सभामुख सापकोटाले फिर्ता गरे संवैधानिक परिषदको नियुक्ति सिफारिस

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको नियुक्ति सिफारिस फिर्ता पठाएका छन् ।

सरकारले ३० पुसमा अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भए पनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक अंगहरुमा नियुक्ति सिफारिस गरेको थियो । सोही दिन साँझ बसेको बैठकले नियुक्ति सिफारिस गरेको थियो । बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएका थिए ।

उक्त दिन कुनै निर्णय नभएको जानकारी दिइए पनि ५ पुसमा संसद् विघटनपछि संवैधानिक अंगहरुमा नियुक्ति सिफारिस गरेको भन्दै संसद सचिवालयमा पत्र पुगेको थियो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते नै प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सभामुख सापकोटाले प्रतिनिधि सभा विघटन भएकाले सिफारिस सुनुवाइ गर्न नसक्ने  र अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै नियुक्ति सिफारिस संवैधानिक परिषदमै फिर्ता पठाइदिएका हुन् ।

सम्बन्धित समाचारः संवैधानिक निकायका ४५ वटै पदमा सिफारिस (सूचीसहित)

कोरोनाका कारण जेलमा दङ्गाः ८ को मृत्यु, ४५ घाइते

कोलोम्बोः श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ । दङ्गामा मारिएका सवै व्यक्ति कैदी नै भएको सिन्हवा समाचार समितिद्वारा प्रकाशित समाचारमा जनाइएको छ । दङ्गामा परी अन्य ४५ जना घाइते भएका छन् । घाइते भएकाहरुमा सुरक्षाकर्मी पनि रहेका छन् । कारागारमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए । राजधानी कोलोम्बोस्थित वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुन । बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भएको भडपमा परी कम्तीमा ८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका बताइएको छ । श्रीलङ्काको जेलहरूमा अहिलेसम्म करिब १,००० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका बन्दीहरुले शुरु गरेको दङ्गा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नु परेको प्रहरी प्रवक्ता अजित रोहना बताएका छन् । सो दङ्गामा घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएका छ । श्रीलङ्कामा कोरोना शुरु भएयता २३ हजार ४०० भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको र यस संक्रमणबाट ११६ जनाको मृत्यु भइसकेको छ ।

साथीका घरमा जान्छु भनेर हिँडेका सुजन ५ दिनपछि हत्या गरिएकाे अवस्थामा फेला

इनरुवाः पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ । घरदेखि करीब पाँच सय मिटर उत्तर अरुण वनस्पति उद्योगको परिसरको खाली जग्गामा उनको शव भेटिएको हो । नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीका छोरा सुजन यही मङ्सिर १० गते साथीका घरमा जान्छु भनेर हिँडेका थिए । साँझसम्म घर नआएको र आफन्तकहाँ पनि नभेटिएपछि खोजतलासी गरिदिन इलाका प्रहरी कार्यालय दुहबीमा मङ्सिर ११ गते जाहेरी दिइएको थियो । उनी हराएको प्रहरीलाई जानकारी गराइएको चार दिनपछि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कक्षा १२ मा इटहरीस्थित गोदावरी कलेजमा अध्यनरत उनको अपहरणपछि हत्या गरिएको हुन सक्ने प्रहरी उपरीक्षक कमल थापाले बताए । घटनामा संलग्न रहेको आशङ्कामा दुहबी–२ का २१ वर्षीय सुमन झालाई पक्राउ गरिएको जनाइएको छ ।

काठमाडौं र भक्तपुरका सीडीओको सरुवा, को कहाँ?

काठमाडौं : काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ । काठमाडौंमा काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई गएका छन् । काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । दाहाल र पाण्डे दुवैले एक वर्ष कार्यअवधि पूरा गरेपछि सरुवा गरिएको गृहस्रोतले जनाएको छ । काठमाडौका नयाँ सीडीओ पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए भने भक्तपुरका सीडीओ भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी थिए । धनुषामा बन्धु बाँस्तोलालाई पठाइएको छ ।

बिपी प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृत्यु

धरानः यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुधबार बिहान इटहरी–६ की ६० वर्षीया महिला र मङ्गलबार राति मोरङको बेलबारी १० का ३७ वर्षीय युवकको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती महिला यही असोज २४ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । सोही दिन उनलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनी मधुमेहको बिमारी भएको बताइएको छ । यता ३७ वर्षीय युवकलाई भने असोज २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार अपराह्न मात्र उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो । कुनै दीर्घरोग नभएका ती युवकलाई श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याइएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण ६ निर्णय (सूचीसहित)

