सरकारको आफ्नै क्रियाकलापले आयु घटाइरहेको छ, धेरै टिक्दैनः अध्यक्ष प्रचण्ड


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको आयु धेरै लामो नभएको बताउनुभएको छ । 
मंगलबार प्रेस सेन्टर सिन्धुपाल्चोकले सुनकोशीस्थित सुकुटे बिचमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

वर्तमान सरकार अप्राकृतिक रुपले बनेकाले यसको आयु लामो नभएको उहाँले बताउनुभयो । सरकारको आफ्नै क्रियाकलापले आयु घटाइरहेको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर गत असार ३० गते बनेको वर्तमान सरकार ढाल्न माओवादीलगायतका दलहरूले बल गर्नै नपर्ने बताउनुभयो । 

‘यो सरकार टिकिहोस् भन्ने हाम्रो चाहना हुँदैन । तर, यो अप्राकृतिक भएका यो ढलि नै हाल्छ, हामीले बल नै गर्न पर्दैन । यसको आयु धेरै छ जस्तो मलाई लागेको छैन’– उहाँले भन्नुभयो– ‘यसबारे मैले मिति तोक्न मिल्दैन । हामी गम्भीर रुपले घटनाक्रम नियालिरहेका छौँ । अहिले जसरी सरकार चलिरहेको छ, यसले आफ्नो आयु आफैँ छोट्याउँदैछ भन्ने मलाई लाग्छ ।’

सत्तारुढ कांग्रेसभित्रै सरकारप्रति जबरजस्त रुपमा असन्तुष्टि चुलिएको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसको संस्थापन समूहका नेताहरूको पनि असन्तुष्टि बाहिर आउनु सरकारका लागि गम्भीर खतराको विषय भएको बताउनुभयो । 
उहाँले माओवादी यो सरकार गिराएर तुरुन्तै नयाँ निर्माणतर्फ जाने पक्षमा नरहेको बताउनुभयो । ‘माओवादी अहिले जनताबीचमा गएर संगठन सुदृढ गर्ने अभियानमा छ’– उहाँले भन्नुभयो– ‘स्थानीय तहदेखि नै भेला र सम्मेलन भइरहेका छन् । हाम्रो अभियानलाई जनताले राम्रो मानेका छन् ।’

सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका नवनिर्वाचित कार्य समितिलाई सम्मान गर्नुभएको थियो ।

रवि लामिछाने फेरि प्रहरीको हिरासतमा

काठमाडौं । कास्की प्रहरीको हिरासतबाट छुटेका रास्वपा सभापति रवि लामिछाने ७२ घण्टा नबित्दै काठमाडौं प्रहरीको हिरासतमा पुगेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत बिहिबार धरौटीमा छुटेका लामिछानेलाई फेरि प्रहरी हिरासतमा लगिएको छ । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण सम्बन्धि मुद्दाको थुनछेक बहस नसकिएकाले उनलाई पुनः हिरासतमा लिइएको हो । आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको अपरान्ह ३ बजेसम्म बयान लिइएको थियो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान लिएर थुनछेक बहस अघि बढाइएकोमा इजलाशले न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो । लामिछानेका कानुन व्यवसायीहरूले प्रहरी हिरासतमा नपठाएर परिवारको जिम्मामा छाड्न माग गरेका थिए । लामिछाने आफैंले पनि आजै बहस सकिदिन वा परिवारको जिम्मा लगाउन माग गरेकोमा इजलाशले कसैलाई थुन्ने र कसैलाई छाड्ने आदेश गर्न नमिल्ने भन्दै हिरासतमा पठाउन आदेश दिएको हो । थुनछेक बहसमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस गरेका थिए । थुनछेक बहस भोलि पनि हुनेछ ।

रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने

काठमाडौं ।  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले शुक्रबार उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो। अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका हुन्। उनीसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन्। लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। प्रतिवादी लीला पछाईँले भने बिहीबार धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ। अदालतमा दश दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश आएको हो। यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ। धरौटीमा रिहा भएका प्रतिवादीको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार खनालले बताएको छ।

कास्की जिल्ला अदालतबाट रवि लामिछाने रिहा

काठमाडौं  । जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उनलाई काठमाडौ जिल्ला अदालतमा आफै उपस्थित हुने गरी रिहा गरिएको छ ।  कास्की जिल्ला अदालतले मुद्दा चलेका अन्य जिल्लामा आफै उपस्थित हुने गरि लामिछानेलाई परिवारको जिम्मा लगाएको हो ।  कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगीमा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको  थियो । न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात प्रतिवादीको थुनछेक बहस हुँदै आएको थियो ।  सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा लामिछानेमाथि मुद्दा दायर भएको थियो। त्यसैगरी कास्की जिल्ला अदालतले अन्य आरोपीहरू छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, आरति गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न आदेश भएको छ। छविलाल जोशी हकमा ८८ लाख, ​पछाईसँग ३७ लाख, रामबहादुरसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मीना गुरुङसँग ५ लाख र आरति गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ।

