युवा विदेशिएपछि गाउँमा जनशक्ति अभाव

युवा विदेशिएपछि गाउँमा जनशक्ति अभाव

तेह्रथुम । रोजगारीका लागि युवा विदेशिन थालेपछि जिल्लामा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको चरम अभाव भएको छ । पढाइ, रोजगारी र अन्य अवसर खोज्दै युवा गाउँबाट पलायन भइरहेका छन् ।

युवाशक्तिले गाउँ छाडेपछि कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव भएको छ । वर्षेनी काम गर्ने जनशक्ति अभावकै कारण खेतीयोग्य जमिन, खेतबारी र बगान क्षेत्र जंगलमा परिणत भइरहेका छन् ।

एकपछि अर्काे गर्दै गाउँका लाठे र बलवान पाखुरेहरु रोजगारीका लागि विदेशिँदा गाउँका खेतबारीमा काम गर्ने मानिस पाइन छाडेको छथर गाउँपालिका–२ का नारायण सुब्बाले बताउनुभयो । काम गर्ने मानिसको अभाव हुँदा खेतीयोग्य जमिन बाँझिएका छन् । “दुई वर्षअघिसम्म रु १५० मा पाइने एकजना खेताला अहिले रु ५०० दिन्छुभन्दा पनि पाइँदैन”, उहाँले भन्नुभयोे । आफ्नै देशमा रोजगारीको अवसर नपाउँदा अर्धशिक्षित तथा शिक्षित युवासमेत गाउँमा भेटिन छाडेका छन् । वैशाख पहिलो साता जिल्लाका अधिकांश गाउँमा मकै गोड्ने काम चलिरहेको छ ।

हिउँदे धान गोड्ने र अलैँची गोडमेल तथा चिया टिप्ने काम पनि चलिरहेको छ तर कामदारको अभावले किसानले समस्या व्यहोरिरहनुका साथै खेतीयोग्य जमिनको क्षेत्रफल पनि वर्षेनी घटदै गइरहेका छन् । गाउँमा हुने चाडपर्व, बिहे, भोजलगायत शुभकार्यमा समेत युवाको संलग्नता कम हुँदा पहिलेजस्तो रौनक नभएको आठराई गाउँपालिका–४ का वडाध्यक्ष श्यामकुमार भटराईले बताउनुभयो ।

उहाँले भन्नुभयोे, “अब त गाउँमा कसैको मृत्यु भयो भने मलामी जाने मान्छेको पनि अभाव छ, लास बोकेर घाटसम्म लैजाने युवा गाउँमा छैनन्, गाउँमा बूढापाका र केटाकेटीमात्रै भेटिन्छन् ।” खेतीपातीको काममा युवाको ध्यान जान नसकेको चर्चा गर्दै वडाध्यक्ष भटराईले भन्नुभयो, “खेतीपातीमा धेरै दुःख गर्नुपर्छ, मेहनत गर्नुपर्छ तर अहिलेको पुस्तामा मेहनत गर्ने क्रम पहिलेभन्दा धेरै घट्यो ।”

ओयाक्जुङका चन्द्र मादेम्बाले भन्नुभयो, “लेखपढ जानेका केही बाँकी थिए, ती शहरतिर लागे, नपढेका केटा ठिटा सबै विदेश छन्”, । कामदार अभावले जिल्लामा एक हजार ४०० रोपनी जमिनमा लगाएको चिया बगान झाडीमा परिणत भएको छ ।

कामदार अभावले चिया उत्पादनमा पनि समस्या सिर्जना भएको सिंहदेवी चिया उत्पादक सहकारी सोल्माका अध्यक्ष खेमबहादुर मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “बगान छ, गाउँमा काम गर्ने मान्छे पाइँदैनन्, मुना टिप्ने बेला समयमा मुना टिप्न नपाएर बगान सबै झाडी भइसकेको छ ।” गाउँमा युवा नहँुदा सामाजिक कार्यमा समेत अप्ठ्यारो परेको आठराई गाउँपालिका–३, ह्वाकुका लेखक भानुभक्त सिटौलाले बताउनुभयो ।

