प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसको अवरोध कायमै रहने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ।बिहीबारको बैठकमा पनि प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजे बैठक बस्नेगरी स्थगित गरिएको थियो। 

बिहीबार कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि  तनाव उत्पन्न भएको थियो ।आज पनि संसद्मा  अवरोध जारी रहने कांग्रेसले बताएको छ। 

हिजोको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएको थियो।एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको हो।सत्तापक्षसँग प्रतिनिधिसभा बैठकमा बिहीबार मुठभेडको अवस्था सिर्जना भएपछि गत चैत ६ गतेदेखि गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा रहेको संलग्नता छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको कांग्रेस र सत्तापक्षबीचको दूरी झन् बढेर गएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन मागसहित संंसद् अवरोध गर्दै आएको छ।सभामुख देवराज घिमिरेले गृहमन्त्री रबि लामिछानेलाई संसद्मा बोल्न आग्रह गरेपनि प्रतिपक्षीले अवरोध गरेका थिए। यता गृहमन्त्रीले आफू संसद्मा बोल्न पाउनुपर्ने माग गर्दै आएका छन् । 

पछिल्लो समय संसद्को विवादमा दलहरूबीच सहमति हुन नसकेपछि यसले झनै उग्र रूप लिन लागेको छ । 

सदनमा कांग्रेसको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ। निर्धारित समयभन्दा दुई घण्टापछि बसेको बैठकमा कांग्रेसले अवरोध गरेको हो ।  बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरी अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको थियो । बैठक दुई घण्टापछि मात्रै बसेको हो ।  सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ । सत्तापक्ष लामिछानेलाई बोल्न दिएपछि मात्रै समिति बनाउने पक्षमा देखिएको छ । कांग्रेसका सांसदहरूले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग राख्दै सदनमा नाराबाजी गरेका छन् ।

कांग्रेसले बोलायो पत्रकार सम्मेलन

काठमाडौँ । नेपाली कांग्रेसले पत्रकार सम्मेलन बोलाएको छ । पत्रकार सम्मेलनमा पार्टीको तर्फबाट महामन्त्री गगन थापाले धारणा राख्न लागेका हुन। बिहीबारको प्रतिनिधिसभा बैठकपछि महामन्त्री थापाले प्रतिनिधिसभा बैठकबारे पत्रकार सम्मेलन गर्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान र गरिबन्धु चिया बगानबारेबारे प्रस्ट पार्नै बताइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ। गिरिबन्धु चिया बगानबारे कांग्रेसले प्रश्न उठाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार ल्होत्से हलबाटै प्रतिवाद गरेका थिए ।

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ  : अध्यक्ष ओली

काठमाडौँ, जेठ ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको संवर्द्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । मदन(आश्रितको ३१ औँ स्मृति दिवसमा सो पार्टीद्वारा आज मदननगर, बल्खुमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सबै खालका आक्रमणलाई पराजित गर्दै एमाले अपराजेय शक्तिका रूपमा स्थापित हुँदै आएको बताए। आफूहरूले अगाडि बढाएको आन्दोलनलाई जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)ले निर्देशित गरिरहेको र आन्दोलनले सफलता प्राप्त गरिरहेको बताउँदै अध्यक्ष ओलीले अब २०८४ मा हुने निर्वाचनबाट नेपालको राजनीतिले नयाँ मोड लिनुपर्ने विचार व्यक्त गरे। अध्यक्ष ओलीले भने, “त्यो मोड प्रतिगामी होइन, अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउने हुनुपर्छ, जसबाट राष्ट्रिय हित संवर्द्धन, सुशासन र तीव्र विकास अगाडि बढाउन सकियोस् । समाज कल्याण, मानवतावाद र लोककल्याणकारी राज्यको अवधारणा कार्यान्वयन गर्नाका साथै गरिबी अन्त्य गर्न सकियोस् ।’’ सामाजिक न्याय र समानतासहितको मानव समृद्धिका लागि समाजवाद दिवङ्गत नेताहरूको गन्तव्य रहेको स्पष्ट गर्दै अध्यक्ष ओलीले आगामी २०८४ को निर्वाचनमा सफलता प्राप्त गरी त्यस दिशामा अगाडि बढ्न सकिए मदन(आश्रितका सपना थप पूरा हुने आशा व्यक्त गरे। आफूलाई कम्युनिष्ट नेता भन्नेहरू नै आन्दोलनलाई सिद्ध्याउन लागि परेका र राष्ट्रिय शक्तिको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पछि लागेकाले विगत स्मरण गर्दै अध्यक्ष ओलीले उनीहरूको पत्याउनै नसकिने खालको गतिविधि गरेको आरोप लगाए। उनले भने, “हाम्राविरुद्ध एकपछि अर्को पासो थापियो । ती सबै पराजित गरियो । अब दिगो र सुदृढ विजयको दिशामा अगाडि बढ्नु परेको छ ।’’ देशमा प्रतिगमन हुँदा वा नाकाबन्दीको अप्ठ्यारो परिस्थितिमा पनि आफूहरूले घुँडा नटेकेको स्मरण गर्दै उनले आफू प्रधानमन्त्री रहेको समयमा भएको नाकाबन्दीविरुद्धको लडाइमा जनताको साथ र सहयोग पाएको भन्दै सम्मान प्रकट गरे। कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरू र आश्रितकी धर्मपत्नी माया ज्ञवालीको उपस्थिति थियो । रासस 

कांग्रेसले भन्यो– 'सरकार रबिलाई जोगाउन लाग्यो, सदन चल्दैन'

काठमाडौं । सरकारले सदनको अवरोध खुलाउन प्रयास नगरेको  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध खुलाउने प्रयास स्वरुप छलफल गरिरहेका बेला आज संसद्को अवरोध खोल्ने चर्चाकाबीच कांग्रेसले उक्त धारणा सार्वजनिक गरेको हो । सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संंलग्नताबारे छानबिनका लागि सरकार तयार नभएको भन्दै कांग्रेसले संसद्को अवरोध जारी रहने बताएको हो।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जो व्यक्तिमाथि छानबिन मागेको हो उसलाई जोगाउने गरी हुने छानबिनको अर्थ नहुने र कांग्रेसलाई स्वीकार्य पनि नहुने बताए। उनले सत्तापक्ष निर्लज्ज भएर प्रस्तुत भइरहेको छ भन्दै एउटा अमुक व्यक्तिलाई जोगाउने कुरा खुलेयाम जोगाउन लागेको समेत आरोप लगाए। आज संसद् खुलाउनका लागि डाकिएको बैठकमा सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नतासहित छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने कांग्रेसले अडान राखेको थियो। सत्ता पक्षले भने कांग्रेसले भनेजस्तो व्यक्ति केन्द्रित भएर भने संसदीय समिति नबनाउने बताएको छ । आज भएको सहमति प्रयासमा यहि विषयमा कुरा नमिलेपछि संसद् सुचारु अनिश्चित भएको छ ।

सिंगापुरमा २० वर्षपछि नयाँ प्रधानमन्त्री

काठमाडौँ । सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । बुधबार एक विशेष समारोहबीच प्रधानमन्त्री लुङ र मन्त्रिपरिषद्का सदस्यहरूले शपथ लिए। उनलाई प्रधानन्यायाधीश सुन्दरेश मेननले शपथ दिलाएका थिए । शपथ ग्रहण समारोहमा थर्मन शनमुगरत्नमसमेत उपस्थित थिए । लरेन्स वोङ सिंगापुरका चौथो प्रधानमन्त्री हुन् । त्यस्तै उनी सिंगापुर स्वतन्त्र भएपछि जन्मिएका व्यक्तिबाट प्रधानमन्त्री हुने पनि पहिलो हुन् । वोङ सन् १९७२ मा जन्मिएका हुन् भने सिंगापुर सन् १९६५ मा स्वतन्त्र भएको थियो ।सिंगापुर एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको छ । 

जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्यालाई विश्वब्यापी एजेण्डा बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जलवायु परिवर्तनको असरबाट नेपालले भोग्नुपरेका समस्यालाई विश्वब्यापी एजेण्डा बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन् ।  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सञ्चारिका समूहले नेपाली सञ्चारमाध्यममा वातावरण संरक्षणका विषय कसरी उठाउन सकिन्छ र यसको महिलासँग कस्तो अन्तरसम्बन्ध रहन्छ भन्ने विषयमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् । ‘जलवायु परिवर्तन ठूलो चुनौतीको रुपमा देखा परेको छ। यसले हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर पार्दै गएको छ। नेपाल जलवायु परिवर्तनको हिसाबले उच्च जोखिमयुक्त देश हो। हिमनदीहरू वर्षेनि खुम्चिँदै गएको र हिमताल फुटेर बाढी आउने सम्भावना बढ्दै गएको देखिन्छ’– मन्त्री शर्माले भने– ‘जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टि हुँदा प्राकृतिक विपदका घटना वर्षेनी बढ्दै गएका छन्, जसबाट जनधनको क्षति पनि बढिरहेको छ । यो अवस्थामाप्रति सबै पक्ष गम्भीर र संवेदनशील हुने बेला आएको छ।’ नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको संकटका कारण नेपालले मात्र होइन, यहाँबाट उत्पत्ति हुने पानीको स्रोतमा आधारित तल्लो तटीय क्षेत्रका करोडौं मानिसका लागि चुनौती थपिएको उल्लेख गर्दै उनले नेपालमा जलवायु परिवर्तनले ल्याउने संकटको पहिलो मार नेपालले खेप्नु परे पनि यो सिङ्गो तटीय क्षेत्रको साझा समस्या हो भन्ने तथ्यलाई स्थापित गरेर यसविरुद्धको लडाइँलाई विश्वब्यापी एजेण्डाकै रुपमा स्थापित गर्न नेपालसहित विश्वभरिका सञ्चारमाध्यमहरुले भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन्। यसका लागि नेपाल सरकारले विश्व समुदायसँग निरन्तर आह्वान गर्दै आएको र गत मंसिरमा यूएईको दुबईमा भएको संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलनमा भाग लिएर प्रधानमन्त्रीले नेपालको चासो र चिन्ता विश्व समुदायसमक्ष हकदाबीकै रुपमा प्रस्तुत पनि उनले स्मरण् गराइन्। ‘जलवायु परिवर्तनका लागि कार्बन उत्पादनमा नेपालको योगदान छैन तर अन्य मुलुकहरूले गरेको कार्बन उत्सर्जनका कारणले गर्दा जलवायु परिवर्तनको समस्याबाट सबैभन्दा बढी पीडित नेपाल बन्नुपरिरहेको छ’– मन्त्री शर्माले भनिन्– ‘अन्य औद्योगिक मुलुकका कारण सिर्जित समस्याबाट हामीले पीडा भोग्ने र त्यसको कुनै क्षतिपूर्ति नपाउने अवस्थाको अन्त्य हुनुपर्छ भनेर नेपाले विश्व मञ्चमा दृढतापूर्वक आवाज उठाएको छ।’ जलवायु परिवर्तनका प्रतिकूल असरहरूबाट बच्न तथा त्यसको सामना गर्न स्थापना गरिएका विभिन्न कोषबाट नेपाललगायत कम विकसित मुलुकहरूले लाभ पाउनुपर्ने उललेख गर्दै उनले भनिन्– ‘यो हाम्रो याचना होइन, न्यायसंगत हक दाबी हो भनेर सरकारले प्रष्टताका साथ अघि सारेको छ। अब हामीले आर्थिक कूटनीतिमा जलवायु कूटनीतिलाई महत्वपूर्ण अङ्गको रुपमा स्थापित गरेर लैजानुपर्ने छ, त्यसका लागि आवश्यक वातावरण बनाउन पनि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहनेछ।’ जलवायु परिवर्तनले सिर्जना गरेका संकटबाट बच्न खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यहरुले सूचना र शिक्षा दुबै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उल्लेख गदै उनले विपद् पूर्वका सूचना प्रवाह गर्नेदेखि जोखिम विश्लेषण लगायतका कार्यमा सञ्चारमाध्यमहरुले भूमिका बढाउनुपर्ने बेला आएको छ। जोखिमको ज्ञान र जोखिमको अनुगमन तथा तथ्यांक विश्लेषण, जोखिमको सूचना प्रवाह, क्षमता अभिवृद्धि र प्रतिकार्यमा केन्द्रित भएर आम नागरिकलाई सचेत बनाउने कार्यमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताइन्।  यसका लागि सञ्चारमाध्यमहरुलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले सरकारले जलवायु परिवर्नतसम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरेको र यसकै आधारमा रहेर हामीले समग्र प्रचारप्रचारको नीति र आवश्यक संयन्त्र बनाउनुपर्ने आवश्यकता रहेको बताइन्। जलवायु परिवर्तनले सिर्जना गर्ने सामाजिक विभेदलाई न्यून गर्न पनि आम सञ्चार क्षेत्रको ध्यान जाने विश्वास व्यक्त गरिन्।

