इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम
काठमाडौं । इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ । चारदिने युद्धविरामको अन्तिम दिन पनि हमासको नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशी रिहा भएका छैनन् ।
विभिन्न स्रोतका अनुसार विपिन हमासकै नियन्त्रणमा रहेको बताउँदै आए पनि उनको अवस्थाबारे थप कुनै जानकारी आएको छैन । सोमबारसम्म हमासले ६९ बन्दीलाई रिहा गरिसकेको छ । तर, विपिनको अवस्थाबारे अझै थाहा हुन सकेको छैन ।
उनी अक्टोर ७ मा हमासले गरेको आक्रमणपछि सम्पर्कविहीन भएका थिए । तर, केही दिनअघि गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी फुटेज सार्वजनिक गर्दै इजरायली सेनाले त्यसमा देखिएकामध्ये एकजना नेपाली नागरिक रहेको बताएको थियो । तर, थप विवरण सार्वजनिक भएको छैन ।
सोमबार राति हमासले ११ जना इजरायली नागरिकलाई रिहा गरेको छ । उनीहरूमध्ये ९ जना बालबालिका र दुईजना बालबालिका हुन् ।पहिलो दिन गएको शुक्रबार हमासले इजरायलका १३, थाइल्यान्डका १० र फिलिपिन्सका एक गरी २४ जनालाई रिहा गरेको थियो ।
दोस्रो दिन इजरायलका १३ र थाइल्यान्डका चारजनालाई छाडेको थियो । तेस्रो दिन आइतबार हमासले इजरायलका १३ जना, थाइल्यान्डका तीनजना र रुसका एकजना गरी १७ जनालाई छाडेको थियो ।
उता इजरायलले सोमबार राति ३० जना बालबालिका र तीनजना महिला गरी ३३ प्यालेस्टाइनीलाई छाडेको छ । चारनिने युद्धविरामका क्रममा इजरायलले कुल १५० प्यालेस्टाइनीलाई रिहा गरिसकेको छ । उनीहरूमध्ये अधिकांश बालबालिका र महिला हुन् ।
नेपाल सरकारले मध्यस्थकर्ताको भूमिकामा रहेको कतारसँग विपिनलाई छुटाउन पहल गरिदिन आग्रह गरेको थियो । गएको शुक्रबारमात्र प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी अधिकारीहरूले नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग विपिनको सकुशल रिहाइमा सघाउन आग्रह गरेका थिए ।
विश्वकप क्रिकेट : पाकिस्तानसँग बंगलादेश ७ विकेटले पराजित
काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको छ ।जितसँगै पाकिस्तानले सेमिफाइनलमा पुग्ने संभावना जिवित राख्दा बंगलादेश बाहिरिएको छ । भारतको कोलकातामा गएराति भएको खेलमा पहिले व्याटिङ गरेको बंगलादेशले ४५ ओभर १ बलमा अलआउट हुँदै २ सय ४ रन बनायो ।उसका लागि महमदुल्लाहले ५६ रन जोड्दा पाकिस्तानका शाहिन साह अफ्रिदी र मोहोमल वसिमले तिन तिन विकेट लिए । जवाफमा २ सय ५ रनको लक्ष्य पाकिस्तानले ३३ औं ओभरमा तिन विकेट गुमाएर पुरा ग¥यो ।पाकिस्तानको जितमा सरुवाती व्याटरहरु फखर जमानको ८१ रन तथा अब्दुल्लाह शफिकको ६८ रन महत्वपूर्ण रह्यो । जितसँगै ७ खेलबाट ६ अंक जोडेको पाकिस्तान अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । शिर्ष स्थानको भारतको १२ अंक छ भने १० अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । न्युजिल्याण्ड र अष्ट्रेलियाको समान ८–८ अंक छ । विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्नेछन् ।तालिकाको दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका र तेस्रो स्थानको न्युजिल्याण्ड बिचको खेल मुम्बईमा दिउसो सवा दुई बजे सुरु हुनेछ ।
शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको छ : प्रधानमन्त्री
