सरकारले निर्माण व्यवसायीको ४० अर्ब तत्काल भुक्तानी गर्छ : अर्थमन्त्री पुन

काठमाडौं ।सरकारले निर्माण क्षेत्रका काम सकेर पनि भुक्तानी नपाएका ठेकेदारहरुको तत्काल ४० अर्ब रुपैयाँ भुक्तानी दिने तयारी गरेको छ ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा अर्थमन्त्री वर्षमान पुनले ४० अर्ब रुपैंयाँ तत्काल निर्माण व्यवसायीका लागि भुक्तानी गर्ने बताएका हुन् ।

 उनले भने, ‘काम गरेर बक्यौता नपाएका निर्माण व्यवसायी सबै कानूनी प्रकृया पूरागरी सम्बन्धित मन्त्रालयमार्फत आउँछन् भने तत्काल ४० अर्ब भुक्तानी गर्नेमा छौं ।’ बाह्य सूचक राम्रो रहेपनि आन्तरिक बजार चलायमान हुन नसक्दा अर्थतन्त्र शिथिल बनेको स्वीकारेका मन्त्री पुनले निर्माण व्यवसायीका लागि ४० अर्ब तत्काल रकम निकासा गर्दा आन्तरिक बजारलाई त्यसले चलायमान बनाउने उनले बताए ।उनले अर्थतन्त्रमा आफ्नै प्रकारका तरलता लगायतका विविध समस्याहरु आइरहने उल्लेख गर्दै नेतृत्वमा बसेकाहरु डराउन नहुने र समस्या समाधानमा लाग्नुपर्ने चर्चा गरे।

बजारमा तरलता बढी हुँदा राष्ट्र बैंकलाई व्यवस्थापन गर्न समस्या हुने भएपनि अर्थतन्त्रको समस्या समाधान गर्न नेतृत्वमा बसेकाहरु डराउन नहुने धारणा पुनको छ । ‘एक वर्ष अगाडि बजारमा तरलताको समस्या थियो अहिले आएर तरलता धेरै भयो कहाँ खर्च गर्ने भन्ने छ ।यी समस्याहरु आइराख्छन् । हामी नेतृत्व लिएर बसेकाहरु डराउने होइन व्यवस्थापन गर्ने हो ।’ तरलताको समस्या हल गर्नुपर्नेमा जोड दिँदै पुनले सँगै कार्यक्रममा उपस्थित राष्ट्र बैंकका गर्भनर र विज्ञलाई लक्षित गर्दै थपे, ‘तरलता कम हुँदा कसरी व्यवस्थापन गर्ने विज्ञहरु तपाईं हुनुहुन्छ जान्नुभएको छ। 

त्यस्तै तरलता बढी हुँदा हिजो कडाइ गरेका कुन ठाउँमा खुकुलो गर्ने, क्याप्टिङलाई सजिलो गर्नुपर्ने कुरामा राष्ट्र बैंक र नियामक निकायले सोच्ने हो ।’ बैंकहरुमा थुप्रिएको पैसा बजारमा पुगेर रोजगारी सिर्जना होस र जनताको हातमा पैसा पुगोस साथै राजश्व वृद्धि होस भन्ने चाहेको उल्लेख गरेका उनले राष्ट्र बैंकसँग प्रतिस्पार्धा होइन सरकार समन्वय र सहकार्य र सन्तुलन गरेर अघि बढ्ने बताए ।

सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री डा.महत

काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताएका छन् । मन्त्रालयमा आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर उनले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको भन्ने समाचारको खण्डन गर्दै संसद्ले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न नसक्ने स्पष्ट पारे ।  मन्त्री डा.महतले यसले जनतामा द्विविधा उत्पन्न हुने बताउँदै बजेटको अर्धवार्षिक मूल्याङ्कन गरिएको स्पष्ट पारे । बजेटको मध्यावधि मूल्याङ्कन गर्दै मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा सवा दुई खर्ब बजेट कम गरिएको भन्ने समाचार केही दिन अघि सार्वजनिक भएको थियो । साथै,उनले राजस्व र बजेट कार्यान्वयन प्रगतिको समीक्षा गरिएको बताउँदै अघिल्लो वर्षको तुलनामा १० प्रतिशत राजस्व वृद्धि भएकोसमेत जानकारी गराए। मन्त्री डा.महतले नियमसम्मत बढी राजस्व उठाउने र खर्च गरिने उल्लेख गर्दै उठेको राजस्वको आधारमा आय र व्ययको आकलन मात्रै गरिएको बताए । सरकारले चालु वर्षमा रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरेको थियो । सो अवसरमा उनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु.१८ खर्बको बजेट सिलिङ तोकिएको जानकारी गराए। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीच छलफलपछि सो सिलिङ तोकेको उहाँको भनाइ थियो । रासस

