अमेरिकादेखि युरोपेली मुलुकसम्म यसरी फैलदैँछ दक्षिणपन्थको हावा
सन २०११ को ग्रिष्मयाममा एक ३२ वर्षे नर्बेली नागरिक आन्द्रेस बेभेरिकले आठ जनाको ज्यान लिने गरी राजधानी ओस्लोको एक सरकारी भवनमा बम बिष्फोटन गराउँदै त्यसको केही घण्टाको अन्तरालमा स्वचालित हतियारको मद्धतले नर्बेको उटोया द्विपमा रहेको श्रमिक युवा लिगको शिविरमा एक १४ वर्षे नाबालक सहित ६९ जनाको हत्या गर्न पुगे भने त्यस नरसंहारमा कैयौँलाई घाइते पनि बनाए । कुनै प्रतिकारबिना सुरक्षाकर्मीसमक्ष त्यस लगतै आत्मसमर्पण गर्न पुगेका बेभेरिकले उदारवादी “नर्बेली श्रमिक पार्टीले बाह्य मुलुक विशेषगरी मुस्लिम राष्ट्रहरुबाट आएका आप्रवासी मजदुरहरु र शरणार्थिहरुकाकारण हाम्रो मुलुक नर्बे र हामी सम्पूर्ण महान नर्बेली नागरिकहरुलाई निरिह बनाउँदै लगेको हुनाले यसको मुल्य सो दलले चुकाउँनु पर्ने“ बताए ।
यो घटना एउटा सामान्य हत्याकाण्ड मात्र थिएन; बरु वशुधैव कुटुम्बकमलाई आत्मसात गरी समग्र युरोपेली राष्ट्रहरु युरोपेली महासंघमा सम्मिलित भै राष्ट्र–राज्य अन्त्य गर्दै धर्ती नै एउटा मानव शासित राज्य हो भन्ने मानवतावादी सोच विरोधी विद्रोह एवं संकुचित एकल जातियतावादी, प्रतिगामी र पुनरुत्थानवादी भावनाको उद्वेग थियो ।
भुमण्डलिकरणले गर्दा संसारका कैयौँ विकसित मुलुकहरुले बाह्य राष्ट्रका नागरिकहरुलाई पनि खुकुलो अध्यागमनको प्रकृयाबाट आफ्ना मुलुकभित्र आवागमन, वसोबास, नोकरी एवं व्यवसाय गर्न समेत छुट दिदैआएका थिए । यो सब उनिहरुले अपनाउँदै आएका उदारवादी लोकतन्त्र, खुलाबजार–उपभोक्तामुखी अर्थतन्त्र र अन्तरसाँस्कृतिक साथै बहुसाँस्कृतिक सामाजिक सम्बन्धनले गर्दा सम्भव हुनगएको हो । चरम दक्षिणपन्थी सरकारहरुका अतिराष्ट्रवादी दम्भद्वारा श्रृजित प्रथम र द्वितिय विश्वयुद्घको जिजिविषापछि दुनियाँँभरमा वामपन्थी लोकतान्त्रिक दलहरुले केही विकसित र मनग्य बिकासशिल मुलुकहरुमा सरकार निर्माण र जनमुखी कार्यक्रमहरुका माध्यमद्वारा आआफ्ना विशिष्टतामा वामपन्थी विचार, बिकास निर्माणका नीति तथा परीयोजना कार्यन्वयन गर्दै जनस्तरलाई केही हदसम्म माथि उकास्ने काम गरे ।
सन १९५० तिर युरोपेली एकिकरण परीयोजनाका प्रमुख निर्माणकर्ता मानिने फ्रान्सेली विदेशमन्त्री रबर्ट शुमन, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल, एकिकृत युरोपेली संसद र त्यसको संघिय बनावटका जनक मानिने इटालियन वामपन्थी राजनीतिज्ञ आल्तिएरो स्पेनेल्ली लगायत समग्र युरोपलाई एउटा शान्तिपूर्ण, लोकतान्त्रिक, विधिद्वारा शासित, आधारभूत मानविय मूल्य अनी मानवअधिकारका गुणले भरिपूर्ण महासंघको रुपमा देख्न चाहने प्रमुख युरोपेली मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरुद्वारा सारमा एक सामाजिक लोकतान्त्रिक युरोपेली सोभियत निर्माण भएको थियो जसमा समानता, स्वाधिनता, लोकतन्त्र र आधारभूत मानवअधिकारको प्रत्याभूती जस्ता उत्कृष्ट मानविय मुल्य र आदर्शलाई संगालिएका थिए । त्यस अन्तर्गत सामाजिक सुरक्षा, घरेलु शान्ति, लैंङ्गिक समानता, सामाजिक न्याय आदिकालागी जनस्तरबाट हारगुहार आएमा संघभित्रका सदस्य राष्ट्रहरुका कुनै पनि आन्तरिक राष्ट्रिय वा क्षेत्रिय सिमानाले रोकछेक गर्न नसक्ने बिषय समेत समाहित गरिएको थियो ।
