प्रधानमन्त्री प्रचण्डले आज पूर्वप्रधानमन्त्री लगायतसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि आज पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेतालगायतसँग सामूहिक छलफल गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा दुई चरणमा सामूहिक छलफल हुनेछ।

पहिलो चरणमा दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेतालगायतसँग छलफल गर्नेछन्। दोस्रो चरणमा कूटनीतिक परामर्शको तयारी गरिएको छ।

दिउँसो ३ : ३० बजे पूर्व परराष्ट्रमन्त्रीहरु तय भारतका लागि पूर्व नेपाली राजदूतसँग छलफल हुनेछ। प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाँदैछन्।

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिदैँ, सरकार ढल्ने निश्चित

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पुनः विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्र लगायतका दलले गत चैत १२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लागेका हुन् । सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्ने निश्चित जस्तै छ । सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएपछि सरकार बनेको ७४ दिनमै अल्पमतमा परेको थियो । लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । ८७ सांसद मध्य लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । मुख्यमन्त्रीको पक्षमा ३३ मत मात्रै देखिन्छ । जसले गर्दा संविधानको धारा १६८ को २ बमोजिम बनेको सरकार ढल्ने निश्चित छ । त्यसपछी संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा सरकार बनाउने दाउमा एमाले छ । तर, अन्य राजनीतिक दलहरुले भने संविधानको धारा १६८ को २ बमोजिमनै सरकार बनाउनेगरी गृहकार्य थालेका छन् । प्रदेशसभाको बैठक आज बिहान ११ बजे आयोजना गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । मुख्यमन्त्री गिरीले गत माघ ५ गते विश्वासको मत लिएका थिए । गिरी तत्कालीन सात दलीय गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

आर्थिक समृद्धिका लागि सीमापार विद्युत व्यापार आवश्यक : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आज (मङ्गलबार) को प्रमुख कार्यभार भएको बताएका छन्। आजदेखि यहाँ सुरु भएको ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकलाई आर्थिक रुपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जा अत्यावश्यक रहेको बताएका हुन् । नेपालले मौसमी रूपमा नै भए पनि उपभोग गर्नेभन्दा बढी ऊर्जा उत्पादन गर्छ भन्ने विश्वसामु घोषणा गर्न पाउँदा ठूलो गर्व लागेको प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका लगानीकर्ता र सरकारको साझा प्रयासबाट जलविद्युत् परियोजनाहरूको विकासको गतिलाई थप तीव्र पार्दा नतिजा हासिल भएको स्पष्ट बताए । “हामी सुक्खा मौसममा पनि बिजुली आयात गर्न आवश्यक नपर्ने गरी सन् २०२५ सम्म निर्यात हुने अपेक्षा गर्छौं । त्यसैले हामी हरित ऊर्जाका लागि बजार फराकिलो बनाउनेका लागि उत्तम रणनीतिका साथ यस क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशीको अनुभवबाट सिक्न यहाँ भेला भएका छौँ ।” धेरै नेपालीको अझै पनि हरित ऊर्जामा पहुँच छैन भन्ने कुरा हामीले बुझेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “देशका सबै जनतालाई बिजुली उपलब्ध गराउने लक्ष्यका साथ ग्रिड विस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी विस्तार गरिरहेका छौं । प्रसारण र वितरण लाइनहरू विस्तार गर्न र स्थिर विद्युत् आपूर्ति सुनिश्चित गर्न प्रयास गरिरहेका छौँ ।” औद्योगिक मागमा वृद्धि गर्दै आर्थिक रूपमा समृद्ध बन्ने आकाङ्क्षाका साथ उत्पादित बिजुलीको स्वदेशी बजारमा नै उपयोग गर्ने गरी प्राथमिकता तय गरिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । स्वदेशमा उत्पादन हुने बिजुली आन्तरिक रूपमा उपयोग गर्न पर्याप्त पूर्वाधार निर्माण नगर्दासम्म यस क्षेत्रमा भइरहेको ठूलो लगानी जोगाउन पनि निर्यात गर्नुपर्ने उनले बताए । क्षेत्रीय र उपक्षेत्रीय बजारमा उपस्थिति जनाउनु आर्थिक रुपले पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले धेरै विद्युत खपत गर्न सक्ने क्षेत्रको प्रवर्द्धन, प्रतिव्यक्ति खपत बढाउन सक्ने वातावरण तय गर्दै जीवास्म इन्धनमा रहेको निर्भरता कम गर्न तथा ठूलो व्यापार घाटालाई कम गर्न पनि बिजुलीको उपयोगिता बढाउनुपर्ने उल्लेख गरेका छन् । कृषि क्षेत्रको आधुनिकीकरणका लागि पनि ऊर्जाको उपयोगमा तीव्रतर वृद्धि जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उद्योग क्षेत्र अझै पनि डिजेल र कोइलामा निर्भर रहेकाले त्यसको क्षमता वृद्धिका लागि पनि उल्लेख्य रुपमा बिजुलीको उपयोग बढाउनुपर्ने बताए । सरकारले नेपालभरका उद्योगलाई प्रतिस्पर्धी दरमा हरित ऊर्जाको पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले खाना पकाउने ग्यासको उपभोग घटाउनेतर्फ केन्द्रित गर्नुपर्ने स्पष्ट पार्नुभयो । “सबै नेपालीलाई हरित उर्जामा खाना पकाउन लगाउन सक्यौँ भने यसले हाम्रो वन संरक्षणमा योगदान पु¥याउनेछ र आयातीत ग्यासमाथिको हाम्रो निर्भरता पनि घटाउनेछ”, प्रधानमन्त्री प्रचण्डले भने। यस्तै, जीवास्म इन्धनको आयात घटाउन र जलवायु परिवर्तनको प्रतिकूल प्रभाव कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बिजुली खपत बढाउने महत्वपूर्ण क्षेत्र भनेकै यातायात रहेको बताए । प्रधानमन्त्री प्रचण्डले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको दोहोर्‍याउँदै यस समिटमार्फत नेपालको हरित ऊर्जाको बजारलाई फराकिलो बनाउन मद्दत गर्ने स्पष्ट मार्ग निर्देश गर्ने उल्लेख गरे। फरक एक प्रसङ्गमा नेपालमा भएका ऐतिहासिक राजनीतिक परिवर्तनपछि नेपाली जनतामा ठूलो आर्थिक विकासको आकाङ्क्षा बढेकाले त्यसलाई सम्बोधन गर्न पनि लगानी विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । जैविक विविधताको संरक्षण गर्ने विश्वव्यापी प्रयासमा नेपाल अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सन् २०४५ सम्ममा ‘नेट जिरो’ को लक्ष्य तय गरिएको तथ्य पेस गरे । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार र निजी क्षेत्र एकापसमा सहकार्य गरेर यस क्षेत्रको गुणात्मक विकास र परिवर्तनमा लागिपरेको बताए। उनले भने बिजुलीको अन्तर्राष्ट्रिय बजारको खोजी, आन्तरिक रुपमा खपत वृद्धिलगायतका काममा सरकार दीर्घकालीन सोचका साथ अगाडि बढेको उल्लेख गरे । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आजदेखि पावर समिट यहाँ सुरु भएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इपान० ले आयोजना गरेको समिट बुधबारसम्म चल्नेछ । सो सम्मेलनमा भारत, बङ्गलादेश, भूटान, श्रीलङ्कालगायत ३० भन्दा बढी देशका तीन सय बढी स्वदेशी तथा विदेशी प्रतिनिधि सहभागी रहेका छन् । समिटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी, बिजुली व्यापारसँग आबद्ध कम्पनी, बैंक तथा वित्तीय संस्था, प्रसारण र वितरण कम्पनी, परामर्शदाताहरुको पनि सहभागिता छ । समिटमा नेपालको विद्युत बजार, प्रसारण पूर्वाधार, जलविद्युत्को माग, प्रविधि, नवप्रवर्द्धन, अन्तरदेशीय विद्युत व्यापारलगायत विभिन्न १५ वटा सत्रमा छलफल हुनेछ । सम्मेलनको संरक्षकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय एवम् सह–आयोजकमा लगानी बोर्ड रहेको समिट आयोजक इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए। रासस

योजना आयोगका पूर्वउपाध्यक्ष पौडेल भन्छन् –‘चितवनका समस्यालाई ‘स्टन्ट’ बनाउनेलाई चुनावमा सबक सिकाउ’

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले चितवनका जनताका समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेलाई उपनिर्वाचनमा हराएर सबक सिकाउन आह्वान गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई इंगित गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले वैशाख १० गते हुने उपनिर्वाचनमा रविलाई हराउनुपर्ने बताएका हुन्। तर उनले नाम उल्लेख नगरी रविको नागरिकता मुद्दाको विषय उठाएका छन्। उनले रविलाई हराएर नेपाली कांग्रेसका उम्मेदवार जितनारायणलाई जिताउन अनुरोध गरेका छन्। ‘जितनारायण ‘स्टन्टबाज’ हैनन्, यी अगाडि–पछाडि क्यामेरा लगाएर ‘स्टन्ट’ गर्दैनन्, अध्यारो कुनामा साइबर सेना राखेर आक्रमण गर्दैनन्,’ पौडेलले लेखेका छन्, ‘चितवनमा यसपाली जनताको समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेहरूलाई हराऔँ र सबक सिकाऔँ।’ उनले कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई साधारण मान्छेको छोरोका रूपमा चित्रण गर्दै भोलि चाहिने समयमा सजिलै उपलब्ध हुने नेता भएको उल्लेख गरेका छन्। ‘मेरा मित्र जितनारायण श्रेष्ठजी सानैदेखि चितवनमा बस्नुभयो, मर्दापर्दा सबैको साथी बन्नुभयो, स्थानीयको सुख(दुःखमा साथ दिनुभयो। सबैलाई खुशी बनाउन खोज्नुभयो,’ पौडेलले लेखेका छन्, ‘गाउँमा हुर्केको साधारण मान्छेको छोरो सानैमा कांग्रेस जस्तो पार्टीको जिल्ला सभापति बन्नुभयो। भोलि चाहिँदा उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ, गाली खान, ताली खान सबैको लागि उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ।’ जनमतको कदर गर्नुपर्नेमा जोड दिँदै उनले विगतको निर्वाचनमा गोजीमा नागरिकता नभएका व्यक्तिको गफमा जनता भुलेको टिप्पणीसमेत गरेका छन्। जनमतको कदर गर्नुपर्ने तर गोजीमा नागरिकता नभएको व्यक्तिको देश बनाउने गफमा जनता भुलेर गएको निर्वाचनमा चितवनमा डा. सूर्यकान्त घिमिरे, डा. भोजराज अधिकारी, डा. विश्व पौडेल (म आफैँले) हारेको उनले उल्लेख गरेका छन्। उनले भनेका छन्,‘हामीले हार्दा कस्ता ‘क्षमतावान’ ले जिते, जगजाहेर छ।’ उनले रास्वपा सभापति लामिछानेलाई सम्पर्क कार्यालयमा कर्मचारी राख्नका लागि गरेको विज्ञापनमाथि पनि प्रश्न गरेका छन्। ‘सम्झनु हुन्छ, आफ्नो जनसम्पर्क अफिसमा सीईओ राख्ने नौटंकीरु पानी ओसार्ने नौटंकीरु कोही स्थानीयले सीईओको जागिर पाए? एयरपोर्ट गएर कसैलाई ल्याइयो?,’ पौडेलले प्रश्न गरेका छन्।

मेन्छियामले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै

काठमाडौं । वैदेशिक रोजगारीमा रहेको नेपाली र आयोजना प्रभावितलाई आईपीओ बाँडफाँट गरिसकेको मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले सर्वसाधरणका लागि आगामी वैशाख ४ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएकोमा ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै स्थानीयमा वितरण भएको छ । जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता शेयर मध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो । अब २ प्रतिशत अर्थात २२ हजार ४३९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । यो आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ विक्री बन्द छिटोमा वैशाख ७ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने विक्री अवधि ढिलोमा वैशाख १९ गतेसम्म लम्बिनेछ ।

