सहिद साझा सम्पत्ति हुन्, सम्मान गर्नु राज्यको दायित्वः प्रचण्ड

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन संभव भएको र उनीहरु देशका साझा सम्पत्तिको रुपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ।

गोरखाको गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीन जना सहिद भएका नहर्की परिवारसँग भेट गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरु भएका छन्, तीमध्ये सबैभन्दा ठूलो र लामो समयसम्म चलेको आन्दोलन महान् जनयुद्ध हो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यसमा हजारौं जनताका छोराछोरीको रगत बगेको छ, यही रगतको जगमा नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सम्पूर्ण सहिदहरु देशका साझा सहिद हुन्, उनीहरुको सम्मान गर्नु राज्यको दायित्व हो ।’

पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरुको योगदानलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उहाँले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा जनयुद्धसहित आजसम्मका सबै आन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रुपमा स्थापित गरेको बताउनुभयो । यसमा छुटेका नामहरु निरन्तर सहिदको सूचिमा समावेश गरिने जानकारी पनि उहाँले दिनुभयो ।

सहिदको रगतका कारण आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा पार्टी निरन्तर जुटेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न अभियानात्मक रुपमा अघि बढ्ने जानकारी दिनुभयो । शान्ति प्रक्रियामा आएपछि केही समय आफ्नो वर्ग र समुदायका जनतासँगको नियमित सम्पर्कमा कमी आएको र त्यही क्रममा सहिद तथा बेपत्ता परिवारसँगको भेटघाट पनि पातलिन पुगेको स्पष्ट गर्दै उहाँले पछिल्लो केन्द्रीय समितिको बैठकले पार्टीलाई पुनः आफ्नै वर्ग र समुदायमा फर्काउने निर्णय गरेको र त्यसकै कार्यान्वयनमा आफूहरु पार्टी रुपान्तरण तथा पुनर्निर्माणको अभियान लिएर देशब्यापीरुपमा अघि बढेको जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले सरकारको काममा व्यस्त हुँदा आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा बढी ध्यान नदिन नसकेको उल्लेख गर्दै सरकारबाट बाहिरिएपछि त्यसलाई बढाइएको र अब निरन्तर आफ्ना मतदातासँगको घेटघाटमा आइरहने बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा गोरखामा पूर्वाधार निर्माण र जनताको जीवनस्तर रुपान्तरणमा सहयोग पुग्ने आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिंदै उहाँले यसको कार्यान्वयनमा ध्यान दिन स्थानीय पार्टी र जनसमुदायलाई आग्रह गर्नुभयो ।

null

सो क्रममा अध्यक्ष प्रचण्डले गोरखा नगरपालिका वडा नम्बर १४ गोप्लिङ निवासी सहिदहरुका बुवा नरबहादुर नहर्की र आमा लक्ष्मी नहर्कीसहित परिवारसँग भेट गर्नुभएको थियो । उहाँका छोरा गुप्तबहादुर नहर्की ‘ज्वाला’ २०५५ पुस १३ गते गोरखाको केराबारीमा, छोरीहरु सरस्वती नहर्की ‘विपना’ २०५६ वैशाख ८ गते गोरखाको बाक्राङ र कल्पना नहर्की ‘नमूना’ले २०५८ असार २३ गते लमजुङ बिचौरमा सहादत प्राप्त गर्नुभएको थियो ।

त्यसलगत्तै अध्यक्ष प्रचण्ड गोरखाको पालुङ्टार ८ स्थित घरमा पुगेका सहिद विरेन ओलियाका विरामी बुवा देवराज ओलियालाई पनि भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । सो क्रममा उहाँले सहिद परिवार र स्थानीयसँग साक्षात्कार गर्नुभएको थियो । 

गणतन्त्र जनताको बनाउने या वुर्जुवाको भन्ने संघर्ष सुरु भएको छ : अध्यक्ष प्रचण्ड

विराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र जनताको गणतन्त्र बनाउने या वुर्जुवाको भन्ने संघर्ष सुरु भएको बताउनुभएको छ । पार्टीको १ नम्बर प्रदेश समितिको प्रथम प्रदेश परिषद् बैठकलाई आज विराटनगरमा सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । जनयुद्धको उत्कर्षको रुपमा २०६२ सालमा भएको चुनबाङ बैठकमा पार्टीले गरेको विश्लेषण अनुसार नै अहिले यो संघर्ष सुरु भएको उहाँले स्पष्ट गर्नुभयो । उतिबेला अब नेपाल गणतन्त्रमा जान्छ तर वुर्जुवाहरुले आफूले चाहेजस्तो बनाउन प्रयास गर्ने छन् र हामी जनताको गणतन्त्र बनाउन प्रयास गर्ने छौं भन्ने विश्लेषण दस्तावेजमै आँकलन गरिएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अहिले मुलुक त्यही ठाउँमा आइपुगेको बताउनुभयो । काग्रेस र एमाले यतिबेला भ्रष्ट, दलाल र विचौलियाले चाहेजस्तो गणतन्त्रलाई आफूअनुकूल अघि बढाउन खोजेको, विभिन्न उत्पीडित समुदायले पाएको संविधानबाट अधिकार कटौती गर्न खोजिरहेको उल्लेख गर्दै उहाँले माओवादीले त्यसविरुद्ध संघर्ष गरिरहेको बताउनुभयो । विगतमा संविधान बनाउनैपर्ने बाध्यताले प्रत्यक्ष कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता जनपक्षीय एजेण्डामा सम्झौता गर्न पुगेको उल्लेख गर्दै उहाँले अब पार्टीले यी एजेण्डालाई पुनः अघि बढाउने संकल्प लिएको बताउनुभयो । दलाल, भ्रष्ट र विचौलियाको घेराबन्दी तोडेर अब सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डामा देशलाई गोलबन्द गर्दै उत्पीडित समुदाय र क्षेत्रले पाएका अधिकारलाई पूर्णता दिने र स्थानीय तहबाटै आत्मनिर्भर अर्थतन्त्रको जग बनाएर समाजवादको अभ्यास गर्ने पार्टी नीति रहेकाले यसमा सबै एकताबद्ध भएर अघि बढ्न पनि अध्यक्ष प्रचण्डले निर्देशन दिनुभयो । वुर्जुवाहरुको संगतका कारण आफ्नो पार्टीमा पनि केही कमीकमजोरी देखिएकाले त्यसलाई सच्याएर फेरि आफ्नै वर्ग र समुदायप्रति फर्कने पछिल्लो केन्द्रीय समिति बैठकले संकल्प लिएको उल्लेख गर्दै उहाँले यही संकल्पका आधारमा देशव्यापी जनतामा अपिल गर्दै पार्टी पुनर्निर्माण र रुपान्तरणको अभियान अघि बढाइने बताउनुभयो । फागुन १२ गतेदेखि सुरु हुने हुलाकी मार्गकेन्द्रित तराई मधेश जागरण अभियान र वैशाखमा सञ्चालन हुने मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम जागरण अभियानले पूरै देशलाई आफ्नो एजेण्डामा गोलबन्द गर्ने उल्लेख गर्दै उहाँले सबै नेताहरुलाई अभियानमा केन्द्रित हुन निर्देशन दिनुभयो ।  आफूले सरकारको नेतृत्व गर्दा गल्ती गर्दैन र गल्ती गर्दैनलाई छाड्दैन भन्ने उद्घोषणका साथ सुशासनको अभियानमा होमिएपछि जनतामा आशा पलाएको र सरकारबाट निस्केपछि त्यही अभियानलाई देशव्यापी बनाएकाले जनतामा नयाँ आशा पलाएको उल्लेख गर्दै दैनिक दिन बढिरहेको माओवादीप्रतिको आकर्षणलाई संगठनमा रुपान्तरण गरेर बलियो पार्टी निर्माणको अवसर प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसरी नै अघि बढ्ने हो भने अब २०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभयो ।  उहाँले अब पार्टी रुपान्तरणको अभियान पूर्वी नेपालबाट सुरु गरेकाले १ नम्बर प्रदेश समितिको बढी जिम्मेवारी र भूमिका आएको बताउनुभयो ।

