अमर तुम्याहाङको कथा : तिरोहित विश्वास
[ एक ]
ठूलो तीनतले घर, उत्रै पाली । घर र पाली वारिपरि बार्दली, बार्दलीभरि फूलका गमला । गमलामा थरिथरिका फूलहरू । फूलमाथि लुकामारी खेल्दैछन् माहुरी र पुतलीहरू । घरमुनि बाटो । बाटामुनि बारीका ठूल्ठूला गरा, त्यसपछि खेत, खेत त स–सानो मैदान नै हो । साँच्चि गाउँकै मुटु हो यो खेतवारी । यी बारी र जग्गा अन्नको भकारी नै ठान्छन् गाउँलेहरू । अनि त्यो घर र पाली, स्वर्गको टुक्रा नै हो भन्दा बात नलाग्ला ।
येहाङ र येमा, यही ऐश्वर्यवान् घरबारका मालिक हुन् । उनीहरुको एकजना तन्नेरी छोरो छ–अमुहाङ । अनि कलकलाउँदी इक्साचाहिँ अमुहाङको बहिनी हुन् ।
हेर्दा यो घर सुखको सुन्दर फूलबारी जस्तै छ । यो घरको सम्पन्नता देखेर गाउँलेहरू जीब्रो टोक्छन्, ‘पैसाले पैसा कमाउँदोरै’छ, प्रतिष्ठाले प्रतिष्ठा बढाउँदो रै’छ ।’ साँच्ची उनीहरुसँग के छैन र ! अन्न अन्नभण्डारभरि छ, पैसा पुग्दो छ । काम गर्ने गोठालाखेताला छन्, गाउँलेहरू सघाउपघाउ पनि उसरी नै गरिरहेका छन् । खाँट्टी भन्ने हो त यो घरले सिङ्गो गाउँलाई नै थामेको छ ।
मुक्कुम्लुङ पाठशालाको जेहेन्दार विद्यार्थी हो अमु । ऊ पढाइमा सबैभन्दा क्षमतावान् छ । गुरु र आदरणाीय मानिसहरुलाई आदर गर्ने र आफूभन्दा सानालाई सा¥है माया गर्ने विद्यार्थी भनेर गाउँभरि कहलिएको छ ।
एकदिन, दुई दिन, एकमहिना, दुई महिना हुँदै समय फुत्किरहेको थियो । मुक्कुम्लुङ पाठशालामा एक नयाँ छात्रा आइपुगिन् । अग्ली जिउडालकी, जूनजस्तै ज्वाज्वल्यमान चेहरा, सुडौला नाक र ठूल्ठूला अनि सुन्दरताले भरिएका आँखा । अमुहाङले यस्तो सुन्दरताले भरिएकी छात्रा जीवनमा कहिल्यै देखेको थिएन ।

नुमा खोलापारि तेखादेनकी हुन्, अमु खोलावारि साङसाङदेनको । अमु र नुमा एउटै कक्षामा पढ्ने सहपाठी भएकाले आफूले नजानेका एकअर्कामा सोधासोध गर्ने र सिक्ने सिलसिला चल्दै गयो । नुमा र अमु विस्तारै तन्नेरी र तरुनीमा बदलिए, उनीहरू धाननाचे, एकआपसमा माया बाँडे–एकअर्काका प्रेमी भए, समयसँगै एकबिना अर्का बाँच्नै नसक्ने प्रेमबन्धनमा परे ।
एकदिन छहारीमा बसिरहेको बेला नुमाले अमुतिर फर्केर भनी, ‘नसम्झूँ भन्छु र नि हजुर मात्र मनमा झल्लीझली आउनुहुन्छ, सपनीमा पनि देख्छु हजुरलाई मात्र । हजुरबिना त बाँच्न सक्दिन होला…’
यस्तो कुराले नुमाको प्रेममा डुबिसकेको अमुको पनि मुटु ढुकढुक भयो, नुमासँग छुट्टिनुपर्दा उसको मन कति रुन्छ त्यो त उसको अनुहारमा दुरुस्तै उत्रेको थियो । औँलामा खेलाइरहेको सिन्काले भूइँ कोट्याउँदै सुँक्कसुँक्क अमु बोल्यो, ‘म दुःखी नि त हजुर बिना कहाँ बाँच्न सक्छु र !’
नुमा अनुहार भूइँतिर गाडेर झार चुँडाल्दै सुस्तरी बोली, ‘अमु हामी कुनतकसम्म यसरी सेमेक्वाचरी झैँ एक्लाएक्लै बाँच्ने हो….?’
