संशोधन फिर्ता हुन्न बरु परिमार्जनः प्रधानमन्त्री प्रचण्ड
सुर्खेत, मंसिर २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आफूले जोखिम मोलेर संविधान संशोधनको प्रस्ताव ल्याएको भन्दै त्यसलाई कुनै हालतमा फिर्ता नलिने अडान दोहो¥याएका छन । ‘सरकारले संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता लिन्न ।
बरु परिमार्जन गर्न सकिन्छ’ वीरेन्द्रनगरमा बिहीबार कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै
प्रचण्डले भने, ‘सबै भूगोल, जात जातिको असन्तुष्टि सम्बोधन गरेर सरकार छिटो निर्वाचनको मिति घोषणा गर्न तत्पर छ ।’
उनले केही दिनभित्र स्थानीय निर्वाचनको मिति घोषणा गरिने बताए ।
हाल दर्ता गरिएको संशोधन प्रस्ताव कांग्रेस एमालेले नै तयार पारेको ड्राफ्ट भएको उनको भनाई थियो ।
आजको कान्तिपुर राष्ट्रिय दैनिकमा खबर छ ।
तातो खोलेमा डुबेर बालिकाको मृत्यु
दमक । झापामा तातो खोलेमा परेर गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका वडा नं.५ का गोपाल टुडूका दुई वर्षीया छोरी सृष्टि टुडूकाको उपचारको क्रममा मृत्यु भएको हो । पाँच दिनअघि घरमै तातो खोलेमा परेको सुष्टिको आर्थिक अभावका कारणले समयमा उपचार हुन नसकेको बताइएको छ । स्थानीय स्तरमा उपचार सम्भव नभएपछि इजि हेल्थ केयर फाउण्डेशनको सहयोगमा बालिकाको थप उपचारका लागि काठमाडौंस्थित सुष्मा मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । बालिकालाई बचाउन हरसम्भवको प्रयास गरिए पनि बचाउन नसकिएको इजि हेल्थ केयर फाउण्डेशनका संरक्षक उज्ज्वलविक्रम थापाले बताए। झापा क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जलन सम्बन्धित स्थानीय स्तरमा उपचार सम्भव नहुँदा बालिकाको मृत्यु भएको बताउनुभएको छ । बालिकाको उपचारका क्रममा मङ्गलबार मृत्यु भएको हो । ‘‘सबै स्थानीय तहले जलन उपचार सम्बन्धमा विशेष जनचेतना अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ,’’ सामाजिक सञ्जालमार्फत भनेका छन् । झापामा जलनको सहज उपचारका लागि अस्पतालहरुमा व्यवस्था नरहेको बताइन्छ ।
सीके राउतसहित ५१ जना प्रहरीको नियन्त्रणमा
काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित उनकै पार्टीका ५१ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले माइतीघरबाट नियन्त्रणमा लिएको हो । ‘धोती’ दिवस मनाउने भन्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिए । नियन्त्रणमा परेकालाई नगरप्रहरी कार्यालय भृकुटीमण्डप राखिएको छ ।
बालकुमारी तनाब घटना : छानबिन गर्न तीन सदस्यीय समिति गठन
काठमाडौं । ईपीएस परीक्षा दिन पाउनु पर्ने माग गर्दै भएको आन्दोलनमा २ परीक्षार्थीको ज्यान गएपछि सरकारले घटनाको छानबिन गर्न समिति बनाएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक वासु सिग्देल रहेको छानबिन समिति गठन गरेको हो। समितिलाई ७ दिनभित्रमा घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन भनिएको छ। यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीले औधोगिक क्षेत्रका लागि आवेदन दिन नपाउने भएपछि आन्दोलन गरेका हुन्। आन्दोलनकारीले शुक्रबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी आगजनी गरेका थिए। त्यसपछि प्रहरीले बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको छ। एक जनाको गोली लागेको छ भने अर्काको शरीरमा चोट लागेको छ। यसैबीच शुक्रबार नै उच्च अदालत पाटनले सबैलाई परीक्षामा सामेल गराउन आदेश दिएको छ।
निराशाको बहस अन्त्य गरौँ : अर्थमन्त्री महत
हेटौँडा। अर्थमन्त्री डा. प्रकाश शरण महतले अब हामीले निराशाको बहस अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका प्रवक्ता समेत रहनुभएको अर्थमन्त्री महतले यही देशमा सम्भावना छ, यही देशमा केही हुन्छ भनेर जानु आवश्यक भएको बताउँदै नागरिकमा निराशा पैदा गर्नेको खिलापमा जानुपर्ने बताए । नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनको मङ्गलबार हेटौँडामा उद्घाटन गर्दै उनले नेपालमै धेरै अवसर रहेको र यसको उपयोग गर्नुपर्ने भनाइ व्यक्त गरे । मन्त्री महतले हामी एक भएर निर्वाचनको समयमा पार्टीको पक्षमा एकीकृत भयौ भने आगामी निर्वाचनमा बहुमत आउने भन्दै यसका लागि एकता भाव, सद्भाव, सहकार्य र समर्पणमा कमी आउन दिनु नहुने बताए । मन्त्री महतले भने, ‘‘पार्टीभित्र देखिएका कतिपय समस्याले एक अर्काप्रति तिक्तता विकसित भयो । यो आम निर्वाचनमा अभिव्यक्त हुन थाल्यो भने पार्टीका लागि दुर्भाग्य हुन्छ । देशभरि रोग छ र समस्या छ यसलाई निर्मूल गर्ने बित्तिकै हाम्रो पार्टी पहिलो पार्टी मात्र होइन बहुमत पार्टी हुन्छ ।’’ हामी निराश हुनुपर्ने कुनै कारण नभएको भन्दै अर्थमन्त्री महतले भने, ‘‘अब अर्थतन्त्रले गति लिन्छ अर्थतन्त्रका सबै सङ्केतहरू सकारात्मकतर्फ उन्मुख छ । उपभोग गर्नेहरूले उपभोग गर्दा हुन्छ ।’’ उनले अहिले गठबन्धनको सरकार छ र यो गठबन्धन वाध्यात्मकता परिस्थिति हो भने । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस नेता गुरुराज घिमिरे, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठलगायतको कांग्रेसको साङ्गठनिक अवस्था, पार्टीभित्रको एकतालगायतका विषय राखेका थिए ।
कांग्रेसमा खुट्टा तानातान पहिलेदेखि नै छ, सुधारेर लैजानुपर्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई सुधार गरेर अगाडि लैजानुपर्ने बताएका छन्। उनले पार्टीभित्र एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति पहिलेदेखि नै रहेको र घात तथा अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न पनि नपाइएको बताए। ‘तपाईंहरूलाई थाहा छ हाम्रो पार्टीमा घात, अन्तर्घात पनि छ। खुट्टा तानातान पनि हाम्रो पार्टीमा भइरहेकै हो, अहिले होइन पहिलेदेखि नै,’ देउवाले भने, ‘हाम्रो पार्टीलाई सुधार गर्नुछ, राम्रोसँग लैजानुछ।’ पार्टीभित्र घात, अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न नपाइएको पनि देउवाको भनाइ छ। ‘घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा फेरि कारबाही गर्न पाइँदैन भन्छन्, यस्तो अवस्था छ,’ उनले भने, ‘पार्टीलाई मिलेर एक गराएर हिँड्नुपर्छ। बहुमत ल्याउने प्रयास गरौं।’ उनले गत निर्वाचनमा कांग्रेस पहिलो पार्टी बने पनि बहुमत ल्याउन नसकिएको बताए। कुनै पनि एक पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नरहेको पनि देउवाको भनाइ थियो।
प्रस्तावित राजदूत र न्यायाधीशविरुद्ध ११ वटा उजुरी
काठमाडौं। पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशहरुविरुद्ध ११ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाल र सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध ११ वटा उजुरी परेको समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपतिसमशेर राणाले जानकारी दिए । बैठकमा समितिका सदस्यहरुलाई सो उजुरी र प्रस्तावित राजदूत तथा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको कार्ययोजना पनि अध्ययनका लागि वितरण गरिएको छ । पोर्चुगलका लागि प्रस्तावित राजदूत र सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशको उजुरी र कार्ययोजना अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरिएको पनि समितिका सभापति राणाले बताए। संसदीय सुनुवाइ समितिले गत मङ्सिर ९ गते बसेको बैठकले पोर्चुगलका लागि प्रस्तावित राजदूत र सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूत र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । समितिको बैठक मङ्सिर २२ गते अपराह्न २ः३० बजे बोलाइएको छ ।
पक्राउ पुर्जीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीबाट आन्दोलनको घोषणा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । जिल्ला अदालत काठमाडौँले हिजो विप्लव लगायत नेताहरूविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि आज एक विज्ञप्तिमार्फत उनले आन्दोलनको घोषणा गरेका हुन् । जिल्ला अदालत काठमाडौँले हिजो महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, पोलिटब्युरो सदस्य माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । महासचिव विप्लवले जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर पक्राउ पुर्जी जारी गर्नु सरकारसँग २०७७ साल फागुन २१ गते भएको ३ बुँदे सहमतिको ठाडो उल्लंघन भएको उल्लेख गरेका छन् । उनले प्रतिबन्ध हटाउँदा राज्यसँग गरिएका ३ बुँदे सहमति मध्ये एउटा बुँदा पार्टी नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दी कमरेडहरुलाई मुक्त गर्ने रहेको स्मरण समेत गराएका छन् । उनले यसले देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथि हमला भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ ।’ पक्राउ पुर्जीविरुद्ध नेकपाले आजदेखि तीन दिनको सङ्घर्षका कार्यक्रम समेत घोषणा गरेको छ । घोषित कार्यक्रमअनुसार आज साँझ साढे ५ बजे मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम रहेका छन् ।
कांग्रेसले बोलायो पदाधिकारी बैठक, के छन् एजेन्डा ?
