डिजिटल रूपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शर्मा

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल रूपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएकी छिन् । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले डिजिटल रूपान्तरणका माध्यमबाट समृद्धि हासिल गरेका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक नीति, कानुन र संरचनात्मक विकासमा ध्यान दिएको उल्लेख गरिन्। 

दूरसञ्चार क्षेत्रमा सुशासन स्थापित गर्दै पूर्वाधार विकासलाई मुख्य ध्यान दिएर दूरसञ्चार ऐन संशोधनको काम भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले दूरसञ्चार पूर्वाधारमा देखिएको दोहोरो तेहरो लगानीको अवस्थालाई अन्त्य गरी पूर्वाधार प्रयोगको नीति अघि सार्ने तयारी गरिएको जानकारी दिइन्। 

“यसबाट दूरसञ्चार पूर्वाधारमा लागत घट्ने र सेवालाई थप प्रभावकारी बनाउँदै उपभोक्ताबाट लिने शुल्क घटाउन सकिन्छ भन्ने विश्वास लिएका छौँ, त्यस्तै सेवा प्रदायकबाट पनि कूल आम्दानीका हिसाबले वार्षिक दस्तुर लिने गरी समान व्यवहारको नीति लागू गर्नेगरी ऐन संशोधनको काम भइरहेको छ”, उनले भनिन्। ‘साइबर स्पेस’लाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको मन्त्री शर्माले बताए। राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्नुका साथै सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम भइरहेको उनले जानकारी दिए।  

मन्त्री शर्माले दूरसञ्चार क्षेत्रको विकासका लागि संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेका लक्ष्यलाई ध्यान दिएर नेपालले आफ्नोतर्फबाट पनि काम गरिरहेको बताइन्। सामाजिक र आर्थिक विकास प्रवर्द्धन गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वबारे चेतना जगाउने, डिजिटल डिभाइडरलाई कम गर्न र सबैलाई आइसिटीको पहुँच सुनिश्चित गर्ने, शिक्षा, स्वास्थ्य सेवा र अन्य सामाजिक विकास लक्ष्यका लागि आइसिटीको प्रयोग वृद्धि गर्ने, समावेशी र मानव अधिकारको सम्मान गर्ने तरिकामा आइसिटीको प्रयोग सुनिश्चित गर्ने तथा दिगो विकासका लागि आइसिटीको प्रयोग बढाउनेलगायत राष्ट्रसङ्घले अघि सारेका लक्ष्यहरू पूरा गर्न नेपालले मुख्यतः डिजिटल पूर्वाधार निर्माणमा ध्यान दिएको मन्त्री शर्माले जानकारी दिइन्। 

उनले भनिन्, “देशका अधिकांश भू–भागमा दूरसञ्चार र अधिकांश वडा केन्द्रमा ब्रोडव्याण्ड इन्टरनेट पुगेको छ, नेपाल टेलिकमले ७५ जिल्लामा फाइबरमार्फत इन्टरनेट सेवा विस्तार गरेको छ । हालसम्म २५ हजार किलोमिटरभन्दा बढी अप्टिकल फाइबर विस्तार गरिएको छ। पछिल्लो समय सूचना प्रविधि आर्थिक समृद्धिका लागि नवीनतम एवं उदीयमान क्षेत्रकारुपमा स्थापित हुँदै गएको छ ।” 

नेपालको दूरसञ्चार क्षेत्रको विकासमा आइसियुले गर्दै आएको सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री शर्माले आइसियुले विश्वभर दूरसञ्चार विकासका लागि आवश्यक रणनीति, फ्रिक्वेन्सी व्यवस्थापनजस्ता विषयमा सदस्य राष्ट्रलाई सहयोग गर्दै आएको उल्लेख गरिन् । विश्व परिवेशमा इन्टरनेट र टेलिफोनको पहुँचमा देखिएको डिजिटल डिभाइडरलाई कम गर्न आइसियुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले सदस्य राष्ट्रका हैसियतले नेपालकोतर्फबाट आइटियुलगायत विभिन्न सङ्घसंस्थासँगको सहकार्य अघि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन् । 