नुमालाई सुनेर शीर ठाडो पा¥यो अमुले, ढाकाको टोपी दुई हातले मिलायो, ‘बूढापाकाहरू ‘चिहान मिच्ने घर, साइनो थिच्ने विहे’ भन्छन् । त्यसो हो भने अब म बुबाआमालाई हाम्रो विहेको कुरा बिसाउँछु है ।’
‘पक्का हो !’ नुमा खुशीले आँखीभौ उचालेर उन्मुक्त नजरमा मुसुक्क मुस्कुराई ।
[ दुई ]
रातलाई लखेट्दै विस्तारै उषाले पाइला टेक्यो, शुक्रतारा अलपियो । मङ्सिर महिनाको आजको दिन अर्कै छ । आकाशमा बादल छैन, धर्तीमा तुवाँलो छैन, सिङ्गारिएको अमुको घरको पछिल्तिर माथि हिमश्रृङ्खला चाँदी नै हार्नेगरी कञ्चन देखिन्छ । डेरामुनि सुनफूलले लेपन गरिएका लोकन्दीहरु गाउँका तन्नेरीहरूको स्वागत, उठौनीबसौनी, खानपिन अनि धाननाच्न उभिनेवित्तिकै साउँदोपुस्तो पालाम हा कि हा गाउँदै धाननाचको अनन्त फन्को मार्दैछन् । ‘तरुनीबेगरको के तन्नेरी, तन्नेरीविनाको के तरुनी’ भनेको साँच्चै पो हो कि के हो !’ सोरेक्या बूढा दिल्लगी गर्दै डेरायताउता कुदिबस्छ । लोकन्ती तुम्याहाङ्माहरुको भीडमा घुम्टोमा मोहोरिएकी नुमा डेरामुनि बालिएको आगोको धुनि टाढाबाट ताप्दैछिन् । यत्तिकैमा घामले विस्तारै पाइला हाल्छ । घाम फक्ताङलुङ (कुम्भकर्ण), मुक्कुम्लुङ, सिदिङ्बा पर्वतहरू टेक्दै लुङचेलेङ डाँडा हुँदै साङसाङदेन गाउँमा आइपुग्यो ।
एकपल्ट फेरि बन्दुकहरू पड्के, दमाइहरुले सनहाइ र नरसिङ्गा बजाउन थाले, च्याब्रुङ नाच नाच्न थालियो, कामदारीहरु तोङ्बा र थरिथरिका परिकार लिएर डेरामा लोकन्तीहरुलाई टक्राउन आइपुगे । सँगै बुढापाकाहरु बिन्ती बिसाउँदै आइपुगे ः फक्ताङलुङजस्तै महान कुटुम्बहरू ! सेसेलुङजस्तै झलाद्मी कुटुम्बहरू ! भावीले लेखेर, साइनोसम्बन्धले बेरिएर, माछाका भूरा झैँ झुरुप्पै भेलिँदा, हाम्रो हातको मीठोनमिठो टक्रायौँ है ! ए सिस्नुको रुख चढ्न नसकिने, गरिबीलाई लुकाउन नसकिने, हामी निमुखाले साउँदोपुस्तो अभिनन्दन टक्रायौँ है !’ उत्तरमा लोकन्दीसमूहकी मूली बूढीले जवाफ दिइन् ः लाछिएर बाँड्युँला नि, विन्तीले छाड्युँला नि, अभिनन्दन लिन त लायक नभए नि, सम्धीसम्धिनीहरुले यसरी टक्राएको कोसेली देउभोजनसमान पवित्र मानुङ्ला न….।
कलिलो घाम तन्नेरी पुग्दै गयो । गाउँका छरछिमेकी र निम्तालुहरु जम्मा हुँदै गए । च्याब्रुङको घन्केको आवाजले साङसाङदेन गाउँ नै ‘टिनिनि…’ गुञ्जिरह्यो । खानाभान्सा पकाउने काम धमाधम हुँदै थियो । गाउँका तन्नेरीहरू लोकन्दीहरुसँग ख्याली गाउँदै, रेला, हँसिमजाक गर्दै धाननाचिरहेका छन् । गाउँका युवा, बच्चा, बूढाबूढी आ–आफ्नै हुल बाँधेर बेहुलीको चियो गर्दै डेरामा यताउता गरिरहेका छन् । कतिले त येहाङ र येमाले बुहारीचाहिँ सुनकै पाएछन् भनेको पनि सुनिन्छ । ‘बेहुला र बेहुलीलाई त भावीले साँच्चि नै मिलाइदिएको रैछ, होइन, दुइजनै कति राम्रा राम्री हौ !’ कुरा गर्छन् । आज येहाङ र येमाको समृद्धिले गाउँनै भरिपूर्ण छ ।
इ, अब यत्तिकै बेहुली लुकाउने समय पनि आयो । लोकन्दीहरुले बेहुली नुमालाई लुकाउन पश्चिमपट्टिको याङसिङबुङ डाँडातिर लगे, माइतीहरुले पुनः बन्दुक पड्काउन तयारी गर्न थाले । लोक्कन्दीहरुले नुमालाई सारी र सुनफूल लगाइदिए, झिलिमिलि टल्कने बर्को ओढाए, बर्कोभित्रकी फूल नुमाको अनुहार सुन्दरताले विछट्टै लिपिएकी देखिन्थ्यो ।
उता बेहुलालाई घोडामाथि राखेर झयाइँझयाइँ च्याब्रुङ बाजासँगै ड्याङ ड्याङ बन्दुक पड्काउँदै बेहुली लिन ल्याइँदैथियो । बेहुलाको पहिरन सेतो वश्त्रजस्तै देखिन्थ्यो, तागा जस्तै पनि देखिन्थ्यो, तर यै हो खुट्याउन गा¥हो थियो । उसको शीरमा त टोपी होइन कालिजको सिउर सिउरिएर बनाएको राजाको श्रीपेच पहिराइएको थियो । ठूलो तर सुललित अनुहार, काँक्राजस्तै लाम्चो नाक, फराकिलो निधारमा सेतो अक्षताटिका । जरायोको जस्तो काँध । साँच्ची भने हो भने राजकुमारसमान अमुहाङ । बेहुली लिन बेहुला ल्याउने ताँतीको अघि नौमति बजाउनेहरु, त्यसपछि च्याब्रुङ बजाउनेहरु, तेश्रो पङ्तिमा दायाँ र बायाँ काँसको थालमाथि सेतो अक्षता र फूल, धपधप बलिरहेको दियो बत्ती र फूलको कलश बोकेका दुई जना कन्याहरु । उनीहरुको पछि बेहुलालाई छाता ओढाइरहेको लोकन्दे, लगत्तै बुढापाका, त्यसपछि त आँखाले नभ्याउने आइमाइ, केटाकेटी, युवा युवती, बन्दुकेहरु । सप्पैजनाको अटुन ताँती बेहुली लिन आउँदै थियो ।
त्यो ताँती याङसिङबुङ डाँडामा बेहुली लुकाउने लोकन्दीहरुको समूह छेऊमा पुग्यो, बाजा र च्याब्रुङ बजाउनेहरु एकापट्टि छुट्टिए । बेहुला बेहुली भएको समूहभित्र छि¥यो । त्यसपछि बेहुलाले लोकन्दीले घेरिएकी बेहुली नुमालाई टिका लगाइदियो, नुमाले पनि अमुलाई फूलमाला लगाइदिई, अनि आफ्नो हृदयभित्रको आफ्नो राजकुमारलाई खुट्टामा ढोगी । गोलाकार उभिएका सप्पैजनाले खुशीयालीमा जयजयकार गरे । बन्दुकहरु पनि त्यसक्षणमा ‘डुङ डुङ’ जोरजोर पड्के, च्याब्रुङ र अरु बाजाहरु ‘टिनिना… टिनिना…’ बजे । यसपछि बेहुली नुमालाई घोडामाथि राखियो, बेहुलीको पछि बेहुलालाई राखियो र जसरी एउटै लयमा नदीमा माछाका भूराले यात्रा तय गर्छन् त्यसरी नै विहे–जन्ती घरतिर अगाडि बढ्यो ।
विवाहका सप्पै रीतहरु सकियो, भोलिपल्ट बेहुलीको घरमा बेहुलाको घरपट्टिबाट लोकन्ती र रीत पु¥याउने जाने दिन थियो । अमुका दौँतरीहरु भरियाका लागि तयार थिए । भरियाहरुको माझबाट नाङजङ बोल्यो, ‘अमु एउटा कुरा सोधुँ ?’
