बलम्बु प्रहरी प्रभागभित्र चल्यो गोली, इन्स्पेक्टर नियन्त्रणमा

काठमाडौं । प्रहरी प्रभाग बलम्बुमा आइतबार साँझ गोली चलेको छ । प्रभागका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आफैँले बोकेको पेस्तोलबाट गोली चलेको हो ।

सो पेस्तोलबाट चलेको गोलीले उनकै ‘बडीगार्ड’ घाइते भएका छन् । काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं एआईजी दीपक थापाका अनुसार, डिउटी सकेर हतियार बुझाउने क्रममा गोली चलेको हो ।

बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षकमाथि के कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको एआईजी थापाले बताए । उनका अनुसार, घटना अनुसन्धानका निम्ति इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।

पूर्वजनमुक्ति सेनाका कामण्डर भक्त रानाको स्मृतिमा श्रद्धाञ्जलीसभा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वजनमुक्ति सेना भक्तराना मगरप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।  जनयुद्धका क्रममा सेक्सन कमान्डरको भुमिका निर्वाह गर्नुभएका राना शान्ति प्रक्रियामा आइसकेपपछि वाइसिएलमा कार्यरत हुनुहुन्थ्यो । उहाँको निधनको नवौं दिनको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति, काभ्रेपलान्चोकले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली कार्यक्रम गरेको हो।  अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा वीर अस्पतालमा पुगेर भेट भक्त रानालाई भेट गरेको र बिरामी अवस्थामा उहाँले पार्टीप्रती देखाएको माया र लगाबले आफू प्रभावित भएको बताउनुभयो । भक्त रानाले आफ्नो भौतिक शरीर छोडेर गए पनि पार्टी आन्दोलनलाई आफ्नो योगदान र गहिरो छाप छोडेर गएको उहाँले बताउनुभयो। अध्यक्ष प्रचण्डले वर्षा राना मगरले पार्टी र आन्दोलन झन सक्रिय भएर लाग्ने धारणा व्यक्त गरेको बताउनुहुँदै भक्त रानाले आफू मरेर गए पनि श्रीमती वर्षा रानालाई आफ्नो उत्तरअधिकार छोडेको बताउनुभयो । भक्त रानाकी जिवनसंगिनी वर्षा रानाले  श्रीमान् भक्त राना आफूसँगको भेट र उहाँको स्मृति  पार्टी प्रतिको लगाब र निष्ठा बारे धारणा राख्दै पार्टी आन्दोलनमा दृडता पुर्वक झन सक्रिय हुने बताउनुभयो ।

समाजवादी मोर्चाको बैठक शुरु

काठमाडौँ । आज समाजवादी मोर्चाको बैठक शुरु भएको छ ।बैठक आज (मंगलबार)अपराह्न ४ः१५ बजे नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा शुरु भएको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।  यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा फुटाएर नयाँ पार्टी बनाएको पार्टीलाई सरकारमा समावेस गरेको भएपनि उपेन्द्र यादव नेतृत्वको जसपालाई वेवास्ता गरेका छन् । जसका कारण उपेन्द्र यादव पुनः समाजवादी मोर्चामा सहभागी हुने आकलन गरिएको छ। आजको बैठकमा पनि उनको लागि कुर्ची खालि राखिएको छ ।

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो रहनेछ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ।  प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।  राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने कार्यसूची छ।  अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची छ।  अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्नेछन्।  भन्सार महसुल विधेयक, २०८१ दफावार छलफल गर्न र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ मा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गर्न र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्न लागेको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ।नेकपा एमालेसँग सोमवार राति भएको नयाँ सत्ता सहकार्यका लागि भएको सहमति अनुमोदनका लागि बैठक बस्न लागेको जनाइएको छ। कांग्रेस–एमालेबीच भएको सहमतिमा राष्ट्रिय सहमतिको सरकार बनाउने। यसको नेतृत्व सुरुको डेढ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र बाँकी कार्यकाल देउवाले नेतृत्व गर्ने सहमति छ। सहमतिमा संविधान संशोधनलाई पनि मूलरुपमा राखिएको छ।

