महाराष्ट्र रेल दुर्घटनामा परेका नागरिकको अभिभावकीय भुमिका पूरा गर्न प्रचण्डको आग्रह

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाराष्ट्र रेल दुर्घटनामा परेका नागरिकको अभिभावकीय भुमिका पूरा नेपाल सरकारलाई गम्भिर ध्यानाकर्षण गराउनुभएको छ । 

हिजो भएको दुर्घटनमा सात जना नेपालीसहित नेपाली र भारतीय नागरिकको निधन र अरु थुप्रै घाइते भएको खबरले स्तब्ध बनेको बताउँदै अध्यक्ष प्रचण्डले दुर्घटनामा घाइते भएका आफ्ना नागरिकको उपचार तथा निधन भएका नागरिक र उनका परिवारप्रति सरकारले अभिभावकिय भुमिक निवार्ह गर्नुपर्ने बताउनुभएको हो ।

यस्तो छ सामाजिक सञ्जालमा उहाँले गर्नुभएको आग्रह 

शिक्षकका माग समेटेर शिक्षा विधेयक पारित हुन्छ : अध्यक्ष प्रचण्ड

गोरखा। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा  समेटेर विद्यालय शिक्षा विधेयक पारित हुने बताउनुभएको छ। नवज्योति माध्यमिक विद्यालय गोरखा नगरपालिका ७, डण्डीडाँडा, गोरखाको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। आफूले सरकारको नेतृत्व गरेको बेला असाध्यै मेहनत गरेर विद्यालय शिक्षा विधेयक ल्याए पनि अझै पारित हुन नसकेको उल्लेख गर्दै उहाँले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विधेयक पारित गरिने बताउनुभयो ।  संविधानमा शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरिए पनि आवश्यक कानुन र बजेटको अभाव रहेको उल्लेख गर्दै उहाँले राज्यको तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । शिक्षा विधेयक पारित भयो र शिक्षा क्षेत्रमा २० प्रतिशतसम्म बजेट छुट्याउन सकियो भने यो क्षेत्रलाई अघि बढाउन सकिने बताउनुभयो। आफूले निरन्तर देश र जनताका लागि नयाँ थालनी गर्ने गरेको उल्लेख गर्दै उहाँले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । तेस्रोपटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान थालिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो अभियान निरन्तर अघि बढ्ने बताउनुभयो ।  सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्नुपर्छ भनेर अभियान चलाउँदा नै भ्रष्ट र बिचौलियाहरुले सरकारबाट हटाएको उल्लेख गर्दै उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको बताउनुभयो । गोरखा क्याम्पसको निरीक्षण यसैबीच पूर्वप्रधानमन्त्री प्रचण्डले गोरखा ५ स्थित गोरखा क्याम्पसको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले क्याम्पसको भौतिक विकास र दरबन्दी थपका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

बजेटको बीस प्रतिशत शिक्षा क्षेत्रमा लगाउन आवश्यक : अध्यक्ष प्रचण्ड

गोरखा। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बीस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताउनुभएको छ। सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले गोरखाको स्वर्ण जयन्ती उद्घाटन गर्दै उहाले यस्तो धारणा राख्नुभएको हो। आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको उल्लेख गर्दै उहाँले अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रष्ट पारिएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा बिधेयक ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कुनै पनि देशको शिक्षा प्रणालीले त्यहाँको सभ्यताको निर्धारण गर्ने उल्लेख गर्दै उहाँले सामुदायिक विद्यालयमा पर्याप्त विद्यार्थीसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो । पछिल्लो समय धेरै सामुदायिक विद्यालयले प्रगति गरिरहेको उल्लेख गर्दै यसलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो । आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै उहाँले ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरेको बताउनुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगलेअघि बढाउँदा बिचौलिया र भ्रष्टहरुले सरकारबाट हटाएको बताउनुभयो । सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’– उहाँले भन्नुभयो– ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको औल्याउँदै उहाँले गोरखामो समग्र विकासका लागि सक्दो योगदान गर्ने बताउनुभयो ।

गोरखामा विभिन्न पार्टीबाट दजनौं माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष प्रचण्डद्धारा स्वागत