अमु बोल्यो, ‘के कुरा हो ! सोध न ।’ नाङजङलाई चुप लगाउँदै आजिबुङ जेठा बोल्यो, ‘मैले बोकेको सेराङको नाम के हो ?’
अमुले सोझै भन्यो, ‘विवाहको सेराङ ।’
झट्ट माराम जेठाले भन्यो, ‘लु भन साथी, विवाहको सेराङले साटेको के हो ?’
सप्पै लब्राहरु गललल हाँसे, अमुको अनुहार त लाजले लालीगुराँशजस्तै रातो भयो । त्यतिबेलासम्ममा लोक्कन्दीहरु र केही भरिया फुङफुङ गाउँको चौतारामा पुगिसकेको थिए ।
[ तिन ]
येहाङको घर आजकल अघिभन्दा चिरिच्याट्ट देखिन्छ । नदेखियोस् पनि कसरी, नुमाले पहिलो भालेको डाकमै कुचो लगाउँछिन्, आँगन बडार्छिन्, घर लिपपोत गर्छिन्, भाँडाकुडा माझ्छिन् । लुगा धुन्छिन् । सप्पै कामहरु पालैपालो गरिसक्छिन् । येमाले पनि आजकल कामबाट सुविस्ता पाएकी छिन् । घरको गोठाला काक्लिकेले पनि आराम गर्न पाएको छ ।
‘नुमा सा¥है लच्छिनकी रै’छे । कल्ले के खान्छ, के पिउँछ, के दिनुपर्छ, के दिनुपर्दैन, अनि कसरी बोल्नुपर्छ, कसरी बोल्नुहुँदैन सप्पै जान्दछे ।’ येमाले येहाङलाई भन्यो, ‘यस्ती राम्री बुहारी पाएर कति गर्व लागेको छ।’ येहाङले जुँगा मुसार्दै बोल्यो, ‘कस्को बुहारी हो, त्यो पनि सोच न।’
‘बाटो पहिल्याउनु नभुली’ भन्ने उखानजस्तै नुमाले एक्लै घरबार, सुँगुर कुखुरा, गाइबस्तु सप्पै थामेको देखेर गाउँलेहरु अचम्म छन् । सप्पैको मुखमा एउटै कुरा थियो, ‘नामजस्तै साँच्चि नुमा त नुमा (लच्छिन) रै’छिन् ।’
सप्पैले मनपराएको देखेर अमुले नुमालाई अङ्गालो हालेर फुक्र्याउँदे भन्यो, ‘नुमा ! मेरो सौभाग्य तिम्रो लोग्ने हुन पाउनु, म कति खुशी छु ।’ परबाट नाक्लिक्के घाँसको भारी बोकेर आउँदै गरेको देखेर लजाउँदै अमुको हात हटाई नुमाले, ‘हो त नि ! मुखले त भन्नै प¥यो..।’
नाक्लिकेको नाम मात्रै नाक्लिके, मान्छे त खाइलाग्दो । कालो वर्णको भए पनि सुहाउँदिलो । येहाङको घरमा सानो हुँदै आएको काम गर्न । यो घरले नाक्लिकेलाई विश्वास र माया बराबर गरेको छ ।
[ चार ]
विहे भएको पनि चार–पाँच वर्ष भइसक्यो । नुमा कोठामा एक्लै सुँक्सुँकाइरहेकी छिन् । यसरी नुमाको जीवनमा रोदनले छोएको दुई वर्ष हुनलाग्यो । ‘ए बस्नलाई गुँड छैन, उडिजाउँ प्वाँख छैन । आँशुको धारामा बस्ने कतिन्जेल हो !’ नुमा विलौना गर्छिन् ।
भावीको लेखालाई पनि के भन्न सकिन्छ र ? पहिले पहिले सप्पैले मन पराएका नुमाको आजकल कुरामात्र काट्छन् । बच्ना नजन्माउने, बाँझी, अभागिनी, कुरुप, नानाभाती गाली गर्छन्– नुमालाई ।
आज पनि यसरी नै गाली गरे । विहानै पानी भर्न धारामा जाँदा माथ्लो घरकी नाहाङ्मा र उसकी साथी मिक्कीले उसको बारेमा कुरा लगाइहाले ।
अमु शौचबाट आएर सोध्यो, ‘होइन के भयो ?’
गाउँलेले त कुरा काटे–काटे, अब त हाम्रा आमाबुबाले पनि कुरा काट्न थाले । आज मिक्की र नाहाङ्माले पँधेरामा भनेको अब मेरो सौता हाल्न लगाउने रे तिमीलाई’ आँशु पुछ्दै कुरा खोलिन् नुमाले ।
‘बोल्न देऊ न बोल्नेलाई…’ अमुले भन्यो ।
‘के गर्ने त ? मैले पनि नामिन्ना कामीको छोरोलाई देख्दा हाम्रो पनि सन्तान हुँदा त कति राम्रो हुन्थ्यो जस्तो लाग्छ । तर हाम्रो सन्तान नै….।’ फेरि आँशु झारिन् नुमाले ।
‘सप्पै गर्न जति गरिसकियो । सन्तान माग्न पाथिभरा गयौँ, अम्बेपजम गयौँन कि, कुम्मायाक कुस्सायकको पूजा गरेनौँ कि, कहाँ पुगेनौँ । मन नदुखाऊ तिमी, एकदिन त हाम्रो सन्तान हुन्छ होला नि !’ अमुले श्रीमीतलाई फकायो ।
‘लगनमा त युप्पारुङ दिँदै मुन्धुमको कसम खाए– बुहारी तिमीलाई नराम्री भन्यौँ भने हाम्रो आँखा फुट्ने गरी हिर्काउनु, अनि त्यस्तै के के के के भनेर । तर आज वाचाकसम हरायो ।’ नुमाले सोच्दै गई, ‘वाचा भनेको यस्तै हुन्छ ? मन पर्दा खाने मननपर्दा ओकल्ने ?’