एकीकृत समाजवादीको बैठकले पारित गर्यो १८ बुँदे प्रस्ताव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले इजरायलमा अध्ययन गर्न गएका विपीन जोशीलाई सकुशल फिर्ताको पहल गर्न सरकारसँग माग गरेको छ। आठौँ केन्द्रीय कमिटी बैठकले प्रस्ताव पारित गर्दै लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने सार्वजनिक भएको उल्लेख गर्दै फिर्ताको पहल गर्न माग गरेको हो।  त्यस्तै, बैठकले रुसी सेनामा भर्ती भएका युवालाई स्वदेश फिर्ता गर्न पनि माग गरेको छ । “यो बैठक नेपाली युवालाई रूसी सेनामा भर्ती गरिने कार्य रोक्न, युद्धमा मारिएका र घाइतेहरूलाई क्षतिपूर्ति दिलाउन, रूसी सेनामा फसेका युवालाई स्वदेश फिर्ता गर्न, बेपत्ता भएकाहरूको खोजी गर्न र गैरकानुनी रूपमा रूसी सेनामा भर्ती गराउने दलालहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष माग गर्दछ,” बैठकले पारित गरेको १८ बुँदे प्रस्तावमा उल्लेख छ ।  यस्ता छन् बैठकले पारित गरेको प्रस्ताव

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ। कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।  प्रदेश प्रमुखले चौथो अधिवेशन आह्वान गरेसँगै आज कर्णाली प्रदेशसभा सचिवालयले कर्णाली प्रदेश नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठकमा उपस्थित हुन सम्पूर्ण प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचना गरेको छ। उक्त बैठक प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रित हुने जनाइएको छ। रासस

संसद् खोल्न राजी भयो कांग्रेस, गृहमन्त्रीलाई बोल्न दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् खुलाउन सहमत भएको छ। सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग राखेर कांग्रेसले सदनमा अवरोध गर्दै आएको थियो। उसले गृहमन्त्री लामिछानेलाई बोल्नसमेत दिइरहेको थिए।  तर आज (बिहीबार) शीर्ष नेताहरूबीचको भएको गम्भीर छलफलमा गृहमन्त्री लामिछानेलगतै बोल्न पाउने सर्तमा कांग्रेस सदन खुलाउन सहमत भएको हो।गृहमन्त्रीले बोलेपछि आफूहरूले बोल्ने सांसद खतिवडाले बताए। अन्य कार्यसूचीमा पनि अघि बढाउने दिने नदिने भन्नेबारे भने गृहमन्त्रीको तर्क सुनेपछि अवस्था हेरेर निर्णय हुने पनि कांग्रेस सांसद खतिवडाले बताए।    योसँगै अब अपरान्ह ४ बजेका लागि सरेको प्रतिनिधिसभा बैठक चल्ने भएको छ। दलहरूबीच सदन खुलाउने प्रयासस्वरूप भइरहेको छलफल लम्बिएकाले बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेसम्मका लागि सारिएको हो। 