लुम्बिनी । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले देशको परिवर्तन र रूपान्तरणका लागि सङ्घर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले नेपालले शान्ति प्रक्रियालाई सफलता अघि बढाएको अवगत गराउँदै भने, “हाम्रो शान्ति प्रक्रिया समान परिस्थितिको सामना गरिरहेका देश र समाजका लागि राम्रो उदाहरण हुनसक्छ भन्ने हाम्रो विश्वास छ ।” अहिले आफूहरु शान्ति प्रक्रिया–सङ्क्रमणकालीन न्याय प्रणालीको बाँकी काम टुङग्याउनमा संलग्न रहेको उल्लेख गर्दै उनले आफ्नोे अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गरेकाे बताए । प्रधानमन्त्रीले भने, “अहिले हामी जहाँ उभिरहेका छौँ, भगवान बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्र होइन, शान्ति र सद्भावको केन्द्र हो जसले मानवजातिको शाश्वत र प्रबुद्ध शिक्षाको आधारमा व्यापक रूपमा प्रेरणा र मार्गदर्शन गरिरहन्छ ।” उनले महासचिव गुटेरेसको लुम्बिनी भ्रमणको विशेष महत्त्व रहेको र यसले विश्वव्यापी रूपमा समान मूल्यको संरक्षण र प्रवद्र्धन गर्न खोज्ने संयुक्त राष्ट्रसङ्घको बडापत्रबीच अवस्थित सहजीवन सम्बन्धलाई सुदृढ पार्ने धारणा व्यक्त गरे । सो अवसरमा उनले महासचिव गुटेरेसको विश्वव्यापी महत्वको ऐतिहासिकस्थलको भ्रमणको प्रशंसा गरे । प्रधानमन्त्री प्रचण्डले लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसङ्घ लामो समयदेखि संलग्न रहेको उल्लेख गर्दै सन् १९७२ मा जापानी वास्तुकार केन्जो टाङ्गेद्वारा युएनडिपीको सहयोगमा गुरुयोजना सुरू तयार भएको बताए। सोही बेलादेखि संयुक्त राष्ट्रसङ्घले शान्ति र सद्भावको प्रवर्द्धन, तीर्थ र पर्यटनको एक प्रमुख केन्द्रको रूपमा लुम्बिनीको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो । सन् १९९७ मा संयुक्त राष्ट्रसङ्घले लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गर्दै यसको ऐतिहासिक र सांस्कृतिक महत्वलाई विश्वव्यापी मञ्चमा मान्यता दिएको थियो । “शान्ति, सद्भाव र करुणा हाम्रा जन्मजात गुण हुन्, जुन हामीले शान्तिका धर्मदूत र नेपालका प्रबुद्ध पुत्र बुद्धबाट पाएका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “विविधतामा एकता नै हाम्रो शक्ति हो र सद्भाव र सहअस्तित्व नै हाम्रो संस्कृतिको आवश्यक तत्व हो । हामी “भवतु सर्व मङ्गलम्” र “वसुधैव कुटुम्बकम्”मा विश्वास गर्छौंँ । उनले पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यताले नेपालको परराष्ट्र नीतिलाई निरन्तरता दिइरहेको बताए। “सौहार्दता र भ्रातृत्व हाम्रा अन्तर्राष्ट्रिय संलग्नताका आधारभूत विशेषता हुन् । हामी संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर बहुपक्षीयताप्रतिको हाम्रो प्रतिबद्धतामा अडिग छौँ” उनले भने। त्यसैगरी उनले हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जीवनमा जलवायु परिवर्तनको प्रभावप्रति विश्वव्यापी ध्यानाकर्षण गर्ने महासचिव गुटेरेसकोे प्रतिबद्धताको प्रशंसा गरे । “तपाईंको हिजो खुम्बु क्षेत्रको भ्रमण र आज बिहान अन्नपूर्ण आधार शिविरको भ्रमणको क्रममा तपाईले जलवायु परिवर्तनले हाम्रा जनताको जीवन र जीविकोपार्जनमा कस्तो असर पारेको छ भन्ने नियाल्नुभएको छ । कार्बन उत्सर्जनमा हाम्रो हिस्सा शून्य भए पनि जलवायु परिवर्तनको असर हामीले भोगिरहेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “हामीले विश्वभर शान्ति कायम हुन दिनुपर्छ, शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने अधिकार सबैका लागि सबै परिस्थितिमा सबैले कायम राख्नुपर्छ ।” विश्वशान्ति र सुरक्षा सुनिश्चित गर्न सबै प्रकारका असमानता, अन्याय, शोषण, वञ्चितता र गरिबीको अन्त्य गरिनुपर्ने प्रधानमन्त्री प्रचण्डको जोड थियो । रासस
राष्ट्रसङ्घीय महासचिवको भ्रमणले शान्ति मिसनमा जगाएको आशा