शान्ति प्रक्रियालाई पूर्णता दिन सडक दबाब आवश्यक हुनसक्छः प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई पूरा गराउन सडकमा जाने अवस्था आउनसक्ने बताउनुभएको छ। राज्यद्वारा बेपत्ता यौद्धा राजेन्द्र ढकालको २६ औं स्मरण दिवसको अवसरमा परिवारले आयोजना गरेको ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । शान्ति प्रक्रियालाई राजनीतिक सहमतिकै आधारमा टुंग्याउनुपर्छ भनेर निरन्तर लागिरहेको उल्लेख गर्दै उहाँले केही राजनीतिक शक्तिहरुले यसलाई माओवादीविरुद्ध प्रयोग गर्ने हतियारको रुपमा लिएका कारण टुंगिन समस्या भएको बताउनुभयो । ‘अघिल्लो संसदकै बेलामा विधेयक टुंग्याउनका लागि भएको थियो तर अन्तिममा समस्या आयो’– उहाँले भन्नुभयो– ‘यसपटक विधेयक टुंगिएर पनि आयोग गठनका लागि सिफारिस समिति बनेको बेलामा अन्तिम समयमा आएको समस्या आएको छ, यसको मुख्य कारण राजनीतिक नै हो । शान्ति प्रक्रियालाई माओवादी कमजोर बनाउने अन्तिम हतियारको रुपमा लिएकाले नै यो नटुंगिएको हो । अब विस्तारै दबाब बढाउन यो विषय सडक र सदनमा लैजानुपर्छ भन्ने लागेको छ । हाम्रो पार्टी पीडितहरुको पक्षबाट नेतृत्व गर्न तयार छ ।’ उहाँले पीडितहरुले पटकपटक यो विषयलाई उठाइरहनुपर्ने र पीडितहरु पनि सडक आन्दोलनमा तयारीमा जुट्नुपर्ने बताउनुभयो । पीडितहरुले सरकार र राजनीतिक नेतृत्वलाई अब त शान्ति प्रक्रिया नटुंग्याए बर्बाद हुन्छ भन्ने ठाउँमा नपुर्याएसम्म अर्को १८ वर्ष यत्तिकै जाने खतरा रहेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले दबाब बढ्दै गयो भने शान्ति प्रक्रिया चाँडै टुंगिने तर दबाब पुगेन भने राजनीति हावी भएर पीडितका भावनाको जहाँको त्यही रहने खतरा रहेको बताउनुभयो । बाह्र बुँदे समझदारी र शान्ति सम्झौता संविधानको अंग भइसकेपछि अब संविधान कार्यान्वयन गर्नु राज्यको दायित्व भएको स्मरण गराउँदै उहाँले यसमा गम्भीर हुन सरकारलाई आग्रह गर्नुभयो । उहाँले चाँडै अन्य प्रमुख दलका शीर्ष नेताहरुसँग भेट गरेर यो विषयको ध्यानाकर्षण गराउने र रोकिएको प्रक्रिया अघि बढाउन आग्रह गर्ने जानकारी दिनुभयो ।  शान्ति प्रक्रिया लम्बिनुका धेरै कारण रहेको र अहिले ती कारणका पोका खोल्ने पक्षमा आफू नरहेको उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष प्रचण्डले आफू युद्ध र क्रान्तिको नेतृत्वकर्ता तथा शान्ति सम्झौताको हस्ताक्षरकर्ता हुनुको नाताले छिटोभन्दा छिटो यो विषय टुंगियोस् भन्ने प्रयासमा रहेको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा पटकपटक पीडितहरुलाई बोलाएर छलफल गरेको स्मरण गराउँदै उहाँले जसरी सोचेको हो, त्यसरी टुंगिन नसकेको बताउनुभयो ।   उहाँले पटकपटक आफूलाई बहुमत र अल्पमतको आधारमा शान्ति प्रक्रियासँग जोडिएको विधेयक टुंग्याउन आग्रह गरिए पनि त्यसलाई इन्कार गरेको जानकारी दिंदै भन्नुभयो– ‘हामीले जसरी बाह्र बुँदे समझदारी र शान्ति सम्झौतामा सहमति गरेका छौं, त्यसैको मर्म र भावनाअनुसार नै यसलाई टुंग्याउनुपर्छ । यसबाट बिचलित भयौं भने कहिल्यै पनि टुंगिदैन भनेर नै यसमा निरन्तर सहमतिको प्रयास भइरहेको छ ।’ तत्काली जिल्ला बार एसोसियशन गोरखाका अध्यक्ष रहनुभएका ढकाललाई सुरक्षाकर्मीले २०५५ पुस २४ गते तुनहुँबाट गिरफ्तार गरी बेपत्ता पारेका थिए । बेपत्ता यौद्धा ढकालकी श्रीमती विमलादेवी  घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण छोरी मञ्जिमा ढकालले गर्नुभएको थियो ।      

