अमेरिकादेखि युरोपेली मुलुकसम्म यसरी फैलदैँछ दक्षिणपन्थको हावा
सन २०११ को ग्रिष्मयाममा एक ३२ वर्षे नर्बेली नागरिक आन्द्रेस बेभेरिकले आठ जनाको ज्यान लिने गरी राजधानी ओस्लोको एक सरकारी भवनमा बम बिष्फोटन गराउँदै त्यसको केही घण्टाको अन्तरालमा स्वचालित हतियारको मद्धतले नर्बेको उटोया द्विपमा रहेको श्रमिक युवा लिगको शिविरमा एक १४ वर्षे नाबालक सहित ६९ जनाको हत्या गर्न पुगे भने त्यस नरसंहारमा कैयौँलाई घाइते पनि बनाए । कुनै प्रतिकारबिना सुरक्षाकर्मीसमक्ष त्यस लगतै आत्मसमर्पण गर्न पुगेका बेभेरिकले उदारवादी “नर्बेली श्रमिक पार्टीले बाह्य मुलुक विशेषगरी मुस्लिम राष्ट्रहरुबाट आएका आप्रवासी मजदुरहरु र शरणार्थिहरुकाकारण हाम्रो मुलुक नर्बे र हामी सम्पूर्ण महान नर्बेली नागरिकहरुलाई निरिह बनाउँदै लगेको हुनाले यसको मुल्य सो दलले चुकाउँनु पर्ने“ बताए ।
यो घटना एउटा सामान्य हत्याकाण्ड मात्र थिएन; बरु वशुधैव कुटुम्बकमलाई आत्मसात गरी समग्र युरोपेली राष्ट्रहरु युरोपेली महासंघमा सम्मिलित भै राष्ट्र–राज्य अन्त्य गर्दै धर्ती नै एउटा मानव शासित राज्य हो भन्ने मानवतावादी सोच विरोधी विद्रोह एवं संकुचित एकल जातियतावादी, प्रतिगामी र पुनरुत्थानवादी भावनाको उद्वेग थियो ।
भुमण्डलिकरणले गर्दा संसारका कैयौँ विकसित मुलुकहरुले बाह्य राष्ट्रका नागरिकहरुलाई पनि खुकुलो अध्यागमनको प्रकृयाबाट आफ्ना मुलुकभित्र आवागमन, वसोबास, नोकरी एवं व्यवसाय गर्न समेत छुट दिदैआएका थिए । यो सब उनिहरुले अपनाउँदै आएका उदारवादी लोकतन्त्र, खुलाबजार–उपभोक्तामुखी अर्थतन्त्र र अन्तरसाँस्कृतिक साथै बहुसाँस्कृतिक सामाजिक सम्बन्धनले गर्दा सम्भव हुनगएको हो । चरम दक्षिणपन्थी सरकारहरुका अतिराष्ट्रवादी दम्भद्वारा श्रृजित प्रथम र द्वितिय विश्वयुद्घको जिजिविषापछि दुनियाँँभरमा वामपन्थी लोकतान्त्रिक दलहरुले केही विकसित र मनग्य बिकासशिल मुलुकहरुमा सरकार निर्माण र जनमुखी कार्यक्रमहरुका माध्यमद्वारा आआफ्ना विशिष्टतामा वामपन्थी विचार, बिकास निर्माणका नीति तथा परीयोजना कार्यन्वयन गर्दै जनस्तरलाई केही हदसम्म माथि उकास्ने काम गरे ।
सन १९५० तिर युरोपेली एकिकरण परीयोजनाका प्रमुख निर्माणकर्ता मानिने फ्रान्सेली विदेशमन्त्री रबर्ट शुमन, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल, एकिकृत युरोपेली संसद र त्यसको संघिय बनावटका जनक मानिने इटालियन वामपन्थी राजनीतिज्ञ आल्तिएरो स्पेनेल्ली लगायत समग्र युरोपलाई एउटा शान्तिपूर्ण, लोकतान्त्रिक, विधिद्वारा शासित, आधारभूत मानविय मूल्य अनी मानवअधिकारका गुणले भरिपूर्ण महासंघको रुपमा देख्न चाहने प्रमुख युरोपेली मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरुद्वारा सारमा एक सामाजिक लोकतान्त्रिक युरोपेली सोभियत निर्माण भएको थियो जसमा समानता, स्वाधिनता, लोकतन्त्र र आधारभूत मानवअधिकारको प्रत्याभूती जस्ता उत्कृष्ट मानविय मुल्य र आदर्शलाई संगालिएका थिए । त्यस अन्तर्गत सामाजिक सुरक्षा, घरेलु शान्ति, लैंङ्गिक समानता, सामाजिक न्याय आदिकालागी जनस्तरबाट हारगुहार आएमा संघभित्रका सदस्य राष्ट्रहरुका कुनै पनि आन्तरिक राष्ट्रिय वा क्षेत्रिय सिमानाले रोकछेक गर्न नसक्ने बिषय समेत समाहित गरिएको थियो ।
त्यसको अलावा, उक्त संघको संविधान मै आधारभूत रोजगार, विज्ञान प्राविधिको बिकास, क्षेत्रिय ऐक्यबद्घता, एकिकृत आर्थिक बिकास र समृद्घिका मुद्दाहरु पनि प्रमुखताका साथ उल्लेख गरिएको थियो । सन १९९३ सम्म आइपुग्दा समग्र समाजवादी विश्वको नाईके मानिएको सोभियत संघको बिघटन भै शीतयुद्घको अन्त्य भएर पूंजीवादी साम्राज्यवादी अर्थ व्यवस्था र नव उदारवादले एक्कासी जरा फैलाउँन थालेका थिए । उपभोक्तावादी ब्यक्तिगत सोच र बजारवादी सामाजिक मनोदशाले एउटा अतिआत्मकेन्द्रित ब्यक्तिवादी समाज को उदय गराईदियो । साथै भरखरै जराजिर्ण भएर ढलेको जातिय रुसी सामाजिक फांसिवादी साम्रज्यवाद पछि मैँ मरीमुच्चे म्या म्या बुरुक्क गर्दै साँढे पल्टिन थालेको साइंदुवा अमेरिकी साम्रज्यवादले पनि उदारवादी समाजलाई अपनाइरहेको र अधिकाँश एसिया, अफ्रिका, ल्याटिन अमेरिका लगायत अरु क्षेत्रहरु ब्यक्तिगत स्वतन्त्रता र सामाजिक न्यायका लगभग दुश्मन जस्तै भएका कारण त्यस मुलुकहरुका बहुसंख्यक शिक्षित युवायुवतीहरुको अन्तिम गन्तब्य युरोप र अमेरिका बन्न पुग्यो । यसरी जोपनि अमेरिका र युरोप गएर बसोबास र पेशा गर्नकालागी लालायित हुनथाले पछि विभिन्न देश र समाज जहाँ जातिय, धार्मिक र साम्प्रदायिक रुपमा कुण्ठित थिए, विशेषत मुस्लिम बाहुल्यता भएका समाजका युवायुवती पनि खुला र स्वतन्त्र समाजका मानविय आयामहरुबाट आकर्षित हुन पुगे र ति पनि त्यतै जान थाले ।
एक्काइसौँ शताब्दीमा दक्षिणपन्थी अतिवादको पुनरुत्थान
थोरै बिगतका घटनाक्रमलाई नजिर मान्ने हो भने विसौँ शताब्दी अती दक्षिणपन्थी रंगमञ्चको एउटा गजबको प्रयोगशाला थियो भन्न सकिन्छ । त्यसैका दसीहरु एक्काइसौँ शताब्दिमा समेत देखिन पुगे । सन २००१ को सेप्टेम्बर ११ का दिन विश्व पूँजिवादी साम्राज्यवादको सदरमुकाम भनेर चिनिएको अमेरिकाको न्युयोर्क शहरस्थित गगनचुम्बी जुम्ल्याहा भवनमाथि आतंककारी हमला भएपछि आतंकवादबिरोधी युद्धमा अमेरिकाले नेतृत्व लिँदै पश्चिम युरोप, अमेरिका र अस्ट्रेलिया लगायत दुई दर्जन भन्दाबढी पूँजीवादी मुलुकहरुलाई मतियार बनाउँदै आएको छ । त्यस लगतै अमेरिकाले अफ्गानिस्तान र ईराकमा सैन्य हमलागरी सरकार परिवर्तन गराएर ति मुलुकहरुमा आफ्ना कठपुतली सरकार बनायो ।