काठमाडौं। नेपालको चारदिने औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिजो उच्च सरकारी अधिकारी एवम् प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटमा राष्ट्रसङ्घ र नेपालबीचको लामो मित्रवत् सम्बन्धका बारेमा चर्चा गरेका छन्। खासगरी नेपालले भोग्दै आएको जलवायु परिवर्तनबाट सिर्जित समस्याप्रति उनले गहिरो चिन्ता मात्र व्यक्त गरेनन्, आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी सङ्कटको आँधीमा फसेको नेपालजस्तै राष्ट्रलाई अत्यधिक अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको र यसका लागि विकसित राष्ट्र अगाडि आउनु जरुरत रहेको उल्लेख गरे । यसबाट उनमा नेपालप्रतिको स्नेह प्रष्ट झल्किन्थ्यो । उनले विगत ३० वर्षमा नेपालले एक तिहाइ हिउँ गुमाएको प्रसङ्गसमेत उल्लेख गर्दै यहाँका हिमनदी उच्च गतिमा पग्लिरहेकामा चिन्ता व्यक्त गरे । नेपाल र संयुक्त राष्ट्रङ्घले आपसी सहकार्य गरी काम गर्न खोजेको र यसबाट समस्याको पहिचान र समाधानका लागि अन्तर्राष्ट्रिय सहयोगको सम्भावना खोज्न सहयोग पुग्ने महासचिव गुटेरेसको भनाइले आगामी दिनमा राष्ट्रसङसँग नेपालको सम्बन्धलाई अझ फराकिलो तुल्याउन सहयोग पुग्ने आशा गर्न सकिन्छ । नेपालको सामाजिक आर्थिक विकासमा राष्ट्रसङ्घको सहयोग उत्तिकै महत्त्वूर्ण रहेको सन्दर्भमा शिक्षा, स्वास्थ्यलगायत सामाजिक विकासका क्षेत्रमा पुर्याएको सहयोगले दिगो विकास लक्ष्य हासिल गर्न सहज भएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । राष्ट्रसङ्घको नेतृत्वबाट १५ वर्षपछि भएको नेपाल भ्रमणले निकै महत्त्वपूर्ण अर्थ राख्दछ । संयोग नै मान्नुपर्छ प्रधानमन्त्री प्रचण्ड नै प्रधानमन्त्री भएका बेला यसअघि महासचिव बान्की मुनले नेपाल भ्रमण गरेका थिए। विश्वमा इजरायनल र हमासबीच युद्ध चर्किरहेको छ भने लेबनान, सिरियालगायत विभिन्न देश अशान्त बनिरहेका बेला पनि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणलाई प्राथमिकता दिनु आफैँमा पनि महत्त्वपूर्ण विषय हो । भ्रमणका बेला नेपालका सुरक्षाकर्मीले राष्ट्रसङ्घ मातहत रहेर विश्वका द्वन्द्वग्रस्त मुलुकमा पुर्याउँदै आएको शान्ति स्थापनाका बारेमा प्रधानमन्त्री, परराष्ट्र, रक्षा र गृहमन्त्री तथा प्रमुख राजनीतिक दलका नेतासँगको भेटवार्तामा पनि छलफल भएको थियो । यसले आगामी दिनमा थप शान्ति सैनिक पठाउन र युएनका माथिल्लो तहमा पनि नेपाली पदाधिकारीलाई पुग्नका लागि सहज हुने विश्वास गरिएको छ । नेपालको यस भ्रमणले कुनै न कुनैरूपमा नेपालको मुद्दा अन्तर्राष्ट्रिय समुदायमाझ पुर्याउन मद्दत गरेको छ । संयुक्त राष्ट्रसङ्घसँग नेपालको सम्बन्ध खासगरी शान्ति सेना, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, शान्ति प्रक्रिया अनि अन्य आर्थिक–सामाजिक विकासका मुद्दाका कारण गहिरो गरी जोडिएको छ । महासचिव गुटेरेसको भ्रमणले आगामी दिनमा विश्व शान्ति स्थापनामा नेपालले पुर्याउँदै आएको योगदानको उच्च कदर हुने वातावरण मिलेको छ । संयुक्त राष्ट्रसङ्घको विश्वशान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्बिलो साथ र सहयोग रहँदै आएको छ । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने, राष्ट्रबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने तथा आर्थिक, सामाजिक, सांस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तर्राष्ट्रिय समस्या समाधान गर्ने संयुक्त राष्ट्रसङ्घको मुख्य उद्देश्य हासिल गर्न नेपाल सुरुदेखि नै सक्रिय छ । नेपालले संयुक्त राष्ट्रसङ्घको विश्वशान्ति प्रयासमा शान्ति सेना पठाएर आफ्नो औकातअनुसारको प्रभावकारिता देखाएको छ । संयुक्त राष्ट्रसङ्घको शान्ति सेना