ऋण लिएको प्रमाणित गर्न गगन थापालाई रविको चुनौति

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफुले निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई चुनौति दिएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले आफूले हस्ताक्षरसहितको निवेदन दिएर सूर्यदर्शन सहकारीबा ऋण लिएको कुरा प्रमाणित गर्न चुनौति दिएका हुन्। उनले गगन थापाले भनेजस्तै प्रमाण पेश गर्न सकेमा आफूले राजनीति छोड्ने बताए।

गृहमन्त्री लामिछानेले प्रमाण दिन नसकेमा गगन थापालाई राजनीति छाड्न चुनौति दिए। उनले संसदीय छानविन समिति बनाउने कुरा सामान्य भएको भन्दै बनाउन सकिने धारणा पनि राखे। उनले आफू प्रमाणसहित कोही आएमा राजनीति छोड्न तयार रहेको भन्दै समिति नबनाउन नभनेको बताए। उनले चुनौति स्वीकार गरेर दुई जनाको राजनीति दाउमा लगाउन तयार हुन थापालाई आग्रह गरे।

गृहमन्त्री लामिछानेले आफ्नो कुरा संसदबाट सुन्न काँग्रेस डराएको बताए। आफूले संसदमा बोल्न पाएमा सबै कुरा स्पष्ट ढंगले राख्ने उनको भनाई छ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

काठमाडौँ । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन तोकिएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले यही चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका छन् । साथै निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिएका छन् । गठबन्धन दलको सहमति अनुसार गत चैत १५ गते उपाध्यक्ष  उर्मिला आर्यालले पदबाट राजीनामा गरेकी थिइन् ।  अर्को उपाध्यक्ष कुन दलबाट कसलाई बनाउने भन्नेबारेमा गठबन्धन दलहरुले सहमति भने जुटाइसकेका छैनन् ।

मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री, एमाले र रास्वपालाई सहभागी गराउने

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन  हुने भएको छ ।  प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा समेतलाई सरकारमा सामेल गर्दै मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।   त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउँदै छन् ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरको ७ दिने म्याद

काठमाडौं, ९ फागुन । काठमाडौं महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रबाट हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना निकालेर ७ दिनको अवधिमा ललिता निवास क्षेत्र खाली गरिदिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरेको हो । बालुवाटारमा रहेको ललित निवासको सरकारी जग्गा व्यक्तिको नाममा किनबेच तथा नामसारी भएको मुद्दामा विशेष अदालतले उक्त जग्गा सरकारको हुने फैसला यही फागुन ३ गते गरेको थियो । ‘विशेष अदालत, काठमाडौंबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १७५ जना भएको “सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको” मुद्दामा २०८० फागुन ३ गते भएको फैसलाबाट काठमाडौँ महानगरपालिका वडा नं. ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको छ,’ महानगरपालिकाले सूचना प्रकाशन गर्नुपर्ने कारण जनाउँदै भनेको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद– १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत संभार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको छ । विशेष अदालत, काठमाडौँको उक्त फैसलाबाट जफत (सरकारी) भएको काठमाडौँ महानगरपालिका वडा नं. ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको छ ।’ सार्वजनिक स्थान छोड्ने सम्बन्धमा सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरु सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ ।’ सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने महानगरपालिकाले जनाएको छ । पञ्चायती व्यवस्थामै सरकारले ललिता निवासको करिब २०० रोपनी जग्गा अधिग्रहण गरेको थियो । तर २०४६ सालको जनआन्दोलनपछि नयाँ सरकार बनेपछि राजनीतिक कारणले जफत भएको जग्गा फिर्ता हुने निर्णय गरेको थियो । त्यसक्रममा सुवर्णशम्शेरको परिवार, भूमाफिया र कर्मचारी मिलेर ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीले सफाइ पाएका छन् । यो प्रकरणमा पूर्व सचिवहरू दीप बस्न्यात र छविराज पन्तसहित ८० जनाभन्दा बढीलाई विशेष अदालतले दोषी ठहर गरेको छ । भूमाफिया किटान गरिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई दुई वर्षको कैद सजाय सुनाइएको छ ।

