राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन, एमालेले भण्डारीलाई नै दोहोर्‍याउने

काठमाडौं, फागुन २३ । राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन हुँदै छ ।

निर्वाचन आयोगले यही फागुन २९ गते हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय निर्धारण गरेको हो ।

राष्ट्रपति चयनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० मतदाता रहेकोमा चार जनाको नाम मतदाता सूचीमा समावेश गरिएको छ ।

यसैबीच संसद्को सबैभन्दा ठूलो दल एमालेले पुनः विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गएराति अबेरसम्म बसेको एमाले स्थायी कमिटी बैठकले दोस्रो कार्यकालका लागि भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको हो ।

हिजो साँझ साढे ५ बजेदेखि झन्डै ७ घण्टासम्म बसेको बैठकले सर्वसम्मतरुपमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रतिनिधिसभा राष्ट्रियसभा र प्रदेशसभामा वाम गठबन्धनको स्पष्ट बहुमत भएकाले भण्डारी नै अर्को कार्यकाल राष्ट्रपति बन्ने निश्चित जस्तै छ ।

भण्डारी यसअघि २०७२ साल कात्तिक ११ गते माओवादी केन्द्रको समर्थनमा राष्ट्रपतिमा निर्वाचित भएकी थिइन ।

एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रबाट उम्मेदवार हुनेछन् ।

माओवादी केन्द्रले पनि उपराष्ट्रपतिमा नन्दबहादुर पुनले नै निरन्तरता दिने बताइएको छ ।

