चितवन बन्यो पूर्ण खोप जिल्ला !

भरतपुर, असार ३२ । चितवन जिल्ला सोमबारदेखि पूर्ण खोप जिल्ला घोषणा भएकोे छ । भरतपुर महानगरपालिका र जिल्ला खोप समन्वय समिति चितवनले भरतपुरमा आयोजना गरेको पूर्ण खोप सुनिश्चित भरतपुर महानगरपालिका तथा चितवन जिल्ला घोषणा समारोहमा चितवनलाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।

सरकारले २०६७ सालदेखि पूर्ण खोपको अवधारणा अघि सारेपछि चितवनलाई पूर्ण खोप सुनिश्चित जिल्ला बनाउन पहिलो पटक २०७१ साल असार १८ गते साबिक फूलबारी गाविस (हाल भरतपुर महानगरपालिका, वडा नम्बर १५) लाई पूर्ण खोप गाविस (हाल वडा) घोषणा गरिएको थियो ।

पछिल्लो पटक आज सोमबार वडा नम्बर एकदेखि पाँच र सातदेखि १२ सँगै सिंगो भरतपुर महानगर पूर्ण खोप महानगर घोषणा गरियो । यो घोषणासँग चितवन जिल्ला पूर्ण खोप सुनिश्चित ५३ औं जिल्ला बन्न पुगेको हो ।

समारोहमा जिल्ला खोप समन्वय समितिको सचिवालयका तर्फबाट भरतपुर महानगर प्रमुख रेनु दाहाललाई पूर्ण खोप महानगरपालिका प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी राष्ट्रिय पूर्ण खोप समन्वय समितिको सचिवालयका तर्फबाट जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटीलाई पूर्ण खोप जिल्ला प्रमाणपत्र प्रदान गरिएको थियो । दुवै प्रमाणपत्र कार्यक्रमकी प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले हस्तान्तरण गर्नु भएको थियो ।

एउटा बच्चालाई सबै खोपको मात्रा पूरा गर्दा ४५ हजार रुपैयाँ खर्च आउने जानकारी गराउँदै राज्यमन्त्री अर्यालले सरकारले सबै खर्च व्यहोरेर निःशुल्क खोप सेवा प्रदान गर्दै आएको बताउनु भयो । नवजात शिशुलाई जन्मदेखि १५ महिनासम्म ११ थरी रोगविरुद्ध खोप लगाउनु पर्छ ।

यी सबै खोप बालकले पाएपछि पूर्ण खोप भएको मानिन्छ । उहाँले पूर्ण खोप घोषणामा महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । पाँच वर्षभित्र प्रत्येक पालिकामा एउटा अस्पताल सञ्चालनमा ल्याइने राज्यमन्त्री अर्यालको भनाइ थियो ।

समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख विजयकुमार झाले समग्र जिल्लाको पूर्ण खोप प्रतिवेदन र भरतपुर महानगरपालिका, जनस्वास्थ्य शाखाको प्रतिवेदन संयोजक जीवनकुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।

राष्ट्रिय सभा सदस्य पार्वती रावल, प्रदेश सभा सदस्यद्वय कृष्णप्रसाद खनाल र गीता वाग्ले, राष्ट्रिय पूर्ण खोप समन्वय समितिको सचिवालयका अमर दवाडी, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट रविन खड्का, महिला स्वास्थ्य स्वयंसेविका शुभद्रा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा कवि राजेन्द्र घायलले पूर्ण खोप सम्बन्धी कविता सुनाउनु भएको थियो ।

औपचारिक समारोह सुरु हुनुभन्दा अगाडि भरतपुर महानगरपालिका कार्यालयदेखि चौबीसकोठी, भरतपुर अस्पताल, जिल्ला समन्वय समितिको कार्यालय, हाकिमचोकहुँदै कार्यक्रमस्थल हाकिमचोकस्थित होटल स्टार बेङ्क्वेटसम्म ¥याली निकालिएको थियो ।

¥यालीमा महिला स्वास्थ्य स्वयंसेविका, भरतपुर महानगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, विद्यार्थी, सुरक्षाकर्मी, सर्वसाधारण लगायत सहभागी थिए । ¥यालीका सहभागीले हातहातमा पूर्ण खोपबारे विभिन्न नारा लेखिएका प्लेकार्ड समातेका थिए ।