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे छलफल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले २ वटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने बिकल्प र उपायहरूबारे छलफल गरेका हुन् । छलफलमा प्रधानमन्त्रीले २ वटै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएकोमा जोड दिँदै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारका सम्पूर्ण निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताए । प्रधानमन्त्रीले भने, ‘‘पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना हुन्। यी परियोजना निर्माणमा राज्यको ठूलो लगानी पनि भइसकेको छ। निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको छ। यस्तो परिस्थितिमा यी विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुको अर्को कुनै बिकल्प छैन। पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले गम्भीरतापूर्वक तयारी गर्नुस् र विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालनको ठोस प्रस्ताव छिटै ल्याउनुहोस्।’’ छलफलमा प्रधानमन्त्रीले केही सहुलियत दिएर र सरकारी सेवाको विस्तार गरेर विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको खाका ल्याउन निर्देशन दिए। उनले भने, ‘‘काठमाडौँ एयरपोर्टमा एयर ट्राफिकको समस्या छ। यसको उचित समाधान दिनुपर्ने हुन्छ। अर्कोतर्फ काठमाडौँ एयरपोर्टको सुधार र क्षमता बिस्तारको काम पनि हुँदैछ। यही बेला भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने गरी आवश्यक तयारी गर्नुपर्छ। वैदेशिक रोजगारीमा जाने नेपाली यात्रुहरू र अन्य यात्रुहरूलाई भैरहवा र पोखराबाटै उडान गराउने गरी तयारी गर्नुपर्छ । त्यसका लागि मेडिकल, श्रम स्वीकृति, अध्यागमन लगायतका सरकारी सेवा पोखरा र भैरहवामा व्यवस्थित गर्नुपर्छ। भिसा सेन्टरका लागि कुटनीतिक पहल गर्नुपर्छ।’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि केही सहुलियत दिनुपर्ने हुन्छ । हवाइ टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाइ इन्धनमा केही सहुलियत दिउँ। निजी क्षेत्रसँग पनि समन्वय गरेर होटल लगायतमा सहुलियत प्याकेजका निम्तिसमेत अनुरोध गरौँ। सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक कुटनीतिक पहल पनि गरिन्छ। पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले आवश्यक गृहकार्य गर्नुस्। अरू मन्त्रालय र निकायसँग पनि समन्वय गर्नुस्। अनि छिटै हामी एउटा निष्कर्षमा पुग्छौँ।’’ छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफूहरूले आवश्यक गृहकार्य गरेर विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्ने सम्बन्धी ठोस प्रस्ताव प्रस्तुत गर्ने बताए । पर्यटन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेले सहुलियतपूर्ण प्याकेजसहितका बिकल्पमा छलफल गरेर ठोस प्रस्ताव प्रस्तुत गरिने बताउँदै दुबै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति मन्त्रालयको तर्फबाट विदेशी विमान कम्पनीहरूसँग पनि छलफल भइरहेको बताए।  प्रधानमन्त्रीले बोलाउनुभएको छलफलमा मन्त्री तामाङ, मुख्यसचिव डा। बैकुण्ठ अर्याल, पर्यटन सचिव डा. पाण्डे, वाणिज्य सचिव दिनेशकुमार घिमिरे, राजस्व सचिव डा.रामप्रसाद घिमिरे, श्रम सचिव घनश्याम उपाध्याय, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत सहभागी थिए ।

