भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा अखिल क्रान्तिकारीले १० लाख सहयोग गर्ने
काठमाडौं । जाजरकोटसहितका भूकम्प पीडितलाई राहत र पुनर्निर्माणमा अखिल क्रान्तिकारीले १० लाख दिने निर्णय भएको छ ।
मंगलबार दिउँसो क्रान्तिकारीका फ्याक्सन इन्चार्ज हिमाल शर्माको उपस्थितिमा केन्द्रीय कार्यालय बागबजारमा बसेको पदाधिकारी बैठकले उक्त रकम दिने निर्णय भएको हो ।
बैठकले १० लाख केन्द्रीय समिति र मातहतका समितिबाट उठाउने निर्णय गरेको हो । जसअनुसार पदाधिकारीले ५ हजार, केन्द्रीय सदस्यले तीन हजार, त्यसभन्दा तलका कमिटीले एकहजार र पाँचसय उपलब्ध गराउने निर्णय भएको इन्चार्ज शर्माले जानकारी दिए । प्राप्त रकम एकरदुई दिनमा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने उनले बताए ।
‘मंगलबार दिउँसो बसेको पदाधिकारी बैठकले पदाधिकारी, केन्द्रीय समिति र त्यसभन्दा तलका कमिटीबाट क्रमशः पाँच हजार, तीन हजार, एक हजार र पाँच सय रुपैयाँ गरी १० लाख भूकम्प पीडितलाई दिने निर्णय भएको छ । संकलित रकम एकरदुई दिनमा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्छौँ’, शर्माले रातोपाटीसँग भने ।
यस्तै तीन जना उपाध्यक्षको कमाण्डमा राहत संकलन र स्वयम सेवक टोली गठन गरी परिचालन गरेको उनले बताए । शर्माका अनुसार पवन कार्कीको नेतृत्वमा राहत संकलन टोली बनाइएको छ ।
त्यसैगरी उपाध्यक्ष द्वय मदन भुल र अम्बरराज शाहीको कमाण्डमा स्वयंसेवक टोली बनाएर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । भुल नेतृत्वको १०० जना टोली रुकुम पश्चिम पठाइएको छ भने शाहीको टोली जाजरकोट खटिएको छ । उनीहरू एक महिनासम्म प्रभावित क्षेत्रको पुनर्निर्माण खटिने शर्माले जानकारी दिए । भूकम्पमा परी यी दुई जिल्लासहित आसपासका ८ जिल्लामा जनधनको क्षति भएको थियो । तीमध्ये जाजरकोट र रुकुम पश्चिमका १५३ जनाले ज्यान गुमाएका छन् । ३४० जना घाइते भएका छन् ।
शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको छ : प्रधानमन्त्री
लुम्बिनी । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले देशको परिवर्तन र रूपान्तरणका लागि सङ्घर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले नेपालले शान्ति प्रक्रियालाई सफलता अघि बढाएको अवगत गराउँदै भने, “हाम्रो शान्ति प्रक्रिया समान परिस्थितिको सामना गरिरहेका देश र समाजका लागि राम्रो उदाहरण हुनसक्छ भन्ने हाम्रो विश्वास छ ।” अहिले आफूहरु शान्ति प्रक्रिया–सङ्क्रमणकालीन न्याय प्रणालीको बाँकी काम टुङग्याउनमा संलग्न रहेको उल्लेख गर्दै उनले आफ्नोे अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गरेकाे बताए । प्रधानमन्त्रीले भने, “अहिले हामी जहाँ उभिरहेका छौँ, भगवान बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्र होइन, शान्ति र सद्भावको केन्द्र हो जसले मानवजातिको शाश्वत र प्रबुद्ध शिक्षाको आधारमा व्यापक रूपमा प्रेरणा र मार्गदर्शन गरिरहन्छ ।” उनले महासचिव गुटेरेसको लुम्बिनी भ्रमणको विशेष महत्त्व रहेको र यसले विश्वव्यापी रूपमा समान मूल्यको संरक्षण र प्रवद्र्धन गर्न खोज्ने संयुक्त राष्ट्रसङ्घको बडापत्रबीच अवस्थित सहजीवन सम्बन्धलाई सुदृढ पार्ने धारणा व्यक्त गरे । सो अवसरमा उनले महासचिव गुटेरेसको विश्वव्यापी महत्वको ऐतिहासिकस्थलको भ्रमणको प्रशंसा गरे । प्रधानमन्त्री प्रचण्डले लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसङ्घ लामो समयदेखि संलग्न रहेको उल्लेख गर्दै सन् १९७२ मा जापानी वास्तुकार केन्जो टाङ्गेद्वारा युएनडिपीको सहयोगमा गुरुयोजना सुरू तयार भएको बताए। सोही बेलादेखि संयुक्त राष्ट्रसङ्घले शान्ति र सद्भावको प्रवर्द्धन, तीर्थ र पर्यटनको एक प्रमुख केन्द्रको रूपमा लुम्बिनीको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो । सन् १९९७ मा संयुक्त राष्ट्रसङ्घले लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गर्दै यसको ऐतिहासिक र सांस्कृतिक महत्वलाई विश्वव्यापी मञ्चमा मान्यता दिएको थियो । “शान्ति, सद्भाव र करुणा हाम्रा जन्मजात गुण हुन्, जुन हामीले शान्तिका धर्मदूत र नेपालका प्रबुद्ध पुत्र बुद्धबाट पाएका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “विविधतामा एकता नै हाम्रो शक्ति हो र सद्भाव र सहअस्तित्व नै हाम्रो संस्कृतिको आवश्यक तत्व हो । हामी “भवतु सर्व मङ्गलम्” र “वसुधैव कुटुम्बकम्”मा विश्वास गर्छौंँ । उनले पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यताले नेपालको परराष्ट्र नीतिलाई निरन्तरता दिइरहेको बताए। “सौहार्दता र भ्रातृत्व हाम्रा अन्तर्राष्ट्रिय संलग्नताका आधारभूत विशेषता हुन् । हामी संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर बहुपक्षीयताप्रतिको हाम्रो प्रतिबद्धतामा अडिग छौँ” उनले भने। त्यसैगरी उनले हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जीवनमा जलवायु परिवर्तनको प्रभावप्रति विश्वव्यापी ध्यानाकर्षण गर्ने महासचिव गुटेरेसकोे प्रतिबद्धताको प्रशंसा गरे । “तपाईंको हिजो खुम्बु क्षेत्रको भ्रमण र आज बिहान अन्नपूर्ण आधार शिविरको भ्रमणको क्रममा तपाईले जलवायु परिवर्तनले हाम्रा जनताको जीवन र जीविकोपार्जनमा कस्तो असर पारेको छ भन्ने नियाल्नुभएको छ । कार्बन उत्सर्जनमा हाम्रो हिस्सा शून्य भए पनि जलवायु परिवर्तनको असर हामीले भोगिरहेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “हामीले विश्वभर शान्ति कायम हुन दिनुपर्छ, शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने अधिकार सबैका लागि सबै परिस्थितिमा सबैले कायम राख्नुपर्छ ।” विश्वशान्ति र सुरक्षा सुनिश्चित गर्न सबै प्रकारका असमानता, अन्याय, शोषण, वञ्चितता र गरिबीको अन्त्य गरिनुपर्ने प्रधानमन्त्री प्रचण्डको जोड थियो । रासस
आज विश्व पक्षाघात दिवस मनाइँदै
काठमाडौं । ‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षाघात दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ का दिन विश्व पक्षाघात दिवस मनाउँदै आइएको छ । एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्त्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षघातका लक्षण हुन् । नेपाल पक्षाघात सङ्घका अध्यक्ष डा.राजु पौडेलले विश्वभर बर्सेनि एक करोड ३० लाखभन्दा बढी व्यक्तिमा पक्षाघात हुने गरेको बताए । हरेक ६ सेकेण्डमा एक जना र चार जनामा एक जनालाई पक्षाघात हुने गरेको छ । पक्षघातको उपचारका लागि नेपाल पक्षाघात सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको डा.पौडेलको भनाइ छ । उक्त सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडलवर्गको सहयोगमा नेपाल पक्षाघात परियोजनासँग सहकार्य गरी काम गर्दै आएको छ । सन् २०१७ मा स्थापना भएको सङ्घले नेपालको पक्षघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ । यस्तै जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा नेपालको पक्षघातसम्बन्धी गाइडलाइन तय गर्ने काम गर्दै आइएको उक्त सङ्घले पक्षघातसम्बन्धी निर्देशिका चाँडो निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । देशभरका १५ अस्पतालको पक्षघातको अवस्थाबारे सूचीकरण गर्ने, बिरामीको अवस्थाबारे जानकारी राख्नेलगायतका काम पनि सङ्घले गर्दै आएको छ । वरिष्ठ न्यूरोलोजिस्टसमेत रहेका डा। पौडेल पक्षाघात भएकामध्ये एकतिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए । नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेकामा डा। पौडेलले जोड दिए । नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ । डा। पौडेलका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको डा। पौडेलको भनाइ छ । पक्षाघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ ।