पानीको बहाव बढेपछि र्याफ्टिङ प्रभावित

पर्वत । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन शुरु भएकाले र्याफ्टिङ प्रभावित बनेको हो । विगतका वर्षमा कालीगण्डकी नदीमा अंग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (र्याफ्टिङ) सहज रूपमा सञ्चालन गरिए पनि यसवर्ष वर्षातको समय छिटो शुरु भएका कारण र्याफ्टिङ सञ्चालन गर्न नसक्दा पर्यटकलाई फर्काउनुपर्ने अवस्था आएको स्थानीय र्याफ्टिङ व्यवसायी होमबहादुर पुनले जानकारी दिनुभयो । “अघिल्लो वर्ष जुन महिनाको १५ सम्मर्याफ्टिङ गर्न सकेका थियौँ”, उहाँले भन्नुभयोे, “यस वर्ष जुन महिनामा कुनै पनि कम्पनी कालीगण्डकी नदीमा नआएको उहाँले बताउनुभयो । छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको स्विसा र्याफ्टिङ एण्ड ट्रेकिङ टुरिजम कम्पनी पोखराका सञ्चालक देव रेग्मीको भनाइ छ । लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । र्याफ्टिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकको आकर्षण पनि बढ्दै गएको छ । सिजनको बेला कालीगण्डकी नदीमा अहिले दैनिक दुई÷तीन समूहमा पर्यटक आउने गर्दछन् । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन बढेको रेग्मीको भनाइ छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल तथा मालढुंगादेखिबाट शुरु हुने ¥याफ्टिङ स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रूपमा रहेको छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरूको अवलोकन र प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्ट्रेलिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ । रासस

नेकपाको बैठक : भिम रावल र योगेश भट्टराईको चर्को असन्तुष्टि

काठमाडौं, असार २ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का स्थायी समिति सदस्य एवं साँसद भीम रावलले पार्टीप्रति चर्को आक्रोश व्यक्त गरेका छन् । शनिबार राजधानीमा बसेकोे नेकपा संसदीय दलको बैठकमा बोल्दै उनले भने, ‘म सबैभन्दा बढी मतले पार्टीमा निर्वाचित व्यक्ति हुँ । तर लामो राजनीतिक जीवनमा त्यति अपमानित र उपेक्षित कहिल्यै महसुस गरिन् ।’ प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली सम्बोधन लगत्तै बोल्नका लागि रावललाई प्रमुख सचेतक देव गुरुङले तीन मिनेटको समय दिएपछि उनी आक्रोशित हुँदै भने, ‘तीन मिनेटमा मेरो कुरा सकिदैन प्रयाप्त समय दिए बोल्छु नत्र बोल्दीन ।’ उनले त्यति भनेलगतै अरु साँसदले दिनुपर्छ भनेर आवाज उठाए । त्यसपछि गुरुङले बोल्ने अनुमति दिए । तर त्यतिन्जेलसम्म ओली बाहिरिसकेका थिए । अनि बजेट पूर्व अर्थमन्त्रीलाई भेट्न खोजेको समय नपाएको मात्रै होइन, टेलिफोन समेत अनुत्तरित रह्यो । आक्रोश व्यक्त गर्दै उनले भने, ‘पश्चिम सेती परियोजनाको बारे कुरा गर्न चाहन्थेँ, तर अवसर पाइन । बजेट भाषणमा अर्थमन्त्रीले उक्त परियोजना नेपाल सरकारले नै बनाउने घोषणा गर्नु भो तर रेड बुकमा त्यसको उल्लेख नै छैन । हामीले के बुझ्ने ?’ बैठकको शुरुमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रीप्रति असन्तुष्टि पोखेका थिए । उनले मन्त्रीहरु स–साना कुरामा आफू चर्चित हुने प्रयासमा रहेको आरोप लगाए । उनले भने, ‘मैले सुने अनुसार अहिलेका मन्त्रीहरु आफ्नै भागमा मात्र चोक्टा पार्ने कसरतमा छन् ।’ अनावश्य आश्वासन र ठूला–ठूला कुरा नगर्न समस्या आइपरे आफूसँग कुरा गर्न उनले आग्रह गरे । ‘समृद्धि स्थापना गर्ने अवसर पाएका व्यक्तिले यो गर्छु त्यो गर्छु भनिरहनु पर्दैन । गरेर देखाउने बेला हो यो’ प्रधानमन्त्री ओलीले भने । बैठकमा बोल्दै नेकपाका अर्का नेता एवं सांसद योगेश भट्टराईले पनि चर्को असन्तुष्टि व्यक्त गरे । केही समयअघि सांसद सशक्तिकरणको नाममा युएनडीपीसँग संसदले ६४ करोड रुपैयाँ लिएको र त्यसअघि दुई दिने तालिमको प्रशंग उठाउँदै उनले भने, ‘संस्थागत रुपमा पठाइएको निमन्त्रणालाई स्वीकार गरेर म त्यो कार्यक्रममा गएँ । केही मित्रहरुलाई नाजायज लाग्यो, उहाँहरु जानु भएन । सञ्चार माध्यममा त्यसबारे आएको आलोचनासँगै युएनडीपी र संसदबिचको त्यो समझदारीमा पार्टीको नीति के ?’ उनले सोधे, ‘यो समझदारीबारे पार्टीको नीति के ? सांसद सहभागी हुन हुने वा नहुने जानकारी गराउनु पर्दैनँ ?’ करिब चार दर्जन सांसदले बोल्नका लागि नाम टिपाएका छन् । सांसदहरुले राखेका जिज्ञासाको उत्तर अध्यक्ष प्रचण्डले दिने छन् ।

