स्थानीय तह उपनिर्वाचनः उम्मेदवारको मनोनयन आज

काडमाडौं । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदै छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिइन् ।

उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता पोखरेलले जानकारी दिए । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदै छ । आयोगले २०७९ सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेका स्थानीय तहको रिक्त पदमा महिला उम्मेदवार रहनेगरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिएको छ ।

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता र प्रतिगमनतर्फ फर्कने कसरतका विरुद्ध परिवर्तनका हिस्सेदार शक्तिहरु एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्व केन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उहाँको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘हामी आज देख्छौं समाजलाई अलिकति अराजकता र निरंकुशतातिर फकाउने कसरतहरु भइरहका छन्’– उहाँले भन्नुभयो– ‘एकातिर हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक मूल्य मान्यताबाट पछि हट्न खोज्ने हामीभित्रै कसैको मनशाय छ भने त्यसलाई पनि सफल हुन दिनु हुँदैन भने अर्कोतिर अराजकतावादीहरुले जनतामा देखिएको निराशा र आवेगलाई दुरुपयोग गरेर प्रतिक्रान्ति गर्ने सपना पनि देखिरहेका छन् । त्यसैले दुबैतर्फ सचेत भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ साँचो अर्थमा लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध शक्तिहरु सजग रहनुपर्नेमा जोड दिंदै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हिजो पनि संविधानमाथि बलात् आक्रमण गरेर दुईदुईपटक संसद बिघटन गर्ने प्रवृत्तिलाई हामी बामपंथी लोकतान्त्रिक शक्तिहरु मिलेर परास्त गरेका थियौं, फेरि पनि संविधान मिच्ने, संसद विघटन गर्ने हर्कत हुनसक्छन्, यस्ता हर्कतका विरुद्ध अझै पनि सतर्क रहनुपर्छ ।’ अर्को एक प्रसंगमा उहाँले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र माओवादीको तर्फबाट आफू शान्ति सम्झौताको हस्ताक्षरकर्ता हुनुको नाताले प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउने मुख्य दायित्व पनि यिनै शक्तिसँग भएको बताउनुभयो । गिरिजाले मृत्यु शैयामा पुगेको बेला आफूलाई ‘अब भरोसा तपाइँको छ, बाँकी राजनीतिक अवस्थालाई सम्हालेर लैजानुहोला’ भन्ने बाक्यांश नभुलेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘कहिलेकाही नेपाली उखानमा भएजस्तो बाघको छालामा स्यालको रजाइँ हुने हो कि भन्ने चिन्ता पनि छ तर मलाई लाग्छ अन्ततः त्यस्तो हुँदैन ।’ जसले परिवर्तनका लागि युगान्तकारी भूमिका निर्वाह गरे, यो परिवर्तन जोगाउन पनि उनीहरुले नै नेतृत्वदायी भूमिका निर्वाह निर्वाह गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । ‘यतिबेला लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशिताको रक्षा गर्नु र यसमा रहेका कतिपय सीमालाई परिवर्तन गर्दै अझै विकसित गर्नु मुख्य दायित्व हो’– उहाँले भन्नुभयो– ‘त्यसका लागि परिवर्तन पक्षधर शक्तिहरु गम्भीर हुन आवश्यक छ ।’ अहिले अध्ययन र वैचारिक बहसको संस्कृति हराउँदै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तीस र चालिसको दशकमा हुने शैक्षिक क्षेत्रमा हुने वैचारिक बहस निकै जीवन्त र उच्चस्तरका भएका स्मरण गर्नुभयो । अहिले नेपाली समाजमा वैचारिक बहस र सामूहिक चिन्तनभन्दा पनि व्यक्तिगत स्वार्थप्रेरित हुँदै गएकोप्रति प्राज्ञिक क्षेत्र गम्भीर बन्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो । अध्यक्ष प्रचण्डले पञ्चायविरोधी आन्दोलनका बेलामा अखिल वा नेविसंघ जुन आस्थामा निकट भए पनि सामूहि चिन्तन र वैचारिक बहसमा केन्द्रित हुने गरेको उल्लेख गर्दै चिन्तन संस्कृतिलाई बढावा दिनुपर्ने बताउनुभयो । उहाँले आस्था, निष्ठा र आदर्शका धरोहर अखिलेश्वरलाल दास भिन्न प्रकृतिको र समाजवादी क्रान्तिका लागि प्रेरणादायी व्यक्तित्व भएको बताउनुभयो । उहाँले दास औसतभन्दा माथिको व्यक्ति भएको बताउनुभयो ।  

कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख सहयोग

काठमाडौं। नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि पौने आठ लाखभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ। महासंघले आज विहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सात लाख सतहत्तर हजार सात सय सतहत्तर रुपैयाँको चेक हस्तान्तरण गरेको हो । महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ, महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासंघ र संगठनका पदाधिकारीहरुले चेक हस्तान्तरण गर्नुभएको थियो । यो सहयोग संकलनमा नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको महत्वपूर्ण भूमिका रहेको महासंघले जानकारी गराएको थियो । सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रसेवासँगै जनताले भोग्नुपरेको विपत्तिमा कर्मचारीहरुले सहयोग संकलन गरेकोमा धन्यवाद दिनुभयो । प्राकृतिक विपत्तिले सिर्जना गरेको संकट समाधानका लागि सरकारमा हुँदा पनि नहुँदा पनि आफ्नो पार्टी निरन्तर अग्रमोर्चामा रहेर काम गरेको उल्लेख गर्दै उहाँले पार्टीनिकट शुभेच्छुक संगठनहरुले पनि यसमा योगदान गर्दा पार्टीलाई थप उर्जा प्राप्त हुने बताउनुभयो । यसपटकको बाढीपहिरोको बेलामा आफ्नो पार्टीले सबैभन्दा पहिले पहलकदमी लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रभावितस्थलमा निरन्तर खटेर उद्धार, राहत र पुनर्स्थापनामा लाग्ने सबैलाई धन्यवाद पनि दिनुभयो । राहत र पुनर्स्थापनाका कामले अझै गति नलिएको उल्लेख गर्दै उहाँले दुई वर्षअघिका भूकम्पपीडितदेखि अहिलेका बाढीपहिरो पीडित सबैलाई पुरानै अवस्थामा फर्काउन सबै लाग्नुपर्ने र त्यसमा कर्मचारीहरुले आफ्नो कार्यक्षेत्रबाट बढी योगदान गर्नुपर्ने बताउनुभयो । 

सरकारको निर्णय मान्नु प्राधिकरणको कर्तव्य हो, बक्यौता रकम नउठे पुनः लाइन काट्छौं : घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् ।  बुधवार प्राधिकरणको कार्यालयका आयोजित पत्रकार सम्मेलनमा घिसिङले  उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट पारेका हुन् । उनले भने, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’

आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता कार्यकतालाई प्रचण्डको निर्देशन