काठमाडौं । नेपाली कांग्रेसले आजलाई पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । बैठक दिउँसो १ बजे देयवा निवास धुम्बाराहीमा बस्नेछ । बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ । कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ । स्रोतका अनुसार बैठकमा सरकारका कामको समीक्षा पनि हुनेछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामको समीक्षासहितको ‘रिपोर्ट’ प्रस्तुत गर्ने तयारी छ ।
इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम
काठमाडौं । इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ । चारदिने युद्धविरामको अन्तिम दिन पनि हमासको नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशी रिहा भएका छैनन् । विभिन्न स्रोतका अनुसार विपिन हमासकै नियन्त्रणमा रहेको बताउँदै आए पनि उनको अवस्थाबारे थप कुनै जानकारी आएको छैन । सोमबारसम्म हमासले ६९ बन्दीलाई रिहा गरिसकेको छ । तर, विपिनको अवस्थाबारे अझै थाहा हुन सकेको छैन । उनी अक्टोर ७ मा हमासले गरेको आक्रमणपछि सम्पर्कविहीन भएका थिए । तर, केही दिनअघि गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी फुटेज सार्वजनिक गर्दै इजरायली सेनाले त्यसमा देखिएकामध्ये एकजना नेपाली नागरिक रहेको बताएको थियो । तर, थप विवरण सार्वजनिक भएको छैन । सोमबार राति हमासले ११ जना इजरायली नागरिकलाई रिहा गरेको छ । उनीहरूमध्ये ९ जना बालबालिका र दुईजना बालबालिका हुन् ।पहिलो दिन गएको शुक्रबार हमासले इजरायलका १३, थाइल्यान्डका १० र फिलिपिन्सका एक गरी २४ जनालाई रिहा गरेको थियो । दोस्रो दिन इजरायलका १३ र थाइल्यान्डका चारजनालाई छाडेको थियो । तेस्रो दिन आइतबार हमासले इजरायलका १३ जना, थाइल्यान्डका तीनजना र रुसका एकजना गरी १७ जनालाई छाडेको थियो । उता इजरायलले सोमबार राति ३० जना बालबालिका र तीनजना महिला गरी ३३ प्यालेस्टाइनीलाई छाडेको छ । चारनिने युद्धविरामका क्रममा इजरायलले कुल १५० प्यालेस्टाइनीलाई रिहा गरिसकेको छ । उनीहरूमध्ये अधिकांश बालबालिका र महिला हुन् । नेपाल सरकारले मध्यस्थकर्ताको भूमिकामा रहेको कतारसँग विपिनलाई छुटाउन पहल गरिदिन आग्रह गरेको थियो । गएको शुक्रबारमात्र प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी अधिकारीहरूले नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग विपिनको सकुशल रिहाइमा सघाउन आग्रह गरेका थिए ।
कालोसूचीमा पर्ने ऋणीको संख्या ७३ हजार बढि
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिरेपछि दैनिक कालोसूचीमा पर्नेको संख्या बढ्दै गएको छ । कर्जा सूचना केन्द्रका अनुसार कार्तिकसम्म कालोसूचीमा पर्ने ऋणीको संख्या ७३ हजार ३७१ पुगेको छ । गत आर्थिक वर्ष ३४ हजार ८१ ऋणी संस्था तथा व्यक्तिहरू कालोसूचीमा परेका थिए । तर चालु आर्थिक वर्षको चार महिनामा नै १४ हजार ७७५ संस्था तथा व्यक्ति कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्नेमा व्यावसायिक संस्था तथा व्यवसायीहरू र तीनका जमानी बस्नेहरू रहेको कर्जा सूचना केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा कालो सूचीमा यस्ता संस्था र व्यक्तिहरू बढ्दै जाने देखिन्छ । पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार कालोसूचीमा पर्ने लगातार बढ्दै गएका छन् । आर्थिक वर्ष २०७५र७६ मा दुई हजार ८३७ ऋणी संस्था र व्यवसायीहरू कालोसूचीमा परेका थिए । तर त्यसयता लगातार बढ्दै गएर अहिले दैनिक ४०० सम्म कालोसूचीमा पर्नेको नाम आउने गरेको छ । केन्द्रका अनुसार २०७६/७७ मा चार हजार ६२०, आर्थिक वर्ष २०७७/७८ मा ६ हजार ५१४ र आर्थिक वर्ष २०७८/७९ मा १५ हजार ९९५ ऋणीहरू कालोसूचीमा परेका हुन् । पछिल्ला तिन वर्षको तथ्यांक हेर्दा कालोसूचीमा पर्नेको संस्था अत्यधिक बढेको छ । यसरी