मनोज पुन गुण्डागर्दीको दुनियाँमा त्यसरी उदाए, अनि यसरी अस्ताए

राजेश भण्डारी/ काठमाडौं–मनोज पुन भैरहवाको खैरेनीस्थित सुकुम्बासी बस्तीबाट उदाइएका गुण्डा हुन् । असोज २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित खरिबोटमा निर्माण व्यवसायी शरद गौचनमाथि गोली प्रहार भएको केही मिनेटमै मनोज पुनले रुपन्देहीका ब्यवसायीलाई फोन गरेर ‘गौचनलाई मेरो केटाहरुले गोली हानेको हो, तिमीहरु पनि बिचार गर्नु !’ भनेर फोन गरे । धम्की दिए । २०७३ पुस पहिलो साता रुपन्देहीका दुर्गा तिवारी र गत पुस २१ गते रुपन्देहीकै बसन्त पौडेलको हत्यामा पनि मनोज पुनकै हात रहेको खुलेपछि उनी केन्द्रिय अनुसन्धान ब्यूरोको सर्वाधिक खोजी सूचिमा थिए । यसैमा बुधवार बिहान मनोज र उनका सहयोगी सोम आलेलाई प्रहरीले रुपन्देहीको देवदहमा इन्काउन्टर गरेको समाचार आयो । रातोपाटी अनलाइनले समाचार सबैभन्दा पहिला प्रकाशित गर्यो । प्रहरी इन्काउन्टरमा गुण्डानाइके मनोज पुनको मृत्यु प्रहरी इन्काउन्टरमा मारिएका मनोजले शरद गौचन र बुटवलका बसन्त पौडेलमाथि गोली प्रहार भएपछि बुटवल र पोखराका ब्यापारीहरुलाई फोन गरेर धम्क्याईरहन्थे, जसका कारण उनी करोडौं उठाउन सफल भएका थिए । यद्यपी गौचनको हत्यामा मनोजको संलग्नता खुल्न सकेको छैन् । मनोज पुन रुपन्देहीको देवदह नगरपालिकास्थित खैरेनीको सामान्य परिवारमा जन्मिएका थिए । स्कुलमा खासै नपढ्ने, धेरैजसो कक्षा नछिर्ने पुन बच्चादेखी नै सुरो स्वभाका थिए । ‘मगरको छोरो सुरो छ’ भन्ने बाल्यकालको सामान्य परिचय अहिले फेरिएका छ । उनी भैरहवाबाट उदाएर राजधानी शहर काठमाडौंमा धावा बोल्ने ‘गुण्डा नाईके’ भएका थिए । भैरहवामा युवासंघका अध्यक्षमाथि गोली प्रहार हुनासाथ रुपन्देहीका तत्कालीन एसपी रवीन्द्र धानुकले तत्कालीन डीआईजी बमबहादुर भण्डारीलाई फोन गरेर भनेका थिए, ‘मनोज पुन भन्ने केटो खतरनाक भएर निस्केको छ, यसलाई खोरमा हाल्न नसके हामीले पछिसम्म दुःख पाउँछौं ।’ पछिल्लो समय एकाएक प्रहरीको टाउको दुःखाईकोे बनेका गुण्डा नाईक मनोज परिवारको एक्लो छोरो हुन् । खैरेनीमा उनको दुईतले पक्की घर छ, जहाँ उनको श्रीमती, एक छोरी र बावुआमा बस्छन् । खैरेनी स्कुलमा ८ कक्षामा पढ्दा नै रेष्टिगेट भएका मनोजले देवदह उच्च माविबाट १२ कक्षा उत्तीर्ण गरेका थिए । पढाईमा खासै रुची नभएका मनोज शालिकराम चौलागाईको संगतले गुण्डागर्दीमा लागेको उनीसँगै पढेका एक क्लासमेटले बताए । शालिकराम वुटवल र भैहरवा क्षेत्रमा प्लटिङ गर्नेहरुसँग पैसा उठाउँथे, पुनले उनलाई साथ दिए । प्लटिङ गर्नेहरुले पैसा नदिएमा चौलागाईं र पुन मिलेर प्लटिङ क्षेत्रका बिजुलीको पोल उखेलेर फाल्थे । नेपाल–भारत सीमानाको धकधइ धन्ने ठाउँमा बंगलादेश पठाउने गोरुको कारोवार हुन्छ । मनोज र शालिकरामको समूहले त्यहाँबाट हरेक हप्ता कमिसन लिन्थे । करिब पाँच बर्ष मनोजले शालिकरामलाई साथ दिए । पछि शालिक हतियार काण्डमा जेल परे । त्यसपछि शालिकको धन्दा मनोजले सम्हाल्न थालेका हुन् । यसरी खैरेनी–सुनवलबाट शुरु भएको गुण्डागर्दी बुटवल बजारभरी फैलियो । उमेरले करिब २८ पुगेका पुन युवासंघ रुपेन्देही क्षेत्र नम्बर–१ को कोषाध्यक्ष भएर काम गरे । युवासंघको आवरणमा गुण्डागर्दी गरेर असुली धन्दा चलाएपछि दुर्गा तिवारीले उनलाई कारबाही गरेका थिए । त्यहि रिसीवी साँध्न उनले पहिलो पटक २०७३ असोजमा तिवारीमाथि गोली प्रहार गरेका थिए । ‘त्यतिवेला उनका सहयोगीले चलाएको हतियार पड्किएन्’ दुर्गा तिवारी हत्याकाण्डलाई नजिकबाट नियालेका एक सुरक्षा अधिकारी भन्छन्, ‘त्यसपछि पुलिस आक्रामक भएर लाग्यो, उसका समूहका सदस्यहरु भटाभट समातिन थालेपछि मनोजले रुपन्देही छाड्यो ।’ प्रहरी स्रोतका अनुसार २०७३ पुस पहिलो साता युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गालाई मार्नुभन्दा करिब ९ महिनादेखी मनोज भारतमा बस्न थालेका थिए । दुर्गाको हत्या गरेपछि उनले आफु मलेशियामा बसेको दावी गर्दै भैरहवा र बुटवलतिर धम्क्याएर असुल्ने काम तीब्र रुपमा शुरु गरेका थिए । काडमाडौंलाई बेस बनाएर गुण्डागर्दी गर्न नभ्याएपनि २०७३ चैत २९ गते अर्का गुण्डा नाईके दावा लामालाई काठमाडौंको गौरिघाटमा गोली हानेर उनले काठमाडौंको गुण्डाराजमाथि धावा बोलेका थिए । २०७३ चैत २९ गते काठमाडौंको कुमारीगालमा गुण्डा नाईके दावा लामालाई गोली हान्नासाथ काठमाडौं प्रहरी प्रमुखलाई फोन गरेर जिम्मा लिने ‘लोप्साङ लामा’ मनोज पुनको ‘दायाँ हात’ भएको बताईएको छ । तिनै लोप्साङ हुन् जसले गौचनलाई गोली लागेको केही मिनेटमा काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकलाई फोन गरेर ‘गोली हान्ने मै हुँ’ भनेका थिए । सिन्धुपाल्चोक स्थायी घर भएका लोप्साङ लामा मनोज पुनको दायाँ हाते ब्याट्म्यान थिए, जसले २०७३ पुस पहिलो साता युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई मनोज पुनको निर्देशनमा गोली हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यतिवेला रुपन्देही प्रहरीले मनोेज पुनको निर्देशनमा लोप्साङले गोली हानेको निष्कर्ष निकाल्दै अहिले पनि दुवैलाई खोजिरहेको थियो । उनीहरु दुवैजना भारतमा लुकेर बसिहरेका थिए । दुर्गा तिवारी पछि काठमाडौंको गौरिघाटस्थित दावा लामामाथि गोली प्रहार भएको केही मिनेटमै लोप्साङले अन्नोन नम्बरबाट तत्कालीन एसएसपी छविलाल जोशिलाई फोन गरेर भने, ‘दावालाई गोली हान्ने मै हुँ ।’ लोप्साङ त्यतिन्जेल मनोज पुनकै ग्याङ्गको सदस्य थिए । ‘अहिले लोप्साङ मनोजको ग्याङ्गमा छकी छैन भन्नेबारे बुझिरहेका छौं ?’ पछिल्ला तीनओटा हत्याकाण्डलाई नजिकबाट नियालेका एक प्रहरी अधिकृत भन्छन्, ‘आकांक्षा बढेपछि लोप्साङले मनोजको समूह छाडेर अर्कै समूह निर्माण गरिसकेको हुनसक्छ ।’ दावामाथि गोली हान्नुको अन्तर्य मनोज पुनले गुण्डा नाईके दावा लामामाथि गोली हानेर काठमाडौंमा अरुको दिन सकिएको संकेत दिएका थिए । ‘दावालाई मार्ने नियतले नै हानिएको थियो’ महानगरीय अपराध महाशाखाका एक अधिकृत भन्छन्, ‘तर संयोगले उनी बाँचे ।’ पछिल्लो समय काठमाडौंमा चम्किएका गुण्डा हुन् दावा । दावाको हत्या गरेर काठमाडौं आफ्नो ग्रिपमा लिने पुनको योजना रहेको सुरक्षा अधिकारीहरु बताउँछन् । गुणगर्दीको दुनियाँलाई नजिकबाट नियालेका एक प्रहरी अधिकृतका अनुसार दावालाई गोली प्रहार गरेपछि अर्का गुण्डा नाईके मिलन चक्रेलाई मनोजले धम्क्याएका थिए । मनोजको धम्कीपछि चक्रे उनलाई पैसा बुझाउन नेपाल–भारत सीमानामा पुगेको बताईएको छ । त्यसपछि उनी केही महिना मलेशियामा लुकेर बसेका थिए । ‘गौचन हत्यापछि मिलन चक्रेमाथि थ्रेट बढेको थियो’ लामो समय अपराध अनुसन्धानमा काम गरेका एक डिआईजी भन्छन्, ‘पैसा दिँदा पनि मनोजले शुट गर्नसक्ने डरले उनी भागेको हुनसक्छ ।’ भारतमा बस्दा मनोजले अन्डरवल्र्ड डनहरुसँग राम्रो सम्वन्ध बनाईसकेका थिए । छोटा राजन वा दाउद ईब्राहिम कसको निकटमा रहेको मनोजले काम गरिरहेका छन् भन्नेबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको थियो । पछिल्लो समय ‘एक नम्बर गुण्डा’को रुपमा प्रहरीको ‘मोस्ट वाण्टेड’ सुचिमा रहेका पुन इन्काउन्टरमा मारिएसँगै ब्यक्ति हत्याको एउटा श्रृंखलाको अन्त्य भएको छ ।