कार्यक्रम त्यसको एउटा मुख्य अङ्ग हो । नेपाली सेनाले जटिल खालका द्वन्द्वग्रस्त क्षेत्रमा गएर शान्ति, अन्तर्राष्ट्रिय सुरक्षा स्थापनामा छ दशकभन्दा बढी महत्त्वपूर्ण योगदान गरिसकेको छ । विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको योगदान उच्च छ । नेपाल भौगोलिक हिसाबले सानो, दुई शक्तिशाली छिमेकी राष्ट्रका बीचमा तरुलजस्तै रहेको भए पनि यसको वीरताको गाथालाई कसैले भुलेका छैनन् । पछिल्लो समयमा विश्वलाई चिनाउने गरी नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा काम गरिरहेको छ, जुन नेपालको गौरवको विषय हो । शान्ति सेनामा पुर्याएको योगदानकै कारण नेपालले सन् १९६९ र १९८८ मा दुई पटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य हुने अवसर पायो । त्यति मात्र होइन, विभिन्न विश्व मञ्चमा नेपालले आफ्नो विश्वशान्ति, मानवअधिकारको प्रत्याभूति र साना राष्ट्रको सवालमा प्रष्टसँग राख्ने अवसर पाएको छ । भगवान गौतम बुद्धको जन्मस्थल र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशबाट परिचित नेपाल पछिल्लो ६० वर्षदेखि उत्कृष्ट र अब्बल शान्ति सेनाको देशको नामबाट पनि चिनिन थालेको छ । विश्वशान्ति स्थापनामा सेनाबाट आर्जित शक्तिले विकास गरेको कूटनीतिकै कारण नेपाललाई आज विश्वले चिनेको छ । सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेदेखि नै नेपालले खासगरी विश्वशान्तिका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । सन् १९५८ मा राष्ट्र सङ्घको विशेष आग्रहमा नेपाल सरकारले पहिलो पटक द्वन्द्वग्रस्त मुलुक लेवनानमा पाँच नेपाली सैनिक पर्यवेक्षक टोली खटाएको थियो । सन् १९७४ मा इजिप्टमा नेपाली सेनाको श्री पुरानो गोरख गण पहिलो पटक कन्टिजेन्टका रूपमा खटिएको थियो । यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार छ सय २३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् । सात अगस्ट, २०२२ को तथ्याङ्कअनुसार संसारका १२ मिसनमा पाँच हजार पाँच सय ६८ र नेपाली सेना (जसमा दुई सय ९५ जना महिला) र यीमध्ये एक सय ९४ जना सशस्त्र प्रहरी बलबाट र ४२ जना प्रहरीबाट सहभागी भएका छन् । नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा योगदान दिने दोस्रो देश बनेको छ । नेपाली सेनाले १० देशमा शान्ति स्थापना कार्यका लागि तैनाथ ११ विभिन्न मिसनमा सक्रिय सहभागी भई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको छ । यस अवधिमा सेनाले उच्च पदस्थ सैनिक अधिकारीदेखि मिलिटरी कन्टिन्जेन्ट, पर्यवेक्षक र स्टाफ, अफिसर, मेडिकल डाक्टर तथा इञ्जिनियरसम्मका जनशक्तिले विश्वशान्ति स्थापनामा काम गरिसकेका छन् । ती द्वन्द्वरत मुलुकमा संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना टोलीमार्फत देशको छवि उँचो बनाउँदै विश्वव्यापी मानव अधिकारका लागि नेपाली शान्ति सैनिकले पुर्याएको योगदान कम महत्त्वपूर्ण छैन । शान्ति सेनामा सक्रिय सहभागिताले मुलुकको कूटनीतिक इतिहासमा नयाँ इँटा थप्ने अवसर मात्र दिएको छैन, विश्व मञ्चमा आफ्नो उपस्थितिलाई सार्थक तुल्याउने महत्त्वपूर्ण अवसर पनि प्राप्त भएको छ । नेपालको परराष्ट्र नीतिको मार्गदर्शनका सिद्धान्तमा नै शान्ति र मानव अधिकार रहेकोले द्वन्द्वरत मुलुकमा खटिएर जाने सैनिकले पनि यसलाई नै मूलमन्त्र बनाएका छन् । विभिन्न द्वन्द्वरत देशमा नेपालले पुर्याएको योगदान संसारका शक्तिशाली, वैभवशाली, शान्तिकर्मी राष्ट्रहरूले नजिकबाट हेरिरहेकाले नेपाललाई ती देशहरूमा आफ्नो शान्तिप्रति प्रतिबद्धताको छवि विस्तार गर्ने राम्रो अवसर मिलेको छ । नेपालको