तीन जिल्लामा भोलीदेखि आचारसंहिता लागू हुने

काठमाडौं । उपनिर्वाचन हुन लागेको तीन जिल्लामा भोलीदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । आगामी वैशाख १० गते उपनिर्वाचन हुन लागेको चितवन, बारा र तनहुँमा आचारसंहिता लागू हुन लागेको हो । आचारसंहिता मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि लागू गर्ने निर्णय गरिएको हो । निर्वाचन आयोगका अनुसार आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुने छ । आयोगले सामाजिक सञ्जालको प्रयोग सही ढंगले प्रयोग गर्न र निर्वाचन प्रचारप्रसार सम्बन्धमा आचारसंहिताको पालना गर्न राजनीतिक दल, उम्मेदवारलगायत सबैलाई आग्रह गरेको छ । चितवन क्षेत्र नम्बर २, बारा –२ र तनहुँ– १ मा  उपनिर्वाचन हुँदैछ । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपनि यी स्थानमा उपनिर्वाचन हुन लागेको हो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमक्त भएकाले चितवन २ मा उपनिर्वाचन हन लागेको हो ।

नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले पुनः नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । शुक्रबार सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले पुनः नागरिकता बनाउन प्रशासनमा पुगेका हुन् । अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पूरानै नागरिकताअनुसार कामकारबाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो । अदालतले लामिछानेलाई ‘अयोग्य’ ठहर गर्दै सांसद पद खारेज गरेको थियो ।

आफैलाई आगो लगाउनुअघि आचार्यले फेसबुकमा लेखेका थिए ‘सुसाइड नोट’ (नोट सहित)