काठमाडौंः सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक सवारीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । यसअघि सरकारले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने निर्णय गरेको थियो । साथै ५० प्रतिशत भाडा बढाइएको थियो । सोमबारको निर्णयले सार्वजनिक यातायातमा एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय उल्टिएको छ । सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको छ । बैठकले आम नागरिकलाई जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ । बैठकले दुई सचिवले दिएका राजीनामासमेत स्वीकृत गरेको छ । यस्तै प्रहरीको गोली लागेर घाइते भएका एकजना सुनसरीका नागरिकको उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय भएको छ । उनको उपचार खर्च ४ लाख रहेको बताइएको छ । त्यस्तै बैठकले मानवअधिकारसम्बन्धी ५ वर्षीय कार्ययोजना पारित गरेको छ ।

दुई पक्षको नक्कली फेसबुक बनाएर चरित्रहत्या

काठमाडौंः एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र हत्या गर्ने गरेको खुल्न आएको छ । कर्णाली आवाज डटकम सञ्चालन गर्दै आएका जुम्लाका २६ वर्षीय पसल रोकायाले कर्णाली एचडी फेसबुक पेज र युट्युब प्रयोग गरी व्यक्तिको चरित्रहत्या गर्ने गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । विभिन्न व्यक्तिले चरित्रहत्या र ठगी गरेको भनी दिएको उजुरीका आधारमा उनलाई आइतबार इलामबाट पक्राउ गरी ल्याएर आजदेखि आवश्यक अनुसन्धान थालिएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ । उनले विभिन्न ठाउँमा जागिर लगाई दिने बहानामा पैसासमेत ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले दुवै पक्षको नक्कली फेसबुक एकाउन्ट बनाई च्याट गरी त्यसको स्क्रिनसट प्रयोग गरेर भ्रामक समाचार प्रकाशन गरेको पत्ता लागेको छ । उनी खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा दर्ता गरी ठेक्कापट्टा पनि गर्ने गरेको पाइएको छ । शुभलक्ष्मी अस्पतालको अध्यक्ष बनेको तथा संविधान कलेज पनि हालसालै दर्ता गरेको पाइएको छ । त्यसमा नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायतको पढाइ गराउने भनी प्रचार गरेको पाइएको परिसरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । नर्समा नाम निकालिदिन्छु भनी यौन दुव्र्यवहार तथा ब्ल्याकमेल गर्ने गरेको भन्दै यसअघि उनीविरुद्ध पटकपटक साइबर अपराध तथा ठगी मुद्धा चलेको पत्ता लागेको छ । नर्सिङ काउन्सिलको परीक्षामा उत्तीर्ण गराई दिन्छु भनी एक जनाबाट रु ७० हजार माग गरेको र पैसा प्राप्त नभएपछि नक्कली फेसबुक बनाएर चरित्रहत्या गरेको विषयमा परिसरमा विद्युतीय अपराध शीर्षकमा उजुरीसमेत परेको छ । उनले सामाजिक सञ्जालको दुरुपयोग गरी नर्सिङ काउन्सिलका विभिन्न पदाधिकारी तथा अन्य व्यक्तिको नाम र फोटो प्रयोग गरी उक्त आइडीबाट जागिर लगाइदिन्छु, लोकसेवा परीक्षा पास गराइदिन्छु, नर्सिङ काउन्सिलको परीक्षामा नाम निकालिदिन्छु भनी रकमको मोलतोलसमेत गर्ने गरेको खुल्न आएको छ । उनले राष्ट्रिय अनुसन्धानको सहायक अनुसन्धान अधिकृतमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिबाट रु छ लाखसमेत ठगी गरेको खुल्न आएकाले अनुसन्धान जारी रहेको जनाइएको छ । उनले ‘कालीकोटमा इन्जिनीयरका रुपमा जागिर खाई करोडाँै रुपैँया भ्रष्टाचार गरी कालोमोसो दलेर निकाला गरिएको छ, हेर्नुहोस’ भन्दै पीडितको फोटो इडिट गरी कालोमोसो लगाएको जस्तो बनाई झुटो समाचार बनाएको भन्दै प्रहरीमा पीडितको उजुरी परेको जनाइएको छ । उनले विभिन्न व्यक्तिसँग रकम माग गर्ने र रकम नदिएपछि उक्त व्यक्तिका विषयमा गलत र भ्रमपूर्ण समाचार तयार गरी आफँैले वाचन गरी फोटो जोडेर भ्रामक समाचार प्रकाशन गर्ने गरेका थिए ।