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु

कपिलवस्तु । यहाँ कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु २० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरेले जानकारी दिनुभयो । प्रतियोगितामा नगरका आठ टोलीबीच प्रतिष्पर्धा हुने जनाइएको छ । युवालाई कुलतबाट बचाउन तथा शारीरिक सुगठनका लागि सचेत बनाउने उद्देश्यका साथ मेयर कपको आयोजना गरिएको प्रतियोगिताका संयोजक गैरेले जानकारी दिनुभयो । नगर प्रमुख किरण सिंहले यस वर्षबाट शुरु गरिएको मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । एक कार्यक्रमका बीच सोमबार तौलिहवाको बुद्धपद्धम माविको खेल मैदानमा नगरपालिकाका प्रमुख किरण सिंह, पूर्व राजदूत दीपकुमार उपाध्याय, पूर्वराज्यमन्त्री सुरेन्द्रराज आचार्य र संघीय संसद्का सांसद अतहर कमालले क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटनपछि मन्तव्य दिँदै पूर्व राज्यमन्त्री तथा नेपाली काँग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले नगरले शुरु गरेको मेयर कपले युवालाई सिर्जनशील बन्न सहयोग पु¥याउने बताउनुभयो । पूर्व राजदूत दीपकुमार उपाध्यायले नेपालले क्रिकेटसहितका खेलमा विश्वमै आफ्नो प्रदर्शनलाई सुधार गर्दै गएको बेला जिल्लामा समेत यस्ता खेललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको सञ्चालनमा सम्पन्न उद्घाटन सत्रको कार्यक्रममा क्रिकेट संघकी माया ज्ञवालीले मन्तव्य दिनुभएको थियो । सुपर सिक्समा गौतम बुद्ध विजयी कपिलवस्तुको तौलिहवामा आयोजित पहिलो दिनको टि ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता रोमाञ्चक प्रतिष्पर्धाका बीच सुपर सिक्समा गौतमबुद्ध क्रिकेट क्लबले एक रनले जितेको छ । प्रतियोगिताको पहिलो इनिङमा गौतमबुद्धले १८ ओभर ३ बलमा अल आउट हुँदै ९६ रन जोडेको थियो । गौतमबुद्धका खेलाडी विश्वास ढकालले सर्वाधिक २० रन जोडेका थिए भने बलिङतर्फ जयबुद्धका परवेज अन्सारी र अखलाख आलमले समान तीन÷तीन विकेट लिनुभएको थियो । खेलको दोस्रो इनिङमा जयबुद्धले २० ओभरमा आठ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । जयबुद्धका अमिर अहमदले सर्वाधिक ३८ रन बनाउनुभएको थियो भने गौतमबुद्धका कलिम खानले तीन विकेट लिनुभएको थियो । दुवै टोलीबीच बराबरी स्कोर भएपछि सुपर सिक्सबाट प्रतियोगिताको नतिजा निकालिएको थियो । सुपर सिक्समा पहिले ब्याटिङ गरेको जयबुद्धले छ रन बनाउँदा गौतमबुद्धले एक ओभरमा सात रन बनाई प्रतियोगिताको पहिलो खेल जितेको थियो । प्रतियोगितामा बलिङतर्फ तीन विकेट र ब्याटिङमा पाँच रन बनाएका कलिम खानलाई कपिलवस्तु नगरपालिका–२ का वडाध्यक्ष रामभजन कलवारले म्यान अफ द म्याचको पुरस्कार दिनुभएको थियो ।