‘छि ः मनमा पनि के के आउँछ आउँछ !’ यसरी सोच्दैबस्दा नामिन्ना कामीको छोरा च्याँच्याँ रोएको सुनी, ‘मेरो पनि बच्चा भए त …’
‘नुमा…’ नुमाको कुम हल्लाउँदै अमुले बोलायो ।
‘के हो…’ नओभाएका आँशु पुछ्दै कपाल बाँधी नुमालो । त्यतिखेर साथी नेभोःन्जीको कुरा झट्ट सम्झना आयो, ‘साँच्ची नेभोन्जीले मलाई भनेकी थिई, ‘बच्चा पाउनु नपाउनुमा त छोरा मान्छेको पो धेरै हात हुन्छ । कि अमु बच्चा नहुने छोरोमान्छे पो हो कि ।’ अमु सशङ्कित भयो ।
[ पाँच ]
एक दिन, दुई दिन, एक महिना दुई महिना हुँदै फेरि वर्ष दिन बित्यो । दुई तीन वर्षयता तुवाँलोले छोपिएको नुमाको अनुहार आजकल निक्कै उज्यालिएको छ । अमुले उज्यालो अनुहार देखेर नुमालाई जिस्क्यायो, ‘आजकाल आकाश निकै खुलेको छ । घाम पो लाग्छ कि ’ नुमाले अनुहार झन् उज्यालो पारेर जवाफ फर्काइन्, ‘कति झरीमात्र परोस् त ! मन भए उपाय छ भन्छन् । उज्यालो मनले चेहरा उज्यालिएको नि त ।’
आजभोलि नुमाको अनुहारमा हल्कापन र ठूलो सन्तुष्टि देखिन्छ । सबैसँग एकदम हाँसिखुशी छे । यी सबै उसका व्यबहारमा प्रकट हुन्छन् । पहिलेको जस्तै काममा स्फूर्तता ल्याउन थालेकी छिन् । त्यतिमात्र होइन, फरासिली पनि भएकी छिन् । यो देखेर सासुससुरा सप्पै छक्क परेका छन् ।
नुमाको खुशीयालीसँगै अर्काे कुरा पनि देखिन थालेको छ, त्यो हो काक्लिके सधैँको जस्तो बोल्न छोडेको छ । ऊ त नुमाको अघि नै पर्न छोडेको छ । घरको माथिल्लो तलामा चढ्दै चढ्दैन, मुनि मात्र बस्छ ।
आज नुमा गर्भवती भएको एक महिना पुगेर दस दिन पुग्यो । उसको पाठेघरमा भ्रुण बसेजस्तो छ । आज त झन् नुमाको खुशीको सीमा नै छैन ।
समसाँझमै नुमाले मज्जाले खाना बनाइन्, सप्पै कामधन्दा एकशासमा गरिसकिन् । घरमा सबैजना जम्मा भए । येमाले नुमालाई अ¥हाइन्, ‘खाना पस्क ।’ नुमाले खाना पस्किदिइन् सबैजनालाई । भाँडाकुँडा धोइपखाली सकिन्, कुचो लगाइन्, भोलिपल्टका लागि खरानीमा अगुल्टा घुसारेर चुल्होमा आगोको जगेडा गरिन् । यो बेलासम्ममा सप्पैजना आ–आफ्ना विस्तारामा सुत्न पुगिसकेका थिए ।
नुमा अमु र आफ्नो ओछ्यानमा पुगेर अमुलाई भन्यो, ‘सुन न, एउटा कुरा भनुँ ?’
पुस्तक पढिरहेको अमुको आँखा पुस्तकमै एकाग्र थियो, ‘भन…’ ‘अहँ, भन्दिन, तिमी मतिर हेर्दैहेर्दैनौ ।’ नुमा अर्कोपट्टि फर्की ।
पुस्तक बन्द गर्दै अमु बोल्यो, ‘नरिसाउ न’ अमुले नुमाको अनुहारमा आफ्नो अनुहार खप्टायो ।
लजाउँदै नुमा बोलिन्, ‘नाइ भन्दिनँ…।’
‘नभन्ने भए म पनि तिमीसँग बोल्दिनँ ।’ अमुले घुर्की देखायो ।
त्यसपछि नुमाले बल्ल कुरा खोलिन्, ‘अब तिमी बुबा हुँदैछौ ।’
‘कसो रे ! म बुबा हुँदैछु ?’ खुशीले थामिनै नसकी बोल्यो अमु, ‘कसरी पो नुमा !’
नुमाले जिब्रोको टुप्पाबाट फुत्किन आँटेको कुरा फुत्काइहाली, ‘म गर्भवती भएको एक महिना र दसदिन पुग्यो । सधैँ त महिनादिनमा मेरो महिनावारी हुन्थ्यो, कसम होला म आमा हुँदैछु ।’
दुवैजना असीम खुशीले पुरिए । त्यतिकै त्यतिकै भुसुक्कै निदाइगए ।
**********************
पूर्वी आकाशमा शुक्रतारा उदायो । नीलो आकाशमा ताराहरु अस्ताएका थिएनन् । परेवाहरु घुर्रर्घुर घुरघुराउँदै गीत गाइरहेका थिए । फेरि भाले दुई पटक बास्यो । भाले बासेको आवाज र परेवाको गीतले नुमा ब्यूँझी । यसो कोल्टे फेरि । नुमालाई एक्कासि सारी चिसो चिसो भएजस्तो भयो । यसो छोएको त साँच्चै फेरि महिनावारी भएछ । विश्वास नै गर्न सकिनन् नुमाले । उनको मनमा भूइँचालो गयो । नुमाको आमा हुने स्वप्न महिनावारिसँगै तुहिएर गयो । आँखामा अन्धकार छायो । चिच्याइन्, ‘नाइ….के हो…’ बच्चा पाउनै पर्ने बाध्यताले अमुको विश्वासलाई आगो लगाएर खेतको गोठमा नाक्लिकेसँग लुकीछिपी यौनसंसर्ग गरेको घटनालाई सम्झि र एकोहोरो रुन थालिन् ।
नुमाका रुवाइले अमु ब्यूँझियो । नुमालाई सम्हाल्दै सोध्यो, किन रुँदैछौ, के भयो र ??’