त्यसगरी, अमेरिका आँफैंद्वारा सिर्जित आतंकवाद विरुद्दको विश्वब्यापी ऐक्यबद्दता जुटाउनकालागी आफ्न पिछलग्गु राष्ट्रहरुलाई युद्ध र प्रतिरक्षामा दैनीक २ अरब डलर भन्दा बढी हुने खर्च गराउँन लगाउने, एवं वित्तिय संस्थाहरुले अत्याधिक वित्तबिकासकालागी ऋणको प्रचुररुपमा प्रवाह गरेकाकारण घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा लगानी बढाउँदै शेयर बजारमा कृतिम उछाल पैदा हुनगई प्रतिफल स्वरुप प्रवाहित ऋण ऋणीहरुबाट असुल उपर गर्न गराउँन लगभग असम्भव हुनगयो । अतः अमेरिकि अर्थप्रणालीबाट शुरु भै युरोप हुँदै बाँकी विश्वका अन्य ठुला अर्थतन्त्रलाई पनि संकटग्रस्त बनाइदियो । यस्तो विश्वब्यापी मुद्रास्फिती र ऋणात्मक आर्थिक उन्नतीबाट आफु उक्सिन मध्यपूर्वका मध्यमवर्गिय मुलुकहरुमा सुनियोजित तवरले कथित अत्तर क्रान्तिको सामाजिक उपद्रव सिर्जना गराउँदै अमेरिकाले डलरलाई थप मजमुत बनाउने कोशीस र्गयो ।
खासमा अमेरिकाले लोकतन्त्र, धर्म्निरपेक्ष, विश्वब्यापी मानव अधिकार, लैङ्गिक समानता समावेशिता आदिको खोल ओढेर आफुलाई नटेर्ने स्वायत्त राष्ट्रहरुका पेट्रोलियम पदार्थ लगायतका खनिजश्रोतहरु अनी तेलको विश्वब्यापी बजारलाई आफ्नो चङ्गुलबाट उम्किन नदिन साउदी अरेविया, बहराइन, संयुक्त अरब एमिरेट्स लगायत केही आफ्ना कठपुतलि अतीअमानविय मध्य युगिन कबिलाई तानाशाही राज्यव्यबस्थाहरुलाई बचाउँदै अमेरिकि नेत्रित्वमा मरणासन्न पश्चिमेलि पूँजिवादी साम्राज्यवादीमुलुकहरुले सन २०११ को आसपास देखी ट्युनिसिया, इजिप्ट, लिबिया लगायत अन्यत्र राज्य विप्लव गराउँदै गए । यस्ले करोडौँ अरबेली युवाहरुलाई अस्तव्यस्त बनाइदियो । ति या त आत्महत्या गर्थे या देशै छोडेर पलायन हुन्थे किनकी यि कथित आन्दोलनहरु जनताको स्तरबाट उठेकै थिएनन नत ति स्वतस्फुर्त भनिएका सँघर्षहरुले कुनै दीर्घकालिन राजनैतिक सामाजिक नेत्रित्व, सोच, आदर्श या मुल्यको नै स्थापना गर्न सके । यो त फगत अमेरिकि र युरोपेली अर्थतन्त्र सुधार्ने अलोकप्रिय दंगाहरु थिए भनी साबित भैसकेका छन ।
सन १९५४ र सन २००० का बीचका दशकहरुमा दक्षिणपन्थी अतिवादद्वारा गरिएका हिँसात्मक गतिविधिहेर्दा समग्र गतिविधिको ३१.२% र हताहतको अनुपात ५१. ६% ले बृद्दीभैरहेको स्थिती छ। सन २००० देखी यताको त यस्ता हिँसाहरु अगणित छन । सन १९९० देखी २०१२ सम्म दक्षिणपन्थी अतिवादी गतिविधिका कारण ६७० भन्दाबढी नै हताहत भएका छन भने ३ हजारको हाराहारीमा सख्त घाइते हुनपुगेका छन । यि घटनाहरु वामपन्थी क्रान्तिकारी आन्दोलनहरु एवं अश्वेत लडाकुहरुका आतंकवादद्वारा सिर्जित घटनाहरु भन्दा निकै बढी रहेका छन ।
यो शताब्दीको शुरुवात देखी हाल सम्म समग्र युरोपेली राष्ट्रहरुका राजनैतिक परीदृश्यहरु अवलोकन गर्दा अतीराष्ट्रवादी तथा चरम दक्षिणपन्थी राजनैतिक सँगठनहरुले आमनिर्वाचनहरुमा आश्चर्यजनक ढंङ्गले उल्लेख्य जनमत हाँसिल गर्न सकेका छन । यस परीप्रेक्षमा टर्की र रसियालाई छोडि बाँकी अन्य मुलुकहरुका संसदहरुमा राष्ट्रवाद र अती दक्षिणपन्थ कै बाहुल्यता बढ्दै गएको पाईन्छ । उदाहरणकालागी, फ्रान्समा नेशनल फ्रन्ट, स्विडेनमा स्विडेन डेमोक्र्याट्स, ग्रीसमा गोल्डेन डः न, त्यस्तैगरी पोल्याण्डमा ल एण्ड जस्टिस पार्टी, नेदरल्याण्डसमा पार्टी फर फ्रीडम र डेनमार्कमा डेनिश पिपल्स पार्टी चरम दक्षिणपन्थी दलहरुका रुपमा अग्रणी स्थानमा रहेका छन ।
अन्य युरोपेली मुलुक भन्दा फरक र समावेशी राष्ट्रिय राजनैतिक चरित्र भएको नेत्रित्वदायी युरोपेली राष्ट्र जर्मनीमा पनि आप्रवाशी एवं युद्ध शरणार्थीहरु लाई आफ्नो मुलुकमा स्वागत गर्ने त्यहाँको सरकार अनी सरकार प्रमुख एंगेला मर्केलका विरुद्ध नेशनल डेमोक्र्या्टिक पार्टी अफ जर्मनी र द थर्ड वे जस्ता दलहरुले विविध सामाजिक सञ्जालहरु मार्फत विरोध प्रदर्शन आयोजना गराउने,आप्रवासी मजदुर तथा शरणार्थिहरु हत्या, बलात्कार, आगजनी, बालबच्चा अपहरण लगायत विभिन्न अपराधीक कृयाकलापमा संलग्न भएको कपोलकल्पित र दिग्भ्रामक समाचार प्रसारण गर्नुका साथै चरम जातीवाद र अन्धराष्ट्रवादलाइ बढावा दिदै आएको पाइएको छ । विश्वब्यापी आतंकवाद विरोधी युद्धहरु मुख्यगरी मुस्लिम राष्ट्रहरुमा केन्द्रित हुनु र ति युद्धग्रस्त मुलुकका आमनागरिक शरणार्थिका रुपमा खुला र समतामुलक राज्यव्यवस्था भएका पश्चिमेलि मुलुकहरुतिरै आउनेक्रम बढ्दैजानाले गैह्रकानुनी आप्रवासी मजदुरहरुको संख्या अभूतपूर्वरुपले बढ्दैगयो । साथै, हिंसात्मक स्वरूपका प्रति–आप्रवासी तथा युरोपेली महासंघको अस्तित्व नस्विकार्ने तत्वहरुको अनपेक्षित बिकास हुनु नै यि चरमपन्थी दलहरुले आर्जन गर्दै गरेको बढ्दो जनाधारको प्रमुख कारणहरु हुन ।
सन २०१५ को हिउँद तिर भएका हृदयविदारक पेरिस आतंकवादी हमलाहरुले गर्दा त्यस लगतै हुनगएको फ्रान्सेली स्थानिय निर्वाचनहरुमा फ्रान्सेली दक्षिणपन्थी दल नेशनल फ्रन्टले हालसम्म कै अत्याधिक ३०% मत हाँसिल गर्न सफल भयो । यो क्रम अन्त पनि देख्न सकिन्छ जस्तै सन २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलामा संलग्न सबै आतंकवादीहरु मुस्लिम भएको खुलेपछि अमेरिकि महादेशिय स्तरमै ईस्लाम विरोधी घृणाजन्य अपराध र दक्षिणपन्थी आतंकवाद सरदर १,६००% ले बढोत्तरी भएको पुष्टि हुँदैआएको छ । यो सिलसिला सन २००५ मा भएको लन्डन आतंककारी बम हमलापछि बेलायतमा झण्डै ६% ले बृद्घि भएको पाइएको अध्ययनहरुले देखाएका छन । यो स्थिती आउनुमा अमेरिकाद्वारा जारी मुस्लिम देशहरुमा भएका राज्यविप्लबलाई सघाउँदै एक किसिमको अतिवादलाई नै मलजल गर्नु पनि प्रमुख देखिन्छ । उसले तात्कालिन सोभियत संघलाई पराजित गराउन अल कायदा र हिजबुल मुजहिद्दिनका लडाकाहरुलाई बन्दोवस्ती र तालिमको तर्जुमा गर्दिनु, अमेरिकी प्रभूत्वलाई अस्विकार गर्ने सिरियाली सरकार या त्यस्ता अरु सरकारहरुका विरुद्द सबैखाले आतंकवादी गुट र मोर्चाहरुलाई सि आई ए द्वारा टर्की र अन्य तटस्थ मुलुकहरुमा अवैद्दरुपले तालिम र हातहतियार खरखजाना उपलब्ध गराउनु आदि प्रतिनिधि हर्कतहरु प्रत्युत्पादक बनेर आँफैँ तिर आइलाग्ने क्रम शुरुभएको हो । अहिले ति लगभग सबै आतंककारी समुहहरुसँग अमेरिकी हातहतियारहरु नै छन जुन अन्य पश्चिमेलि मुलुकका साथै अमेरिकी ब्यापारीहरुद्वारा नै तस्करी गरी बिक्री बितरण भएको पाइएको छ ।