गोरखा । गोरखामा विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश प्रवेश गरेका छन् । गोरखा नगरपालिकाको आहाले स्थित सरस्वती मा.वि.र डण्डी डाँडाको नव ज्योति मा.वि.को स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन गोरखा आउनु भएका अध्यक्ष प्रचण्डले कार्यक्रममा सहभागी हुनुपूर्व गोरखा नगरपालिका वडा नम्बर ८ आमडाँडा गाउँमा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने मुस्लिम अगुवासहित विभिन्न व्यक्तिलाई स्वागत गर्नुभएको हो । अध्यक्ष प्रचण्डले विश्राम कुवँर,धनबहादुर कुवँर, अब्दुर करिम मियाँ,नासिर मियाँ,रिवल बहादुर सुनुवार लगायत दजनौं सामाजिक व्यक्तित्वलाई खादा,माला र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । अध्यक्ष प्रचण्ड गोरखाको कार्यक्रम सकेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ 

अध्यक्ष प्रचण्ड गोरखामा

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउनुभएको छ ।  उहालेँ गोरखा नगरपालिकाको आहाले स्थित सरस्वती मा.वि र डण्डी डाँडाको नव ज्योति मा.वि को स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्ड गोरखाको कार्यक्रम सकेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ 

आगामी स्थानीय निर्वाचनमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्छः प्रचण्ड

ग्रामथान (मोरङ) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो । २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनैतिक महत्वको विषय भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौं, अब ग्रामथान थपिएपछि यो संख्या १२३ पुगेको छ । आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्वपूर्ण सन्देश हो ।’ गत मंसिर १६ गतेको स्थानीय तहको निर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइँमा उठाउने सन्देश दिएको उल्लेख गर्दै उहाँले मोरङको ग्रामथान गाउँपालिका र उदयपुरका दुई वटा जिताउनुका साथै अन्य वडामा पनि मत संख्या बढाएर पूर्वले बिरोधीहरुलाई ठूलै जवाफ दिएको बताउनुभयो । ‘बिरोधीहरुले अब माओवादी कमजोर भयो, एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेको बेला पूर्वले माओवादीलाई संख्या र लोकप्रिय मत दुबैमा पहिलो पार्टी बनाएको छ’– ‘उहाँले भन्नुभयो– ‘यो एउटा पालिकाको मात्रै विजय होइन, यो देशैभरि विशेष सन्देश दिने रणनैतिक महत्वको जीत हो ।’ उहाँले ग्रामथानबासीले माओवादीलाई ठूलो गुण लगाएको उल्लेख गर्दै यहाँका जनताका लागि आफ्नो निवास खुला रहने र जनताको समस्या समाधानका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । केन्द्रीय समिति बैठकको दस्तावेजमा आफूले ग्रामथानको नामै उल्लेख गरेर देशभरि विजयको सन्देश प्रवाह गरिएको जानकारी पनि उहाँले गराउनुभयो । उहाँले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताउनुभयो । देशमा माओवादी केन्द्रकै कारण आम उत्पीडित जनताले अधिकार पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गर्नुभयो । ‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौं, जनताको विश्वास कायम राख्न नसकेकै हौं’– उहाँले भन्नुभयो– ‘त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौं, हामी धेरै कुरा सम्झेर तपाइँहरुसमक्ष आएका छौं, तपाईहरुलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु ।  आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दैे– ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा हामीले राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन गर्न सक्यौं भने नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व पनि ग¥यौं ।’ आफूले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भएको उल्लेख गर्दै अहिले ‘चोरलाई चौतारो, साधुलाई सुली’ भनेजस्तै सरकारले उनै कुलमानलाई निकाल्न खोजेको भन्दै आपत्ति व्यक्त गर्नुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको स्पष्ट गर्नुभयो । आफ्नो नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौदेखि रोकिएका शिक्षा ऐन, निजामति ऐन जस्ता कानुन निर्माणलाई अगाडि बढाउने लगायतका महत्वपूपूर्ण काम अघि बढाइएको बताउनुभयो । ‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’– उहाँले भन्नुभयो– ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । यसले नै पार्टी र आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन पनि आधार तयार गरेको छ।’ सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरु तर्सेर रातारात षड्यन्त्र गरेर सरकार ढाल्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार सत्तारुढ दलहरुले होइन बिचौलियाले चलाइरहेको र सरकारमा रहेकाहरु उनीहरुका मुखौटा मात्रै भएको टिप्पणी गर्नुभयो । सरकारबाट बाहिरिएपछि आफूहरुले थालेका राम्रा काम लिएर जनताको बीचमा जाने प्रक्रिया सुरु गरेको जानकारी दिंदै उहाँले जनताको तागतबाट नै समाजवाद निर्माणको अभियान अघि बढाउने प्रण गरेको बताउनुभयो । ‘अहिले यहाँसम्म आउँदा पार्टीमा अभूतपूर्वक एकता कायम भएको छ । परामर्श बैठकपछि देशभरिका नेता कार्यकर्ताले विचार र नेतृत्वको केन्द्रिकरणमा जोड दिएका छन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जनताले पनि हामीले गरेका र गर्न खोजेका राम्रा काम तथा अहिलेको एमालेले गरेको नराम्रा कामलाई हेरेर जनताको आशा र भरोसा हामीतिर बढेको छ । भर्खरैको उपनिर्वाचनले प्रष्टरुपमा यो नतिजा दिइ पनि सकेको छ ।’ उहाँले माओवादीनिकटका कर्मचारीहरुलाई माओवादीपन देखाउन आग्रह गर्दै भन्नुभयो– ‘अन्यायमा नझुक्ने, अन्याय नगर्ने, आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारका विरुद्ध कठोर रुपमा प्रस्तुत हुने, पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई बल पुर्याउँदै समाजवादको भ्रुण रोप्ने फौजको रुपमा तपाइँहरु अघि बढ्नुपर्छ । यसमा दृढतापूर्वक अघि बढ्नुहोला ।’ गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । उपनिर्वाचनमा माओवादी केन्द्रले पालिका अध्यक्ष जितेपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष प्रचण्ड दोस्रो पटक यो पालिकामा आउनुभएको हो ।