कुनै कम्पनीले नेटवर्किङ व्यवसाय गरेको पाइए कम्पनी नै खारेज गर्नुपर्ने: संसदीय समिति

काठमाडौं, असोज २ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्वारा गठित उपसमितिले वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी व्यवस्थाविपरीत कुनै कम्पनीले नेटवर्किङ व्यवसाय गरेको पाइए कम्पनी नै खारेज गरी कारबाही गर्नुपर्ने सुझाव दिएको छ । पछिल्लो समय वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी ऐन आइसकेपछि पनि केही कम्पनीहरुले नेटवर्किङसरह सञ्चालन गरेको भन्दै समितिमा उजुरी परेको थियो । त्यसपछि समितिले ‘वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी उपसमिति’ गठन गरी अध्ययन गरेको थियो । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिका संयोजक सांसद सोमप्रसाद पाण्डेले वस्तुको प्रत्यक्ष बिक्री भनेको नेटवर्किङ व्यवसाय हो भन्ने बुझ्न नहुने र कसैले त्यो ढंगले कम्पनी सञ्चालन गरे उक्त कम्पनी नै खारेज गर्नुपर्ने सुझाव प्रतिवेदनमा रहेको बताउनुभयो । उहाँले ऐन बनिसकेपछि कसैलाई व्यवसाय गर्न पाउँदैनौ भन्न नहुने तर ऐनको परिधिमा अथवा अरुखालको गलत ढंगले व्याख्या गरी नेटवर्किङ व्यवसाय गर्ने कार्यलाई छुट दिन नहुने बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ आर्यालले नेटवर्कजन्य कारोबार गर्ने कुनैपनि व्यवायीलाई कारबाही गरिने बताउनुभयो । उहाँले वस्तुको प्रत्यक्ष बिक्री गर्ने ऐन २०७४ र नियमावली २०७६ का विभिन्न दफाहरुको प्रावधानबाट पिरामिड शैलीको रुपमा जानसक्छ भन्ने उपसमितिको सुझावलाई अझ स्पस्ट पार्न आग्रह गर्नुभयो । उहाँले अहिले विभिन्न प्रावधान पूरा नगरिकन कम्पनी दर्ता गर्न दिइयो भन्ने कुरामा सत्यता नरहेको पनि स्पस्ट पार्नुभयो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले दर्ता नभएका तर प्रत्यक्ष बिक्रीमा देखिनेखालका कम्पनीहरुको सूची नै तयार पारेर कारबाही सुरु गरिएको बताउनुभयो । हालसम्म त्यस्ता कम्पनीहरु ३० ओटा भेटिएको र अझै बढी त्यस्ता कम्पनी हुनसक्ने अनुमान विभागले गरेको पनि सुवेदीले बताउनुभयो । पछिल्लो समय वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा बनेको ऐनमा व्यवस्था भएको मापदण्ड पूरा नगरेकालाई लाइसेन्स दिइएको र नेटवर्किङ व्यवसाय सञ्चालन गर्न अनुमति दिएको आरोप विभागमाथि पनि लागेको थियो ।

संविधान दिवसको अवसरमा २८९ कैदीबन्दीको कैद माफी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले २८९ कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् । नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालबाट विज्ञप्तिमा उल्लेख छ । यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गरेको प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानमा सशस्त्र समूहले गोली चलाउँदा प्राध्यापकसहित ३ जनाको मृत्यु