हरि र रामविचको रमाइलाे कुराकानी

रामः तिमिलाई पौडी खेल्न आउछ ? हरिः आउदैन रामः तिमि जत्रो त कुकुरले पनि पौडी खेल्न सक्छ हरिः तिमिलाई पौडी खेल्न आउछ त ? रामः आउँछ हरिः अब कुकुर र तिमिमा के फरक भो त

 कोरिया जान अब सीप परीक्षण पनि अनिवार्य

काठमाडौं, जेठ १९ । रोजगार अनुमति (इपीएस) प्रणालीमार्फत दक्षीण कोरियामा काम गर्न जानेहरुको अब सीप दक्षता परीक्षण पनि गरिने भएको छ । यस अघि कोरियन भाषा क्षमताका आधारमा मात्रै कामदार छनोट हुँदै आएका थिए । कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संशोधन विकास (एचआरडी) कोरियाले जनाएको छ । अंक प्रणाली तीन चरणमा लिइने छ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवं कार्य दक्षताको मूल्यांकन गरिनेछ । दुवै चरणबाट आएको अंकलाई जोडेर सबैभन्दा धेरै कुल प्राप्तांक ल्याउनेलाई प्राथमिकताका आधारमा अन्तिम छनोट गरिने छ । समाचारमा लेखिएको छ, अब कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिनेछ । कान्तिपुरमा समाचार छापिएको छ ।

८ महिनामा १६ हजार उद्योग दर्ता, ४० हजारलाई रोजगारी

काठमाडौं, जेठ १४ । चालू आर्थिक वर्षको आठ महिनामा १८ हजार ५६२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । साना उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत गरेको चालू आवको आठ महिनाको आर्थिक सर्वेक्षणअनुसार ४० हजार १०० जनालाई रोजगार दिने गरी सो संख्यामा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगमा सबैभन्दा धेरै प्रदेश नं ३ मा पाँच हजार ५३२ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५०६ उद्योग रहेका छन् । प्रदेश नं १ मा एक हजार ९०४, प्रदेश नं २ मा तीन हजार १८७, प्रदेश नं ४ मा दुई हजार ३७१, प्रदेश नं ५ मा तीन हजार ७७४ तथा प्रदेश नं ७ मा एक हजार २८८ उद्योग दर्ता भएका छन् । हालसम्म नेपालमा घरेलु तथा साना उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिमार्फत चार लाख पाँच हजार ७४ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । चालू आवको आठ महिनामा १५ हजार ३४५ फर्म तथा कम्पनी कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएका छन् । पब्लिक लिमिटेडमा ३४, प्राइभेट लिमिटेडमा १४ हजार ९६६, मुनाफा वितरण नगर्ने ३०९ र विदेशी ३६ कम्पनी रहेका छन् । स्थानीय स्रोतसाधनको परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्न सरकारले लघु उद्यम कार्यक्रमअन्तर्गत चालू आवकोे आठ महिनामा एक लाख ३२ हजार लघुउद्यमी सिर्जना गरेको छ । सिर्जना भएका लघुउद्यमीमध्ये ७४ प्रतिशत महिला रहेका छन् । उक्त कार्यक्रममार्फत गरीबीको रेखामुनि रहेका करीब एक लाख ७१ हजार नागरिकले रोजगार पाएका बताइएको छ ।

भक्तपुर क्यान्सर अस्पताललाई भाभाट्रोन रेडियो थेरापी दिने माेदीकाे घाेषणाले विरामी हर्षित

