गुल्मी बस दुर्घटनामा घाइते सहचालकको मृत्यु

गुल्मी । गुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए ।

कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा  उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका-१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते सबैको पाल्पामा उपचार भइरहेको छ । बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेर दुर्घटना भएको हो ।

सिंगापुरमा २० वर्षपछि नयाँ प्रधानमन्त्री

काठमाडौँ । सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । बुधबार एक विशेष समारोहबीच प्रधानमन्त्री लुङ र मन्त्रिपरिषद्का सदस्यहरूले शपथ लिए। उनलाई प्रधानन्यायाधीश सुन्दरेश मेननले शपथ दिलाएका थिए । शपथ ग्रहण समारोहमा थर्मन शनमुगरत्नमसमेत उपस्थित थिए । लरेन्स वोङ सिंगापुरका चौथो प्रधानमन्त्री हुन् । त्यस्तै उनी सिंगापुर स्वतन्त्र भएपछि जन्मिएका व्यक्तिबाट प्रधानमन्त्री हुने पनि पहिलो हुन् । वोङ सन् १९७२ मा जन्मिएका हुन् भने सिंगापुर सन् १९६५ मा स्वतन्त्र भएको थियो ।सिंगापुर एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय सञ्जीव रिजाल र सोही बस्ने सञ्जीव प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  लमजुङ, सुन्दरबजार नगरपालिका-७ छबिसे टोल बस्ने ४२ वर्षीय रामशरण सापकोटालाई अवैध लागूऔषध गाँजा ४ किलो ३ सय ५ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय सुन्दरबजार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ४ सय ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने ३१ वर्षीय दीपक बैजुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले बनेपाबाट पर्सा ठोरीतर्फ जाँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

शिक्षकको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ

कञ्चनपुर । बेलौरी नगरपालिका–६, विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३ वर्षीय लच्छी चन्दको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय महेश भण्डारी रहेका छन् । भण्डारीलाई सोही नगरपालिका–६, दुम्लीमा ट्याक्टरको ट्रलीको भुसाभित्र सुतेको अवस्थामा आज बिहान ४ बजे पक्राउ गरिएको हो । बुधबार साँझ ८ बजे घरतर्फ जाँदै गरेका बेला चन्दलाई ढुंगा प्रहार गरी भण्डारीले गम्भीर घाइते बनाएका थिए । घाइते भएका चन्दलाई तत्कालै बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारार्थ भर्ना गरिए पनि अवस्था गम्भीर हुँदा थप उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा लगिएको थियो । उपचारका क्रममै चन्दको निधन भएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न भण्डारी बैतडीको दोगडा केदार गाउँपालिका–४ का स्थानीय बासिन्दा रहेको बताइएको छ । उनी केही दिनदेखि बेलौरीमा बस्दै आएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धानको कार्य गरिरहेको छ । रासस

जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्यालाई विश्वब्यापी एजेण्डा बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जलवायु परिवर्तनको असरबाट नेपालले भोग्नुपरेका समस्यालाई विश्वब्यापी एजेण्डा बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन् ।  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सञ्चारिका समूहले नेपाली सञ्चारमाध्यममा वातावरण संरक्षणका विषय कसरी उठाउन सकिन्छ र यसको महिलासँग कस्तो अन्तरसम्बन्ध रहन्छ भन्ने विषयमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् । ‘जलवायु परिवर्तन ठूलो चुनौतीको रुपमा देखा परेको छ। यसले हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर पार्दै गएको छ। नेपाल जलवायु परिवर्तनको हिसाबले उच्च जोखिमयुक्त देश हो। हिमनदीहरू वर्षेनि खुम्चिँदै गएको र हिमताल फुटेर बाढी आउने सम्भावना बढ्दै गएको देखिन्छ’– मन्त्री शर्माले भने– ‘जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टि हुँदा प्राकृतिक विपदका घटना वर्षेनी बढ्दै गएका छन्, जसबाट जनधनको क्षति पनि बढिरहेको छ । यो अवस्थामाप्रति सबै पक्ष गम्भीर र संवेदनशील हुने बेला आएको छ।’ नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको संकटका कारण नेपालले मात्र होइन, यहाँबाट उत्पत्ति हुने पानीको स्रोतमा आधारित तल्लो तटीय क्षेत्रका करोडौं मानिसका लागि चुनौती थपिएको उल्लेख गर्दै उनले नेपालमा जलवायु परिवर्तनले ल्याउने संकटको पहिलो मार नेपालले खेप्नु परे पनि यो सिङ्गो तटीय क्षेत्रको साझा समस्या हो भन्ने तथ्यलाई स्थापित गरेर यसविरुद्धको लडाइँलाई विश्वब्यापी एजेण्डाकै रुपमा स्थापित गर्न नेपालसहित विश्वभरिका सञ्चारमाध्यमहरुले भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन्। यसका लागि नेपाल सरकारले विश्व समुदायसँग निरन्तर आह्वान गर्दै आएको र गत मंसिरमा यूएईको दुबईमा भएको संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलनमा भाग लिएर प्रधानमन्त्रीले नेपालको चासो र चिन्ता विश्व समुदायसमक्ष हकदाबीकै रुपमा प्रस्तुत पनि उनले स्मरण् गराइन्। ‘जलवायु परिवर्तनका लागि कार्बन उत्पादनमा नेपालको योगदान छैन तर अन्य मुलुकहरूले गरेको कार्बन उत्सर्जनका कारणले गर्दा जलवायु परिवर्तनको समस्याबाट सबैभन्दा बढी पीडित नेपाल बन्नुपरिरहेको छ’– मन्त्री शर्माले भनिन्– ‘अन्य औद्योगिक मुलुकका कारण सिर्जित समस्याबाट हामीले पीडा भोग्ने र त्यसको कुनै क्षतिपूर्ति नपाउने अवस्थाको अन्त्य हुनुपर्छ भनेर नेपाले विश्व मञ्चमा दृढतापूर्वक आवाज उठाएको छ।’ जलवायु परिवर्तनका प्रतिकूल असरहरूबाट बच्न तथा त्यसको सामना गर्न स्थापना गरिएका विभिन्न कोषबाट नेपाललगायत कम विकसित मुलुकहरूले लाभ पाउनुपर्ने उललेख गर्दै उनले भनिन्– ‘यो हाम्रो याचना होइन, न्यायसंगत हक दाबी हो भनेर सरकारले प्रष्टताका साथ अघि सारेको छ। अब हामीले आर्थिक कूटनीतिमा जलवायु कूटनीतिलाई महत्वपूर्ण अङ्गको रुपमा स्थापित गरेर लैजानुपर्ने छ, त्यसका लागि आवश्यक वातावरण बनाउन पनि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहनेछ।’ जलवायु परिवर्तनले सिर्जना गरेका संकटबाट बच्न खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यहरुले सूचना र शिक्षा दुबै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उल्लेख गदै उनले विपद् पूर्वका सूचना प्रवाह गर्नेदेखि जोखिम विश्लेषण लगायतका कार्यमा सञ्चारमाध्यमहरुले भूमिका बढाउनुपर्ने बेला आएको छ। जोखिमको ज्ञान र जोखिमको अनुगमन तथा तथ्यांक विश्लेषण, जोखिमको सूचना प्रवाह, क्षमता अभिवृद्धि र प्रतिकार्यमा केन्द्रित भएर आम नागरिकलाई सचेत बनाउने कार्यमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताइन्।  यसका लागि सञ्चारमाध्यमहरुलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले सरकारले जलवायु परिवर्नतसम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरेको र यसकै आधारमा रहेर हामीले समग्र प्रचारप्रचारको नीति र आवश्यक संयन्त्र बनाउनुपर्ने आवश्यकता रहेको बताइन्। जलवायु परिवर्तनले सिर्जना गर्ने सामाजिक विभेदलाई न्यून गर्न पनि आम सञ्चार क्षेत्रको ध्यान जाने विश्वास व्यक्त गरिन्।

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ। कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।  प्रदेश प्रमुखले चौथो अधिवेशन आह्वान गरेसँगै आज कर्णाली प्रदेशसभा सचिवालयले कर्णाली प्रदेश नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठकमा उपस्थित हुन सम्पूर्ण प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचना गरेको छ। उक्त बैठक प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रित हुने जनाइएको छ। रासस