काठमाडौं, २८ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौं’– अध्यक्ष प्रचण्डले नेता कार्यकर्तालाई निर्देशन दिंदै भन्नुभयो– ‘हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोल–टोल र घरघरमा पुग्नुहोस् ।’ अन्य दलभन्दा माओवादी फरक शक्ति हो र सरकारमा भएकोमा बेला माओवादीले हरेकपटक रुपान्तरणकारी काम गरेको छ भने पछिल्लो समय सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा माओवादीले थालेको अभियान ऐतिहासिक थियो भनेर जनताले बुझिसकेको उल्लेख गर्दै उहाँले पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान उहाँले आग्रह गर्नुभयो । ‘माओवादी नेतृत्वको सरकारले के गर्दै थियो र पछिल्लो समय नयाँ सरकार किन बन्यो भन्ने पनि जनताले स्पष्टसँग बुझिसकेका छन्, त्यसैले जनता पुनः माओवादीलाई विश्वास गर्न तयार हुँदै गएका छन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अब मुख्य कुरा हामी आफै पुनः जनताको सेवामा लाग्ने प्रतिबद्धतासहित रुपान्तरण हुन आवश्यक छ।’ कीर्तिपुर नगरपालिका इतिहासदेखि नै वीरता र बिद्रोहको केन्द्र भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यहाँको इतिहास, वीरता र बिद्रोहको सम्मान गर्दै नयाँ समृद्धिको अभियान सञ्चालन गर्न आवश्यक छ । सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा कीर्तिपुरले नयाँ कृतिमान कायम गर्ने छ ।’ यसपटकको उपनिर्वाचनमा यो नगरपालिकामा माओवादी केन्द्रको जीतको आधार बलियो बन्दै गएको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गर्नुभयो । इमान्दार, सरल, पारदर्शी एवं भाषा संस्कृतिका संरक्षकको रुपमा कीर्तिपुरको सामाजिक व्यक्तित्वको रुपमा स्थापित प्रा.डा. शिवशरण महर्जनको व्यक्तित्व, उहाँलाई सर्वसम्मतरुपमा अघि सार्ने पार्टीको एकताबद्ध निर्णय र उहाँको व्यक्तित्वलाई अन्य दल तथा आम मतदाताले विश्वास गर्दै गएकाले यसपटक उहाँले नै जीत हात पार्ने अध्यक्ष प्रचण्डको विश्वास थियो । विभिन्न जातजातिको संगम बन्दै गएको भए पनि कीर्तिपुरको मूल पहिचान नेवारी समुदाय र नेवाः सभ्यता भएको उल्लेख गर्दै उहाँले त्यसलाई सफल नेतृत्व प्रा.डा. महर्जनले मात्रै गर्न सक्ने बताउनुभयो । ‘सांस्कृतिक वैभव यहाँको पूँजी र पहिचान हो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसलाई थप स्थापित गर्दै कीर्तिपुरलाई देशभरिकै नमूना सांस्कृतिक नगर बनाउन प्राज्ञिक व्यक्तित्व महर्जनले मात्रै सक्नुहुन्छ भन्ने यहाँका मतदाताले राम्रोसँग बुझ्दै गएका छन्, त्यसैले उहाँलको जीत निश्चित छ ।’ उम्मेदवारी घोषणा कार्यक्रममा नेकपा माओवादी केन्द्रले कीर्तिपुरको प्रमुखका लागि प्रा.डा. शिवशरण महर्जन, वडा नम्बर १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षका लागि ईञ्जिनियर नारायण बिष्टलाई अघि सारेको छ । उम्मेदवार घोषणा गर्दै माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पार्टीको स्थानीय तहबाट सर्वसम्मतरुपमा आएको सिफारिस जिल्ला र प्रदेशले अनुमोदन गरेको जानकारी गराउनुभयो ।      