भक्तपुर, जेठ २ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपाल भ्रमणका बेला भक्तपुर दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताललाई भाभाट्रोन रेडियो थेरापी उपकरण दिने घोषणा भएसँगै अस्पतालमा क्यान्सरका बिरामीलाई सहजरुपमा गुणस्तरीय रेडियो थेरापी सेवा दिन सकिने आशा पलाएको छ ।  अस्पतालका कार्यकारी निर्देशक डा ऋषिकेश नारायण श्रेष्ठले भारतीय प्रधानमन्त्री मोदीबाट क्यान्सर बिरामीको उपचारमा सहयोग हुने अत्याधुनिक भाभाट्रोन रेडियो थेरापी उपकरण (कोबाल्ट ६० विथ सिमुलेटर) दिने घोषणा भएसँगै क्यान्सर बिरामीलाई अब सहजरुपमा सेवा दिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्रीले घोषणा गरेसँगै यो मेशिन जतिसक्दो छिटो आउँला भन्नेमा हामी विश्वस्त छौँ । यो मेशिन आएपछि रेडियो थेरापीमा अझै गुणस्तरीय सेवा दिन सक्नेछाँै ।” करीब रु १० करोड पर्ने यो मेशिन आएपछि हाल सञ्चालनमा रहेको २० वर्ष पुरानो रेडियो थेरापी मेशिनलाई हट्ने उहाँले बताउनुभयो । विसं २०५५ मा रोटरी क्लब अफ युकेलगायतको सहयोगमा अस्पताललाई प्राप्त साइरस रेडियो थेरापी कोबाल्ट मेशिनले हालसम्म सेवा दिँदै आए पनि पुरानो भएकाले पछिल्लो समयमा अपेक्षित सेवा दिन सकिएको छैन । अस्पतालले नेपाल सरकारको अनुदानमा अत्याधुनिक रेडियो थेरापी लिनायक मेशिन पनि ल्याउने भएको छ । करीब रु १९ करोड पर्ने यो मेशिन आगामी छ महिनाभित्र नेपाल ल्याएर सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनुभयो । यसका लागि नेपाल सरकारले रु पाँच करोड अनुदान उपलब्ध गराइसकेको छ । भारत सरकारले प्रदान गर्ने मेशिन र नेपाल सरकारको अनुदानमा ल्याउन लागिएको अत्याधुनिक लिनायक मेशिन सञ्चालन भएपछि भने रेडियो थेरापी गर्नुपर्ने बिरामीले पालो कुर्नु नपर्ने उहाँको भनाइ छ । अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले हाल रेडियो थेरापीको सेवा लिन क्यान्सरका बिरामीले दुई महिना कुर्दै पर्ने वाध्यता रहेको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको मेशिन आएलगत्तै बिरामीले छिटो र सहजरुपमा सेवा दिन सकिने बताइन्छ । प्रशासन प्रमुख तजलेले भन्नुभयो, “पुरानो मेशिनबाट हाल दैनिक १०० देखि ११५ जनासम्मको थेरापी हुँदै आएको छ । अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको मेशिन आएर सञ्चालन भएलगत्तै रेडियो थेरापी गर्ने बिरामीले सजिलो र अझै गुणस्तरीय सेवा दिन सक्नेछौँ ।” भारतले दिने मेशिन र लिनायक मेशिन सञ्चालनमा ल्याउन सकिए दैनिक २०० भन्दा बढी बिरामीको रेडियो थेरापी गर्न सकिने बताइन्छ । यस्तो भएमा क्यान्सरका बिरामी थेरापीका लागि पालो कुर्नुपर्ने समस्याबाट भने मुक्त हुनेछन् । अस्पतालले यसअघि नै भारतीय राजदूतावासमार्फत रेडियो थेरापी मेशिन सहयोग गरिदिन अनुरोध गरेको थियो । सोही अनुरोधस्वरुप नेपालको भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री मोदीले मेशिन भक्तपुर क्यान्सर अस्पताल उपलब्ध गराउने घोषणा गर्नुभएको हो । अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री मोदीको घोषणाले अस्पताल प्रशासन, कर्मचारी र बिरामीमा नयाँ आशा र खुशी पलाएको जनाएको छ । हाल ओपिडी, फलोअप र रेडियो थेरापीलगायतको सेवा लिन अस्पतालमा दैनिक ४५० जनाभन्दा बढी बिरामी आउने गरेका छन् । प्रसूति, नाक, कान, घाँटी, पेट, हाडजोर्नीलगायत विभिन्न रोगको दैनिक छ वटासम्म शल्यक्रिया गर्दै आएको यस अस्पतालमा बिरामीको चापको अनुपातमा यन्त्र उपकरणको अभाव रहँदैआएको छ । यसअघि पनि भारतीय दूतावासले नेपाल अर्बुद रोग निवारण संस्थाका विभिन्न शाखाका लागि एम्बुलेन्स, जेनेरेटर उपहार दिएको थियो भने अस्पतालमा उपचार गराउँदै आएका गरीब, असहाय बच्चा तथा महिलाका लागि इन्डियन ओमन क्लबबाट प्रत्येक वर्ष एक लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराइँदै आइएको छ ।

हिन्दी भाषामा अभिनन्दन गरेको भन्दै मुख्यमन्त्रीको राजीनामा माग

काठमाडौँ । नेकपा मालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । पार्टीका महासचिव सिपी मैनालीले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा सरकारले संविधानबमोजिम बनेको प्रदेश सरकार तथा त्यसका मुख्यमन्त्रीले विदेशका प्रधानमन्त्रीसमक्ष नेपालको आन्तरिक समस्या समाधान गर्न हस्तक्षेपको याचना गर्नु, विकृत बनाई राष्ट्रिय झण्डाको अपमान गर्नु लगायतका संविधान र राष्ट्रिय अखण्डता विरोधी कार्य भएकामा आपत्ति जनाएको छ । उक्त विज्ञप्तिमा त्यस कार्यप्रति जिम्मेवार सबै व्यक्तिमाथि राज्यबाट अविलम्ब कानूनसम्मत कारबाहीको माग गर्दै भारत विहारका भाजपा–सांसद कीर्ति आजादले सामाजिक सञ्जालमार्फत नेपाललाई खण्डीत गर्ने राष्ट्रविरोधी विचार व्यक्त गरेकोमा दुःख व्यक्त गरिएको छ । भारतीय इष्ट इण्डिया कम्पनी सरकारसँग भएको सुगौली सन्धि (४ मार्च, १८१६) द्वारा हडपिएको ‘कोशी नदी पश्चिमदेखि राप्ती पूर्वको समथर भूभाग’ त्यसभन्दा धेरै पहिले नेपालमा एकीकृत भइसकेको भूभाग भएको हुँदा सो विषयमा सरकारले ऐतिहासिक तथ्यसहित भारत सरकारसमक्ष आपत्ति जनाई ती विचार फिर्ता गराउन विज्ञप्तिमा माग गरिएको छ । रासस