परराष्ट्र नीतिको एउटा मुख्य आधार भनेको संयुक्त राष्ट्रसङ्घमा खेल्ने भूमिका हो । शान्ति सेनामा ठूलो सङ्ख्यामा भाग लिनुले नेपालको परराष्ट्र नीतिमा राम्रो सफलता भएको छ । राष्ट्र सफल हुन आन्तरिक र परराष्ट्र नीति दुवैमा सफल हुनुपर्छ । यी दुवै एकै सिक्काका दुई पाटा हुन् । विश्वशान्ति र मानव अधिकार संरक्षणमा सैनिक योगदानकर्ताका रूपमा नेपाल दोस्रो स्थानमा छ । नेपालबाट नेपाली सेनातर्फ छ हजार ६४, नेपाल प्रहरीबाट ४४ र सशस्त्र प्रहरी बलका एक सय ९४ जना गरी कुल छ हजार दुई सय ९९ जना शान्ति सैनिक विभिन्न मुलुकमा खटिएका छन् । यो सङ्ख्या केबल पहिलो मुलुक बङ्गलादेशले पठाएका सुरक्षाकर्मीभन्दा ९८० ले मात्र कम हो । शान्ति मिसनमा महिला सैनिकतर्फ उच्च योगदान दिने राष्ट्रहरुको सूचीमा भने नेपाल विश्वमै एक नम्बरमा रहेको छ । नेपालले विश्वकै सबैभन्दा धेरै छ सय १२ जना शान्ति सैनिकमा पठाएको छ । पहिलो नम्बरमा रहेको बङ्गलादेशले पाँच सय ६६ र तेस्रोमा रहेको भारतको एक सय २५ जना महिला शान्ति सैनिक छन् । नेपाल सरकारले अब १० हजार शान्ति सैनिक पठाउने तयारी गरेको छ । नेपाली सैनिकको माग उच्च छ, जतिखेर पनि फेरि माग हुने भएकाले थप सैनिक पठाउन सक्ने गरी तयारी अवस्थामा रहेको सरकारको भनाइ छ । त्यति सङ्ख्यामा नेपाली सैनिकलाई पठाइएमा नेपाल पहिलो स्थानमा आउन सक्ने अवसर छ । संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा पहिलो नम्बरको देश हुन सकेको अवस्थामा नेपालको आर्थिक, राजनीतिक र कूटनीतिक महत्व निहीत हुन्छ । आर्थिकरुपमा त्यहाँ खटिने सैनिकले पाउने पारिश्रमिकले उनीहरुको आर्थिकस्तरमा सुधार ल्याउन मद्दत नै पुग्दछ । राजनीतिक दृष्टिले विश्व शान्तिमा व्यावहारिक रुपमै योगदान दिनसक्ने हैसियतमा नेपालको वर्चस्व बढ्छ । कूटनीतिकरुपमा राष्ट्रसङ्घको महासभामा सुरक्षा परिषद्को अस्थायी सदस्यमा चुनाव लड्न थप बल पुग्छ । पछिल्लो समय कूटनीतिक रुपमा लबिङ गर्न नसक्दा महासभाको सभापति र सुरक्षा परिषद्को अस्थायी सदस्यका लागि भएका निर्वाचनमा पराजय भोग्नुपरेको तीतो अनुभव छ । द्वन्द्वरत मुलुकमा शान्ति स्थापना नेपाली सेनाले प्रस्तुत गर्दै आएको कार्यकुशलता र व्यावसायिक दक्षताको राष्ट्रसङ्घले प्रशंसा गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हालै संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा विश्व शान्ति स्थापनामा नेपाली सैनिक विश्वमा लोकप्रिय बन्दै गएको बताए । उनले विश्व शान्ति स्थापनामा नेपाल महत्वपूर्ण साझेदार रहेको र यो साझेदारी युगौँसम्म कायम रहने विश्वास पनि व्यक्त गरेका छन् । रासस
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्न लागेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने भएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् । परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड र स्वीट्जरल्याण्डका राजदूत मेउलीबीच शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि स्वीट्जरल्याण्डका नवनियुक्त राजदूत डेनियल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न राजदूत मेउली आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् । भेटको सो अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो ।
सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता
दिपायल । डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले बताए । उनका अनुसार बेपत्ता हुनेमा वडा नं ४ पिपल्ला बजारका ८ वर्षीया खुसी प्रजापति र सोही ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा रहेका छन् । बेपत्ता दुवैको खोजी कार्य भइरहेको प्रनाउ श्रीवास्तले बताए । खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्रीद्धारा जितिया पर्वको शुभकामना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसका थारू लगायतका समुदायले पारिवारिक समृद्वि र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाउँने मौलिक एवं सांस्कृतिक पर्व जितियाको शुभकामना व्यक्त गरेका छन् । नेपाली समाजका संस्कृति र संस्कारहरूका आ–आफ्नै विशिष्ट मौलिक पहिचान र विशेषता रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्ता ऐतिहासिक दिनहरूले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी सामाजिक सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । यस्तो छ प्रधानमन्त्रीद्धारा व्यक्त शुभकामना
दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाका लागि निवेदन दिन आग्रह
काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भएको छ । यसका लागि ३५ दिन भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको छ । “स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भर्नु पर्नेछ,” आयोगले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “आजदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्नुपर्नेछ ।” आयोगले सातवटै प्रदेशका विभिन्न जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह गरेको छ ।
श्रम तथा रोजगार क्षेत्रको बजेट कटौती
काठमाडौं । सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनयोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा परेको बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आवमा ९ अर्व १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि बजेट घटाइएको छ । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।
माओवादी केन्द्रमा गुटबन्दी स्वीकार्य हुँदैन : उपाध्यक्ष महरा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महराले पार्टी भित्र गुटबन्दी कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन् । प्रेस सेन्टर नेपालको १९ औ साधारण सभा र २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, पार्टी केहि विग्रीएको छ । यसको जिम्मेवारी हामीले सबैले लिनुपर्छ । केहि मात्रामा विग्रीनुका प्रमुख कारण भनेको नेता कार्यकर्ता जनतामा नजानु नै हो । दोस्रो कारण पार्टीमा गुटबन्दी छ । यो पार्टीमा गुटबन्दीलाई अब मान्यता दिइदैन । नेतृत्व सक्षम भएर मात्रै अगाडी बढ्न सकिन्छ । माओवादी नेतृत्वको सरकारका विरुद्ध बैदेशिक शक्ति पनि घेराबन्दीमा लागेको माओवादी उपाध्यक्ष महराले बताएका छन्।उनले बैदेशिकसहित आन्तरिक रुपमा पनि भइरहेको घेराबन्दी तोड्का लागि सबै एक भएर लाग्न प्रेस सेन्टर नेपाललाई आग्रह गरेका छन् । सहकर्मी कृष्णसेन इच्छुक र प्रेस संयोजक त्रिभुवन पौडेल गुमाउदै धेरै चिज गुमाएको महशुस भइरहेको पनि उपाध्यक्ष महराले स्मरण गरे ।
घट्यो सुनको मूल्य, यस्तो छ आजको कारोवार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलवार सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलवार चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला एक हजार तीन सय ७० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले जनआन्दोलनमा घाइते भएर गत वैशाख २७ गते मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । “जनआन्दोलनमा घाइते भएर केही दिनअघि निधन भइका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ,” सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।