‘दिगो विकासका लागि डिजिटल नवप्रवर्तन’ नाराका साथ आज विश्वभरि विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै छ । रासस

न्यायपालिका सुदृढीकरणमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।काठमाडौँमा शुक्रबारबाट शुरु भएको १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।  उनले न्यायालयको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउन सबै किसिमको सहयोग गर्न सरकार तयार रहेको बताए। उनले स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि नेपाल बार एशोसिएशनले पुर्‍याएको योगदान सदैव अतुलनीय रहेको प्रधानमन्त्रीको भनाई थियो । उनले लोकतन्त्र र कानूनको शासन पालना, भव्य समाजको पहिचान रहेको बताए। उनले न्यायपालिकाको पुनर्संरचना, संविधान र कार्यान्वयनको पक्ष कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका, शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय र दण्डहीनता, सुशासन, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण, विकृति, विसंगति र भ्रष्टाचारमुक्त न्यायपालिका तथा न्यायपालिकाको जनआस्था अभिवृद्धि र मर्यादित बारका आधार न्यायपरिषद्, न्यायाधीशको सेवा, शर्त र सुविधा, मौलिक हक कार्यान्वयन र मानवअधिकारको संरक्षण र प्रवर्धन, निर्वाचन प्रणाली लगायतका विभिन्न गहन विषयवस्तुमाथि विषयविज्ञबाट अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत भई त्यसउपर छलफल भई जारी गरिने काठमाडौँ घोषणापत्र न्याय र कानूनको क्षेत्रमा मेरुदण्डको रूपमा रहने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले भने, ‘स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि नेपाल बार एशोसिएशनले पु¥याएको योगदान सदैव अतुलनीय छ। सरकारका तर्फबाट न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउन सरकारका तर्फबाट गर्ने सबै किसिमका सहयोग गर्न सरकार प्रतिबद्ध छ।’ प्रधानमन्त्री प्रचण्डले सम्मेलनको आयोजनाको सन्दर्भमा पनि सरकारले विगतमा दिने गरेको अनुदानको एक तिहाइ बढाएको बताए।

विपक्षीको संयुक्त बैठक : सभामुखलाई चेतावनी- सदनमा जबर्जस्ती नहोस् !

काठमाडौं । विपक्षमा रहेका राजनीतिक दलका नेताहरुले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । विपक्षमा रहेका राजनीतिक दलका नेताहरुको बैठकपछि सभामुखलाई भेटेर यस्तो ध्यानाकर्षण गराइएको थियो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार वेल विपक्षको भएको र प्रतिपक्षले आवाज उठाउँदा र माग राख्दा सदनमा जबर्जस्ती सदन चलाउने काम हुनुहुँदैन भनेर सभामुखलाई भनिएको छ । उनका अनुसार हिजोजस्तै सदन चलाउने सभामुखको मनसाय भएको भए कांग्रेसबाहेकका विपक्षी दल पनि वेलमा ओर्लने चेतावनी दिइएको छ । विपक्षले ध्यानाकर्षण गराएपछि सभामुख अहिले सत्तापक्षका नेताहरुसँगको छलफलमा छन् ।

संसद् बैठक सूचना टाँस गरेर २ बजेलाई सारियो

काठमाडौं । प्रतिनिधिसभा बैठक २ बजेसम्म सूचना टाँसेर सारिएको छ ।

सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ। दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०(४० प्रतिशत सदस्य चाहिने पूर्ववत् व्यवस्था लागू हुनेगरी अगाडि बढाइएको विधेयक फिर्ता भएको हो।  सरकारले चाहे जुनसुकै बेला पनि विधेयक फिर्ता लिनसक्ने कानुनी व्यवस्था छ। संशोधन विधेयक फिर्ताका लागि पत्र आइसकेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।   यो विधेयक संसद्‌मा दर्ता भइसकेको थियो। यसमा छलफल गर्न पटक(पटक दैनिक कार्यसूचीमा चढे पनि छलफलका लागि पेस हुन सकेको थिएन।यो विधेयक बिहीबारको कार्यसूचीमा पनि समावेश गरिएको भए पनि कांग्रेसको अवरोधका कारण बैठक चल्न सकेन। 