त्यसको अलावा, उक्त संघको संविधान मै आधारभूत रोजगार, विज्ञान प्राविधिको बिकास, क्षेत्रिय ऐक्यबद्घता, एकिकृत आर्थिक बिकास र समृद्घिका मुद्दाहरु पनि प्रमुखताका साथ उल्लेख गरिएको थियो । सन १९९३ सम्म आइपुग्दा समग्र समाजवादी विश्वको नाईके मानिएको सोभियत संघको बिघटन भै शीतयुद्घको अन्त्य भएर पूंजीवादी साम्राज्यवादी अर्थ व्यवस्था र नव उदारवादले एक्कासी जरा फैलाउँन थालेका थिए । उपभोक्तावादी ब्यक्तिगत सोच र बजारवादी सामाजिक मनोदशाले एउटा अतिआत्मकेन्द्रित ब्यक्तिवादी समाज को उदय गराईदियो । साथै भरखरै जराजिर्ण भएर ढलेको जातिय रुसी सामाजिक फांसिवादी साम्रज्यवाद पछि मैँ मरीमुच्चे म्या म्या बुरुक्क गर्दै साँढे पल्टिन थालेको साइंदुवा अमेरिकी साम्रज्यवादले पनि उदारवादी समाजलाई अपनाइरहेको र अधिकाँश एसिया, अफ्रिका, ल्याटिन अमेरिका लगायत अरु क्षेत्रहरु ब्यक्तिगत स्वतन्त्रता र सामाजिक न्यायका लगभग दुश्मन जस्तै भएका कारण त्यस मुलुकहरुका बहुसंख्यक शिक्षित युवायुवतीहरुको अन्तिम गन्तब्य युरोप र अमेरिका बन्न पुग्यो । यसरी जोपनि अमेरिका र युरोप गएर बसोबास र पेशा गर्नकालागी लालायित हुनथाले पछि विभिन्न देश र समाज जहाँ जातिय, धार्मिक र साम्प्रदायिक रुपमा कुण्ठित थिए, विशेषत मुस्लिम बाहुल्यता भएका समाजका युवायुवती पनि खुला र स्वतन्त्र समाजका मानविय आयामहरुबाट आकर्षित हुन पुगे र ति पनि त्यतै जान थाले ।
एक्काइसौँ शताब्दीमा दक्षिणपन्थी अतिवादको पुनरुत्थान
थोरै बिगतका घटनाक्रमलाई नजिर मान्ने हो भने विसौँ शताब्दी अती दक्षिणपन्थी रंगमञ्चको एउटा गजबको प्रयोगशाला थियो भन्न सकिन्छ । त्यसैका दसीहरु एक्काइसौँ शताब्दिमा समेत देखिन पुगे । सन २००१ को सेप्टेम्बर ११ का दिन विश्व पूँजिवादी साम्राज्यवादको सदरमुकाम भनेर चिनिएको अमेरिकाको न्युयोर्क शहरस्थित गगनचुम्बी जुम्ल्याहा भवनमाथि आतंककारी हमला भएपछि आतंकवादबिरोधी युद्धमा अमेरिकाले नेतृत्व लिँदै पश्चिम युरोप, अमेरिका र अस्ट्रेलिया लगायत दुई दर्जन भन्दाबढी पूँजीवादी मुलुकहरुलाई मतियार बनाउँदै आएको छ । त्यस लगतै अमेरिकाले अफ्गानिस्तान र ईराकमा सैन्य हमलागरी सरकार परिवर्तन गराएर ति मुलुकहरुमा आफ्ना कठपुतली सरकार बनायो ।