भ्रष्टाचारविरुद्धको अभियान सदन र सडकबाट निरन्तर अघि बढाउँछौंः प्रचण्ड

झापा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र दमक नगर समिति झापाको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । आफूले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ सङ्कल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेण्डालाई लिएर देशब्यापी अभियान थालेको स्मरण गराउँदै उहाँले अब पार्टीले देशब्यापी अभियानको रुपमा यसलाई अघि बढाउने बताउनुभयो ।  ‘मैले सरकारको नेतृत्व गर्दा  भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक संकटबाट देशलाई मुक्त गरेर आर्थिक सुधारको वातावरण बनाउन जुन अभियान थालेको थिएँ, अब यो पार्टी र जनताको अभियान बनेको छ’– उहाँले भन्नुभयो– ‘यो निरन्तर अघि बढ्ने छ ।’  अहिले एकथरि शक्तिहरु संविधान कमजोर बनाउनतिर लागिरहेको पनि बताउनुभयो । ‘अहिलेका प्रधाननमन्त्री जतिबेला शक्ति पुग्नुहुन्छ, यो संविधान च्यात्न खोज्नुहुन्छ किनकि यो संविधान उहाँलाई मन परेको छैन । संघीयता र उत्पीडित समुदायले अधिकार पाएको उहाँलाई मन परेको छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘केही शक्तिहरु अहिले पनि कही न कही प्रतिगमन चाहन्छन् । हामी जनताको अधिकार अझै थप गर्नुपर्छ भन्ने पक्षमा छौं ।’  आफूले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सामान्तवादविरुद्ध ऐतिहासिक भूमिका निर्वाह गरेको पूर्वले अब समाजवादी क्रान्तिको अगुवाई गर्ने आफ्नो विश्वास रहेको पनि उहाँले स्पष्ट गर्नुभयो । ‘पूर्व यसै पनि सामन्तवादका विरुद्ध केन्द्रविन्दु रह्यो । विरानटगरको मजदूर आन्दोलन, झापा बिद्रोहहुँदै सामन्तवादका विरुद्धको आन्दोलनमा पूर्वका जनताको राजनीतिक चेतना र संघर्ष ऐतिहासिक छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर, यहाँका नेताहरुले कता कता पूर्वलाई धोका दिने गरेको यहाँहरुले नै महसुस गरिरहनुभएको छ, जसरी हिजो सामन्तवादका विरुद्ध पूर्वले लडाई लड्यो, अब भ्रष्टाचारविरुद्धको अभियान प्रभावकारी बनाउँदै समाजवादी क्रान्तिको लडाईको नेतृत्व गर्न पनि पूर्व तयार हुनेछ भन्ने विश्वास लिएको छु ।’ अध्यक्ष प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तरदक्षिण कोरिडोरको अवधारणा अघि बढाएको र दोस्रोपटक प्रधानमन्त्री हुँदा पहिचान पक्षधर शक्तिलाई विश्वासमा लिएर संविधान कार्यान्वयन गर्ने देशलाई १८ घण्टे लोडसेडिङबाट मुक्त गर्ने अभियानको नेतृत्व गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो । तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानसँगै नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत ब्यापार सम्झौता, दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता र सिमा समस्या समाधानदेखि चीनसँग आठ वटा परम्परागत नाका खोल्ने र कृषि उत्पादन वृद्धिका लागि समझदारी गर्ने काम अघि बढाएको उहाँले स्पष्ट गर्नुभयो ।  संयुक्त राष्ट्रसंघको महासभा, खाद्य सम्मेलन र जलवायु परिवर्तन सम्मेलनमा नेपाल र नेपालीको पक्षमा दृढताका साथ मत राखेको स्मरण गराउँदै उहाँले देशभित्र र देशबाहिर नयाँ रेकर्डहरु बन्न थालेपछि यी अभियान मन नपरेर दलाल, भ्रष्ट र बिचौलियाहरुले सरकार ढालेको स्पष्ट गर्नुभयो । अब सरकारबाट बाहिरिएपछि देशब्यापी जनताको बीचमा गएर सुशासनको अभियानको नेतृत्व गर्ने अवसर पाएको र यसले जनतामा माओवादीप्रति नयाँ आकर्षण सुरु भएको उहाँले स्पष्ट गर्नुभयो 

बेलुन पड्कदा घाइते अर्थमन्त्री र मेयर बर्न अस्पताल

काठमाडौँ। पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किदा पोखराका मेयर धनराज आचार्य र प्रमुख अतिथि रहनुभएका उपप्रधानमन्त्री एवं  अर्थमन्त्री विष्णु पौडेल घाइते हुनुभएको छ ।  घाइते हुनुभएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको छ । पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटनका क्रममा प्राविधिक आगो लागेपछि घाइते भएका उहाँहरुलाई प्रारम्भिक उपचार गरिएको थियो। त्यसपछि थप उपचार आवश्यक भएपछि उनलाई आजै काठमाडौँ ल्याएर कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको हो। भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो ।

सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छः प्रचण्ड

मकवानपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताउनुभएको छ । मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जबसम्म देशबाट भ्रष्टाचारको अन्त्य गरिदैन र सामाजिक न्याय स्थापित गरिदैन, त्यतिबेलासम्म राष्ट्रिय एकता कायम हुन सक्दैन र देश अघिबढ्न सक्दैन भन्नेमा देशव्यापी जनमत बलियो बन्दै गएको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘मैले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको छु । हाम्रो अभियान सफल बन्दै गएको छ।’ भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, राष्ट्रिय स्वाधीनताको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक समृद्धिको पक्षमा देशैभरि देखिएको चेतनाको लहर नयाँ आशाको किरण भएको पनि उहाँले स्पष्ट गर्नुयभो । उहाँले ‘यो सचेतना निकै महत्वपूर्ण छ । हामी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्ने छौं । यसमा सबै लामबद्ध हुन पनि आह्वान गर्न चाहन्छु ।’ नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापीरुपमा स्थापित गर्न खेलकुदको विकास महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले स्थानीय सरकारले यसमा ध्यान दिनु थप महत्वपूर्ण भएको बताउनुभयो । आफू प्रधानमन्त्री भएको बेलामा खेल पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि धेरै कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले खेलका कारण देशको प्रतिष्ठा उँचो बन्दै गएको बताउनुभयो । बागमती गाउँपालिकाले खेल पूर्वाधारलाई महत्व दिएर रंगशाला निर्माण गर्नुका साथै राष्ट्रिय खेलकुद आयोजना गरेकोमा उहाँले धन्यवाद पनि दिनुभयो । यसअघि अध्यक्ष प्रचण्डले पार्टीको बागमती गाउँपालिकामा कार्यलयमा स्थानीय नेता कार्यकर्तासँग भेटघाट गर्दै देशव्यापीरुपमा पार्टीप्रति आकर्षणको लहर सुरु भएकाले यसलाई संस्थागत गर्दै अघि बढाउन आग्रह गर्नुभयो । जे भन्छ, त्यो गर्ने माओवादी नै रहेछ भन्ने जनतामा विश्वास बढ्दै गएको उल्लेख गर्दै उहाँले जनताको आशा र विश्वासमा कमी आउन नदिने गरी योजना र कार्यक्रम अघि बढाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीका लागि आएको यो महत्वपूर्ण अवसर भएकाले अब पार्टीका लागि दायाँबायाँ गर्ने छुट नभएको उहाँले स्पष्ट गर्नुभयो । जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकामा जीत हात पार्ने गरी अघि बढ्न निर्देशन गर्नुभयो । माओवादीले नेतृत्व गरेका पालिकाहरुले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै उहाँले पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमूना बनाउने गरी पार्टीले केन्द्रले योजना अघि सारेको बताउनुभयो । त्यस्तै अध्यक्ष प्रचण्डले सहिद परिवारसँग पनि भेटघाट गर्नुभएको थियो । उहाँले आजै झापाको दमकमा हुने जनसभा तथा पार्टी प्रवेश र विराटनगरमा हुने पार्टीको प्रदेश बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यसम्पादन मूल्यांकन : भरतपुर लगातार तीन वर्ष उत्कृष्ट

चितवन । कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य ६ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो ।  यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तीन वर्षसम्म उत्कृष्ट भएको छ । महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आर्थिक वर्ष  २०८२–०८३ मा संघीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान (कार्यसम्पादनमा आधारित) अनुदान वृद्धि भएर जानेछ । आयोगले विभिन्न १७ वटा सूचकको आधारमा मूल्यांकन गर्दा महानगरपालिकाअगाडि आएको हो । ती सूचकहरूमध्ये पालिकाले गरेको खर्च, बेरूजु, लेखा परीक्षणले औँल्याएको बेरूजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेकोलगायतका सूचकमा मूल्यांकन गर्ने गर्छ ।  अर्यालका अनुसार भरतपुर महानगरले ७६.२ प्रतिशत, विराटनगर महानगरले ७३.५ प्रतिशत, ललितपुर महानगरले ६६.७ प्रतिशत, काठमाडौं महानगरले ५४।३ प्रतिशत, पोखरा महानगरले ५१ .५ प्रतिशत र वीरगन्ज महानगरले ४३.१ प्रतिशत अंक प्राप्त गरेका छन् । चितवन जिल्लाका सात पालिकामध्ये पनि भरतपुर महानगर पहिलो स्थानमा छ । रासस

अध्यादेश अड्किएपछि सत्तापक्षले बोलायो बैठक

काठमाडौं । सत्तापक्षीय दलको बैठक बस्दै छ। शुक्रबार राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गराउने विषयमा छलफल गरेका कांग्रेस एमालेले आज    सोहि विषयमा छलफल गर्न आजको बैठक बोलाइएका हुन् । बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूको सहभागिता थियो । एकै सातामा संयन्त्रको यो तेस्रो बैठक हो । सरकारले ल्याएका ६ वटा अध्यादेश संसदका दुवै सदनबाट स्वीकृत गराउनुपर्ने भएपनि पनि बहुमत नभएका कारण सरकार संकटमा छ । ती अध्यादेश सदनमा पेस भइसकेका छन् । सरकारलाई समर्थन गरिरहेका दुई दल जसपा नेपाल र लोसपाले अध्यादेशमा समर्थन नगर्ने भनेका छन् ।