३ हप्तामैं फैसला, ४ वर्षीया बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय

नयाँ दिल्ली । भारतीय न्यायालयको इतिहासमा पहिलोपटक बलात्कारको घटनामा ३ हप्तामा फैसला सुनाइएको छ । मध्यप्रदेशको इन्दौरमा एकजना २१ वर्षीय युवाले ४ महिनाको बालिका बलात्कार गरेको घटनामा अदालतले यति छिटो सुनुवाई गरेको हो । बलात्कारी ठहर भएका युवालाई फाँसीको सजाय सुनाइएको छ । निज युवकले ४ महिनाको बालिकालाई बलात्कारपछि हत्या गरेका थिए । हालैमात्र भारतले बालबालिकमाथि हुने यौन हिंसाविरुद्दको कानुनमा ऐतिहासिक संशोधन गर्दै १२ वर्ष मुनिका बालबालिकालाई बलात्कार गरेको ठहर भएमा फाँसीको सजाय दिने प्रावधान थप गरेको थियो । मृतक बालिकाको काका नाता भएका ती युवकले बालिका सुतिरहेको बेला उक्त कुकृत्य गरेका थिए । भारतीय इतिहासमा नै अत्यन्तै क्रूर र पाशविक मानिएको उक्त घटनामा अदालतले तीन हप्ताभित्रै सुनुवाई गरेर बलात्कार घटनाविरुद्ध न्यायालयको प्रभावकारी भूमिकाको नजिर समेत स्थापित गरेको छ ।

प्रदेश नं ७ लाई देशकै नमूना बनाउँछु : सभामुख थापा

बझाङ । भेटघाटका लागि गृहजिल्ला बझाङ पुग्नुभएका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले आफ्नो प्रदेशलाई देशकै नमूना बनाउने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ बझाङ शाखाले गरेको स्वागत तथा सम्मान कार्यक्रममा सभामुख थापाले जनतामुखी बजेट ल्याइने बताउनुभयो । “गाउँको विकास भए मात्र देशको विकास हुन्छ । हिजो सिहंदरबारको मुख ताकेर बसेका जनतालाई अहिले गाउँगाउँमा अधिकार दिइएको छ । विकास अल्पकालीन हैन दीर्घकालीन हुनुपर्छ,” उहाँले भन्नुभयो । सभामुख थापाले भन्नुभयो, “जेठको पहिलो साता बजेट अधिवेशन हुँदैछ, पश्चिम सेती, अपर सेतीलगायत युवालाई आत्मानिर्भर हुने खालका योजना ल्याउन पहल गर्नेछु ।” बझाङको विकासका लागि ग्रामीण भेगमा बनेका सडकको स्तरोन्नति, केन्द्रीय प्रसारणलाइन जोड्ने चैनपुर ताक्लोकोट सडकखण्डको सुरुङमार्ग हिउँ जम्ने ठाउँमा निर्माण गर्ने र सदरमुकाम चैनपुरलाई नमूना सदरमुकाम बनाउन बजेट विनियोजन गर्ने उहाँको भनाइ छ । साइपाल गाउँपालिकाबाट हुने जडीबुटीको अवैध चोरी–निकासी रोक्न स्थानीय सरकारले पहल गर्नुपर्ने थापाले बताउनुभयो । विकासका लागि तेरो मेरो हैन हामी सबैको हो भन्ने भावना सबैमा जाग्नु आवश्यक रहेको उहाँको भनाइ थियो । रासस

मेयरद्वारा आत्महत्याको प्रयास, कारण यस्तो छ !

काठमाडौं । बिहीबार अपरान्ह चार बजे पोखराको फेवातालमा स्याङ्जा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले आत्महत्याको प्रयास गरेकी छिन् । मेयर क्षेत्रीले आफू चढ्ने गाडी फेवाताल किनारमा राखेर फेवा तालमा हाम फालेको प्रहरीले जनाएको छ । फेवातालमा हाम फालेकी मेयर क्षेत्रीलाई नजिकै रहेका एक व्यक्तिले बचाएका थिए । क्षेत्रीले स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर विजयी हासिल गरेकी थिइन् । सो घटनाप्रति एमाले स्याङजाले चिन्ता जनाएको छ । मेयर क्षेत्रीले डिप्रेसनको उपचार गराउँदै आएको आफन्तले जनाएका छन् । दुई हप्ता अगाडि उनले काठमाडौंमा डिप्रेसनको उपचार गराएकी थिइन् । स्रोतका अनुसार उपमेयर क्षेत्रीले डिप्रेसनको औषधि सेवन गर्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कास्कीले मेयर क्षेत्रीले फेवा तालमा हामफालेका विषयमा अनुसन्धान सुरु गरिएको जनाएको छ । कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