भैरहवाबाट अब हरेक दिन अन्तर्राष्ट्रिय उडान

भैरहवा । कतारको राजधानी दोहाबाट विश्वका १ सय ७० भन्दा बढी गन्तव्यमा उडान भर्ने अनि आठ वर्षदेखि विश्वमै उत्कृष्ट एयरलाइन्समा आफ्नो स्थान बनाएको कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै छ । योसहित अब भैरहवामा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ५ पुगेको छ ।  ३५ अर्ब ६६ करोड लगानी भएको भैरहवामा उडान गर्न एक साताअघि नेपाल नागरिक उडान प्राधिकरणमा अनुमतिका लागि पठाएको कतारको शीतकालीन उडान तालिकाको प्रस्तावलाई आइतबार स्वीकृति प्रदान गरिएको हो । प्राधिकरणको एयर ट्रान्सपोर्ट डिभिजनले कतारलाई दैनिक उडान अनुमति दिएको छ । ०७९ जेठदेखि अन्तर्राष्ट्रिय वायुसेवाका लागि धावनमार्ग खुला भए पनि यस वर्षको भाइटीकाको दिनदेखि भैरहवा विमानस्थल चलयमान भएको हो । त्यस दिन बैंककबाट थाई एयर एसियाले सातामा दुई दिन सोमबार र बिहीबारका लागि उडान थालेको थियो । यसपछि दोस्रोमा शनिबार बिहान ७:३० बजे कुबेतबाट जजिरा एयरवेजले उडान गरेको थियो । विमानस्थल उद्घाटनपछि अन्तर्राष्ट्रिय वायुसेवातर्फ पहिलो उडान गर्दै आएको जजिराले ०८१ वैशाखसम्म १ सय १० वटा उडान गरेर त्यहाँको स्टेसन बन्द गरेर काठमाडौं फर्किएको थियो । यसले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने अनुमति पाएको छ । शनिबारैदेखि फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं उडान थालेको छ । यसले भैरहवामा हरेक दिन उडान अनुमति पाएको छ । नेपाल वायुसेवा निगमले पनि भैरहवाका लागि उडान अनमति पाएको छ । शनिबारैदेखि यसले सातामा पाँच दिन काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान थालेको छ । यसले गत जेठअघिसम्म करिब एक वर्ष सातामा एक दिन मंगलबार मलेसियाबाट फर्किंदा भैरहवा हुँदै उडान गरेर त्यो सेक्टर बन्द गरेको थियो । अब भैरहवामा ५ वटा वायुसेवाले एक सातामा २४ वटा उडान गर्नेछन् ।  

इजरायललाई युद्ध रोक्न आह्वान गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । प्यालिस्टिनीमाथि इजरायलबाट भएको नरसंहारविरुद्ध नेपालका राजनीतिक दल, बृहत् नागरिक आन्दोलन, पेसागत संगठनहरू, मजदुर सङ्घहरू, विद्यार्थी र युवा संगठनका प्रतिनिधिहरूले संयुक्तरुपमा सोमबार नेपालस्थित इजरायली दूतावासमा विरोधपत्र बुझाएका छन् ।  इजरायली राजदूत स्मुलिम एरी बासलाई हस्तान्तरण गरिएको विरोधपत्रमा इजरायली सरकारले गाजाक्षेत्र र लेबनानमा गरेको जनसंहार र जातीय सफायाको भर्त्सनासहित सशक्त प्रतिवाद र असहमति प्रकट गरिएको छ । ‘हाम्रो मानवीय विवेकले हामीलाई यो विरोधपत्र प्रस्तुत गर्न एवं हाम्रा आवाजहरू सशक्तताका साथ राख्न बाध्य बनाएको छ’, विरोधपत्रमा भनिएको छ, ‘किनभने जब कुनै सरकारले एक वर्षको बिचमा नियतपूर्वक ४४ हजारभन्दा ज्यादा निर्दोष प्यालिस्टिीनीको निर्मम हत्या गर्दछ, जसमध्ये झन्डै ७० प्रतिशत त बालबालिका र महिला हुन्छन्, कुनै पनि मानिस चुप लागेर बस्न सक्दैन।’  त्यसमाथि  गाजा क्षेत्रको आधा भन्दा ज्यादा घर र अस्पतालहरू तथा दशमा आठ विद्यालयहरूलाई भग्नावशेषमा बदल्ने कार्य भएको विरोधपत्रमा उल्लेख छ । ‘यिनै कार्यहरूको फलस्वरूप भय र आतङ्कका तथ्यका कारण १९ लाखभन्दा ज्यादा प्यालिस्टिनीहरू आफ्नो भूमि र बासस्थानबाट विस्थापित भएका छन्’, विरोधपत्रमा भनिएको छ, ‘विश्वको कुनै पनि अन्तर्राष्ट्रिय मानवीय ऐन र मानवतावादी तुलोबाट जोखेपनि तपाईंको सेनाले गरेका यी गतिविधिलाई निर्विवाद रुपमा जनसंहार र युद्ध अपराध भनेर नामाकरण गर्न सकिन्छ । अतः हामी यसको घोर भर्त्सना गर्दछौं ।’ यस्तै इजरायलबाट बेपत्ता भएका विपिन जोशीको यथाशक्य रिहाइका लागि प्रभावकारी कूटनीतिक पहल गर्नु इजरायल सरकारको नैतिक दायित्व भएको पनि उल्लेख गरिएको छ । 