कांग्रेस एमालेको ध्यान संविधान संशोधनमा होइन, उल्ट्याउनमा केन्द्रित छः प्रचण्ड

दोलखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमालेको नेतृत्व संविधान संशोधन गर्नेमा होइन, संविधान च्यातेर जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको बताउनुभएको छ । ३० औं जनयुद्ध दिवस तथा माओवादी केन्द्र जिरी नगरपालिका दोलखाको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘एमाले नेतृत्व र कांग्रेसका एकथरिले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी देख्ने गरेका छन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘महिला, दलित, जनजाति, मधेशी, मुश्लिम, थारु आदि उत्पीडित समुदाय र क्षेत्रले पाएको अधिकार बढी भएको ठानेका छन्, त्यसैले उनीहरु संविधान संशोधन होइन, कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउन चाहन्छन् ।’ दुई दुई पटक संविधान मिचेर संसद विघटन गरेको घटना यसकै उपज रहेको स्मरण गराउँदै उहाँले अहिले पनि यो प्रवृत्ति र प्रयास नरोकिएको बताउनुभयो । ‘मलाई सरकारबाट हटाउँदा संविधान संशोधनलाई मुख्य एजेण्डाको रुपमा अघि सारिएको थियो तर अहिले आएर प्रधानमन्त्रीले नै २०८७ मा मात्रै संविधान संशोधन हुने भन्न थालेका छन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यसबाट उनीहरु संविधान संशोधनमा इमान्दार छैनन् भन्ने देखिन्छ ।’ विगतमासंसद विघटन गर्दा लाखौं जनतालाई सडकमा ल्याएर संघर्ष गरेपछि संविधान मिच्ने प्रयास असफल भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘अहिले उनीहरुले चारैतिर घेरा हालेर संविधान च्यात्ने र जनताले पाएको अधिकार खोस्न खोजिरहेका छन् तर हामी भने यसलाई अझै समृद्ध बनाउन र जनताका अधिकार थप्न चाहन्छौं । प्रतिक्रियावादीहरुको षड्यन्त्र विरुद्ध जनतालाई एकताबद्ध गरेर संविधानको रक्षा र थप अधिकार सुनिश्चित गर्न चाहन्छौं।’ हिजो संविधान बनाउनैपर्ने बाध्यताका कारण आफ्ना मुद्दाहरुलाई फरक मतको रुपमा राखेर सम्झौतामा अघि बढेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताउनुभयो । यसबाट मात्रै राजनीतिक स्थायित्व कायम हुने सबै वर्ग र समुदायले पनि थप राजनीतिक अधिकार प्राप्त गर्ने बताउनुभयो । आफूले तेस्रोपटक प्रधाननमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको ऐतिहासिक अभियान थालनी गर्न पाएकोमा गर्व महसुस भएको बताउनुभयो । ‘त्यही अभियानअन्तर्गत राजनीतिक र प्रशासनिक निकायका उच्च पदमा रहेकाहरु पनि भ्रष्टाचारको आरोपमा कारवाहीमा पर्दै गए’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘भ्रष्टाचार रहँदासम्म देश अघि बढ्न सक्दैन भनेर नै यो अभियान थालिएको हो ।’ उहाँले सामाजिक न्याय अन्तर्गत बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सामाजिक सुरक्षा कोष कार्यान्वयन, मिटरब्याज पीडितलाई न्याय र नागरिकताविहीनलाई नागरिक प्रदान गर्ने कानुन निर्माण लगायतका महत्वपूर्ण कामको थालनी गरिएको बताउनुभयो । कमजोर बन्दै गएको अर्थतन्त्रको पुनरुत्थानका लागि थालिएको प्रयास स्वरुप अहिले मुलुकको अर्थतन्त्रमा सुधार आइरहेको पनि उहाँले स्पष्ट गर्नुयभो । उहाँले आफू प्रधानमन्त्री हुँदा भारत र चीन भ्रमणमा गएको बेलामा विद्युत व्यापार, कृषि उत्पादन वृद्धि लगायतका विभिन्न सम्झौता गरिएको उल्लेख गर्दै उहाँले चीनसँगका विभिन्न परम्परागत नाका खोल्ने सहमति पनि गरिएको जानकारी दिनुभयो । आफूले तीनपटक चिनियाँ राष्ट्रपतिसँग छलफल गरेपछि भूकम्पपछि रोकिएको कोदारी राजमार्ग सञ्चालन लगायतका प्रक्रियाहरु अघि बढेको पनि उहाँले स्पष्ट गर्नुभयो । आफूले राष्ट्रिय अन्तर्राष्ट्रिय पहल बिचौलिया र दलालहरुलाई मन नपरेर आफूलाई सरकारबाट हटाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा काम गर्ने र विना मेहनत करोडौं लुट्नेहरुले आफूअनुकूल सरकार बनाएको बताउनुभयो । ‘मलाई हटाएको कांग्रेस र एमालेका नेताहरुले भन्दा पनि दलाल, भूमाफिया र बिचौलियाहरुले हो’– उहाँले भन्नुभयो– ‘उनीहरुले कांग्रेस र एमालेका प्रमुख नेताहरुलाई आफ्नो घरमा बोलाएर सरकार परिवर्तन गरेको जनताले स्पष्टसँग बुझिसकेका छन् ।’ भ्रष्टहरुलाई अब यो भन्दा बढी लुट्ने छूट दिन नसकिने उल्लेख गर्दै उहाँले नेपाली जनताले एकताको तागत देखाउने बेला आएको बताउनुभयो । हिजो जनताको पक्षमा लड्दा राज्यले हिंसाको बलमा सिध्याउन खोजेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामी जनताको बलबाट नै संघीय लोकतान्त्रिक गणतन्त्रमा आएको हो, कसैको दया मायाँले यहाँ यो व्यवस्था आएको होइन ।’ नेपालको मिनी स्वीटजरल्याण्ड भनेर चिनिने जिरी नेपालको महत्वपूर्ण पर्यटकीय स्थल रहेको उल्लेख गर्दै उहाँले यहाँको भाषिक र सांस्कृतिक महत्व पनि उत्तिकै मौलिक र उच्च रहेको बताउनुभयो । सो क्रममा अध्यक्ष प्रचण्डले विभिनन पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको थियो ।    