नेविसंघ कार्यकर्ता संलग्न, मदिरा सेवन गरार्इ यसरी भयो बलात्कार…

काठमाडौ । दिनभर घुमघाम र मदिरा सेवन अनि राति बलात्कार । २१ माघको राति बानेश्वरको बुद्धनगरमा भएको बलात्कार घटनामा सहयोगी बनेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ । घटनाको पाँच दिनपछि आफू बलात्कृत भएको भन्दै सुदूरपश्चिम घर भई मध्य बानेश्वरको एक अस्पतालमा ल्याब असिटेन्टका रूपमा कार्यरत युवतीले जाहेरी दिएपछि घटना बाहिर आएको हो । अनुसन्धान नटुंगिएको र मुख्य आरोपी फरार रहेको भन्दै प्रहरीले घटनाबारे विस्तृत बताउन चाहेको छैन । घटनाको १५ दिन भइसक्दा पनि मुख्य आरोपी जुम्ला सिञ्जा घर भएका मनोज खत्रीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । मुख्य आरोपी खत्री शृंखलाबद्ध गुन्डागर्दीमा संलग्न धादिङको राधे समूहनिकट छन् । अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा खोजी जारी रहे पनि आरोपी फरार छन् । वृत्तका डीएसपी रवि पौडेलले यतिमात्रै भने, ‘फरार रहेका मुख्य आरोपीको खोजी जारी छ ।’ स्रोतका अनुसार पक्राउ परेकी युवती बलात्कृत युवतीकी रुममेट हुन् । घटनाको राति उनी आफ्नो प्रेमीसँग अर्को कोठामा थिइन् । यसरी भयो बलात्कार नेपालगन्जमा पढ्दादेखि नै सँगै डेरा गरी बसेका दुवै युवती बुद्धनगरमा भाडामा बस्थे । घटनाको दिन यी दुईसहित तीन युवती सुन्धारा पुगे । त्यहाँ उनीहरूले भेट्न आएका ४ जना केटासँगै बसेर खाना खाए र मदिरा पिए । सातमध्ये पाँच जना सुन्धाराकै एक रात्रिकालीन क्लबमा पुगे भने दुई युवती ट्याक्सी चढेर राति बुद्धनगरस्थित कोठामा फर्के । राति मनोजसहित कमल शाही र कमल सिंह युवतीकै कोठामा आए । थुनामा रहेकी युवती एउटा कोठामा आफ्नो प्रेमीसँग बसिन् भने अर्को कोठामा पीडित युवती, उनकी साथी, मनोज खत्री र कमल सिंह सुते । फरक–फरक ओछ्यानमा सुते पनि मध्यरातमा मनोजले आफूलाई बलात्कार गरेको भन्दै घटनाको पाँच दिनपछि युवतीले बानेश्वर वृत्तमा जाहेरी दिइन् । स्रोतका अनुसार मदिरा लागेकाले बलात्कार गर्दा प्रतिकारमा आफू असफल भएको युवतीले बताएकी छन् । घटनालगत्तै मौन रहेकी युवती आफ्ना केटा साथीको सल्लाहअनुसार प्रहरीकहाँ जाहेरी लिएर पुगेकी थिइन् । घटनाको राति कोठामै रहेका कमल शाही बाँके कोहलपुरका नेविसंघ कार्यकर्ता हुन् । प्रहरीले मुख्य आरोपी मनोज खत्रीको कल डिटेलसमेत झिकाएर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार सुरुमा सार्वजनिक लोकलाजका कारण खुल्न नसकेकी पीडित युवतीले आफ्नो केटा साथीसँग सम्पर्कमा पुगेपछि मात्रै जाहेरी दिने आँट गरेको देखिन्छ । पक्राउ पर्दैनन् आरोपी एकपछि अर्को गर्दै बलात्कारका घटना सार्वजनिक भइरहँदा पनि आरोपित फरार रहँदै आएका छन् । माघ पहिलो साता दरबारमार्गमा भएको घटनामा प्रहरीले अनुसन्धानपछि विकास गौतम, शैलेश कार्की, दीपक श्रेष्ठ र रवि पौडेल सामूहिक बलात्कारमा संलग्न भएको निष्कर्ष निकालेको थियो । तर महिना दिन बित्न लाग्दा पनि उनीहरूलाई पक्राउ गरिएको छैन । स्रोतका अनुसार चारै आरोपित नेपाल बाहिर छन् र उच्च शक्ति केन्द्रमार्फत सुरक्षित हुन सक्ने वातावरण खोजिरहेका छन् । दरबारमार्गको जस्तै बानेश्वर घटनामा पनि प्रहरीले मुख्य आरोपीलाई पक्राउ गर्न सकेको छैन । बालबालिका पीडित हुने क्रम बढ्दो बलात्कारका पछिल्ला घटनाले बालबालिका यौन हिंसा पीडित हुने क्रम बढेको देखिन्छ । गत २७ गते काँडाघारी बस्ने १३ वर्षीया बालिका बलात्कार भएको भन्दै महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी पर्‍यो । घर नजिकै एकान्त स्थानमा एक युवाले बलात्कार गरेको बालिकाले अभिभावकलाई भनेपछि घटनाको खुलासा भएको थियो । शनिबार मात्रै बानेश्वर वृत्तले घटनामा संलग्न उदयपुरको कटारी घर भई काँडाघारी बस्ने दिनेश गुरुङलाई पक्राउ गरेको छ । बानेश्वर वृत्तका डीएसपी पौडेलले गुरुङमाथि काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि थुनामा राख्ने म्याद थप भइसकेको बताए । यौन हिंसाको सिकार बालिका मात्रै नभएर बालक पनि हुन थालेका छन् । असोज २४ गते टीकाथलीका एक बालक आफ्नै बाबुबाट यौन हिंसाको सिकार बने । इँटाभट्टामा काम गर्ने आमा घरमा नभएको मौका छोपेर बाबुले ती बालकमाथि यौन हिंसा गरेपछि एक गैरसरकारी संस्थाको सहयोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पुस १४ गते मात्रै महानगरीय प्रहरी वृत्त बानेश्वरले १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा नेपाली सेनाका मेजर प्रभवविक्रम शाहलाई पक्राउ गरी आवश्यक कारबाहीका निम्ति सेनालाई बुझाएको थियो । मेजर शाहले घरमै कार्यरत किशोरीमाथि यौन शोषण गर्दै आएका थिए । भक्तपुर १० कमलविनायककी करिब ५ वर्षकी बालिका बारम्बार बलात्कारको सिकार भएको घटना माघ अन्तिम साता मात्रै बाहिर आयो । बालिकालाई स्थानीय वसन्त तामाङले पुस ३० र माघ ३ गते बलात्कार गरेका थिए । महानगरीय प्रहरी वृत्त जगातीले तामाङलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । माघको अन्तिम साता मात्रै जगातीमा बलात्कारसम्बन्धी पाँच फरक–फरक घटनाको उजुरी दर्ता भएको थियो, जसमा माघ २३ गते सूर्यविनायक नगरपालिका ५ सिर्जनानगरका १४ र १५ वर्षीया किशोरी बलात्कृत भएका थिए । त्यस्तै अर्को घटनामा चाँगुनारायण नगरपालिका ९ ताथलीकी १६ वर्षीया किशोरी बलात्कृत भएकी थिइन् । -कान्तिपुरमा खबर छ ।