काठमाडौं । आज नयाँबानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जाल फेसबुकमा सुसाइट नोट लेखेको खुलेको छ । व्यापार व्यवसायमा असफल भएपछि आफूले आत्मदाह गर्ने निर्यणमा पुगेको उनले उक्त स्टाटसमा खुलाएका छन् । आत्मदाहको प्रयासपछि उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो । आफैमाथि पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेपछि उनको ८० प्रतिशत शरीर जलेको छ । उनले फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै  म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको थिए। आज छत्तिसौ वसन्त पार गरि सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी हासिल गर्न नसकेको तितो सत्यलाइ ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खादा, ब्यपार गर्दा, बैदेसिक रोजगारमा जादा एबम उद्योग चलाउदा भोग्नु परेका समस्या र ती समस्याहरुबाट पाएको शून्य उपलब्धी आज सरसरती यो सामाजिक सन्जालमा लेख्ने अनुमती चाहान्छु। यो एक आत्मबृतान्त पनि हो र मेरो असफलताको कथा पनि हो। म विद्यार्थी कालमै रहदा २०६७ मा ब्रेन ट्युमर भएर बुवा बित्नुभयो। बुवा बिरामी हुँदै गरेको अवस्थामा नै मेरो बिबाह भयो र बुवाको मृत्यु पस्चात म काठमाडौमा श्रीमती सगै रहेर विभिन्न प्राइभेट स्कुल एबम ठमेलका ट्राभल एजेन्सिमा काम गरेर गुजारा गर्न थाले । त्यस बेला हाम्री ठुली छोरीको जन्म भैसकेको थियो। पैतृक सम्पती बाट पाएको इलाम फिक्कल बजारको घरलाइ बेचेर काठमाडौमा नै घर बनाउने प्रयत्न गरियो र त्यै अनुसार भयो। बुढानिलकण्ठमा घर बनाइयो र ठमेलमा ट्राभल एजेन्सी खोली काम गर्न थालियो। राम्रो चल्यो ट्राभल सुरुमा तर बिस्तारै उधारो बजारले गाज्न थाल्यो। चिनियाँ नागरिक, गोराहरु र काठमाडौकै +2 कलेज हरु हाम्रा ग्राहक भए। चिनियाँ पर्यटकहरुले कहिले कबोल गरेको पैसा नदिने, trekking लादा बिच बाटोमा पुगेपछी यहाँ यति उकालो छ भनेको थिइनस, यहाँ चिनियाँ खाना पाइन्दैन भनेको थिइनस आदि इत्यादी भन्दै निहु खोज्ने अनि पूरा पैसा कहिले नदिने। चिनियाँ पर्यटक छोडेर +2 का विद्यार्थीलाई आफ्नै जन्म जिल्ला इलाम लान थलियो Darjeeling र Sikkim समेत गरेर। इलाममा Tea Tourism को अवधारणा ल्याउने म र मेरा साथी युवराज गौतम हुन भन्दा फरक नपर्ला। तर काठमाडौका +2 कलेज कहिले पूरा पैसा नदिने। ४-५ लाखको व्यापार (tour package) लानुपर्ने हुदा ३ लाख जति advance दिने, तेत्रो advance पाएपछी व्यापार नगर्ने कुरै भएन, तत्पश्चात बाटो देखि नै निहु खोज्न थाल्ने, tour नै तिक्तता पुर्ण हुने। बाटोमा सबै भन्दा धेरै complain खानामा आउने। ए हजुर हाम्रो देशमा बाटोमा खाना खराब छ, यो देशका सरकारले त्यस्तै खा भन्छ, कहिले सुधार हुदैन म के गरौं । अनि काठमाडौं आएपछी को कथा उहि। कलेजमा बाकी पैसा लिन जादा अनेक बाहाना बनाउने, घरी exam time मा आउनुहोस fee उठछ अनि दिन्छौं, घरी admission time मा आउनुहोस दिन्छौं भन्ने तर पैसा नदिने। kathford college बालकुमारिले दादागिरि सैलिमै १,७५,०००/- दिएन, saan international college नक्सालले ९०,०००/- दिएन। यी त मुस्ठ हुन खुद्रा खुद्री कति दिएनन दिएनन। ठमेलमा office भाडा दिनुपरिहाल्यो, कर्मचारिलाइ तलब दिनुपरिहाल्यो अनि सुरु भयो ऋण को सिलसिला। यो देश उधारो बजारले सबैभन्दा धेरै बिग्रेको रहेछ भन्ने त्यहिबाट थाहा भयो। बजारमा जताततै लुटेरा मात्र रहेछन् । ट्राभल चलाउने क्रममा १-२ जना गोरा हरुलाइ pokhara, ghandruk, kathmandu valley, nagarkot आदि गन्तब्यमा लानु पर्ने हुदा भाडाका गाडी लानुपर्ने, महगो पर्ने भएकाले आफ्नै गाडी किनौ भन्ने लागेर suzuki ertiga गाडी लिने जमर्को गरियो। nic asia बैंक ले finance गर्दिने भयो। ६ लाख downpayment गरेर अरु किस्ता तिर्ने गरि गाडी निकालियो। downpayment मध्ये ४ लाख जम्मा गरियो २ लाख showroom ले भनेको समयमा दिन सकिएन, २ महिना समय मागे दिएन अनि गाडी फिर्ता लग्यो। suzuki showroom थापाथली ले मेरो ४ लाख खायो फिर्ता दिएन। यहाँ नहुनेलाइ र केही गर्न खोज्नेलाइ नै लुट्दा रहेछन् । हुदा हुदा ट्राभल्स बाट यति घाटा हुन थल्यो कि थाम्नै सकिएन। गोरा आउनै छाडे, चिनियाँ पर्यटक पैसै नदिने, +2 कलेजहरु पनि पैसै नदिने, भारतिय पर्यटक हरु खर्च नै नगर्ने फाइदै नहुने। ट्राभल बेचेर बिदेश जाने जमर्को गरियो। त्यस्बेलासम्म काठमाडौको घर, जग्गा सम्पती सबै सकियो र उल्टो ऋण लाग्यो। बिदेश जाने भनी जमर्को गर्दा झण्डै १ बर्ष लाग्यो र त्यो समय पनि ऋण मै परिवार चलाइयो। जसोतसो बाहिर गैयो कतार। office assistant मा अन्तर्बार्ता पास गरेर गएको, आफ्नै दक्षता ले ६ महिनामै sales and marketing manager भैयो। ५,०००/- कतारी रियाल तलब थियो, खाने बस्ने गाडी ईन्टरनेट सबै कम्पनिले दिने के चाहियो अरु? 2014 देखि 2017 सम्म कतार बसि सबै ऋण तिरी थोरै पैसा बचाएर देश फर्किए। श्रीमति र आफन्तको सल्लाह र आफ्नै इच्छा बमोजिम जन्म थलो इलाम घर गएर Suryodaya Agro Industries & Farm House Pvt. Ltd. – ilam agro mart नामक उद्योग खोलियो, सुर्योदय-११, केराबारी, इलाममा। गल्ती यहि गरिएछ। मैले सोचे पैसालाइ जग्गामा freeze गर्ने होइन चलायमान बनाउने, उद्योग खोल्ने, पैसा कमाउने र सबैको उदाहरण बन्ने। बचेको पैसाले जग्गा किनेको भए यतिखेर ५ डबल हुने थिएछ। मैले कतार बस्दा इज्राएल, अस्ट्रेलिया, नर्वे, आदि देशबाट आएको ताजा फल्फुल, तरकारी, मासु, एबम विविध धेरै खाए देखे । हाम्रो देशमा पनि एस्तै गरि सुरक्षित packing गरेर मौलिक खानेकुराहरु बजारमा बेच्न सकिएला भन्ने आट आएर त्यही गर्न थालियो। इलाम घ्यु, इलाम गुन्द्रुक, इलाम अकबरे अचार, तामाको अचार आदि products बनाइ बेच्न थालियो। सुरुमा गाडी भाडामा लिएर झापाको बिर्तामोड, दमक, इटहरी, धरान, बिराट्नगर सम्म साना ठुला किराना पसल देखि गोरखा डिपार्टमेन्ट, बराहा डिपार्टमेन्ट, किनमेल डिपार्टमेन्ट, सतासी डिपार्टमेन्ट, NMC सहकारी पसल जस्ता ठुला मार्ट सबैलाइ सामान बेचियो। यति हत्तु भैयो कि पैसा कहिले समयमा पाइएन बजारबाट। सबैलाइ उधारोमा सामान बेच्नुपर्ने। र पनि हाम फाली हालियो फुत्कन सकिएन नाफा त के झन ऋण बड्न थाल्यो उधारो बजारले। कच्चा पदार्थ, factory operation cost, tax, labor/staff salary आदि सबै नगदमा किन्नुपर्ने/खर्च गर्नुपर्ने तर बजारलाइ उधारोमा सामान दिनुपर्ने त्यो पनि बाह्र बखडा लगाएर। जम्मै ३०-३५% नाफा देखिने कागजमा तर बजारमा सामान फस्ने हुदा, ६ महिनामा मात्र बल्ल तल्ल पैसा उठ्ने, केही % bad debts हुने। यता factory, raw materials, wages & salary नगदमा खर्च गर्नुपर्दा, र बैंकले पनि ऋण बन्द गरेको कारणले ब्यक्तिगत ऋण ३६% सम्म ब्याज तिरियो। अनि नाफा सक्किवरी उल्टो घाटा हुने। घाट पुर्ती गर्न लागेको ऋण र ब्याज तिर्दा तिर्दा डबल-तेब्बर घाटा हुने। एउटा ऋणको ब्याज तिर्न अर्को ऋण लाग्ने।अनि केही पसलहरुले सामान बेच्न नसक्ने अनि अन्त्यमा expire भयो सामान भन्दै फिर्ता दिने। पसलले/retailors हरुले केही risk नै नलिने। आफुले नगद लगानी गरेको products बजारमा उधारो बेच्दा त्यो लगानिको ब्याज, र त्यो ब्याज तिर्न नया ऋण, अनि नया पुरानो ऋण/ब्याज तिर्न फेरि नया ऋण। घर खर्च चलाउनै पर्यो, नानिहरुको शिक्षा र लालन पोसण गर्नै पर्यो। अनि सकिँदैन त सबै सम्पत्ति? त्यो काम फट्ट छोडौ के गर्नु अन्य? लगानी फसेको छ, नछोडै पार लाग्ने उपाय नै छैन। फेरि हाम्रो समाज यति अर्काको चासो गर्ने कि नयाँ काम थाल्दा उ फेरि गरिराखेको काम छोड्यो, यो मान्छे थिर छैन, काम फेरेको फेरै गर्छ यसले केही गर्दैन जिवनमा आदि इत्यादी भनी जता गये पनि लाल्छना र उपदेश सुनिरहनु पर्ने। सयौं पटक आत्महत्या गर्ने प्रयास गरे सकिन। आफैले चलाएको गाडी दुर्घटना गराउने प्रयास गरे भएन। श्रीमती छोराछोरी को माया र कर्तब्य ले मर्न सकिन। फोन कल यति सामना गरेकि phonophobia नै भयो। कहिलेकाही फोन नेट्वोर्क नआउने ठाउँमा पुग्दा मन आनन्दित हुने। २-३ बर्ष देखि नै depression मा थिए कसैले बुझेन। म depression मा छु भन्दा उल्टै गाली खाइयो। लड्दै पड्दै बाचियो। scattered retailing ले पार नलाग्ने देखिएर dealership मा जाने निर्णय गरियो। फेरि सरकारले यति सास्ती दिन थाल्यो कि, सामान लिएर धरान बिराट्नगर जान नपाइने भैयो। factory ले direct retailing गर्न नपाइने रे! अनि vcts system रे। अडिट वा कतैपनी record मा नाआउने vcts के लागू गरिराखेको? बाटोमा प्रहरिलाइ घुस उठाउने मेलो मात्र। यदि vcts छैन भने ५,०००/- सम्म तिरेको छु प्रहरिलाइ। इलामको सब्जी काठमाडौ बेच्न लिएर आउदा पनि vcts रे! अनि बाटोमा चेकिङ मा बसेका प्रहरिलाइ सब्जी बाड्दै आउनुपर्ने नदिए आफै गाडिमा चडेर झिक्ने। कति लुट्छौ हो?जता ततै लुट्ने मात्र। भाडाका गाडिले पनि लुट्ने, प्रहरिले पनि लुट्ने, सरकारले पनि करको नाममा लुट्ने, बजारका retailer ले पनि लुट्ने। अनि जग्गा जमिन नबेचेर के गर्नु त? कृषि जन्य बस्तुको कारोबार गरेको हुनाले प्रदेश १ सरकार कृषि तथा भुमी ब्यवस्था मन्त्रालयले खुलाउने अनुदान कार्यक्रम ४ पटक अनुदान पाउ भनी निबेदन दिइयो, shortlist मा परिन्थियो नै। अनुगमन गर्न आउदा तपाइको सोच राम्रो रहेछ, काम पनि राम्रो रहेछ, यस्तो मौलिक बस्तुको बजारीकरण गरिरहनुभएको रहेछ, पक्का पाउनुहुन्छ अनुदान भन्ने अनि result आउने बेला कहिले मेरो कम्पनिको नाम नहुने। म इलाम सुर्योदय नगरपालिका -११ बासी मेरो factory पनि त्यहीँ । मेरा वडाका तत्कालिन वडा अध्यक्ष टेक बाहादुर राई ज्युको साङ्पाङ डेरि ले ३ लाख र १० लाख गरि दुई बर्ष लगातार अनुदान खाए र तेस्रो बर्ष उन्कै साङ्पाङ बङुर फार्म ले २५ लाख अनुदान खायो। मेरै आँखा अगाडी इलामकै मैनाली जि को साङृला टि स्टेट ले infrastructure development, अर्ग्यानिक प्रमाणीकरण र गाडी गरि एकै बर्ष एकै उद्योग एकै सरकारबाट २०-२५ लाख अनुदान खायो। हामी चिल्लै। अनि बल्ल थाहा भयो अनुदान लिनलाइ कि जनप्रतिनिधी, कि पार्टीको झोले कि त अनुदान दिने निकायका कर्मचारीलाई घुस दिनुपर्ने रहेछ। सच्चा कर्मनिण्ठ भएर नहुने रहेछ। Dealer र ठुला mart मा समान दिनुपर्दा बार्शिक कारोबार ५० लाख नाघ्ने अनि उनिहरुले पनि vat bill नै खोज्ने भएकाले vat मा जानुपर्ने बाध्यता भयो र गैयो। अनि सुरु भयो अर्को दसा। फेरि हाम्रो देशको कर प्रणाली सारै अप्ठ्यारो । ब्यापार घाटामा छ, घाटा देखाउ बैंक ले loan नदिने, नाफा देखाउदा प्राली कम्पनिले बार्सिक नाफाको २५% कर तिर्नुपर्ने। खर्च देखाउन आफुले, श्रीमतिले तलब खाको देखाउदा १% TDS तिर्नुपर्ने फेरि बार्शिक ४ लाख ५० हजार नाघेमा करको दर बड्ने। महिनैपिच्छे १० लाख कारोबार भएमा १३% VAT अर्थात १ लाख ३० हजार महिनाकै सरकारलाइ बुझाउनु पर्ने, त्यो बिलम्ब भएमा २५% ब्याज तिर्नुपर्ने। बर्षमा एक पटक कम्पनी रजिस्ट्रार मा, घरेलुमा, नगरपालिकामा कम्पनी renew शुल्क बुझाउनु पर्ने, तेहेरो कर। अनि बार्शिक अडिट शुल्क आदि। कसरी थाम्छ एउटा गाउमा रहेको कम्पनिले यी सबै शुल्क र भार? रसिया मा उद्योग/ब्यापार गरि अरबपती भएका डा. उपेन्द्र महतो एबम डा. समता प्रसादले नेपालमा चलाउनु भएको नेपाल ग्रामोध्योग भन्ने कम्पनिलाइ प्रकृति ब्राण्ड मा घ्यु बनाएर दिए। सुरु सुरुमा राम्रो payment गरे advance पनि दिए। हुँदै गएपछी पैसा नदिने, मेरो सिको गरेर आफै घ्यु बनाउने अनि बिगार्ने अनि तपाइको घ्यु expire भयो भन्दै फिर्ता लैजा भन्ने। बेच्नै सक्दैनौ भने ९ महिना सम्म तिम्रो गोदाममा राख्न एउटा निम्न स्तरको उद्यमिलाइ लुट्न किन कम्पनी खोलेको नेपाल आएर? नेपाल ग्रामोध्योग लाई म चुनौती दिन्छु। मेरो जति पैसा खाको छौ तुरुन्त फिर्ता गर अनि तिम्रो failure ले भयेको goods expire र damage को तिमी नै risk लेउ। अर्को चुनौती मलाइ सामान फिर्ता गरे भन्दै debit note काट्दै बस्छ तिम्रो ac department, पुष्टि गर मैले समान receive गरेको, मेरो company को छाप वा मेरो सहि देखाउ तिम्रो return bill मा। समान तिमिहरुको गोदाममै expire भयो भने वा बजारबाट फिर्ता आयो भने debit note काटिहाल्ने अनि मैले पाउने पैसा बाट त्यस्को value घटाउने? तिमिहरु सब लुटेरा हौ। आफ्नो factory काहीँ पनि छैन, बजारमा प्रकृति ब्राण्डका जतिपनी खाद्य बस्तु बेचिरहेका छौ, ती सबै अर्कैले