यी हुन् इलाममा जमानत जफत भएका रास्वपासहित १६ उम्मेदवार

इलाम । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका छन्। यस्तै, तेस्रो स्थान हासिल गरेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ११ हजार ४५७ मत प्राप्त गरे।


इलाम–२ मा कूल १९ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । जसमध्ये १६ जनाको भने जमानत जफत भएको छ।

निर्वाचन आयोगले आज सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित १६ दलको जमानत जफत भएको हो। लिम्बूले ५ हजार ५० मत प्राप्त गरे।


यस्तै, भाले चिह्न भएका मनिबहादुर लिम्बूले ८१६ मत प्राप्त गर्दा अन्य उम्मेदवार पाँचसय मत पनि कटाउन सकेनन्।

जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनु आवश्यक पर्दछ । इलाम–२ मा भएको निर्वाचनमा सदर मत ६८ हजार ४७२ रहेको छ । यहाँ ६९ हजार ३७४ मत खसेको थियो ।

जसअनुसार जमानत जोगाउन उम्मेदरवालाई ६ हजार ८५० मत आवश्यक पर्दथ्यो । तर एमाले, कांग्रेस र एक स्वतन्त्र उम्मेदवार बाहेक अन्य उम्मेदवारले सो मत कटाउन सकेनन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा ‘निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने उल्लेख गरिएको छ ।

जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर छन्।

यस्तै, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो।

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं । इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेबाट सुरु गरिने भएकाे छ ।आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिए । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा दुई ठाउँमा मतगणना हुनेछ ।वडागत रुपमा १ नम्बर वडाबाट मतगणना सुरु गरिने छ । जसमा फाकफोकथुमबाट सुरु गरी क्रमशः चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलाम नगरपालिकाको गणना गर्ने सहमति भएको छ । सर्वदलीय सहमतिअनुसार एउटा वडाको मत गनिसकेपछि परिणाम सार्वजनिक गरिने छ । मत गणनामा इलाम क्षत्र नम्बर २ का मतदाता मात्र उम्मेदवारको प्रतिनिधि बस्न पाउने छन् । इलामको उपनिर्वाचनमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ । यो समग्रमा ६० प्रतिशत हो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन् ।प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा हिजो उपनिर्वाचन भएको हो।

बझाङमा ४९.१२ प्रतिशत मतदान, आजै मतगणना नगरिने

धनगढी। शनिबार बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१)को उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचनमा ४९.१२ अर्थात् ३० हजार ३२८ जनाले मतदान गरेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेको बताए। सो क्षेत्रमा २०७९ को प्रदेश सभा निर्वाचन भन्दा कम मतदान भएको छ। २०७९ को चुनावमा अहिलको भन्दा मतदाता कम भए पनि ३१ हजार २७९ मत सदर भएका थिए। बझाङ प्रदेश सभा क्षेत्र नं.१ को मतगणना आज नगरिने भएको छ । मतपेटिका केन्द्रीकृत गर्न समय लाग्ने देखिएकाले मतगणनामा ढिलाइ हुने भएको हो । दुर्गम स्थानमा रहेका कम्तिमा तीनवटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्ने, तर मौसम खराब रहेकाले तत्काल ल्याउन नसकिने अवस्था भएका कारण आजै मत गणना सम्भव नभएको हो ।

इलाममा खस्यो ५७ प्रतिशत मत, आज रातिदेखि मत गणना गरिने

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ ।  बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । मत खसाल्न आएका मतदाताका अनुसार पहिलाका मतदान जस्तो अहिलेको मतदानमा मतदाताको संख्या धेरै कम भएको प्रतिक्रिया दिएका थिए । ५ बजेसम्म मतदान गर्न नपाएकाहरू ‘पोलिङ एरिया’ भित्र रहेर मतदान गर्नसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साँझ ५ बजेसम्म ५७ प्रतिशत मतदान भएको कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार मतदानको समय सकिएसँगै मतपेटिका संकलनका लागि लाहाछाप लगाउने काम भइरहेको छ । मतपेटिका सोझै इलाम नगरपालिका ७ मा रहेको गौतम बुद्ध सम्मेलन केन्द्रमा लगिनेछ ।  एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६६ हजार भन्दा बढी मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।  आजै रातिदेखि मतगणना गर्ने तयारी भएको बताइएको छ ।गौतमबुद्ध सभा भवनमा मतगणना स्थललाई व्यवस्थित गएिको छ । कम्तिमा ११ बजे सम्ममा सबै केन्द्रका मतपेटिका संकलन भइसक्ने अनुमान जिल्ला निर्वाचन आयोगको छ । त्यसपछि राजनीतिक दलहरुसँग बैठक बसेर आजै रातिबाट मतगणना सुरु गरिनेछ ।