यस्ता छन् माओवादी केन्द्रको केन्द्रीय समितिबाट पारित समसामयिक प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।  जो यस यसप्रकार छन्ः  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिको छैठौ पूर्ण बैठक (पौष २१–२३ २०८१)बाट पारित समसामयिक प्रस्तावहरुः   यो बैठक, १. संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताका निम्ति नेपाली जनताद्वारा सञ्चालित ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन लगायतका राजनीतिक एवं सामाजिक आन्दोलनहरुका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते अपाङ्गप्रति उच्च सम्मान प्रकट गर्दछ र उहाँहरुका आदर्शलाई पछ्याउदै अगाडी बढ्ने दृढ संकल्प व्यक्त गर्दछ ।   २. हालै कीर्तिशेष हुनुभएका हाम्रो पार्टीका केन्द्रीय सदस्य नेपाल सरकारका पूर्वमन्त्री पदम राई (भोजपुर), जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य पार्वती दुलाल (कन्चनपुर), लक्ष्मण यादव (सप्तरी), तुलसा बुढाथोकी (रूकुम पश्चिम) र इन्द्रविलाश पौडेल (चितवन)प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ तथा राष्ट्र, जनता, आन्दोलन र पार्टीको हितमा उहाँहरुले पुर्याउनु भएको योगदानप्रति कदर एवं सम्मान व्यक्त गर्दछ । ३. गत मङ्सिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा विजयी हुनुहुने नेकपा माओवादी केन्द्रका सबै सदस्यहरुसहित नेकपा (माओवादी केन्द्र)सँगको सहकार्यमा विजयी सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछ र उक्त निर्वाचनमा सहयोग, समर्थन र मतदान गर्ने मतदाताहरुप्रति आभार व्यक्त गर्दछ। ४. सार्वभौम संसदलाई छलेर अध्यादेसमार्फत राज्य संचालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृतिको घोर बिरोध गर्दछ र तत्काल संघीय संसद र प्रदेशसभाहरुको हिउँदे अधिवेशन आव्हान गर्न सरकारसँग जोडदार माग गर्दछ । साथै, संघीयताको कार्यान्वयन र मौलिक हकको कार्यान्वयनसँग सम्बन्धित निजामती सेवा, संघीय प्रहरी ऐन, बिद्यालय शिक्षा लगायतका  प्रस्तावित बिधेयकहरु तत्काल पारित गर्न ध्यानाकर्षण गराउँदछ । ५. सरकारको तर्फबाट नेपाल बिद्युत प्राधिकरण, त्रिभुव विश्वविद्यालय लगायतका सार्वजनिक संस्थानहरु र कर्मचारीतन्त्रमा भइरहेको चरम राजनीतिक हस्तक्षेपको, तीब्र बिरोध गर्दछ र यस प्रकारका स्वेच्छाचारी क्रियाकलाप बन्द गर्न जोडदार माग गर्दछ । ६. शान्ति प्रक्रियाका बाँकी कामहरु सम्पन्न गर्ने सन्दर्भमा देखिएको सरकारी उदासिनताप्रति आपत्ति प्रकट गर्दछ र तत्काल सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका नागरिकहरुको छानबिनसम्बन्धी आयोगहरुको गठन प्रक्रिया अगाडि बढाइ शान्ति प्रक्रियाका बाँकी कार्य सम्पन्न गर्न जोडदार माग गर्दछ । ७. जनताको दैनिक उपभोग्य बस्तुहरुमा भएको मूल्यबृद्धिको कारण जनजीवन थप कष्टप्रद बन्दै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दछ र  तत्काल मूल्यवद्धि नियन्त्रण गर्न सरकारसँग जोडदार माग गर्दछ । किसानहरुले उत्पादन गरेको कृषि उपजको न्युनतम समर्थन मूल्य तोक्न तथा औपचारिक क्षेत्रका श्रमिकहरुको ज्याला वृद्धिका साथै अनौपचारिक क्षेत्रमा कार्यरत मजदूरहरुको न्यूनतम ज्याला निर्धारण गर्न सरकारसँग जोडदार माग गर्दछ । ८. हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न बजेटमा प्रस्तावित त्रिभुज आर्थिक परियोजना, दलित समुदायको संविधानप्रदत्त अधिकार कार्यान्वयनका लागि प्रस्तावित दलित बिशेष प्राधिकरण स्थापना, द्वन्द्वबाट प्रभावित जनताका लागि अघि सारिएको शान्ति कोष, प्रवासबाट स्वदेश फर्किएर उद्यमशीलता प्रवर्धनको उद्देश्य राखेर बजेटमा उल्लेखित रिटर्नी उद्यमशीलता कार्यक्रम, रेमिट हाईड्रो, कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वबिद्यालयको स्थापना, कर्णाली तथा हिमाली क्षेत्रको समृद्धि लगायत दूरगामी महत्वका आयोजनाहरुलाई तत्काल कार्यान्वयन गर्न जोडदार माग गर्दछ।  ९. काठमाडौं उपत्यका लगायतका बाढी प्रभावित जिल्लाहरुमा अस्थायी आवास, आवासहरु, सरकारी कार्यालयहरु तथा बिद्यालय भवनहरुको  पुनर्निर्माण तथा पुनर्स्थापनाका काम यथाशीघ्र अगाडि बढाउन जोडदार माग गर्दछ । गत वर्ष जाजरकोट र बझाङ केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित जिल्लाहरुमा अस्थायी आवास निर्माणको अन्तिम किस्ताको भुक्तानी गर्ने व्यवस्था अहिलेसम्म नहुनु सरकारको गैरजिम्मेवारीपूर्ण व्यवहार भएको ठहर गर्दछ र तत्काल भूकम्प प्रभावित क्षेत्रहरुमा पुनर्निर्माण तथा पुनर्स्थापनाको काम यथाशीघ्र अगाडि बढाउन जोडदार माग गर्दछ। साथै, यो बैठक जलवायु परिवर्तनको प्रभावसँगै तराई मधेशका जिल्लाहरुमा बढ्दो शीतलहर र हिमाली जिल्लाहरुमा हिमपातको कारण उत्पन्न हुनसक्ने जोखिमबाट सुरक्षित रहन आम जनसमुदायसँग विशेष अपिल गर्दछ । प्रकोपको जोखिम, रोकथाम र न्यूनीकरणका लागि आवश्यक तयारी तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गर्दछ । साथै जलवायु परिवर्तनका असरहरूको व्यवस्थापनमा हाम्रो पार्टी नेतृत्वको सरकारले थालेको अन्तर्राष्ट्रिय पहलकदमी र राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको माग गर्दछ। १०. सहकारी ठगी कारवाही सन्दर्भमा सत्ता गठबन्धन निकट व्यक्तिहरुलाई संरक्षण गर्ने सरकारको पूर्वाग्रही र भेदभावपूर्ण रवैयाको बिरोध गर्दछ। सहकारी क्षेत्रमा देखिएको अनियमितता र ठगीको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारवाही गर्न र सहकारी पिडितडहरुको बचत रकम फिर्ता गर्ने व्यवस्था मिलाउन तथा लघुवित्त पीडितहरूका माग सम्बोधन गर्न जोडदार माग गर्दछ । ११. सुशासन र सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा देखिएको सरकारी उदासिनताप्रति चिन्ता ब्यक्त गर्दछ । भ्रष्टाचार नियन्त्रण लगायत सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्दछ । १२. सामन्तवादको पीडादायी अवशेषको रुपमा रहेको मिटरब्याजको समस्या समाधान गर्न कानुन निर्माण, उच्चस्तरीय आयोग गठन र जिल्ला प्रशासन कार्यालयहरुमा मिटरब्याज पीडितहरुलाई सम्मिलित गरी सहजीकरण समिति गठनमार्फत हाम्रो पार्टी नेतृत्वको सरकारले अघि बढाएको छानविन र न्याय निरुपणको काम बन्द भएकोमा गम्भीर आपत्ति प्रकट गर्दछ । हाम्रो पार्टी मिटरब्याज पीडितहरुलाई न्याय दिने कार्यलाई अघि बढाउन सरकारसँग जोडदार माग गर्दै पीडिततहरुको पक्षमा निरन्तर संघर्ष गरिरहने दृढ प्रतिबद्धता व्यक्त गर्दछ । १३. हाम्रो पार्टी प्यालेस्टेनी जनताको आत्मनिर्णयको अधिकार सहितको स्वतन्त्र एवम सार्वभौम राज्यको मागलाई उचित ठहर गर्दछ र संयुक्त राष्ट्रसंघको ‘दुई राज्य समाधान’को प्रस्तावलाई समर्थन गर्दछ । इजरायलबाट गाजा क्षेत्रमा भइरहेको नरसंहारको भर्त्सना गर्दै पश्चिम एशिया र मध्यपूर्व लगायत विभिन्न क्षेत्रमा बढ्दै गैरहेको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दछ । वार्ताद्वारा शान्तिपूर्ण ढंगले समस्या समाधानको लागि सम्बद्ध सबै पक्षलाई आह्वान गर्दै हमास समूहले कब्जामा लिएका विपिन जोशीको रिहाई एवं मध्यपूर्व लगायतका ठाउमा रहेका लाखौ नेपालीहरुको सुरक्षाको सुनिश्चितताका लागि थप कूटनीतिक पहल बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । १४. देशका विभिन्न भागमा देखिएका सीमा सम्बन्धी समस्याहरू समाधानका लागि कूटनीतिक पहल थप प्रभावकारी बनाउन माग गर्दछ।   १५. देशका विभिन्न क्षेत्रमा महिला तथा बालबालिकामाथि भएका हिंसाका घटनाको भत्र्सर्दै गर्दै हाम्रो पार्टी दोषीहरुमाथि कडा कारवाही, पीडितहरुको कानुनी उपचारको सुनिश्चिता तथा महिला एवं बालबालिकामाथि हिंसा अन्त्य गर्न सरकारसँग माग गर्दछ।  १६. बेलायती सेनामा काम गरेका नेपालीहरूले लामो समयदेखि समान तलब, समान पेन्सन र सुविधाका लागि आएका मागप्रति ऐक्यबद्धता व्यक्त गर्खछ । साथै बेलायत सरकारसँग कूटनीतिक पहल गर्न सरकारसँग माग गर्दछ।

