पूर्वाञ्चल र मध्यपश्चिममा उपकुलपति नियुक्त

पूर्वाञ्चल र मध्यपश्चिममा उपकुलपति नियुक्त

काठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् ।

उनले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलियालाई नियुक्त गरेका हुन् ।

कान्तिपुर मिडियाका अध्यक्ष पक्राउप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोसन पुरीले आज विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको भन्दै आपत्ति जनाएका छन् । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघ सरकारसँग माग समेत गरेको छ । यस्तो छ विज्ञप्ति कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति  महासंघको ध्यानाकर्षण  मितिः २०८१ जेठ ८ गते कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनालाई महासंघले गम्भीरतापूर्वक लिएको छ । सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ । कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले स्वीकार्दैन । यो घटनाबाट कुनै पनि प्रकारको प्रभावमा नपर्न तथा सत्यतथ्य समाचार प्रकाशन गर्ने कामबाट विचलित नभई अगाडि बढ्न कान्तिपुरको सम्पादकीय नेतृत्वसँग महासंघ साथमा रहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ ।  रोसन पुरी महासचिव

सिरोहियाको तर्फको रिट अध्ययन गर्दै सर्वोच्च

काठमाडौँ । एउटा रिट विचाराधीन रहेकै अवस्थामा पक्राउ पुर्जी खारेजीको माग गर्दै कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाका तर्फबाट सर्वोच्चमा फेरि अर्को रिट पुगेको छ।  रिट आइपुगेको र अध्ययनको चरणमा रहेकाले दर्ता हुने नहुने पछि निर्क्योल गरिने सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको टोलीले निणन्त्रणमा लिएको छ । उनले आफूले सर्वोच्चमा दायर गरेको रिट विचाराधीन अवस्थामा रहेकै बेला पक्राउ पुर्जी जारी भएको उल्लेख गर्दै खारेजीको माग गरेका छन्। उनका पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा खुलेर लागेका देखिएको छ।

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिहरूले आज गरेका भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। भेटमा प्रधानमन्त्रीले समानीकरण अनुदान संवैधानिक अधिकार भएकाले यसलाई कटौती गर्नेबारे सङ्घीय सरकारले कुनै सोच नराखेको बताए। प्रधानमन्त्री प्रचण्डले भने, “समानीकरण अनुदान प्रदेश र स्थानीय सरकारको संवैधानिक अधिकार हो । अर्थतन्त्रको दवाव पुरै हटिसकेको छैन । तर, जस्तोसुकै दवाव भए पनि समानीकरण अनुदान काटिँदैन । यसमा सङ्घीय सरकार प्रष्ट छ ।” छलफलमा अर्थमन्त्री वर्षमान पुनले समानीकरण अनुदान कटौती गर्ने कुनै सोच नभएकाले अनावश्यक भ्रममा नपर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले भने, “सङ्घीय सरकार अर्थतन्त्रको दवावमा छ । सञ्चित कोष ऋणात्मक नै छ । तर, जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि समानीकरण अनुदान काट्दैनौँ । बरू, प्रदेश र स्थानीय सरकारमा खर्बौँ रकम डिपोजिटमा बसेको छ । त्यसलाई खर्च गर्नुस् । प्रदेश र स्थानीय सरकारको पुँजीगत खर्च बढाउनुस् ।” भेटमा नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिहरूले अर्थतन्त्रको दवावलाई ख्याल गर्दै समपुरक अनुदानमा पुनर्विचार गर्नेबारे आफूहरू लचक भएको बताउँदै समानीकरण अनुदान कटौती नगर्न ध्यानाकर्षण गराएका थिए ।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो ।  सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए।  पक्राउ अघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाएका थिए ।  सिरोहियाले आफू अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार रहेको प्रस्ट पारेका छन् । तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उनको भनाइ छ । सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हुने सिरोहियाले जनाका छन् । यी सब बिचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि नहट्ने उनको दाबी छ ।  यसैबीच सिरोहिया आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् ।जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उक्त निर्णयविरुद्ध सिरोहियाले रिट निवेदन पेश गरेको र दर्ता प्रक्रियामा रहेको सर्वोच्चका सह प्रवक्ता गोविन्द घिमिरेले बताए ।  सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । उक्त नागरिकता प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । प्रहरीको अनुरोधपछि जिल्ला अदालतले पुर्जी जारी गरेपछि उनी त्यसलाई रोक्न सर्वोच्चमा रिट दायर गरेका हुन् ।  उनले सर्वोच्चमा रिट दायर गरि कारण देखाऊ आदेश समेत गरेर अवस्थामा पक्राउ पुर्जी जारी गरिएको र पक्राउ पुर्जी जारी हुनुपर्ने कारण नै नभएको दाबी रिटमा गरिएको छ। 

लोकप्रिय