बनाइदिएका हुन। म जस्तै साना साना कम्पनीबाट लुटेका हौ। margin पनि तिमिहरुले नै भनेको हुनुपर्ने, mrp पनि तिमिहरुले नै तोक्नुपर्ने, यो काहाको न्याय हो? भाट्भटेनिका मीन बहादुर गुरुङ जि। तपाइलाइ ३०% margin दिनुपर्ने? अनि साना ठुला उत्पादक/supplier ले तिम्रो मार्ट भरिदिनुपर्ने उधारोमा? अनि contract मा १ महिना भित्र पैसा दिन्छौ भन्ने? ३ महिनामा पनि सामानको पैसा नदिने? मलाइ यति झुलायौ कि ३ महिना पछि नाम नमिलाइकन बिराटनगर चेक पठायौ, इलाम देखि बिराटनगर सम्म एउटा चेक लिन गए तर नाम नमिलेको अनि त्यो चेक सच्याउन काठमाडौ बोलायौ र एक हप्ता पर्खाएर बल्ल चेक सच्यायौ। म इलाम देखि बिराट्नगर, काठमाडौ कुद्दा कुद्दै तिमिलाइ दिएको सामानबाट हुने नाफा घाटामा परिणत भयो। त्यै भएर भाट्भटेनी लाई सामान दिन छोडे मैले। तिमिहरु लुट्ने मात्र हौ। तिमिलाइ थाहा छ सामान उत्पादन गर्न कति दु:ख छ। Big Mart को ३२ वटा शाखा थियो काठमाडौमा मैले सामान बेच्दा। payment terms as per sales राखेउ, सामान दिन थालियो महिनामा ५-७ लाखको सामान order गर्थेउ पैसा दिने बेला ७५,०००/- डेड लाख मात्र दिन्थेउ। कुनै महिना billing भएन भने त्यो महिना payment नै दिन्थेनौ। यो कहाँको न्याय हो? मैले थाम्न नसकेर तिमिलाइ सामान दिन छाडे, सबै branch गएर सामान उठाउ भनेउ, सामान उठाए, आखिरमा मैले तिमिबाट पाउने पैसा भन्दा आधा कम मात्र सामान थियो तिम्रो branch हरुमा। as per sales payment terms राखेर किन पैसा दिएनौ समयमा? सामान त बेचिसकेका रहेछौ। सबै branch बाट सामान उठाएर फेरि factory मा लादा तिमिसग गरेको ब्यपार पनि घाटामा गयो। किन लुटेउ मलाइ यसरी? सामान त गुणस्तरीय थियो तिमी नै भन्थेउ। नेपाल सरकार खाद्य बिभाग सबैतिरबाट licensed थियो मेरो product. पवन गोल्यानको गोल्यान एग्रो ले ११० कार्टुन घ्यु order गरेर, बनाउन लगाएर काठमाडौ ल्याएपछी order cancel गर्दियो अहिले हाम्रो मार्केट डिमाण्ड छैन भनेर। मार्केट को feasibility study नगरिकन किन सामान बनाउन लगायौ त? तिमिलाइ लाज लाग्दैन? तिमिले मलाइ अर्को पनि कुरा भनेउ कि तिम्रो माथिल्लो कर्मचारीले अन्त्यमा सामान लिन मानेन रे! तिम्रो chain of command मै त्रुटि थियो भने मलाइ किन सामान बनाउन लगाएर काठमाडौ मगायौ? मलाइ कति घाटा भयो होला इलाम देखि काठमाडौ अनि फेरि काठमाडौ देखि इलाम सामान ल्याउदा लैजादा? तिम्रो माटो ब्राण्ड पनि लुट्नैलाइ खोलेका हौ कति लुट्छौ लुट। साथिमार्ट (sathimart) का सागर पोखरेल जि। तपाइले खुब प्रचार गर्नुभयो २ बर्ष भित्रै नेपालको सबैभन्दा ठूलो retail chain outlet बनाए भनेर। म बाट सामान टन्नै उठाउनु भयो तर १ बर्ष मा पनि बेच्न नसकेर फिर्ता दिनुभयो। किन मगाउनुभएको बेच्न नसकिने भए। मलाइ पाप लाग्छ ढिलै गरि भए पनि तपाइले चै सबै पैसा दिनुभयो। मैले फिर्ता सामान बराबरको return गर्न सकेको छैन तपाइलाइ। अनिल बस्नेत जि ले चलाउनु भएको metrotarkari.com र NEP EXPRESS UAE भन्ने कम्पनीले म बाट गुन्द्रुक र तामा लानुभयो। दुबइ लगेर बेच्नुभयो। मैले कति नाक ठाडो पारे गुन्द्रुक र तामा दुबइ निर्यात गर्न थाले भनेर। google, facebook सबैतिर हल्ला गरे दुबइ बस्ने साथिहरुलाइ पनि भने, तपाइबाट किनेर पनि लगे। आत्मसन्तुष्टि मिल्यो। तर थाहा छ तपाइहरुलाइ? मैले दिएको सामानको पैसा अझै सम्म मैले पाएको छैन। सबै आत्मसन्तुष्टि र खुसी के रहयो र? तपाइहरु पनि लुट्नलाइ नै व्यापार गर्नुभएको रहेछ। लुट्नुहोस कति लुट्नुहुन्छ। Dabur Nepal Pvt. Ltd. तपाइहरु पनि लुट्नलाइ नै कम्पनी खोल्नु भएको रहेछ। तपाइको factory बारा मा मैले घ्यु supply गरे तपाइका procurement का staff ले खुलेआम commission मागे शन्कर पन्त ले। र immediate cash after delivery भनेर LPO दिनुभयो र ३ महिना पछि अपुरो नगद भुक्तान गर्नुभयो। अझै मैले बाकी पैसा पाएको छैन। त्यै commission हत्याउन लाई राखेका होलाउ राख। लुटिराख कति सक्छौ! इलामका डेरि ब्य्वसाइहरुलाई नियमन नगर्ने सरकार? २ महिनामा प्रती केजि १५०/- नौनिको दाम बढाउछन। हामिले कसरी थाम्ने? २०७९ तिज अगाडि सम्म नौनिको दाम ६००-६२५ थियो इलाम मा तर २०७९ को दशै सम्म आइपुग्दा ७००-७५० पुर्याए। अलि अलि नौनी बेच्छु भनेर advance लिएको ठाउमा पनि पठाउन सकिएन तेतै बदनाम भैयो। इलाम, पाँचथर, झापाका कुनै पनि डेरीमा पैसा दिन बाकी छैन। तपाइहरुसग किसान प्रत्यक्ष जोडिने हुनाले बरु आफू मरे तर तपाइहरुलाइ बचाए। तर एउटा आग्रह छ इलामका डेरि संचालक हरुलाइ। कानुनी मापदण्ड पूरा गर्नुहोस्, तपाइहरु खानेकुरा बनाइरख्नु भएको छ। सुङुर, कुखुरा, डेरि एकैठाउ नराख्नुहोस, hygine maintain गर्नुहोस् । खाद्य बिभाग बाट अनुज्ञापत्र लिनुहोस, स्वस्थकर घ्यु छुर्पी बनाउनुहोस। खाद्य बिभाग सग हार्दिक अपिल गर्दछु, अनुगमन गरियोस इलामका डेरिहरु, त्यहाँ खाद्य बस्तु उत्पादन गर्दा पालना गरिनुपर्ने न्युनतम मापदण्ड पनि पालना गरिएको छैन। एउटा गाउमा बसेर, उद्योग चलाएर Bhatbhateni, Nepal Gramodhyog, Golyan Agro, Dabur Nepal, Big Mart, Sathimart जस्ता देशकै नाम चलेका औद्योगिक/ब्यपारिक घरानालाइ तथा मार्टहरुरुलाइ आफ्नो customer बनाइ सामान बेचियो, प्रदेश १ लगायत काठमाडौका अन्य मार्ट र ठुला पसल प्रायलाइ सामान बेचियो। बिर्तामोड, दुहबी, हेटौंडा, चितवन् , नवलपुर आदि ठाउँमा dabur, patanjali, uniliver आदि ठुला कम्पनीकै सामान बेच्ने dealer हरुलाइ आफ्नो पनि dealer बनाइयो। त्यहाँ भन्दा कुन level को marketing गर्नु? र पनि यो देशमा पैसा कमाइएन। मर्नेगरी घाटा खाइयो। प्रमुख कारण उधारो बजार र ठुला retailers हरुको हेपाहा प्रवृत्ति नै हो। मलाइ लाग्छ मेरो जिन्दगिले नै मलाइ अब नबाच मर भनेको हो। भाग्य कर्मले बन्छ भन्थे होइन भाग्यमा लेखेको छैन भने जति कर्म गरे पनि फल नमिल्नेरहेछ। परिवार, घर, समाज, आफन्त मलाइ नै गाली बर्साउछन, हात तान्दिनुहोस भन्दा खुट्टा तान्छन, ओरालो लागेको मिर्गलाइ बाचो ले पनि खेद्छ भन्त्थए हो रहेेेछ। कोरोना समयमा इलामकै कन्याम मा kanyam inn नामक होटेल पनि चलाए lease मा लिएर। राम्रो चल्यो केही कमाइयो पनि। तर त्यसका owner झापाकै टीका ओडारी जि ले कमाएको देख्न सकेनन् र करार अवधी अगाडिनै होटेल नै बिक्री भयो भन्ने बाहाना बनाएर छोडाए। नेपालका बिमा कम्पनिहरु कति लुटाहा? उद्यमी/ब्यपारी देख्नै नहुने। sun nepal life insurance company बिर्तामोड, झापा साखाका रुद्र निरौला, बिकाश श्रेष्ठ, राम प्रसाद घिमिरे, प्रकाश पौडेल ले जीवन बिमा गरौ भनेर म कहाँ धाइरहे, मैले पैसा छैन गर्दिन भन्दा उनिहरुले आफै लगानी गरेर मेरो १ करोड्को बिमा गर्दिये र पैसा किस्ता किस्ता गरेर ४-५ लाख असुलेरै छाडे। मेरि श्रीमतिको पनि त्यसै गरेका छन, उन्को पनि १ लाख लिसकेका छन मबाट। खबरदार sun nepal life insurance मेरो पैसा फिर्ता गर बिनासर्त। किन यति दु:ख दिन्छौ एउटा आम नागरिकलाइ? दिन रात जतिखेरै पैसा तिर्नुपर्ने ठाउँको फोन, म्यासेज, धम्की कति सहनु? creditors को फोन, बैंक को फोन, कर कार्यलयको फोन, सामान माग्नेको फोन, salary माग्नेको फोन, raw materials वालाको फोन, सहकारिको फोन, साथिभाइको फोन, आफन्तको फोन कति सहनु, पैसा माग्नेकै मात्र फोन। कहिलेकाही त दिनेले पनि फोन गर्नु नि छैन। यति हुदाहुदै पनि बैंकको, किसानको, गरिबको कसैको पनि मैले पैसा तिर्न बाकी छैन। बैंकको मासिक किस्ता र ब्याज भविस्य मा तिर्पुपर्ने बाहेक हालसम्मको तिरेको छु। ब्यापारिक सम्बन्धका चितवन् मा ३ पार्टीलाई ८ लाख जति फर्काउनु छ। अरु ब्यक्तिगत ऋण र ब्याज अनि VAT तिर्न सकेको छैन। बैंकले त जग्गा लिलाम गरेर असुल गर्ला, अरुलाई कसरी फर्काउनु? उपाय लागेन। झापा धुलाबारी का अनिल भेट्वाल भन्ने ब्यक्तिले पास नै नहुने कवाडी गाडी मलाइ दिएर, यति सताए कि मैले थाम्नै सकिन उनलाइ, मैले उनलाइ ५ लाख ५० हजार दिनुपर्नेमा ४ लाख ५० हजार ऐले दिन्छु अरु गाडी पास गर्ने दिन दिन्छु भन्दा पनि मानेनन् मेरो चेक बाउन्स गर्दिन्छु पक्राउछु भने। सबै पैसा चुक्ता गरे। अनि फेरि गाडी पास गरौँ भन्दा, उनले प्रयोग गरेको अवधिको सवारी कर पनि मैले तिर्नुपर्ने? हुन्छ पक्राउनुहोस। मैले यो देशमा गरि खान सकिन। गर्न खोजे दिनरात मेहेनत गरे तर भएन। मैले यस बिचमा ग्लोबल आइ एम इ ग्रुपका चन्द्र प्रसाद ढकाल, उद्योग बाणिज्य कि भवानी राणा, गोल्छा अर्गनाइजेसन आदिलाइ भेटी मेरो उद्योग को समस्या सुनाए, सुनुवाइ भएन। अरु कति high profile उद्यमी हरुलाई भेटे सहयोग को याचना सहित केही भएन। ५-६ बर्ष देखि बिबेकशिल साझा पार्टीमा आबद्ध थिए, इलाम जिल्ला सम्योजक नै हु। राजनीति मार्फत देशको यी र यस्तै समस्या वकालत गर्ने प्रण सहित लागेको थिए । तर चुनाब आउने बेला बिबेकशिल साझा पार्टी क्षत बिक्षद भयो। रास्टृय स्वतन्त्र पार्टीले offer नगरेको पनि होइन, इलाम क्षेत्र न १ बाट उम्मेद्बारी दिनुहोस भन्यो तर मेरो बिकल्प थिएन पैसा थिएन अनि श्रीमती परिवारले पनि उठ्ने सल्लाह दिएनन् । असफल बिगत भएकाले खासै बल पनि गरिएन। यो देशको system currupt छ, जताततै भ्रष्टाचार छ, प्रोत्साहन छैन, हर कोहिमा frustration छ, नितिगत त्रुटि छ। जिन्दगीमा यी र यस्तै हण्डर खादा खादै मन सम्हाल्न नसकेर, आर्थिक भार थाम्न नसकेर, यहि बर्षको तिहार अघि suicide note लेखी भारतको गुहाटी ब्रम्हपुत्र नदिमा फाल हानेर मर्ने जमर्को गरे सकिन। कसैले बचायो र भागेर अरुणान्चल प्रदेश को तेजु हुँदै चाइना बोर्डर The last village of india – kohu village पुगे अनि चाइना छिर्ने प्रयास गरे सकिन। एउटा हिउँ पर्ने डाडोले छेक्यो, त्यस्लाइ पार लाउनै सकिन। चाइना छिरेर त्यतै केहि दु:ख गर्ने अनि अलिकती पैसा कमाएर केही बर्ष मा घर फर्कने योजना पनि बिफल भयो। त्यहाँबाट फर्किएर घर आए र परिवार एबम आफन्तको सहयोगमा/सल्लाहामा काठमाडौं आइ बाहिर जाने प्रयास गरे। saudi, dubai, qatar, maldives सबैतिर जाने प्रयास गरे भएन। नेपालका manpower पनि लुटाहा नै रहेछन् । माग अनुसार interview दिइयो पास भैयो तर राम्रो कमाइ हुने ठाउमा भिसा नै नदिने। manpower कै आफ्ना र पहुच्वाला घुसाइहाल्ने premedical, qr code भन्दै पैसा असुल्ने अनि passport कब्जा गर्ने। कतारमा मन्त्रालयमा driver job को लागि छानिएको थिए महिनाको १०,०००/- रियाल तलब थियो, तर manpower ले ८ लाख माग्यो लागत। काहाबाट ल्याउने त्यत्रो पैसा? अन्य select भएको ठाउँमा पनि आज भोलि भन्दै २ महिना सम्म visa नै नदिने। world cup मा कतार छिर्ने अनि पुरानो सम्पर्कमा रहेका कम्पनी मा काम पाउने भए, तर worldcup को ticket, round trip air fair र hotel booking गर्न पैसा नै पुगेन, त्यो सपना पनि तुहियो। केही समय free बसेर एउटा vehicle rental कम्पनि काठमाडौमै काम गर्न थाले। जसोतसो आफ्नो ज्यान पाल्ने मेलो त बन्यो तर परिवार, छोराछोरी लाई खोइ? तेत्रो ऋण तिर्ने आधार खोइ? ६० लाख ऋण छ। श्रीमतिलाइ घरमा जतिखेरै torchure छ। हुदा हुदा श्रीमतिले पनि आत्महत्या गर्ने प्रयास गर्न थालिन, मलाइ त्यही आसयको मेसेज लेख्न थालिन, उनी पनि depressed भै सकिन। श्रीमती र म को पहिला suicide गर्ने भन्ने silent प्रतिस्पर्धा चलिरहेकै अवस्थामा मैले नै यो चोला बिसाउने निर्णय गरे। मलाइ बचाउने प्रयास कसैले नगर्नु होला। बाचिगए भने फेरि मर्ने नै छु। प्रहरिले पक्राउ गर्यो भने जेलमा नै आत्महत्या गर्नेछु। म क्रान्ती गर्दैछु। म जस्तै केही गर्छु भन्नेलाइ यो देशको सरकारले सहयोग गरोस । वातावरण बनाओस। बाच्ने सबै उपाय लाउदा पनि केही भएन, आशा सबै मरिसकेको हुनाले मर्ने नै बाचा गरे। मलाइ माफ गर्नुहोला। कोहि मनकारि/सहृदयी जन हरु हुनुहुन्छ भने मेरो ऋण तिर्न मेरि श्रीमतिलाइ सहयोग गर्दिनुहोला। उनले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा २ छोरिहरु टुहुरा हुने छन् । NANUKA ADHIKARI SAVING AC 2907010001814 GLOBAL IME BANK, NEW BANESWOR BRANCH Contact : 9849383133 मेरि नानुका, तिमिले सहयोग पाउने छौ, बिचलित नहुनु। मलाइ माफ गरिदेउ। मैले प्रगती गर्ने धेरै अस्त्र लाउदा पनि सकिन।