क्याम्पस प्रमुख हत्याको छानबिन माग गर्दै देशभरका सामुदायिक क्याम्पस बन्द

काठमाडौँ । नेपाल पब्लिक क्याम्पस संघले आज देशभरका सामुदायिक क्याम्पस बन्द गर्ने घोषणा गरेको छ । संघले बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनाको छानबिनमा दबाब दिन आइतबार सामुदायिक क्याम्पस बन्द गर्ने निर्णय गरेको हो ।  संघले एक विज्ञप्ति निकाल्दै दोषीलाई यथाशीघ्र कानुनी कठघरामा ल्याई कारबाही गर्न सरकारलाई माग गरेको छ । ‘बाँच्न पाउने नागरिकको मौलिक हकको सम्मान सबै पक्षबाट जिम्मेवारीपूर्वक निर्वाह गरियोस् र यसको सुनिश्चितताको प्रत्याभूतिप्रति सरकार गम्भीर बनोस् भनी ध्यानाकर्षण गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ । आगामी दिनमा यस्ता अमानवीय घटनाको पुनरावृत्ति नहोस् र राज्य तथा अन्य सम्बन्धित निकायको ध्यानाकर्षणका लागि नेपाल पब्लिक क्याम्पस संघले देशभरि क्याम्पसहरूको पठनपाठन आइतबारका लागि बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । कुशवाहाको शुक्रबार अज्ञात समूहले घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्श कोतवाल गाउँपालिका–३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि गोली हानी हत्या गरेका थिए । गोली लागि गम्भीर घाइते भएका कुशवाहाको उपचारका क्रममा वीरगन्जस्थित ब्योधा अस्पताल मृत्यु भएको थियो ।

उपप्रधानमन्त्री नारायणकाजी र नेकपाका महासचिवबिच भेट

माडी । माओबादी केन्द्र का बरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल कम्युनिष्ट पार्टीका नेकपाका महासचिव नेत्र विक्रम चन्द्र विप्लव ‘सी’बिच माडीमा भेटवार्ता भएको छ।  उहाँहरुबिच पार्टी एकता लगायतका राजनैतिक  विषयमा छलफल भएको हो।   पछिल्लो समय पूर्व माओवादीहरुबिच एकताको प्रयास भइरहेका बेला दुई नेताबिचको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ।  दुबै नेता आज माडीमै रहने  छ ।  उहाँहरुबिच पार्टी एकता लगायतका विषयमा छलफल हुने बुझिएको छ।   यसैबिच उपप्रधानमन्त्री श्रेष्ठले स्थानीयहरुसँगसमेत भेटघाट गरेका  छन्।  घेटका क्रममा माडीका स्थानीयहरुले माडीमा बजेट कम विनियोजन भएको   लगायतका गुनासोहरु राखेका थिए।  माअ‍ेवादी केन्द्रका युवा नेता सन्तोष पनेरुका अनुसार बसन्तपुरमा  हुने भुवानि प्रसाद पौडेल सातौं स्मृति जिल्ला स्तरिय अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाईनल खेलको अवलोकन समेत गर्ने कार्यक्रम रहेको छ।

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिशकुमार नियुक्त

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।  नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनमतलगायत दलको समर्थनमा मुख्यमन्त्री बनेका उनी गएको निर्वाचनमा सप्तरीको २(१) बाट निर्वाचित भएका थिए ।

हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पूर्व(पश्चिम सडकखण्डमा शुक्रबार राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना७ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। उनका अनुसार मृतक पुरुषको हाल नामथर वतन खुलेको र मृतक पुरुषको शव हेटौंडा अस्पतालमा राखिएको छ। उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँ : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताएकी छिन्।मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद राणाले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताइन्। सांसद राणाले आफूले ०५३ सालमा जग्गा किनेको भएपनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताइन्। उनले पत्रकारहरुलाई टिकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न पनि आग्रह समेत गरिन्। सांसद राणाले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनुपर्ने बताइन्। उनले प्रजातन्त्रमा गृहमन्त्रीमाथि छानविन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको बताए। सांसद राणाले नेपाली कांग्रेसले जहिल्यैपनि जनताको बचाउ गर्दै आएको भन्दै आगामी दिनमा पनि जनताको बचाउ गर्ने बताइन्।

बिनानिष्कर्ष सकियो राप्रपाको बैठक, शुक्रबार पुनः बस्ने

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको बैठक बिनानिष्कर्ष सकिएको छ। बैठक आज मध्याह्न १२ बजे दलको कार्यालय सिंहदरबारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको हो । बैठकमा विषयवस्तुमाथि सामान्य छलफल मात्र भएको प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए। अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।  यता, संसदीय दलका उपनेता बुद्धिमान तामाङका अनुसार बैठक संसद्को आसन्न बजेट अधिवेशन केन्द्रित भएको छ। सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत रहेका रास्वपा सभापति मुछिएको आरोप दलहरूले लगाउँदै आएका छन्। यो प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा कांग्रेससँगै राप्रपा पनि सो मागमा रहेको छ । यी विषयहरूमा के गर्ने भन्ने सामान्य छलफल भएको तामाङले बताए।“पशुपतिजी पनि आउनु भएन। सामान्य छलफल गरेर पर्सीलाई बैठक बस्ने कुरा भयो र हामी उठ्यौँ,” उनले भने।

टर्कीले तोड्यो इजरायलसँगको व्यापार सम्बन्ध

काठमाडौं । टर्कीले इजरायलसँगको व्यापार सम्बन्ध तोडेको घोषणा गरेको छ । बीबीसीका अनुसार टर्कीले इजरायलसग सात अर्ब डलरको व्यापार गर्दै आएकोमा अब यसको अन्त्य भएको घोषणा गरेको हो । व्यापार सम्बन्ध तोडेको टर्कीले इजरायलले गाजाको मानवीय सङ्कट अन्त्य गरेपछि मात्र सम्बन्ध स्थापित हुने जनाएको छ । इजरायली विदेशमन्त्री इजराइल कजले टर्कीको आलोचना गर्दै राष्ट्रपति रेसेस तेयिप इर्दोगानलाई तानशाह शासक भनेका छन् । टर्कीका जनता, व्यापारिक समुह तथा अन्तर्राष्ट्रिय व्यापार सम्झौता विरोधमा उर्दोगान गएको काजको आरोप छ । सन् १९४९ मा टर्कीले इजरायललाई देशको मान्यता दिँदा यो त्यस्तो मान्यता दिने प्रथम मुस्लिम बाहुल्य देश रहेको थियो । यसअघि सन् २०१० मा प्यालेस्टाइन पक्षधर अधिकारवादीहरुलाई इजरायली कमान्डोले हत्या गर्दा कूटनीतिक सम्बन्ध ६ वर्षसम्म अन्त्य भएको थियो ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत २६ गते सोमबार सन् २०२४ अप्रिल ८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर १३३ रुपैयाँ ५८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ११ पैसा र बिक्री दर १४४ रुपैयाँ ७६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०६ पैसा र बिक्री दर १६८ रुपैयाँ ८२ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

अबैध विदेशी मुद्रासहित तीन जना पक्राउ

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नेपाली मुलका क्यानेडियन नागरिकहरू ५१ वर्षीय पेमा दोर्जे दोथार, ३४ वर्षीय तेन्जिङ देलेक र नेपाली नागरिक ७२ वर्षीया नग्‍वाङ पाल्मु लामा रहेका छन् ।  ईण्डिगो एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै क्यानाडा जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङ गर्ने क्रममा ह्‍याण्ड ब्यागमा विभिन्न दरका गरी जम्मा २७ हजार ४ सय २८ अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा १ हजार ४ सय ८० क्यानेडियन डलर र नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका १ सय १० थान गरी जम्मा ५५ हजार भारतीय रूपैयाँ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने छ ।

नेप्से साढे ३० अंकले घट्यो, चार अर्ब ६६ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार साढे ३० अंकले घटेको छ । सोमबार १५.३३ अंक बढेको नेप्से आज ३०.५६ अंक घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से २०७०.५९ विन्दुमा बन्द भएको हो । सोमबारको तुलनामा नेप्से १.४५ प्रतिशतले घटेको छ । यसदिन चार अर्ब ६६ करोड ७१ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । ४० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २०३ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ । बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपर माइ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.७० प्रतिशतले घटेको छ । हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ३२ करोड ५० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह २।४० प्रतिशत छ ।