यात्रीलाई दर्ता गर्ने पहल सुरु, सरोकारवाला सबै निकायसँग आज छलफल हुने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा अगाडि बढाउन निर्देशन दिएपछि सरोकारवालासँग छलफल सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयले यात्री विद्युतीय मोटरसाइकल उत्पादन गर्ने कम्पनीका प्रतिनिधि र सरकारी निकायसँग आइतबार साँझ छलफल गरेको हो। सोमबार सरोकारवाला सबै निकायसँगको बैठक बोलाइको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । उद्यमशीलतालाई प्रोत्साहन हुने गरी कानुनी तथा अन्य विषयमा छलफल भएर निकास निकालिने उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान नेपालमा बनेको सवारी साधनलाई प्रोत्साहनको गर्ने नीति ल्याउन पनि उनले निर्देशन दिए । मुख्यसचिव शङ्करदास बैरागीलाई नेपालमा बनेको सवारीसाधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिए । प्रधानमन्त्रीले यात्रीलगायतका नेपालमै उत्पादित सवारीसाधनले दर्ता भई काम गर्न नपाएको भनी आएका गुनासाप्रति आफू गम्भीर रहेको भन्दै आवश्यक कार्यविधिलाई छिटो टुङ्गोमा पु¥याउन मुख्यसचिवलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवद्र्धनसम्बन्धी कानुनको मस्यौदा बनाई पेस गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालमा उत्पादन भएका सवारीसाधनको दर्ता हुन नसकेपछि उत्पादित सवारीसाधन थन्किएका छन् भने लगानीकर्ता समस्यामा परेका छन्। नेपालमा उत्पादन भएका सवारीसाधनको दर्ता कानुनी रूपमा व्यवस्था नभएकाले समस्या भएको छ। विद्यमान कानुनी व्यवस्थाले नेपालमा सवारीसाधन उत्पादन हुन्छ भन्ने कल्पना पनि गरेको छैन। सवारी ऐन २०४९ अनुसार नेपालमा सवारीसाधन दर्ता गर्न भन्सार कार्यालयबाट सवारीसाधनको च्यासिस वा इन्जिनबारे प्रज्ञापनपत्रमा उल्लेख भएको र भन्सार तिरेको कागजात हुनुपर्छ। तर नेपालमा उत्पादित सवारीसाधनका हकमा त्यस्ता काजगात नै बन्दैनन्। त्यसैले हालकै कानुनी व्यवस्थाअनुसार दर्ता गर्न नमिल्ने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले बताए । यो गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकासित समाचार हो ।
आजको मौसम पूर्वानुमान : पहाडी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ। दिउँसो भने देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ। महाशाखाका अनुसार राती लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
उपनिर्वाचनको मतगणना आज रातीबाट सुरु गर्ने आयोगको तयारी
काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि तीन वटा निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनको मतगणना आज रातीबाट सुरु गर्ने निर्वाचन आयोगको तयारी छ। आयोगले आज विज्ञप्ति जारी गर्दै मतदान सकिएपछि मतपेटिकाहरु मतगणना केन्द्रमा संकलन गर्ने कार्य सुरु भएसँगै मतगणनाको पनि तयारी गरिएको जनाएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार बारा जिल्ला निर्वाचन क्षेत्र न २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र चितवन जिल्ला क्षेत्र नम्बर २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य संघको हल, भरतपुरमा राति १० बजेभित्र र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ बजेभित्र दुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन मतगणना निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगले दिएको विशेष निर्देशन बमोजिम यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिनेछ।’