युवा जनशक्ति धमाधम विदेशिन थालेपछि स्थानीयस्तरका विकास निर्माणका काम पनि प्रभावित भएका छन् । भवन निर्माण, सडक निर्माणलगायत अन्य पूर्वाधार विकासका काममा मजदूर अभाव छ । जिल्लामा निर्माण भइरहेका सडकमा भारतीय र पश्चिम नेपालका युवाले आएर काम गरिरहेका छन् । निर्माण क्षेत्रमा कामदार अभाव रहेको निर्माण व्यवसायी कमल ढुंगानाले बताउनुभयो ।

अहिले जिल्लामा सञ्चालित उद्योग र निर्माणका काममा तराई क्षेत्र र भारतको विहारबाट कामदार ल्याएर काम लगाउनु परेको उहाँले गुनासो गर्दै उहाँले भन्नुभयो, “स्थानीयस्तरका युवा भए सस्तो पनि हुने थियो, काम गर्न पनि सजिलो हुन्थ्यो तर गाउँमा युवा नै छैनन्, जिल्ला बाहिरबाट मगाइएका जनशक्ति महँगो पर्ने हँुदा विकास निर्माणका कामको लागत र ढिलाइ दुवै हुने गरेको छ ।” दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाको जनसंख्या एक लाख एक हजार ५७७ मात्र छ । वर्षेनी युवा रोजगारी खोज्दै विदेश जाने प्रवृत्ति नरोकिए अबको पाँच वर्षमा गाउँमा युवा नभेटिने नागरिक समाजका अध्यक्ष तुलसी संग्रौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, तस्थानीय चुनावपछि जनप्रतिनिधिको स्थानीय सरकार बनेकाले अब युवालाई स्वदेशमै रोजगार बनाउने कार्यक्रम बनाउनुपर्नेमा स्थानीय सरकारले अहिले युवालाई स्वदेशमै रोक्ने किसिमका ठोस कार्यक्रम ल्याउन सकेका छैनन् ।
“गाउँमै बसेर काम गर्ने रहर त छ, तर वातावरण बनिसकेको छैन”, फेदाप गाउँपालिका–२, ओयाक्जुङका श्याम योगीले भन्नुभयो, “म दुई महिना भयो विदेशबाट गाउँ फर्किएको तर यही बसेर काम गर्ने ठाउँ नै पाइनँ ।”

अर्ध शिक्षित युवाका लागि कृषि क्षेत्रमा आकर्षित गर्न सक्ने कार्यक्रम स्थानीय सरकारले ल्याइदिए सहज हुनेथियो भन्दै उहाले जोड दिनुभयो, “कुनै काममा लगानी पनि गरिएला, तर उत्पादनको बजार सुनिश्चित छैन, लगानी नै डुब्ला भन्ने डर मात्रै हुन्छ ?” जिल्लाबाट दैनिक ३० जनासम्मले राहदानी लिने गरेका छन् । जिल्लामा राहदानी लिनेको संख्या वर्षेनी वृद्धि हुँदै गएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकले देखाउँछ ।

सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७१÷७२ मा ८५७, २०७२÷७३ मा ९३१ र २०७३÷७४ मा एक हजार ९४ जनाले राहदानी लिएका छन् । चालू आवको हालसम्मको अवधिमा पनि कार्यालयले ८२० जनालाई जिल्लाबाटै राहदानी दिएको छ । यसबाहेक द्रुत गतिको सेवामार्फत दुई हजार ९२ जनालाई राहदानीका लागि सिफारिस दिइएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताउनुभयो । जिल्लाबाट विदेशिएकामध्ये अधिकांश युवायुवती मलेसिया, कतार, दुबई, साउदी अरबलगायत देशमा रोजगारीका लागि जाने गरेका छन् । रासस

नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।

अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।

यस वर्षको  एसइई चैत पहिलो सातादेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ ।  सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति

चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

लोकप्रिय