निजी विद्यालयहरु शुल्क चर्किदै‌: अभिभावकहरु चिन्तित

काठमाडौँ । विभिन्न विद्यार्थी संगठनका नेताले निजी विद्यालयले सरकारी नियम र शिक्षासम्बन्धी निर्देशिकाको उल्लंघन गरी एकपक्षीय रुपमा शुल्क वृद्धि गरेकामा चिन्ता व्यक्त गर्नुभएको छ । सरकारले निर्दिष्ट गरेको नियमभन्दा बाहिर गएर वृद्धि गरिएको शुल्क मान्य नहुने ती नेताले बताउनुभयो । नेवि संघका अध्यक्ष नैनसिंह महरले निजी विद्यालय सञ्चालकले सरकारले तोकेको मापदण्डभित्र रहनुपर्नेमा जोड दिँदै दिनभरि काम गरेर बालबच्चा निजीमा पढाइरहेका अभिभावकलाई अनावश्यक मूल्य बढाएको शुल्क फिर्ता नभए तेस्रो चरणको आन्दोलन गर्ने बताउनुभयो । सरकारी विद्यालयको स्तरोन्नति गर्नेतर्फ सरकारले बलियो आधार निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले निजी विद्यालयले बढाएको शुल्कवृद्धि फिर्ता नलिए निर्देशिकाअनुसार सरकारले कारबाही गर्नुपर्ने माग गर्दै विद्यालय सञ्चालकबाट निर्देशिका कार्यान्वयन गर्ने प्रतिबद्धता आएमा विद्यालयमा लगाइएका ताला खोल्न निर्देशन दिने बताउनुभयो । अनेरास्ववियुका कोषाध्यक्ष झपीन्द्र खत्रीले निजी विद्यालयले बढाएको शुल्कवृद्धि यथासम्भव फिर्ता लिन आग्रह गर्दै विद्यार्थी संगठनले विद्यार्थीको हकहितको लागि जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिनुभयो । निजी विद्यालयले गरेको शुल्कवृद्धिका कारण अभिभावक समस्यामा परेको भन्दै संयुक्त विद्यार्थी संगठनले केही दिनदेखि तालाबन्दी गर्दै आएका छन् । रासस