माओवादी केन्द्रको निर्णयः छ महिना अभियान, अर्को छ महिनापछि महाधिवेशन

 नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले आगामी एक वर्षभित्र महाधिवेशन गर्ने निर्णय गरेको छ ।  बैठकले अब पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संष्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको छ । छ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष प्रचण्डले घोषण गर्नुभयो । अभियानबाट व्यापक रुपमा जनताको सुझाव आउने भएकाले छ  महिने अभियान पनि अन्तत: महाधिवेशनकै तयारी हुने उहाँले स्पष्ट गर्नुभयो । माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ। बैठकले सबै नेताहरुले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताहरुको एक हप्ताभित्र कार्यविभाजनलाई  अन्तिम रुप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो।  बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ। समितिले चाडै एकता वार्ताको पहल गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको पार्टी रुपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको एतिहासिक आवश्यकता  शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ। सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिनुभएको थियो।

केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुङ्गा: प्रचण्ड

काठमाडौ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक बताउनुभएको छ । पार्टीको तीन दिनसम्म चलेको  बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उहाँले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताउनुभएको हो। बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एक रुपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताउनुभयो । बैठकका निर्णय कार्यान्वयनमा जादा समाजवादी क्रान्तिको लागि कोशेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रम भङ्ग गरेको उहाँले स्पष्ट गर्नुभयो । अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एकै दिन सुरु भएर एकै दिन सकिएको माओवादी केन्द्र र एमालेको बैठकलाई देश दुनियाँले हेरेर मूल्यांकन गर्ने अवसर पाएको उल्लेख गर्दै आफ्नो पार्टीले अरुलाई गालीगलौज होइन, आफ्नो पार्टीको मात्र होइन देशकै आगामी मार्गचित्र स्पष्ट गरेको बताउनुभयो ।  उहाँले दुबै पार्टीका बैठकबक्ट जनताले माओवादी र एमालेबीच को सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा छ ?  को आन्तरिक लोकतन्त्रको पक्षमा र को निरंकुश रहेछ भन्ने राम्रोसित तुलना गर्ने अवसर पाएको बताउनुभयो । ´एमालेले  विवादित विषयमा आलोचना गर्नेमाथि  कारबाही र निष्कासन गरेर बैठकको सुरुवात गर्यो भने हामीले पार्टीभित्र उठेका मतलाई देशैभरि परामर्श बैठकमार्फत उच्च लोकतन्त्रको अभ्यासमार्फत बैठक आयोजना गरेर उच्च जनवादको अभ्यास गरेका छौं`_ अध्यक्ष प्रचण्डले भन्नुभयो- ´यी दुई पार्टीका बैठकबाट एमालेलाई वुर्जुवा पुँजीवादी पार्टी र माओवादी केन्द्रलाई वैचारिक निष्ठासहितको समाजवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीको रुपमा थप स्थापित गर्ने अवसर प्राप्त भयो ।´  अध्यक्ष प्रचण्डले अब अभियानमार्फत व्यापकरुपमा जनताको बीचमा गएर महाधिवेशनमा जाने बताउनुभयो । उहाँले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई उहाँले सकृय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रुपमा बैठकमा सहभागी गराएको जानकारी दिदै अन्य नेताहरुको कार्यविभाजन गर्दा उहाँको पनि गरिने बताउनुभयो ।

माओवादी केन्द्रको बैठकः दोस्रो दिन ८० जनाले राखे धारणा

काठमाडौं । कपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले पार्टीलाई एकतावद्ध बनाएर जानुपर्ने बताएका छन् । काठमाडौंमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठकको दोस्रो दिनको छलफलका क्रममा उनीहरूले पार्टी सरकारबाट हटेपछि जनतामा जाने ऐतिहासिक अवसर आएको बताएका हुन् । उनीहरू सरकारबाहिर रहँदाको खाली समयमा पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सोमबारको बैठकमा पार्टी महाधिवेशनको मितिसहितको कार्यतालिका तोक्नुपर्नेमा अधिकांश नेताहरूले जोड दिएका छन् । उनीहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन वैज्ञानिक र वस्तुवादी रहेकाले स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्ने धारणा राखेको प्रवक्ता सापकोटाले बताए । बैठकमा १८० जनाले बोल्न नाम टिपाएको थिए । दोश्रो दिन ८० जनाले धारणा राखे । बैठक मंगलबार बिहान ११ बजेसम्मलाई स्थगित भएको प्रवक्ता सापकोटाले बताएका छन् ।

माओवादी केन्द्र केन्द्रीय समिति बैठकः आजदेखि राजनीतिक प्रस्तावमाथि छलफल

काठमाडौं । हिजोदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति बैठकमा आजदेखि राजनीतिक प्रस्तावमाथि छलफल सुरु हुने छ ।  हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । आज ११ बजेदेखि सुरु हुने दोस्रो दिनको बैठकमा छलफल सुरु हुने महासचिव देब गुरुङले जानकारी दिनुभयो । बोल्न चाहने जति बैठकमा सहभागीहरुले बोल्न पाउने छन् र सबैका लागि तीन मिनेटको समय तोकिएको छ । हिजो अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकको प्रस्ताव पेश गर्नुभएको थियो । उहाँले सरकारमा रहँदा पार्टीले भ्रष्टाचारविरुद्धको अभियान लगायतका विषयमा लिएका सकारात्मक पहल एवं सरकारबाट बाहिरिदै गर्दा गम्भीर आत्मसमीक्षासहित उत्पीडित वर्ग समुदायलाई गरिएको अपिलको परिणाम आज पार्टीप्रति जनतामा नयाँ आशा पलाएको संश्लेषण सुनाउनुभएको थियो । जनतामा पलाएको यो आशा पार्टीका लागि चुनौती र एउटा अवसर बनेर अगाडि आएको उल्लेख गर्दै उहाँले बैठकले रुपान्तरण र पुनर्निर्माणको ठोस योजनासहित कार्यान्वयनको नयाँ सङ्कल्प लिन जरुरी रहेको बताउनुभएको थियो ।  उहाँले यो विशेष परिस्थितिमा पार्टी एकतालाई सुदृढ गर्नु, जनताका बीचमा गएर अभियानात्मकरुपले जनपरिचालनलाई नयाँ उचाईमा उठाउनु, संगठनलाई यथास्थितिबाट झिकेर अगाडि बढाउनु तथा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानलाई निरन्तर अगाडि बढाउनु आजको आवश्यकता भएको उल्लेख गर्दै अन्ततः आगामी महाधिवेशनमा पार्टीले गर्ने नयाँ वैचारिक संश्लेषणले नै सबै कुराको निधो गर्ने स्पष्ट गर्नुभएको थियो ।