ऋणी कालोसूचीमा पर्दा उनीहरूलाई मात्र नभएर छोराछोरीलाई पनि असर पर्छ । कालोसूचीमा पर्नेमध्ये ७० प्रतिशत चेक बाउन्सको केस रहेको कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुवरले बताए । बाँकी ३० प्रतिशत भने ऋण तिर्न नसकेकाहरूको केस आउने गरेको उनको भनाइ छ । यसरी कालोसूचीमा परेपछि आर्थिक कारोबार, विदेश भ्रमण, अध्ययनलगायत सुविधा नपाउने व्यवस्था छ । कालोसूचीबाट हटाउन सक्ने पनि व्यवस्था छ । त्यसका लागि खातावाताले पैसा तिरेको प्रमाण कर्जा सूचना केन्द्रमा पेस गर्नुपर्छ ।
नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिद्धारा प्रधानमन्त्री प्रचण्डलाई सम्मान
काठमाडौं । नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ । शङ्खधर दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा समितिका अध्यक्ष नरेशमान बज्राचार्यले प्रधानमन्त्री प्रचण्डलाई सम्मानपत्र प्रदान गरे । उक्त निर्णयका लागि मुख्य भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीलाई समितिले दही सगुन र बेत्ता (फेता) समेत प्रदान गरेको थियो । नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिका अध्यक्ष नरेशमान बज्राचार्यले प्रधानमन्त्री प्रचण्डलाई सम्मानपत्र प्रदान गर्दै । सरकारले गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल संवत्का तिथि मितिलाई सम्पूर्ण सरकारी दस्तावेजमा अनिवार्यरुपमा उल्लेख गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदबाट उक्त ऐतिहसिक निर्णय गराएकामा प्रधानमन्त्री प्रचण्डसहित मन्त्रिपरिषद्लाई समितिले बधाई ज्ञापनसमेत गरेको छ । रासस
भरतपुर अस्पताल वा क्यान्सर अस्पतालमा रक्त संचार केन्द्र निमार्ण गर्न सकिन्छ : प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त संचार केन्द्र निर्माण गर्न सकिने बताएकी छिन्। नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले शुक्रबार भरतपुरको मेघौलीमा आयोजना गरेको प्रधानध्यापक, क्याम्पस प्रमुख र प्राचार्यका लागि एक दिने गोष्ठीलाई उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा रक्त संचार केन्द्र निर्माण गर्न सकारात्मक रहेको उल्लेख गरिन् । ‘भरतपुर अस्पताल परिसरमा केन्द्रका लागि ५ कठ्ठा जग्गा व्यवस्थापन गर्न सकिन्छ, उनले भनिन्,‘क्यान्सर अस्पतालमा पनि केन्द्र निर्माण गर्न सकिन्छ । दुबै अस्पतालमा सम्भव नभए महानगरले सार्वजनिक जग्गा खोजी गर्छ ।’ महानगर प्रमुख दाहालले भरतपुरमा भईरहेको रगतको अभावलाई परिपूर्ती गर्न रक्त सञ्चार केन्द्रको आवश्यकता वृद्धि हुँदै गइरहेको बताइन् । पछिल्लो समय भरतपुरमा रक्त दान गर्नेलाई अण्डा तथा जुस खानको लागि एक व्यक्ति बराबर रु. १०० उपलब्ध गराउदै आएको छ । मेडिकल सिटीको भरतपुरमा भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा रगतको बढी माग छ । चितवनमा भरतपुर अस्पताल, क्यान्सर र केही निजी अस्पतालहरुमा ब्लड बैँकहरु छन् । महानगरपालिका प्रमुख दाहालले भरतपुरमा विषेशज्ञ सेवासहितको सेवा दिने अस्पताल धेरै भएकाले रगतको माग बढ्दै गएको उल्लेख गरिन् । नेपाल रेडक्रस सोसाइटीका भवन निर्माण, एम्बुलेन्स खरिदमा साझेदारीमा धेरै कार्य गरेकाले रक्त संचार केन्द्र निर्माण पनि महानगरपालिका सधैव तयार रहेको उल्लेख गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले रेडक्रसको मर्मलाई आत्मसाथ गरी सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने बताइन् । उपप्रमुख अधिकारीले रेडक्रस र स्काउटलाई प्रर्वद्धन गर्न विषेश कार्यक्रममार्फत सहकार्य भईरहेको पनि उल्लेख गरिन् । कार्यक्रममा भरतपुर महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडल लगायत रेडक्रसका पदाधिकारीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । एक दिने गोष्ठीमा रेडक्रसलाई विस्तार गर्ने, थप नयाँ कार्ययोजना साथ अगाडि बढ्ने विषयमा प्रशिक्षण दिइने बताइएको छ ।