इलाममा ४३ र बझाङमा ४० प्रतिशत मत खस्यो

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको र बझाङमा ४० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ।  जिल्ला निर्वाचन कार्यलयका इलामका अनुसार गत ०७९ को निर्वाचनमा यहाँ करिब ६० प्रतिशत मतदान भएको थियो । यो पटक ६५ प्रतिशत कट्ने आँकलन गरिएको छ ।  इलाम-२ मा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । त्यसैगरी बझाङका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्मको मतदान शान्तिपूर्ण तरिकाले भइरहेको छ। २ः३० सम्मको नतिजा अनुसार ४० प्रतिशत मतदान भएको हो ।०७९ को निर्वाचनमा यहाँ ५३ प्रतिशत मात्र मतदान भएको थियो । यो पटक ५५ प्रतिशत कट्ने जिल्ला निर्वाचन कार्यालयको अंकलन छ। बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।२०७९ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि आज उपनिर्वाचन भएको हो ।

मतदानका क्रममा सुहाङले भने– 'बुवालाई सम्झेर भावुक भएको छु'

काठमाडौं । इलाम–२ मा एमालेका तर्फबाट चुनावी मैदानमा रहेका उमेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले सवा ७ बजे महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।  मतदान गरेपछि सुहाङले उत्साहित भएको बताए । “उत्साह महसुस भएको छ । बुवा (सुवास नेम्वाङ)लाई सम्झेर भावुक भएको छु,” उनले भने, “उमेदवार बनेर मतदान गरेको पहिलो अनुभव हो । उत्साहजनक रह्यो । जित निश्चित भन्नेमा म आशावादी छु । इलाम नयाँ युगमा अग्रसर भएको छ ।” बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । लामो लाइनमा सबेर इलाममा मतदाताले मतदान गरिरहेका छन् ।  इलाममा १९ उमेदवार चुनावी मैदानमा छन् ।

शुरू भयो इलाम र बझाङमा मतदान, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा मतदान सुरू भएको छ । बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा मतदाताको पहिचान खुल्ने जुनसुकै परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । इलाममा विभिन्न १२ दल तथा सात स्वतन्त्र गरी १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।इलाममा एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेका छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ । बझाङमा ६१ हजार सात सय ४८ मतदाताले आफ्नो उम्मेदवार निर्वाचित गर्दैछन् । निर्वाचनका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि एक हजार दुई सय सुरक्षाकर्मीहरु परिचालन गरिएको छ। यस्तै, ६ सय ५१ कर्मचारी परिचालन गरिएको जनाइएको छ । इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते र बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते निधन भएपछि रिक्त यी क्षेत्रमा आज उपचुनाव भइरहेको हो ।

उपनिर्वाचन : आजदेखि मौन अवधि

काठमाडौं । यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने(मौन अवधि)सुरु  भएको छ । निर्वाचन आयोगको कार्यतालिमा गएराति १२ बजेबाट निर्वाचन नसकिएसम्मका लागि उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ । निर्वाचन आचार संहिताअनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म इलाम २ मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभा– १ मा प्रदेशसभा निर्वाचन हुँदैछ । इलाममा १९ जना र बझाङमा ११ जना उमेदवार चुनावी मैदानमा रहेका छन् ।

उपनिर्वाचनका लागि सीमा नाका बन्द

इलाम। इलाममा हुने उपनिर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय इलामले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ। निर्वाचनलाई प्रभावकारी ढङ्गले सम्पन्न गराउने उद्देश्यले भरे राति १२ बजेदेखि निर्वाचनको दिन वैशाख १५ गते राति १२ बजेसम्म सिमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। नाका बन्द भएपछि नेपाल–भारत सीमा क्षेत्रबाट नेपाल–भारत आवतजावत गर्न बन्द भएको छ। निर्वाचनका दिन सवारी साधन सञ्चालनका विषयमा भने निर्णय भई नसकेको प्रजिअ यादवले बताए। ‘‘भोलि (बिहीबार) सर्वदलीय बैठक राखेका छौँ ।सर्वदलीय बैठकले निर्वाचनका दिन सवारी चलाउने अथवा बन्द गर्ने जे निर्णय गर्छ त्यही अनुसार हामी अघि बढ्ने छौँ ।’’ यादवले भने। यसैबिच, भारतमा वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय पक्षबाट हिजो (मङ्गलबार) बेलुका देखिनै नाका बन्द भएको जनाइएको छ।