मोरङको ग्रामथानमा माओवादी केन्द्रको जनसभा सुरु (तस्विरहरु)

ग्रामथान (मोरङ), ५ माघ । मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा वृहत जनसभा सुरु भएको छ ।  नेकपा माओवादी केन्द्र ग्रामथान गाउँपालिका समितिको आयोजनामा धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभामा सुरु भएको हो ।  सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।  २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यसपटक ग्रामथानबासीले पहिलो बनाएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष प्रचण्ड दोस्रोपटक यो पालिकामा आउनुभएको हो । 

विपक्षी दलको पत्रकार सम्मेलन, यस्तो छ संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौं । प्रतिपक्ष ल र सरकारमा रहेका सात राजनीतिक दलले संयुक्त वक्तव्य जारी गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टीले संयुक्त वक्तव्य जारी गरेका हुन् । वक्तव्यमा अध्यादेश, विद्युत् महसुल उठाउन ढिलाइ, संसद् छल्नेलगायत सरकारका कामप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ । वक्तव्यमा भनिएको छ, ‘संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ । सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद् छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढङ्गले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै सङ्कट ल्याउने हाम्रो ठहर छ । तसर्थ, हामी प्रतिपक्षी राजनीतिक दलहरु संसद्‌को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्‌को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौँ । सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा सङ्घर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौँ ।’ विगतमा अघि बढाइएका गिरीबन्धु टी(स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गा लगायतका भ्रष्टाचारका फाइलहरू सरकारले बन्द गरेको सात दलको आरोप छ ।

आज विपक्षी दलहरुको बैठक, लगत्तै संयुक्त पत्रकार सम्मेलन

काठमाडौं ।  विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो ।  बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ ।  दिउसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको हो ।  यसअघि बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो ।  यो बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो । 

बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ: प्रचण्ड

चितवन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुग्नुभएका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो- ´बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अली विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु।´  उहाँले बोटे समुदायको प्रगति भएको बतउनुभयो ।उहाँले भन्नुभयो- `तपाइहरु जो नदीको तीरमा बसेर डुङ्गगा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरुलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाइहरुको समुदायको प्रगति हो । यसलाई अझै बढाएर लैजानुपर्छ ।´ चितवनको माडी नगरपालिका १ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको समुद्घाटनका लागि माडी पुग्नुभएका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले बोटे समुदायका अगुवाहरुसँग संक्षिप्त कुराकानी गर्नुभएको थियो । बोटे समुदायका अगुवाहरुले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए । अध्यक्ष प्रण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बोटे समुदायको राजधानीको रुपमा चिनिने यो गाउँमा पुगेर उहाँले बोटे संस्कृतिसँग साक्षत्कार गर्नुभएको थियो ।

बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाको भूमिका निर्वाह गरेर हाल जेल जीवन बिताइरहेका बेचन झालाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका झालाई सर्वोच्चले रिहा गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण सरकारसँग सोधेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि झा उच्च अदालत पुगेका थिए । हाल कारागार कार्यालय जगन्नाथदेवलमा रहेका झा उच्च अदालत पाटनले पनि जिल्लाकै आदेशलाई सदर गरिदिएपछि झा सर्वोच्चमा पुगेका थिए। उच्च अदालतका न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको निर्णय सदर गरेको थियो । झालाई नक्कली शरणार्थी प्रकरणमा २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बिहीबार बेचनलाई रिहा गर्न अस्वीकार गर्दै सरकारसँग कारण मागेको हो । बेचन झाले यही पुस ४ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले गत पुस ५ गते कैफियत प्रतिवेदन माग गरेको थियो । त्यसपछि झाले बुधबार बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

बालेनको कटाक्ष -'टुँडिखेल र खुल्लामन्च पनि एमाले-कांग्रेसका कार्यकर्तालाई दिने अध्यादेश पास भएछ'

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी अध्यादेश जारी भएकोमा सत्तारू दल एमाले र कांग्रेसप्रति तिव्र असन्तुष्टि जनाएका छन्।  राष्ट्रपतिले भूमि सम्बन्धी अध्यादेश जारी गरेको केही समयपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बालेनले असन्तुष्टि जनाएका हुन्। शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई।’ यसअघि राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गर्न अस्वीकार गरेका थिए ।  तर राष्ट्रपति पौडेलले बुधबार साँझ भूमिसम्बन्धी अध्यादेश प्रधानमन्त्रीको अनुरोधमा जारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सच्याउने प्रतिबद्धता जनाएपछि राष्ट्रपति पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका हुन्।

देउवाले किन बोलाए कांग्रेसका मन्त्रीहरु बुढानीलकण्ठ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई आज बुढानीलकण्ठस्थित निवास बोलाएका छन् ।  मन्त्रीहरुसँग सामूहिक छलफल गर्न  उनले विहीबार (आज) बिहान ८ बजे बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरुलाई बोलाएका हुन् । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । सोही तालिका अनुसार देउवाले मन्त्रीहरुसँग छलफल गर्न लागेको बताइएको छ । बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरुलाई पनि बोलाइएको छ ।

समाजवादी मोर्चाले माघ १६ गते वृहत कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले  माघ १६ गते वृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार आलोकनगरमा बसेको मोर्चाको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै कार्यदल सदस्य खड्गबहादुर विश्वकर्माले यो कार्यक्रमले बाहिर सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।  समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराए । कार्यदलले माघ १० गतेदेखि १२ गतेभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नितालाई बुझाउने विश्वकर्माले जानकारी दिए । यसैगरी सरकारको गतिविधिबारे गम्भीर छलफल भएको उनले बताए । ‘ओली सरकारले ल्याएको अध्यादेशबारे गम्भीर छलफल भएको छ । जननिर्वाचित संसद् छ । तर सरकारले संसद् छलेर भटाभट अध्यादेश ल्याएको छ । यसबारे गम्भीर छलफल भएको छ’, उनले भने ।  आजको बैठकमा सुरुमा मोर्चाको गतिविधि आम जनतामा निकै उत्साहजनक रहेको तर  पछिल्लो समय अगाडि बढाउन गति धिमा भयोबारे समीक्षा भएको उनले बताए ।

सरकारले संसद्को नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलहरूको तयारी

काठमाडौं । सरकारले संसद्को नियमित संसद् अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बसेको विपक्षी पाँच दलको बैठकले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेको हो ।  बैठकको निर्णयबारे जानकारी दिँदै माओवादीको उपमहासचिव वर्षमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाए । पुनका अनुसार संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय भएको जानकारी  दिए ।  ‘सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक गरिरहेको छ ।  ओलीमा स्वेच्छाचारी ढङ्गले शासन गर्ने विगतको प्रवृत्ति थियो । अलिकति सच्यो कि भनेको फेरि त्यही दोहोरिएको छ । महँगी बढेको छ । अनियमितता बढेको छ । यस्तो अवस्थामा नियमित अधिवेशन बोलाउन विपक्षी दलले माग गरेको छ । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्नेर्छौं’, पुनले भने ।  बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरू पछिल्लो राजनीतिक अवस्था, संसदमा विपक्षी दलहरूको भूमिका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

