छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सुनसरीको धरान नगरपालिका १३ स्थित सडकमा प्रदेश १–०२–००२ ख ०१६० नम्बरको ट्रकमा प्रदेश १–०२–०४८ प ४९२४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका २० बस्ने २० वर्षीय समर्पण राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिजयपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी सुनसरी, हरिनगरा गाउँपालिका २ स्थित सडकमा भुटाहाबाट हरिनगरातर्फ जाँदै गरेको बीआर ३८ एक्स ८२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका १ बस्ने ५० वर्षीया दुखनी देवी दासको बुधबार बेलुकी मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी सुनसरीकै कोशी गाउँपालिका २ साह टोलस्थित सडकमा मधुवनबाट लौकहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह १४०६ नम्बरको सिटि सफारीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया मालती देवी साहको बुधबार बेलुकी मृत्यु भएको छ । 

ठक्कबाट गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रूपन्देहीको तिलोत्तमा नगरपालका १५ कोटिहवास्थित सडकमा भैरहवाबाट बुटबलतर्फ जाँदै गरेको लु.३२ प ९२९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका १३ नयाँगाउँ बस्ने ४० वर्षीय प्रेम थापा मगरको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । 

कञ्चनपुरको भिमदत्त नगरपालिका ४ ब्रह्मदेब हाइवे जिरो प्वाईन्टस्थित सडकमा म.१ प ११४५ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालक शुक्लाफाटा नगरपालिका ५ बस्ने ४० वर्षीय रूद्र बहादुर ओलीको मृत्यु भएको छ । उक्त मोटरसाइकलले म.२ प ७२७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका म.२ प ७२७१ नम्बरको  मोटरसाइकल चालकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । 
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

उदयपुरमा नालीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ मा घरछेउको नालीमा डुबेर दुई वर्षका एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर विष्णुबहादुर खड्काका अनुसार लिम्चुङबुङ गाउँपालिका–४, बलम्ता घर भई त्रियुगा नगरपालिका–३, मोतीगडा चोक बस्ने देवान राईका छोरा योङहाङ राईको नालीमा डुबेर मृत्यु भएको हो। बालक हिजाे सोमबार खेल्ने क्रममा नालीमा जमेको पानीमा डुबेर मृत अवस्थामा फेला परेको खड्काको भनाइ छ। शवलाई आवश्यक कानुनी प्रकिया पूरा गरी पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको उनले जानकारी दिए।

भोजपुरमा ट्याक्टर दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–४ दुबेस्थित चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश नं. १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर लकडी लिएर दिङ्लातर्फ आउँदै गर्दा सडकबाट करीब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुर्घटनामा ट्याक्टरमा सवार छ जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको र चारजना घाइते भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक षडानन्द नगरपालिका–४ केराबारीका ३५ वर्षीय आइतबहादुर तामाङ र अरुण गाउँपालिका–४ चरम्बीका ३० वर्षीय नवीन तामाङ रहेका छन् । दुवैजनाको ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको हो । घाइते हुनेमा षडानन्द नगरपालिकाका १९ वर्षीय दाछिरी शेर्पा, २२ वर्षीय अम्बरबहादुर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङ रहेका छन् । उनीहरूको उपचार नगर अस्पताल दिङ्लामा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएकाको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

परासीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भैरहवादेखि परासीतर्फ आउँदैगरेको युपी ५५ एटी ५६६६ नम्बरको भारतीय ट्रकले रामग्राम नगरपालिका वडा ३ घोडपालिमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट परासीमा मामाघर आएकि चार वर्षिया अनुष्का चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरदत्त पन्तले जानकारी दिए ।  दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गरेका थिए । ट्रक र चालक भारतको उत्तर प्रदेश जिल्ला महाराजगञ्ज ग्राम बस्ने अमरजित बर्मालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ। रुपन्देही शुद्धोधन गाउँपालिका ३ रमवापुर घर भएकी उषा चौधरी छठमा छोरी अनुष्कालार्इ लिएर माइत आएकी थिइन् । 

मनाङका विभिन्न स्थानमा लेक लागेर तीन जनाको मृत्यु

मनाङ । हिमाली जिल्ला मनाङमा लेक लागेर तीन जनाको मृत्यु भएको छ । मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न स्थानमा लेक लागेर तीन जनाको मृत्यु भएको हो ।  उच्च हिमाली क्षेत्रमा पर्यटकको भारी बोक्न र पथप्रदर्शकको रूपमा गएका उनीहरूको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मृत्यु हुनेमा तनहुँका ४४ वर्षीय रामबहादुर थापा, नुवाकोटको किस्पाङ गाउँपालिका–१ का ४९ वर्षीय साम्बा घले र लमजुङको क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका छन् । पर्यटक पथप्रदर्शक (गाइड) को काम गर्ने थापा शनिबार राति नार्पाभूमि–२, मा केरेला होटलमा बास बसेका थिए ।  उनको सोही होटलमा मृत्यु भएको हो । आइतबार बिहान उनको शवलाई हेलिकप्टरमार्फत उद्धार गरी शिक्षण अस्पताल, काठमाडौं पठाइएको छ । यसैगरी, शनिबार नै  मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा लेक लागेर लमजुङको क्व्होलासोथर गाउँपालिका–४, भुजुङका गुरुङको निधन भएको थियो । लेक लागेर  बेहोस भएका गुरुङको उपचारको क्रममा निधन भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार काङला फेदी करिब चार हजार पाँच सय मिटरबाट पर्यटकको सामान बोकेर फर्कने क्रममा लेक लागेर गुरुङ बेहोस भएका थिए । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक अर्जुन बस्नेतको कमाण्डमा दुई जनाको टोलीले एयर डाइनेस्टीको हेलिकोप्टरमार्फत उद्धार गरी गुरुङलाई प्रहरी सहायक हवल्दार कृष्ण कामीको साथमा उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको थियो । डिलबहादुरको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन बस्नेतका अनुसार नार्पाभूमि–४ याकखर्कमा पर्यटकको भारी बोकी फर्कने क्रममा नुवाकोट किस्पाङ गाउँपालिका–११ का ४९ वर्षीय साम्बा घलेको शुक्रबार लेक लागेर घटनास्थलमा नै मृत्यु भएको थियो ।

लोकप्रिय