छोरिहरुको अभिभारा तिम्रो काधमा छ। बुझ्ने भएपछी उनिहरुलाइ सम्झाउनु, तिमिहरुको पापुले यो देशमा सफलता हासिल गर्न सक्नुभएन, जताततै हण्डर र ठक्कर खानुभयो, जताततै लुटिनुभयो। यो देश गरि खानेलाइ होइन लुटि खानेलाइ मात्र सहज रहेछ। तिमिहरुले पनि त्यै अवस्था भोग्नुनपरोस भनेर क्रान्ति मा होमिनुभयो, आफ्नो भोगाइ र पीडा सरकारले सुन्ने गरि आफ्नो ज्यान आहुती दिनुभयो। यहि भन्देउ। म धेरै आशावादी, धेरै नै सकारात्मक सोच राख्ने र अति महत्वाकांक्षी ब्यक्ती थिए। देखिएकै सपनाहरु पूरा गर्न तर्फ लागिन्छ, सपना नै नदेख्ने हो भने त्यो पाउने वा पूरा हुने सम्भवना नै हुँदैन। त्यसैले सपना देखियो, महत्वाकांक्षा राखियो। त्यस्लाइ पूरा गर्न हर दु:ख/कष्ट भोगियो, मेहेनत गरियो। म sales & marketing मा पोख्त थिए नै, leadership skill, motivational skill, business skill आदि प्राप्त गर्न तालिम र अनुभव सबै थियो, english language, computer skill, modern business techniques, legal formalities & environment of a business सबै ज्ञान हासिल गरिएको थियो र आफ्नो कार्य सम्पादन गर्न सवारी चालकको रुपमा पनि दक्ष थिए। motivation speakers Dr. Bibek Bindra, Shiva Kheda, बिनोद चौधरी, रतन टाटा, अमिताभ बच्चन, Osho, Swami Bibekananda, चाणक्य नीति, गिता, बेद आदि सबैलाइ सुन्थे, अध्यन गर्थे, केही idea र प्रेरणा लिन्थे। र पनि यो देशमा सफल हुन सकिएन। उधारणिय उद्योगि/ब्यवसाइ बन्न सकिएन, पैसा कमाउन सकिएन, सपना र महत्वाकांक्षा पूरा गर्न सकिएन। धेरै युवाहरूलाई बिदेश नजाउ देशमै केही गर भनी प्रोत्साहित गरे, गाउँ फर्कौ महाअभियान नै चलाए, तर अन्त्यमा किन यो देशमा काम गर्न छाडेर बिदेश नै ताक्छन युवाहरू भन्ने पाठ आफ्नै ब्यवसाइक असफल्ताबाट सिके, यो देशको भ्रष्ट नीति बाट सिके, दलालहरुले चलाएको देशको अर्थतन्त्र बाट सिके, monopoly market बाट सिके, nepotism, favoritism आदिबाट सिके तर यहाँसम्म आइपुग्दा आफ्नो सबै सके, उठ्नै नसक्ने गरि लडे। मैले जस जस्लाइ यो देशमै केही गर बिदेश नजाउ भनेको छु, म त्यो आग्रह फिर्ता लिन चाहान्छु, मलाई माफ गर्नुहोला। यो देशमा केही गर्न नसकिने रहेछ। यो देश भ्रष्ट रहेछ। पाइला पाइलामा अन्याय र विभेद रहेछ। सपनाकै कुरा गर्दा pantanjali nepal का सहुजी युवराज जि ले इलाममै पतन्जली घ्यू को factory खोल्ने, तपाईं घ्यूमा नै काम गरिरहनुभएको रहेछ, सगै काम गरौं भनेर कति ठूलो सपना देखाउनु भयो। उत्साहित भए, सफलताको कल्पना गरे, तर अन्त्यमा त्यो सपना नै रहयो। एउटा प्रगतिशिल युवालाइ झुटो आश्वासन नदिनुहोला कृपया। उसको इच्छाशक्ति स्खलित हुन्छ। swiss embassy ले सन्चालन गरेको सहज नेपालले पटक पटक उसको अन्तर्कृयामा बोलाएर सहयोगको आश्वासन देखायो, तर उहीँ आश्वासन मात्र। आते जाते खर्च मात्र गराउनुभयो। उल्टै लुट्नुभयो। कति वटा संघ/सस्था मेरो factory हेर्न आउनुभयो, तारिफ गरेर जानुभयो, समस्या सोद्नुभयो, सहयोगको आश्वासन दिनुभयो तर फर्केर कहिले आउनुभएन, तपाइहरुको जागिरलाइ चाहिने डाटा लिन/सोधभर्ना गर्न फगत फोन मात्र गर्नुभयो। सपना देखाइरहनुभयो। सरकारी अनुदान खुलाउने, फारम भर्न दुनिया कागजपत्र, झन्झट, यातायात र कुदाइ खर्च फजुल गराइदिने गर्नुभयो तर केही दिनुभएन। तपाइलाइ घुस दिने वा जनप्रतिनिधि, साम्सद, मन्त्री का आसेपासेलाइ मात्र अनुदान बाड्नुभयो। राजनीति मार्फत सदन सरकारमा गएर यी र येस्तै देश दुखेको ठाउँमा मल्हम लगाउछु भन्ने सपना देखे राजनीति मा पनि लागे, तर रबिन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाल, केशब दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भिम प्रसाद अधिकरी, निर्देश सिलवाल, समिक्षा बान्स्कोटा, प्रकाश चन्द्र परियार जि तपाइहरुलाइ मेरो आत्माले छोड्ने छैन, किन यो देशको एउटा महत्वाकांक्षी युवाको भावना सग खेलबाड गर्नुभयो? तपाइहरु एकीकृत हुनै नसक्ने, पार्टी चलाउनै नसक्ने भए किन यो देशका म जस्ता सयौं युवालाइ राजनितिमा लगाउनुभयो? किन समय र पैसा बर्बाद गरिदिनुभयो? यो देशमा सपना बाड्ने, आश्वासन बाड्ने अनि त्यसैलाइ आफ्नो गरि खाने साधन बनाउनेको जमात ठूलो रहेछ। मेरा परिवार, आफन्त, साथिभाइ, इष्टमित्र, गाउलेजनहरु!! मलाइ माफ गर्नुहोला। घर तथा पैतृक सम्पत्तिमा मेरो हक खोसिएको छ, अहिले समस्यामा छु, ऋणमा छु, दिलाइद्नुहोस भन्दा हजुरहरुले सुन्नुभएन, कानुनी रुपमा म पैतृक सम्पतिको हकवाला रहिन, किनभने म ७ कक्षामा पड्दा खेरी, नाबालक अवस्थामै बुवाको धेरै जग्गा जमिन भएकाले हदबन्दी जोगाउन मलाइ छुट्टै परिवार कायम गरेर अंस भर्पाइ गराइ थोरै जग्गा अंसपास गरिदिनुभएको थियो। हाम्रो देशको कानुन अनुसार दुई पटक पैतृक सम्पतिमा अंस पाइन्दैन/हक लाग्दैन। मैले धेरैलाइ/आफन्तलाइ म समस्यामा छु, कानुनी रुपमा तल परेको छु, समाधान पनि छ, सहयोग गर्दिनुहोस, म बाच्न चाहान्छु भनी याचना गरे सहयोग गर्नुभएन। के मैले सामाजिक उत्तरदायीत्व बहन गरेको थिइन? बिबाह, कार्जे, ब्रतबन्ध, सान्चेप, भजन किर्तन आदिमा सारिरिक, आर्थिक उपस्थिति जनाएको थिइन? गाउँ बिकासका कार्यक्रममा, आर्थिक लागत साझेधारिमा योगदान गरेको थिइन? टोलबिकासमा, सामाजिक छलफल र न्यायमा, कानुनी अड्चन फुकाउने मा, महिला हिम्सा हुदा न्याय दिलाउने कार्य आदिमा मेरो योगदान थिएन? समाज तपाईं भन्दिनुहोस! के मैले नातिको रूपमा, छोराको रूपमा, श्रीमान र बाबुको रुपमा पारिवारिक र सामाजिक उत्तरदायित्व बहन गरेको थिइन? सबथोक गर्दा पनि म आफैले न्याय पाइन, म नै मरे। कहिले रक्सी खाएर लडेको देख्नुभयो मलाइ? केही कुकृत्य गरे मैले? के यो देशमा उद्योग/ब्यपार गर्नु, केही उधारणिय काम गर्न खोज्नु, आफ्नै गाउँ फर्किएर सामाजिक दायित्व निर्बाह गर्न खोज्नु अपराध हो? अब कहिल्यै यहाहरुलाइ याचना गर्ने छैन, म जाँदै छु, मलाइ माफ गर्नुहोला। मेरो पैतृक सम्पती अझै छ। दाजुको पनि टन्नै जग्गा-जमिन, घर छ, आमाको पनि छ, हजुरबुबाको पनि छ, दिदिको पनि छ। सबै पैत्रिक सम्पती हो। म सकिए, उद्योग ब्यापार घाटामा गयो, केही बेचेर मेरो ऋण तिरिदिनुहोस, सम्पती भोलि पनि कमाइएला भनेर कति बिन्ती गरे सुन्नुभएन। आमा, हजुरबुवा, दाजु-भाउजु! एकपटक सोच्नुहोस इराक, अफ्गानस्तान, सिरिया, श्रीलंका आदिका नागरिकलाइ हेर्नुहोस, धन सम्पती, जग्गा जमिन भबिस्य होइन, मानिसको जिन्दगी भविस्य हो। जिन्दगी रहे त्यो सम्पती फेरि कमाउन सकिन्छ, जिन्दगी नै नरहे, केही राजनैतिक उथलपुथल, माहामारि, प्राकृतिक बिपद आदि आएमा चुट्किको भरमा सबै सम्पत्ति मुल्यहिन हुनेछ। तपाइहरुलाइ मेरो जिन्दगी भन्दा त्यही सम्पत्ति प्यारो लाग्यो। मेरा आफन्तलाइ पनि बिन्ती बिसाए तर वहाहरुले पनि म भन्दा त्यही सम्पतिमा भबिस्य देख्नुभयो। त्यही जग्गा जमिन नै भबिस्य हो तँ भबिस्य होइनस भन्नुभयो। दिदी र भान्जिलाइ तिमिहरुको divorce पश्चात् मैले कति सहयोग गरे, हेक्का होला! मैले बाच्ने धेरै प्रयत्न गरे, परिवार सग भिख मागे, कति अनुनय बिनय गरे? कसैले सुनेनन। मेरि श्रीमती नानुका तिमी कतिपनी बिचलित नहुनु। हाम्रा परिवारले हाम्रो चीत्कार सुनेनन, तर अवस्य कोहि त छ होला यो दुनियामा तिमिलाइ साहारा दिने र यो समस्याबाट मुक्ती गराउने। मेरा आफन्त मलाइ सुन्न छाडे, मेरा साथिभाइ सबै टाढा भए, आफ्नै आमा, दाजुले पनि मलाइ सुन्न छाडे, मेरो पीडा बिसाउने ठाउँ नै रहेन अब। मनभरि गहरौ भारी बोकेर कति दिन बाच्ने?कहाँ बिसाउने त्यो भारी? तेत्रो आर्थिक भार सल्टाउने केही उपाय छैन मेरो अगाडि। २० लाख जतिले तत्कालको गाँठो फुक्ने वाला थियो, तेति जुटाउन गरेको प्रयास पनि सबै बिफल भए। आफ्नो उठ्नु पर्ने रकम उठाउन कति रोइ कराइ गरे, वास्ता गरिदिएनन सरोकार वालाले। नयाँ काम गरौ, लगानी छैन, पुरानो ब्यवसायलाइ नै थामौ उपाय छैन, हर तरहले अगाडि बढ्ने बिकल्प लगाइयो सबै बिफल भए। के गरौं? कसो गरौं ? केही बिकल्प नै रहेन। सिधार्थ बैंकको ऋण नबिकरण गर्ने र ब्याज तिर्न पैसा छैन, माछापुच्छ्रे बैंकको मासिक किस्ता तिर्ने पैसा छैन, सरकारलाइ VAT को पैसा तिरौ बजारमै छ पैसा उठाउनै सकिदैन, राजस्व कार्यालय ताकेता गरेको गर्यै गर्छ, सबै ब्यक्तिगत र सस्थागत खाता रोक्का गरिदिन्छु, कालो सुचिमा राखिदिन्छु भन्छ, origin VAT manufacturing company ले तिर्नुपर्ने भएकाले VAT return पनि हुदैन । म राजस्व कार्यालयलाइ बिन्ती गर्छु, ब्यवसाइक बक्यौता लाई ब्यक्तिगत नबनाइदिनुहोला, सहज हुदा कर तिरेकै थिए, ब्यापार घाटा हुदा सकिन। फेरि कच्चा पदार्थ वालाले pan मा सामान दिन्छन् । घर खर्च चलाउने पैसा छैन, छोरिहरुको लालनपोशण र शिक्षामा खर्च गर्ने पैसा छैन, कोहि बिरामी परियो भने उपचार गर्ने पैसा छैन, ब्यक्तिगत ऋण र ब्याज तिर्ने पैसा छैन, ब्यवसाइक कारोबारको return गर्ने पैसा छैन। सरकार तिमी सुनिदेउ मलाइ। मेरो दोस फगत यहि मातृभुमिमा केही गर्न खोज्नु मात्र रहयो। जतिसग कारोबार गरियो, सबैले लुटे। जिन्दगिको अन्तिम समयसम्म लुटिए, गत हप्ता दाङ बाट काठमाडौ को night bus मा टिकट काटेर हिडे, केही वर आएपछि थाहा भयो मैले लिएको seat अरु दुइजनालाइ पनि बेचेको रहेछ, महिलाहरु उभिने भए मनले मानेन छोडिदिए seat. जताततै लुट्छन हौ सरकार, कस्ले सुन्ने मलाइ? सरकार तिमि सुनिदेउ!!!! बाच्ने रहर हुँदा हुँदै बाच्न सकिन। केही नयाँ गर्ने र उधारणिय बन्ने हुटहुटि हुँदा हुँदै बन्न सकिन। यो statement लेखिसकेपछी पनि २-४ जना सग share गरे, बाच्न चाहे। सहयोग को आश्वासन पाए तर फगत आश्वासन मात्र रहयो। कसलाइ share गरे गर्भमै रहोस! वहाहरुले सार्बजनिक गर्नुभयो भने वहाहरुकै कुरा। सबै उपाय लगाइसकेपछी पनि केही नभएपछी यो निर्णय लिएको हु। रोए धेरै रोए एकान्तमा। आँसु रितिए, आशा रितिए, सम्बन्ध रितिए। सबैभन्दा ठूलो पैसा रितियो, धन रितियो, र सायद अब मलामी पनि रितिए, मेरो लास उठाउने पनि कोहि हुदैनन होला, किनकी म कंगाल भए धन सबै सकियो। छोरिहरुसग रमाउने चाहाना थियो, उनिहरुलाइ असल नागरिक बनाउने चाहाना थियो, श्रीमतिलाइ सदा अगालोमा राख्ने चाहाना थियो सबै चाहानामै सिमित भयो। कहाँ जानू? कसलाइ भन्नू? अगाडि केही देखिन मर्नु सिबाय। मलाइ माफ गर्नुहोला!!! मेरो सालो भाइ मनोज, भतिजा छोराहरु कृष्ण, किरण कपडाको ब्यपार गर्छन् । इटहरी र बिर्तामोड मा। उनिहरु पनि बारम्बार भन्ने गर्छन् बजारमा पैसा फस्छ, २-४ करोड retail पसलमै बाकी उठाउनु छ भन्छन् । तिमिहरुको पैसाले ती retail पसल खोल्दिनुपर्ने? जो कोहि उद्यमी/ब्यपारी तेसै भन्छन् । मेरा साडु दाजु ठेकेदार हुनुहुन्छ बिद्युतिय substation निर्माण र लाइन बिस्तारको ठेक्का लिनुहुन्छ। वहाँ पनि भन्ने गर्नुहुन्छ, ठेक्का त पाइन्छ तर बर्शौ आफ्नो पैसाले निर्माण धान्नु पर्छ। ए सरकार तिम्रो बिकासको काम पनि जनताले उधारोमा गर्दिनुपर्ने? किन पैसा दिदैनौ समयमा? किन आवाज उठ्दैन कोइबाट? कसै न कसैले initiate गरौं न। यो देशको उधारो बजारको जालो चिर्नै पर्छ। सरकारले त्यतिकै सुन्दैन। तिमी सुन सरकार, मेरो बलिरहेको शरीर हेर, केही त महसुस गर। सरकार यी र यस्तै जनजिबिकाका मुद्दा उठाउ, जनताको जीवन सरल र सहज बनाउ। मेरो देश जहाँ, गरिब भनिएका जनताको पैसाबाट/निक्षेपबाट पैसाकै व्यापार गरेर बैंकहरु एकै बर्षमा १० अरब कमाउछन, मेरो देश जहाँ सरकारी मुफ्तको औसधि नस्ट गरेर निजि medical का महँगो औषधि जनतालाइ किनाउछन, मेरो देश जहाँ सरकारी शिक्षक/कर्मचारी हरु आफैले पढाउने गरेको/नियमन गर्ने गरेको बिद्यालय मा बिस्वास नलागेर निजि बिद्यालयमा छोराछोरी पढाउछन, मेरो देश जहाँ जनता जिउन चाहिने आधारभुत बस्तुहरुमा सरकारको पहुच नै छैन, ब्यपारी र बिचौलियाको लुट्तन्त्र छ, उनिहरुकै रजगज छ, मेरो देश जहाँ ठुलालाइ चैन र सानालाइ मात्र ऐन छ, मेरो देश जताततै दुखेको छ, मेरो देश गाउँ -गाउमा रोएको छ, हरेक किसानको घरमा रोएको छ, महत्वाकांक्षी युवाको मनमा रोएको छ, गरिबको दिलमा रोएको छ, बिरामिको दिमागमा रोएको छ, मेरो देश पिल्सिएको छ। केही गर सरकार, केही गर!!!! प्रचण्ड तिमिले १७ हजार मार्ने गरि जनयुद्ध गरेउ। देशमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता ल्याएउ। संविधान सभा मार्फत देशमा नयाँ संविधान जारी गरेउ तर म जस्ता केही गर्छु भन्ने युवालाइ देशमा केही गर्नै नसक्ने बनायौ। तिमिलाइ थाहा छ? यदि युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान जस्ता देशहरुले सजिलै नेपालिलाइ भिसा दिने भए यो देशमा कोहि रहनेछैन। तिम्रो देश खाली हुनेछ। अनि रित्तो देशको प्रधानमन्त्री बन्नु। र ती १७ हजार