रवि लामिछाने पक्राउ

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो ।  सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति लिएर उनलाई पक्राउन् गरिएको हो । पक्राउ परेका रवि लामिछानेलाई स्थल मार्ग हुँदै पोखरा लगिने बताइएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय सदस्य संख्या १० प्रतिशत बढाउने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको सदस्य सङ्ख्या बढाउने भएको छ । यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको सो पार्टीले नेताहरूको व्यवस्थापन गर्न सकस भएपछि केन्द्रीय सदस्यको सङ्ख्या १० प्रतिशत बढाउन लागेको हो । १० प्रतिशत बढाउँदा ३२९ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ ।नयाँ मानिस ल्याउनुपर्ने, ३३ प्रतिशत महिला अनिवार्य र ४५ वर्षमुनिका ६० जना युवा केन्द्रीय कमिटी सदस्यमा ल्याउनै पर्ने व्यवस्थाका कारण केही संख्या बढाउन लागिएको समाजवादीले जनाएको छ ।

सरकार ठाडो आदेशको बाटो हिंड्न थाल्यो : सांसद वस्नेत

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् शक्ति बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई दिएको निर्देशनतर्फ इङ्गीत गर्दै वर्तमान सरकार ठाडो आदेश दिँदै गलत कर्मको बाटोमा हिँडेको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै वस्नेतले कुरा सुशासन र विधिको गर्ने, नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने भन्दै सरकार गलत बाटो हिडेको बताएका हुन्। उनले अमुक उद्योगमा काटिएको विधुत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको भन्दै आपत्ति जनाए। विवाद विधुत काट्ने वा जोड्ने कुराको मात्र नभएर महसुल असुल गर्ने कि नगर्ने विषयमा केन्द्रित रहेको उनको भनाई छ ।

चिनियाँ उपविदेशमन्त्री स्वदेश फिर्ता

काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन वेइदोङ बुधबार स्वदेश फर्केका छन्। नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन सोमबार काठमाडौं आएका उनी तीनदिने नेपाल भ्रमण सम्पन्न गरी आज चीन फर्केका हुन् । स्वदेश फर्कनुअघि उनले बुधबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।  चिनियाँ उपविदेशमन्त्री सुन मंगलबार काठमाडौंमा आयोजित नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा सहभागी भएका थिए ।  नेपाल आएकै दिन सोमबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका थिए ।  

रामप्रसाद सुवेदी स्विट्जरल्याण्डका लागि आवासीय राजदूत नियुक्त

काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्डका लागि नेपाली आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् । सुवेदीलाई सान मारियो देशको गैर आवासीय राजदूतसमेत बनाइएको छ । यस्तै, हालका संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई ल्याटिन अमेरिकी मुलुक निकारागुआको गैर आवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौं।नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबार(आज)देखि सुरु हुँदैछ। बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार ४५४ जना सहभागी हुनेछन्।  पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले परिषद् बैठकको औचित्यबारे जानकारी गराए। उनले बैठकबाट पार्टीको समग्र कामको समीक्षा र आगामी कामको दिशानिर्देश लिइने बताए।  आगामी दिनमा पार्टीलाई विकसित एमालेका रूपमा अघि बढाउन स्पष्ट मार्गनिर्देश गर्नका साथै राष्ट्रिय राजनीतिलाई पनि सही दिशामा अघि बढाउन परिषद् बैठक महत्त्वपूर्ण हुने उनको भनाई थियो । बैठकमा ६ वटा प्रतिवेदनमाथि छलफल हुनेछ । परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यो बाहेक केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् । ती सबै दस्ताबेज मोबाइल एपबाट सहभागीहरूले अध्ययन गर्न सक्नेछन् । बैठकमा एमालेले २०८० मा चलाएको मिसन ग्रासरुट र झुलाघाट चिवाभन्ज्याङ संकल्पयात्राको समीक्षा समेत गर्ने बताइएको छ।त्यसैगरी पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजन अनसारको कामको मुल्याङ्कन समेत बैठकमा हुनेछ ।  दुई राष्ट्रिय महाधिवेशनको बिचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने एमालेको विधानमा उल्लेख छ । एमालेको महाधिवेशन २०७८ साल मङ्सिरमा सम्पन्न भएको थियो । पाँच पाँच वर्षमा हुने एमाले महाधिवेशन आउन अव २ वर्षमात्र बाँकी छ ।

राष्ट्रियसभाको अध्यक्षमा उमेदवारी दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उमेदवारी दिने निर्णय गरेको हो ।  विपक्षमा रहेका दललाई कांग्रेसलाई सहयोग गर्न आग्रह गर्ने निर्णय पनि बैठकले गरेको कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए । कसलाई उमेदवार बनाउने त्यो भने निर्णय भने पछि गर्ने उनले जानकारी दिए । यसका लागि भोलिबाट छलफल सुरु गर्ने उनको भनाइ छ ।  यही फागुन २९ गतेका लागि राष्ट्रियसभा अध्यक्षको निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेको छ । 