सदनको अवरोध हटाउने प्रयास : छलफलमा शीर्ष नेताहरू

काठमाडौं । संसद्‍मा जारी अवरोध हटाउन शीर्ष नेताहरू अन्तिम कसरतमा जुटेका छन्। बालुवाटारमा सत्तारूढ र प्रमुख प्रतिपक्षी दलहरूबीच सदनको अवरोध हटाउनेबारे छलफल भइरहेको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै सदन अवरोध गर्दै आएको छ। तर संसदीय छानबिनका लागि सत्तारूढ दलहरू तयार नहुँदा सदन चल्न सकेको छैन।  जारी छलफललाई निष्कर्षमा पुर्याउने प्रयासमा प्रधानमन्त्री प्रचण्ड छन्। उनले सहमति हुने चरणमा छलफल अघि बढेकाले बिहान ११ बजेका लागि बोलाइएको बैठक सहमतिको प्रयासका लागि ४ बजेका लागि सार्न सभामुख देवराज घिमिरेलाई टेलिफोन गरेर भनेका छन् । सोही अनुसार संसद् बैठक सरेको छ ।

दिउँसो ४ बजेका लागि सारियो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो ४ बजेका लागि सारिएको छ ।  सत्तारूढ दलको बैठकसहित तयारी आवश्यक हुने भन्दै प्रधानमन्त्रीले बैठक सार्ने निर्णय गरेपछि सभामुखले दिउँसो ४ बजेसम्म बैठक स्थगितको सूचना निकाल्न सचिवालयलाई निर्देशन दिएका थिए । सचिवालयले सूचना जारी गर्दै बैठक सारेको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख देवराज घिमिरेलाई फोन गरी बैठक पछि सार्न आग्रह गरेका थिए ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको संलग्नासहित सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति माग गर्दै आएको छ। अघिल्लो अधिवशेनबाटै कांग्रेसले संसदीय समिति माग गरेकोमा सत्तापक्षले टार्दै आएको छ। 

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका छन् । प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली काँग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच भएको विश्वासको मत लिने प्रस्ताव पेस भएको थियो ।प्रदेश सभा बैठक सुरु भए लगत्तै उनीहरूले वेल घेराउ गरेर नाराबाजी गरे। काँग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बीच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिएका थिए। लगत्तै सभामुख भण्डारीले मत विभाजन प्रक्रिया सुरु गरे। त्यसपछि काँग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसदहरू बैठक कक्ष छाडेर बाहिर गए ।सत्ता पक्षका सांसदहरु मात्र बाँकी रहेको बैठकमा सभामुखले मतदान प्रक्रिया पूरा गराए। विश्वासको मत लिने प्रस्तावको पक्षमा २८ मत पर्‍यो । यससँगै मुख्यमन्त्रीले विश्वासको मत पाएका सभामुख भण्डारीले जानकारी गराएका छन् ।