सहिदलाई शासन गरेर बस्नु। तिमिलाइ थाहा छ सरकार? अहिले उद्योगि /ब्यवसाइहरु बैंकबाट ८-९% मा लिएको ऋण को ब्याज बढेर १२-१५% सम्म तिरिरहेका छन् । अनि अर्को कुरो त्यही बढेको १२-१५% बैंक ब्याज तिर्न २४-३६% सम्म ब्यक्तिगत ऋण लिएर तिरिरहेका छन्। बैंकले छोड्दैन/सुन्दैन । अनि काहा पुग्यो देशको उद्योग ब्यपार? अनि अर्को लुप्त सत्य, सानो ब्यवसाय गर्न देशका कुनै पनि सहरमा खाली सटरको लाखौं deposit लिन्छन् घरधनिहरु, बिना ब्याज ब्य्वसाइको पैसा deposit राख्छन् । तर घर बाहाल कर पनि तिर्दैनन। ब्य्वसाइ कसरी बाच्छ? यस्तै अवस्था रहिरहने हो भने हाम्रो देश कंगाल हुँदै छ। कोहि त आवाज उठाउनु होस! देशमा जताततै आर्थिक मन्दिको हावा चलेको छ। म कसरी अछुतो रहुला र त्यस्बाट? यो सब उधारो बजार, अबैज्ञानिक कर नीति, पुजि पलायन, शून्य प्राय बिदेशी लगानी, पुजि घर जग्गा र शेयरमा freeze आदिले आएको समस्या हो। केही गर सरकार। जादा जाँदै नेपाल सरकार सग निम्न मागहरु राख्दै, त्यो पूरा होस भन्ने अपिल सहित, यो शरिरलाइ अग्निकुण्डमा समाहित गर्दैछु। सबैमा अपिल! यो देश गरि खान लायक बनोस, बस्न लायक बनोस्, मेहेनत गर्नेको भलो होस, सबैको फलोस फुलोस। र अन्त्यमा मैले गरेको यो आग्रह सबैसामु पुगोस, बिस्वले पनि सुनोस। मेरो क्रान्ती हो यो। मैले माथी उल्लेख गरेका कुनैपनि भोगाइहरु, कारोबारहरु, हण्डरहरु गलत रहेछन भने त्यसलाइ प्रमाणित गर्न म चुनौती दिन्छु। माथी उल्लेखित कुनैपनी समस्याहरु ब्यक्तिगत होइनन् , सबैले भोग्दै आएका रास्टृय समस्या हुन, किन कोहि बोल्नुहुन्न? मेरो आवाज सुनिदिनुहोस। म आफैलाइ मात्र मार्दैछु। अरुलाइ नोक्सान पुर्याउने छैन। यो अपिल सरकारले महसुस गर्नेगरी सुनाउदैछु। मेरो देश गर्व गर्न लायक बनोस, बिदेसिएका लाखौं युवाहरुले यहि देशमा केही गर्न सकुन भन्दै निम्न मागहरु नेपाल सरकारसामु राख्दै, यो शरीर सुन्दर देश नेपाल बनोस भन्ने कामना सहित बलिदान दिदैछु!!!!! अल बिदा!!!!! १. रास्टृय उत्पादनमा vat शून्य गर। आयातित बस्तुमा बरु २०% लगाउ। उपभोग्य बस्तुमा मुल्यबृद्धिको प्रमुख कारण VAT हो। २. Buyers Pay First जस्तो आकर्षक बजार क्रय बिक्रय नीति लागू गर सरकार। उधारो बजारको अन्त्य गर। यहाँ निमुखा उत्पादक/supplier ले भाटभटेनी, big mart, Dabur Nepal, जस्ता ब्यापारिक डनहरुलाइ पाल्नु परिरहेको छ। उधारोमा उनिहरुलाइ सामान दिइरहनुपरेको छ र त्यै सामान बेचेर पैसा अन्यतिरै (share, जग्गा) आदिमा घुमाएर बैंकमा मुद्दती खोली ब्याज खाइवरी अनि अन्य थप मुनाफा कमाइवरी मात्र उत्पादक/supplier लाई बल्लतल्ल दिन्छन् तबसम्म उत्पादक/supplier, ऋणले, ब्याजले, operating capital shortage ले मरिसकेका हुन्छन् । धनी पैसाले नै उक्लेको उक्लै, गरिब थिचिएको थिच्यै। ३. Higher the Profit – Lower the Tax Rate कर नीति लागू गर। धेरै नाफा गर्दा करको दर घट्ने हुनाले सबै उद्योगी/ब्यपारी धेरै नाफा गर्ने तर्फ लाग्नेछन। ४. Land Leasing प्रणाली लागू गर। जग्गा जमिन पुस्तौसम्म हस्तान्तरण गरिने हुँदा नेपाली जनताहरु अल्छे भएका हुन। एक जमिनको स्वामित्व एक ब्यक्तिलाइ ५० बर्ष सम्मलाइ मात्र देउ। ५. Banking Mortgage Valuation प्रणाली परिवर्तन गर। सहरका अनुत्पादक जग्गाले जति नै valuation गाउका उत्पादक जग्गाले पनि पावोस। शहरका ४ आना जग्गा बैंकमा राख्दा त्यो नबेची पैसा आउदैन। तर गाउका उत्पादनशिल जग्गाले आम्दानी दिइरहन्छ, फसल र उत्पादनले पैसा आइरहन्छ र बैंक ऋण तिर्ने आधार बढी हुन्छ। ६. सबै बाहालका घर लाई करको दायारामा ले। महिनाको १०,०००/- तलब खाने कर्मचारीले चाहिँ १% TDS तिर्नुपर्ने तर सहरका महिनाको लाखौं घर बाहाल उठाउने घरहरुले कर नतिर्दा हुने? तिमिलाइ थाहा छ सरकार? घरबाहाल तिरी हाले पनि भाडावालालाइ तिराउछन। तिम्रो धेरै राजस्व घर बहालमा चुहावट भैरहेको छ। ७. भाट्भटेनी, BIG MART, पतन्जली, डाबर नेपाल, युनिलिभर, जस्ता ठुला औद्योगिक तथा ब्यापारिक घरानाले नेपालको बजार कब्जा गरेका छन नियमन गर सरकार। उनिहरुले जसो भन्यो बजार तेतै जान्छ। तिमिलाइ थाहा छ सरकार? आफ्नो कम्पनी profile high बनाउनलाइ रास्टृय-अन्तर्राष्ट्रिय कम्पनी हरुले भाटभाटेनीमा आफ्नो सामानको उपस्थिती देखाउछन, उसलाइ उच्च margin दिएर, बरु घाटा नै सहेर। तर बाहिरी बजारमा त्यही सामान कम margin मा अझ भाटभटेनी लाई दिदाको घाटा पुर्ती हुनेगरी बेच्छन् र दैनिक उपभोग्य सामानको मुल्यबृद्धी भैरहेको छ। ८. दर्ता नगरी खुलेका online पसल हरु सब बन्द गर्दे सरकार। कि बैधानिक दर्ता भै कर तिरेको हुनुपर्यो। ९. वैदेशिक रोजगारमा official visa मा जान चाहाने लाई श्रम स्वीकृती को लफडा लनगा सरकार। तिमिलाइ थाहा छ? खाडिमा महिनाको लाखौं कमाउन सकिने visa मा त्यहाका कम्पनीहरुले demand र embassy attestation को लफडा गरि रहदैनन। जस्ले गर्दा पढेलेखेका skilled युबाहरु लाखौं कमाउन सकिने खाडिको जागिर बाट बन्चित भैरहेका छन। सरकार तिम्रो श्रम कागज नेपालको airport मा देखाउने एउटा खास्टो मात्र हो, अनि दलाल पोस्ने official घुस, त्यति हो श्रम document. अनि पत्र पत्रीका मा आउने डिमाण्ड फगत देखाउनलाइ मात्र हो manpower हरुको, राम्रो तलब र सुबिधा भएको माग मा manpower लाई सम्पर्क गर्यो भने, त्यो त देखाउनलाइ छापेको भन्छन सिधै, थाहा छ सरकार तिमिलाइ? १०. अनुदान र subsidy प्रणाली को सबै पुरानो file निकाल सरकार, कति भ्रस्टाचार भएको रहेछ थाहा पाउछस। गर्नेलाइ हर तरहको प्रोत्साहन, अनुदान मिलोस। कागज पत्रमा सिमित कम्पनिहरुलाइ मात्र होइन। यहाँ अनुदानका लागि proposal लेखिदिने, कागजपत्र दरिलो बनाइदिने, केही दिनलाइ भाडामा अनुगमनका लागि फर्म देखाइदिनेको झुण्ड नै छ यो देशमा। ११. बिचौलियाको अन्त्य गर सरकार। देशका सबै पालिकाहरु लाई एकै ठाउमा भेट गराउने गरि पालिका बजार नामक online national web server को बिकास गर सरकार। जहाँ सम्बन्धित पालिकाको कृषि तथा औद्योगिक उत्पादनको बिबरण हुने छ मुल्यसहित। नेपाल भित्र कुन पालिकामा के उपलब्ध छ र कुन पालिकालाइ के चाइहेको छ, demand and supply command त्यहिबाट हुने गरि ब्यवस्था मिला सरकार। बिचौलिया सब चट हुनेछन् । १२. यहाँ अलैंची भारत बेचेर imported cardamom dust किनेर खान्छन नेपाली उपभोक्ता, अदुवा बोरामा भारत बेचेर imported ginger paste किनेर खान्छन, इलामको orthodox green tea, black tea बोरामा कलकत्ता बेचेर imported lipton चिया खान्छन् । यी सबै चिजहरु नेपाली ब्राण्डमै नेपाली बजारमा पाइयोस् । नेपाली ब्राण्डमै बिस्वमा निर्यात होस। बिस्वले हाम्रा उत्पादन चिनुन। त्यतातिर लाग सरकार। १३. गाजा खेतिले बैधानिकता पाओस। गाजा र त्यसको बोटबाट बन्ने सामानको बिस्व बजारमा धेरै माग छ। देश २-४ बर्शमै समृद्ध हुनेछ। १४. शिक्षा, स्वस्थ, सार्बजनिक यातायातमा निजिकरण दुरुत्साहित गर सरकार। यी राज्यले जनतालाइ दिनुपर्ने आधारभुत सेवा हुन। सबैको पहुचमा सरल र सहज तरिकाले यी बस्तु तथा सेवा उपलब्ध गरा सरकार। यो देशमा बिरामी परियो भने उपचार गर्ने पैसा नभएर मर्नु पर्छ सर्बसाधारण। १५. सरकारी कर्मचारी, शिक्षक आदिलाइ घर पायक जागिर नभएमा अनिबार्य आवास सुबिधा उपलब्ध गरा सरकार। तिमिलाइ थाहा छ? एउटा सरकारी अधिकृतले सहरमा बसि जागिर खादा आवास, बच्चाको शिक्षा, औसधि उपचार आदि गर्न महिनाको ४०-४५ हजार तलबले पुग्दैन। अनि भ्रष्टाचार नगरेर के गरोस त? १६. सार्बजनिक खरिद ऐन मा व्यापक सुधार गर सरकार। जस्ले थोरै कबोल गर्छ उस्लाइ ठेक्का होइन। जस्ले बैज्ञानिक र आधुनिक बिकास अवधारणा अनुसार आफै बजेटिङ गरेर ठेक्का प्रस्ताब गर्छ उसलाइ बिकास निर्माणको ठेक्का दिने गर सरकार। १७. भ्रष्टाचार, जघन्य हत्या र बलात्कार आदिमा मृत्युदण्ड सम्मको सजाय हुने ब्य्वस्था लागू गर संसद। १८. जातिय आरक्षणको अन्त्य गरि किसान र गरिबलाइ पहिचान परिचयपत्र मार्फत मात्र त्यस्ता आरक्षण प्रदान गर सरकार। १९. भारतसगको खुल्ला सिमाना अन्त्य गर सरकार। कमसेकम भारतिय नागरिक नेपाल आउदा जहाँसुकैको boarder बाट on arrival visa निश्चित समयलाइ दिने गर र त्यस्को अभिलेख सधैं अद्यावधिक गर सरकार। २०. आयात प्रतिस्थापन गरि सधै घरेलु उत्पादन र निर्यातलाइ प्रोत्साहान गर सरकार। उत्पादन वृद्धिमुखी कार्यक्रम आओस देशमा। उत्पादनमुलक उद्योगले हर तरहको प्रोत्साहन पाओस् सरकार। २१. बचत तथा ऋण सहकारी तथा microfinance बन्द गर। तिमिलाइ थाहा छ सरकार? हाम्रो देशको ६०% पैसा बचत तथा ऋण सहकारी मार्फत परिचालित छ, ४०% मात्र निजि तथा सरकारि बैंक मार्फत परिचालित छ। सहकारिको अवधारणा कृषि सहकारी, उद्योग सहकारी, आदिमा मात्र लागू गर। २२. बिकास खर्च जनताले राज्यलाइ दिएको करबाट गर्ने हो। बिकास साझेदारिको नाममा फेरि पुर्बाधार बिकास हुने ठाउको उपभोक्ताबाट २५% रकम उठाइने गरिएको छ, त्यो बन्द गर सरकार। २३. कक्षा ६ देखि नै “उद्यमशिलता – entrepreneurship” बिसयलाइ बिद्यालय शिक्षामा अनिवार्य गर सरकार। जिवनयापन गर्न, पैसा कमाउन सीप र कला नै चाहिन्छ। २४. सरकारी कर्मचारी/शिक्षक/सस्थानका कर्मचारी/जनप्रतिनिधि/साम्सद/मन्त्री/प्रधानमन्त्री सबैका छोराछोरी अनिबार्य सरकारी/सामुदायिक स्कुल/कलेजमा पढाउनुपर्ने नियम तत्काल लागू गर सरकार। २५. बैंक ऋणको ब्याजदर ७% भन्दा कहिले माथी नउठ्ने गरि सिमित गर सरकार। तिमिलाइ थाहा छ? देशको पैसा जति सबै ठुला ब्यपारिको हातमा छ र देशका अधिकाम्स बैंकमा तिनै ठुला ब्यपारिको लगानी छ। मुद्दतीमा धेरै ब्याज लिन उनिहरुले नै रचेको बैंकको ब्याजदर वृद्धि हो ऐले। ब्यवस्था परिवर्तन धेरै गर्यौ यो देशमा। धेरै क्रान्ती गर्यौ, जनयुद्ध लडेउ, जनआन्दोलन गर्यौ, जनता मार्यौ। अब जनताको अवस्था परिवर्तन गर। यी र यस्तै दैनिक जनजिबिकाका मुद्दा, राज्य संचालनका प्राबिधिक विषय मा केन्द्रित रहेर शासन गर सरकार। एउटा साधारण जनताले सहज तरिकाले उद्योग/ब्यपार गर्न सकोस, जागिर खान सकोस, खेतिकिसानी गर्न सकोस, सुखको श्वास फेर्न सकोस। देश बनाउनलाइ हावा गफले मात्र हुदैन, हेर्दा सानो/झिनोमसिनो देखिने सुक्ष्म कुराहरु तर जनताको जनजिबिकामा ठूलो असर गर्ने मुद्दाहरुमा ध्यान दे सरकर, हार्दिक अपिल!!!! यदि कोही मेरो मागमा सहमत हुनुहुन्छ भने शान्तिपुर्ण ऐक्यबद्धता जनाइदिनु होला। आन्दोलन र हिम्सा मेरो देशले धेरै सह्यो, त्यता नलाग्नुहोला। सरकारलाइ झक्झकाइ रहनु होला। सम्झाइदिरहनुहोला। सुन्दर देशको कल्पना गर्दै मैले लिएको यो अभियान हो, यसलाइ मर्न नदिनुहोला। मलाइ राजनीतिमा लगाउने महानुभाबहरुलाइ आग्रह, मेरो अभियान लाई अगाडि बडाइदिनुहोला, सरकारलाइ झक्झकाइ रहनुहोला। यो देश दुखेको ठाउँमा मल्हम लगाइदिरहनुहोला। नेपाल सरकार, देश चलाउने हुटहुटीमा सत्तामा पुग्नुभएका नयाँ पार्टी तथा नयाँ साम्साद, रबि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोबिता गौतम, गगन थापा, बिस्वप्रकास शर्मा, योगेश भट्टराई, तोसिमा कार्की, लगायत तमाम नयाँ अनुहार हरुलाइ बिन्ती, सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिस्पर्धा होइन, कसैले नदेखेको, तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुहोस, समाधान गर्नुहोस। यहाँहरु सबैलाई पुनः स्मरण गराउन चाहान्छु। निम्न बुदाहरु यहाँहरुको दिमागमा बसिरहोस!!! १. BUYERS PAY FIRST २. रास्टृय उत्पादनमा VAT शून्य। ३. LAND LEASING SYSTEM ४. HIGHER THE PROFIT, LOWER THE TAX RATE ५. शिक्षित MANPOWER वैदेशिक रोजगारमा जादा श्रम स्वीकृतिको झण्झट नगराइयोस। श्रम कागज भन्दा दरिलो foreign company ले दिएको offer letter र employment contract उनिहरुसग नै हुन्छ। ६. देशका सबै पालिकाहरु र उत्पादनहरु समेटिएको “पालिका बजार” नामक national web server को बिकास। ७. बाहालमा लाएका घरहरुलाइ अनिबार्य कर। घर बाहाल लिदा घरधनिले लिने deposit money गैरकानुनी हो, त्यसको अन्त्य। ८. स्वस्थ्य, शिक्षा र सार्बजनिक यातायात सहज र सरल। ९. BANKING MORTGAGE VALUATION नितिमा परिमार्जन। १०. बचत तथा ऋण सहकारि, FINANCE CO. र MICRO FINANCE को खारेजी। ११. गाजा खेतिलाइ बैधानिकता। स-धन्यबाद यहि देशको एउटा सर्बसाधरण नागरिक। प्रेम प्रसाद आचार्य सन्तोष सुर्योदय-११, केराबारी, इलाम, प्रदेश १ नेपाल। हाल काठमाडौ । म मरे पनि मेरो देश बाचिरहोस!!!! अल बिदा!!!