अर्को नजरले हेर्दा दक्षिणपन्थी राजनीतिक सोचले दैनिक जीवनमा पनि प्रत्यक्ष प्रभाव पारेको देखिन्छ जसले एक ब्यक्तिलाई जाती, वर्ण र सम्प्रदायका आधारमा अरुप्रतिको धारणा बनाउन सिकाउँछ र अन्धजातीवादी प्रबृतीलाई जगाउँन मद्धत गर्दछ । विस्तारै मूलधारका सापेक्षितरुपले धर्मनिरपेक्ष र समावेशी राजनैतिक सिद्दान्त बोकेका पार्टिहरुमा पनि दैनिक वादविवाद र अन्तर्कृयामा प्रयोग हुने पदावलीहरु पनि अतिवादी या अन्धधर्म र अन्धजातीवादी हुनपुग्छ ।
सन्दर्भः अमेरिका
हालै सम्पन्न अमेरिकि राष्ट्रपतिय निर्वाचनमा अमेरिकि साम्राज्यवादी देशभक्त तथा ब्यापरिक पृष्ठभूमी बोकेका रिपब्लिकन पार्टिका मनोनित उम्मेद्वार डोनाल्ड ट्रम्पको विजयले समकालिन विश्वव्यबस्थामा एक नौलो आयाम थपिदिएको छ । आफुलाई एक विशिष्ट कोटिको देशभक्त अमेरिकिका रुपमा दर्शाउन खोज्ने ट्रम्प उनको एक महिने कार्यावधि भित्रै दुनियाँँले वास्तवमा एक अन्धराष्ट्रवादी, चरम दक्षिणपन्थी साम्राज्यावादी पूँजिवादी ब्यक्तिका रुपमा चिनिसकेको कुरा उनले पूर्वबर्ती ओबामा सरकारद्वारा बिनियोजित अन्तरराष्ट्रिय मूल्य राख्ने कार्यक्रमका बिरुद्ध हठात उठाएका कदमबाट सुष्पष्ट भईसकेको छ । किनकी यिनी राष्ट्रपती भएपछिका कदमहरु युरोपका विभिन्न मुलुकमा पाइने चरमदक्षिणपन्थी सोच र व्यबहारसंग मिल्दाजुल्दा देखिन्छन ।
अझ घोरिएर विचारै गर्ने हो भने यिनी त नव फासिवादका नयाँँ अमेरिकि सँस्करण जस्ता लाग्छन । त्यसो त जातीवाद, गोराजातिय अभिजात्यवाद र आप्रवासी विरोधी घृणा अमेरिका कै रैथाने सामाजिक राजनैतिक प्रबृती हो जुन ट्रम्पको उदयपछि कहिले मेक्सिकोसितको सिमानामा अग्लोपर्खाल लगाइदिने या ट्रान्स्प्यासिफिक पार्टनरशिपको खारेजी लगायतका हर्कतबाट व्यबहारत पुष्टि हुँदैँ आएको छ । ब्रेइत्बर्ट न्युज का प्रमुख कार्यकारी स्टिभ बेननलाई ह्वाइट हाउसका प्रमुख रणनीतिकारका रुपमा नियुक्त गरेपछी त ट्रम्प बारे थप अरु बताउन नपर्ने नै भयो किनकी बेननको संस्था ब्रेइत्बर्ट न्युज एक अल्ट–राईट भनेर चिनिएको दक्षिणपन्थी अतीवादी सञ्चारकेन्द्र हो । फेरी अल्ट–राईट भन्ने पदावली सन २०१० ताका श्वेतराष्ट्रवादी ब्यक्ती रिचार्ड स्पेन्सरले बिकास गरेका हुन जस्लाई वैकल्पिक या अल्टर्नेटिभ दक्षिणपन्थ भनेर पनि चिनिन्छ ।
यसले सबैखाले प्रगतिवादी सोच, कल्याणकारी राज्य व्यबस्था, समावेशी समतामुलक समाज, लोकहित र जनमुखी सामाजिक राजनैतिक कार्यक्रमहरुलाई निषेध गर्दछ । यो एक प्रकारको फासिवाद नै हो जस्ले द्वितिय विश्वयुद्ध ताका जर्मन नाजी शासकहरुले अन्धराष्ट्रवाद तथा असहिष्णु जर्मन अभिजात्यवादका पक्षमा दुनियाँँका तमाम यहूदीहरुका विरुद्ध कार्यहरु हिँस्रक अपनाउँदै आएका थिए । चरमदक्षिणपन्थले स्वतन्त्र अमेरिकि सञ्चार क्षेत्रलाई राष्ट्रपती ट्रम्पको माध्यमबाट तहसनहस पारीदैछ भन्ने कुरा हाल अमेरिकी सञ्चार जगतमा ब्याप्त भएको छ । सो कुरा द डिप स्टेटः द फल अव द कन्स्टिच्युशन एण्ड द राइज अव अ श्याडो नामक पुस्तकका रचयिता एवं वर्तमान विश्वलाई फरकधारबाट नियाल्ने माइक लफग्रेनले आफ्नो एक आलेखमा उल्लेख गरेका छन ।
हुनत डोनाल्ड ट्रम्पले हाल त्यस्तो बिघ्न उपद्रब केही पनि गरिहालेका त छैनन तर पनि उनले छनोट गरेका ह्वाइट हाउसका नवनियुक्त पदाधिकारीहरुका पृष्ठभूमी औँल्याउँदा यिनले अबको आउँदो चार वर्षमा के के मात्रै नगर्लान भन्ने धेरै कुरा प्रष्ट भै सकेका छन । स्वदेश मै अलोकप्रिय भैसकेको ट्रम्प सरकारका वाणिज्य मन्त्री एक अर्का अरबपती विल्बर रोस्स हुन जसले आफ्नै कारोबार गतिलोसित गर्न नसक्दा आर्थिक सँकट झेल्नु परीरहेको हुनाले बैंकिङ क्षेत्रमा जस्लाई मिस्टर ब्याङ्क्रप्सी पनि भनेर चिनिन्छ । यिनका अर्थमन्त्री पनि त्यस्तै अतिवादी सोचका धनकुबेर नै छन जसकालागी वित्त नै सबैको चित्त बुझाउने वस्तु हो भने ट्रम्पको सरकारमा महान्यायाधिबक्ताका रुपमा नियुक्ती पाउने ब्यक्ती हुन अमेरिकि सेनेटका सेनेटेर जेफ सेसन्स जो नागरिक अधिकार तथा आमजनताको सार्वभौम मतदानको अधिकार बारेका विधेयकहरुका तिखा अलोचक हुन । उनी समलिङ्गीका आधारभूत अधिकार लगायत अन्य महत्वपूर्ण जनाधिकारलाई सम्बोधन गर्ने ऐनहरुका विरोधी हुन । बेत्सी डीभोस यस्ती अरबपती महिला हुन जो भर्खरै अमेरिकाकी शिक्षा मन्त्री नियुक्त भएकी छन जस्ले विशेषत अमेरिकि यहूदिहरुले चाहेका अतिधार्मिक शिक्षानीतिलाई सदा प्रश्रय दिनेछिन ।
यसैगरी सबै वर्ग र समुदायका हितकालागी आरोग्य कार्यक्रम भनेर पूर्वराष्ट्रपती बाराक ओबामाद्वारा निर्मित र बिनियोजित ओबामाकेयर नामक राष्ट्रिय स्वास्थ्य कार्यक्रमका घोरविरोधी टी पार्टी कँग्रेसम्यान भनेर चिनिने टम प्राइस स्वास्थ्यमन्त्रिकारुपमा नियुक्त भएका छन । बेलैमाथि गतिलो नीतिगत निर्णय लिना नसकेर अमेरिकि जनतालाई खानि तथा भूगर्ब सम्बन्धी धेरै विवाद र संकट झेल्न बाध्य पार्ने एसियाली मूलकी राजनीतिज्ञ एलिन चाओ यातायात मन्त्री भएकी छन । त्यस्तै राष्ट्रिय सुरक्षा सल्लहाकारमा माइकल फ्लिन अँटाएका छन । सबैभन्दा महत्वपूर्ण मानिएको अमेरिकि विदेशमन्त्रिमा व्यापार र वाणिज्यका क्षेत्रमा मध्यपूर्व, विशेषगरी रसिया, युरोप लगायत संसारका सबै महत्वपूर्ण मुलुक र व्यापारिक अखडाका परिचित रेक्स टिलरसन छानिएका छन ।
धेरै जसो सैन्य पृष्ठभूमिका ब्यक्तिहरु राष्ट्रपती कार्यालयमा समाहित भएका हुनाले पनि ट्रम्प सरकारका सदस्यहरु हेर्दा यस्तो लाग्छ कि यिनी कुनै युद्ध को तयारी गर्दै छन । यस्तो बढ्दो विश्वब्यापी ध्रुविकरण र अती दक्षिणपन्थी ढाँचाका अमेरिकि र युरोपका कतिपय सरकारहरुका प्रारम्भिक कृयाकलाप साथइ तिनले उठाएका राजनैतिक मुद्दाहरुका सारस्वरुपलाई मध्यनजर गर्दा निकट भविष्यमा नै दुनियाँँले निकै ठुलो अर्को मानविय संकट झेल्नु पर्नेछ भन्ने संकेत मिल्छ ।
सामाजिक सञ्जाल वरदान कि अविशाप !