विश्वकप क्रिकेट : पाकिस्तानसँग बंगलादेश ७ विकेटले पराजित
काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको छ ।जितसँगै पाकिस्तानले सेमिफाइनलमा पुग्ने संभावना जिवित राख्दा बंगलादेश बाहिरिएको छ । भारतको कोलकातामा गएराति भएको खेलमा पहिले व्याटिङ गरेको बंगलादेशले ४५ ओभर १ बलमा अलआउट हुँदै २ सय ४ रन बनायो ।उसका लागि महमदुल्लाहले ५६ रन जोड्दा पाकिस्तानका शाहिन साह अफ्रिदी र मोहोमल वसिमले तिन तिन विकेट लिए । जवाफमा २ सय ५ रनको लक्ष्य पाकिस्तानले ३३ औं ओभरमा तिन विकेट गुमाएर पुरा ग¥यो ।पाकिस्तानको जितमा सरुवाती व्याटरहरु फखर जमानको ८१ रन तथा अब्दुल्लाह शफिकको ६८ रन महत्वपूर्ण रह्यो । जितसँगै ७ खेलबाट ६ अंक जोडेको पाकिस्तान अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । शिर्ष स्थानको भारतको १२ अंक छ भने १० अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । न्युजिल्याण्ड र अष्ट्रेलियाको समान ८–८ अंक छ । विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्नेछन् ।तालिकाको दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका र तेस्रो स्थानको न्युजिल्याण्ड बिचको खेल मुम्बईमा दिउसो सवा दुई बजे सुरु हुनेछ ।
शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको छ : प्रधानमन्त्री
लुम्बिनी । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले देशको परिवर्तन र रूपान्तरणका लागि सङ्घर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले नेपालले शान्ति प्रक्रियालाई सफलता अघि बढाएको अवगत गराउँदै भने, “हाम्रो शान्ति प्रक्रिया समान परिस्थितिको सामना गरिरहेका देश र समाजका लागि राम्रो उदाहरण हुनसक्छ भन्ने हाम्रो विश्वास छ ।” अहिले आफूहरु शान्ति प्रक्रिया–सङ्क्रमणकालीन न्याय प्रणालीको बाँकी काम टुङग्याउनमा संलग्न रहेको उल्लेख गर्दै उनले आफ्नोे अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गरेकाे बताए । प्रधानमन्त्रीले भने, “अहिले हामी जहाँ उभिरहेका छौँ, भगवान बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्र होइन, शान्ति र सद्भावको केन्द्र हो जसले मानवजातिको शाश्वत र प्रबुद्ध शिक्षाको आधारमा व्यापक रूपमा प्रेरणा र मार्गदर्शन गरिरहन्छ ।” उनले महासचिव गुटेरेसको लुम्बिनी भ्रमणको विशेष महत्त्व रहेको र यसले विश्वव्यापी रूपमा समान मूल्यको संरक्षण र प्रवद्र्धन गर्न खोज्ने संयुक्त राष्ट्रसङ्घको बडापत्रबीच अवस्थित सहजीवन सम्बन्धलाई सुदृढ पार्ने धारणा व्यक्त गरे । सो अवसरमा उनले महासचिव गुटेरेसको विश्वव्यापी महत्वको ऐतिहासिकस्थलको भ्रमणको प्रशंसा गरे । प्रधानमन्त्री प्रचण्डले लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसङ्घ लामो समयदेखि संलग्न रहेको उल्लेख गर्दै सन् १९७२ मा जापानी वास्तुकार केन्जो टाङ्गेद्वारा युएनडिपीको सहयोगमा गुरुयोजना सुरू तयार भएको बताए। सोही बेलादेखि संयुक्त राष्ट्रसङ्घले शान्ति र सद्भावको प्रवर्द्धन, तीर्थ र पर्यटनको एक प्रमुख केन्द्रको रूपमा लुम्बिनीको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो । सन् १९९७ मा संयुक्त राष्ट्रसङ्घले लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गर्दै यसको ऐतिहासिक र सांस्कृतिक महत्वलाई विश्वव्यापी मञ्चमा मान्यता दिएको थियो । “शान्ति, सद्भाव र करुणा हाम्रा जन्मजात गुण हुन्, जुन हामीले शान्तिका धर्मदूत र नेपालका प्रबुद्ध पुत्र बुद्धबाट पाएका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “विविधतामा एकता नै हाम्रो शक्ति हो र सद्भाव र सहअस्तित्व नै हाम्रो संस्कृतिको आवश्यक तत्व हो । हामी “भवतु सर्व