बक्यौता नबुझाउँदै लाइन जोड्न सरकारको निर्देशन, कर्मचारीहरू भन्छन् 'जोड्न सकिदैन'

काठमाडौँ । सरकारले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएका उद्योगमा तत्काल जोड्न नेपाल विद्युत प्राधिकरणका निर्देशन सहितको निर्णय गरेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादका सम्बन्धमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आफूलाई आइनसकेको बताएका छन् ।  ‘मलाई निर्णय आइपुगेको छैन । सञ्चारमाध्यममार्फत सुनेका चाहिँ छु  । निर्णय अब लिखितमा मन्त्रालयमा आएपछि यसबारेमा छलफल होला’ घिसिङले भनेका छन् । सरकारको उक्त निर्णय पछि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले भने औद्योगिक ग्राहकले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएसम्म लाइन जोड्ने सरकारको निर्णय कार्यान्वयन हुन नसक्ने बताएका छन् ।  सोमबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै जबरजस्ती लाइन जोडिए आम जनतालाई सुसूचित गर्दै सङ्घर्षका कार्यक्रम गर्ने जनाएका हुन् ।  आम उपभोक्ताले ६० दिनभित्र महसुल नबुझाए लाइन काट्ने व्यवस्था स्मरण गराउँदै औद्योगिक ग्राहकलाई छुट्टै व्यवहार गर्न नहुने बताएका छन् ।  सबैलाई समान व्यवहार गर्नुपर्नेमा सरकारले अर्बौँ बक्यौता नतिरेका उद्योगहरूको लाइन जोड्ने निर्णय गरेर ठुलालाई चैन, सानालाई ऐन उक्ति चरितार्थ गरेको कर्मचारीको भनाइ छ ।  कर्मचारीहरूले महसुल उठाउने प्रचलित ऐन, नियम तथा विनियमावलीमा रहेका व्यवस्थाअनुरूप प्राधिकरणले काम गरेको भन्दै त्यस विपरीत जान नहुने भन्दै सरकारलाई सचेत गराएका छन् ।  आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयले विद्युत् महसुल नतिरेर काटिएका उद्योगमा सोमबार १२ बजेभित्रै लाइन जोड्ने निर्णय गरेको थियो । यस्तै बैठकले टाइम अफ डे (टीओडी) मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको थियो।   

माओवादी केन्द्रले मंसिर मसान्तसम्म सबै पालिकामा सम्मेलन र खबरदारी सभा गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मंसिर मसान्तसम्म सबै स्थानीय तहमा पार्टीको सम्मेलन र खबरदारीसभा गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कार्यालयको बैठकले सरकारले गरिरहेका बेथितिविरुद्ध खबरदारी गर्न जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय निर्णय गरेको हो । बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बोलाइएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा सफलता हासिल गर्ने कार्ययोजना पनि बनाएको छ । खबरदारी सभामार्फत सरकारका बेथिति जनताको बीचमा लैजाने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ण्àराम्रो काम गर्ने मानिसहरूलाई सरकारले हटाइरहेको छ । यसले गर्दा देशमा असाधारण परिस्थिति बन्दैछ । यस्तो अवस्थामा सबै पार्टीहरूबिच एकरूप समझदारी हुनुपर्ने र राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरू फुटाउने चर्चा पनि चलेको छ ।’ उहाँले संविधान संशोधनको कुरा गरेर कांग्रेस र एमाले सत्तामा गएको तर अहिले फेरि उक्त विषय सेलाएको उल्लेख गर्दै संविधान संशोधन गर्ने भए अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताउनुभयो । माओवादी केन्द्रले देशको प्रमुख कार्यकारीको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने पनि बताएको छ । त्यो निर्वाचन प्रणालीमा गएपछि मात्र अहिले देखिएका विकृति र विसंगतिको अन्त्यका साथै राजनीतिक अस्थिरता पनि हट्ने उसको भनाइ छ ।   