नुमा नाजवाफ भइन् । आमा हुने रहरले नाक्लिेकसँग कूकर्म गरेको घटना सम्झिदै आफ्नो तिघ्रा हिर्काउँदै अचाक्ली रोइमात्र रही । नुमाको रुवाइले परेवाहरुको गीत बन्द भयो । घरका अरु मानिसहरुको निद्रा पनि भङ्ग भयो ।
‘खेतको घटना थाहा पाएर अमुले नुमालाई चुटेजस्तो छ, मैले गर्दा मात्र होइन क्यारे, उसले नै अँठ्याएर त्यस्तो भएको हो, तर पनि…।’ डरले नाक्लिकेको हंश उडिसकेको थियो । डरले ऊ घरबाट टाप दिन खोज्दैछ । यता नुमा आफू कि अमु हो निःसन्तानका जिम्मेदार, छुट्याउनै असमर्थ छे ।
यसबेलासम्ममा घरका सप्पैजना नुमाको अघि जम्मा भइसकेका थिए । हुँ कि हुँ रुँदै नुमा यसपल्टचाहिँ बोलिन् ‘हाम्रो प्रेमसंसारमा मैले नै आगो लगाएछु । अब कहाँ मरिजाऊँ म…’ अमु, आमा, बुबा, इक्सा कसैलाई पनि गाँठी कुरा थाहा थिएन तर नुमा चाहिँ झन् झन् डाँको छोडेर रोई रहेकी थिइन् ।
(लिम्बू कथा संग्रह “लेमेबा नसान याक्थुङ” कथाबाट स्व.स्वप्निल स्मृतिद्वारा अनूदित)
साहित्य संग्रहबाट साभार
लु सुनको कथा: क्रान्तिकारीको रात
रात गहिरो थियो। गाउँको कुनामा रहेको सानो टहरामा एक टुकीको मधुरो उज्यालो बलिरहेको थियो। त्यो टहरामा बसेका थिए, स्याओ चेन, एक जवान क्रान्तिकारी। उसको अनुहारमा थकान थियो, तर आँखामा आगोको ज्वाला। ऊ रातभर कागजमा केही लेख्दै थियो– क्रान्तिको सन्देश, जसले गाउँका मानिसहरूको मनमा आशा जगाउन सक्थ्यो। स्याओ चेन गाउँको साधारण परिवारमा जन्मिएको थियो। उसका बा-आमा किसान थिए, जसले वर्षौंदेखि जमीन्दारको खेतमा पसिना बगाएका थिए। तर स्याओ चेनले सधैं प्रश्न गर्थ्यो, “हाम्रो पसिनाको फल किन हामीले पाउँदैनौं?” स्कूलमा पढ्दा उसले किताबहरूमा स्वतन्त्रता र समानताको कुरा पढ्यो। ती शब्दहरूले उसको मनमा आगो सल्कायो। उसले गाउँमा फर्केर मानिसहरूलाई बुझाउन थाल्यो, “हामीले यो अन्याय सधैं सहनुपर्दैन। हामीले लड्नुपर्छ!” तर गाउँलेहरू डराउँथे। “जमीन्दारसँग लड्ने? त्यो त मृत्युको बाटो हो,” उनीहरू भन्थे। स्याओ चेनलाई यो डरले कहिल्यै रोकेन। ऊ रात-रातभर गाउँका जवानहरूसँग भेट्थ्यो, उनीहरूलाई एकजुट हुन सिकाउँथ्यो। उसले लेखेका पर्चाहरू गाउँका पर्खालहरूमा टाँसिन्थे, जसमा लेखिएको हुन्थ्यो– “जाग! आफ्नो हकको लागि लड!” त्यो रात, स्याओ चेनलाई थाहा थियो, जमीन्दारका मानिसहरू उसको पछि लागेका छन्। गाउँमा उसको बारेमा कुरा फैलिसकेको थियो। उसका साथीहरूले भने, “स्याओ चेन, भाग! तँलाई पक्रेर मार्छन्!” तर उसले हाँस्दै भन्यो, “भागेर म कसरी क्रान्तिको कुरा गर्छु? यो त मेरो गाउँ हो, म यहाँ लड्छु।” रातको अन्तिम पहरमा, टहराको ढोका ढकढकायो। स्याओ चेनले आफ्नो लेखेको पर्चा लुकायो र ढोका खोल्यो। त्यहाँ जमीन्दारका गुन्डाहरू उभिएका थिए, हातमा हतियार बोकेर। “स्याओ चेन, अब तँ सकियौ!” एकजना गुन्डाले चिच्यायो। स्याओ चेनले शान्त स्वरमा भन्यो, “तिमीले मलाई मार्लान्, तर मेरो विचारलाई मार्न सक्दैनौ। यो गाउँ एकदिन जाग्नेछ।” त्यो रात, स्याओ चेनलाई समातेर लगियो। भोलिपल्ट बिहान, गाउँको चौरमा उसलाई फाँसी दिइयो। गाउँलेहरू चुपचाप हेरिरहेका थिए। कोही-कोहीको आँखामा आँसु थियो, कोही डरले थरथर काँपिरहेका थिए। तर त्यो दिनपछि, गाउँमा केही परिवर्तन आयो। स्याओ चेनका पर्चाहरू गाउँका पर्खालहरूमा फेरि देखा परे। जवानहरू रात-रातभर भेट्न थाले। उनीहरूले स्याओ चेनको सपना बोकेर लड्ने बाचा गरे। स्याओ चेनको मृत्युले गाउँमा क्रान्तिको बीउ रोप्यो। उसको बलिदानले मानिसहरूलाई बुझायो– डरले होइन, साहसले स्वतन्त्रता जितिन्छ।
कथाः भूतलाई हेर्ने आँखा