सवारी दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते

हेटौँडा । मकवानपुरको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।मकवानपुरको वाग्मती गाउँपालिका–४, सादेपुलस्थित धरान–चतरा सडकखण्डमा बुधबार राति ना६६प ९३०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा उपमहानरपालिका–१३, का ४५ वर्षीय केशवप्रसाद मुडवरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका मुडवरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।   घटनास्थलबाट तीन किलोमिटर उत्तर भोर्लेनीबाट काभ्रेको तालढुंगा जाने भित्री सडकमा ना७त २२५९ नम्बरको रड लोड गरी रोकिराखेको ट्याक्टरमा  मोटरसाइकल ठोक्किएर दुर्घटना भएको आश‌का गरिएको उनले बताए।घटनाबारे थप अनुसन्धानका लागि ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। त्यस्तै, हेटौँडा–५, बाँनिया टोलस्थित सडकमा गत वैशाख २७ गते भएको सवारी दुर्घटनामा परी घाइते चालकको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका हेटौँडा–५, शान्तिनगर निवासी ५२ वर्षीय लालबहादुर वाइबाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ। बाप्र०३–००१ त ३१८ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक वाइबा घाइते भएका थिए। फर्पिङ–कुलेखानी सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१, मार्खमा बिहीबार भ्यान दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन्।  काठमाडौँबाट मार्खुतर्फ आउँदै गरेको बा६च १२४ नम्बरको भ्यान आफैँ अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खेतमा खस्दा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। उनका अनुसार घाइते सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ। रासस

भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि उल्लेखीय सुधार भएको छ :  प्रमुख रेनु दाहाल

चितवन। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि त्यही अनुपातमा विकास भएको बताएकी छन् । बिहीबार भरतपुर ७ मा निर्मित प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्थाको ३ तले भवन उद्घाटन कार्यक्रममा उहाँले कृषि क्षेत्रमा भएको विकासले यहाँको उत्पादनमा पनि क्रमशः वृद्धि हुँदै गइरहेको उल्लेख गरिन् । भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक दूधमा अनुदान दिन सुरुवात गरेको भन्दै उनले कृषिका अन्य पूर्वाधार निर्माणमा महानगरपालिकाले चासो दिदै आइरहेको बताइन्। भरतपुरले दुग्ध कृषकलाई २५ पैसाबाट अनुदान सुरु सरी हाल ३ रुपैयाँ पुराएको छ। यसबाट १० हजार कृषक लाभान्वित भएका छन् ।‘भरतपुरमा दैनिक १ लाख लिटर दूध उत्पादन हुन्छ, उनले भनिन्,‘ ५० हजार लिटर दूध भरतपुरमै खपत हुन्छ। ५० हजार बाहिरी जिल्लामा निर्यात गर्ने गरेको तथ्याङ्क छ। भरतपुर दूधमा अत्मनिर्भर छ।’ महानगरपालिका प्रमुख दाहालले अबको नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिन लागेको उल्लेख गरिन्। उत्पादन भनेको कृषि हो, यो सँगै सौन्दर्यकरण, सरसफाईलाई जोड दिइएको छ–उनले भनिन्। प्रमुख दाहालले भरतपुर महानगरले कृषि साझेदारी कार्यक्रमलाई जोड दिदै कृषकलाई विभिन्न किसिमका यन्त्र उपकरणहरु प्रदान गरिएको बताइन्। साझेदारीमार्फत ट्याक्टर, मिल्क ऐनालाईजर,हार्भेस्टर लगायतका उपकरणमा महानगरले साझेदारी गरेको उनको भनाई छ । कृषि क्षेत्रलाई थप सुधार गर्न यस वर्षको नीति तथा कार्यक्रममा अघिल्लो वर्षमा छुटेका महत्वपूर्ण कार्यक्रमहरु ल्याइने उनको भनाई थियो।भरतपुरमा भूमिगत सिँचाईमार्फत ७ हजार विघामा सिंचित भइरहेको र नारायणी लिफ्ट सिँचाईलाई १२ महिना सञ्चालन गर्न महानगरले बजेट विनियोजन गरी काम अघि बढाउने उनको भनाई छ । प्रेमवस्ती कृषि सहकारीले दैनिक १ हजार लिटर दूध संकलन गर्दै आइरहेको छ भने आफ्नै फर्म सञ्चालन गर्दै आइरहेको छ । आगामी साउनदेखि दैनिक ५० हजार लिटरको विकास पाउडर दूध उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, वडा नम्बर ८ का अध्यक्ष जीवनाथ कँडेल, बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहाल अविनासलगायतले धारणा राखेका थिए ।कार्यक्रममा संस्थाका अध्यक्ष आन्नद प्रसाद न्युरेको अध्यक्षतामा भएको थियो ।  

