आज सीता उत्पत्ति दिवस : रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै

काठमाडौँ । आज  वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । 

त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा  खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा वर्णन गरिएको  छ । प्राचीनकालदेखि नै सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीका रूपमा मनाउने गरिएको छ । 

भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न धार्मिक ग्रन्थमा उल्लेख  छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा पनि सम्मान गरिन्छ । 

जनकपुरमा जानकी नवमीको रौनक
सीता जयन्तीका अवसरमा जनकपुरको रामजानकी मन्दिरमा मेला लागेको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा जगत्जननी माता जानकीको जन्मोत्सव धुमधामका साथ मनाइँदै गरेको जनकपुरबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएका छन् । जानकी नवमीका अवसरमा जानकी मन्दिरलाई दुलहीझैँ सिँगारिएको छ ।यसै अवसरमा शुक्रबार मिथिलाञ्चलमा दीपावली गरिने छ। 

देशका विभिन्न भागका अतिरिक्त भारतबाट पनि श्रद्धालु भक्तजन जनकपुरधाम आएका छन् । साँझ ४ बजे जानकी मन्दिरको प्राङ्गणबाट जनकपुर नगरमा शोभायात्रा प्रारम्भ हुनेछ । जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवको नेतृत्वमा हुने शोभायात्रामा जनकपुरका विभिन्न मन्दिरका महन्थ, साधुसन्त तथा स्थानीयवासीको सहभागिता हुनेछ ।

हेर्नुहोस् बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ ३ गते बिहीबार सन् २०२४ मे १६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा र बिक्री दर १४४ रुपैयाँ ९६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०९ पैसा र बिक्री दर १६८ रुपैयाँ ८५ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

यस्तो हुनेछ आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले बागमती, गण्डकी  र कर्णाली प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राती भने कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। आज सूर्योदय बिहान ५ बजेर १४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४७ मिनेटमा हुनेछ ।

डिल्लीरामलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । डिल्लीराम खनाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीवी) राईको ‘हत्या’ भएको दाबी गर्ने खनाललाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टले उनलाई ५ हजार धरौटीमा छाड्न आदेश गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

गिरीबन्धु टी स्टेटको ७० बिघा जग्गा कांग्रेसले बचेर कमिसन खायो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले गिरीबन्धु टी(स्टेटको ७० बिघा जमिन कमिसन खाएर बेचेको आरोप लगाएका छन् ।संसदीय दलको बैठकलाई सम्बोधन गर्दै काँग्रेसले घरीघरी उठाउने प्रयास गरिरहेको यो विषयमा ७० बिघाको कुरा पनि समेट्न सुझाए । उनले भने, ‘काँग्रेसले एमालेको सन्दर्भमा टिप्पणी गर्दा ख्याल गरोस्, जुन गिरीबन्धु टी–स्टेटको कुरा छ, नेपाली काँग्रेसले एक पटक ५१ बिघा, अर्को पटक १९ बिघा कमिसन खाएर सट्टापट्टा गर्ने नाममा बिक्री गरेको छ । त्यही टी स्टेट पछि अदालतले नियम र ऐन बनाएर मात्रै यस्ता कामहरू अगाडि बढाउनु भनेपछि अदालतको आदेशबमोजिम हामीले ऐन बनाएका हौँ ।’उनले अदालतको आदेशपछि आफूले नियममात्रै बनाएको बताए। ओलीले भने, ‘त्यसको कार्यान्वयन भएको छैन । त्यो नियममा विभिन्न सर्तहरू राखिएको छ, ती सर्तहरू पूरा भएर यो ठाउँको जग्गा सट्टापट्टा गर्ने यो ठाउँको बिक्ने भनिएको पनि छैन । अदालतले अहिले पनि फैसला गर्दा हदभन्दा बढीको त्यो जग्गा दिन पाइँदैन भन्नुपर्‍यो नि ! दिन चाहिँ मिल्छ तर यसको अपरिपक्वता देखियो । हामी सम्मानित अदालतको सम्मान गर्छौँ । अदालतको फैसला मानेर कहिले जेल जीवन बिताएका छौँ, अन्यायपूर्ण फैसला भोगेर कहिले विभिन्न मुद्दा भोगेका छौँ, कहिले सरकारबाट हटेका छौँ तर, पनि हामीले अदालतको सम्मान गरेका छौँ । म आग्रह गर्छु, न्यायमूर्तिको कुर्सीमा बस्दा होस् वा अर्को काम गर्दा एक जना न्यायाधीशले रिटायर्ड भएपछि बालुवाटार त छावा हो त्यहाँ त हात्ती छ भन्नुभयो त्यो हात्तीको दुई वटा छावा बिक्री गरेको बेलामा श्रीमान् कहाँ हुनुहुन्थ्यो ?