त्रिदेशीय विद्युत ब्यापार सम्झौता नेपालका लागि कोशेढुंगाः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगा भएको बताउनुभएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग आज भएको भेटमा उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय कमकक्षीसँग त्रिदेशीय विद्युत व्यापारको सहमति गर्नुभएको थियो । ‘भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो’– उहाँले भन्नुभयो– ‘हामीले जलविद्युत उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेश लगायतलाई देशलाई विक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौं ।’ भारतहुँदै बंगलादेशमा विद्युत निर्यात गर्ने र भारतलाई दश वर्षमा दश हजार मेगावट विद्युत विक्री गर्ने सम्झौता तथा चीनमा विद्युत निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उहाँले यसका लागि विद्युत उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । तर, अहिले सरकारले विद्युतको विकासभन्दा पनि भएका संरचनालाई प्रभावित गर्ने गरी हस्तक्षेप बढाएको टिप्पणी उहाँले गर्नुभयो । उहाँले इप्पानले विद्युत उत्पादनमा महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गर्नुयभो । आफूले सरकारको नेतृत्व गर्दा ऐनको बाधा, राष्ट्रिय निकुञ्ज ऐन २०२९ र वनका विभिन्न मुद्दा सम्बोधन हुने गरि अध्यादेश ल्याएका ल्याए पनि अदालतले रोकेकाले यसका लागि थप लविङको आवश्यकता रहेको पनि उहाँले स्पष्ट गर्नुभयो । इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत विकासमा अध्यक्ष प्रचण्डको योगदान महत्वपूर्ण रहेको औल्याउँदै उहाँको पालामा त्रिदेशीय विद्युत ब्यापार सम्झौता, निजी क्षेत्रसँग २८ हजार मेगावाट विद्युत उत्पादनको सहमति, लोडसेडिङ अन्त्य ऐतिहासिक कार्य भएको बताउनुभयो ।  उर्जा विधेयक संसदमा छलफल हुन थालेको जानकारी दिंदै उहाँले पहिले ५० वर्षको लाइसेन्स हुने व्यवस्था रहेकोमा अहिले ३५ वर्ष प्रस्ताव गरिएको र अहिले थुप्रै फाइल थन्किएकाले यसमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा सहजीकरण गरिदिन अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभयो ।

देशलाई आत्मनिर्भरताको अभियानमा केन्द्रित गर्नुपर्ने बेला आएको छः प्रचण्ड

गुल्मी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको अभियानमा केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभएको छ । गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटटमा निर्मित सहिद शमशेर स्मृति पार्क समुद्घाटन तथा सहिदहरुको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। जनयुद्ध र जनआन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि मुलुकमा एक चरणको राजनीतिक क्रान्ति संस्थागत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब जनतालाई समृद्ध र देशलाई आत्मनिर्भर बनाउने अभियानको थालनी गर्नुपर्ने बताउनुभयो । ‘एकथरिले मुलुकमा केही भएका छैन भन्ने गरेका छन् त्यसो होइन, गणतन्त्र स्थापनापछि धेरै क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको छ’– उहाँले भन्नुभयो– ‘तर, जनताको उत्पादन क्षमतामा वृद्धि नहुँदा जनताले महसुस गर्ने गरी परिवर्तनको अनुभूति गर्न सकिरहेका छैनन्, अब हामी सिंगो मुलुकलाई एकताबद्ध गरेर राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रुपमा अघि बढाउनुपर्ने बेला आएको छ ।’ हजारौं युवाहरु बिदेश जाने र रेमिट्यान्सबाट देश चलाउने अवस्था रहेको उल्लेख गर्दै उहाँले देशभित्रै रोजगारी सृष्टि गरेर बिदेश जान बाध्य युवाहरुलाई पुनः स्वदेशकै फर्काउने गरी सबै तहका सरकारले योजना बनाउनुपर्ने र त्यसमा पनि मूलतः कृषि उत्पादन वृद्धिका लागि स्थानीय सरकारहरुले योजनाबद्ध पहल थाल्नुपर्ने बताउनुभयो । ‘हामी जति जतिसक्दो धेरै उत्पादन वृद्धि गरी रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्न चाहन्छौं’– उहाँले भन्नुभयो– ‘अब हामीले राजनीतिक रुपमा पनि समाजवादउन्मुख अर्थतन्त्रको निर्माणमा जोड दिन चाहेका छौं, हिजो जसरी राजनीतिक क्रान्तिलाई अभियानकै रुपमा अघि बढाउँदा सफलता प्राप्त भयो, अब त्यसरी नै आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रुपमा बढाउनुपर्ने बेला आएको छ ।’ स्थानीय तहबाट उत्पादन वृद्धिका कार्यक्रम सुरु गर्ने गरी पार्टीले योजनाबद्ध पहल थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकको राजनीतिक प्रतिवेदनमै स्थानीय विशेषतामा आधारित उत्पादन वृद्धिका कार्यक्रममार्फत राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासलाई जोड दिएको बताउनुभयो । ‘हामीले ५० वर्षअघि खाद्यान्न निर्यात गथ्र्यौै तर अहिले आयातमा गर्ने अवस्थामा पुगेका छौं’– उहाँले भन्नुभयो– ‘आफ्नो खेतबारी बाझो छाडेर बिदेश जाने प्रवृत्ति बढ्दै गएको छ, यसको मुख्य कारण उत्पादन वृद्धिमा राज्यको योजनाबद्ध पहल नुहनु नै हो । अब हामी फेरि आत्मनिर्भरताको अभियानमा केन्द्रित हुनुपर्ने बेला आएको छ । खाद्यान्न आयात होइन निर्यात गर्ने दिन फर्काउनुपर्ने बेला आएको छ ।’ कृषि र कृषिजन्य उत्पादनसँगै शिक्षा क्षेत्रलाई देशमा आवश्यक जनशक्ति उत्पादनमा केन्द्रित गर्नुपर्ने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो । हामीकहाँ केही पनि छैन भनेर नयाँ पुस्तालाई अध्ययनदेखि रोजगारीमा समेत बिदेश जानुपर्छ भन्ने परनिर्भर मानसिकताको विकास गराउन थालिकोमा चिन्ता व्यक्त गर्दै उहाँले आफ्नै माटोको उत्पादनलाई जोड दिने देशभक्तिपूर्ण भावनाको विकासका लागि पनि शिक्षा क्षेत्रले ध्यान दिनुपर्ने बताउनुभयो । अमेरिकाले थालेको आप्रवासी निष्काशन कार्यक्रम, मध्यपूर्वमा देखिएका तनाव आदिका कारण कुनै बेला हजारौं नेपालीहरु बैदेशिक रोजगारी छाडेर नेपाल फर्कने अवस्था आउनसक्ने आँकलन गर्दै अध्यक्ष प्रचण्डले त्यसका लागि समेत हामी तयारी अवस्थामा बस्न आवश्यक रहेको बताउनुभयो । आफू प्रधानमन्त्री भएको बेलामा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग र उत्तरदक्षिण कोरिडोरको अवधारणा अघि सारेको उल्लेख गर्दै यी परियोजनाबाट गुल्मी लगायतका जिल्ला लाभान्वित हुन थालेको उहाँले बताउनुभयो । आफू पछिल्लोपटक प्रधानमन्त्री हुँदा सालझण्डी–ढोरपाटन सडकमा पनि राम्रो बजेट छुट्याएको स्मरण गराउँदै उहाँले सबै गाउँपालिका केन्द्र जोड्ने सडकका लागि पनि आफूले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिनुभयो ।   ‘प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण बजेट बढाउनुपर्छ’ आजै अध्यक्ष प्रचण्डले गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन ज गर्नुभएको थियो । सो कार्यक्रममा उहाँले प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण बजेट बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले प्रदेश र स्थानीय तहलाई दिदैँ आएको समानीकरणको बजेट कटौती गर्न लागेकोमा आपत्ति जनाउनुभयो । यो रकम बढाउनुपर्नेमा घटाउनु सरकारको उल्टो बाटो भएको टिप्पणी गर्दै उहाँले अहिले संविधान कार्यन्वयनको चरणमा रहेकाले प्रदेश र स्थानीय तहलाई अझ प्रभावकारी बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले अहिले सार्थकता पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डलेसुविधा सम्पन्न भवनबाट जनतालाई दिने सेवा  सहज र सरल रुपमा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।  विकास निर्माणका कार्यहरुमा सबै दल एकै ठाउँ बस्नुपर्ने उल्लेख गर्दै उहाँले स्थानीय तहहरुमा यो काम अझ महत्वपूर्ण रहेको र गुल्मीमा यसको राम्रो अभ्यास देख्दा खुशी लागेको बताउनुभयो । सो क्रममा अध्यक्ष प्रचण्डले मालिका गाउँपालिकाले निर्माण गरेको हेलिप्याड पनि उद्घाटन गर्नुभएको थियो । हेलिप्याड तथा पार्कको उद्घाटन गर्दै उहाँले पालकै नमूना हेलिप्याड बनेकोमा खुसी व्यक्त गर्नुभयो ।  

जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने बताउनुभएको छ । ३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो’– उहाँले भन्नुभयो– ‘यसले आज मात्र होइन, सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ । यसलाई कसैले मेटाउन संभव छैन, जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ ।’ जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो । ‘हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छौं । यसको मुख्य प्रेरणा जनयुद्ध नै हो’– उहाँले भन्नुभयो– ‘हामी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा छौं ।’ जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यतालाई एकथरि तत्वले अस्वीकार गर्ने र जनताका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले यी सबै प्रयास असफल पार्न आफूहरुले निरन्तर अग्रगमनका लागि संघर्ष गरिरहेको बताउनुभयो । ‘अहिले पनि दुई वर्ग र प्रवृत्तिका बीचमा संघर्ष चलिरहेको छ । हामीले धेरै वर्ष पहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि प्रतिक्रियावादीहरुले जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आँकलन गरेका थियौं, आज त्यही स्थिति बनेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘एकथरि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा लागिरहेका छन् तर हामी यसलाई समाजवादी गणतन्त्रमा लैजान चाहन्छौं । यो संघर्ष चलिरहेको छ ।’ विगतमा भएका कतिपय कमजोरीको आत्मसमीक्षा गर्दै पार्टी हामी फेरि पनि यो देशका आम श्रमजीवी वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुश्लिम लगायत उत्पीडित समुदाय र क्षेत्रको एजेण्डामा फर्केको उल्लेख गर्दै उहाँले पछिल्लो समय सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा गरिएको ऐतिहासिक थालनीलाई जनताले सकारात्मक रुपमा ग्रहण गरिरहेको बताउनुभयो । आफ्नो वर्ग र समुदायतर्फ फर्कदै जनताका एजेण्डालाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेका उल्लेख गर्दै उहाँले यसले पनि जनतामा सकारात्मक प्रभाव पर्दै गएको बताउनुभयो । अध्यक्ष प्रचण्डले जनयुद्धको तयारी, सञ्चालन, शान्ति प्रक्रिया, संविधान निर्माण र गणतन्त्र घोषणाको ऐतिहासिक नेतृत्व गर्ने अवसर पाउनु आफ्नाका लागि गर्वको विषय भएको उल्लेख गर्दै क्रान्तिकारी शक्तिलाई अझ बलियो बनाउन जनयुद्धका सहयात्री लगायत सबै कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताको अपिल गर्नुभयो । क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै प्रक्रियावादीका षड्यन्त्र बिफल बनाउने र जनताले देखेको क्रान्तिको सपना पूरा गर्न सकिने उल्लेख गर्दै उहाँले क्रान्तिकारी शक्तिहरुलाई एकता र ध्रुवीकरणका लागि आह्वान गर्नुभयो । राजनीति घोषणाको तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि जनताले प्रत्यक्ष देख्ने र भोग्ने गरी जनताको जीवन बदल्न नसकिएको उल्लेख गर्दै उहाँले तलैदेखि समाजवादी क्रान्तिको जग कसरी बसाउन सकिन्छ भनेर नयाँ सङ्कल्प गर्ने बेला आएको बताउनुभयो । ‘जनताको घर आँगनमा उज्यालो ल्याउने सङ्कल्प आजको मुख्य कार्यभार बनेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘भर्खरै सम्पन्न केन्द्रीय सम्पन्न बैठकले त्यस दिशातिर पार्टीलाई अघि बढाएको छ । म सबैलाई यो अभियानमा लाग्न अपिल पनि गर्दछु ।’  