दिपक तिमल्सिना तपाईहरूले आजकल सामाजिक सञ्जालमा अनेक किसिमका कनटेन्ट खपत गर्नुहुन्छ । कतिपय राम्रा हुन्छन् भने कतिपय नराम्रा तरपनि हामीलाई सामाजिक सञ्जाल टिकटक, फेसबुक, युटुव चलाउन मज्जा लाग्छ। तपाईंले याद गर्नुभएको छ कुनै दिन तपाईले अब त म सुत्छु माेबाइल चलाएकाे धेरै भयाे भन्नुभएकाे छ र त्यसपछि पनि ३, ४ घण्टा सम्म तपाई स्काेर्ल गर्दै चलाउदै बस्नुभयाे हुन्छ र एक्कासी झसङ्ग हुनुहुन्छ। प्राय: अहिलेकाे सबै जेनजी जेनेरेसनमा सामाजिक सञ्जाल याे एक प्रकारकाे एडिक भइनैसकेकाे छ। सामाजिक सञ्जालका सकारात्मक पक्ष धेरै छन भने नकारात्मक पक्षकाे पनि कमी छैन। आजका ८, ९ र १० कक्षा र कलेजमा पढने प्राय सबै विधार्थीहरू सामाजिक सञ्जालमा र विषेशतय पप जी, फ्री फायर जस्ता गेमिङ पेटफममा आवध छन। अनि आफ्नाे अमुल्य समय समेत वेतित गरिरहेका छन्। त्यस्ता गेम जुन खेल्दा डाेपामिन (खुसि हुदा आउने हरमाेन) रिलिज हुन्छ। क्षणिक सुखका लागि पढाइ र आफ्नो स्पर्णिम भविष्य आजका पिडिले दाउमा लगाईरहेका छन्। समाजमा हामीले आजकलका बच्चाहरूलाई यसरी माेबाइल फाेन थमाई दिएका छाै कि याे हाम्रो अत्यावश्यक चिज जस्तै हाे। जुन रूपमा कन्टेन्ट फिसिङ्, मिसलिडिङ, मिसइन्फरमेसन फैलिरहेकाे छ यसले पनि भविष्यमा खतराकाे सङकेत गर्दछ। यसका साथै सकारात्मक कन्टेन्टहरू पनि छन्। कक्षा १ देखि पिएचडि सम्मका कठिन विषयका पाठ्यक्रम, प्रश्नाेउत्तर पनि भिडियो मार्फत सामाजिक सञ्जालमा सजिलै पाउन सकिन्छ। यी लगायत विभिन्न सीप, उघम,नेत्तृत्व, मेसिनरी विषयमा पनि भिडियो श्रव्य, दृश्य कनटेन्ट पाउन सकिन्छ। तरपनि अनावश्यक युटुव च्यानल, फेक न्युज, चरित्र हत्या गर्न प्रयाेग गरिएका एआईका फाेटेज थिडियाेजहरू इत्यादिले निराशा पैदा गर्दछ। यस्ता आर्टिफिसिय इन्टेलिजेन्सबाट बनेका भिडियाेहरू सामाजिक सञ्जालमा हाल्दा नागरिकहरूले छिटै विश्वास गर्न सक्नेछन। यदि यस्ता प्रस्तुतिहरू प्राटफर्मले समयमा नै नियन्त्रण गर्न सकेन भने पनि जनताहरूलाई गलत सञ्चार हुन जान्छ। सामाजिक सञ्जालका कम्पनीहरूले कम्पनीकाे पेटफर्ममा देखाइएका सम्पूर्ण विषयवस्तुलाई गहिराई मै गई नियन्त्रण र नियमन गर्नु नितान्त जरुरी छ। आधुनिक प्रविधिको विकाससँगै हाम्रो जीवनशैलीमा व्यापक परिवर्तन आएको छ। यस प्रविधिमा आधारित सामाजिक सञ्जालहरू - जस्तै फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक, युट्युब, आदि - अहिले संसारभर अत्यन्त लोकप्रिय भएका छन्। तिनीहरूले हाम्रो समाज, संस्कृति, र व्यक्तित्वमा गहिरो प्रभाव पार्दै आएका छन्। यसले हामीलाई सूचनाको द्रुत आदान-प्रदान गर्न सजिलो बनाएको छ, तर यसका केही नकारात्मक असरहरू पनि छन्। सामाजिक सञ्जालका केही सकारात्मक पक्षहरू छन्। सूचनाको आदान-प्रदान सजिलै गराउँछ। यो समाचार, स्वास्थ्य, शिक्षा, प्रविधि, आदि क्षेत्रमा छिटो पहुँच पुर्याउने उत्कृष्ट साधन बनेको छ। यो माध्यमले मानिसहरूलाई टाढाको साथीभाइ तथा परिवारसँग जोडिन सहयोग पुर्याउँछ। अध्ययन, व्यवसाय वा अन्य प्रयोजनका लागि विभिन्न ठाउँमा बस्ने मानिसहरूलाई पनि आफ्ना नजिकका व्यक्तिहरूसँग सम्पर्क राख्न सजिलो भएको छ। व्यवसाय र रोजगारका अवसरहरू पनि बढेका छन्। स–साना व्यवसायीलाई पनि आफ्नो व्यवसायलाई ठूलो बजारमा प्रवर्द्धन गर्ने अवसर मिलेको छ। मानिसहरूले आफ्नो प्रतिभा, जस्तै कला, संगीत, नृत्य, लेखन, आदि सामाजिक सञ्जालमा प्रस्तुत गर्न सक्छन्। यसले उनीहरूलाई दर्शक र प्रशंसा प्राप्त गर्न मद्दत गर्दछ। शिक्षामा पनि यसले धेरै सहयोग पुर्याएको छ। विद्यार्थीहरूले अनलाइन कक्षाहरू लिन, नोट्स आदानप्रदान गर्न र आफ्ना शंकाहरू समाधान गर्न सक्छन्। तर, सामाजिक सञ्जालका केही नकारात्मक पक्षहरू पनि छन्। यसले मानिसको समयको नाश गराउँछ। सामाजिक सञ्जालमा अत्यधिक समय बिताउँदा मानिसहरू आफ्नो पढाइ, काम, वा अन्य जिम्मेवारीमा ध्यान दिन नसक्ने समस्या पनि देखिन्छ। यसले मानिसहरूको निजी जीवनलाई सार्वजनिक बनाउँछ, जसकारण गोपनीयता सम्बन्धी समस्या उत्पन्न हुन्छ। लामो समयसम्म सामाजिक सञ्जालको प्रयोगले मानिसहरूमा नकारात्मक भावना, मानसिक तनाव, र डिप्रेसनको समस्या निम्त्याउन सक्छ। विभिन्न पोस्ट र तस्वीरले व्यक्तिलाई आफ्ना कमजोरीहरूमा ध्यान दिन लगाउँछ र आत्म–सम्मानमा कमी आउन सक्छ। यसमा छिटो जानकारी फैलिने भएकाले, कहिलेकाहीँ गलत सूचना पनि सजिलै फैलिन्छ, जसले समाजमा भ्रम र अविश्वास फैलाउन सक्छ। सामाजिक सञ्जालमा अपमानजनक कमेन्ट, धम्की, र विभिन्न प्रकारका साइबर अपराधहरू पनि हुनेगरेका छन्। यसले मानिसको मनोबल गिराउने काम गर्छ। यसरी, सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका छन्। सही उपयोग गरिएमा यो एक अत्यन्त प्रभावकारी र शिक्षाप्रद साधन हुन सक्छ। यसलाई सन्तुलित रूपमा प्रयोग गर्न सकेमा हाम्रो जीवनमा यसले उल्लेखनीय सुधार ल्याउन सक्छ।
बदलिँदो नेपाली समाजमा युवाहरूको भूमिका
सुबिन चालिसे नेपाल जस्तो विविधतायुक्त देशमा समाज निरन्तर परिवर्तनको यात्रामा छ। विकास, प्रविधि, र जनचेतनामा आएको परिवर्तनले समाजको संरचना र मूल्य मान्यताहरूमा ठूलो प्रभाव पारेको छ। यस बदलिँदो समाजमा युवाहरूको भूमिका महत्वपूर्ण छ। नेपाली समाजमा परिवर्तन ल्याउने शक्ति नै युवाहरू हुन्। सबैभन्दा पहिला, युवाहरू प्रविधिको सशक्त प्रयोगकर्ताका रूपमा देखिएका छन्। इन्टरनेट, सामाजिक सञ्जाल, र नयाँ प्रविधिहरूको उपयोग गर्दै उनीहरूले नयाँ चेतना, विचार र सन्देश फैलाइरहेका छन्। उदाहरणस्वरूप, विभिन्न सामाजिक मुद्दाहरूमा युवाहरूले अनलाइन अभियान चलाएर समाजलाई जागरूक बनाउने प्रयास गरिरहेका छन्। दोस्रो, राजनीतिक परिप्रेक्ष्यमा युवाहरूको भूमिका उल्लेखनीय छ। विगतका केही वर्षहरूमा, युवाहरूले राजनीतिक आन्दोलनहरूमा सक्रियता देखाउँदै आएका छन्। नेपालमा भएको लोकतान्त्रिक आन्दोलनहरूमा युवाहरूको भूमिका महत्त्वपूर्ण रह्यो। अहिलेको नयाँ संविधान निर्माणमा समेत युवाहरूको आवाजलाई सुनिएको छ। तेस्रो, नेपाली समाजमा भएका परम्परागत धारणाहरू र पुराना सामाजिक संरचनाहरूलाई चुनौती दिन युवा पुस्ताले अग्रसरता लिएको देखिन्छ। जात, लिङ्ग, र धर्मसँग सम्बन्धित विभेदहरूलाई हटाउने र समानता स्थापनाको लागि युवाहरूले अभियानहरू चलाएका छन्। यसले नेपाली समाजलाई उदार, समतामूलक र समावेशी बनाउन ठूलो सहयोग गरेको छ। युवाहरू रोजगारी र उद्यमशीलताको क्षेत्रमा पनि सक्रिय छन्। बदलिँदो अर्थतन्त्रको माग अनुसार युवाहरूले नयाँ नयाँ व्यावसायिक मोडेलहरू सिर्जना गरिरहेका छन्। स्टार्टअप कल्चरको सुरुवात र नविन सोच राखेर उनीहरूले नेपालको आर्थिक विकासमा योगदान पुर्याइरहेका छन्। युवाहरूले सामाजिक सेवामा पनि उल्लेखनीय योगदान दिएका छन्। विभिन्न गैरसरकारी संस्थाहरू, स्वयंसेवी संगठनहरू मार्फत शिक्षा, स्वास्थ्य, वातावरण, तथा अन्य सामाजिक मुद्दाहरूमा काम गरेर समाजलाई सशक्त बनाउन उनीहरूको भूमिका महत्त्वपूर्ण छ। समग्रमा, बदलिँदो नेपाली समाजमा युवाहरू परिवर्तनका वाहक हुन्। उनीहरूलाई सही दिशामा नेतृत्व गर्ने अवसर दिइने हो भने नेपाली समाजको भविष्य उज्ज्वल देखिन्छ। नविन सोच, साहस, र जोशले भरिएका यी युवाहरूले नेपाली समाजलाई आधुनिक र प्रगतिशील