दिउँसो ४ बजेका लागि सारियो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो ४ बजेका लागि सारिएको छ ।  सत्तारूढ दलको बैठकसहित तयारी आवश्यक हुने भन्दै प्रधानमन्त्रीले बैठक सार्ने निर्णय गरेपछि सभामुखले दिउँसो ४ बजेसम्म बैठक स्थगितको सूचना निकाल्न सचिवालयलाई निर्देशन दिएका थिए । सचिवालयले सूचना जारी गर्दै बैठक सारेको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख देवराज घिमिरेलाई फोन गरी बैठक पछि सार्न आग्रह गरेका थिए ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको संलग्नासहित सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति माग गर्दै आएको छ। अघिल्लो अधिवशेनबाटै कांग्रेसले संसदीय समिति माग गरेकोमा सत्तापक्षले टार्दै आएको छ। 

राजासँग नडराएको कांग्रेस ओलीका धम्कीले कांग्रेस डराउँदैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कुनै पनि राजनीतिक दलले नेपाली कांग्रेसलाई धम्क्याउन नसक्ने बताए। उनले राजाको धम्कीबाट कांग्रेस नडराएको भन्दै अहिले कुनै पनि राजनीतिक दलको धम्कीबाट नडराउने बताए। बुधवार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै नेपाली कांग्रेस लक्षित चेतावनी दिएका छन्।  सोही विषयलाई लिएर नेता कोइरालाले कांग्रेस कुनै पनि राजनीतिक दलको धम्कीबाट नडराउने बताए। उनले देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको बताए। उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो धारणा राख्न दिने तर कांग्रेसलाई चित्त नबुझे कांग्रेसले आफ्नो कुरा राख्ने भन्दा सत्तारुढ दलहरू नमानेको आरोप लगाए। उनले सहकारी प्रकरणमा बारम्बार नाम जोडिएपछि संसदीय छानबिन समिति बन्नुपर्छ भन्दा सत्तारुढ दलहरू नमान्नुले गम्भीर प्रकृतिको विषय बनेको बताए। नेता कोइरालाले यही प्रणालीमा संसदीय व्यवस्थालाई नै व्यवस्थित बनाउनेबारे सोच्नुपर्ने भन्दै प्रत्यक्ष कार्यकारी प्रणालीमा जानु नहुने बताए। उनले राजनीतिक स्थायित्वपछि मात्रै आर्थिक र राजनीतिक विकास हुने बताए। नेकपा एमाले संविधानको धारा ७६ को उपधारा ३ मा जान खोजिरहेको आरोप लगाए। नेकपा एमाले संसद विघटन गर्न र यसअघिको संसद विघटन सही भएको पुष्टि गर्ने पक्षमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहेको आरोप लगाए। उनले अर्को फरक प्रसंगमा जनता समाजवादी पार्टी, नेपाल फुटेको नभइ फुटाइएको बताए। 

कांग्रेस र नाउपाका सांसदले रोष्ट्रम घेरेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

काठमाडौं । प्रतिपक्षको नाराबाजीपछि सुदुरपश्चिम प्रदेश सभा बैठक आधा घण्टाको लागि स्थगित भएको छ।  मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ती पार्टीको रेशम चौधरी पक्षधर सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेपछि सभाभुख भीम भण्डारीले बैठक आधा घण्टाको लागि बैठक स्थगित गरेका हुन्। नागरिक उन्मुक्ति पार्टीकी समानुपातिक सांसद इन्दिरा गिरीलाई असंवैधानिक रुपमा गरेको कारबाहीलाई सभामुख सदर गरेको र प्रदेश सरकार गठनका सन्दर्भमा प्रदेश प्रमुख नजिर मियाले असंवैधानिक काम गरेको भन्दै उनीहरुले नाराबाजी गरेका थिए। 