नेपालमा खेल पर्यटनलाई प्रवर्धन गरेर लैजानुपर्छः अध्यक्ष प्रचण्ड

सिन्धुपाल्चोक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो संभावना भएकाले यसलाई प्रवर्धन गरेर लैजानुपर्ने बताउनुभएको छ । सिन्धुपाञ्चोकको सुकुटेमा आजदेखि सुरु भएको सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा पर्यटन विकासका लागि विश्वकै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै उहाँले यसमा खेलकुदलाई जोडेर लैजान सक्नु थप महत्वपूर्ण काम हुने बताउनुभयो । पर्यटकीय क्षेत्र सुकुटेमा राष्ट्रिय भलिबल सुरु हुनु खेल पर्यटनका लागि राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अन्य पर्यटकीयस्थलहरुमा पनि जहाँ जे संभावना हुन्छ, त्यसलाई अघि बढाएर लैजानुपर्ने बताउनुभयो । आफू तीनपटक प्रधानमन्त्री हुँदा खेल क्षेत्रको प्रवर्धनका लागि बढी नै मेहनत गरेको स्मरण गराउँदै उहाँले खेल देश र स्वास्थ्यका लागि भएकाले खेल क्षेत्रको जति विकास ग¥यो, समाज त्यति नै सभ्य, अनुशासित र जनता स्वस्थ हुँदै जाने बताउनुभयो । अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता प्रवर्धन गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न पनि खेल क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । आफूले क्रिकेट, फूटबल, कराँते लगायतका विभिन्न विधाका खेलको प्रवर्धनलाई महत्वका साथ लिएको उल्लेख गर्दै दोस्रो पटक प्रधानमन्त्री भएको बेलामा भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गराएको स्मरण गराउनुभयो । उहाँले यस क्षेत्रको भौतिक पूर्वाधारको विकास र राजनीतिक विकास अघि बढाउन निरन्तर मेहनत गरिरहेको बताउनुभयो । नेपालको ब्यापारिक इतिहासमा महत्वपूर्ण रहेको तातोपानी नाका भूकम्पपछि बन्द भएको र यो अब नखुल्ने हो कि भन्ने निकै चिन्ता बढेपछि आफूले चिनियाँ राष्ट्रपतिसँग तीनपटक वार्ता गरेको जानकारी दिंदै उहाँले राष्ट्रपतिकै चासोका कारण खुल्ने अवस्थामा पुगेको बताउनुभयो । आफूले यस क्षेत्रको विकासका लागि केही न केही भूमिका निर्वाह गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले हिजो मात्रै आफू सुकुटे पुगेपछि पनि पार्टीका स्थानीय नेता र जनप्रतिनिधिहरुले बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा सरकारको चासो नदिएको गुनासो गरेपछि भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई फोन गरेर ध्यानाकर्षण गराएको र अब सडक बन्नेतिर अघि बढेको बताउनुभयो । सुकुटेको पर्यटन प्रवर्धनका अभियान नै चलाएको उल्लेख गर्दै उहाँले पार्टीको स्थायी समिति बैठक एक हप्तासम्म चलाउनुका साथै पटकपटक आउने गरेको स्मरण गराउनुभयो । ‘हामीले पार्टी बैठकहुँदै सुरु गरेको यो अभियानका कारण आजसम्म आउँदा सुकुटे र सिन्धुपाल्चोकमा आन्तरिक पर्यटन प्रवर्धन नयाँ ढंगले अघि बढ्नु मेरा लागि पनि गर्वको विषय हो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अहिले सुकुटे कोरिडोरकै रुपमा व्यवसायको व्यापक विकास भएको छ । अब आधिकारिक र व्यवसायिक रुपमा सुकुटेलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्छ र त्यसका लागि मेरो पूरै सहयोग हुने छ ।’ कार्यक्रमका अन्य वक्ताहरुले सिन्धुपाल्चोकको सुकुटेलाई पर्यटकीय क्षेत्र स्थापित गर्न अध्यक्ष प्रचण्डले ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।