समाज सुधारमा फाल्गुनन्दको महत्त्वपूर्ण योगदान छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा फाल्गुनन्दको महत्त्वपूर्ण योगदान रहेको  बताउनुभएको छ ।  किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्तीको अवसरमा शुभकामना दिंदै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो। शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले भन्नुभएको छ -'किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा फाल्गुनन्दको महत्त्वपूर्ण योगदान रहेको छ। उहाँले छोरीको विवाह गर्दा सोत–रीत लिन नहुने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेलगायत समाज सुधारका लागि अघि सारेको नीति ‘सत्य धर्म मुचुल्का’ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ। उहाँले अघि सारेका यी नीतिहरु सबै धर्म, जाति र समुदायका लागि अनुकरणीय छन्।' भाषा, लिपि, संस्कार संस्कृति, शिक्षा, समाज सुधार, किराँत धर्मको उत्थान तथा संरक्षणका लागि गरेको योगदानको सम्मान स्वरुप सरकारले फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरिसकेको बताउँदै उहाँले फाल्गुनन्द जयन्तीले किराँत समुदायलगायत सबैमा थप प्रेरणा र उर्जा प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डद्धारा व्यक्त शुभकामना  

नेपालमा शक्ति केन्द्रहरूको दबाब बढेर गएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकारका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण ढंगको भएकाले शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको बताउनुभएको छ ।  नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न पहिलेभन्दा अहिले अझ बढी पेचिलो र अझ बढी संवेदनशील बन्दै गएको उहाँले बताउन भयो । मकवानपुर थाहाको बज्रबाराहीमा प्रेस सेन्टर नेपालले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमापूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भन्नुभयो, ‘हाम्रो राष्ट्रिय अवस्था या हाम्रो भौगोलिक अवस्था, जसलाई हामी भूराजनीतिको अवस्था भन्छौं । त्यो कारणले ती शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै नै गइरहेको छ ।’ अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमन, इजरायल(हमास युद्ध, रुस(युक्रेन युद्ध लगायतका कारण विश्व नै प्रभावित भइरहेका बेला नेपाल पनि अछुतो नभएको उहाँको भनाइ छ ।  ‘हामी भारत र चीन जस्ता ठूला छिमेकीको बीचमा हुनुको नाताले अन्तर्राष्ट्रिय रुपमा घटेका घटनाक्रमहरुको असर नेपाललाई परिराख्या छ । त्यसकारण नेपालको राष्ट्रिय स्वाधिनतालाई रक्षा गर्ने, सुदृढ गर्ने कुरा, राष्ट्रिय एकतालाई बलियो बनाउने कुरा अहिले अझ बढी चुनौतीपूर्ण बन्दै गएको छ ।’उहाँले भन्नुभयो । ‘मैले यो कुरा ब्याख्या नगरी भन्दा अहिले सरकार जुन धरातलमा, जुन उद्देश्यको साथ बनेको छ, त्यसको पछाडि जस्ता शक्तिहरू सक्रिय देखिएका छन् त्यो सबैले नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न पनि पहिलेभन्दा अहिले अझ बढी पेचिलो, अझ बढी संवेदनशील बन्दै गएको छ,’ प्रचण्डले जोड दिंदै भन्नुभयो। विश्वको परिस्थितिलाई हेरेर एकथरी बुद्धिजीवीहरुले तेस्रो विश्वयुद्धको सम्भावना औंल्याएको बताउँदै प्रचण्डले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय स्थिति सहज ढंगले अगाडि बढेको छैन । कतिबेला कहाँ कसरी विष्फोट हुने हो कि भन्याजस्तो छ र एकखालले त भइसक्या पनि छ ।’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अगाडि बढाउन सहमति गरेको समाचार आइसकेको बताउनुभयो । ‘अर्को गम्भीर कुरा एसपीपीलाई अहिलेको प्रधानमन्त्रीले अघिल्लो पटक सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकी मिडियामा आइसकेको छ । यो गम्भीर चिन्ताको विषय छ । यो सरकार आफ्नो कुर्सी बचाउनका निम्ति राष्ट्रिय स्वाधीनताको सौदाबाजी गर्ने, राष्ट्रप्रति घात गर्ने त होइन ? सैद्धान्तिक सहमति गम्भीर विषय हो । त्यसमा सम्झौतातिर जाने हो कि स्थिति छ’, प्रचण्डले भन्नुभयो ।  

थाहामा प्रचण्डको एक दिन (तस्बिरहरू)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मकवानपुरको थाहा नगरपालिकामा पगेर फर्किनुभएको छ । उहाँलाई मकवानपुरको थाहामा स्थानीयले भव्य स्वागत गरेका छन् । शनिबार पार्टीको युवा संगठनको सम्मेलनका लागि थाहा नगरमा पुग्नुभएका अध्यक्ष प्रचण्डलाई त्यहाँका नेता, कार्यकर्ता र स्थानीयले भव्य स्वागत गरेका हुन्। आफ्नो पहिचान झल्कने पहिरनमा सजिएका स्थानीयले प्रचण्डलाई फूलमाला र पुष्पगुच्छाले स्वागत गरेका थिए। उहाँको स्वागतमा सांस्कृतिक प्रस्तुती, झाँकी सहित स्थानीय उपस्थित भएका थिए।  थाहा पालिकाको युवा संगठनको सम्मेलनमा प्रमुख अतिथि बनेर पुगेका अध्यक्ष प्रचण्डले भन्नुभएको छ । 'हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को मकवानपुर थाहा नगर अधिवेशनको सन्दर्भमा आयोजित जनसभा र त्यसक्रममा विभिन्न स्थानमा सभाकै झल्को दिने गरी भएका स्वागत कार्यक्रमले उत्साहित बनाएको छ। यो उत्साहजनक कार्यक्रमका लागि म मकवानपुर पार्टी र वाइसिएललाई धन्यवाद दिन चाहन्छु। मौलिक थाहा विचारका प्रवर्तक रुपचन्द्र बिष्टको कर्मथलो मकवानपुर कम्युनिस्ट क्रान्तिकारीहरूका लागि ऐतिहासिक भूमि हो । यहाँको पार्टी पंक्ति र जनस्तरमा देखिएको क्रान्तिप्रतिको निष्ठा र उत्साहले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिहुँदै समाजवादको बाटोमा अघि बढ्न थप प्रेरित गर्नेछ। यही अवसरमा म लामो समयदेखि आउन चाहेर नभ्याएको ऐतिहासिक, सांस्कृतिक एवं क्रान्तिकारी गोपाली वस्ती कुन्छालमा पुगेर यो समुदायसित साक्षात्कार गर्ने र मौलिक संस्कृति अवलोकन गर्ने मौका मिल्यो ।  अन्त्यमा, जनताबाट प्राप्त सुझावको उच्च कदर गर्दै निरन्तर जनताको साथमा रहेर विकास र समृद्धिको चाहना पूरा गर्न लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु।' तस्बिरहरूः 