दिपक तिमल्सिना तपाईंहरूको बाल्यकालमा आत्मा, भूतप्रेत, तर्साउने आत्मा भन्ने विषयमा विभिन्न कथाहरू सुन्नुभएको होला । मृत्युपछिको यात्रा प्रायः नर्क र स्वर्गमा पुग्ने कल्पना गरिन्छ। जसले मृत्यु देख्यो, त्यो फर्केर धर्तीमा आउदैन यो ध्रुवसत्य कुरा हो। वास्तवमा आज तपाईहरू माझ यस्ता केही तथ्यपरक एवम् विश्लेषणात्मक रूपका कथा प्रस्तुत गर्ने छु। एकदिनको कुरा हो, करिब रातको सात बजेतिर म घरबाट टिभि हेर्न भनी गाउँको घरमा लागे। घरमा पुग्न करिब ३० मिनेट लाग्थो। बाटो पूरा गोरेटो अनि अप्ठ्यारो थियो। बुढापाकाका अनुसार करिब ७८ वर्ष पहिले त्यहाँ एक जनाको भिरमा खर काट्ने क्रममा खसेर मृत्यु भएको रहेछ। म विस्तारै ओरालो लाग्दै गए, कत्तैबटा खस्राक खुस्रूक आवाज आयो। मेरो मन अत्तालियो। भूतप्रेत हाम्रो खेवाली पुलाउ हो भनी हिम्मतका साथ अझ अगाडि बढें। फेरि सोचे आज साँच्चै भूतको अनुहार हेर्ने हो। मसँग हिन्दु धर्मकर्म अनुसारको जन्यौ छदै छ भनी टर्च निभाएँ। टर्च निभ्नासाथ एउटा जुनकीरीलाई देखे । त्यसाई छुन खोजे तर एक्कासी हरायो। अलि परतिर जुनकीरीहरूको जत्था थियो। एकछिन चुप लोर बसें सबै हरायो। मेरो मन अच्चानक बहक्किन थाल्यो। त्यसपछि टर्च लाइट तलतिर बालेर दायाँतिर अनुहार मोडें, त्यहाँ सेतो बोरा जस्तो केही चिज थियो । बिस्तारै टर्च लगें, त्यही ठाउमा नै । मान्छे मरेको कथा मेरो मनमा झलझलि आइनैरहेको छ। एक्कासि हेरेको त त्यहाँ त रूख मात्र छ। म अत्ताल्लिए छिटोछिटो पाइला चालेंं । हतार हतार अघि बढे मुटुको धड्कन बढिरहेको थियो तर पनि अब कहिले पुग्ने हो गन्तव्य भनी सोचिरहें। त्यहा माथि लामाहरूको झाँक्री मन्त्र लगाउछन् भन्ने सुनेको थिएँ । कसैलाई राति देख्यो भने बनझाँक्रीले लग्छन भनी बच्चादेखि नै हामिलाई तर्साइएको थियो। मेरो होस हवास गुम्यो । पहिलोपटक आउदा त बुबा सँगै हुनुहुन्थो र डर पनि लागेको थिएन। आज अचानक यो सब चिज हुँदा अब भोलिदेखि यहाँबाट नआउने प्रण लिएँ। मससँग भएको ॐ नमः सिवाय मन्त्र फुक्दै अघि बढे। यसरी भोलिपल्ट घरमा सबै कुरा सुनाएपछि आमाले भन्नुभयो कि खुर्सानीको एक दाना गोजीमा राख्नुपर्छ वा अगुल्टो बोकेर डिड्नुपर्छ तब मात्र तर्साउदैन। म जहिल्यै एक खुर्सानीको खिल्ली बाकेर जान थालेपछि केही भएन। मलाई म निकै शक्तिशाली भएको अनुभव हुन थाल्यो। म त्यतिखेर कक्षा ७ मा पढ्थे । मैले एक एक घटना आफ्ना साथीहरूलाई सुनाउन थालें । त्यसै क्रममा एक साथीले भन्यो त्यसो भए हजार हजारको बाजी ल त रातको १२ बजे आर्यघाट पुगेर आइजो अनि तलाई म मान्छु । मलाई लाग्यो आज बाजी जितिने भो, एकदमै उत्साहित भएर फोनमा मम्मीलाई आज म घर आउदिन साथीकोमा बस्छु भनें। त्यसपछि रातको ११ः३० बजे आर्यघाट पुगें, त्यहा धेरै मलामीहरू रहेछन्। एउटी आमाको लाश जलाएर अन्तिम चरणको हड्डीहरू ठोस्दै थिए। यसरी म सर्त अनुसार त्यहा पुगेर करिब आधा घण्टापछि फर्किए। म खुसी हुँदै आउदै थिए घर नजिक फर्किएर आइपुग्नै लाग्दा गोजी छामे खुर्सानी नै छैन रैछ। त्यसपछि म हतार हतार साथीको कोठामा गई हेर्छु त मेरो पाइन्ट साथीले नै लगाईरहेको रहेछ। उसलाई उठाएर उसको गोजीको खुुर्सानी निकाल्दै भनें– यार तैले यो के गरेको ? उसले भन्यो– ‘तैले नै मेरो पाइन्ट पहिले लगाएको होस्।’ ‘पुगेर आइस’– उसले सोध्यो । ‘अँ आए’– जवाफ फर्काएँ । उसले नरम स्वरमा भन्यो त्यो मेरो गोजीको चोर गोजीमा छ हजारको नोट निकालेर लैजा । म विस्तारै उसको नजिक गई सुते। अनि सोच्न थालें ओहो ! यो सब कसरी सम्भव भयो। असरी समस्या समाधान गर्ने त खुर्सानी थिएन, मेरो हिम्मत र आत्मविश्वास नै थियो । यो भूत प्रेत, आत्मा, धामी झाक्री त सबै भ्रम न रहेछन, जुन हाम्रो समाजले हाम्रो अवचेतन मनमा बाल्यकालदेखि नै विभिन्नका कथाका माध्यमले हालेका रहेछन्। आत्मविश्वास, हिम्मत र साहसले मानिसको डरलाई पनि मेटाउने रहेछ। यो सब त भ्रम पो रहेछ, मेरो मनको डर। अहिले मेरो भूतलाई हेर्ने आखा यसरी फेरिएको छ।
त्यसपछि उनी कहिले फर्किनन् !