अाेली प्रधानमन्त्री भएपछि नवराज सिलवालकाे ट्वीट – मुलुकले उन्मुक्ति पायो

काठमाडौं, फागुन ४ । प्रतिनिधिसभा सदस्य नवराज सिलवालले देशले अधिनायकवादी शासनबाट मुक्ती पाएको बताएका छन् । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अधिनायकवादी भएको बताउँदै सिलवालले अधिनायकवादी शासनबाट मुलुकले उन्मुत्ति पाएको बताएका हुन् । देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको ५ घण्टापछि ट्वीट गर्दै सिलवालले देउवाको ज्यादतिबाट मुलुकले उन्मुक्ति पाएको उल्लेख गरे । उनले लेखेका छन् ‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतिवाट मुलुकले आज उन्मुक्ति पाएको छ,’’। उनकाे ट्वीटपछि सामाजीक सञ्जालमा सिलवालले चाँही उन्मुक्ति पाए जस्ता अालाेचना भैरहेकाे छ ।

स्व कोइरालाको सम्झना र काँग्रेस प्रदेशसभा संसदीय दलको विधान पारित

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सम्झनामा आज एक मिनेट मौन धारण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकको प्रारम्भमा निष्ठावान्, सादगी र संविधान जारी गर्ने अभियानका नेतृत्वकर्ता कोइरालाको तेस्रो पुण्य स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरिएको पार्टी कार्यालयले जनाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले ‘नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४’ सुझावसहित सर्वसम्मत रुपमा पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । उक्त विधानको मस्यौदा तयार गर्न पार्टीले केही दिनअघि केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालको संयोजकत्वमा मुख्य सचिव पौडेल र सचिव केशव रिजाल सदस्य रहेको समिति गठन गरेको थियो । बैठकले पार्टीका पूर्वमहाधिवेशन प्रतिनिधि वामदेव खनालका सुपुत्र एवं काँग्रेसका क्रियाशील सदस्य माधव खनालको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

खोलामा पानी घट्न थालेपछि इलाममा विद्युत उत्पादन घट्यो

इलाम, माघ २४ । हिउँद लागेसँगै खोलामा पानी घट्न थालेपछि इलाम जिल्लामा रहेका विद्युत केन्द्रहरुको उत्पादन घट्न थालेको छ । वर्षायाममा २२ मेगावाट उत्पादन गर्ने सानिमा माई हाइड्रोपावर आयोजनाले १० मेगावाट मात्र उत्पादन दिन सकेको छ । १८ मेगावाट क्षमताको अपरमाई हाइड्रोपावरका दुबै विद्युत गृहबाट ६ मेगावाट विद्युत उत्पादन भइरहेको छ । पाँच मेगावाट क्षमताको जोगमाई हाईड्रोले दुई हजार ५ सय किलोवाट विद्युत उत्पादन गरिरहेको छ । इलाम पुवाखोला आयोजनाबाट तीन दशमलव ५ मेगावाट तथा ४ मेगावाटको हिमाल दोलखाले ११ सय किलोवाट मात्र उत्पादन गर्न सकेको ती आयोजनाहरुले जानकारी दिएका छन् । सुख्खायामको शुरुसँगै खेतबारीमा सिँचाइका लागि किसानले पानी लैजान तथा पानी बहाव ने पनि कम हुने भएकाले उत्पादन घटेको आयोजना सञ्चालकहरू बताउँछन् । झण्डै पाँच महिनादेखि पानी नपर्दा खोलामा पानीको सतह पनि घट्न थालेको हिमाल दोलखा हाईड्रोपावरका आकाश चौधरीले जानकारी दिए ।

ललितपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुर, माघ २४ । ललितपुरको सातदोबाटोमा गएराति सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । राति ११ बजे नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सप्तरी फत्तेपुर घर भई हाल सातदोबाटो बस्दै आएका ३५ बर्षीय सन्तोष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका चौधरीलाई उपचारका लागि पाटन अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ । दुर्घटनामा संलग्न रहि हाल फरार सवारी साधनसहित चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चाँडै वाम एकताको प्रक्रिया टुङ्गिने : वरिष्ठ नेता खनाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग वैचारिक र सांगठनिक समस्या समाधान गरेर चाँडै नै वाम एकताको प्रक्रिया टुङ्गिने बताउनुभएको छ । इरानको राजधानी तेहरानमा भएको एशियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को २९औँ स्थायी कमिटीको बैठकमा सहभागी भएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उहाँले अब नयाँ सरकारले भारत र चीनसँग नयाँ मित्रता कायम गरेर अगाडि बढ्नेसमेत धारणा व्यक्त गर्नुभयो । रेमशमार्गसम्बन्धी आइक्यापको बैठकमा एशिया, युरोप, अफ्रिकालगायत २४ मुलुकका ३८ राजनीतिक दलका नेता सहभागी थिए । सो बैठकमा वरिष्ठ नेता खनालले रेशम मार्गमा राजनीतिक पार्टीहरुको भूमिकाकाबारे चर्चा गर्नुका साथै विभिन्न देशका राजनीतिक पार्टीका नेताहरुसँग भेटघाटसमेत गर्नुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । वरिष्ठ नेता खनाल यही माघ १७ गते सो. बैठकमा सहभागी हुन इरान जानुभएको थियो ।