नीति तथा कार्यक्रम आशा जगाउन सक्ने आएको छ : उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ल्याएको नीति तथा कार्यक्रम बजेटमा समावेश गर्न सके आशा जगाउने प्रक्रिया दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदनमा प्रस्तुत नीति तथा कार्यक्रम बजेटमा समावेश गर्न सके आशा जगाउने प्रतिक्रिया दिएका हुन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुतपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो प्रतिक्रिया दिएका हुन् । अध्यक्ष ढकालले नीति तथा कार्यक्रमका प्रतिवद्धता अनुसार सरकारले बजेट ल्याए निजी क्षेत्र सकारात्मक रहेको बताए । उनले नीति तथा कार्यक्रम राम्रो भए पनि सरकारले गर्ने कार्यान्वयनमा भर पर्नुपर्ने बताए। अध्यक्ष ढकालले सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गर्ने धेरै कार्यक्रमहरु ल्याएको बताए । उनले सरकारले नीति तथा कार्यक्रममा कृषि र उत्पादनलाई प्राथमिकता राखिनु सकारात्मक भएको बताए। उनले बजेटमा सम्बोधन गरी कार्यान्वयनमा लैजानसके आशा जगाउने खालको कार्यक्रम रहेको बताए। अध्यक्ष ढकालले सरकारले नीति तथा कार्यक्रमको प्रतिवद्धता र अर्थतन्त्रमा देखिएको शिथिलता हटाउने गरी अब बजेट आउनु पर्ने उल्लेख गर्नुभयो ।

सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने एमालेको निर्णय

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने भएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत लिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो । मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिँदै छन् । आज एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप पनि लगाएको छ । एमालेले विश्वासको मत दिने निर्णय गरेसँगै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने निश्चित भएको छ।विश्वासको मत दिए पनि एमालले सरकारमा भने तत्काल सहभागी नहुने जनाएको छ । २१ र २२ गते प्रदेशसभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको थियो।

सहकारी प्रक्ररणमा गृहमन्त्रीको संलग्नता छानबिनको माग गर्दै नेविसंघ सडकमा

काठमाडौँ । कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेकाले छानबिन समिति गठन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।  कांग्रेसले सोहि माग राखेर संसद अवरुद्ध गर्दै आइरहेका बेला भातृ संगठन पनि सडकमा उत्रिएको हो । प्रदर्शनमा नेविसंघले गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका प्ले कार्ड बोकेका थिए ।

सुरु भयो एमाले संसदीय दलको बैठक

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ।संघीय संसद् भवनको ल्होत्से हलमा बुधबार दिउँसो सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई सम्बोधन गर्नेछन्। सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा पेस गरेका छन् । उक्त नीति तथा कार्यक्रममाथि ६ दिनसम्म छलफल गरेर ९ जेठमा पारित गर्ने गरी संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ।संसदीय दलको बैठकमा एमाले महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्रीसमेत रहेका अर्थशास्त्री डा.युवराज खतिवडा पनि सहभागी भएका छन्।