दिशामा अघि बढाउन सक्ने क्षमता राख्छन्। बदलिँदो नेपाली समाजमा युवाहरूको भूमिकालाई थप विस्तृत रूपमा हेर्दा विभिन्न क्षेत्रहरूमा उनीहरूको प्रभावलाई उजागर गर्न सकिन्छ। सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक तथा वातावरणीय क्षेत्रमा उनीहरूको योगदान क्रमशः वृद्धि हुँदै गएको छ। १. सामाजिक नेतृत्वमा योगदान: नेपाली युवाहरूले सामाजिक नेतृत्व र सेवा क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निभाउँदै आएका छन्। सामाजिक अभियन्ता र स्वयंसेवकको रूपमा, युवाहरूले सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र लैंगिक समानताजस्ता मुद्दाहरूमा काम गरिरहेका छन्। विभिन्न गैरसरकारी संस्था र अभियानहरूमा संलग्न भई उनीहरूले समाजमा सुधार ल्याउने प्रयास गरिरहेका छन्। नेपालमा बढ्दो लैंगिक हिंसा, बालविवाह, जातीय विभेद, र अन्य सामाजिक मुद्दाहरूलाई हटाउन युवाहरूले चलाएका अभियानहरूले समाजमा चेतना फैलाइरहेका छन्। यसले समाजलाई न्यायसंगत र समावेशी बनाउन मद्दत पुर्याएको छ २. राजनीतिक सचेतना र सक्रियता: नेपाली राजनीतिक परिवेशमा युवाहरूको भूमिका अब सीमित मात्रामा होइन। विगतमा राजनीति बृद्ध पुस्ताको वर्चस्वमा रहे पनि अहिलेको समयमा युवाहरूले नयाँ सोच, सुधार, र परिवर्तनको माग राख्दै सक्रिय सहभागिता जनाइरहेका छन्। स्थानीय निर्वाचनदेखि लिएर राष्ट्रिय स्तरसम्म उनीहरूको सहभागिता बढ्दो छ। युवाहरूले सशक्त राजनीतिक नेतृत्वको माग गर्दै विभिन्न आन्दोलनहरूमा भाग लिएका छन्, जसले नयाँ पुस्ताको आवश्यकता र प्राथमिकतालाई अघि सारेको छ। उनीहरू राजनीतिमा पारदर्शिता, जवाफदेहिता, र निष्ठाको माग राख्दै आएका छन्। यसले पुराना राजनीति शैलीमा सुधार ल्याउन र नयाँ नीतिहरूको निर्माण गर्न सहयोग पुर्याएको छ। ३. उद्यमशीलता र नवप्रवर्तन: बदलिँदो विश्वसामु युवाहरूले नयाँ प्रविधिको सदुपयोग गर्दै उद्यमशीलताको क्षेत्रमा क्रान्तिकारी योगदान दिएका छन्। नेपालको आर्थिक अवस्था सुधार्न युवाहरूले स्टार्टअपहरू, साना तथा मझौला उद्यमहरूको सुरुवात गरेका छन्। कृषि, पर्यटन, सूचना प्रविधि, र उद्योग क्षेत्रमा युवाहरूको नविन सोचले नेपाललाई स्वावलम्बी बनाउने दिशामा अघि बढाएको छ। अझै, युवा उद्यमीहरूले विश्वव्यापी मञ्चमा नेपाललाई चिनाउँदै निर्यातका लागि नयाँ नयाँ उपायहरू खोजिरहेका छन्। यसले न केवल रोजगारी सिर्जना गरेको छ, तर देशको आर्थिक विकासमा योगदान पुर्याएको छ। ४. सांस्कृतिक परिवर्तन: सांस्कृतिक रूपमा पनि युवाहरूले परम्परागत मान्यताहरूलाई आधुनिक सोचसँग मेल खुवाउने प्रयास गरिरहेका छन्। नेपालको विविध सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै, नयाँ पुस्ताले सांस्कृतिक साक्षरता, कला, संगीत, र अन्य सांस्कृतिक क्रियाकलापहरूमा पनि नविनता ल्याइरहेका छन्। यसका साथै, विश्वव्यापीकरण र प्रविधिको प्रभावले गर्दा युवाहरूले नयाँ सांस्कृतिक परम्पराहरूलाई आत्मसात गर्दै आएका छन्। यद्यपि, उनीहरूले आफ्नै मौलिक संस्कृति र परम्पराको पनि सम्मान गर्ने परिपाटीलाई कायम राखेका छन्। ५. वातावरणीय सचेतना र संरक्षण: वातावरणीय चुनौतीहरू सामना गर्न युवा पुस्ताले अग्रसरता लिएको छ। जलवायु परिवर्तन, प्रदूषण, र जंगलको कटानजस्ता समस्याहरूको समाधानका लागि युवाहरूले वातावरणीय सचेतना अभियानहरू सञ्चालन गरिरहेका छन्। "क्लिन अप नेपाल", "ग्रीन नेपाल", जस्ता अभियानहरूमा उनीहरूको उत्साही सहभागिताले वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ।युवाहरूको वातावरणप्रतिको जागरूकता र योगदानले दीर्घकालीन दिगो विकासको अवधारणा फैलाउने कार्यमा ठूलो भूमिका खेलिरहेको छ। निष्कर्ष: बदलिँदो नेपाली समाजमा युवाहरूको भूमिका बहुआयामिक छ। उनीहरू समाजका हरेक क्षेत्रमा परिवर्तन र सुधारको वाहक बनेका छन्। प्रविधिको प्रयोग, उद्यमशीलता, सामाजिक न्यायका लागि अभियान, र राजनीतिक सुधारमा उनीहरूको योगदान नेपाललाई आर्थिक, सामाजिक, र सांस्कृतिक रूपमा समृद्ध बनाउन सहायक साबित भएको छ। युवाहरूको सक्रियता र नवप्रवर्तनले नेपालको भविष्य उज्ज्वल र सक्षम देखिन्छ। यदि राज्यले तिनलाई उचित अवसर र स्रोतहरू उपलब्ध गरायो भने, नेपाली समाजले उनीहरूको अद्वितीय ऊर्जा र नवाचारलाई थप सदुपयोग गर्न सक्नेछ, जसले देशलाई दिगो विकास र समृद्धितर्फ उन्मुख गराउनेछ ।
थारू समुदायमा बर्का अटवारी
छविलाल कोपिला अटवारी, थारू समुदायको महान् चाड माघ पछिको दोस्रो ठूलो पर्वकाे रूपमा मानिन्छ । यो पर्वमा खास गरेर पुरुषहरू निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरू पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने यो पर्व प्रायः भदौ महिनामा पर्छ । यसको तिथि मितिको बारेमा हरेक वर्षझैं विभिन्न मतमतान्तर हुँदै आएका छन् । ठाउँ अनुसार चालचलनमा विविधता छ र यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरू अगाडि आएको देखिन्छ । यसकारण पछिल्लो समय यस पर्वको निश्चित तिथि, मिति हुनु पर्ने कुरा थारू समुदायका बौद्धिक वर्गहरूको बहसको विषय पनि बन्दै आएको छ । अटवारी कहिले मनाइन्छ ? अटवारीको परम्परागत अवस्था र पृष्ठभूमिलाई हेर्ने हो भने यो खास गरेर भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्म सबै आइतबारलाई अटवारी पर्वको रूपमा मान्ने चलन थियो । तर, यो चलन अहिले छैन । समयसँगै अहिले यो पर्व एक आइतबारमा मात्रै सीमित भइसकेको छ । पुरानो चलनलाई हेर्दा जसरी हिन्दू महिलाहरूले साउन महिनाको प्रत्येक सोमबार व्रत बसे जस्तै थारु समुदायमा भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्मको सबै आइतबार व्रत बस्ने चलन थियो । त्यसकारण कुनै साल कात्तिके दशैं पर्यो भने एउटै व्यक्तिले ११–१२ पटकसम्म व्रत बस्नु पर्ने अवस्था हुन्थ्यो । यति लामो समयसम्म लगातार व्रत बस्नु पर्ने हुनाले दशैंसम्मको सबै आइतबार अटवारी व्रत सबैले बस्दैनथे । केही व्यक्तिहरू भदौको पहिलो आइतबारदेखि औंसीको पहिलो आइतबारको अटवारी धुमधामसँग मनाएर व्रत स्थगित गर्दथे भने स्वेच्छिक व्रत बस्नेहरू दशैंसम्मको आइतबार नियमित रूपमा अटवारी व्रत बस्दथे । समयक्रमसँगै भदौको पहिलो आइतबारदेखिको व्रत बस्न अहिले छोडिसकेका छन् । भदौ महिना ऊ बेला धेरैजसोको घरमा भोकमरी हुने र झाडापखाला लगायतका महामारी तथा बर्षे धानबाली भित्राउने र हिउँदे धानबाली रोपाइँ शुरु गर्ने हुँदा कामको चटारो भएकोले व्रत बस्न छोडेको कुरा जानकारहरूले बताउँछन् । तर कुशे औंसी पछिको पहिलो आइतबार बर्का अटवारी र त्यसपछिको ४ आइतबार स्वेच्छिक अटवारी पर्व मान्ने चलन निरन्तर रह्यो । यसरी पाँच अटवारी व्रत रहनेहरूलाई ‘पाँच अटवह्र्यन’ भनिन्थ्यो । पाँच अटवारीपछि दशैं शुरु हुन्थ्यो । अहिले बर्का अटवारी पछिको चार आइतबार व्रत बस्ने चलन पनि हराइसकेको छ । यसरी भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्म, भदौ महिनाको पहिलो आइतबारदेखि औंसीको पहिलो आइतबारसम्म, कुशे औंसीको पहिलो आइतबारदेखि दशैंसम्मको ५ आइतबार र कुशे औंसीको पहिलो आइतबार मात्र व्रत बस्ने यी चार थरिका व्रतालुको साझा दिन कुशे औंसीको पहिलो आइतबारको अटवारी भएकोले यसलाई ‘बर्का अटवारी’ भनिएको हो । अन्य अटवारीलाई भने सामान्य अटवारी अथवा छुट्की अटवारी भन्ने चलन छ । यसकारण यसको मूल गहिराई नबुझ्दा बीचबीचमा तिथि–मितिमा मतमतान्तर हुने गरेका छन् । तर यसका परम्परागत विधि र प्रक्रियालाई गहिरिएर हेर्ने हो भने विवाद गर्नु पर्ने खासै देखिदैन । सामान्यतया अटवारी थारु समुदायको अस्टिम्की पर्व पछिको दोस्रो आइतवार अथवा कुश अमाँवस (कुशे औंशी) पछिको पहिलो आइतबारलाई बर्का अटवारी मान्ने चलन छ । बर्का अटवारी मानेर ४ आइतबार पछि दशैं लाग्छ । किन कि बर्का अटवारी पछि थप चार आइतवार अटवारी व्रत बस्ने पुरानै चलन छ । अथवा कुशे औंसी र दशैंको बीचमा आउने पाँच आइतबारलाई अटवारी मान्न सकिन्छ । यसरी पाँच अटवारी व्रत बस्ने चलनले पनि कुशे औंसीको पहिलो आइतबार नै बर्का अटवारी हो भनेर प्रमाणित हुन्छ । कुनै कुनै गाउँमा हैजा लगायतका रोगको प्रकोप बढी देखिए वा दैविक प्रकोपका कारण) समय हेरेर अटवारी पर्व मान्ने चलन पनि छ । यसो गर्दा पाँच अटवारी व्रत बस्नेहरू सबै आइतबार व्रत बस्न सक्दैनन् र अँटवारी पनि फरक-फरक मितिमा मनाउने बाध्यात्मक समस्या देखापर्छ । केही भ्रमहरू केही मानिसहरूको धारणा हिन्दू नारीहरूको हरितालिका तीज पछिको आइतबारलाई अटवारी मान्ने पनि छ । तर यो त्यति सान्दर्भिक देखिदैन । यदि तीजपछिको आइतबारलाई मान्ने हो भने ‘पाँच अटवारी’ व्रत बस्नेहरूको अटवारी प्रभावित हुन्छ । अर्को कुरा थारू समुदायमा तीजको प्रभाव पनि निकै पछिबाट परेको देखिन्छ । थारूवस्तीमा आजको जस्तो हिजो मिश्रित जातजातिहरूको बसाई थिएन । थारू समुदायको एकलौटी बसाई थियो । आफ्नै कला, संस्कृति र सामाजिक मान्यताभित्रै रमाउने थारू समुदाय, अन्य समुदायको पर्वलाई आधार बनाएर आफ्नो पर्वको निर्धारण गर्ने विषय पनि हुँदैनथ्यो । अहिलेको जस्तो विभिन्न जातजातिहरूको मिश्रित बसाई र सबैले एकअर्काका कला, संस्कृतिलाई स्विकारी सकेको अवस्थामा यो कुरा उठ्नु स्वभाविक भएपनि वास्तविकता भने होइन । उसो त कुशे औंसी पछिको पहिलो आइतबार प्रायः तीज पछि नै पर्छ । यो एउटा संयोग मात्र हो । यसले पनि तीज पछिको आइतबारलाई मान्ने भन्ने कुराको बढावा दिन सक्छ । तर यो सत्य होइन र सँधै यस्तै पनि हुँदैन । कहिलेकाही त तीजकै दिन आइतबार पर्छ अथवा तीज अगावै पनि पर्छ । तर, पछिल्लो समय यही तर्ककै भ्रममा परेर फरक फरक आइतबार अटवारी मान्ने समस्या देखापरेको छ । अटवारी बिशेषतः आइतबारसँग जोडिएर आएको पर्व हो । यसकारण अटवारी पर्वलाई यो र त्यो बहानामा बिषयान्तर गर्नु भन्दा यसको परम्परागत पृष्ठभूमिलाई अध्ययन गर्न जरुरी छ । जसरी हिन्दू महिलाहरूको सावने सोमवार व्रतलाई कुनै चतुर्थी, षष्ठीले छेकबार लगाउँदैन । त्यसैगरी थारु समुदायको अटवारी व्रत पनि भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्मको आइतबार कुनै पनि तिथि मितिले असर गर्दैन र स्वेच्छा अनुसार तोकिएको समयसीमाका जुनसुकै आइतबार व्रत बस्न सक्ने जानकारहरू बताउँछन् । तर बर्का अटवारी अथवा औंसीको पहिलो आइतबार व्रत अनिवार्य जस्तै रहन्छ । रूपन्देहीका साहित्कार बमबहादुर थारूले ‘रूपन्देहीको थारू समाज र संस्कृति’ भन्ने आफ्नो पुस्तकमा कुशे औंसीको आठौं दिनपछिको आइतबारलाई बर्का अटवारी मान्ने कुरा उल्लेख गरेका छन् । उनले ‘पाँच अटवारी’को विषयमा भने कुनै कुरा उल्लेख गरेका छैनन् । त्यसो त रूपन्देही, नवलपरासी, चितवन लगायतका पूर्वका केही जिल्लामा मनाइने विधि प्रक्रियाहरू पश्चिमाजिल्ला भन्दा फरक छ । तर, कपिलवस्तु, दाङ देउखुरी, बाँके, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका थारूहरूमा वैचारिक धारणा फरक फरक भए पनि विधि प्रक्रियामा भने एकरूपता पाइन्छ । अटवारीमा कसको पूजा हुन्छ ? प्रकृति पुजक थारू समुदायमा खास गरेर यो पर्व सूर्यको पूजा गरेर रूपमा मनाइन्छ । सूर्यलाई उज्यालो, अग्नी र शक्ति (उर्जा)को प्रतीकको रूपमा मानिन्छ । रवि भनेको सूर्य (सुरज) अथवा अग्नी । जब भयावह कालरात्रि चिरेर सूर्यको उदय भएपछि यो संसार उज्यालो भयो भन्ने किम्बदन्ती छ । सूर्यले अँध्यारो चिरेर उज्यालो गराउँछ । जसले गर्दा मान्छे मात्रै होइन यस पृथ्वीमा बस्ने हरेक प्राणीलाई सजिलो हुन्छ । प्रकृतिप्रति विश्वास गर्ने थारू समुदाय, सूर्य उज्यालोको प्रतीक भएकोले यसको पूजा उज्यालोदाताको रूपमा गरेका हुन् । आइतबारलाई रविबार पनि भनिन्छ । त्यसैले यो व्रत पहिले राजकुमार देवदत्त बसे । पाण्डु, कुन्ती, माद्री, कर्ण, भीम लगायत सूर्यको पूजा हेतु श्रीमदभागवत सुनाए । त्यसपछि देउताहरू सूर्यको पूजा गर्न थाले । त्यसैगरि ठूला-ठूला ऋषिमुनिहरू पनि सूर्यको उपासकको रूपमा सूर्यको जन्म दिन आइतबारलाई अटवारी व्रत बसेर मनाउन थाले भन्ने कुरा वीरबहादुर चौधरी आफ्नो पुस्तक ‘वीरबहादुरके ऋतु’मा उल्लेख गरेका छन् । जुन अहिले पनि यो चाड चलन चल्तीमा छ । अर्को मिथक महाभारत कथासंग जोडिएको छ । पाँच पाण्डव मध्ये सबैभन्दा बलियो भेवाँ (भीम) थिए । जब कौरव र पाण्डवको लडाइ भयो । त्यसै समय भीम रोटी पकाउँदै थिए । लडाई चरमोत्कर्षमा पुगेपछि उनी रोटी पकाउँदा पकाउँदै टावामै छोडेर लडाईमा हिँडे । जब लराइबाट फर्किदा उनी निकै भोकाएका थिए । टावामा छोडेर गएको एक पट्टी मात्र पाकेको रोटी खाएर पेट भरे । अटवारीमा अक्केकरे रोटी (एक पट्टी मात्र पकाएको रोटी) पकाउने चलन छ । यसरी अक्केकरे रोटी उनै भीमलाई पुज्ने गरिन्छ भन्ने किम्बदन्ती छ भने भीम, थारू राजा दंगीशरणलाई लराइमा सघाएको र सबैभन्दा बलियो पुरुष भीम भएकोले उनी जस्तै बलियो हुने संकल्पका साथ पुरुषहरू उनकै पूजा गरेर अटवारी व्रत बस्ने विचार पनि जनमानसमा छ । यसरी अटवारी पर्वको बारेमा अध्ययन गर्दा वैचारिक एकरूपता रहेको पाइदैन । ठाउँ अनुसार फरक फरक विचार, चालचलन र प्रक्रिया रहेको पाइन्छ । अटवारी कसरी मनाइन्छ ? अटवारी, व्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि ‘डटकट्टन’ (दर) खाने चलन छ । दर खानाका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन, तरकारीको जोहो गरिन्छ । माछाको सुखौरा (सुकुटी) धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ । अटवारीमा माछाको सुखौरा विशेष मानिन्छ । तर अन्य कुनै चीजको मासु भने हुँदैन । सागमा पोंइ अनिवार्य जस्तै हुन्छ । भिन्डी, टोरैं, ठुसा (मास जस्तै एक प्रकारको दाल बाली, झिलिङ्गी, सिल्टुङ) लगायतका तरकारी हुन्छ । ‘डटकट्टन’ व्रत बस्नेहरू भाले बास्नु भन्दा पहिले खानु पर्छ । यदि खानुभन्दा पहिले भाले बासे भने ‘डटकट्टन’ खान पाइदैन । खाए भने ऊ व्रत बस्न पाउँदैन । उसलाई जुठो मान्ने चलन छ । आइतबार अथवा अटवारीको दिन व्रत बस्नेहरूको खान भान्सामा पाक्दैन । उनीहरू बिहानै नुहाएर बहरी (घरको प्रवेशद्वारको पहिलो कोठा) या आँगनमा गाईको गोबरले लिपपोत गर्छन् । लिपपोत गरेर ‘कोरे आगी’ (भान्सामा पहिले प्रयोग नभएको आगो, चोखो आगो) मा रोटी पकाइन्छ । पुरानो आगो आज अपवित्र मानिन्छ । त्यसकारण गनयारी काठ या फोर्सा काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्ने गरन्छि । बाटुलो रोटी सूर्यको प्रतिकात्मक परिकारको रूपमा लिइन्छ । यो पर्वमा रोटी अनिवार्य हुन्छ । अन्य खानेकुरा भने सहायक हुन्छन् । अटवारीमा अन्डी र