मङ्गलम्” र “वसुधैव कुटुम्बकम्”मा विश्वास गर्छौंँ । उनले पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यताले नेपालको परराष्ट्र नीतिलाई निरन्तरता दिइरहेको बताए। “सौहार्दता र भ्रातृत्व हाम्रा अन्तर्राष्ट्रिय संलग्नताका आधारभूत विशेषता हुन् । हामी संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर बहुपक्षीयताप्रतिको हाम्रो प्रतिबद्धतामा अडिग छौँ” उनले भने। त्यसैगरी उनले हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जीवनमा जलवायु परिवर्तनको प्रभावप्रति विश्वव्यापी ध्यानाकर्षण गर्ने महासचिव गुटेरेसकोे प्रतिबद्धताको प्रशंसा गरे । “तपाईंको हिजो खुम्बु क्षेत्रको भ्रमण र आज बिहान अन्नपूर्ण आधार शिविरको भ्रमणको क्रममा तपाईले जलवायु परिवर्तनले हाम्रा जनताको जीवन र जीविकोपार्जनमा कस्तो असर पारेको छ भन्ने नियाल्नुभएको छ । कार्बन उत्सर्जनमा हाम्रो हिस्सा शून्य भए पनि जलवायु परिवर्तनको असर हामीले भोगिरहेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “हामीले विश्वभर शान्ति कायम हुन दिनुपर्छ, शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने अधिकार सबैका लागि सबै परिस्थितिमा सबैले कायम राख्नुपर्छ ।” विश्वशान्ति र सुरक्षा सुनिश्चित गर्न सबै प्रकारका असमानता, अन्याय, शोषण, वञ्चितता र गरिबीको अन्त्य गरिनुपर्ने प्रधानमन्त्री प्रचण्डको जोड थियो । रासस
राष्ट्रसङ्घीय महासचिवको भ्रमणले शान्ति मिसनमा जगाएको आशा
काठमाडौं। नेपालको चारदिने औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिजो उच्च सरकारी अधिकारी एवम् प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटमा राष्ट्रसङ्घ र नेपालबीचको लामो मित्रवत् सम्बन्धका बारेमा चर्चा गरेका छन्। खासगरी नेपालले भोग्दै आएको जलवायु परिवर्तनबाट सिर्जित समस्याप्रति उनले गहिरो चिन्ता मात्र व्यक्त गरेनन्, आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी सङ्कटको आँधीमा फसेको नेपालजस्तै राष्ट्रलाई अत्यधिक अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको र यसका लागि विकसित राष्ट्र अगाडि आउनु जरुरत रहेको उल्लेख गरे । यसबाट उनमा नेपालप्रतिको स्नेह प्रष्ट झल्किन्थ्यो । उनले विगत ३० वर्षमा नेपालले एक तिहाइ हिउँ गुमाएको प्रसङ्गसमेत उल्लेख गर्दै यहाँका हिमनदी उच्च गतिमा पग्लिरहेकामा चिन्ता व्यक्त गरे । नेपाल र संयुक्त राष्ट्रङ्घले आपसी सहकार्य गरी काम गर्न खोजेको र यसबाट समस्याको पहिचान र समाधानका लागि अन्तर्राष्ट्रिय सहयोगको सम्भावना खोज्न सहयोग पुग्ने महासचिव गुटेरेसको भनाइले आगामी दिनमा राष्ट्रसङसँग नेपालको सम्बन्धलाई अझ फराकिलो तुल्याउन सहयोग पुग्ने आशा गर्न सकिन्छ । नेपालको सामाजिक आर्थिक विकासमा राष्ट्रसङ्घको सहयोग उत्तिकै महत्त्वूर्ण रहेको सन्दर्भमा शिक्षा, स्वास्थ्यलगायत सामाजिक विकासका क्षेत्रमा पुर्याएको सहयोगले दिगो विकास लक्ष्य हासिल गर्न सहज भएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । राष्ट्रसङ्घको नेतृत्वबाट १५ वर्षपछि भएको नेपाल भ्रमणले निकै महत्त्वपूर्ण अर्थ राख्दछ । संयोग नै मान्नुपर्छ प्रधानमन्त्री प्रचण्ड नै प्रधानमन्त्री भएका बेला यसअघि महासचिव बान्की मुनले नेपाल भ्रमण गरेका थिए। विश्वमा इजरायनल र हमासबीच युद्ध चर्किरहेको छ भने लेबनान, सिरियालगायत विभिन्न देश अशान्त बनिरहेका बेला पनि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणलाई प्राथमिकता दिनु आफैँमा पनि महत्त्वपूर्ण विषय हो । भ्रमणका बेला नेपालका सुरक्षाकर्मीले राष्ट्रसङ्घ मातहत रहेर विश्वका द्वन्द्वग्रस्त मुलुकमा पुर्याउँदै आएको शान्ति स्थापनाका बारेमा प्रधानमन्त्री, परराष्ट्र, रक्षा र गृहमन्त्री तथा प्रमुख राजनीतिक दलका नेतासँगको भेटवार्तामा पनि