उपनिर्वाचन : भोलिबाट मौन अवधि

काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

उपनिर्वाचन : आज मतपत्र जिल्ला पठाइने

काठमाडौं । यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतपत्र आज जिल्ला पठाइने भएको छ । मतपत्र छपाइको काम सोमबार सकिएपछि आज जिल्ला पठाइने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  उनका अनुसार प्रतिनिधिसभाअन्तर्गत इलाम–२ का लागि एक लाख २८ हजार र प्रदेशसभातर्फ बझाङ १ (क)का लागि ६८ हजार मतपत्र छापिएको छ ।  मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रंगको चिह्न र विवरण रहेको छ । इलाम–२ मा १९ र बझाङ–१ (क)मा ११ उमेदवार रहेका छन् ।  इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम भएका छन् । बझाङका निम्ति ६१ हजार ७४ मतदाता कायम भएका छन् । आयोगले नमुना मतपत्र सार्वजनिक पनि गरेको छ ।आयोगको वेबसाइटमा नमुना मतपत्र राखिएको छ ।

उपनिर्वाचन : छापियो मतपत्र, भोलि जिल्ला निर्वाचन कार्यालय पठाइने

काठमाडौं । आउँदो वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सम्पन्न भएको छ । मतपत्र छपाइको काम सोमबार सकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  उनका अनुसार प्रतिनिधिसभाअन्तर्गत इलाम–२ का लागि एक लाख २८ हजार र प्रदेशसभातर्फ बझाङ १ (क)का लागि ६८ हजार मतपत्र छापिएको छ । मतपत्र बुधबार जिल्ला पठाइने उनले बताए । मतपत्र छपाइ गर्ने काम सोमबार छपाइ सम्पन्न भएर आज प्याकिङको काम भइरहेको आयोगले जनाएको छ । मतपत्र भोलि जिल्ला निर्वाचन कार्यालय पठाइने छ ।  मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रंगको चिह्न र विवरण रहेको छ । इलाम–२ मा १९ र बझाङ–१ (क)मा ११ उमेदवार रहेका छन् ।  इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम भएका छन्। बझाङका निम्ति ६१ हजार ७४ मतदाता कायम भएका छन् । आयोगले नमुना मतपत्र सार्वजनिक पनि गरेको छ । आयोगको वेबसाइटमा नमुना मतपत्र राखिएको छ । नमुना मतपत्र हेर्नुहोस् 

इलाम चुनावमा समाजवादीको चुनावी कमाण्डर खनाल, बझाङमा शाह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरी पार्टीका उमेदवारलाई सघाउन निर्वाचन ‘कमान्डर’ तोकेको छ ।   प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं–२ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ–१ (क) मा प्रदेशसभा सदस्यको निर्वाचका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी तोकिएको हो । चुनावमा सम्बन्धित जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसहित उनीहरूलाई खटाइएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए । पार्टीले निर्वाचन क्षेत्रमा आवश्यक सहजीकरण गर्न पार्टीका उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र सचिव जीवनराम श्रेष्ठ रहेको कार्यदल पनि गठन गरेको छ । रासस 

उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु हुने

काठमाडौं । उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु हुने भएको छ ।  इलाम र बझाङमा आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । “निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२)ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर देहायमा उल्लेख भएका व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई संवत् २०८० साल चैत्र २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागु गर्ने निर्णय भएको छ,” शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा अन्तर्गत बझाङ–१ को ‘क’ मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिदै

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको आयोगले त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेको हो। आगामी वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१)मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि इलाम-२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

उपनिर्वाचन : आज दिनभर उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौं । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेश–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध उजुरी भए आज दिन सकिने छ ।  उम्मेदवारी  बदर गर्नुपर्ने कारणसहित बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले आजै अपराह्न ५ बजे उम्मेदवारविरुद्ध परेका उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ । उपनिर्वाचनका लागि इलाम –२ मा १२ राजनीतिक दलका १२ र ८ स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दिएका छन् । उता, बझाङ प्रदेशसभा– मा १२ राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।