उपरथी प्रेम शाही सैनिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अनुशासन विपरीत काम गरेको अरोपमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले मंगलबार उपरथी शाहीलाई संगठन विपरीत गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिएर सैनिक प्रहरीको हिरासतमा राखेको छ । उमेर हदका कारण शाही बुधबार (पुस २०) बाट नियमित अवकासमा जाँदै थिए । शाहीले सेनाबाट अवकासको पत्र पनि बुझिसकेका थिए । तर आफ्नो वास्तविक उमेरभन्दा १ वर्ष बढी कायम गरिएको भन्दै शाही सैनिक मुख्यालय र रक्षा मन्त्रालयको निर्णयविरुद्ध दुई पटक सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले यही पुस १३ मा शाहीको पक्षमा अन्तरिम आदेश जारी गर्दै जंगी अड्डाको अवकासमा पठाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि शाही मंगलबार नियमित कामको लागि जंगी अड्डा पुगेका थिए । लगत्तै सैनिक प्रहरीको टोलीले शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । सैनिक प्रवक्ता कृष्ण भण्डारीले उपरथी शाही सैनिक प्रहरीको अनुसन्धानमा रहेको बताए । भण्डारीका अनुसार शाहीलाई अहिले स्वास्थ्य परिक्षणको लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको छ । ‘स्वास्थ्य परिक्षणपछि उपरथी शाहीलाई अस्पतालमै राखेर वा सैनिक मुख्यालय ल्याएर अनुसन्धान सुरु गर्ने भन्ने विषय चिकित्सकको सल्लाह अनुसार हुन्छ,’ उनले भने । प्रवक्ता भण्डारीले उपरथी शाहीलाई अनुसन्धान पूरा नभएसम्मका लागि सैनिक मूख्यालयमै राखिने बताए ।