गैरसरकारी संस्था महासंघद्वारा ३१ बुँदे नागरिक घोषणापत्र सार्वजनिक

काठमाडौं, ६ फागुन । गैरसरकारी संस्था महासंघ नेपाल (गैसस) ले ३१ बुँदे नागरिक घोषणापत्र जारी गरेको छ। महासङ्घको २९ औ वार्षिक साधारण सभाबाट नागरिक घोषणा पत्र २०८० जारी गरेका हो। काठमाडौँ पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणापत्र सार्वजनिक गरेको हो।  वर्तमान समयमा नागरिकहरूले सामाजिक न्याय, विकास र समृद्धिको अनुभूति गर्न पाउनुको साटो नागरिकहरूमा असन्तुष्टि बढ्दै गएको, सुशासनमा बेथिति बढेको साथै आम नागरिक तथा नागरिक सङ्घ सङ्गठनहरूले भोग्नु परेको कठिनाइलाई मध्यनजर गर्दै नागरिक स्वतन्त्रता, देशको प्रणालीगत सुधार र सुशासनको स्थितिलाई सम्बोधन गर्नका लागि महासङ्घले घोषणापत्र जारी गरेको हो।  २९ औँ वार्षिक साधारण सभामा ७७ जिल्ला र ७ प्रदेशबाट सामाजिक अभियन्ता तथा नागरिक अगुवाहरूको उपस्थिति रहेको थियो । नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूलाई सबै तहका नागरिकहरूले अनुभूत हुने गरी ऐन कानुन निर्माण गरी कार्यान्वयनका लागि गैसस महासङ्घ नेपाल माग गरेको छ ।  संविधानले व्यवस्था गरेका तीनै तहका सरकारका एकल तथा साझा अधिकार कार्यान्वयनमा पर्याप्त तथा स्पष्ट कानुन नबन्दा अन्यौल सृजना भई नागरिक सङ्घ सङ्गठनका अभियानमा प्रत्यक्ष प्रभाव परेकोले सोको तत्काल सम्बोधन गर्न माग गरिएको महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले बताए। 

प्रधानमन्त्री ओलीको गुटेर्रेससँग भेट

काठमाडौं ।  नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव एन्टेनियो गुटेर्रेससँग भेट गर्नुभएको छ । शनिबार दिउँसो स्थानीय समय अनुसार सवा ३ बजे संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव एन्टेनियो गुटेर्रेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको छ।  यसअघि प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजित संसदीय मञ्चको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । 

नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छः प्रचण्ड

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बन्दै गएको बताउनुभएको छ । नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन समापनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले यसलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो । नेपालमा ठूलो राजनीतिक परिवर्तन भए पनि त्यही अनुपातमा आर्थिक रुपान्तरणका कार्यक्रम अघि बढ्न नसकेको उल्लेख गर्दै उहाँले आफूहरुले पछिल्लो समय जतिसक्दो धेरै लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताउनुभयो । ‘हामीले नेपालमा जुन प्रकारको राजनीतिक परिवर्तन गरेका छौं, त्यसको तुलनामा पूर्वाधार निर्माणलगायत आर्थिक रुपान्तरणका काम अघि बढ्न नसके पनि हामीले जतिसक्यो राम्रो गर्ने प्रयास गरिरहेका छौं’– पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘मैले सरकारको नेतृत्व गरेको बेलामा लगानीमैत्री वातावरण बनाउन अत्यधिक प्रयत्न गरें ।’ देशभित्र र बाहिरको लगानी ल्याउन सहयोग हुने गरी लगानी सम्मेलन आयोजना गरिएको उल्लेख गर्दै उहाँले उक्त सम्मेलनमा देशभित्र र बाहिरबाट महत्वपूर्ण प्रतिनिधित्व रहेको बताउनुभयो । ‘त्यसको महत्वपूर्ण निष्कर्ष हामीलाई प्राप्त भएको थियो, अहिले भएको नेपाल पूर्वाधार सम्मेलनले पनि पूर्वाधार क्षेत्रमा लगानीमैत्री वातवारण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छु’– उहाँले भन्नुभयो– ‘यसको निष्कर्षलाई राज्यले पनि त्यत्तिकै गम्भीरतापूर्वक लिने छ भन्ने मैले विश्वास लिएको छु ।’ आफू हाल सरकारमा नभए पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले लगानीमैत्री बनाउन र आर्थिक रुपान्तरणमा योगदान दिन लागिरहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै नेपाल उद्योग परिसंघले सन् २०१४ देखि अहिले सम्म नेपाल पूर्वाधार सम्मेलनको पाँचौं संस्करण सम्पन्न गरेकोमा उहाँले आयोजकलाई धन्यवाद पनि दिनुभयो । सार्वजनिक–निजी साझेदारीकै आधारमा नेपालमा आर्थिक रुपान्तरण संभव भएको र नेपालको मूल अर्थनीति पनि यही भएकाले निजी क्षेत्रबाट गरिने यसप्रकारका पहललाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने र यस्ता सम्मेलनबाट प्राप्त निष्कर्षलाई कार्यक्रमिक रुपमा अघि बढाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । 