स्वास्थ्यचौकीमा चौबीस घण्टे ‘बर्थिङ सेण्टर’

पर्वत । महाशिला गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थामा चौबीसघण्टे गर्भवती र सुत्केरी सेवा विस्तार भएको छ । गाउँपालिकाका छ वटै वडामा रहेका स्वास्थ्यचौकीमा सो सेवा नियमित रुपमा सञ्चालन गर्न थालिएको हो । गाउँपालिकाअन्तर्गत वडा नं ५ लुखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि सो सेवा सञ्चालनमा आए पनि अन्य पाँच स्वास्थ्यचौकीमा भने यस वर्षदेखि सो सेवा थप गरिएको हो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि उपचारका अभावमा गर्भवती र सुत्केरीले अकालमा ज्यान गुमाउन नपरोस् र तत्काल आफ्नै गाउँमा रहेको स्वास्थ्यचौकीबाट सेवा लिन पाऊन् भन्ने उद्देश्यले चौबीसै घण्टा आकस्मिक गर्भवती र सुत्केरी सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विगतमा सञ्चालन हुँदैआएको प्राथमिक केन्द्रमा पनि जटिल किसिमका बिरामीको उपचार नहुने तथा दक्ष जनशक्ति नबस्ने समस्याले गर्दा स्थानीय महिलाले सास्ती खेप्दै आउनुपरेको थियो । गाउँपालिकाले यस वर्ष रु १७ लाख विनियोजन गरी सबै स्वास्थ्यचौकीमा सुत्केरी सेवा दिन सकिने पूर्वाधार तथा जनशक्तिको व्यस्थापन गरिएको हो । ग्रामीण भेगमा चौबीसै घण्टा यातायात पहुँच नहुने र सामान्य परिवारले अर्थ अभावका कारण तत्काल अस्पताल पु¥याएर सुत्केरी गराउन नसक्ने अवस्थालाई ध्यानमा राखी सो सेवा तत्काल थप गरिएको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “आम महिला दिदीबहिनीलाई जनप्रतिनिधि आएपछिको पहिलो राहातस्वरुप यो सेवा थप गरिएको छ । गाउँपालिकाअन्तर्गत हाश्राङ्दी, भोक्सिङ, बालाकोट, पाखापानी र फलामखानीका स्वास्थ्यचौकीमा यो सेवा गत महिनादेखि सुचारु गरिएको हो ।” गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा जनशक्तिसमेत अभाव नहोस् भन्ने उद्देश्यले अनमी १२ र स्वास्थ्य संस्था सहयोगी १२ कर्मचारी पदपूर्तिसमेत गर्न थालेको छ । गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी कर्मचारी माग गरिएको पौडेलले जानकारी दिनुभयो । “जीर्ण भएका संरचना पुनःनिर्माण, औषधिको पर्याप्त व्यवस्था, प्रत्येक टोल टोलमा स्टे«चरको व्यवस्था, महिला स्वयंसेविकालाई समेत जिम्मेवारी प्रदान गरेर कुनै पनि नागरिक राज्यले प्रदान गर्ने स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने व्यवस्था गरेका छौँ”, अध्यक्ष पौडेलले जानकारी दिनुभयो । अहिले लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सकसहितको सेवा र अन्य स्वास्थ्यचौकीमा अहेवको नेतृत्वमा कर्मचारी व्यवस्थापन गरिएको बताइएको छ । जिल्लाका अन्य स्थानीय तहभन्दा धेरै र प्रभावकारी रुपमा काम गरेको महाशिलाले शिक्षा क्षेत्रमा समेत सुधार योजना अघि बढाएको छ ।