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौँ।  राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन्।  ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायापालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आजदेखि सुरू भएको तीनदिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन् ।  उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको उपस्थिति रहेको छ ।  नेपाल बार एशोसिएशनका अनुसार जेठ ४ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरका करिब सात हजार कानुन व्यवसायीको सहभागिता रहने छ । रासस

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ। कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन्। साथै, कांग्रेसले सहकारीको रकम ठगी गरेका मानिसहरूलाई बचाउन सरकार लागेको भन्दै त्यस्तो नगर्ने चेतावनी समेत दिएको छ। त्यसैगरी कांग्रेसले बिहिबार संसद्‌मा भएको घटनाको जिम्मेवारी सभामुखको भएको निष्कर्ष निकालेको छ। सिंगो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद् अगाडि बढाउन नसक्ने परम्परा विपरित कार्य गरेको कांग्रेसले आरोप लगाएको छ। कांग्रेसले सभामुखलाई दलीय आवद्धता त्यागेर निष्पक्ष भएर बैठक सञ्चालन गर्न आग्रह समेत गरेको छ। नेता लेखकले बिहीबार प्रतिपक्ष संसदमा उभिएको बेला सत्ता पक्ष उठेर विरोध गर्नु संसदीय मर्यादा विपरीतको गतिविधि भएको बताए।

विपक्षी दललाई एकत्रित गरी सदन चल्न नदिने रणनीतिमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ।  त्यस लगत्तै कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठक जारी रहेको र त्यस लगत्तै जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरुलाई बैठकमा बोलाएको जानकारी दिए।  कांग्रेस प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको संयुक्त बैठक बसी संसद् अवरुद्ध गर्ने रणनीतिमा लागेको हो । बैठकले संसद् अवरुद्ध गर्ने संयुक्त उद्देश्य बनाउने छ । बैठक बिहान ११ बजे बोलाइएको छ। 

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा चौँथो पटक विश्वासको मत लिन लागेका हुन्।  प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले अवरुद्ध गरिरहेका बेला अचानक सत्तापक्षले विश्वासको मत लिने भएको हो। गत वैशाख २३ गते जनता समाजवादी पार्टी नेपाल जसपा विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।  सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार विश्वासको मतका लागि प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पत्र पठाइसकेको छ। सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहानलाई संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।  कांग्रेसले शुक्रबार बिहान ८ः ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिएको छ । बैठकमा संसद्‍मा भएको तनाव र नयाँ रणनीतिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगिको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसद्को अवरोध जारी राखेको छ ।

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले आज एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिएका हुन् । उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ मा लोकसभाको निर्वाचन हुने भएकोले शनिबारदेखि सोमबारसम्म ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रूपमा बन्द गरिने बताए । विज्ञप्तिमा रेल्वे सेवा जेठ ८ गतेदेखि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसको अवरोध कायमै रहने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ।बिहीबारको बैठकमा पनि प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजे बैठक बस्नेगरी स्थगित गरिएको थियो।  बिहीबार कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि  तनाव उत्पन्न भएको थियो ।आज पनि संसद्मा  अवरोध जारी रहने कांग्रेसले बताएको छ।  हिजोको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएको थियो।एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको हो।सत्तापक्षसँग प्रतिनिधिसभा बैठकमा बिहीबार मुठभेडको अवस्था सिर्जना भएपछि गत चैत ६ गतेदेखि गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा रहेको संलग्नता छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको कांग्रेस र सत्तापक्षबीचको दूरी झन् बढेर गएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन मागसहित संंसद् अवरोध गर्दै आएको छ।सभामुख देवराज घिमिरेले गृहमन्त्री रबि लामिछानेलाई संसद्मा बोल्न आग्रह गरेपनि प्रतिपक्षीले अवरोध गरेका थिए। यता गृहमन्त्रीले आफू संसद्मा बोल्न पाउनुपर्ने माग गर्दै आएका छन् ।  पछिल्लो समय संसद्को विवादमा दलहरूबीच सहमति हुन नसकेपछि यसले झनै उग्र रूप लिन लागेको छ । 