नेकपा एसको महाधिवेशनमा साझा दस्ताबेज पेस हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले आगामी महाधिवेशनमा साझा दस्ताबेज पेस गर्ने निर्णय गरेको छ । पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरुले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउन सिफारिस गरेको केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए। पार्टीको अब बस्ने सचिवालय बैठकले चार वटा प्रतिवेदनलाई अनुमोदन गरेपछि त्यसलाई एकमात्र साझा दस्ताबेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिने छ। आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन पनि दिएको छ। गत वैशाख ३१ गतेसम्म प्राप्त सदस्यको नामावलीलाई अनुमोदन गरेको पार्टीले यही जेठ १० गतेसम्म नयाँ र पुरानो सङ्गठित सदस्यको विवरण अद्यावधिक गर्न समय तोकेको छ। आगामी असार पहिलो साताभित्र महाधिवेशन प्रतिनिधि छनोट गरिने जनाइएको छ।

सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ।आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ।बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ कायम भएको छ। हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।

पूर्वराष्ट्रपति भण्डारीद्धारा मदन भण्डारीको शालिकमा माल्यार्पण

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मदन भण्डारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छिन्। ३१ औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगर पुगी उनले श्रद्धाञ्जली अर्पण गरेकी हुन्। स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलगायत नेता उपस्थित थिए।  सो अवसरमा नेता-कार्यकर्ताले पनि मदन भण्डारीको शालिकमा माल्यार्पण गरे। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो।  यही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ। मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ। 

गृहमन्त्री लामिछानेद्धारा त्रिभुवन विमानस्थलको अनुगमन

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गरेका छन्। आज बिहान उनले प्रस्थान, आगमन कक्ष, बोर्डिङ काउन्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेका हुन् ।  सो क्रममा गृहमन्त्री लामिछानेलाई विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखले आ–आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य प्रणाली र समस्याबारे अवगत गराए। मन्त्री लामिछानेले यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशीलता, अध्यागमनलाई थप प्रविधिमैत्री बनाउन गर्नुपर्ने काम र अध्यागमनका कर्मचारीको ड्युडी रोष्टर प्रणालीबारे विशेष चासो व्यक्त गरेका थिए। उनले बिदाइ गर्न जानेका कारण विमानस्थल क्षेत्रमा बढेको घुइँचो न्यूनीकरणबारे पनि चासो राखेका थिए ।  सो क्रममा मन्त्री लामिछानेले आगमन र प्रस्थान कक्षको सौन्दर्यकरणमा पनि ध्यान दिन निर्देशन दिए। उनले विमानस्थललाई उच्चतम प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिँदै त्यसतर्फ ध्यान दिइने पनि बताए । 

आजदेखि यी स्थानमा दैनिक ६ घण्टा बिजुली नआउने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा चार दिन ६ घण्टा बिजुली कटौती हुने भएको छ।  नेपाल विद्युत् प्राधिकरणको पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना, खटिपारीका अनुसार जेठ ३, ५, ६ र ८ गते बिहान ११ बजे देखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।  रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहीबार नयाँबजार, खुसिब, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। शुक्रबार सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल टेक, पुष्पलाल पार्क, ढल्कु क्षेत्रपाटी चोक, धोबीचौर, ठहिटी, पकनाजोल, ज्याठा र कान्तिपथ क्षेत्रमा बिजुली कटौती हुनेछ।  त्यस्तै जेठ ६ गते काष्ठमण्डप भीमसेनस्थान १२ नं वडा कार्यालय, ह्युमत, जैसीदेवल र चिगमंगल तथा ८ गते भीमसेनस्थान, काष्ठमण्डप त्रिपुरेश्वर टेक, पचली भैरव मन्दिर, बम्सीघाट, सबलबहाल र त्रिपुरेश्वर, विश्व निकेतन स्कुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।