मनऋषि धितालका जनयुद्धकालिन आधा दर्जन पुस्तक सार्वजनिक

काठमाडौं । पत्रकार मनऋषि धितालका आधा दर्जन जनयुद्धकालिन पुस्तकहरु एकसाथ सार्वजनिक गरिएको छ । राजधानीको प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गरी धितालले लेख्नुभएका जनयुद्धकालिन डायरीहरुको संगालोहरु समेटिएका आधा दर्जन पुस्तकहरु एकैसाथ सार्वजनिक गरिएको हो । जनयुद्ध दिवशको अवसर पारेर गरिएको सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धलाई नजिकबाट बुझ्नका लागि पुस्तक निकै प्रभावकारी रहेको बताए । उनले नेपाली जनयुद्धले गाउँ गाउँ र वस्ती वस्तीलाई सचेत बनाउने मात्रै नभई देशको परिवर्तनको नेतृत्व गरेको भन्दै त्यसभित्रको वास्तविक कथा पुस्तकमा रहेको बताए । प्रधानमन्त्री माओवादी अध्यक्ष प्रचण्डले भने ‘मनऋषिजीले यी पुस्तकमा जे लेख्नुभएको छ, त्यो नेपाली क्रान्तिको एउटा जीवन्त इतिहास बनेर युगौंगुग सम्म रहनेछ । यस अर्थमा म उहाँलाई बधाइ भन्न चाहान्छु ।’ अहिलेको परिवर्तनका लागि नेपालका हजारौं सर्वोत्तम छोराछोरीको योगदान रहेको कहिल्यै कसैले भुल्न नहुनेमा जोड दिदै प्रचण्डले त्यसको धरातल कस्तो थियो र क्रान्ति कसरी अगाडि बढेको थियो भन्ने कुरा पुस्तकहरुमा समेटिएको बताए । केही व्यक्ति र संस्थाबाट अझै पनि परिवर्तनको मुख्य जग नेपाली जनयुद्धलाई स्विकार नगर्ने प्रबृत्ति कायम रहेको भन्दै उनले चाहेर वा नचाहेर पनि संघीयता, गणतन्त्र र नयाँ संविधानको जगलाई सबैले स्विकार गर्नुपर्ने बताए । नेपाली क्रान्तिको बाटो विश्वमा नै पृथक रहेको भन्दै उनले आर्थिक सम्बृद्धि मार्फत अब यसलाई पुरा गर्ने प्रक्रियामा रहेको बताए । त्यसका लागि सरकारले सबै खालको तयारी गरिरहेको भन्दै उनले सरकारका राम्रा कामको समर्थन गर्न आग्रह गरे । कार्यक्रममा पुस्तकका लेखक मनऋषि धितालले जनयुद्धका क्रममा आफुले डायरी लेख्ने गरेको र अहिले त्यही डायरीलाई पुस्तकको रुपमा प्रकाशन गरेको बताए । धितालका गुफा प्रेसका चिठी, जेलयात्रा, बेनीयात्रा, आधारयात्रा, राजमार्गयात्रा, पिलीयात्रा र गण्डकयात्रा पुस्तक सार्वजनिक गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई सुरक्षा दिन सांसद दाहालको माग

काठमाडौं  । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई सुरक्षा दिन सरकारसँग माग गरेका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद दाहालले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रार सुरक्षाको कारण देखाउँदै कार्यालयमा अनुपस्थित भएको भन्दै उहाँहरूलाई सुरक्षा दिन सरकारसँग माग गरेका हुन्। उनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू के कारणले असुरक्षित भएका हुन भन्ने कारण जानकारी गराउन पनि माग गरे। उनले राजनीतिक समस्या भए वार्ताद्वारा हल गर्न र अपराधजन्य समस्या भए कानुनी प्रक्रियाबाट नियन्त्रण गर्न आग्रह गरे।  सांसद दाहालले विपी राजमार्गमा धेरै दुर्घटना हुँदा जनधनको क्षति हुने गरेको भन्दै विपी राजमार्गमा तत्काल सुरुङमार्ग निर्माण कार्य अगाडि बढाउन पनि माग गरे। 

