पूर्वराष्ट्रपति भण्डारीद्धारा मदन भण्डारीको शालिकमा माल्यार्पण
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मदन भण्डारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छिन्।
३१ औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगर पुगी उनले श्रद्धाञ्जली अर्पण गरेकी हुन्। स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलगायत नेता उपस्थित थिए।
सो अवसरमा नेता-कार्यकर्ताले पनि मदन भण्डारीको शालिकमा माल्यार्पण गरे।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो।
यही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ। मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ।
तिहारको रौनक बढ्दै, घरघरमा गरियो लक्ष्मी पूजा
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ। यसै आधारमा बिहीबार बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। यस पर्वलाई दीपमालिका भनिन्छ। लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो। लक्ष्मी पूजाका लागि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।
दशरथ रंगशालामा नेपाल र बंगलादेशबिच साफ महिला च्याम्पियनसिप जारी
काठमाडौं । दशरथ रंगशालामा नेपाल र बंगलादेशबिच हुने साफ महिला च्याम्पियनसिप जारी छ । दुई देश बीचको उपाधि भिडन्त हेर्न दर्शकको बाक्लो उपस्थिति छ। जारी खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।
बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको नाम बेल्जियमका लागि राजदूतमा अनुमोदन गरेको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम नाम सर्वसम्मतले अनुमोदन गरेको हो । बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गर्नेरनगर्ने विषयमा सुनुवाइ गरेको थियो। उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भइसकेकी लम्साललाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।
आज काग तिहार
काठमाडौं । आज काग तिहार । घरघरमा कागको पूजा गरी मनाइँदै छ । कागलाई सन्देशवाहक पक्षीको रूपमा पूजा गर्ने चलन रहेको छ । काग करायो भने केही सन्देश या पाहुना आउने मान्यता रहेको छ । आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने हिन्दुहरुमा चलन रहि आएको छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धार्मिक क्षेत्रका विद्धानहरु बताउछन् ।