मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटना लगत्तै उद्धारमा खट्ने प्रहरी पुरस्कृत
काठमाडौं, चैत ६ । गत फागुन १५ गते तत्कालिन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनाको उद्धारमा खटिने ३ प्रहरी पुरस्कृत भएका छन् । पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा भएको उक्त हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।
सोही घटनामा उद्धार कार्यमा जुटेका ताप्लेजुङका तीन प्रहरी पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेमा प्रहरी हवल्दार वेद कुमार अर्याल, प्रहरी जवान उपेन्द्र राई र प्रहरी जवान मनोज कुमार चौधरी छन्।
उनीहरु तीनै जना ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदीमा कार्यरत रहेका थिए । ३ प्रहरीलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ।
उद्धार तथा खोजतलास एवम् शव संकलन गर्ने कार्यमा खटिई देश र नागरिकसमक्ष नेपाल प्रहरीको छवि उच्च बनाएको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको हो । मन्त्री अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सिस्ने भिरमा दुर्घटनामा परेको थियो ।
रोबोट प्रविधिको पढाइप्रति विद्यार्थी उत्साहित
काठमाडौं, चैत ५ । यशोधरा बौद्ध माध्यमिक विद्यालयले सुरु गरेको रोबोट प्रविधिको पढाइमा विद्यार्थी उत्साहित भएका छन् । गत शुक्रबारबाट देशमै पहिलोपटक उक्त विद्यालयले रोबोटबाट पढाइ सुरु गरेको हो । प्रधानाध्यापक रमिला शाक्यका अनुसार निकट भविष्यमा विद्यार्थीले आफैँ रोबोट बनाएर सञ्चालन गर्न सक्नेछन् । रोबोट प्रविधिलाई नियमित शैक्षिक क्यालेन्डरमा लगेपछि विद्यार्थीको तार्किक क्षमता र सिर्जनशीलता बढ्ने विश्वास उनको छ । उनले भनिन्, ‘विद्यार्थीले पार्टपुर्जा जोडेर आफ्नो रुचिअनुसार रोबोटलाई आकार दिन र सञ्चालन गर्न सक्छन् । त्यसैले, विद्यार्थीमा उत्साह धेरै देखिन्छ ।’ रोबोटले यसरी काम गर्छ ? इन्जिनियर प्रितेशप्रताप रानाका अनुसार रोबोट प्रविधिमा आइआर रिफ्लेक्सन, साउन्ड सेन्सर, लाइट सेन्सर, टच सेन्सर, स्टुडियोलगायतका सामग्री जडान भएको हुन्छ । जसकारण रोबोटले दूरी मापन गर्ने, रङ छुट्याउने, उज्यालो र ध्वनि मापन गर्ने गर्छ । सर्भो मोटरले रोबोटको चाललाई नियन्त्रण गर्छ । डिसी मोटरले रोबोटलाई चलायमान गराउँछ । साउन्ड सेन्सरले ध्वनि मापन र लाइट सेन्सरले लाइट मापन गर्छ । निर्माण खर्च १७ हजार ललितपुर महानगरपालिकाका अनुसार यशोधरा बौद्ध माध्यमिक विद्यार्थीमा प्रयोग गरिएको रोबोट प्रविधिको मूल्य १७ हजार हो । यस प्रविधिलाई परिस्कृत गर्दा विद्यालयको पाठ्यक्रममा प्रयोगको सम्भावना रहेको इन्जिनियर रानाले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएके छ ।
तत्काल सरकारबाट हट्ने सम्भावना छैनः मन्त्री यादव
विराटनगर, चैत ३ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्ने बताए । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टी नेपाल सङ्घीय सरकारमा नरहेकाले समर्थन फिर्ता लिनुको कुनै अर्थ नरहेको बताए । उनले तराईका जनताको चाहनाअनुसार नै राजपासँग मिलेर प्रदेश नं २ मा सरकार गठन गरेको बताउँदै शक्ति निर्माण गर्नका लागि आफ्नो पार्टीले राजपालाई पत्र लेखी पठाएकामा जवाफ नआएकाले त्यसलाई सकारात्मक रुपमा लिएको प्रष्ट पारे । उपप्रधानमन्त्री यादवले राज्यले विप्लव समूहको गतिविधिमाथि रोक लगाउनु आफ्नो कर्तव्य निभाएको हो, त्यो जुनसुकै सरकारले पनि गर्ने गर्छ भन्दै राजनीतिक गतिविधिको नाममा मान्छेको हत्या, लुटपाट र आङ्तक सिर्जना गरी जनतामा त्रासको वातावरण फैलाउन नपाइने बताए । उपप्रधानमन्त्री यादवले सिके राउतसँग भएको सम्झौतामा कहीँ पनि जनमत सङ्ग्रह उल्लेख नभएको प्रष्ट पार्दै जनमत सङ्ग्रह र जनअभिमत फरक विषय रहेको बताए । उनले सिके राउतसँग भएको ११ बुँंदे सम्झौतामा मुलुकको सार्वभौमसत्ता र अखण्डता स्वीकार गराउनु सकारात्मक पहल रहेको बताए । उनले प्रदेशमा रहेका अतिविशिष्ट अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई मात्र सङ्घीय सरकारले आफ्नो मातहतमा राखेको बताउँदै यसबाट प्रदेशको अधिकार नखोसिएको बताए । स्वास्थ्यमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र भएको अनियमिताका सम्बन्धमा विगतको सरकारले छानबीन गरेको र अहिले सिनेटको प्रतिवेदनअनुसार नै त्यहाँका उपकुलपतिलाई बर्खास्त गरिएको जानकारी दिए ।
आज पनि अमेरिकाको उत्कृष्ट प्रदर्शन, दोस्रो ओभरमै लियो विकेट (LIVE )
काठमाडौं, चैत २ । यूएसए (अमेरिका) विरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा यूएईले खराब शुरुवात गरेको छ । उसले १.५ ओभरमै पहिलो विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा अश्फाक अहमद ७ रनमा आउट भए । उनलाई यूएसएका जेसी सिंहले आउट गरे । आज यूएईले टस जितेर जितेर ब्याटिङ रोजेको छ । खेल यूएईमा भइरहेको छ। शुक्रबार भएको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।
जान्नुहोस्, नांगै सुत्नुका फाइदा
एजेन्सी । मानव जीवनमा सुताई पनि एउटा महत्वपूर्ण पाटो हो । कसरी सुतिन्छ भन्ने कुराले पनि मानव जीवन कति सुखी छ भन्ने थाहा हुन्छ । सामान्यतय मानिसहरु आफ्नो सुताइबारे धेरै सोच्दैनन् । तर, ‘बेड–लाईफ’ ले पनि कतिपय अवस्थामा सिंगो जीवनशैलीलाई धेरै सहयोग गरिरहेको पश्चिमा केही वैज्ञानिकहरु बताउँछन् । केही वैज्ञानिक र मनोविज्ञहरुका अनुसार नांगै सुत्नुका मुख्य फाइदाहरु यस्ता छन् – १. हाइजेनिक हुन्छ–राती सुत्ने बेला पेन्ट वा अरु कपडा लगाएर सुत्दा शरिरमा विभिन्न ब्याक्टेरिया प्रवेश गर्नसक्छ । त्यसैले पनि नांगै सुत्नु हाइजेनिक मानिन्छ । जसले गर्दा शरिरमा राति गर्मी हुनसक्ने भएकाले पनि वैज्ञानिकहरु नांगै सुत्नुलाई हाइजेनिक मान्छन् । २. राती सहज रुपमा सुत्न सकिन्छ–तपाईँ सुत्ने बेलामा शरिरको तापक्रम पनि कम हुनु आवस्यक हुन्छ । हामी गहिरो निन्द्रामा हुँदा शरिरको तापक्रम पनि तुलनात्मक रुपमा कम हुनुपर्छ । तर, कपडासहित सुत्दा शरिरमा तापक्रम बढ्नसक्छ । यसरी, शरिरको तापक्रम सन्तुलन बनाउनका लागि पनि नांगै सुत्नु आवस्यक छ । ३. सेक्स डिजायर बढाउँछ–छाला छोएर सुत्दा स्वभाविक रुपमा शरिरमा हर्मोनको मात्रा बढ्छ । जस्तै, अक्सिटोकिन जस्तो हार्मोनको मात्रा बढ्छ । र यसले शरिरमा सेक्सको डिजायर पनि बढाउँछ । यसरी, एक्लै वा जोडी सुत्दा पनि छाला छोइँदा त्यसले शारिरिक आवस्यकता पनि बढाउँछ । ४. अद्धित्तिय स्वतन्त्रता मिल्छ–नांगै सुत्दा साँच्चिकै स्वतन्त्रता मिल्छ । यत्तिको स्वतन्त्रताको अनुभुति सायदै अरु गतिविधिबाट मिल्ला । यसले संवेदनशीलता पनि अन्य अवस्थामा भन्दा बढी हुन्छ । ५. शरिरको तौल घटाउन मद्धत गर्छ–मोटो हुने मानिसहरु शरिरको तौल घटाउन धेरै कोसिस गर्छन् । तर, नांगै सुत्नाले पनि शरिरको तौल घट्छ । शरिरको तौल घटाउने यो पनि एउटा राम्रो तरिका हो ।
यूएइको आठौं विकेट पतन, सुल्तान रनआउट (हेर्नुस् लाइभ)
काठमाडौं, माघ १८ । यूएई विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले आठौं सफलता पाएको छ । सातौं किकेटका रुपमा सुल्तान अहमद आउट भए । उनी दिपेन्द्र सिंह ऐरीले रन आउट गरेका हुन् । यसअघि, सन्दीप लामिछाने, अनिवाश बोहरा, सोमपाल कामीले समान दुईदुई र करण केसीले एक विकेट लिए । नेपालले आज टस हारेर बलिङको निम्तो पाएको छ ।आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् ।
सुन काण्डमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश भुर्तेल पनि तानिए
काठमाडौँ — सुन तस्करीसम्बन्धी मुद्दा पेशी व्यवस्थापनमा ‘कैफियत’ भेटेपछि न्यायपरिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई समेत कारबाही स्वरूप काठमाडौँ तानेको छ । परिषद् बैठकले सोमवार भुर्तेललाई न्यायपरिषद सचिवालयमा ‘काज’ सरुवा गरेको हो । कान्तिपुर दैनिकका अनुसार, साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपीवारे जिल्ला अदालतले गरेको ‘थुनछेक आदेश’ विरुद्धको निवेदन व्यवस्थापन क्रममा भुर्तेलको भूमिका शंकास्पद देखिएको स्रोतको भनाइ छ । ‘यस्ता निवेदनहरू उहाँले सुरुमा एकसाथ राख्नुभयो, पछि अलग अलग गरेर इजलास बाँडेको भेटियो’ परिषद् स्रोतले भन्यो, ‘पेशी व्यवस्थापन लगायत कतिपय कार्यविधिका विषयवस्तुमा गम्भीर प्रश्न उठेपछि झिकाइएको हो ।’ न्यायपरिषदले उच्च अदालत विराटनगरको घटनाबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई जिम्मेवारी दिएको छ । उनले १५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउनेछन् । यसअघि विराटनगर उच्च अदालतका न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौडेल काठमाडौँ झिकाइएका थिए । जिल्ला अदालत ललितपुरका न्यायाधीश विश्वमंगल आत्रेयका बारेमा छानबिन गर्न पनि परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईलाई जिम्मेवारी दिएको छ । भिसा प्रोसेसिङ र स्वास्थ्य परीक्षणका नाममा मलेसिया जाने नेपाली कामदारलाई ठगी गर्दै आएका भीएलएनका सञ्चालक रामकुमार श्रेष्ठलाई सफाइ दिएकोलगायत आत्रेयका फैसलामा गम्भीर प्रश्न उठाउँदै उजुरी परेकाले परिषद्ले सचिवालयमा तानेको हो । परिषद्ले सोमवारै सर्वोच्चका मुख्य रजिस्ट्रार राजनकुमार भट्टराईलाई उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ । उनी सरकारी वकिल समूहबाट सचिव भई सर्वोच्चको मुख्य रजिस्ट्रारसम्म बनेका थिए । राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सर्वोच्चका पूर्व न्यायाधीश तपबहादुर मगरको नाम सिफारिस भएको छ । सेवा अवधि पुगेका कारण प्रतिष्ठानको कार्यकारी निर्देशकबाट केशरीराज पण्डितले अवकाश पाएका थिए ।
एकदिवसीय र टी–२० क्रिकेटः यूएईको टिम घोषणा, को–को छन् टोलीमा ?
काठमाडौं, पुष २६ । नेपालविरुद्धको तीन एकदिवसीयका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को क्रिकेट टोली घोषणा गरिएको छ । मोहम्मद नाभिदको कप्तानीमा यूएईले टोली घोषणा गरेको हो । यूएई क्रिकेट बोर्डले १६ सदस्यीय टोली घोषणा गर्दै नाभिदलाई यो पटक कप्तान चयन गरेको छ । नियमित कप्तान रोहन मुस्तफा निलम्बनमा परेका बेला नाभिदले नेपालविरुद्ध कप्तानी गर्ने भएका हुन् । मुस्तफा, अहमद राजा र रमीजशहजादलाई ८ साताको प्रतिबन्ध लगाइएको छ । उनीहरूलाई यूएईको बोर्डविरुद्ध बोलेको भन्दै निलम्बन गरिएको हो । जसका कारण तीनै खेलाडीले नेपालविरुद्धको सिरीज गुमाउने भएका छन् । नेपालले २५ जनवरीमा पहिलो, २६ मा दोस्रो र २८ जनवरीमा तेस्रो एकदिवसीय खेल खेल्दैछ । त्यसपछि ३१ जनवरी देखि ३ फेब्रुअरीसम्म तीनवटा टी–२० खेल खेल्ने तय भइसकेको छ । जसका लागि नेपाली क्रिकेट टिमले तयारी सुरू गरिसकेको छ भने यूएईले क्याम्पमा राखिसकेको छ । यूएई टिममा को-को छन् ? हेर्नुस् मोहम्मद नाविद (कप्तान),मोहम्मद उस्मान (उपकप्तान),जहूर खान, कदीर अहमद, फहद नवाज, अब्दुल शकूर, सुल्तान अहमद, सीपीरिजवान, चिराग सुरी, मोहम्मद बुटा, शमन अनवार, गुलाम शब्बर, इमरान हैदर, ताहिर मुगल, अमिर हयात
सन्दीपले क्यामरुन डेलपर्टलाई रन आउट गरे
काठमाडौं, पुष २५ । बंगलादेश प्रिमियर लिगको आजको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानले फिल्डीङमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । पहिलो ओभरमा विकेट लिन नसके पनि अफिप होसेनले गरेको बलिङमा क्यामरुन डेलपर्टलाई रन आउट गरे । आज सन्दीपको टोली सिल्हेट सिक्सर्सले चिट्टागोंग भिकिङ्ग्स खेलिरहेको छ ।
यो वर्षको आइपीएल मार्च २३ देखि, प्रतियोगिता भारतमै हुने
दिल्ली, पुष २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी संस्करण मार्च २३ तारिखबाट भारतमै हुने भएको छ । इन्डीयन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार प्रेस विज्ञप्तिमार्फत आईपीएलको मिति सार्वजनिक गरेको हो । बीसीसीआईले आईपीएल भारतमै आयोजना गर्ने पनि निश्चित गरेको छ । यसअघि पूर्वघोषित आम निर्वाचनको मितीसँग जुध्ने भएका कारण आईपीएल फेरि भारत बाहिर हुने सम्भावना बढेको थियो । भारतमा आगामी अप्रिल र मेमा आम निर्वाचन हुने जनाइएको छ । यस अघि सन् २००९ र २०१४ मा आम निर्वाचनसँग मिती जुध्दा आइपीएल क्रमसः दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना गरिएको थियो । बीसीसीआईले राज्य र संघिय सरकारका अधिकारीसँग छलफल गरी प्रतियोगिता मार्चमा भारतमै आयोजना गर्ने निर्णय गरिएको जनाएको छ। बीसीसीआईले आईपीएलको नयाँ मिती र हुने स्थानको बारेमा प्रतियोगितामा सहभागी हुने सबै टोलीहरूबाट मञ्जुरी समेत प्राप्त भईसकेको जनाएको छ । आईपीएलको यो संस्करणमा पनि नेपाली स्पिन स्टार सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट खेल्दै छन् ।
७१ वर्षमा भारतले उल्ट्यायो इतिहास, अष्ट्रेलियामा पहिलोपटक जित्यो सिरिज
सिड्नी । भारत र अष्ट्रेलियाबीच भएको चार खेलको सिरिज भारतले जितेको छ । भारतले ७१ वर्षको इतिहासमा अष्ट्रेलियामा पहिलोपटक टेष्ट सिरिज जितेको हो । भारतले २–१ ले सिरिज जितेको हो । अन्तिम खेल रद्द भएको थियो । यसअघि इङ्ल्याण्ड, दक्षिण अफ्रिका र न्यूजिल्याण्डका टीमले अष्ट्रेलियामा सिरिज जितिसकेका छन् । यसअघि वर्षाका कारण गावस्कर ट्रफीको चौथो र अन्तिम टेष्टको अन्तिम दिनको खेल रद्द भएको थियो । खराब मौसमका कारण चौथो दिन ६४÷४ ओभरको खेल रोकिएको थियो । उज्यालो नभएको भए तेश्रो दिन पनि १६।÷३ ओभर कम खेलिएको थियो । यो टेष्टमा भारतले टस जितेर ब्याटिङ फैसला लिएको थियो । भारतले सात विकेटमा ६२२ रन बनाएर आफ्नो पहिलो पारी सकेको थियो । अष्ट्रेलिया पहिलो पारी ३ सय रनमा नै अलआउट भएको थियो । भारतले फलोअन देखिएपनि दोश्रो पारीमा बिना विकेट ५ रन मात्रै बनाउन सक्यो । त्यही बेला पर्याप्त उज्यालो नहुँदा तेश्रो सत्रको खेल रद्द भएको थियो । चौथो दिन भने पानी परेपछि पहिलो सत्रका खेल हुन सकेनन । पाँचौ दिन पनि पानी परिरहेको थियो ।
बंगलादेश प्रिमियर लिगः सन्दीपले मौका पाए, चम्किएलान् डेब्यू खेलमा ?
काठमाडौं, पुष २२ । शनिबार देखि शुरु भएको बंगलादेश प्रिमियर लिग (बीबीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिलहेट सिक्सर्सले टस हारेर ब्याटिङको निम्तो पाएको छ । आज सिक्सर्सले शाहितद अफ्रिदी, स्टीभ स्मिथ जस्ता चर्चित खेलाडी रहेको कोमिल्ला भिक्टोरिएन्ससँग खेल्दै छ । सन्दीपले पहिलो खेलमै मौका पाएका छन् ।
बिपिएलमा सन्दीप अाज पहिलाे खेल खेल्दै
काठमाडौं, पुष २२ । शनिबारदेखि शुरु भएको बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिलहेट सिक्सर्सले आज (आइतबार) पहिलो खेल खेल्दै छ । खेल नेपाली समयअनुसार १२ः१५ बजे शुरु हुनेछ । सन्दीपको टोलीको नेतृत्व चर्चित क्रिकेटर डेबिड वार्नरले गर्दै छन् । सिलहेट सिक्सर्सलले आज तामिम इकबाल कप्तानी रहेको कोमिल्ला भिक्टोरिएन्ससँग खेल्दै सुखत शुरुवात गर्ने तयारी गरेको छ । बिग ब्यास लिग (बीबीएल) को ४ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेश हानिएका सन्दीपले बीपीएलको आफ्नो पहिलो खेलमा स्थान पाउने सम्भावना छ । बीपीएलमा एक टोलीले आफ्नो प्लेयिंग–११ मा कम्तिमा ४ जना बिदेशी खेलाडी राख्न पाउँछ । पछिल्लो सिजनमा भने ५ जनासम्म बिदेशी खेलाडी खेल्न पाउने नियम थियो। सन्दीपको टोलीले दोस्रो खेल जनवरी ९ तारिखमा चिट्टागोंग भिकिङ्गस तथा जनवरी १२ तारिकमा ढाँका डाइनामाइट्ससंग खेल्नेछ । बिपिएल टि–२० सन् २०१२ देखि सुरु भएको हो र यो प्रतियोगिताको छैठौं संस्करण हो।
सन्दीपको अर्को रेकर्डः चार खेलमा ४ कप्तान शिकार !
काठमाडौं, पुष १७ । बिग बास लिगको चौथो खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिन सफल भएका छन् । सन्दीपले मेलबर्न स्टार्सको तर्फबाट डर्बी क्लब मेलबर्न रेनेगेड्सविरुद्ध आफ्नो दोस्रो ओभरमा कप्तान टम कोपरलाई बोल्ड आउट गरेका हुन् । सन्दीपले खेलेका लगातार चार खेलमा चार फरक कप्तानलाई आउट गरे । सिड्नी थण्डरका कप्तान शेन वाट्सन, होबार्ट हुरिकेनका कप्तान म्याथ्यु वेड र सिड्नी सिक्सर्सका कप्तान मोइसिस अनरिकेलाई यस अघिका खेलमा आउट गराएका सन्दीपले आजको खेलमा पनि उक्त शृंखलालाई कायम राख्न सफल भए । रेनेगाड्स विरुद्को आजको खेलपछि सन्दीपले करिब एक महिना भने बीबीएल गुमाउनु पर्नेछ । यो खेलपछि सन्दीप स्यलहेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आउने छन् ।
कालिकोटका अग्निपीडितलाई विप्लवको पार्टीद्वारा राहत वितरण
कालिकोट, पुष १३ । आगलागीबाट बिचल्लीमा परेका कालिकोटको पलाँता गाउँपालिका–१ खाडाबासीलाई नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहले राहत वितरण गरेको छ । विप्लवको पार्टीले अग्निपीडितलाई ५० हजार नगद र ५० हजारको जिन्सी सामान राहत वितरण गरेको हो। वास्तविक पीडितहरूको पहिचान गरी ‘क’ श्रेणी क्षति पुगेका परिवारलाई २ हजार रुपैयाँ नगद र ३ वटा थाली र ‘ख’ श्रेणीका पीडितहरुलाई १ हजार रुपैयाँ नगद र २ वटा थाली र ‘ग’ श्रेणीका पीडितहरुलाई ५ सय रुपैयाँ नगद र १ वटा थाली राहतस्वरूप प्रदान गरिएको नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूह जिल्ला सेक्रेटरी मनीलाल ऐडी ‘रणदीप’ ले जानकारी दिए । यही पुष ८ गते बस्तिामा आगलागाी हुँदा ३० घर जलेर नष्ट भएका थिए ।
दाइजोविरुद्ध मुस्लिम महिलाहरूको प्रदर्शन
विराटनगनर, पुस ११ । बिराटनगरका मुस्लिम महिलाहरुले बुधबार दाइजोविरुद्ध ऱ्याली निकालेका छन् । इस्लामी सङ्घ नेपालको आयोजनामा ‘छोरीलाई दाइजो होइन शिक्षा देऊ’ भन्ने नारासहित उनीहरूले ऱ्याली निकालेका हुन् । इस्लामी सङ्घ नेपालले दाइजो विरुद्धको १० दिने देशव्यापी अभियान संचालन गरिरहेको छ । उक्त ऱ्याली नगरका मुख्य मुख्य भागको परिक्रमापश्चात् जिल्ला प्रशासन कार्यालयअगाडि आएर कोणसभामा परिणत भएको थियो । मुस्लिम समुदायका महिला तथा युवायुवती सहभागी रहेको ऱ्यालीमा सहभागीले ‘छोरीलाई दाइजो होइन शिक्षा देऊ’ ‘छोरीलाई पैतृक सम्पत्तिमा अंश देऊ’लगायत महिला अधिकारका पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए । संस्थाका प्रदेश अध्यक्ष मौलाना जुल्फिकार अलीले छोरीलाई दाइजो सट्टा शिक्षा दिई योग्य बनाउनुपर्नेमा जोड दिँदै दाइजोका कारण महिलालाई यातना दिनु मानव सभ्यता विपरीत कार्य रहेको बताए । इस्लामी सङ्घको देशव्यापीरुपमा दाइजोविरुद्ध अभियानअन्तर्गत विराटनगरमा जनचेतनामूलक ऱ्याली निकालिएको समितिका सदस्य मोहम्मद अफजल हुसैन गुल्जारले जानकारी दिए । रासस