प्राविधिक शिक्षाप्रति अाकर्षण: विद्यार्थीहरुको संख्या ह्वात्तै बढ्यो

खोटाङ । जिल्लाका विद्यार्थी प्राविधिक शिक्षाप्रति आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा हासिल गरेलगत्तै आफ्नो शैक्षिक योग्यताका आधारमा सरकारी तथा गैरसरकारी कार्यालयमा रोजगारी पाउने भएपछि पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो दुई वर्षको अवधिमा दुईवटा प्राविधिक शिक्षा अध्ययन हुने शिक्षालय सञ्चालनमा आएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित दिक्तेल प्राविधिक शिक्षालयमा विभिन्न विषय र पञ्च माविमा बाली विज्ञान विषयको पढाइ हुने गरेको छ । स्थापना भएको दुई वर्षमै ६५ जनाले सरकारी जागिरमा नाम निकालेपछि दिक्तेल प्राविधिक शिक्षालयमा अहिले २०० विद्यार्थी अध्ययनरत छन् । सबओभरसियर, वन प्राविधिक, कृषि तथा पशु प्राविधिक, ब्युटिसियन, मोबाइल मर्मत लगायतमा पढाइ हुने शिक्षालयले सिटिइभिटीको मान्यता प्राप्त गरेको छ । विसं २०७२ बाट सञ्चालनमा आएको दिक्तेल प्राविधिक शिक्षालयमा अध्ययन गरेर लोक सेवा आयोगको परीक्षा दिएकामध्ये ५१ वन प्राविधिक र १४ जनाले सबओभरसियरमा नाम निकालेर सरकारी जागिरे भएका छन् । प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीले सरकारी सेवामा धमाधम नाम निकालेपछि अहिले स्नातकोत्तर गरेर बसेका व्यक्ति पनि प्राविधिक शिक्षा अध्ययन गर्न थालेका छन् । प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएपछि पछिल्लो समय विद्यार्थीको चाप धान्न गाह्रो भएको दिक्तेल प्राविधिक शिक्षालयका प्रमुख सीताराम राईले बताउनुभयो । “यस शिक्षालयमा अध्ययन गर्ने विद्यार्थी कोही पनि बेरोजगार बसेका छैनन्,” उहाँले भन्नुभयो, “अध्ययन पूरा गरेलगत्तै खाली बस्नु नपर्ने भएपछि माथिल्लो योग्यता भएका विद्यार्थी पनि प्राविधिक शिक्षा लिन आउने गरेका छन् ।” आव २०७३÷७४ मा शिक्षा मन्त्रालय शिक्षा विभागबाट बाली विज्ञान विषयमा कक्षा १२ सम्म पढाउने अनुमति पाएको पञ्च माविमा अहिले करिब २५० जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ९ र १० सम्म बाली विज्ञान विषयको कक्षा सञ्चालन गर्दै आएको विद्यालयले २०७३ साल असोज ६ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार बाली विज्ञान विषयमा उच्च मावि सञ्चालन गर्ने स्वीकृति पाएको हो ।

माओवादी केन्द्रका वरिष्ठ नेता बादलले गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ ले प्रदेश नं ३ बाट राष्ट्रियसभा सदस्यमा खुलाबाट उम्मेदवार दर्ता गराएका छन् । केही समय अगाडि बादलले निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तोकेका कार्यालयमा पुगेर आफ्नो उम्मेदवार दर्ता गराएका हुन । आयोगले सात प्रदेशका उच्च अदालत रहेका ठाउँमा निर्वाचन कार्यालय स्थापना गरेर उम्मेदवारी दर्ता कार्य जारी रहेको छ। अहिले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनय दर्ता चलिरहेको छ। आज विहान १० बजेदेखि दलहरुले उम्मेदवारी दर्ता गरिरहेका छन्। आज ५ बजेसम्म मनोनयन जारी रहनेछ। सात प्रदेशका उच्च अदालत रहेका ठाउँमा निर्वाचन कार्यालय स्थापना गरेर उम्मेदवारी दर्ता कार्य जारी रहेको छ। आज दर्ता भएका उम्मेदवारको अन्तिम नामावली माघ १५ गते सार्वजनिक गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगको राष्ट्रियसभा निर्वाचन कार्यसूची अनुसार अन्मित नामावली माघ १५ गते सार्वजनिक गर्ने र २४ गते मतदान हुनेछ। माघ १५ गते नै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। त्यस्तै निर्वाचन आयोगले शुक्रबारबाट राष्ट्रियसभा सदस्य निर्वाचनको आचारसंहिता लागू हुने भएको छ। आचारसंहिताको पूर्ण पालना गर्न आयोगले आग्रह गरेको छ। त्यस्तै आचारसंहिता उलंघन गर्ने उम्मेदवार र राजनीतिक दलहरुलाई कारबाही गर्ने आयोगले जानकारी दिएको छ। राष्ट्रियसभा निर्वाचनबाट लागि प्रत्येक प्रदेशबाट ८–८ जनाका दरले ५६ जना निर्वाचित हुने व्यवस्था छ। ५९ सदस्य रहने राष्ट्रियसभाका तीन सदस्य राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था रहेको छ। नेकपा एमाले र माओवादी केन्द्रबीच राट्रिष्यसभा सदस्यका लागि ४३ सिटमा तालमेल भएको छ । जसमा एमालेले २९ र १४ जना माओवादी केन्द्रको भागमा परेको छ । सोही अनुरुप दुबै पार्टीले उम्मेदवारी दर्ता गर्दै छन् ।

यस्ती छन् सबैभन्दा लामा खुट्टाकी मोडल

यतिबेला रुसको एक म्यागजिन चर्चामा छ, मोडल सम्बन्धी रिपोर्टले । संसारभरीका लामा खुट्टा भएका मोडललाई म्यागजिनले प्राथमिकतासाथ प्रस्तुत गरेको छ । यसको केन्द्रमा छन, रुसकी सुपरमोडल अनासतासिया रेशेतोवा । २२ वर्षीया अनासतासियाका खुट्टा सबै भन्दा लामा मानिएका छन् । उनलाई स्कुलमा जिराफ भन्ने गरेका थिए । उनी आफ्नो इन्स्टग्राम एकाउन्टमा फोटो राख्छिन् । तर, इन्स्टग्रामका उनका फलोअर सुन्दरता भन्दा खुट्टाको तारिफ गर्ने गरेका छन् ।