र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने पक्की, अम्रुट् (अम्बा, बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी पनि हुन्छ । पहिलो दिन नुन, बेसार, खुर्सानी, माछा, मासु भने आजको दिन बर्जित हुन्छ । रोटी पकाएर तयार भयो भने स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा पिर्का या कुनै काठको वस्तुमा संगै बसेर आफ्नो प्रक्रिया अगाडि बढाउँछन् । खानुभन्दा पहिले अगयारी (अग्यारी) दिने चलन छ । निश्चित ठाउँमा गाईको गोबरले पुनः लिपेर त्यसमा आगो (फिलिङ्गो) राखिन्छ । त्यही आगोमा सर्री धूप (सल्लाको धूप), नौनी र खानका लागि तयार गरिएको बस्तु (अन्डीको रोटी, गहुँको रोटी, पक्की, काँक्रो, अम्बा (बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी) अलिअलि सबै चीज एकैमा मिसाएर त्यसमा हवन गरिन्छ (चढाइन्छ) । यसरी आगोमा चढाउने कामलाई ‘अगयारी’ दिएको भनिन्छ । सूर्य आगोको मुख्य श्रोत हो । सूर्य आफैमा अग्नी हो । त्यसैले सबैभन्दा पहिले अग्नी (आगो)लाई अथवा सूर्यलाई प्रसादको रूपमा अगयारी दिने चलन आएको हो । अगयारी दिएर तीन पटक दायाँ र तीन पटक बाँयाबाट पानीले पर्छने (पानीको घेरो हाल्ने) चलन छ । कोइ–कोइ पाँच या सात फेरा पनि पर्छने गर्छन् । त्यसपछि आफ्ना चेली–बेटीहरूका लागि पहुरको रूपमा ‘अग्रासन’ छुट्याउने चलन छ । ‘अग्रासन भनेको आफू खानुभन्दा पहिले छुट्टयाएको खान भन्ने बुझाउँछ । जुन आफू खानुभन्दा पहिले आफ्ना चेलीहरूको नाममा छुट्टयाइन्छ । अग्रासन ‘अग’ र ‘रासन’ समास भए बनेको शब्द हो । यहाँ ‘अग’ भनेको सबैभन्दा पहिले भन्ने अर्थ हुन्छ र ‘रासन’ भनेको खान भन्ने बुझाउँछ । यसरी चेली बेटीहरूलाई दिनका लागि छुट्टै भाँडोमा निकालेर मात्रै खाने चलन छ । यो काम दिउँसो हुन्छ । अन्य व्रत जस्तो अटवारीमा दिनभरि निराहार बसिरहनु पर्दैन । दिउँसो नै पूजा गरी खाने चलन छ । यो क्रम सूर्यास्त नहुँदासम्म चल्छ । सूर्यास्तपछि खाने काम पूर्ण रूपले बन्द हुन्छ । अर्को दिन सोमबार, ‘फर्हार’ गरिन्छ । फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार बस्नु पर्छ । फर्हार अटवारीको अन्तिम पूजा हो । यस दिन व्रतालुहरू बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन् । घरका अन्य सदस्यहरूले पनि सहयोग गरेका हुन्छन् । आजको खानामा खास गरेर भात, खँरिया, फुलौरी, पोंइ मिसाएको ठुसा, सुखौरा माछा, चिचिण्डो, घिरौला, भेन्डी लगायतका विजोर संख्यामा तरकारीहरू बनाइएको हुन्छ । माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन । फर्हारपछि मात्रै मासु ल्याउने या खाने गरिन्छ । फर्हार, सबै पकवान तयार भएपछि शुरु हुन्छ । व्रतालुहरू हिजोको जस्तै आज पनि नुहाई धुवाई गरी अगयारी दिएर आफ्ना चेली बेटीहरूका लागि ‘अग्रासन’ निकाल्ने गरिन्छ । अग्रासन धातु वा प्लाष्टिकको भाँडामा निकालिदैन । अग्रासन बिशेषताः नम्ह्रैन (मालु), कमल या केराको पातमा निकाल्ने गरिन्छ । अटवारी आउनुभन्दा केही दिन पहिले नै पात टिप्ने काम हुन्छ । प्रायः अग्रासन पात खुटेर बनाएको दुना टपरीमा निकालिन्छ । त्यो नभए विकल्पको रूपमा कमलको पात या केराको पात प्रयोग भएको पनि पाइन्छ । यसरी प्रक्रियागत रूपमा सबै कार्य पूरा भइसकेका पछि मात्र व्रतालुहरू अन्न ग्रहण गर्छन् । अन्य पर्वमा जस्तै अटवारीमा आफ्ना चेलीबेटीहरूलाई घरमै बोलाउने चलन छैन । ब्रतालुहरूले निकालेको पहुर ‘अग्रासन’ उनीहरूकै घरमा पुर्याउन जाने चलन छ । अग्रासन पुर्याउन प्रायः दाजु भाइ नै जाने गर्छन् । दाजु भाइ नभए अन्य सदस्यहरू जान्छन् । चेलीहरू पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन् । सम्मानार्थ जाँड, रक्सी र मासु खुवाउने गर्छन् । अतिथि सत्कारका लागि थारु समुदायमा जाँड रक्सी ठूलो मानिन्छ । त्यसकारण जाँड रक्सी खुवाउन पाए सन्तुष्ट भएको महसुस गर्छन् । यो पर्व भातृत्वप्रेम र सद्भावको पर्वको रूपमा पनि लिने गरिन्छ । लामो समयसम्म आफ्नो माइता जान नपाएका चेलीबेटीहरू यस पर्वमा आफ्ना दाजु भाइ तथा परिवारसंग दुःखसुखका कुरा खुलेर पोख्छन् । यसरी एकै ठाउँमा बसेर सुखदुःखका कुरा र खानपिनले एकापसमा विश्वास र आत्मीयता बढाउँछ । पारिवारिक सम्बन्ध पनि सुमधूर बनाउँछ । तर यसका केही गलत पक्षहरू पनि छन् । सम्मानका नाममा अत्याधिक मदिरा सेवन गर्ने र गराउने परम्परा समय सापेक्षित देखिदैन । यसकै कारण अनावश्यक झैझगडा, पानीमा डुबेर मृत्यु, सडक दुर्घटना लगायत विभिन्न घटनाहरू भएको पनि देखिन्छ । यसको न्यूनीकरणमा ध्यान दिन जरुरी देखिन्छ । त्यसैगरि अग्रासनका नाममा बासी खानेकुरा, खानेकुरामा रंगको प्रयोग, अनावश्यक खर्च, कुनै साल आफ्ना चेलीबेटी कहाँ अग्रासन पुर्याउन नसके चेलीहरूमा नकारात्मक सोचाई राख्ने र एकापसमा मनमुटाव भएको पनि देखिन्छ । त्यसकारण पर्व, सबैले पर्वको मर्म अनुसार मनाउनु पर्छ । यसलाई समय अनुसार परिमार्जन गर्दै आफ्नो गर्त र मौलिकतामा सबैले सबैलाई खुशी पार्ने हिसाबमा मनाउन सक्नु पर्छ । अटवारी सबैको शुभ रहोस् ।
दलितलाई खै आन्दोलन किन ?
सरोजदिलु राजनीतिक चरित्रः इतिहासको कालखण्डदेखि नै वर्णब्यवस्थाका कारणले तुच्छ घोषित गरी हरेक अवसरबाट अलग्याई मान्छे हुनै नदिइएको जातीय समुह हो– दलित समुदाय । आज सांस्कृतिक विभेद त छ नै, वहुअपेक्षित नयाँ संविधान आइसक्दा समेत सत्ता राजनीतिबाट यो समुदाय कुनै न कुनैरुपमा तिरस्कृत नै छ, आर्थिक अवसरहरुमा कुनै न कुनै वहानामा यिनलाई अझपनि पाखाल गाइएको छ । मनुस्मृतिमा भनेजसरी आजको समाजमा फलाम तताएर नडामेता पनि राज्यका अवसरमा अयोग्य घोषित गरेर डामिएकै छ, वेदाशास्त्र पढ्न नदिइए वा यिनका शरीरलाई टुक्रा पार्न नसकेता पनि यिनीहरुको विद्धतालाई नकारिएकै छ । चाणक्यको सामदाम, दण्डभेदकै नीतिमुताविक दलितको संगठित आन्दोलनलाई त्रास र विभिन्न आस्वासनमा टुङ्ग्याईएको छ, टुक्र्याएको छ । सिधै नमारीकन वरु अझ प्रगतीशील तवरले हत्या गर्न थालिएको छ । विषेशगरी सर्वहारा श्रमजीवि वर्गलाई आफ्नो सांगठानिक आधार मान्ने कम्युनिष्टहरु नै दलित अधिकारका विषयमा मौन बस्दैआएका छन् । उनीहरु वीचको छलफलमा‘समावेशीकरण त भन्ने पो त, गर्न कहाँँ सकिन्छ ?’ भन्ने गरेको यदाकदा सुनिन्छ । दलितको पिठ्युँमा चढेर युद्ध जितेको माओवादीले समेत दलित समावेशीकरणको कुरालाई ब्यवहारमा छाड्दैगएको छ । कथम्कदाचित समकालिन नेता–कार्यकर्ताहरुसंग दलितका विषय उठाइयो भने जातीय कुरा गौण राखेर उनीहरु वर्गीय कुरामा अलमल्याउन थालिहाल्छन् । यसरी वर्गीय राजनीति गर्ने र दलित उत्पीडितको जनाधारको कुरा गर्ने कम्युनिष्ट सरकार र पार्टीहरु नै समावेशीकरण विरोधी भएको प्रमाणित हुँदैगएका छन् । उनीहरु अंजिङ्गरले रङिगन पुच्छर हल्लाएर आहारा चप्काएझैं दलितलाई मिठो कुरा गर्दै झुठो आस्वासनमा प्रयोग मात्र गरिरहेका छन् । अन्य लोकतान्त्रिक दलका केही अगुवा नेताहरु तथा जिम्मेवार कार्यकर्ताहरुले नै अव त आफ्नो भागभोग हरिने भो भन्ने त्रासले समावेशीकरण खोज्ने जाति समुहहरुलाई निकम्मा र असक्षम भन्दै आरक्षणलाई गलत ढंगवाट प्रसारप्रचार गरि साईवर हंगामा मच्याउँदै आएको देखिन्छ । समावेशीकरणको कुरा गरी खाइपाई आएका बर्ग–समुदायको आलोचना गरियो भने राजनीतिक नेताहरुले नै जातीय विखण्डनवादीको बिल्ला भिराइदिने र पार्टीको पहुँचबाट टाढा हुत्त्याइदिने गरेका छन् । जसकाकारण दलित नेताहरुले आफ्ना पार्टी नेताहरुको जुनसुकै अन्यायका विरुद्ध बोल्न नसक्ने अवस्था छ । अन्तर्राष्ट्रियस्तरमा बनेका जातिभेद विरुद्धको महासन्धी वा मानवअधिकारको विश्वब्यापी घोषणापत्र, अन्य अभिसन्धी तथा प्रतिज्ञापत्रहरुलाई नेपाल राष्ट्रले स्वीकार गरिसकेको अवस्थामा समेत दलितका सवालमा वकालत गर्नेहरुलाई विदेशी दलालको ट्याग् लगाइने गरिएको छ । अझ समाज पढेका बुझेका केही प्रध्यापक, डाक्टर, जिम्मेवार राष्ट्रसेवक प्रहरी र कर्मचारी तहमा समेत छूवाछूत राज्यले हटाउने होइन आफै हट्छ, हतार गर्न खोजे समाज बिग्रन्छ भन्ने अनर्गल प्रचार भइरहेको अवस्था हो । यसर्थ दलितको समावेशीकरणको कुरा संविधानमा संवोधन गसिक्दा ब्यवहारमा दलितलाई जताततै वर्जित गर्ने राजनीतिक अभ्यास र राज्य चलाउनेहरुबाट भइरहेको नियोजित षढयन्त्रका विरुद्ध दलित आन्दोलन अपरिहार्य छ । संविधानको शुन्य अभ्यास नयाँ संविधान बनेपछि सवै समुदायको समान हकाधिकार सुनिश्चीत भइ उत्पीडित, दलितको समृद्धिको मुलप्रवाहीकरण हुने भनेर हामील डङ्का पिटेको ९ वर्ष भयो । तर दलितका सन्दर्भका संविधानका धारा ४० कार्यन्वयन गर्ने लगायतका १३ वटा कानुनहरु बन्न अझै बाँकी छन् । छुवाछूत तथा जातीयविभेद दण्डसजाय कसुरदार एन (आचारसंहिता) ऐन २०६८ लागू भएको १३ वर्ष भयोे, समावेशीकरण ऐन २०६४ लगायतका ऐनकानुनहरु बनेको दुई दशक हुनलाग्यो तर दलितमाथि हुने सामाजिक अपराध रोकिएन । सविधान घोषणाको भोलीपल्टदेखि दलितहरु मारिन थाले, कलिला चेलिबेटीहरु माथी बलात्कार र हत्या हुनथाल्यो । पीडितहरु आज कोही मुर्दाघरमा छन् त कोही आधा मुर्दा भएर बाँचिरहेका छन् तर पीडकहरु भने निस्फिक्री बजारमा हिँडिरहेकै देखिन्छ । नविन विश्वकर्मालाई प्रेम उत्तेजित बनाउने सीमा मगरहरु र प्रेमको नाटक गरी दलितलाई बलात्कारको मुद्दा लगाउनेहरु यस समाजको आइडल बन्नपुगेका छन् । समावेशीकरणको परिणामलाई हेर्ने हो भने संघमा मात्र पछिल्लो ९ वर्षमा ९ वटै सरकार बन्ने अवस्थामा छ । यसक्रममा ५०० जनाभन्दा बढी मन्त्रीभइसके । प्रदेशमा गनिसाध्य छैन । सयौँँ राजनीतिक नियुक्तीहरु भए । आयोग, नियोग, परिषद आदिमा हजारौं मनोनयनहरु भए । तर दलितलाई कहीँ योग्य देखिएन । दलितका लागि दलित आयोगभन्दा अन्य संरचनामा वर्जित नै गरियो । योजना आयोग, वहुचर्चित पुननिर्माण प्राधिकरण, मानवअधिकार आयोग, निर्वाचन आयोगदेखि न्याय परिषद, अख्तियार लगायतका उच्च संरचनाहरुमा दलितलाई योग्य मानिएकै छैन । राष्ट्रपति, प्रधानमन्त्री निवास र कार्यालयमा तथा पार्टी नेताहरुकै सचिवालयमा एकजना पियन पनि दलित समावेशीकरण हुनसकेन । अरुको कुरा नगरौं, श्रमजिवी, मजदुर तथा दलितलाई जनाधार मान्ने कम्युनिष्ट सरकारसंग मात्रै सोधौँ– तिमीहरुले नै भनेको दलितको समावेशीकरण खै ? दलित उत्पीडित र वर्गका कुरा गर्ने तिम्रा सचिवालयमा कुन दलितलाई राखेका छौ ? अरु पार्टीका मन्त्रालयका कुरा नगरौँ, कम्युनिष्टहरुले चलाएका प्रधानमन्त्री कार्यालय, मन्त्रालयहरुमा कुन दलितलाई पत्याएका छौ ? तिम्रा मन्त्रालयका विभिन्न विभाग, समिती, आयोगहरुमा भटाभट नियुक्ती दिइरहेका छौ तर कतिजना दलितलाई राख्यौ ?? यी प्रश्नहरुको उत्तर कसैले दिनचाहन्नन् । हाम्रै पार्टी र नेताहरुले यसो गर्नु भनेको अप्रत्येक्षरुपमा दलितलाई अवसर दिनहुन्न, सम्मान दिनुहुन्न, रगैरदलितल खाइपाइआएको भातभान्सा छुन र छिर्न हुन्न भनेर छुवाछूत नै गरिएको हो । त्यसका लागि दलितलाई खै भन्ने आन्दोलन हो । दलितलाई थप वर्जित गर्ने नयाँ ऐनहरु आउँदै अहिले निजामती कर्मचारी भर्नासम्वन्धी विधेयक संसदीय समितीमा छ । सो विधेयकमा कुनैपनि जाति वर्गका लागि समावेशीकरण बाध्यकारी नहुने भनेर प्रस्ताव गरिएको छ । यसैगरी आरक्षण कोटामा समेत न्युनतम् अंक नल्याए उसलाई फेल गरी अर्को वर्षमा समग्र कोटामा समावेश गरी त्यसमा समग्रमा गाभ्ने लोकसेवा ऐनमा ब्यवस्था छ । संसदीय समितीमा भरखरै भ्रष्टचारसम्वन्धी पाचवर्षे उजुरी हदम्याद राख्ने विषयमा छलफल भयो । एमाले महासचिवले त अव दुई दलीय ब्यवस्थामा जानुपर्छ, समावेशीकरणका कारण सरकार अस्थिर भयो, समानुपातिक पद्धती र थ्रेसहोल्डमा संसोधन गर्नपर्छ भनिरहेका छन् । सोहीअनुसार निर्वाचन आयोगले थ्रेसहोल्ड बढाउने र समानुपातिक कोटाहरु घटाउने गरी निर्वाचन मस्यौदा तयार गर्दैछ । अहिले सरकार वहुमतमा छ, यदि यो विधेययक संसदमा प्रवेश भयो भने सिधै पास हुन्छ । अनि कम्तिमा ७ प्रतिशत थ्रेसहोल्ड राख्दा साना दलहरु र ती दलमार्फत उदाउन खोजिरहेका विभिन्न जातजाति समुदायका नेताहरु वर्जित हुनेछन् । यसो हुनुभनेको नयाँ दल खोल्न नपाउनु नयाँ नेता आउन नदिने र खाइपाइरहेका नेता र पार्टीहरुलाई मानेर जानु भन्ने हो । यसो हुँदा दलित उत्पीडितहरु ती पार्टीको माथिल्लो निकायमा पुग्न सक्दैनन् । त्यो अवस्था आउन नदिनका लागि पनि खगेन्द्र सुनारले संयोजन गरेको दलितलाई खै आन्दोलन हो । सबै आन्दालनकारी एउटै प्लेटफाममा उभिनुपर्ने हाम्रो समाजमा एउटै वर्गभित्रै छुवाछूत तथा विभेद हुनेगरेकाले वर्गीय चरित्र बदलिनसाथ छूवाछूत हट्ने सम्भावना देखिन्न । जातीय विभेद र वर्जितीकरणलाई बिर्सेर बर्गीय मुक्तिको कल्पना कदापी गर्नै सकिन्न । अर्थात नेपाल र भारतको समयसापेक्षता र सामाजिक परिवेशलाई हेर्दा माक्र्सवादभन्दा अम्वेडकर दर्शन नै ब्यवहारिक देखिएको छ । यसर्थ डा.भीम रावलाई मान्ने हो र उत्पीडित उपेक्षित र दलितको मुद्दालाई वलियो गरी उठाउने हो भने अम्वेडकरवादको एउटै प्लेटफाममा सवै उभिनु जरुरी छ । दलितलाई खै आन्दोलनले अम्वडकरवादको साझा प्लेटफाममा उभ्याउँछ । तर यतिवेला खगेन्द्रको नेतृत्वलाई सहजै स्वीकार्न धेरैजना हिच्किचाइरहेको देखिन्छ भने कतिलाई नयाँ मानिस आएर आन्दोलनको नेतृत्व गरिदिँदा ज्वलन भएको छ । कतिलाई दलितलाई खै भन्ने शब्द नै मन परेको छैन भने कतिलाई खगेन्द्रको लगाई र बोलाई पनि मन नपरेको होला । कतिलाई खगेन्द्रलाई किन आन्दोलनको हिरो बनाउनु ? त्योसंग मुक्तिको के ज्ञान छ र ?? भन्ने प्रश्न पनि होला । अरु शंकाउपशंका समेत होलान । यस्ता सानासाना कुराले अरुको अस्तित्व नस्वीकार्ने चिन्तनले दलित आन्दोलनलाई पहिलेदेखि नै कमजोर बनाउँदै ल्याएको हो । यही कमजोरीमा दलितमाथी गैरदलित नेताहरुले आफूलाई बलियो बनाईरहेका छन् । अहिले हामी फेरी त्यही गर्दैछौँ । तर खगेन्द्र भन्ने एउटा पात्र मात्र हुन्, उनी ब्यक्तिगतरुपमा जेसुकै हुन्, त्यसले खास फरक पार्दैन । मुद्दा कसका लागि र केका लागि हो भन्ने मूल विषय हो । यसर्थमा उनले सवै दलितका मुद्दलाई उठाएका छन्, भूईँमान्छेदेखि नागरिक समाज र राजनीतिक नेताहरु सवैका मुद्दालाई उनले उठाएका छन् । त्यसो हो भने हामीले हिजो यिनै हाम्रा नेता र पार्टीहरुका लागि विद्रोह गरेका थियौँ, अव आफ्नो लागि यिनीहरुसंग विद्रोह गर्न तयार हुनैपर्छ । जवकी दलितहरु प्रयोगका साधन मात्र होइनन्, विद्रोहका साध्य पनि हुन्, निर्णायक समयमा आफूलाई प्रयोग गर्नेहरुलाई सिध्याउन पनि जान्दछन् । अतः प्रयोगवादीहरु दलहरु र नेताहरुकाविरुद्ध सवैतिरबाट मोर्चावन्दी गर्ने समय पनि यही हो । त्यसका लागि पनि दलितका लागि खै आन्दोलन हो ।