त्यसगरी, अमेरिका आँफैंद्वारा सिर्जित आतंकवाद विरुद्दको विश्वब्यापी ऐक्यबद्दता जुटाउनकालागी आफ्न पिछलग्गु राष्ट्रहरुलाई युद्ध र प्रतिरक्षामा दैनीक २ अरब डलर भन्दा बढी हुने खर्च गराउँन लगाउने, एवं वित्तिय संस्थाहरुले अत्याधिक वित्तबिकासकालागी ऋणको प्रचुररुपमा प्रवाह गरेकाकारण घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा लगानी बढाउँदै शेयर बजारमा कृतिम उछाल पैदा हुनगई प्रतिफल स्वरुप प्रवाहित ऋण ऋणीहरुबाट असुल उपर गर्न गराउँन लगभग असम्भव हुनगयो । अतः अमेरिकि अर्थप्रणालीबाट शुरु भै युरोप हुँदै बाँकी विश्वका अन्य ठुला अर्थतन्त्रलाई पनि संकटग्रस्त बनाइदियो । यस्तो विश्वब्यापी मुद्रास्फिती र ऋणात्मक आर्थिक उन्नतीबाट आफु उक्सिन मध्यपूर्वका मध्यमवर्गिय मुलुकहरुमा सुनियोजित तवरले कथित अत्तर क्रान्तिको सामाजिक उपद्रव सिर्जना गराउँदै अमेरिकाले डलरलाई थप मजमुत बनाउने कोशीस र्गयो ।
खासमा अमेरिकाले लोकतन्त्र, धर्म्निरपेक्ष, विश्वब्यापी मानव अधिकार, लैङ्गिक समानता समावेशिता आदिको खोल ओढेर आफुलाई नटेर्ने स्वायत्त राष्ट्रहरुका पेट्रोलियम पदार्थ लगायतका खनिजश्रोतहरु अनी तेलको विश्वब्यापी बजारलाई आफ्नो चङ्गुलबाट उम्किन नदिन साउदी अरेविया, बहराइन, संयुक्त अरब एमिरेट्स लगायत केही आफ्ना कठपुतलि अतीअमानविय मध्य युगिन कबिलाई तानाशाही राज्यव्यबस्थाहरुलाई बचाउँदै अमेरिकि नेत्रित्वमा मरणासन्न पश्चिमेलि पूँजिवादी साम्राज्यवादीमुलुकहरुले सन २०११ को आसपास देखी ट्युनिसिया, इजिप्ट, लिबिया लगायत अन्यत्र राज्य विप्लव गराउँदै गए । यस्ले करोडौँ अरबेली युवाहरुलाई अस्तव्यस्त बनाइदियो । ति या त आत्महत्या गर्थे या देशै छोडेर पलायन हुन्थे किनकी यि कथित आन्दोलनहरु जनताको स्तरबाट उठेकै थिएनन नत ति स्वतस्फुर्त भनिएका सँघर्षहरुले कुनै दीर्घकालिन राजनैतिक सामाजिक नेत्रित्व, सोच, आदर्श या मुल्यको नै स्थापना गर्न सके । यो त फगत अमेरिकि र युरोपेली अर्थतन्त्र सुधार्ने अलोकप्रिय दंगाहरु थिए भनी साबित भैसकेका छन ।
सन १९५४ र सन २००० का बीचका दशकहरुमा दक्षिणपन्थी अतिवादद्वारा गरिएका हिँसात्मक गतिविधिहेर्दा समग्र गतिविधिको ३१.२% र हताहतको अनुपात ५१. ६% ले बृद्दीभैरहेको स्थिती छ। सन २००० देखी यताको त यस्ता हिँसाहरु अगणित छन । सन १९९० देखी २०१२ सम्म दक्षिणपन्थी अतिवादी गतिविधिका कारण ६७० भन्दाबढी नै हताहत भएका छन भने ३ हजारको हाराहारीमा सख्त घाइते हुनपुगेका छन । यि घटनाहरु वामपन्थी क्रान्तिकारी आन्दोलनहरु एवं अश्वेत लडाकुहरुका आतंकवादद्वारा सिर्जित घटनाहरु भन्दा निकै बढी रहेका छन ।
यो शताब्दीको शुरुवात देखी हाल सम्म समग्र युरोपेली राष्ट्रहरुका राजनैतिक परीदृश्यहरु अवलोकन गर्दा अतीराष्ट्रवादी तथा चरम दक्षिणपन्थी राजनैतिक सँगठनहरुले आमनिर्वाचनहरुमा आश्चर्यजनक ढंङ्गले उल्लेख्य जनमत हाँसिल गर्न सकेका छन । यस परीप्रेक्षमा टर्की र रसियालाई छोडि बाँकी अन्य मुलुकहरुका संसदहरुमा राष्ट्रवाद र अती दक्षिणपन्थ कै बाहुल्यता बढ्दै गएको पाईन्छ । उदाहरणकालागी, फ्रान्समा नेशनल फ्रन्ट, स्विडेनमा स्विडेन डेमोक्र्याट्स, ग्रीसमा गोल्डेन डः न, त्यस्तैगरी पोल्याण्डमा ल एण्ड जस्टिस पार्टी, नेदरल्याण्डसमा पार्टी फर फ्रीडम र डेनमार्कमा डेनिश पिपल्स पार्टी चरम दक्षिणपन्थी दलहरुका रुपमा अग्रणी स्थानमा रहेका छन ।
