयपुरको, सुनकोशी गाउँपालिका, तपली गाउँपालिका, उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिका, सिरहाको कर्जन्हा नगरपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको कुल जम्मा २१३।६७ हेक्टर जग्गा प्रयोग स्वीकृति दिने। ११.कलैया उपमहानगरपालिका, बारालाई ४ धुर, बूढानीलकण्ठ नगरपालिका, काठमाडौंलाई ४ रोपनी १२ आना ३ पैसा, बारपाक सुलिकोट गाउँपालिका, गोरखालाई ४ रोपनी ५ आना २ पैसा ३ दाम,  पुनर्वास नगरपालिका, कञ्चनपुरलाई १५ कठ्ठा, एकडारा गाउँपालिका, महोत्तरीलाई ११ कठ्ठा ५ धुर जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने। १२.पोखरिया अस्पताल पर्सालाई ५० शैय्याको अस्पतालमा स्तरोन्नति गरी मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने। १३.कान्ति बाल अस्पताल विकास समितिको अध्यक्ष पदमा श्रीराम सुवेदी, कास्कीलाई मनोनयन गर्ने।  १४.साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने। १५.नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८१ संघीय संसदमा पेश गर्न स्वीकृति दिने। १६.नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने। १७.चिकित्सा शिक्षा आयोगको छैटौं वार्षिक प्रतिवेदन संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसमक्ष पेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने। १८.धितोपत्र बजार सञ्चालनको लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्राप्त प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने।