अमेरिकाको तल्लो सदनबाट युक्रेनलाई ६१ अर्ब डलरको सहायता प्याकेज पारित

अमेरिकाको तल्लो सदनबाट युक्रेनलाई ६१ अर्ब डलरको सहायता प्याकेज पारित

वाशिङटन डीसी । अमेरिकी कंग्रेसको तल्लो हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनलाई सहायता गर्न ६१ अर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको छ । युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३११ मत परेको थियो भने विपक्षमा ११२ मत परेको थियो । अब यो प्रस्ताव माथिल्लो सदन सिनेटमा जानेछ । प्रस्ताव केही दिनभित्रै सिनेटबाट पारित हुने अपेक्षा गरिएको सिएनएनले जनाएको छ ।

कंग्रेसमा लामो समयदेखि सहयोग प्रस्ताव अड्किएर बसेको थियो। सिनेटबाट पनि पारित भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गरेर सहयोग विधेयकलाई कानुनको रूपमा मान्यता दिनेछन्।यस सहयोगबाट युद्धलाई अगाडि बढ्नबाट रोक्ने र हजारौंको ज्यान जोगाउन सकिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रस्ताव पारित भएकोमा खुसी व्यक्त गरेका छन्। विश्वस्तरमा लोकतन्त्र र स्वतन्त्रताको सधैं महत्त्व रहने र यसको रक्षाको लागि अमेरिका रहेसम्म यिनीहरू कहिल्यै असफल नहुने उनको भनाई छ । यस प्रस्तावमा इजरायललाई करिब २६ अर्ब डलर बराबरको सैन्य सहायता पनि दिइएको छ ।गाजामा मानवीय सहायताका लागि करिब ९ अर्ब डलर राहत प्याकेज पनि छुट्टाइएको छ ।

राष्ट्रपतिद्वारा खाद्य गुणस्तरसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए। सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि सो विधेयक राष्ट्रपति कार्यालयमा पेश भएको थियो ।

राजस्व अनुसन्धान महानिर्देशकमा चक्र बुढा, नवराज ढुंगाना परराष्ट्रमा

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ। ढुंगानाको ठाउँमा चक्रबहादुर बुढालाई पठाइएको छ । बुढालाई हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो। बुढालाई राजस्व अनुसन्धान विभागमा पठाएर ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिएर पठाउने तयारी छ।कलकत्ताको महावाणिज्यदूत ईश्वरराज पौडेललाई भने परराष्ट्र मन्त्रालयमा तान्ने तयारी भइरहेको स्रोतले जनाएको छ । गत असार २०८० मा राजस्व अनसन्धान विभाग महानिर्देशकमा ढुंगाना नियुक्त भएका थिए। उनी त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिव थिए । महानिर्देशक भएपछि राजस्व अनुसन्धान विभागले भन्सारबाट बाहरिएको ६१ किलो सुन सिनामंगलबाट पक्राउ गर्नुका साथै राजस्व अनसन्धानको कामलाई तिब्रता दिएका थिए ।

जापानी विदेशमन्त्री काठमाडौंमा

काठमाडौं ।जापानकी विदेशमन्त्री कामिकावा योको काठमाडौं आइपुगेकी छन्। एक दिने नेपाल भ्रमणमा आएकी उनी मध्यान्नमा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अवतरण गरेकी हुन्। उनलाई विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्रका अधिकारीहरूले स्वागत गरे। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आएकी हुन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन्। विदेशमन्त्री कामिकावाले आइतबार उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछिन्। उनी आजै  फर्कने मन्त्रालयले जनाएको छ। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए। “सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “निकै ठूलो मेहनेत र सङ्घर्षबाट प्राप्त भएको नागरिको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्त्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ।” गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८०० शैया निःशुल्क उपलब्ध गराइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए। “सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शैयाको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस्ता कामहरूले स्वास्थ्य क्षेत्रका अधिकार ब्यावहरमा कार्यान्वयन गर्नका लागि आधारभूत अर्थ राख्दछन् ।” संविधानको व्यवस्थाअनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थाहरूले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै आम नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन राज्यको प्रमुख दायित्व पूरा गर्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताए।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल बनाइने बताउँदै प्रधानमन्त्रीले अन्तर्राष्ट्रियस्तर शैक्षिक प्रतिष्ठान बनाउन आफ्नोतर्फबाट निरन्तर सहयोग रहने विश्वास दिलाए। आफूले सरकारको नेतृत्व लिएलगत्तै वीर अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल लिएको अवगत गराउँदै प्रधानमन्त्री प्रचण्डले सबै बेड तथा अपरेशन थिएटरहरू सञ्चालनमा ल्याउने, वीर अस्पतालको सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नेलगायतका कार्यलाई प्राथमिकता दिएको बताए। 

लोकप्रिय