छलफल भएको थियो । यसले आगामी दिनमा थप शान्ति सैनिक पठाउन र युएनका माथिल्लो तहमा पनि नेपाली पदाधिकारीलाई पुग्नका लागि सहज हुने विश्वास गरिएको छ । नेपालको यस भ्रमणले कुनै न कुनैरूपमा नेपालको मुद्दा अन्तर्राष्ट्रिय समुदायमाझ पुर्याउन मद्दत गरेको छ । संयुक्त राष्ट्रसङ्घसँग नेपालको सम्बन्ध खासगरी शान्ति सेना, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, शान्ति प्रक्रिया अनि अन्य आर्थिक–सामाजिक विकासका मुद्दाका कारण गहिरो गरी जोडिएको छ । महासचिव गुटेरेसको भ्रमणले आगामी दिनमा विश्व शान्ति स्थापनामा नेपालले पुर्याउँदै आएको योगदानको उच्च कदर हुने वातावरण मिलेको छ । संयुक्त राष्ट्रसङ्घको विश्वशान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्बिलो साथ र सहयोग रहँदै आएको छ । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने, राष्ट्रबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने तथा आर्थिक, सामाजिक, सांस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तर्राष्ट्रिय समस्या समाधान गर्ने संयुक्त राष्ट्रसङ्घको मुख्य उद्देश्य हासिल गर्न नेपाल सुरुदेखि नै सक्रिय छ । नेपालले संयुक्त राष्ट्रसङ्घको विश्वशान्ति प्रयासमा शान्ति सेना पठाएर आफ्नो औकातअनुसारको प्रभावकारिता देखाएको छ । संयुक्त राष्ट्रसङ्घको शान्ति सेना कार्यक्रम त्यसको एउटा मुख्य अङ्ग हो । नेपाली सेनाले जटिल खालका द्वन्द्वग्रस्त क्षेत्रमा गएर शान्ति, अन्तर्राष्ट्रिय सुरक्षा स्थापनामा छ दशकभन्दा बढी महत्त्वपूर्ण योगदान गरिसकेको छ । विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको योगदान उच्च छ । नेपाल भौगोलिक हिसाबले सानो, दुई शक्तिशाली छिमेकी राष्ट्रका बीचमा तरुलजस्तै रहेको भए पनि यसको वीरताको गाथालाई कसैले भुलेका छैनन् । पछिल्लो समयमा विश्वलाई चिनाउने गरी नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा काम गरिरहेको छ, जुन नेपालको गौरवको विषय हो । शान्ति सेनामा पुर्याएको योगदानकै कारण नेपालले सन् १९६९ र १९८८ मा दुई पटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य हुने अवसर पायो । त्यति मात्र होइन, विभिन्न विश्व मञ्चमा नेपालले आफ्नो विश्वशान्ति, मानवअधिकारको प्रत्याभूति र साना राष्ट्रको सवालमा प्रष्टसँग राख्ने अवसर पाएको छ । भगवान गौतम बुद्धको जन्मस्थल र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशबाट परिचित नेपाल पछिल्लो ६० वर्षदेखि उत्कृष्ट र अब्बल शान्ति सेनाको देशको नामबाट पनि चिनिन थालेको छ । विश्वशान्ति स्थापनामा सेनाबाट आर्जित शक्तिले विकास गरेको कूटनीतिकै कारण नेपाललाई आज विश्वले चिनेको छ । सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेदेखि नै नेपालले खासगरी विश्वशान्तिका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । सन् १९५८ मा राष्ट्र सङ्घको विशेष आग्रहमा नेपाल सरकारले पहिलो पटक द्वन्द्वग्रस्त मुलुक लेवनानमा पाँच नेपाली सैनिक पर्यवेक्षक टोली खटाएको थियो । सन् १९७४ मा इजिप्टमा नेपाली सेनाको श्री पुरानो गोरख गण पहिलो पटक कन्टिजेन्टका रूपमा खटिएको थियो । यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार छ सय २३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् । सात अगस्ट, २०२२ को तथ्याङ्कअनुसार संसारका १२ मिसनमा पाँच हजार पाँच सय ६८ र नेपाली सेना (जसमा दुई सय ९५ जना महिला) र यीमध्ये एक सय ९४ जना सशस्त्र प्रहरी बलबाट र ४२ जना प्रहरीबाट सहभागी भएका छन् । नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा योगदान दिने दोस्रो देश बनेको छ । नेपाली सेनाले १० देशमा शान्ति स्थापना कार्यका लागि तैनाथ ११ विभिन्न मिसनमा सक्रिय सहभागी भई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको छ । यस अवधिमा सेनाले उच्च पदस्थ सैनिक अधिकारीदेखि मिलिटरी कन्टिन्जेन्ट, पर्यवेक्षक र स्टाफ, अफिसर, मेडिकल डाक्टर तथा इञ्जिनियरसम्मका जनशक्तिले विश्वशान्ति स्थापनामा काम गरिसकेका छन् । ती द्वन्द्वरत मुलुकमा संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना टोलीमार्फत देशको छवि उँचो बनाउँदै विश्वव्यापी मानव अधिकारका लागि नेपाली शान्ति सैनिकले पुर्याएको योगदान कम महत्त्वपूर्ण छैन । शान्ति सेनामा सक्रिय सहभागिताले मुलुकको कूटनीतिक इतिहासमा नयाँ इँटा थप्ने अवसर मात्र दिएको छैन, विश्व मञ्चमा आफ्नो उपस्थितिलाई सार्थक तुल्याउने महत्त्वपूर्ण अवसर पनि प्राप्त भएको छ । नेपालको परराष्ट्र नीतिको मार्गदर्शनका सिद्धान्तमा नै शान्ति र मानव अधिकार रहेकोले द्वन्द्वरत मुलुकमा खटिएर जाने सैनिकले पनि यसलाई नै मूलमन्त्र बनाएका छन् । विभिन्न द्वन्द्वरत देशमा नेपालले पुर्याएको योगदान संसारका शक्तिशाली, वैभवशाली, शान्तिकर्मी राष्ट्रहरूले नजिकबाट हेरिरहेकाले नेपाललाई ती देशहरूमा आफ्नो शान्तिप्रति प्रतिबद्धताको छवि विस्तार गर्ने राम्रो अवसर मिलेको छ । नेपालको परराष्ट्र नीतिको एउटा मुख्य आधार भनेको संयुक्त राष्ट्रसङ्घमा खेल्ने भूमिका हो । शान्ति सेनामा ठूलो सङ्ख्यामा भाग लिनुले नेपालको परराष्ट्र नीतिमा राम्रो सफलता भएको छ । राष्ट्र सफल हुन आन्तरिक र परराष्ट्र नीति दुवैमा सफल हुनुपर्छ । यी दुवै एकै सिक्काका दुई पाटा हुन् । विश्वशान्ति र मानव अधिकार संरक्षणमा सैनिक योगदानकर्ताका रूपमा नेपाल दोस्रो स्थानमा छ । नेपालबाट नेपाली सेनातर्फ छ हजार ६४, नेपाल प्रहरीबाट ४४ र सशस्त्र प्रहरी बलका एक सय ९४ जना गरी कुल छ हजार दुई सय ९९ जना शान्ति सैनिक विभिन्न मुलुकमा खटिएका छन् । यो सङ्ख्या केबल पहिलो मुलुक बङ्गलादेशले पठाएका सुरक्षाकर्मीभन्दा ९८० ले मात्र कम हो । शान्ति मिसनमा महिला सैनिकतर्फ उच्च योगदान दिने राष्ट्रहरुको सूचीमा भने नेपाल विश्वमै एक नम्बरमा रहेको छ । नेपालले विश्वकै सबैभन्दा धेरै छ सय १२ जना शान्ति सैनिकमा पठाएको छ । पहिलो नम्बरमा रहेको बङ्गलादेशले पाँच सय ६६ र तेस्रोमा रहेको भारतको एक सय २५ जना महिला शान्ति सैनिक छन् । नेपाल सरकारले अब १० हजार शान्ति सैनिक पठाउने तयारी गरेको छ । नेपाली सैनिकको माग उच्च छ, जतिखेर पनि फेरि माग हुने भएकाले थप सैनिक पठाउन सक्ने गरी तयारी अवस्थामा रहेको सरकारको भनाइ छ । त्यति सङ्ख्यामा नेपाली सैनिकलाई पठाइएमा नेपाल पहिलो स्थानमा आउन सक्ने अवसर छ । संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा पहिलो नम्बरको देश हुन सकेको अवस्थामा नेपालको आर्थिक, राजनीतिक र कूटनीतिक महत्व निहीत हुन्छ । आर्थिकरुपमा त्यहाँ खटिने सैनिकले पाउने पारिश्रमिकले उनीहरुको आर्थिकस्तरमा सुधार ल्याउन मद्दत नै पुग्दछ । राजनीतिक दृष्टिले विश्व शान्तिमा व्यावहारिक रुपमै योगदान दिनसक्ने हैसियतमा नेपालको वर्चस्व बढ्छ । कूटनीतिकरुपमा राष्ट्रसङ्घको महासभामा सुरक्षा परिषद्को अस्थायी सदस्यमा चुनाव लड्न थप बल पुग्छ । पछिल्लो समय कूटनीतिक रुपमा लबिङ गर्न नसक्दा महासभाको सभापति र सुरक्षा परिषद्को अस्थायी सदस्यका लागि भएका निर्वाचनमा पराजय भोग्नुपरेको तीतो अनुभव छ । द्वन्द्वरत मुलुकमा शान्ति स्थापना नेपाली सेनाले प्रस्तुत गर्दै आएको कार्यकुशलता र व्यावसायिक दक्षताको राष्ट्रसङ्घले प्रशंसा गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हालै संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा विश्व शान्ति स्थापनामा नेपाली सैनिक विश्वमा लोकप्रिय बन्दै गएको बताए । उनले विश्व शान्ति स्थापनामा नेपाल महत्वपूर्ण साझेदार रहेको र यो साझेदारी युगौँसम्म कायम रहने विश्वास पनि व्यक्त गरेका छन् । रासस