समाजवादी क्रान्तिको तयारीमा जुट्न अध्यक्ष प्रचण्डको आह्वान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको तयारीमा जुट्ने पार्टी नीतिभित्र गोलबन्द हुन जनसमुदायलाई आह्वान गर्नुभएको छ । ३० जौं जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो ।  शुभकामना सन्देशको पूर्ण पाठ २०५२ फागुन १ गते, नेपाली जनताले सदियौँदेखिको उत्पीडन र शोषणका विरुद्ध विद्रोह सुरु गरेको दिन । हाम्रा लागि यो दिन नेपाली जनताको ऐतिहासिक संघर्ष र शहीदहरूको बलिदानको सम्मान गर्दै आगामी यात्राका लागि सङ्कल्प गर्ने दिन हो । महान जनयुद्धको यस ऐतिहासिक दिनमा म देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु । जनयुद्धका क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै, घाइते योद्धाहरूप्रति सम्मानसहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल ग¥यो भन्ने प्रश्न मनमा लाग्न सक्छ । यो प्रश्न गर्दा जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । यो देशमा सामन्ती शोषण थियो । एउटा वंश र त्यसको वरिपरि घुम्ने सामन्तहरूले जनताको भाग्यको फैसला गर्ने गर्दथे । दलित, महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु लगायतका वर्ग र समुदायमाथि चरम विभेद र उत्पीडन थियो । त्यो स्थितिमा टालटुल र सुधार गरेर समाजको आमूल रूपान्तरण सम्भव थिएन । यसका विरुद्ध प्रतिरोधको अनिवार्यता नै जनयुद्धका रूपमा प्रकट भएको हो। इतिहासमै पहिलोपटक युगौँदेखि दबाइएका दलित, जनजाति, मधेसी, थारु, महिला, मुस्लिम, सुदूरपश्चिम र कर्णालीबासी लगायत उत्पीडित समुदाय र क्षेत्रसहित आम जनता आफ्ना अधिकारको रक्षाका लागि संघर्षमा होमिए । जनताले यो स्तरको प्रतिरोध नगरेको भए हामी अहिले पनि सामन्ती शोषणमै हुने थियौं । राजनीतिक अधिकारदेखि समाजमा यो स्तरको चेतनाको विकास हुने थिएन । त्यसैले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना थियो, हामी यसमा गर्व गर्छौं । आदरणीय जनसमुदाय, जनताको यही प्रतिरोधका कारण आज राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । जनताले चुनेका प्रतिनिधिहरूबाट संविधान बनेको छ र शासनसत्तामा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित हुने बाटो खुलेको छ । सिंहदरबारमा मुट्ठीभर उच्च सम्भ्रान्त वर्गका हातमा रहेको शक्ति गाउँघरमा पुगेको छ । देशमा तीन तहको सरकारको स्थापना भएको छ । राज्यसत्तामा समानुपातिक समावेशिता सुनिश्चित भएको छ । धर्मनिरपेक्षता कायम भएको छ । आज शासनका हरेक तहमा महिलाहरूको प्रतिनिधित्व अनिवार्य भएको छ । दलितहरूको उपस्थिति सम्भव भएको छ। जनयुद्ध नभएको भए यसखालको अधिकारप्रतिको जागरण, प्राप्ति र यसको अभ्यास संभव थिएन । हामी एउटा विशिष्ट परिस्थितिमा शान्ति सम्झौतामार्फत शान्ति प्रक्रियामा सहभागी भयौं । यो हामीले गरेको नयाँ प्रयोग हो । इतिहासमै पहिलोपटक नेपाली जनताका अधिकार संविधानमार्फत संस्थागत गर्न सफल भयौं । राज्यको पुनःसंरचना गरियो । समृद्धि, न्याय र समानताका लागि आधार तयार भयो। यो जनयुद्धकै कारण सम्भव भएको हो । यो प्रक्रियामा हामीबाट कतिपय कमीहरू पनि भए तर हाम्रो नियतमा कहिल्यै खोट थिएन । हामी यथास्थितिमा बस्न चाहेनौं । हामी नेपाली जनता र नेपाली समाजको अग्रगमनका पक्षमा निरन्तर लागिरह्यौं । त्यसैले, हामी खुला हृदयका साथ आफ्ना कमजोरीको पनि समीक्षा गर्दै अघि बढिरहेका छौं ।  आदरणीय जनसमुदाय, आजको दिन हामीले के हासिल ग¥यौं र के गर्न बाँकी छ भन्ने समीक्षाको दिन पनि हो । हाम्रो संघर्षले व्यवस्था बदलियो तर जनताको अवस्था बदल्ने हाम्रो कार्यभार भने अझै पूरा भइसकेको छैन । दलितका अधिकारहरू संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै विभेद र उत्पीडन कायमै छ । महिलाहरू अझै पनि पूर्ण रूपमा सुरक्षित र स्वतन्त्र हुन सकेका छैनन् । संघीयता अझै संस्थागत भइसकेको छैन। समावेशिता साँचो अर्थमा उपेक्षित र उत्पीडित वर्गलाई राज्यको मूलधारमा ल्याउने गरी पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । आज हामी क्रान्तिको शान्तिपूर्ण मोर्चामा छौं । हाम्रा सामु जनविश्वास र जनमतको सम्मानद्वारा समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी छ । जनताप्रति इमानदार हुँदै, संघर्षबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समाजवादी क्रान्तिको तयारीमा लामबद्ध हुने ऐतिहासिक अभिभारा हाम्रो अगाडि छ । इतिहासले सुम्पेको यो कार्यभार पूरा गर्न सुशासन र सामाजिक न्यायसहितको समृद्धिका लागि एकजुट हुन म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।   

माओवादीले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षित गर्ने

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षित गर्ने भएको छ ।  पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको नीतिअनुसार प्रशिक्षित गराउने उद्देश्यका साथ भेला आह्वान गरिएको माओवादीले जनाएको छ।  फागुन १० गते काठमाडौँमा स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरिएको महासचिव देव गुरुङले जानकारी दिनुभयो ।  भेलामा पालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरुको सहभागिता रहने उहाँको भनाइ छ ।  देशमा उत्कृष्ट काम गर्ने पालिकाहरुमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि नै अगाडि रहेको उल्लेख गर्दै पार्टीको नीतिअनुसार जनप्रतिनिधिलाई प्रशिक्षित गर्न र सम्पूर्ण स्थानीय सरकारलाई ग्रामिण समाजवाद तर्फ अगाडि बढाउन उक्त कार्यक्रम गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं । आज बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेश गर्नुभएको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गर्नुभयो । बैठकमा नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ । आज राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले अहिले सरकारले ल्याएको अध्यादेशको विषयमा सबैतिर चर्चा रहेको उल्लेख गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सांसद सुरेशकुमार आलेमगरले देशमा इमान्दारिताको खडेरी लागेको बताउनुभएको छ । राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले देशमा इमान्दारिता आवश्यक रहेको बताउँदै देशलाई अगाडि बढाउन र समृद्धि ल्याउन उद्योगधन्दा, कलकारखाना विकास हुनुपर्नेमा जोड दिनुभयो । तर नेपालमा कलकारखाना, उद्यागेधन्दाहरुलाई हतोत्साही गर्ने प्रवृत्ति देखापरेको बताउनुभयो । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले अध्यादेश संवैधानिक भएकाले अस्वीकार गर्नुको कुनै कारण नरहेको बताउनुभएको छ । अध्यादेश संवैधानिक व्यवस्था भएकाले सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो । सांसद गेल्जेनले आफूलाई पायक पर्दा स्वीकार्ने, पायक नपर्दा अस्वीकार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनुभयो । राष्ट्रियसभाको अर्को बैठक आगामी फागुन ४ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