काबुल : अफगानिस्तानका दुई छुट्टाछुट्टै प्रान्त बन्दूकधारी समूहले गरेका आक्रमणमा विश्वविद्यालयका एक प्राध्यापकसहित तीन जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । नान्गाहर प्रान्तको खोगियानी जिल्लामा बन्दुकधारी एक समूहले विश्वविद्यालयका प्राध्यापकलाई गोली हानी हत्या गरेको स्थानीय सरकारका प्रवक्ताले पुष्टि गरेका छन् । साहित्य संकायका अध्यापनरत प्राध्यापकमाथि कर्तव्यपालनाका शिलशिलामा विश्वविद्यालयतर्फ जाँदै गर्दा आक्रमण भएको थियो । त्यस्तै छिमेकी लोगर प्रान्तमा बाराकी बाराक जिल्लाका जिल्ला प्रमुखका भाइ र एक सुरक्षा गार्डको सोमबार राति गोली हानी हत्या भएको थियो । आक्रमणकारीहरूले जिल्ला प्रमुखलाई मार्न खोजेका थिए तर हमलाको समयमा उनी घरमा नभएका कारण भाइमाथि हमला गरेको हुनसक्ने बताइएको छ । कतारको दोहामा सरकारसँग शान्ति वार्ता भइरहेका समय उच्च पदाधिकारीलाई लक्षित गरी आक्रमण भएको छ । तालिवानी समूहले विगतका वर्षहरूमा नागरिक र सैनिक अधिकारीविरुद्ध अनेकौँ लक्षित आक्रमणहरू गर्नेगरेका थिए । यसअघि सोमबार नै पश्चिमी बग्गिस प्रान्तमा तालिवान आक्रमणमा एक पूर्व अफगान सिनेट, उनका पाँच सुरक्षा गार्ड र एक स्थानीय वृद्ध मारिएका थिए ।

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

काठमाडौं: नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्य बुधबार भने घटेको छ । आज छापावाल सुन एकैदिन १२ सय रुपैयाँले घटेको हो । मंगलबार ९८ हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबा ९७ हजार ९ सय निर्धारण गरिएको तेजावी सुनको मूल्य आज प्रतितोला ९६ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार १ हजार ३ सय ५५ मा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

कोरोना संक्रमित भएपछि मेयर शाक्यले निकाले विज्ञप्ती, संक्रमित र स्वास्थ्यकर्मीलाई दुव्र्यवहार नगर्न आग्रह

कोरोना संक्रमित भएपछि काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले विज्ञप्ती जारी गरेका छन् । मेयर शाक्यले कोरोनाविरुद्धको लडाई एक्लै जित्न नसकिने भन्दै दुव्र्यवहार नगर्न समेत अपील गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले कोरोना संक्रमण भएका व्यक्ति, कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कसैलाई पनि दुर्व्यवहार नगर्न आग्रह गरेका छन् । मेयर शाक्यले आफूलाई कोरोना देखिएपनि कोरोनाका कुनै लक्षण देखा नपरेको बताएका छन् । आफूमा मनोबल उच्च रहेको र त्यसले कोरोना परास्त गर्न सफल भइने उनको विश्वास छ । आफ्नी श्रीमतीलाई ज्वरो देखिएपछि ग्रान्डी अस्पतालमा नियमित उपचार गराउन गएको र चिकित्सकको सल्लाह अनुसार दुवैजनाको कोरोना परीक्षणका लागि स्वाब दिएपछि आफूमा कोरोना देखिएको शाक्यले बताएका छन् । अहोरात्र कार्यक्षेत्रमा खटिइरहेको अवस्थामा संक्रमण भएको उनले बताएका छन् । परिवारसहित होम आइसोलेसनमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै बसिरहेको शाक्यले भनेका छन् । ‘कोरोनाजस्तो अदृश्य शत्रुसँगको लडाइँ एक्लाएक्लै जित्न सकिन्न । त्यसैले आआफ्नो ठाउँबाट एकमुष्ठ प्रयास गरौं र कोरोनालाई परास्त गरौं,”