राष्ट्रियसभा बैठक आज बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः १५ बजेका लागि बोलाइएको छ ।  संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।  सार्वजनिक सम्भावित कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने, राष्ट्रपतिबाट भएको संबोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको संबोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, समिति सदस्यको नाम मनोनयन, अध्यादेश पेसलगायत ८ बुँदा छन् । 

युवा संघले जलायो देउवा र धनराज गुरुङको पुत्ला

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल धनुषाले जनकपुरधाममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति धनराज गुरुङको पुत्ला जलाएको छ । संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि काँग्रेस उपसभापति गुरुङले औला ठड्याएर दुर्व्यवहार गरेका थिए । सो घटनाको विरोधमा यूवासंघका कार्यकर्ताहरूले जनकपुरमा प्रदर्शन गरेका छन् । संघका केन्द्रीय नेता सञ्जीव झा ’सुरज’को नेतृत्वमा प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा संघका कार्यकर्ताहरूले काँग्रेस सभापति देउवा र उपसभापति गुरुङको पुत्ला जलाएका थिए । एमालेका केन्द्रीय सदस्य समेत रहेका झाले काँग्रेस संसदमा गुरुङले उद्दण्डता मच्चाएको बताए । उनले सामाजिक सञ्जालमा चेतावनी दिएका छन्, ‘प्रेत आत्माको भोटबाट जितेको धनराज गुरुङ आफ्नो हैसियतमा बसे हुन्छ । सदन होइन, सडकमै हिसाब किताब हुन्छ ।’

प्रतिनिधि सभामा धकेलाधकेल, बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठकमा तनाव सिर्जना भएको छ । सभामुख घिमिरेले नाराबाजीमै राष्ट्रपति कार्यालयको पत्र पढ्दै कार्यसूचीमा प्रवेश गरेका थिए । सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधकेल भएको हो। सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सम्बोधनका निम्ति बोलाएपछि आक्रमक बनेका विपक्षी कांग्रेसका सांसदहरुले एमाले अध्यक्ष केपी ओली, एमाले प्रमुख सचेतक महेश बर्तौला लगायतलाई धकेलेका थिए। ओली लगायत एमाले नेताहरु रविलाई रोष्ट्रमसम्म जाने बाटो बनाउन अघि सरेका थिए । कांग्रेसका उपसभापति तथा पूर्व मन्त्री धनराज गुरुङलगायतले लामिछानेलाई छेकेरा बाटो बन्द गरे।   सो लगत्तै सभामुख देवराज घिमिरेले संसद्को आजको बेठक स्थगित भएको घोषणा गरेका छन् ।

सदनमा कांग्रेसको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ। निर्धारित समयभन्दा दुई घण्टापछि बसेको बैठकमा कांग्रेसले अवरोध गरेको हो ।  बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरी अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको थियो । बैठक दुई घण्टापछि मात्रै बसेको हो ।  सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ । सत्तापक्ष लामिछानेलाई बोल्न दिएपछि मात्रै समिति बनाउने पक्षमा देखिएको छ । कांग्रेसका सांसदहरूले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग राख्दै सदनमा नाराबाजी गरेका छन् ।