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्न लागेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने भएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् । परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन बढ्यो १८ सय
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबारको तुलनामा आज सुन प्रतितोला एक हजार ८०० रुपैयाँ बढेको हो । बिहीबार सुनको मूल्य एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसलगत्तै मूल्य एक दिनै एक हजार ८०० रुपैयाँ बढेको हो । तेजाबी सुनको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार भने चाँदीको प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।
आज बडा दशैंको चौथो दिन, कुष्माण्डा भगवतीको पूजा आरधना गरिँदै
काठमाडौं । बडा दशैको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा आरधना गरिंदैछ ।यो दिन शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गर्ने गरिन्छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख छ । कुष्माण्डा देवीलाइ उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्पलगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ। यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ। माता दुर्गाका नौवटा रुपलाई नवदुर्गा भन्ने गरिन्छ । घटस्थापनाका दिनदेखि बडादशैं शुरु हुन्छ । घटस्थापनादेखि नवमीको दिनसम्मलाई नवरात्र पनि भन्ने गरिएको छ । घटस्थापना गरेसँगै नवदुर्गाका नौवटा रूपहरूको पूजा गर्ने परम्परा छ । घटस्थापनाको दिनदेखि बडादशै शुरु भएको मानिन्छ । घटस्थापनादेखि बिजया दशमीको अघिल्लो दिनसम्मको नौ दिनलाई नवरात्र भन्ने चलन पनि छ । नौ दिनमा नवदुर्गाको बिभिन्न रुप अन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
कोसीमा मुख्यमन्त्रीका समर्थक सांसदहरूको सनाखत आज
काठमाडौं । कोसी प्रदेशमा मुख्यमन्त्रीमा समर्थन गरेका दुवै पक्षका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुनुपर्ने भएको छ । कोसीका प्रदेश प्रमुख परशुराम खापुङले सनाखत प्रयोजनका लागि सांसदहरूलाई आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन भनेका छन् । मुख्यमन्त्रीमा केदार कार्कीलाई कांग्रेसका आठ र एमालेका ३९ सांसदले समर्थन गरेका छन् । अर्कोतिर माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । तर, उनले विद्रोह गरेका कांग्रेसका आठ सांसदलाई पनि जोडेका छन् । कोसीमा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्छ । एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए ।
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
काठमाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अक्टोबर १० मा यो दिवस मनाउने गरिन्छ । यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । त्रिविवि शिक्षण अस्पतालको मानसिक रोग विभागका प्रमुख डा. सरोज ओझाले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्रेरित गर्ने बताए । उनका अनुसार मानसिक अवस्था स्वस्थ राख्न शारीरिक स्वास्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्छ । दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उनको भनाइ छ । उनका अनुसार मनोचिकित्सकको परामर्श लिने