काँग्रेसमा छलफल भएको साढे पाँच महिनाअघिको दस्ताबेज आज पारित

काठमाडौँ । नेपाली काँग्रेसले महासमिति बैठक भएको साढे पाँच महिनापछि उक्त बैठकमा प्रस्तुत दस्ताबेजहरू आज पारित गरेको छ ।  महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अलगअलग प्रतिवेदनहरू पेस गरेका थिए।  महासमिति बैठकमा ती प्रतिवेदनमाथि छलफल र सुझावहरू संकलन भएपनि सुझावहरू प्रतिवेदनमा समेटिएको थिएन।सो महासमिति बैठकका प्रतिवेदनहरू केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको हो।  

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।  सुनसरीको धरान नगरपालिका १३ स्थित सडकमा प्रदेश १–०२–००२ ख ०१६० नम्बरको ट्रकमा प्रदेश १–०२–०४८ प ४९२४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका २० बस्ने २० वर्षीय समर्पण राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिजयपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  यसैगरी सुनसरी, हरिनगरा गाउँपालिका २ स्थित सडकमा भुटाहाबाट हरिनगरातर्फ जाँदै गरेको बीआर ३८ एक्स ८२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका १ बस्ने ५० वर्षीया दुखनी देवी दासको बुधबार बेलुकी मृत्यु भएको छ ।  ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  यसैगरी सुनसरीकै कोशी गाउँपालिका २ साह टोलस्थित सडकमा मधुवनबाट लौकहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह १४०६ नम्बरको सिटि सफारीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया मालती देवी साहको बुधबार बेलुकी मृत्यु भएको छ ।  ठक्कबाट गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  रूपन्देहीको तिलोत्तमा नगरपालका १५ कोटिहवास्थित सडकमा भैरहवाबाट बुटबलतर्फ जाँदै गरेको लु.३२ प ९२९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका १३ नयाँगाउँ बस्ने ४० वर्षीय प्रेम थापा मगरको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।  कञ्चनपुरको भिमदत्त नगरपालिका ४ ब्रह्मदेब हाइवे जिरो प्वाईन्टस्थित सडकमा म.१ प ११४५ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालक शुक्लाफाटा नगरपालिका ५ बस्ने ४० वर्षीय रूद्र बहादुर ओलीको मृत्यु भएको छ । उक्त मोटरसाइकलले म.२ प ७२७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।  साथै दुर्घटनामा घाइते भएका म.२ प ७२७१ नम्बरको  मोटरसाइकल चालकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त

नयाँदिल्ली। प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसदमा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ। मोदीले पछिल्लो समय आम चुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ लिँदै हुनहुन्छ । भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)लाई बहुमतबाट वञ्चित गरेको थियो, जसले भाजपालाई शासन गर्न गठबन्धन सहयोगीमा भर पर्न बाध्य तुल्यायो । गान्धीले विश्लेषकको अपेक्षा र एक्जिट पोललाई बेवास्ता गर्दै आफ्नो पार्टी (कांग्रेस)लाई संसदीय सङ्ख्या लगभग दोब्बर बनाउन मद्दत गर्दै गर्दाको प्रयासमा एक दशक अघिदेखि मोदी सत्तामा आएपछि सबैभन्दा राम्रो परिणाम हो । शनिबार कांग्रेस नेतृत्वको बैठकमा गान्धीलाई भारतको आधिकारिक विपक्षी नेताको रूपमा चयनको लागि सिफारिस गर्न सर्वसम्मतिले मतदान भएको थियो । यो पद सन् २०१४  देखि खाली रहेको थियो । सबै सहभागीले सर्वसम्मतिले प्रस्ताव पारित गरी राहुल गान्धीले संसदमा विपक्षको नेताको पद लिनुपर्ने र केसी वेणुगोपालले पार्टी कार्यकारिणीको बैठक पछि पत्रकार सम्मेलनमा बताए । शनिबार पछि कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनका दुई सय ३२ विधायकको बैठकमा नामाङ्कन पेस गरिनेछ । गान्धी दशकौँसम्म भारतीय राजनीतिमा प्रभुत्व जमाउने वंशको वंशज हुनुहुन्छ भने स्वतन्त्रता नेता जवाहरलाल नेहरुबाट सुरु गरेर पूर्वप्रधानमन्त्रीका छोरा र नाति हुन् ।

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । संविधान धारा १६८ को उपधारा ३ अनुसार बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई नियुक्त गरेका हुन् । यस उपधारामा संसदमा सहभाथी सबै भन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त हुने पाउने व्यवस्था छ । सोही अनुसार पाण्डे नियुक्त भएका हुन् । २७ सीटले काँग्रेस संसदमा सबैभन्दा ठूलो दल हो । पाण्डे यसअघि पनि मुख्यमन्त्री बनिसकेका छन् । वर्तमान सत्ता गठबन्धनबाट गण्डकीमा मुख्यमन्त्री बनेका एमाले नेता खगराज अधिकारीले संविधानबमोजिम प्रदेशसभामा बहुमत पुर्‍याउन नसकेपछि प्रदेशसभामा उपस्थितको बहुमतको आधारमा भन्दै सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र संविधानको धारा १६८ (३) बमोजिमको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । पाण्डेले आज वेलुका ५ बजे शपथ लिने कार्यक्रम छ ।उनलाई प्रदेश प्रमुख भट्टले पद तथा गोपनियताको शपथ खुवाउनेछन् ।

यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५२ मिनेटमा हुनेछ ।

केजरीवाललाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

एजेन्सी । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनले जुन १ सम्मको आन्तरिक जमानत प्राप्त गरेका हुन् । यसअघि सम्पत्ति शुद्धीकरण मुद्दामा उनी पक्राउ परेका थिए। न्यायाधीशहरु सञ्जीव खन्ना र दीपंकर दत्तको इजलासले यस्तो आदेश दिएको हो। केजरीवाललाई जमानत दिने विषयमा ईडीले चर्को विरोध गरेको थियो।  केजरीवाल हाल तिहाड जेलमा रहेका छन् । उनलाई मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । सर्बोच्चको फैसला अनुसार उनले अब चुनावको प्रचार गर्न समेत पाउनेछन् । 

फुट्यो उपेन्द्र यादवको पार्टी, सात सांसदले नयाँ दल दर्ता गर्दै

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ ।उक्त दलका ७ जना सांसदहरू नयाँ दल दर्ताका लागि अहिले निर्वाचन आयोगमा पुगेका छन् ।गत फागुन २१ गते नेकपा एमाले र माओवादीसँग यादवले सहकार्य गरेपछि जसपामा विवाद बढेको थियो ।विवाद बढिरहेको अवस्थामा अध्यक्ष यादव अमेरिकामा रहेका बेला यता अशोक राई नेतृतवमा पार्टी विभाजन गर्न लागिएको हो । राईसहित प्रदीप यादव, सुशीला श्रेष्ठ र राजकिशोर यादवसहितका सांसद नयाँ पार्टीको पक्षमा उभिएका छन् । उनीहरू सबैजना एमाले(माओवादी गठबन्धन सरकारमा मन्त्री बन्न नपाएपछि रुष्ट थिए।अशोक राई, प्रदीप यादव र राजकिशोराई उपेन्द्रले मिलाएर मन्त्री बनाइदिने आश्वासन दिएका थिए ।पूर्व शिक्षा मन्त्री तथा पार्टीका वरिष्ठ नेता राईले पार्टी फुटाएर नयाँ दल दर्ताका लागि अहिले निर्वाचन आयोग पुगिसकेका छन् । जसपाकी एकजना सांसद सुशील श्रेष्ठले ७ जना सांसद मिलेर नयाँ दल दर्ता गर्न आफूहरू अहिले निर्वाचन आयोगमा पुगिसकेको बताइन् ।अहिले प्रतिनिधिसभामा जसपामा हाल १२ जना सांसदहरु छन् ।राईले आइतबार नै निर्वाचन आयोगमा दर्ता गर्ने गरी गएका छन् । दलकाे नाममा नेपाल हटाएर जसपा मात्रै राखिने बताइएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अहिले यूएनको कार्यक्रमका लागि अमेरिकामा छन् । उनी अमेरिकाबाट फिरेर अहिले कतार ट्रान्जिटमा छन्।

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज सिंहदरबारमा बस्दै छ । बैठक दिउँसो ४ः ०० बजे बस्ने बताइएको छ । बैठकमा लागनी सम्मेलनको तयारीका विषयसँगै समसामयीक विषयमा छलफल र निर्णय हुने बताइएको छ ।

मुस्लिम समुदायले इद उल फित्र मनाउँदै, देशभर सार्वजनिक विदा

काठमाडौं । आज मुस्लिम धर्मावलम्बीले इद अथात् इद उल फित्र पर्व मनाउँदै छन् । एक महिने रमजान पर्व समापन भएको अवसरमा मुस्लिम समुदायले विशेष नमाज पाठ गरी यो पर्व मनाउने गर्छन् । अरबी पात्रो हिजरी सम्वत् अनुसार दशौँ महिनाको पहिलो दिन देशभर मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गरिन्छ । दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि ३ दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने प्रचलन रहेको छ ।आज आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने गरिन्छ । खुसीपूर्वक दान गरेर दीन–दुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । यस अवसरमा आज बिहान स्नान गरी नयाँ कपडा लगाएर विशेष नमाज पाठ गरेपछि मात्रे ठूलाबडाबाट आशीर्वाद लिने क्रम सुरु हुन्छ । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्र बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ। यसरी दान गरिएको नगद वा जिन्सी दिन दुःखी एवं गरिबलाई बाँडिन्छ।इद पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।