अन्य युरोपेली मुलुक भन्दा फरक र समावेशी राष्ट्रिय राजनैतिक चरित्र भएको नेत्रित्वदायी युरोपेली राष्ट्र जर्मनीमा पनि आप्रवाशी एवं युद्ध शरणार्थीहरु लाई आफ्नो मुलुकमा स्वागत गर्ने त्यहाँको सरकार अनी सरकार प्रमुख एंगेला मर्केलका विरुद्ध नेशनल डेमोक्र्या्टिक पार्टी अफ जर्मनी र द थर्ड वे जस्ता दलहरुले विविध सामाजिक सञ्जालहरु मार्फत विरोध प्रदर्शन आयोजना गराउने,आप्रवासी मजदुर तथा शरणार्थिहरु हत्या, बलात्कार, आगजनी, बालबच्चा अपहरण लगायत विभिन्न अपराधीक कृयाकलापमा संलग्न भएको कपोलकल्पित र दिग्भ्रामक समाचार प्रसारण गर्नुका साथै चरम जातीवाद र अन्धराष्ट्रवादलाइ बढावा दिदै आएको पाइएको छ । विश्वब्यापी आतंकवाद विरोधी युद्धहरु मुख्यगरी मुस्लिम राष्ट्रहरुमा केन्द्रित हुनु र ति युद्धग्रस्त मुलुकका आमनागरिक शरणार्थिका रुपमा खुला र समतामुलक राज्यव्यवस्था भएका पश्चिमेलि मुलुकहरुतिरै आउनेक्रम बढ्दैजानाले गैह्रकानुनी आप्रवासी मजदुरहरुको संख्या अभूतपूर्वरुपले बढ्दैगयो । साथै, हिंसात्मक स्वरूपका प्रति–आप्रवासी तथा युरोपेली महासंघको अस्तित्व नस्विकार्ने तत्वहरुको अनपेक्षित बिकास हुनु नै यि चरमपन्थी दलहरुले आर्जन गर्दै गरेको बढ्दो जनाधारको प्रमुख कारणहरु हुन ।
सन २०१५ को हिउँद तिर भएका हृदयविदारक पेरिस आतंकवादी हमलाहरुले गर्दा त्यस लगतै हुनगएको फ्रान्सेली स्थानिय निर्वाचनहरुमा फ्रान्सेली दक्षिणपन्थी दल नेशनल फ्रन्टले हालसम्म कै अत्याधिक ३०% मत हाँसिल गर्न सफल भयो । यो क्रम अन्त पनि देख्न सकिन्छ जस्तै सन २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलामा संलग्न सबै आतंकवादीहरु मुस्लिम भएको खुलेपछि अमेरिकि महादेशिय स्तरमै ईस्लाम विरोधी घृणाजन्य अपराध र दक्षिणपन्थी आतंकवाद सरदर १,६००% ले बढोत्तरी भएको पुष्टि हुँदैआएको छ । यो सिलसिला सन २००५ मा भएको लन्डन आतंककारी बम हमलापछि बेलायतमा झण्डै ६% ले बृद्घि भएको पाइएको अध्ययनहरुले देखाएका छन । यो स्थिती आउनुमा अमेरिकाद्वारा जारी मुस्लिम देशहरुमा भएका राज्यविप्लबलाई सघाउँदै एक किसिमको अतिवादलाई नै मलजल गर्नु पनि प्रमुख देखिन्छ । उसले तात्कालिन सोभियत संघलाई पराजित गराउन अल कायदा र हिजबुल मुजहिद्दिनका लडाकाहरुलाई बन्दोवस्ती र तालिमको तर्जुमा गर्दिनु, अमेरिकी प्रभूत्वलाई अस्विकार गर्ने सिरियाली सरकार या त्यस्ता अरु सरकारहरुका विरुद्द सबैखाले आतंकवादी गुट र मोर्चाहरुलाई सि आई ए द्वारा टर्की र अन्य तटस्थ मुलुकहरुमा अवैद्दरुपले तालिम र हातहतियार खरखजाना उपलब्ध गराउनु आदि प्रतिनिधि हर्कतहरु प्रत्युत्पादक बनेर आँफैँ तिर आइलाग्ने क्रम शुरुभएको हो । अहिले ति लगभग सबै आतंककारी समुहहरुसँग अमेरिकी हातहतियारहरु नै छन जुन अन्य पश्चिमेलि मुलुकका साथै अमेरिकी ब्यापारीहरुद्वारा नै तस्करी गरी बिक्री बितरण भएको पाइएको छ ।