राजासँग नडराएको कांग्रेस ओलीका धम्कीले कांग्रेस डराउँदैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कुनै पनि राजनीतिक दलले नेपाली कांग्रेसलाई धम्क्याउन नसक्ने बताए। उनले राजाको धम्कीबाट कांग्रेस नडराएको भन्दै अहिले कुनै पनि राजनीतिक दलको धम्कीबाट नडराउने बताए। बुधवार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै नेपाली कांग्रेस लक्षित चेतावनी दिएका छन्।  सोही विषयलाई लिएर नेता कोइरालाले कांग्रेस कुनै पनि राजनीतिक दलको धम्कीबाट नडराउने बताए। उनले देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको बताए। उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो धारणा राख्न दिने तर कांग्रेसलाई चित्त नबुझे कांग्रेसले आफ्नो कुरा राख्ने भन्दा सत्तारुढ दलहरू नमानेको आरोप लगाए। उनले सहकारी प्रकरणमा बारम्बार नाम जोडिएपछि संसदीय छानबिन समिति बन्नुपर्छ भन्दा सत्तारुढ दलहरू नमान्नुले गम्भीर प्रकृतिको विषय बनेको बताए। नेता कोइरालाले यही प्रणालीमा संसदीय व्यवस्थालाई नै व्यवस्थित बनाउनेबारे सोच्नुपर्ने भन्दै प्रत्यक्ष कार्यकारी प्रणालीमा जानु नहुने बताए। उनले राजनीतिक स्थायित्वपछि मात्रै आर्थिक र राजनीतिक विकास हुने बताए। नेकपा एमाले संविधानको धारा ७६ को उपधारा ३ मा जान खोजिरहेको आरोप लगाए। नेकपा एमाले संसद विघटन गर्न र यसअघिको संसद विघटन सही भएको पुष्टि गर्ने पक्षमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहेको आरोप लगाए। उनले अर्को फरक प्रसंगमा जनता समाजवादी पार्टी, नेपाल फुटेको नभइ फुटाइएको बताए। 

संसद अवरोध रोक्न सभामुखद्धारा प्रधानमन्त्री र प्रमुख सचेतकसँग छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । प्रतिनिधि सभाको आज बस्ने बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अवरोध जारी राख्ने घोषणा गरेको सन्दर्भमा सभामुखले छलफल गरेका हुन् । सभामुखले प्रधानमन्त्री प्रचण्डसँग फोनमा कुरा गरेका थिए भने प्रमुख सचेतकहरुसँग सामूहिक छलफल गरेका हुन् । सभामुख सचिवालयका अनुसार, बैठक सहज बनाउन सभामुखले नेताहरुसँग पनि संवाद जारी राखेका छन् ।नेपाली काँग्रेस, एमाले, माओवादी देखि राप्रपासम्मका संसदमा रहेका दलका प्रमुख सचेतक सभामुखसँगको छलफलमा सहभागी थिए ।

गिरीबन्धु टिस्टेटको जग्गा बेच्ने ओली हुन्  : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टि—स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन्।  बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतले फैसला गरेपछि गिरीबन्धु टि(स्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरे। उनले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने बताए। उनले केपी ओली सरहको नेताले नभएको आरोप लगाउन नहुने बताए। बुधबार एमाले अध्यक्ष ओलीले कांग्रेसले गिरीबन्धु टि—स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका थिए। पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले १९ विगाहा र ५१ विगाहा टि स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानविन गर्नुपर्ने मागसमेत गरेका थिए। उनले कांग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको पनि बताएका थिए। ओलीले तत्काल संसद बैठक सुचारु गराउन पनि कांग्रेसलाई दबाब दिए। कांग्रेसले गरिमामय संसद र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद अवरुद्ध गर्न नहुने ओलीको जिकिर थियो। उनले भनेका थिए, ‘म भन्न चाहन्छु–५१ बिघा र १९ बिघा गरेर ७० बिघा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा। यसमा छानविन हुनुपर्छ। अब हामी नेपाली कांग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन। नेपाली कांग्रेसका गरेका बद्मासीहरुको बारेमा हामी कुरा उठाउँछौं। हामीले सुनिरहनुपर्ने, कांग्रेस कराइरहनुपर्ने हुन्छरु पार्लियोमेण्ट भनेको त्यही हो ? हामी सुनिरहने, कांग्रेस कराईरहने रु यो चल्दैन । अब कांग्रेसका बकवास सुनिरहन हामी तयार छैनौँ।' अध्यक्ष ओलीले एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि कांग्रेसलाई चेतावनी दिएका थिए।