समाजवाद हाम्रै पालामा संभव छ : प्रचण्ड

महोत्तरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थित योजनाका साथ जाने हो भने समाजवाद निर्माण हाम्रै पालामा सम्भव रहेको बताउनुभएको छ। महोत्तरीको बर्दिबासस्थित आधारशीला जनकम्युनको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित वैचारिक तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। समाजवाद आकाशबाट खस्ने वा धर्तीबाट जन्मने नभई जनताले निर्माण गर्ने भएकाले यसका लागि सुव्यवस्थित अभियान र आन्दोलन भने आवश्यक रहेको बताउनुभयो । हरेक समुदायमा आफ्नै राजनीति, आफ्नै अर्थतन्त्र र आफ्नै संस्कृति भएको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपालमा समुदाय केन्द्रित समाजवाद नै उपयुक्त हुने धारणा राख्दै अध्यक्ष प्रचण्डले त्यसका लागि समुदायस्तरबाटै समाजवाद निर्माणको अभियान थाल्नुपर्ने बताउनुभयो। आफ्नो पार्टीले लामो बहसपछि भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकबाट समजावाद निर्माणका लागि स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणका काम थाल्ने निर्णय गरेको जानकारी गराउँदै उहाँले पहिले पार्टीले जितेका १२३ पालिकाबाट अभियानकै रुपमा काम थालिने र त्यसपछि ७५३ पालिकामा नै अभियान विस्तार गरिने बताउनुभयो । जनयुद्धको उत्कर्षमा देशभर जनसत्ता र जनकम्युन सञ्चालन गरेको स्मरण गराउदै उहाँले विगतका अभ्यासको अनुभवबाट सिकेर त्यसलाई परिस्कृत गर्दै अब सामाजिक सहकार्यका अभियान निर्माणमा पार्टीले योजना र कार्यक्रम बनाउने बताउनुभयो। अध्यक्ष प्रचण्डले पार्टी अब मधेशमा केन्द्रित हुने गरी कार्यक्रम बनाएको पनि जानकारी दिनुभयो। उहाँले फागुन १२ गतेदेखि हुलाकी मार्गकेन्द्रित जनतासँग माओवादी  तराई मधेश जागरण अभियान सुरु गर्ने जानकारी दिंदै यसले पार्टी र जनताबीचको सम्बन्धलाई नयाँ उचाईमा उठाउने विश्वास व्यक्त गर्नुभयो। मधेशी जनताको मुक्तिका लागि लड्ने नेतृत्वदायी पार्टी माओवादी रहेको, पछिल्लो १८ महिने सरकारमा नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदानका लागि कानुन बनाउने र सामन्तवादको अवशेषको रुपमा बाँकी रहेको मिटरब्याजपीडितको समस्या समाधानका ऐतिहासिक थालनी गरिएको बताउनुभयो। आम उत्पीडित जनताको मुक्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने आफ्नो पार्टी  भए पनि केही वर्ष यता पुराना शक्तिहरुसँगको सहकार्यले आफ्नो वर्ग र समुदायबाट टाढा हुँदै गएकाले अब पछिल्लो केन्द्रीय समिति बैठकपछि पार्टी पुनः आफ्नै वर्ग र समुदायमा फर्कने अभियानमा अघि बढेको बताउनुभयो । जनकम्युनको अभ्यास गर्न २०५९ माघ २५ गते सामाजिक रुपान्तरणका लागि सामूहिक अभ्यास भन्ने मूल नाराका साथ आधारशीला स्थापना भएको थियो। यो कम्युनमा हाल १६ परिवारको सामूहिक बसोबास र सहकार्य रहेको छ।

तराई मधेश  जागरण अभियानको तयारीमा जुट्न अध्यक्ष प्रचण्डको निर्देशन

महोत्तरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पार्टीले सुरु गर्न थालेको तराई मधेश  जागरण अभियानको तयारीमा जुट्न मधेश प्रदेशका नेताहरूलाई निर्देशन दिनुभएको छ।साथै, उहाँले मधेशमा माओवादी पार्टी बलियो रहेको पनि बताउनुभएको छ। माओवादी केन्द्र मधेश प्रदेशमा कार्यरत केन्द्रीय तहका सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो।  पार्टीले जनतासँग माओवादी तराई मधेश जागरण अभियान सुरु गर्न थालेको जानकारी दिँदै उहाँले फागुन १२ गतेदेखि सुरु हुने यो अभियान सफल हुँदा मधेशमा राम्रो आधार हुने बताउनुभयो । झापाबाट सुरु गरेर कन्चनपुरमा हुलाकी मार्ग केन्द्रित अभियान सकेपछि पहाड र हिमाली क्षेत्रलाई केन्द्रित गरेर मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम् जागरण अभियान सञ्चालन गरिने जानकारी दिदै अध्यक्ष प्रचण्डले दुबै अभियान सकिएपछि काठमाडौमा देशभरिको पहिचान झल्कने गरी भव्य प्रदर्शन र सभा गर्ने बताउनुभयो । अहिले विभिन्न जाति समुदायको अधिकार खोज्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले यी तीन वटै अभियान पूरा हुँदा नयाँ राष्ट्रिय एकता पैदा हुने र जनताको अधिकार खोस्न चाहने तत्वहरु पराजित हुने विश्लेषण सुनाउनुभयो। अभियानपछि केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको तयारीमा लाग्ने पछिल्लो केन्द्रीय समितिको बैठकको निर्णय स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब नेतृत्व चुनावबाटै निर्वाचित हुने भएकाले सबैलाई कार्यकर्ता र जनतासँग जोडिएर काम गर्न पनि निर्देशन दिनुभयो। पहिले मधेशमा माओवादी पहिलो पार्टीको रुपमा रहेको र अहिले पनि नेता कार्यकर्ताको संख्या तथा जनमतका हिसाबले बलियो रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सबै नेता कार्यकर्ताबीच बलियो एकता कायम गर्न सके फेरि पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो।