कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्न लागेको छ। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।
बैठक संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्नेछ।
यस्तै सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसद्मा विरोध जनाएको थियो। सो विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ७ सय रुपैयाँ बढेर प्रतितोला सुन १ लाख ३७ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँ पुगेको छ। यसैगरी चाँदीको मुल्य पनि बढेको छ। आज प्रतितोला चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। अघिल्लो दिन चाँदी १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । छुट्टाछुट्टै स्थानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उदयपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका ९ बस्ने ३८ वर्षीय सन्तोष कुमार माझीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । माझीले ती किशोरीलाई गत बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै, कञ्चनपुरमा २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका ८ कलकत्ता बस्ने ४८ वर्षीय भजन रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । रानाले ती महिलालाई बुधबार दिउँसो आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८० साल फागुन ९ गते बुधबार तदनुसार सन् २०२४ फेब्रुअरी २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ९८ पैसा र बिक्री दर १४३ रुपैयाँ ६३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७७ पैसा र बिक्री दर १६७ रुपैयाँ ५२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । देशमा पश्चिमी वायुको प्रभावका कारण हल्का वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ । विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौंमा आज आंशिकदेखि सामान्य बदली हुनेछ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौंमा आज बादल लाग्ने र घाम लाग्ने दुवै हुनेछ । विभागका अनुसार राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।