शान्ति पनेरु मौसम धमिलो । चारैतिर सन्नाटा थियो । शिशिर ऋतुको आगमन मनमा बेचैन तर जीवन प्रतिको उज्जल सपनाको अदृष्य आकृति एक साथ मस्तिष्कमा कैद थियो । हाम्रो यात्रा अटुट माया दृढ बिश्वास अनि दृढ सङकल्प यात्रा अबिचलित थियो । अचम्म छ, नियम भनौ या कर्तव्यनिष्ट जिम्मेवारी बोध हाम्रो दैनिकी जस्तै भयो । कतै उद्देश्य नभेटिएर अलमलिएको यात्री जस्तै थियौं हामी । भुगोलको अनज्ञिता, विकेन्द्रित कार्ययोजना हाम्रा लागि फलामकै चिउरा सरह थियो । तर मित्रतामा आत्मियभाव हामीमा अझै प्रगाढ थियो । हामीलाई दिएको जिम्मेवारी जति सुकै चुनौती मोलेर भए पनि पुरा गर्नुपर्छ भन्ने कुरामा अडिग थियौं हामी । नेतृत्वले गर्ने बिश्वासलाई कहिल्यै पनि कमि हुन दिएनौं । समयले पनि कहिलेकाँही जिन्दगीकै ठूलो परीक्षामा अनायसै सामेल गराईदिन्छ । तेस्तै थियो र भयो हामीमा पनि । एक अथक यात्री, कलिलो मस्तिष्क, कडा जिन्दगीका अग्नि परिक्षाहरु । सायद, पास भईन्छ या फेल । जीवनका भोगाईले बारबार परीक्षा दिईरह्यो । उ बारबार भन्थी, ‘हामी महासमरका यात्री हौं । बीचमा को कहाँ छुटिन्छौं, कसैलाई पत्तो छैन ।’ लाग्थ्यो, जीवनका हाम्रा सपना, साझा जिम्मेवारी फरक उद्देश्य अबिचलित तर यात्रा सँगै, पार्टीकै योजनामा थियौं । मिठा अनुभुतिका स्मृति, शुभचिन्तकहरुको जो देशको मायामा आफ्ना हरेक ब्यक्तिगत ईच्छालाई तिलान्जली दिएका हुन्छन् । उनिहरुका अनुभव, अतीत र वर्तमान हाम्रा लागि एक पाठशाला जस्तै थिए । हामी सुनिरह्यौं । उनिहरुका भोगाई । म बिचैमा जिज्ञासु बन्दै बोल्न पुगें । ‘सजिना, हाम्रा गन्तव्य सोझ्याउनु पर्ने होईन र ? मेरा अनुत्तरित प्रश्न निर्भिकताका साथ प्रस्तुति हुने उसको स्वभाव प्रति म सधैं नतमस्तक थिएँ । समय आफ्नै रफ्तारमा दौडदै थियो । हामी कसैको पर्खाईमा बेलुकीको मिरमिर साँझ हाम्रा धैर्यतालाई छिचोल्दै थियौं । त्यही बखत् कोही परिचित आवाज ठोकिदै आउछ र सम्मानमा बदलिदै जान्छ । ‘साथीहरु हामी एउटा महत्वपुर्ण मिसनमा सहभागी बन्दै छौं ।’ सेन्सिटिभ ईलाका हाम्रो लागि कम चुनौतिपूर्ण थिएन । सामान्य छलफल पछि हामी अर्को पोईन्ट जानु थियो । हाम्रो अन्तिम बिन्दु त्यही ठाउँ भेट्ने गरि छुटियौं । काम र कर्तव्य प्रतिको उत्सुकतामा रमाउदै हामी त्यतै हानियौं । बाटामा अनगिन्ति तिता मिठा कुरा गर्दागर्दै उसका भावना पोखिएको पत्तै पाईन उसले । जिन्दगीले परीक्षा पनि कस्तो कस्तो लिन्छ । अनायसै मेरो मन चिप्लियो । भन्न म ताकेता गर्दै थिए । हामी वर्गीय लडाईमा छौं । उ भन्दै गई ‘मृत्युलाई पचाउदै महासागरमा हेलिएका छौं । जीवन कहाँ कति खेर के हुन्छ, कसलाई के थाहा ?’ अनकन्टार जङ्गलको बाटो छिचोल्दै गन्तव्य छोट्याउँदै थियौं । फेरि उ बोली ‘मैले उसको जिम्मेवारी पनि पुरा गर्नु छ अनु ।’ म जिज्ञासु भावमा सोधें । उ लजिलो भाबमा बोली ‘सेबक, म उसलाई धेरै माया गर्थे र उ पनि मलाई । तर अचम्मको उसको प्रम स्नेह कसरी सम्झनु जस्को जीवित वा मृत कुन अबस्थामा छ सुईको सम्म छैन, तर उसकै लागि हर रात दिन स्मृतिमा जीवित राख्नु, यो कस्तो प्रेमभाव ।’ मनमा कतिपय उसका प्रेमिल शब्दहरुका प्रस्न मेरा मन भित्रै कैद भए । आज सम्म पनि उत्तर छैन र थिएन । कैयौं, भावना जीवित हुँदाहुदै गन्तव्य आईपुग्यो । हामी पुग्दा सबै जम्मा भईसक्नु भएको रहेछ । पोखरा उसका लागि अनुकुल हाम्रा लागि प्रतिकुल । प्रतिकुलतालाई छिचोल्दै हामी योजना कार्यान्वयनको पक्षमा दृढताका साथ सहभागी भयौं । कार्य बिभाजन पछिका कार्यन्वयन पनि उतिकै जटिल थियो हाम्रा लागि । कहिलेको मिलन कहिलेको बिछोड जीवन रफ्तारमा नै थियो । ‘राम्रो सँग होसियारी अपनाउनु’ मैले बोलें । उ भाबुक अनि आत्मा बिश्वासका साथ बोली –‘म कहिँ ढलें भने मेरो शन्देश पु¥याईदिनु र भन्नू, क्रान्तिमा अबिचलित लागि रहनु ।’ हामी फेरि भेट्ने मीठो आशामा छुटियौं । युद्धको नियम तेस्तै नै छ । भावना भन्दा निर्ममता प्यार जस्तो । बेलाबेलामा झस्काई दिने मृत्यु पनि कति मीठो ,आन्नदको । अफसोच, उसका अबोध भावना कसैको पर्खाईमा तड्पिएकी पूरा हुन नपाईनै अधुरै रहने त्रासले हरपल सताईरह्यो । उज्यालोलाई पाखा लगाउँदै रातहरुको सन्देश पाएको आभास भयो । मनमा त्रास सँगै फुल जस्तै मुस्कुराएको आस, मिसन जसरी नि पुरा गर्नु पर्ने चुनौती थियो हाम्रा लागि । दिन रात जस्तै थियो तर रात हाम्रा दिनमा परिणत हुन्थ्यो । हामी नजिकै सेल्टरमा थियौं । हाम्रा गतिबिधिले उनिहरुका उपस्थिति सिबिलमा परिचालन गरेछ । हाम्रा