वाइसिएलले तरार्इमा न्यानो बाढ्ने

काठमाडौं, पुस २८ । गएको दुई सातादेखि बढेको चिसो र शीतलहरका कारण तराईको जनजीवन निकै कष्टकर बनेको छ । अत्यधिक चिसोको कारण अहिलेसम्म दर्जनौंको मृत्यु भइसकेको छ । चिसोले बालबालिका, बृद्धबृद्धा र असक्त विशेष रुपले प्रभावित भएका छन् । कयौं मानिसहरु शितलहरले बिरामी भइरहेको अबस्थामा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपालले ९वाइसिएल०ले राहत वितरण गर्ने भएको छ । वाइसिएलले जाडोबाट बच्नका लागि तराईका जिल्लाहरुमा न्यानो लिएर जान लागेको बताएको छ । ‘तपाइँ कम्बल दिएर सहयोग गर्नुस् हामी न्यानो लिएर जाँदैछौ’ भन्ने मूल नाराका साथ राहत वितरण गर्न लागेको वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए । ‘हामी संगठन बनाएर मात्र बस्दैनौं’ दीपशिखाले भने ‘संगठनबाट सामाजिक काम पनि गर्छौ ।’ राहत संकलनका लागि वाइसीएलले विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई सहयोगका लागि आव्हान गरेको छ । राहत संकलनका लागि माघ ३ गतेसम्मको समयसिमा वाइसिएलले तोकेको छ । यो अवधिभित्र इच्छुक सबैलाई गच्छेअनुसारको राहत सामाग्री दिएर सहयोग गर्न वाइसिएलले विनम्र आग्रह गरेको छ । यसअघि वाइसीएलले तराईका बाढी पीडितहरुलाई राहत वितरण र उद्दारको काम अभियानको रुपमा गरेको थियो ।

ओली बैंकक उडेपछि देउवाले भने -अब प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिन्छ

काठमाडौं, पुस २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने बताएका छन् । एमालेका अध्यक्ष केपी ओली उपचारका लागि थाइल्याण्डको बैंकक उडेको भोलिपल्ट प्रधानमन्त्री देउवाले सरकारले प्रदेश प्रमुख र अस्थायी राजनीति बारेमा छिट्टै निर्णय गर्ने जानकारी दिएका हुन् । दलहरुसँग सहमति गर्नका लागि केही दिन समय दिएको र अब कुर्न नसक्ने प्रधानमन्त्रीले बताए । राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख नियुक्तिका लागि सरकारले विभिन्न राजनीतिक दलहरुसँग सहमतिका छलफल गरिरहेको जानकारी दिए। प्रधानमन्त्री देउवाले भने, “विभिन्न जातजाति, समुदायको बसोबास रहेको हाम्रो मुलुकमा सबैको भाषा, संस्कृति र रहनसहनको संरक्षण गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकतालाई थप मजबुद तुल्याउन सबै राजनीतिक दलको सहकार्य जरुरी छ।” कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता दिवसका दिन सरकारको तर्फबाट सार्वजनिक बिदा दिएर मनाउने निर्णय गर्नु अत्यन्तै सराहनीय रहेको उल्लेख गर्दै यसलाई सबै राजनीतिक दलले पनि स्वागत गरेको बताए। थापाले भने, “राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रपति र प्रधानमन्त्रीबाट राष्ट्र निर्माता शाहको शालिकमा माल्यार्पण गरेर दिवस मनाइएको छ, यसमा अब कुनै विवादको विषय छैन, पृथ्वीनारायणलाई कुनै राजनीति वा संस्थासँग जोडेर हेरिनुहुन्न, यो सम्पूर्ण नेपालीको साझा सम्मान हो।”

एमाले–माओवादी कार्यदलको मोडालिटी तयार, भोलिबाटै काम तीब्र पार्छाै: वर्षमान पुन

भक्तपुर, पुस २६ । नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले भोलिदेखि आफ्नो काम शुरु गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको बैठकले काम गर्न निर्देशन दिएपछि भोलिबाटै कार्यदलले काम शुरु गर्ने भएको हो । ओली निवासको बैठकका बारेमा जानकारी दिँदै बैठकमा सहभागी कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यदलले चारवटा मापदण्डका आधारमा भोलिबाटै काम शुरु गर्ने सहमति भएको सञ्चारकर्मीलाई जानकारी दिए । उनले बैठकमा कार्यदलको काम गर्ने आधारबारे छलफल भएको बताउँदै राष्ट्रियसभा र प्रदेशसभाका विभिन्न पदाधिकारीको व्यवस्थाबारे प्रारम्भिक छलफल भएको जानकारी दिए । उनले भोलिदेखि नै कार्यदलले सघन रुपमा काम शुरु गर्ने बताउनुभयो । यो बीचमा पार्टी एकता भए कार्यदलको काम नरहने बताउँदै उनले दुई पार्टी छिट्टै एक हुने दाबी गरे । कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्ने भएको छ । प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको सिट सङ्ख्या र मतभारलाई आधार बनाएर, विभिन्न व्यक्तिले भोलिका दिनमा खेल्न सक्ने भूमिकालाई ख्याल गरी प्रभावकारी ढंगले सरकार र संसद्मा नेतृत्व गर्न सक्नेलाई तथा एकताको गतिमा, दुवै पक्षको सन्तुलनलाई ख्याल राखेर सिट विभाजन गरेर काम गर्न कार्यदलले म्याण्डेड पाएको पुनले जानकारी दिए । बैठकबारे जानकारी दिँदै एमाले नेता तथा कार्यदल सदस्य शंकर पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिनुभएको जानकारी दिए । प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्ने निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । छलफलपछि कार्यदलका सदस्य बाहिरिएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीच थप छलफल भएको थियो । गठबन्धनले गरेको कार्यदलमा एमाले नेता सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन्। पाण्डे र यादव उपत्यकाबाहिर भएकाले आजको बैठकमा उपस्थिति भएनन् ।