माओवादी केन्द्र केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि काठमाडौंमा सुरु हुँदै छ । बैठक दिउँसो १ बजे धुम्बाराही स्थित एक ब्याङ्केटमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । त्यसको तयारीका लागि अहिले स्थायी समिति बैठक बसिरहेको छ । आज दिउँसो सुरु हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारीको समेत सहभागिता रहनेछ ।   

युवा नेता न्यौपानेको प्रश्नः कहाँनेर भेटिन्छन् प्रचण्ड शेरादरबारमा ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले विभिन्न सञ्चारमाध्यमले नुवाकोटको शेरादरबारमा तथ्यहिनरुपमा पार्टी अध्यक्ष प्रचण्डलाई जोडेमा आपत्ति जनाउँदै धमिलो पानीमा माछा मार्ने षड्यन्त्र नगर्न चेतावनी दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा बुँदागतरुपमा नै चिरफार गर्दै भन्नुभएको छ– ‘विभिन्न सञ्चार माध्यम र खासगरी लोकान्तरले प्रचण्ड कानूनी रुपमा उक्त जग्गा प्रकरणमा कहीँ कतै जोडिदैनन् भनेर लेखेकै छ त । अनि फेरि माओवादी र प्रचण्ड भनेर किन धमिलो पानीमा माछा मार्न खोजेको ?’ प्रस्तुत छ न्यौपानले गर्नुभएको शेरादरबारको चिरफारः १. विभिन्न सञ्चार माध्यम र खासगरी लोकान्तरले प्रचण्ड कानूनी रुपमा उक्त जग्गा प्रकरणमा कहीँ कतै जोडिदैनन् भनेर लेखेकै छ त । अनि फेरि माओवादी र प्रचण्ड भनेर किन धमिलो पानीमा माछा मार्न खोजेको ? २. कुनै तथ्य र प्रमाणविना कथा बनाएर मरिसकेको मान्छे (सीता दाहाल) ले पैसा दिएको भनेर आरोपित गर्नु कतैबाट पनि मिल्ने कुरा होइन । ३. गडबडी बरु कहाँबाट भएको देखिन्छ भने जग्गामा हदबन्दी लागेपछि १९ रोपनी छाडेर बाँकी १८१ रोपनी जग्गा ट्रष्ट गुठीमा नल्याई कम्पनीमा लैजाने प्रकृयामा हो ।  ४. स्वकीय सचिव भएकोबेला (२०६७÷०६८) मा विकेश श्रेष्ठले प्रचण्डको नाम भजाँएर वा शक्तिको दुरुपयोग गरि उक्त कम्पनीमा छिरेको भन्न सकिएला तर उक्त कम्पनीको जग्गा लिने उनी प्रथम व्यक्ति होइन भन्ने विषय पनि तलको लेनदेनको प्रक्रियामा प्रष्ट देखिन्छ । यद्यपि उनले गैरकानुनी रुपमा जग्गा र कम्पनी हत्याएका हुन् भने उनलाई कारवाहीको दायरामा ल्याउन पर्दैन कसले भन्छ ? ५. त्यसयता क. तत्कालीन अधिराजकुमार हेलेन शाह र विजया राज्यलक्ष्मी शाहीले २०२७ सालमा जग्गा खरिद गरेको । ख. जग्गामा  हदबन्दी लागेपछि १८१ रोपनी जग्गा गौरीशंकर कृषि फार्म (कम्पनी) मा लगेको । ग. २०३६ सालमा उक्त कम्पनी अन्नापूर्ण फार्मिङमा बदलिएको । घ. २०५२ सालमा नरेन्द्रलाल प्रधान र केदारनाथ श्रेष्ठलाई हेलेन र विजयाले बिक्री गरेको । ङ. २०५५ सालमा सजनी प्रधान, सोहिनी श्रेष्ठ र ध्रुवलाल सेरधनी भएर कम्पनीमा छिरेको । च. २०७२ सालमा विकेश श्रेष्ठ र अजय सूर्यवंशी कम्पनीको सेर किनी छिरेको । छ. २०८० सालमा उक्त कम्पनीको सबै सेर विकेश श्रेष्ठ र उनका छोरा मनोबल श्रेष्ठको नाममा आएको वा उनीहरुले किनेको देखिन्छ । फेरि माओवादी, फेरि माओवादी अध्यक्ष प्रचण्ड किन भनेको ? न कानुनी न त व्यावहारिक ढंगले कतै नभएको र नभेटिएको विषय फर्जी आरोप भएन र ?