गतिबिधिलाई उ सम्म पु¥याउने । हाम्रो आन्दोलन प्रतिको तिक्तता जो सँग थियो उसले पु¥यायो । रातीको समय अँधेरी रातलाई चिर्दै मिरमिर उज्यालोको सङ्केत दिदै गर्दा कसैका राक्षसी बुट बज्रियो । घरै छेउमा आवाज आयो ‘ठोक ’ । थोरै पनि दया नभएका राक्षसी हात उसका कोमल शरिरमा बज्रिन पुग्छ । भाग्दै गरेको योद्धा पटक पटक लडेर पनि खुनी पञ्जा बाट उम्किन सफल रह्यो । शिव र आकास छिनभरमै बर्साएको गोलीले गिज्याउदै पछ्याउँथ्यो । तर एक निरीह महिला जो हजारौ बुट उसका शरिरमा बज्रिदा पनि आफुलाई मृत्युसँग हस्ताक्षर गरिनन् । क्रान्तिको बाधक बन्दै बनिनन् । हामी नजिकै बाट उसका गतिबिधि नियाल्दै थियौं । सयौं बर्दिधारीहरुका बिचमा एक निरीह नारीलाई हातमा फलामे जँजिरले बाधेर पनि आफ्नो कायरतामा बहादुर ठान्दै थियो उ । हामी नजिकै एक अबोध अन्जान जस्तै थियौं । पर्ख र हेर हाम्रा लागि यहि अन्तिम उपाय । एकछिनमा अर्काे दानब भाब झल्काउँदै आयो र भन्यो ‘यसले हामीले भनेको मानिन, यसलाई जङ्गलमा लगेर तड्पाई तड्पाई मार्नुपर्छ ।’ कति क्रुर छ । निरङ्कुशता भित्र रहेका दानवहरुलाई हामी केही पर जङ्गलबाट नियालिरह्यौं । उसका निरीह अनुहार । तर उसमा कुनै निरिहता थिएन । थियो त बदलाभाव । भन्दै थिई ‘तँ एक मार्दैमा उ हजार जन्मिदैछ, क्रान्तिको यात्रा हो रोकिन्छ र कहाँ ?’ कतै उ मृत्युलाई सहज ठान्दै थिई । लाग्थ्यो उनि हरेक क्रान्तिका अधुरा सपना पुरा गर्न हामीलाई निर्देश गर्दै थिई । समय हाम्रा लागि अनुकुल पटक्कै थिएन । एउटा सहयोद्धा छिनभरमै खुनी पिपासुको पन्जामा परेको क्षण । मनमा बेचैन छाउँदै आयो । आशा म¥यो । उ बिना हजारौ सहयात्रीहरुको भिडमा एक्लो महसुस गरायो । धेरै रातहरु निदाउन सकिन । कयौं दिनहरु रातजस्तै भए मेरा लागि । आफुलाई सम्हाल्दै फेरि एक पटक उठ्ने कोशिस गरेँ र दुश्मनलाई भनें ‘तिम्रो बदला पनि त लिनुछ !’उनलाई सम्झिएर प्रण गरें ‘तिम्रो सपना पुरा गरेरै छाड्नेछु ।’
शिल्पीमा नेपालको शिक्षा प्रणाली दर्शाउने नाटक ‘ज्ञानको चिहान’
काठमाडौं ।नेपालको शिक्षा प्रणाली दर्शाउने ‘ज्ञानको चिहान’ नामक नाटक गोठाले नाटक घरमा मञ्चन भैरहेको छ । जुन युवा विद्यार्थी अविभावक तथा शिक्षा क्षेत्रसँग सरोकार राख्ने सबैले हेर्नुपने नाटक रहेको छ । पुस १३ देखी शिल्पीको गोठाले नाटकघर बत्तिसपुतलीमा मञ्चन सुरु भएको उक्त नाटक ‘ज्ञानको चिहान’ ले विभिन्न राजनीति दलका विद्यार्थी संगठन र क्षमता योग्यताका आधारमा भन्दा पनि राजनीतिक नियुक्ति र भागबण्डामा विश्व विद्यालयका पदाधिकारी तथा प्राध्यापक छनोट हुने चंगुलमा फसेको शिक्षा प्रणालीलाई दर्शाउने काशिस नाटकले गरेको छ । शिक्षामा व्यापारिकरण मौलाएको, विश्वविद्यालयका भवनहरू खण्डहर हुँदै गएको, विश्वविद्यालयकको गुणस्तर खस्किँदै गएको, वैज्ञानिक शिक्षा प्रणालीको विकासमा ध्यान नपुगेको जस्ता कुराहरु जोडदारसँग नाटकमा उठाइएको छ । विश्वविद्यालयमा विद्यार्थी संगठनको आवरणमा हुने गुण्डागर्दी, प्राध्यापकमाथिको अनावश्यक आरोप, सार्वजनिक शिक्षा सुधार गर्न चाहानेहरु एक्लै बनेको जस्ता विषयवस्तु कथाले जीवन्त रुपमा उठान गरेको छ । नाटकले राजनीति आफैमा खराब नहुने कुरालाई जोड दिएको देखिन्छ । विद्यार्थी राजनीतिका केही पात्र र प्रवृतिमा समस्या रहेको उल्लेख गर्दै नाटकले सचेत मान्छेहरु राजनीतिलाई सहि बाटोमा हिडाउन आफैं सक्रिय हुन प्रेरित समेत गरेको छ । साथै, विश्वविद्यालयमा ज्ञानको उत्पादन नभई सप्लाई हुने गरेको भन्ने भाष्य मार्फत नेपालको शैक्षिक प्रणाली माथि निकै तिखो प्रहार गरीएको छ नाटकमा । राष्ट्रिय इस्युहरुमा विश्व विद्यालय बोल्नुपर्ने र देशको मस्तिष्कको रुपमा विश्वविद्यालयले काम गर्नसक्नुपर्ने जस्ता विषयले आम विद्यार्थीको आफ्नै नाटक जस्तो बनेको छ ज्ञानको चिहान । विद्यार्थी संगठनहरूको भागवन्डामा होइन् विभिन्न खोज तथा अनुसन्धानमा केन्द्रित भएर देश निर्माणका लागि मुख्य भूमिका खेल्नुपर्ने नाटकले सन्देश दिन खोजेको छ । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहको परिकल्पनामा र अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय शैक्षिक विभागको सहकार्यमा कलासी प्रोडक्सनले नाटक मञ्चन गरेको हो । संगीत सापकोटाले निर्देशन गरेको नाटक ‘ज्ञानको चिहान’लाई पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी र आशिष घिमिरेले लेखेका हुन् । नाटक पुस ३० गतेसम्म मञ्चन हुने प्रोडक्सन म्यानेजर सगुन पोख्रेलले जानकारी दिइन् ।