ट्याक्टरले किचेर एकजनाको मृत्यु

काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका २ रिङरोडमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका हेल्पर सैनामैना नगरपालिका ४ झारबैराका ६० वर्षीय ठगे थारु रहेका प्रहरीले जनाएको छ । तिनाउ अस्पताल वुटवलमा उपचारको क्रममा हिजो साँझ ६ बजे थारुको मृत्यु भएको हो । हिजो साँझ सवा ५ बजे लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारुलाई सोही ट्याक्टरको पछाडिको चक्काले किचेको थियो । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जानकारी दिएको छ ।

जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

डोल्पा । जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढालाई जबर्जस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।   अभियुक्त बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ । –न्युज कारखाना

एमालेले भ्रष्टाचारीहरुलाई मिलाएर गठबन्धन बनाएको छ : देव गुरुङ

काठमाडौं । लमजुङमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका उमेदवार देवप्रसाद गुरुङले एमालेले भ्रटचारीहरू मिलाएर गठबन्धन बनाएको आरोप लगाएका छन्।उनले एमालेले मुलुकलाई गम्भीर संकटको दिशामा लान लागेकाले आफूहरूले पाँच दलीय गठबन्धन बनाउनुपरेको दाबी गरेका छन्। लोकतान्त्रिक–वाम गठबन्धन राईनासको आइतबार भएको संयुक्त कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रममा बोल्दै नेता गुरुङले सो कुरा बताएका हुन् ।नेकपा माआवादी केन्द्रका महासचिवसमेत रहेका गुरुङले देश संकटमा परेकाले लोकतान्त्रिक(वाम गठबन्धनका उमेदवारलाई विजयी गराउन आग्रह पनि गरेका छन्।एकातिर पाँच दलको लोकतान्त्रिक वाम गठबन्धन र अर्कोतर्फ एमालेले साना दलहरूलाई लिएर चुनावी मैदानमा आएको उल्लेख गर्दै गुरुङले सर्वसाधारणले देश बचाउने र संकटको अवस्थाबाट मुक्त गराउन मत दिनुपर्ने अवस्था आएको बताए । एमालेले कन्स्परेसी अर्थात षडयन्त्रको सिद्धान्तलाई अंगालेकोले त्यसबाट मुक्त हुन गठबन्धनलाई मत दिनुपर्ने उनले बताए।एमालेले राणाकाल, राजतन्त्र आदिमा सत्ता कब्जा गर्न अपनाइएको सिद्धान्त षडयन्त्रको सिद्धान्तलाई अंगिकार गरेकोले त्यस्ता सिद्धान्त अहिलेको लोकतन्त्रमा नसुहाउने उनले बताए।लोकतन्त्रात्मक व्यवस्थामा पनि षडयन्त्र र द्वैध चरित्रको सिद्धान्त लिएर एमाले चुनावी माहोलमा सर्वसाधारणमा भ्रम छर्न थालेको बताउँदै गुरुङले त्यसलाई बुझ्न र परास्त गर्न आवश्यक रहेको बताए। राजनीतिमा अलिकति पनि इमान्दारीता नभएको र भ्रष्टाचारी चरित्रलाई अंगालेको एमालेले विकास गर्न नसक्ने भन्दै उनले त्यस्तो भ्रष्ट गठबन्धनलाई पराजित गर्न अपिल गरे।२०७४ सालमा वाम गठबन्धन बनाएर बहुमत ल्याए पनि संविधानले दिएका मुख्य मान्यता र लोकतान्त्रिक संस्कारअनुसार काम गर्न नसक्नुमा केपी ओली मुख्य कारण रहेको उनले बताए। गुरुङले एमालेका अध्यक्ष ओलीको तानाशाही चरित्रका कारण नेपाली जनताले चुनेर पठाएका प्रनिनिधिद्वारा निर्माण भएको संविधानलाई ध्वस्त बनाउने काम भएको बताए ।‘एमालेले गरेको संसद विघटन मात्रै थियो तरु हेर्दा त्यो सामन्य लाग्छ तर त्यसको अन्तर्यमा विविध भावनालाई विभाजन गरेर मुलुक संकटमा पुर्‍याउने खेल रचिएको थियो,’ उनले भने।

उम्मेदवारी दर्तासँगै संसद्को आयु सकिन्छ : अध्यक्ष प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचन क्षेत्र र सिट बाँडफाँड एकैसाथ टुङ्ग्याउने गरि छलफल भइरहेको बताएका छन् । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले मिल्ने जति कार्यदलले टुङ्ग्याउने र नमिले जतिको सिट बाँडफाँड शीर्ष तहबाटै टुङ्गो लगाउने बताए ।  सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको उम्मेदवारी दर्तासँगै संसद्को आयु सकिने बताए । मङ्सिर ४ गते निर्वाचन हुन्छ, त्यस अघि कन्फ्युजन गर्ने केही काम गर्न हुँदैन भनेर गठबन्धनमा छलफल भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सम्भवतः आजै विधेयक फिर्ता हुने बताए । गत वैशाखमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु जनताको जित भएको चर्चा गर्दै उनले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा सबै लाग्नु पर्ने बताए । अध्यक्ष प्रचण्ड आज धनगढी हुने पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सुदुरपश्चिम आएका हुन् ।

संसदमा गणपूरक संख्या पुग्न छोडेकोप्रति सभामुख असन्तुष्ट

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पारित गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले पछिल्ला दिन संसदमा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरेका हुन् । पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने गरेपछि विधेयक पारित गर्न गणपूरक संख्या पुग्न छोडेको छ । आइतबार मात्रै बसेको प्रतिनिधिसभाको बैठकमा समेत विधेयक पारित गर्नका लागि सांसदहरूको गणपूरक संख्या नपुग्दा मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो । सभामुख सापकोटाले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरू अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरू प्रमाणीकरण र पारित गर्न संसदलाई अफ्ठ्यारो भइरहेको बताए । विधेयक पारित गर्नको लागि धेरै पटक घण्टी बजाउनुपरेको र मन्त्रीहरू बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरू जिम्मेवार र गम्भीर हुनुपर्ने बताए । सभामुख सापकोटाले समितिमा दोहोरपन देखिएको बताए । उनले समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्ने भन्दा पनि देशको धरातललाई बुझेर निर्णय भएका हो वा होइनन् भन्ने कुरा स्वयं समितिले आत्मालोचना गर्नुपर्ने बताए । सापकोटाले देशको धरातलीय यथार्थअनुकुल समितिले निर्देशन गरेको छ वा छैन भन्ने कुराको समीक्षा हुन जरुरी रहेको बताए। सरकारलाई समितिले आफ्ना निर्देशन लागू गर्न बाध्य पार्ने कुरा भनेको धरातलीय यथार्थ बुझेर जनहीतमुखी निर्देशन हुनुपर्ने बताए । सभाुमख सापकोटाले सरकार उदियमान व्यवस्थापिकाको पक्षमा रहेको बताए। उनले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिए । अहिले विश्वव्यापी रूपमा अभिभावक खाँचो भएको जस्तो महशुस भएको बताए । उनले अरुले बनाएको विश्व दृष्टिकोणबाट राष्ट्रिय दृष्टिकोण बनाऔंला भनेर बस्ने छुट नरहेको भन्दै आफैँले विश्व दृष्टिकोण निर्माण गर्नुपर्ने बताए। सभामुख सापकोटाले खोज, अनुसन्धान गरेर प्रभावकारी बनाएका कारण अमेरिका, स्वीडेन, जर्मनीका समितिहरु धेरै शक्तिशाली रहेको उल्लेख गरे । उनले त्यहाँका समितिहरु कानून निर्माणमा असाधारण खोज, अनुसन्धान गरेका कारण शक्तिशाली भएको समेत बताए । सभामुख सापकोटाले नेपालमा खोज, अनुसन्धान आवश्यक ध्यान नपुगेको बताए । उनले तथ्यांकहरुको महत्व नबुझ्दा गत वर्ष मेलम्ची र मनाङका विपद्जन्य घटना न्यूनिकरण गर्न नसकेको बताए । सभामुख सापकोटाले अहिले संसदमा तथ्याङ्क विधेयकहरू पास भइरहेको उन्दै तथ्यांकलाई समयमै बुझेर तथ्याङ्क संकलन गर्न आवश्यक रहेको बताए । सरकारले बनाएका कानूनको सही कार्यान्वयन भएरनभएको मूल्याङ्कन हुनु जरुरी रहेको उनको भनाइ छ ।

काठमाडौंबाट फोहोर लिएर गएका गाडी बीच बाटोमै रोकिए

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकिदिएका छन् । धादिङको धुनीबेंसी नगरपालिका वडा नम्बर १ का सत्ताधारी दलमा आवद्ध पार्टीहरुले विज्ञप्ती नै निकालेर फोहोर फाल्न नदिने भनेका थिए । धुनीबेंसी नगरपालिका वडा नम्बर १ का नेकपा एमाले र राप्रपा सहितका सत्ताधारी दलहरु समेतको संलग्नतामा गाडि रोकिएको काठमाडौं महानगरले जनाएको छ । आज सोमबार बिहान काठमाडौंबाट फोहोर लिएर गएका कुनै पनि गाडीलाई फोहोर विसर्जन गर्न दिइएको छैन् । स्थानीय बासिन्दाले स्थानीयको समस्या पहिले समाधान गर्नुपर्ने बताएका छन् । उनीहरुले स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुलाई समेत ल्याण्डफिल साइटमा प्रवेश गर्न रोकेका छन् ।

पाकिस्तानमा बाढीका कारण एक महिनामा ५ सय ४९ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा वर्षापछि आएको बाढीमा परि एक महिनामा ५ सय ४९ जनाको ज्यान गएको छ । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तका दुर्गम गाउँ बाढीबाट सबैभन्दा बढी प्रभावित भएको पाकिस्तानका सरकारी निकायले जनाएको छ । बाढी प्रभावित क्षेत्रहरूमा सरकारी निकाय र सेनाले सहायता र राहत शिविर स्थापना गरी परिवारलाई स्थानान्तरण गर्ने र खाना तथा औषधि उपलब्ध गराईरहेका छन् । बाढीले ४६ हजार बढी घरमा क्षति पुर्‍याएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री शहबाज सरिफले प्रभावित क्षेत्रको भ्रमण गरी बाढी पीडितको उद्धार, राहत र पुनस्थापनाको लागि सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । यता, बलुचिस्तान प्रान्तीय सरकारले थप कोषको आवश्यकता रहेको र सहयोगका लागि अन्तर्राष्ट्रिय संस्थाहरूलाई अपील गरेको बताएको छ । बाढीले प्रभावित प्रत्येक जिल्लामा खाद्यान्न अभाव भएको छ भने सात सय किलोमिटर बढी सडक बगेका कारण कतिपयको प्रदेशसँग सम्पर्क विच्छेद भएको छ । पाकिस्तानमा विगत ३० वर्षको अवधिमा औसतभन्दा १ सय ३३ प्रतिशत बढी वर्षा भएको र सबैभन्दा चिसो महिना भएको प्रकोप प्राधिकरणले जनाएको छ ।