संसद छलेर अध्यादेश ल्याउन खोजेकोमा माओवादी केन्द्रको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारले ढिलो गरेकोमा असन्तुष्टि पोखेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारको नियतमाथि असन्तुष्टि पोखेका हुन् ।  ‘संसद् अधिवेशन बोलाउन धेरै नै ढिला भएको छ । म सभामुख हुँदा समयमै अधिवेशन बोलाउने गरेको थिएँ । अहिले पुस १९ गते भइसक्यो सर्वथा बेठिक कुरा भइराखेको छ’, उनले भने, ‘सरकारको नियत राम्रो देखिएको छैन । सदन छलेर अध्यादेश ल्याउने बाटोमा सरकार गइरहेको छ । त्यो अध्यादेश पनि पार्टीहरूलाई विभाजन गर्नतिर रहेको छ । सरकारको यी गतिविधिले लोकतन्त्रमाथि गम्भीर समस्या हुँदैछ ।’ बैठकमा ३० जना स्थायी कमिटी सदस्य राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । उनीहरूले समसामयिक परिस्थिति, पार्टी रूपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनका बारेमा धारणा राख्नुभएको छ । सापकोटाले भने, ‘समाजवादी बिचारधारको विकासका लागि , सबै पालिकाहरूमा समाजवादका आधारशिला खडा गर्ने गरी तयारी गर्नुपर्नेमा नेताहरूको जोड छ ।’  बैठकमा प्रचण्डले देशका सबै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरी विभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सबै केन्द्रीय नेताहरू समेत सहभागी हुने बताए ।  स्थायी कमिटी बैठक शनिबार पनि निरन्तरता  दिइने  प्रवक्ता सापकोटाको भनाइ छ । पुष २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको छ ।

सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छः प्रचण्ड

काठमाडौं पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनुभएको हो । ‘हामीले आदर्शका कुरा त धेरैले गर्छौं तर व्यवहारमा कसले के गर्छ भन्ने महत्वपूर्ण हुन्छ । यसमा नियत र निष्ठा बढी महत्वपूर्ण हुने रहेछ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘के हामी भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक जसरी जानुपर्ने हो गएका छौं त ? नेपाली समाजले राजनीतिक दलहरु र सरकारबाट त्यो महसुस गरेको छ त ? यो गम्भीर प्रश्नको जवाफ दिनैपर्छ ।’ आफूले पछिल्लो पछिल्लोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारिताका साथ काम गरेको स्मरण गराउँदै उहाँले भन्नुभयो– ‘मैले सरकारमा रहँदा जे बोल्थे र गर्थें, अहिले सरकार बाहिर हुँदा पनि त्यही बोलेको छु । मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब विस्तारै जनताले बुझ्दै गएका छन् ।’ जहाँ भ्रष्टाचार भएको छ भन्ने जनताले आशंका गरेका छन् र सदनमा गम्भीर प्रश्न उठेका छन्, त्यहाँ राजनीतिक नेतृत्वको इमान्दारिता जनताले जाँच्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म यसका लागि आफ्नो पक्षबाट योगदान गर्न तयार छु ।  मैले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि लिएको संकल्पमा अहिले पनि दृढ छु, यसमा पत्रकारिता क्षेत्रको पनि साथ सहयोग चाहिएको छ ।’ नेपालको राजनीतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको स्पष्ट गर्दै उहाँले अहिलेको चुनौतीलाई सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताउनुभयो । ‘हिजोदेखि आजसम्म नेपाली पत्रकारिता क्षेत्रले सकारात्मक सूचना प्रवाहमा भूमिका निर्वाह गरेको छ, यो स्मरणीय छ । हिजो युद्ध, शान्ति र संविधान निर्माणको प्रक्रियामा यस क्षेत्रले खेलेको भूमिका अवस्मरणीय ठान्छु’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यो इतिहासमा राम्रैसँग दर्ज पनि भएको छ ।’ अहिलेको युगलाई नै सूचनाको युग भन्ने गरिएको उल्लेख गर्दै उहाँले डिजिटलाइजेसनले यो क्षेत्रमा धेरै अवसर र चुनौती ल्याएको बताउनुभयो । उहाँले विश्वव्यापी रुपमा गलत र भ्रामक सूचनाको सञ्जाल विस्तार भइरहेको बेलामा यसले सिर्जना गर्ने चुनौती सामना गर्ने दायित्व पत्रकार महासंघको काँधमा पनि रहेको बताउनुभयो । पत्रकारितामा पनि एकनासको अवस्था नरहेको उल्लेख गर्दै उहाँले थप्नुभयो– ‘श्रमिक पत्रकारका समस्या एकातिर रहेको छ भने अर्कोतिर ठूला मिडिया साउसहरुले कसलाई बदनाम गर्नुछ योजना नै बनाएर उद्देश्यमूलक रुपमा मेनोबोरिङ गर्ने गरेका छन् । यस्ता बदनियतपूर्ण प्रचारले पत्रकारितालाई बलियो नबनाउने भएकाले पत्रकार महासंघले यस्ता प्रवृत्तिका विरुद्ध पनि खबरदारी गर्नुपर्छ ।’

उपनिर्वाचनबाट पूर्वी नेपालले माओवादीलाई देशकै पहिलो पार्टी बन्ने संकेत गरिसक्योः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि भएको स्थानीय तहको उपनिर्वाचनमा आएको मतपरिणामबाट पूर्वी नेपालले माओवादीलाई पहिलो पार्टी बनाइसकेको उल्लेख गरेको यो आगामी निर्वाचनका लागि महत्वपूर्ण संकेत भएको बताउनुभएको छ । पार्टी प्रवेश, बधाई तथा उदयपुर जिल्लाका नेता कार्यकर्ताहरुसँग आज पार्टी कार्यालय पेरिसडाँडामा भएको भेटमा उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘यसपटकको उनिर्वाचनमा प्रदेश नम्बर १ मा जितेका स्थान र लोकप्रिय मत दुबै हिसाबले हाम्रो पार्टी पहिलो बनेको छ’– उहाँले भन्नुभयो– ‘वडा मात्रै होइन, यसपटक पहिले तेस्रो भएको स्थानमा गाउँपालिकामा नै अत्यधिक मतले विजयी हुनु निकै महत्वपूर्ण संकेत हो, अब पार्टीलाई एकताबद्ध बनाउँदै मेहनत गरेर जाने हो भने आगामी निर्वाचनमा देशभरि नै पहिलो पार्टी बन्ने आधार तयार भएको छ ।’ उदयपुरमा यसअघि हारेका दुई वटा वडामा अत्यधिक मतका साथ विजयी हुनु उल्लेख प्रगति भएको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले यसका लागि उदयपुरको पार्टी नेतृत्वलाई बधाई दिंदै मतदातालाई धन्यवाद दिनुभयो । ‘यो उपनिर्वाचनबाट हामी देशैभरि पनि तेस्रोबाट दोस्रोमा उक्लेका छौं, अब हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन’– उहाँले भन्नुभयो– ‘आजबाट निकै उत्साहपूर्ण रुपमा स्थायी समिति बैठक सुरु भएको छ, अब हामी स्थायी समितिहुँदै केन्द्रीय समिति बैठकबाट पार्टीलाई जनतासँग जोड्ने स्पष्ट कार्ययोजनासहित नयाँ उचाईमा उठाउने छौं ।’ आफूले गत भदौमा मोरङ, सुनसरी र झापाको भ्रमण गर्दा, उदयपुरको बेलकामा आयोजित पार्टीको परामर्श बैठक मात्र होइन, भर्खरै रुपन्देही, कञ्चनपुर र झापामा भएको उल्लासपूर्ण पार्टी प्रवेशले देशव्यापीरुपमा जनलहर बढ्दै गएको पुष्टि गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यो जनलहर २०८४ को जीतको लहर हो, सबैले एकताबद्ध भएर मेहनत गरौं फेरि पनि पार्टीलाई एक्लै लडेर पहिलो शक्ति बनाउन सकिने छ।’ सो क्रममा एकीकृत समाजवादी युवा संघ उदयपुरका अध्यक्ष खिलराज राई र तामाङ भाषाको चलचित्रका स्थापित कलाकार ऋतुराम पोख्रिन माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । त्यस्तै लामो समय माओवादी आन्दोलनमा रहेर केही समयअघि एमालेमा प्रवेश गर्नुभएका स्थापित नेता गञ्जु शेर्पाको दम्पत्ति पनि पुनः माओवादी केन्द्रमा समायोजन भएको छ । उहाँहरुलाई अध्यक्ष प्रचण्डले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष प्रचण्डले त्रियुगा १२ नवनिर्वाचित वडा अध्यक्ष नवीनकुमार वान्तवा राईलाई सम्मान गर्नुभएको थियो ।

पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउने छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणको क्षेत्रलाई महत्व दिइएको बताउनुभएको छ। जनसांस्कृतिक महासंघले आज गरेको कला संस्कृतिसँग सम्बन्धित विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीहरुसँगको भेटघाटमा उहाँले यस्तो जानकारी दिनुभएको हो। ‘आजदेखि निकै उत्साहपूर्णरुपमा पार्टी स्थायी समितिको बैठक सुरु भएको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामी रुपान्तरण र पुनर्निर्माणको अभियानमा जाँदैछौं, यो बेलामा सांस्कृतिक रुपान्तरणलाई महत्वका साथ अघि सारिएको छ ।’  पार्टीको स्थायी समितिहुँदै केन्द्रीय समिति बैठकबाट विभिन्न अभियानसहितको महत्वपूर्ण कार्ययोजना पारित गरेर जाने तयारी रहेको उल्लेख गर्दै उहाँले यसले पार्टीभित्रको सांस्कृतिक रुपान्तरणलाई नयाँ आयाम दिने भएकाले त्यही अनुरुप राजनीतिक प्रतिवेदनमा सांस्कृतिक पक्षलाई महत्व दिइएको बताउनुभयो । पार्टी र राज्यसत्ता दुबैमा सांस्कृतिक रुपान्तरणलाई महत्वका साथ हेरिनुपर्ने पनि उहाँले स्पष्ट गर्नुभयो । ‘राज्यसत्तामा अझै पनि एकीकृत, केन्द्रिकृत र एकल संस्कृतीय सोंच हावी छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीले जसरी राजनीतिक परिवर्तन गर्यौं, त्यसलाई संविधानमार्फत संस्थागत गर्यौं तर सांस्कृतिक रुपान्तरणको क्षेत्र राजनीतिक परिवर्तन र कानुन निर्माणबाट मात्रै संभव हुने कुरा होइन, यो आम मानिसको सोंच र चिन्तनसँग पनि सम्बन्धित हुने भएकाले सोंच र चिन्तन बदल्न अझै धेरै मेहनत गर्न आवश्यक छ ।’ पार्टीको तर्फबाट नियुक्त भएर विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगको जिम्मेवारीमा गएकाहरुले सुधारका लागि राम्रो प्रयासको थालनी गरेको उल्लेख गर्दै उहाँले यसलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो । त्यसका लागि पार्टीले नियमित छलफल र परामर्शका कार्यक्रम राख्दै जाने पनि उहाँले स्पष्ट गर्नुभयो । महासंघका अध्यक्ष भीम कुमाखीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीहरुले आफूहरुले गरेका सुधारका प्रयास र चुनौतीका बारेमा चर्चा गरेका थिए ।