युवा विदेशिएपछि गाउँमा जनशक्ति अभाव

तेह्रथुम । रोजगारीका लागि युवा विदेशिन थालेपछि जिल्लामा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको चरम अभाव भएको छ । पढाइ, रोजगारी र अन्य अवसर खोज्दै युवा गाउँबाट पलायन भइरहेका छन् । युवाशक्तिले गाउँ छाडेपछि कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव भएको छ । वर्षेनी काम गर्ने जनशक्ति अभावकै कारण खेतीयोग्य जमिन, खेतबारी र बगान क्षेत्र जंगलमा परिणत भइरहेका छन् । एकपछि अर्काे गर्दै गाउँका लाठे र बलवान पाखुरेहरु रोजगारीका लागि विदेशिँदा गाउँका खेतबारीमा काम गर्ने मानिस पाइन छाडेको छथर गाउँपालिका–२ का नारायण सुब्बाले बताउनुभयो । काम गर्ने मानिसको अभाव हुँदा खेतीयोग्य जमिन बाँझिएका छन् । “दुई वर्षअघिसम्म रु १५० मा पाइने एकजना खेताला अहिले रु ५०० दिन्छुभन्दा पनि पाइँदैन”, उहाँले भन्नुभयोे । आफ्नै देशमा रोजगारीको अवसर नपाउँदा अर्धशिक्षित तथा शिक्षित युवासमेत गाउँमा भेटिन छाडेका छन् । वैशाख पहिलो साता जिल्लाका अधिकांश गाउँमा मकै गोड्ने काम चलिरहेको छ । हिउँदे धान गोड्ने र अलैँची गोडमेल तथा चिया टिप्ने काम पनि चलिरहेको छ तर कामदारको अभावले किसानले समस्या व्यहोरिरहनुका साथै खेतीयोग्य जमिनको क्षेत्रफल पनि वर्षेनी घटदै गइरहेका छन् । गाउँमा हुने चाडपर्व, बिहे, भोजलगायत शुभकार्यमा समेत युवाको संलग्नता कम हुँदा पहिलेजस्तो रौनक नभएको आठराई गाउँपालिका–४ का वडाध्यक्ष श्यामकुमार भटराईले बताउनुभयो । उहाँले भन्नुभयोे, “अब त गाउँमा कसैको मृत्यु भयो भने मलामी जाने मान्छेको पनि अभाव छ, लास बोकेर घाटसम्म लैजाने युवा गाउँमा छैनन्, गाउँमा बूढापाका र केटाकेटीमात्रै भेटिन्छन् ।” खेतीपातीको काममा युवाको ध्यान जान नसकेको चर्चा गर्दै वडाध्यक्ष भटराईले भन्नुभयो, “खेतीपातीमा धेरै दुःख गर्नुपर्छ, मेहनत गर्नुपर्छ तर अहिलेको पुस्तामा मेहनत गर्ने क्रम पहिलेभन्दा धेरै घट्यो ।” ओयाक्जुङका चन्द्र मादेम्बाले भन्नुभयो, “लेखपढ जानेका केही बाँकी थिए, ती शहरतिर लागे, नपढेका केटा ठिटा सबै विदेश छन्”, । कामदार अभावले जिल्लामा एक हजार ४०० रोपनी जमिनमा लगाएको चिया बगान झाडीमा परिणत भएको छ । कामदार अभावले चिया उत्पादनमा पनि समस्या सिर्जना भएको सिंहदेवी चिया उत्पादक सहकारी सोल्माका अध्यक्ष खेमबहादुर मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “बगान छ, गाउँमा काम गर्ने मान्छे पाइँदैनन्, मुना टिप्ने बेला समयमा मुना टिप्न नपाएर बगान सबै झाडी भइसकेको छ ।” गाउँमा युवा नहँुदा सामाजिक कार्यमा समेत अप्ठ्यारो परेको आठराई गाउँपालिका–३, ह्वाकुका लेखक भानुभक्त सिटौलाले बताउनुभयो । युवा जनशक्ति धमाधम विदेशिन थालेपछि स्थानीयस्तरका विकास निर्माणका काम पनि प्रभावित भएका छन् । भवन निर्माण, सडक निर्माणलगायत अन्य पूर्वाधार विकासका काममा मजदूर अभाव छ । जिल्लामा निर्माण भइरहेका सडकमा भारतीय र पश्चिम नेपालका युवाले आएर काम गरिरहेका छन् । निर्माण क्षेत्रमा कामदार अभाव रहेको निर्माण व्यवसायी कमल ढुंगानाले बताउनुभयो । अहिले जिल्लामा सञ्चालित उद्योग र निर्माणका काममा तराई क्षेत्र र भारतको विहारबाट कामदार ल्याएर काम लगाउनु परेको उहाँले गुनासो गर्दै उहाँले भन्नुभयो, “स्थानीयस्तरका युवा भए सस्तो पनि हुने थियो, काम गर्न पनि सजिलो हुन्थ्यो तर गाउँमा युवा नै छैनन्, जिल्ला बाहिरबाट मगाइएका जनशक्ति महँगो पर्ने हँुदा विकास निर्माणका कामको लागत र ढिलाइ दुवै हुने गरेको छ ।” दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाको जनसंख्या एक लाख एक हजार ५७७ मात्र छ । वर्षेनी युवा रोजगारी खोज्दै विदेश जाने प्रवृत्ति नरोकिए अबको पाँच वर्षमा गाउँमा युवा नभेटिने नागरिक समाजका अध्यक्ष तुलसी संग्रौलाले बताउनुभयो । उहाँले भन्नुभयो, तस्थानीय चुनावपछि जनप्रतिनिधिको स्थानीय सरकार बनेकाले अब युवालाई स्वदेशमै रोजगार बनाउने कार्यक्रम बनाउनुपर्नेमा स्थानीय सरकारले अहिले युवालाई स्वदेशमै रोक्ने किसिमका ठोस कार्यक्रम ल्याउन सकेका छैनन् । “गाउँमै बसेर काम गर्ने रहर त छ, तर वातावरण बनिसकेको छैन”, फेदाप गाउँपालिका–२, ओयाक्जुङका श्याम योगीले भन्नुभयो, “म दुई महिना भयो विदेशबाट गाउँ फर्किएको तर यही बसेर काम गर्ने ठाउँ नै पाइनँ ।” अर्ध शिक्षित युवाका लागि कृषि क्षेत्रमा आकर्षित गर्न सक्ने कार्यक्रम स्थानीय सरकारले ल्याइदिए सहज हुनेथियो भन्दै उहाले जोड दिनुभयो, “कुनै काममा लगानी पनि गरिएला, तर उत्पादनको बजार सुनिश्चित छैन, लगानी नै डुब्ला भन्ने डर मात्रै हुन्छ ?” जिल्लाबाट दैनिक ३० जनासम्मले राहदानी लिने गरेका छन् । जिल्लामा राहदानी लिनेको संख्या वर्षेनी वृद्धि हुँदै गएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकले देखाउँछ । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७१÷७२ मा ८५७, २०७२÷७३ मा ९३१ र २०७३÷७४ मा एक हजार ९४ जनाले राहदानी लिएका छन् । चालू आवको हालसम्मको अवधिमा पनि कार्यालयले ८२० जनालाई जिल्लाबाटै राहदानी दिएको छ । यसबाहेक द्रुत गतिको सेवामार्फत दुई हजार ९२ जनालाई राहदानीका लागि सिफारिस दिइएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताउनुभयो । जिल्लाबाट विदेशिएकामध्ये अधिकांश युवायुवती मलेसिया, कतार, दुबई, साउदी अरबलगायत देशमा रोजगारीका लागि जाने गरेका छन् । रासस