बिरामीको सङ्ख्या बढ्दो छ । मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ । मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिनसके डिप्रेशनलाई कम गर्न सकिने उनको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अन्तर्गत मानसिक क्षेत्रमा काम भइरहेको एनसिडी तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा। फणेन्द्र बरालले बताए । उनका अनुसार मानसिक स्वास्थ्यमा बढ्दो सचेतना तुलनात्मकरूपमा बढे पनि यसको उपचारमा पहुँच बढाउन चुनौती छ । सरकारले मानसिक स्वास्थ्य परामर्श र औषधि निःशुल्क वितरण गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य (२०१६–२०३०)मा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्द्धन र नसर्ने रोगबाट हुने मृत्युदरलाई एकतिहाइले कम गर्ने लक्ष्य छ ।
प्रधानमन्त्रीद्धारा जितिया पर्वको शुभकामना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसका थारू लगायतका समुदायले पारिवारिक समृद्वि र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाउँने मौलिक एवं सांस्कृतिक पर्व जितियाको शुभकामना व्यक्त गरेका छन् । नेपाली समाजका संस्कृति र संस्कारहरूका आ–आफ्नै विशिष्ट मौलिक पहिचान र विशेषता रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्ता ऐतिहासिक दिनहरूले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी सामाजिक सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । यस्तो छ प्रधानमन्त्रीद्धारा व्यक्त शुभकामना
नेम्वाङलाई दुई छोराले दिए दागबत्ती
काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । राजकीय सम्मानसाथ गरिएको अन्त्येष्टिमा उहाँका दुई छोरा मिङसो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । नेपाली सेनाको एक टुकडीले शोक कुनसहित स्वर्गीय नेम्वाङप्रति शोक धुन बजाएर सम्मान व्यक्त गरे । अन्त्येष्टि कार्यक्रममा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित दलका नेताहरु, एमालेका नेताहरु आर्यघाट पुगे । पूर्व सभामुखसमेत रहेका नेता नेम्वाङको भदौ २६ गते मंगलबार विहान १ः५० बजे निधन भएको थियो । नेता नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाए। सो अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहित सरकारका मन्त्रीहरु, सांसदहरु, पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।
आज गाईजात्रा र रोपाइँ जात्रा : काठमाडौं महानगरभित्र सार्वजनिक विदा
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिका क्षेत्रमा आज सार्वजनिक बिदा दिएको छ । काठमाडौंमा आज गाईजात्रा र रोपाइँ जात्रा मनाइने भएकाले महानगरपालिकाले सार्वजनिक विदा दिएको हो । परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिइएको महानगरपालिकाले जनाएको छ । गाईजात्रा पर्वका लागि महागरपालिकाले आज काठमाडौंका भित्री शहरी क्षेत्रका सडक तथा गल्लीहरुमा सार्वजनिक सवारी पनि निषेध गरेको छ ।
भारतको नयाँ संसद्मा राखिएको नक्साबारे कुरा उठाएको छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा त्यहाँको नयाँ संसद् अघि राखिएको नक्साबारे आफूले कुरा राखेको बताएका छन् । उनले आफू त्यसअघि गएर हात हल्लाएको कुरा गलत भएको बताए । “भारतीय नयाँ संसद्अघि गएकै छैन, पुगेको छैन । त्यहाँ गरेर मोदीजी र मैले हात हल्लाएँ भनेको मोर देन हन्ड्रेड पर्सेन्ट झुटो हो,” उनले भने । उनले त्यो नक्साबारे भारतको आफ्नै तर्क रहेको सुनाए । “यो विषयमा भारतमा कुरा गरेन भन्ने पनि सत्य होइन । मैले कुरा गरेँ । उहाँहरूको आफ्नो तर्क छ । यो सांस्कृतिक ऐतिहासिक हो भन्ने । यो बारेमा छलफल गर्दै जान सकिन्छ,” उनले भने । प्रचण्डले विश्वासको वातावरण बनेपछि छलफल गरेर जान सकिने बताए । अहिले आफूलाई अफ्ठ्योरोमा पार्दा फाइदा हुन्छ भन्ने नसोच्न आग्रह गरे ।
मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले जनआन्दोलनमा घाइते भएर गत वैशाख २७ गते मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । “जनआन्दोलनमा घाइते भएर केही दिनअघि निधन भइका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ,” सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।
यात्रीलाई दर्ता गर्ने पहल सुरु, सरोकारवाला सबै निकायसँग आज छलफल हुने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा अगाडि बढाउन निर्देशन दिएपछि सरोकारवालासँग छलफल सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयले यात्री विद्युतीय मोटरसाइकल उत्पादन गर्ने कम्पनीका प्रतिनिधि र सरकारी निकायसँग आइतबार साँझ छलफल गरेको हो। सोमबार सरोकारवाला सबै निकायसँगको बैठक बोलाइको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । उद्यमशीलतालाई प्रोत्साहन हुने गरी कानुनी तथा अन्य विषयमा छलफल भएर निकास निकालिने उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान नेपालमा बनेको सवारी साधनलाई प्रोत्साहनको गर्ने नीति ल्याउन पनि उनले निर्देशन दिए । मुख्यसचिव शङ्करदास बैरागीलाई नेपालमा बनेको सवारीसाधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिए । प्रधानमन्त्रीले यात्रीलगायतका नेपालमै उत्पादित सवारीसाधनले दर्ता भई काम गर्न नपाएको भनी आएका गुनासाप्रति आफू गम्भीर रहेको भन्दै आवश्यक कार्यविधिलाई छिटो टुङ्गोमा पु¥याउन मुख्यसचिवलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवद्र्धनसम्बन्धी कानुनको मस्यौदा बनाई पेस गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालमा उत्पादन भएका सवारीसाधनको दर्ता हुन नसकेपछि उत्पादित सवारीसाधन थन्किएका छन् भने लगानीकर्ता समस्यामा परेका छन्। नेपालमा उत्पादन भएका सवारीसाधनको दर्ता कानुनी रूपमा व्यवस्था नभएकाले समस्या भएको छ। विद्यमान कानुनी व्यवस्थाले नेपालमा सवारीसाधन उत्पादन हुन्छ भन्ने कल्पना पनि गरेको छैन। सवारी ऐन २०४९ अनुसार नेपालमा सवारीसाधन दर्ता गर्न भन्सार कार्यालयबाट सवारीसाधनको च्यासिस वा इन्जिनबारे प्रज्ञापनपत्रमा उल्लेख भएको र भन्सार तिरेको कागजात हुनुपर्छ। तर नेपालमा उत्पादित सवारीसाधनका हकमा त्यस्ता काजगात नै बन्दैनन्। त्यसैले हालकै कानुनी व्यवस्थाअनुसार दर्ता गर्न नमिल्ने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले बताए । यो गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकासित समाचार हो ।
आजको मौसम पूर्वानुमान : पहाडी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ। दिउँसो भने देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ। महाशाखाका अनुसार राती लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
एफए कप फुटबल : महरेजको ह्याट्रिकसँगै सिटी फाइनलमा
काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलमा सेफिल्ड युनाईटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो । सिटीको जितमा रियाद महरेजले ह्याट्रिक गोल गरे । खेलको ४३ औं मिनेटमा महरेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । खेलको ६१ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ६६ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० को जित दिलाए । अब सिटीले उपाधिका लागि ३ जुनमा म्यानचेस्टर युनाइटेड र ब्राइटन होव अल्वियोनबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीले आज राति सेमिफाइनल खेल्दैछ ।