भैरहवामा चार कम्पनीले एकैसाथ थाले अन्तर्राष्ट्रिय उडान

भैरहवा । सञ्चालनमा आएको दुई वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चारवटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन् । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थाल्ने भएपछि स्थानीय सरोकारवाला खुसी छन् । यसले लामो समय अन्तर्राष्ट्रिय उडानविहीन विमानस्थलमा रौनक छाएको छ ।  स्थानीय सरोकारवालाले यहाँबाट अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने वातावरण बनाउन माग गरेका छन् । गत भाइटीकाको दिन यहाँ उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्याह्न दोस्रो पटक भैरहवा अवतरण गरेको थियो । शुक्रबार ७ यात्रु बोकेर आएको थाई एयर एसियाको विमान ३२ यात्रु लिएर फर्किएको छ । आउँदो साताबाट भने थाई एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार थाई एयर एसियाको विमान मध्याह्न सवा १२ बजेट यहाँ अवतरण गर्ने गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद रावतले जनाए । एक घण्टा आराम गरेपछि यात्रु लिएर थाइल्यान्ड फर्किने तालिका छ । शनिबार कुवेतको जजिरा एयरलाइन्स र फ्लाई दुबईले यहाँबाट उडान सुरुवात गर्ने रावतको भनाइ छ । जजिराले सातामा तीन दिन भैरहवा–कुवेत उडान गर्नेछ । यसअघि १० महिना उडान भरेर स्थगन गरेको जजिरा शनिबार भैरहवा फर्किन लागेको हो । दुई वर्षअघि गौतमबुद्ध विमानस्थल उद्घाटनसँगै यहाँबाट उडान थालेको जजिराले जाडो सुरु भएपछि प्राविधिक कारण देखाउँदै उडान स्थगन गरेको थियो । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ । रावतका अनुसार फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान गर्ने जनाएको छ । फ्लाई दुबईले यहाँबाट साताका सातै दिन उडान गर्ने रावतले बताए । फ्लाई दुबईले शनिबारबाट दैनिक उडान थाल्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाअनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ । पौने ३ बजे यहाँबाट उडान भर्नेछ ।

पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट ज्ञानदेवी पुन सिफारिस

रकुम । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको चुनावी प्रतिस्पर्धा गर्न नेकपा माओवादी केन्द्रको तर्फबाट ज्ञानदेवी पुन सिफारिस हुनुभएको छ । मंसिर १६ मा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट पुन सिफारिस हुनुभएको हो। नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटीको २ दिन सम्म चलेको विस्तारित बैठकले पुनलाई सर्वसम्मत सिफारिस गरिएको नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटी अध्यक्ष हर्क बहादुर कामीले बताउनुभयो । अध्यक्ष कामीका अनुसार १० जना आकाङ्क्षी मध्यबाट आपसी सहमतिमै पुन सिफारिस हुनुभएको हो ।  १० जना आकाङ्क्षीहरु आफै सहमति गरेर १ जनामा केन्द्रीकृत हुनु नै विजयको सन्देश दिनु भएको नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनले बताउनुभयो । माओवादीको आधार इलाकाले परिचित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा माओवादी केन्द्रले काङ्ग्रेस एमालेको संयुक्त उमेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको मन्त्री पुनले बताउनुभयो  ।   गत महिना भाद्र २८ गते बाङ्लुङ भुङखानीमा भएको जिप दुर्घटनामा परि पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, वडा नं. २ का वडा अध्यक्ष जस बहादुर श्रीपाली र उपाध्यक्षको आमा गोपीमायँ बुढासहित निधन भएका कारण उपाध्यक्ष पद र वडा अध्यक्ष पद रिक्त भएको थियो ।

प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ । उहाँहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

पुटिनले राष्ट्रपती ट्रम्पलाई बधाई दिंदै के भने ?, हेर्नुहोस्

सोची, रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपती डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार पुटिनले ट्रम्पलाई बधाई दिएका हुन् ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नोभेम्बर ७ मा भल्दाई इन्टरनेशनल डिस्कसन क्लबको पूर्ण सत्रमा बोल्दै डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका हुन् । पुटिनले आफ्नो बधाई सन्देशमा भनेका छन्, “म उहाँ (डोनाल्ड ट्रम्प) अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएकोमा बधाई दिन चाहन्छु । मैले पहिले नै भनेको छु, हामी अमेरिकी जनताले विश्वास गर्ने राष्ट्र प्रमुखसँग काम गर्नेछौँ ।” बधाई दिएको भएपनि अहिलेसम्म औपचारिक रुपमा रुसी  राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई पत्र भने पठाएका छैनन्। यसपटक अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि ट्रम्पले हालसम्म युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विश्वका ७० नेतासँग टेलिफोनमा कुरा गरिसकेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।