खोपको मानव परीक्षण ढिला गरेको भन्दै ट्रमले गरे एफडीएको आलोचना

वाशिङ्गटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस खोपको मानव परीक्षणलाई सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को आलोचनागरेका छन् । ‘एफडिए वा यसका अधिकारीले औषधि कम्पनीहरूले खोप र उपचारको मानव परीक्षण प्रक्रियालार्ई धेरै जटिल बनाइरहेका छन्,’ शनिबार ट्रम्पले भने । उनले ट्वीट गर्दै भनेका छन्, ‘स्पष्ट छ, तिनीहरू नोभेम्बर ३ सम्म यसबारे प्रतिक्रिया जनाउनसमेत ढिलाइ गर्नेछन् । मैले यो कुरालाई बुझेको छु । नागरिकको जीवन बचाउने गतिमा ध्यान दिनै पर्छ ।’ संयुक्त राज्य अमेरिकामा हाल तेस्रो चरणको परीक्षणका लागि कोभिड-१९ विरूद्धका ३ खोपहरू पर्खाइमा रहेका छन् । जोन्स हकिन्स विश्वविद्यालयका अनुसार अमेरिकाका कूल ५६ लाख ६५ हजार ४०० भन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ भने एक लाख ७६ हजार ३३२ सङ्क्रमितको मृत्यु भएको छ । निर्वाचनको समयसीमा नजिकिँदै गर्दा भएका विभिन्न सर्वेक्षणले रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारसमेत रहेका ट्रम्पलाई कमजोर देखाइरहेका समय उहाँको यो भनाइ आएको हो । राष्ट्रपति ट्रम्पको पक्षमा सर्वेक्षण रिपोर्टहरू नआउनुलाई अमेरिकाको कोरोना नियन्त्रण प्रयाससँग जोडेर पनि हेर्ने गरिएको छ । एजेन्सी

नेकपा कार्यदलको बैठक बस्दै

काठमाडौंः नेकपाभित्र देखा परेको विवाद हल गर्न गठित ६ सदस्यीय कार्यदलको बैठक आज बस्दैछ । शुक्रबार नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच भएको छलफलमा शंकर पोखरेल, विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल र जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो । उक्त कार्यदलले स्थायी समितिको बैठकमा प्रस्तुत एजेण्डा तथा अन्य विवादित विषयमा निष्कर्शमा पुग्ने विषयमा सहमतिको प्रस्ताव तयार गर्नेछ । कार्यदलको बैठकले पार्टीको आन्तरिक जीवनमा देखा परेका समस्याहरू के हुन् ? आन्तरिक पार्टी एकता बलियो बनाउन के गर्नुपर्छ ? भन्ने विषयमा केन्द्रित भएर कार्यदलले छलफल गर्ने नेकपा महासचिव एवम् कार्यदलका संयोजक विष्णु पौडेलले जानकारी दिए । कार्यदलले दुई अध्यक्षको कार्यविभाजन, अधिकार बाँडफाँडदेखि एकता महाधिवेशनको कार्यतालिकाबारे सिफारिस गर्नेछ । कार्यदलले पार्टीको वैचारिक राजनीतिक बहस, आलोचना, आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, विवादित नियुक्ति बदर, राजनीतिक नियुक्तिमा संस्थागत निर्णय, मुख्यमन्त्री हेरफेरलगायत समग्र विषयमा केन्द्रित रहेर छलफल गर्नेछ । १४ असार मदनजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले आफूलाई हटाउन भारत र पार्टी नेताहरूले षड्यन्त्र गरिरहेको अभिव्यक्ति दिएपछि १६ असारमा बसेको स्थायी कमिटी बैठकमा उनको राजीनामा नै मुख्य एजेन्डा बनेको थियो । प्रधानमन्त्रीको अभिव्यक्तिले स्थायी समितिका नियमित एजेण्डामाथिको छलफल प्रभावित भएपछि नेकपा एकता नै संकटमा परेको थियो । त्यसपछि दर्जनौपटक दुबै अध्यक्षबीच छलफल भएपनि सहमति जुटन सकेको थिएन । बिहीबार र शुक्रबार भएको छलफलपछि सहमति खोज्ने दिशामा प्रगति देखिएको हो ।

आज कहाँ–कहाँ हुँदैछ भारी वर्षा ? (सूचीसहित)

काठमाडौंः आज देशका धेरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश , प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना महाशाखाले जनाएको छ । आजै राति गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । महाशाखाले वर्षा हुने स्थानमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान साउन ३० गते (शुक्रबार) राती : देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । साउन ३१ गते (शनिबार) दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश , प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । साउन ३२ गते (आइतबार) दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

काठमाडौंमा थप ६२ जनामा देखियो कोरोना

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिएका हुन् । जसमध्ये काठमााडौंमा मात्र ५६ संक्रमित थपिएका छन् भने ललितपुर र भक्तपुरमा ३/३ संक्रमित थपिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार ४४ पुगेको छ । देशभर आज ३७८ जनामा कोरोना संक्रमण देखिएको छ ।