अपांगता भएकाहरूको आन्दोलन

काठमाडौं ।  अपाङ्गता भएका व्यक्तिहरूले आन्दोलन गरेका छन्। उनीहरुले सरकारले गरेका सहमतिहरूको पालना नभएको भन्दै राजधानीको भृकुटीमण्डप  नजिकै मुख्य सडकमा प्रदर्शन गरेका हुन् ।  शान्तिबाटिकाबाट माइतीघरतर्फ आएका आन्दोलनकारीलाई प्रहरीले सडकमा छेकेर बल प्रयोग गर्दा ६ जना घाइते भएको अपाङ्गता भएका व्यक्ति संघर्ष समितिका प्रवक्ता गणेश केसीले जानकारी दिए । प्रहरीले बल प्रयोग गर्दा घाइते भएका ऋषि ढकाल, शर्मिला विश्वकर्मा, बेगबहादुर तामाङ, लक्ष्मण मगर, रमेश खड्का र गीता ढकालको बीर अस्पतालमा उपचार भइरहेको केसीले जानकारी दिए।  अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ मा सामुदायिक सहायता सेवाको व्यवस्था छ। सामुदायिक सहायता सेवा २०८१ वैशाख १ गतेबाट सुरुवात गर्ने सरकारसँग सहमति भएको थियो।  कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन दुई हप्ताभित्र तयार गरी पेस गरी कार्यान्वयनमा लैजाने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले प्रदर्शन गरेका हुन्। 

जसपा विभाजनसम्बन्धी रिट न्यायाधीश शर्माको इजलासमा सुनुवाई हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगको मान्यताविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ । उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलास पेसी तोकिएको छ । निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका थिए। जसपा नेपालमा भएको विभाजनपछि यादवको पार्टीमा १२ मध्ये ५ जना मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । यादवले सरकार छाडेर राई नेतृत्वको दल खारेजीको माग गर्दै अदालत गएका छन् । उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराएका हुन् । गत वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएर उक्त पार्टी सरकारमा समेत सहभागी भैसकेको छ ।

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।  बुधबार दिउँसो १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।  संघीय संसद्का दुवै सदनमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण संसद्ले धन्यवाद प्रस्ताव समेत पारित गर्न पाएन ।  काँग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई छानबिनको दायरामा ल्याउनुपर्ने र त्यसकालागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले छानबिन समिति गठन गर्न आवश्यक नभएको भन्दै अडान लिँदै आएका छन् । 

मेयर कप फुटबल : वाल्मिकी र दुर्रगा शेषकान्तले अंक बाँड्दा जनज्योति र किरण अमरजङ्गको जीत

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज तीन खेल सम्पन्न भएको छ ।  कृष्णपुरको मैदानमा भएको समूह डी को खेलमा जनज्योति माविले सनराईज ईंग्लिश बोर्डिङ स्कुललाई २-१ ले हरायो । जनज्योतिका विशाल गुरुङ म्यान अफ दि म्याच भए ।  यस्तै पटिहानीमा भएको समूह ई को खेलमा वाल्मिकी शिक्षा सदन र दुर्गा शेषकान्त माविले १-१ को बराबरी खेलेका छ । वाल्मिकीका सुदर्शन पन्तले दोस्रो हाफको १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।  तर दोस्रो हाफको अतिरिक्त समयमा सजन कार्कीले बराबरी गोल फर्काए । सजन म्यान अफ दि म्याच भए । बराबरीपछि दुबै टिमले एक(एक अंंक बाँँडेका छन् ।  उता शारदानगरमा भएको समूह एफ को खेलमा किरण अमरजङ्ग मावि विजयी भयो । किरण अमरजङ्गले अंकुरम एकेडमीविरुद्ध ४-० को सहज जित निकाल्यो । उसको जितमा समीर परियारले ह्याट्रिक गरे। यस्तै अभिषेक गुरुङले एक गोल थपे । समीरले खेलको १३, ४९ र ५२ औं मिनेटमा गोल गरे । अभिषेकले ६९ औं मिनेटमा गोल गरे । किरण अमरजङ्गका समीर म्यान अफ दि म्याच भए।  लिगमा बुधबार पहिलो चरणका अन्तिम तीन खेल हुनेछ । कृष्णपुरमा समूह डी का होलिभिजन ईङ्लिश स्कुल र नारायणी नमूना उच्च मावि तथा पटिहानीमा समूह ई का ब्राइटस्टार ईङ्लिश स्कुल र अमर मावि भिड्नेछन् । यस्तै शारदानगरमा समूह एफ का ग्रामोदय ईङ्लिश बोर्डिङ र हिमालय दण्डपाणि न्यौपाने मावि भिड्नेछन् ।

भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना

चितवन । भरतपुर अस्पतालमा नवनिर्मित रक्तसञ्चार केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको छ । केन्द्रको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर अस्पताल आउने विरामीलाई रगत पाउन झन्झटिलो प्रकृया अब भने अन्त्य भएर जाने विश्वास व्यक्त गरिन्। अस्पतालले रक्तसञ्चार केन्द्र स्थापना गर्ने जमर्को गरेकोमा खुसी व्यक्त गरिन्।आगामी दिनमा स्तरोन्ती गर्ने, सेवा विस्तार गर्ने योजना बनाउन जोड पनि दिइन्। भरतपुर मेडिकल सिटी भएकाले छिमेकी जिल्लालगायत भारतबाट पनि विरामी आउने भएकाले रगतको धेरै माग रहेकाले यो केन्द्रले रक्तसञ्चारको कामलाई थप व्यवस्थित गर्दै लैजाने उहाँले उल्लेख गरिन्।अहिले भरतपुर अस्पतालमा भइरेको पूर्वाधार विकास आशा लाग्दो ढङ्गबाट अगाडि बढिरहेको पनि उनको भनाई थियो । कार्यक्रममा भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेल, मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिरारी, नेपाल रेडक्रस सोसाईटी चितवनका अध्यक्ष हरि पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।   रक्तसञ्चार केन्द्र सञ्चालनमा आएसँगै भरतपुर अस्पताल उपचार गर्न आउने विरामीले सहजै रगत पाउने विश्वास गरिएको छ । अहिले २०० पोका भण्डार गर्ने क्षमतासहित सञ्चालनमा आएको केन्द्र अस्पतालको बी ब्लकमा रहेको छ । 

ट्वान्टी–२० विश्वकप : पहिलो अभ्यास खेलमा नेपाल चार विकेटले विजयी

काठमाडौं । ट्वान्टी–२० विश्वकपका निम्ति हाल वेस्ट इन्डिजमा तयारी गरिरहेको नेपाल पहिलो अभ्यास खेमा विन्डवार्ड्स भोल्कानोजविरुद्ध चार विकेटको विजयी भएको छ । मंगलबार भएको खेलमा भोल्कानोजले प्रस्तुत गरेको १९७ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । भुर्तेलले ४२ बलमा ७१ रन बनाए । यस्तै, दीपेन्द्रसिंह ऐरी २५ बलमा ५२ रन बनाएर अविजित रहे । भोल्कानोजका ल्री एडवार्डले तीन विकेट लिए । यस्तै, निक्लउस रेडहेडले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङमा आएको भोल्कानोजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९६ रनको योगफल खडा गरेको थियो ।भोल्कानोजका डालोन डगलासले ५० र ए अगस्टेले ४१ रन बनाएका थिए । नेपालका रोहितकुमार पौडेलले तीन र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

‘निःशुल्क सिपमूलक तालिम’ लिन ६८ हजार ८६६ जनाले दिए आवेदन

काठमाडौं । निःशुल्क सिपमूलक तालिम लिनका लागि काठमाडौं महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८६६ जनाको आवेदन दिएका छन्।  ​यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएको काठमाडौं महानगरले जनाएको छ।  २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा १० क्षेत्रका ३० वटा पेशासँग सम्बन्धित निःशुल्क तालिमका लागि ‘सिप मेला’ कार्यक्रमका लागि आवेदन आव्हान गरेको थियो । तालिमका कक्षाहरु वैशाख १९ गतेदेखि निरन्तर चलिरहेका छन्। ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत चालु आर्थिक बर्षमा १५ हजार व्यक्तिलाई निःशुल्क तालिम प्रदान गर्ने, यसरी तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आवद्ध गराउने लक्ष्य महानगरले लिएको छ ।  ‘आवेदकले अनलाइनबाट र कागजमा फाराम भरेर आवेदन दिनुभएको छ।’ सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने,  ‘यस्ता आवेदकहरुलाई नाम थर, मोवाइल नम्बर, नागरिकता नम्बर, ठेगाना जस्ता सूचकका आधारमा एकजनालाई एउटै मात्र तालिमका लागि छान्छौँ। यसमा १० क्षेत्रका ३५ भन्दा धेरै पेशासँग सम्बन्धित तालिम छन्।’ यस्तै ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिएका छन्। यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८८५ जनाले आवेदन दिए। जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका थिए।  सिप मेलाको अन्तिम २ दिन रोजगार मेला हुनेछ। यस दिन रोजगारदाताहरू स्टलमा आउने काठमाडौं महानगरले जनाएको छ।