संघिय प्रदेशहरुको नामकरण जातीय पहिचान को आधारमा गर्नु पर्छ : बाबुराम भट्टराई

काठमाडौं, बैशाख १३ । नया शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई ले संघिय प्रदेशहरु को नामकरण पहिचान को आधारमा हुनु पर्ने वताएका छन् l भट्टराई का अनुसार नदि, वन, जंगल, हिमाल, पहाड, मन्दिर, देवता भन्दा भाषा समुदाय को पहिचान झल्किने नामकरण गर्दा बढी उपयुक्त हुने उहाको जिकिर छ l जस्तै किरात, तमुवान मधेश जस्ता प्रदेशहरुको नामकरण राखौ यदि त्यसो हुन सकेन भने किरात कोशी, तमुवान गण्डकी आदि सयुक्त नाम राख्न पनि संयोजक भट्टराई ले विकल्प अगाडी सारेका छन् l अमेरिका मा पहिचान झल्किने Alabama Alaska Arkansas छन् भने छिमेकी देश भारतमा बङ्गाल, तमिलनाडु, पंजाव जातीय पहिचान मा आधारित रहेको भट्टराई को जोड छ ।  

२ बजेको अपडेटः नेप्से कारोबार १.६८ प्रतिशतले घट्यो

काठमाडौं । सोमवार नेप्से परिसूचक १ दशमलव ६८ प्रतिशत घटेको छ । ३ घण्टाको व्यापारमा शेयर बजार २४ दशमलव २० अङ्कले घटेर १ हजार ४ सय १४ दशमलव २९ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय ६८ कम्पनीको १० हजार ९ सय ८ सय पटकको व्यापारमा रू। १ अर्ब १५ करोड बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । होटल समूहको परिसूचक ३ दशमलव ९७ प्रतिशत, जलविद्युतको ३ दशमलव ६७, व्यापारको २ दशमलव ४६ र विकास बैङ्कको २ दशमलव २१ प्रतिशत घटेको छ । बीमा समूहको परिसूचक १ दशमलव ८४ प्रतिशत, बैङ्किङ र लघुवित्तको १ दशमलव ५५ र वित्त कम्पनीको १ दशमलव ५३ प्रतिशत घटेको छ । साथै, ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ९६ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव २१ प्रतिशत घटेको हो ।

देउवालाई नेविसंघको २४ घण्टे अल्टीमेटम

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । गम्भीर ध्यानाकर्षण सम्बन्धमा भन्ने शीर्षक राखेर नेविसंघले महाधिवेशन सकिएको २० महिना वितिसक्दा पनि विवादित ११ जिल्लाको सन्दर्भमा कुनै कदम नचालिएको मा कडा असन्तुष्टी व्यक्त गरेको छ । अध्यक्ष नैनसिंह महरले पार्टीको निर्देशन, संघको विधि र विधानलाई बेवास्ता गर्दै नेविसंघको गरिमालाई कमजोर र धरासायी बनाउने क्रियाकलाप गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ । नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनको वातावरण निर्माण गर्न तत्काल मिति र स्थान तोकियोस् भन्दै ज्ञापनपत्रमा ३ बुँदे मागहरु राखिएको छ । नेपाल विद्यार्थी संघका अध्यक्षले विधि, विधान र सहमति विपरित गरेका सम्पूर्ण अवैधानिक निर्णयहरु तत्काल खारेज गरी सहमतिको आधारमा सबै जिल्ला, विश्वविद्यालय र क्याम्पसहरुमा प्रतिनिधि खटाइ विधिवत् महाधिवेशन गरियोस् । नेविसंघलाई सहमति, सहकार्य र समझदारी अनुसार अगाडि बढाइयोस् । साथै हामीले ०७४ कार्तिक २८ गते प्रेस विज्ञप्तिमार्फत र ०७४ पुस ९ गते पार्टीसभापतिलाई बुझाएका मागहरु तत्काल सम्वोधन होस् । यी मागहरु २४ घण्टाभित्र सम्वोधन नगरिएको खण्डमा आफूहरु कडाभन्दा कडा आन्दोलनको आँधीबेहरि ल्याउने चेतावनी पनि दिइएको छ । प्रतिकुल अवस्थाको जिम्मेवारी पार्टी सभापतिले लिनुपर्ने समेत नेविसंघले बताएको छ । उक्त चेतावनीयुक्त ज्ञापनपत्रमा पाँच उपाध्यक्षले हस्ताक्षर गरेका छन् । उनीहरुले काँग्रेस पार्टी मुख्यालय सानेपामा पार्टी सभापति देउवालाई सोमबार बिहान बुझाएका हुन् ।