प्रेस सेन्टर नेपालले गरायो प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौं । प्रेस सेन्टर नेपालले पत्रपत्रिकाको वर्गीकरणको नतिजालगायतका विषयमा प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा उपाध्यक्ष हरु  लक्ष्मण खडका,  ओपेन्द्र शर्मा , दिपेन्द्र रावल  र महासचिव सन्तोष पौडेल लगाएत करिब २०  जनाको प्रेस सेन्टरको टोलीले काउन्सिल पुगेर अध्यक्ष बालकृष्ण बस्नेतको ध्यानाकर्षण गराएको हो । वरिस्ट उपाध्यक्ष गिरीले प्रेस काउन्सिल नेपाल नेपाली पत्रकारहरूको आशा र भरोसाको केन्द्र भएको बताए। अन्तर्राष्ट्रिय र नेपाली मान्यताअनुसार पनि काउन्सिल अर्धन्यायिक निकाय भएकाले यसले सम्पादन गर्ने कार्यहरू न्यायोचित हुनुपर्ने आफूहरूको मान्यता रहेको बताए। गिरीले पछिल्लो समय प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरण, पुरस्कार वितरणलगायतमा पक्षधरता देखिएको गुनासो आएको बताए। काउन्सिलको विषयमा यस्तो टिप्पणी आउनु समग्र पत्रकारिताकै लागि नराम्रो हुने भन्दै उहाँले यसबारेमा काउन्सिल नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बताए। पछिल्लो पटक पत्रपत्रिकाको वर्गीकरणको विषयमा आफूहरूको असहमति रहेको र त्यसलाई सच्याएर काउन्सिल अघि बढ्नुपर्ने गिरीको भनाइ थियो ।  कार्यक्रममा उपाध्यक्ष लक्ष्मण खडका, ओपेन्द्र शर्मा  लगाएतले पत्रपत्रीका बर्गिकरण न्यायोचित नभएको सच्चाउनु पर्नेमा जोडदिनु भएको थियो कार्यक्रममा महासचिव पौडेलले प्रेस सेन्टरको वक्तव्य पढेर सुनाएका थिए । काउन्सिल अध्यक्ष बस्नेतले काउन्सिलको सफलतामा प्रेस सेन्टर जस्ता पत्रकारहरूका संगठनको सहयोग आवश्यक रहेको उल्लेख गरे । यसपटकको पत्रपत्रिकाको वर्गीकरणका विषयमा बढी गुनासो आएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले त्यसमा पुनर्विचार गर्ने प्रतिबद्धता जनाए।

एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा (ग्रेडवृद्धि)को समय तालिका सार्वजनिक गरेको छ । बोर्डले आज सूचना जारी गर्दै २०८० साल चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार पूरक परीक्षा असार २३ गतेदेखि असार ३१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ ।

जसपा नेपालको निर्वाचन प्रक्रिया शुरु, अध्यक्ष उपेन्द्र बन्ने निश्चित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ। जनकपुरमा जारी एकता अधिवेशनको तेस्रो दिन आज बिहानदेखि नेतृत्व नयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए। बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ। त्यसपछि उम्मेदवारको नामावली प्रकाशन १० बजे गर्ने निर्वाचन तालिका छ। पदाधिकारी तथा सदस्यहरूको मनोनयन पत्रमाथि दाबी विरोधका लागि १० बजेदेखि ११ बजेसम्मको समय तोकिएको निर्वाचन समितिले जनाएको छ।  एकता महाधिवेशनमा अध्यक्षमा उपेन्द्र यादव दोहोरिने निश्चित जस्तै भएको छ ।पार्टी स्रोतका अनुसार यादव पुनः अध्यक्षमा दोहोरिन सबैले साथ दिएका छन् ।महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुने छ । अध्यक्ष– १, सहअध्यक्ष– १, उपाध्यक्ष– ५, महासचिव– २, उपमहासचिव– ३, सचिव– ७ र कोषाध्यक्ष– १ जना चयन हुने छन् । साढे ११ बजेदेखि साढे २ बजेसम्म मनोनयन पत्र फिर्ता लिनका लागि समय दिइएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली दिउँसो ३ बजे प्रकाशन गर्ने कार्यतालिका छ। अपराह्न ४ बजेदेखि बेलुकी ८ बजेसम्म मतदान हुने निर्वाचन समितीले जनाएको छ। 

प्रधानमन्त्रीको लागि मरिहत्तै गर्दिन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको उनले बताए । बिहीबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नुपर्छ भन्ने हो । त्यसकारण प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घन्टा त्यसमा सोच्दिनँ ।’ नेपालले यसअघि पनि रहरले नभई परिस्थितिले प्रधामन्त्री बनेको सुनाए । ‘प्रधानमन्त्री मैले मागेको होइन, परिस्थितिले मेरो माग गर्‍यो । गिरिजाप्रसाद कोइरालाजीले मलाई अफर गर्नुभयो, नेपाली कांग्रेसले अफर गर्‍यो अनिमात्रै बनेको हो’, उनले भने ।  

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टबाट बुधबार मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । अर्थमन्त्री टकराज गुरुङ र सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पनि शपथ लिएका छन् । आजमात्रै प्रदेश प्रमुख भट्टले नेपाली काँग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३)बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। १४ जेठमा सर्वोच्च अदालतले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै काँग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।