अर्को नजरले हेर्दा दक्षिणपन्थी राजनीतिक सोचले दैनिक जीवनमा पनि प्रत्यक्ष प्रभाव पारेको देखिन्छ जसले एक ब्यक्तिलाई जाती, वर्ण र सम्प्रदायका आधारमा अरुप्रतिको धारणा बनाउन सिकाउँछ र अन्धजातीवादी प्रबृतीलाई जगाउँन मद्धत गर्दछ । विस्तारै मूलधारका सापेक्षितरुपले धर्मनिरपेक्ष र समावेशी राजनैतिक सिद्दान्त बोकेका पार्टिहरुमा पनि दैनिक वादविवाद र अन्तर्कृयामा प्रयोग हुने पदावलीहरु पनि अतिवादी या अन्धधर्म र अन्धजातीवादी हुनपुग्छ ।
सन्दर्भः अमेरिका
हालै सम्पन्न अमेरिकि राष्ट्रपतिय निर्वाचनमा अमेरिकि साम्राज्यवादी देशभक्त तथा ब्यापरिक पृष्ठभूमी बोकेका रिपब्लिकन पार्टिका मनोनित उम्मेद्वार डोनाल्ड ट्रम्पको विजयले समकालिन विश्वव्यबस्थामा एक नौलो आयाम थपिदिएको छ । आफुलाई एक विशिष्ट कोटिको देशभक्त अमेरिकिका रुपमा दर्शाउन खोज्ने ट्रम्प उनको एक महिने कार्यावधि भित्रै दुनियाँँले वास्तवमा एक अन्धराष्ट्रवादी, चरम दक्षिणपन्थी साम्राज्यावादी पूँजिवादी ब्यक्तिका रुपमा चिनिसकेको कुरा उनले पूर्वबर्ती ओबामा सरकारद्वारा बिनियोजित अन्तरराष्ट्रिय मूल्य राख्ने कार्यक्रमका बिरुद्ध हठात उठाएका कदमबाट सुष्पष्ट भईसकेको छ । किनकी यिनी राष्ट्रपती भएपछिका कदमहरु युरोपका विभिन्न मुलुकमा पाइने चरमदक्षिणपन्थी सोच र व्यबहारसंग मिल्दाजुल्दा देखिन्छन ।
अझ घोरिएर विचारै गर्ने हो भने यिनी त नव फासिवादका नयाँँ अमेरिकि सँस्करण जस्ता लाग्छन । त्यसो त जातीवाद, गोराजातिय अभिजात्यवाद र आप्रवासी विरोधी घृणा अमेरिका कै रैथाने सामाजिक राजनैतिक प्रबृती हो जुन ट्रम्पको उदयपछि कहिले मेक्सिकोसितको सिमानामा अग्लोपर्खाल लगाइदिने या ट्रान्स्प्यासिफिक पार्टनरशिपको खारेजी लगायतका हर्कतबाट व्यबहारत पुष्टि हुँदैँ आएको छ । ब्रेइत्बर्ट न्युज का प्रमुख कार्यकारी स्टिभ बेननलाई ह्वाइट हाउसका प्रमुख रणनीतिकारका रुपमा नियुक्त गरेपछी त ट्रम्प बारे थप अरु बताउन नपर्ने नै भयो किनकी बेननको संस्था ब्रेइत्बर्ट न्युज एक अल्ट–राईट भनेर चिनिएको दक्षिणपन्थी अतीवादी सञ्चारकेन्द्र हो । फेरी अल्ट–राईट भन्ने पदावली सन २०१० ताका श्वेतराष्ट्रवादी ब्यक्ती रिचार्ड स्पेन्सरले बिकास गरेका हुन जस्लाई वैकल्पिक या अल्टर्नेटिभ दक्षिणपन्थ भनेर पनि चिनिन्छ ।
यसले सबैखाले प्रगतिवादी सोच, कल्याणकारी राज्य व्यबस्था, समावेशी समतामुलक समाज, लोकहित र जनमुखी सामाजिक राजनैतिक कार्यक्रमहरुलाई निषेध गर्दछ । यो एक प्रकारको फासिवाद नै हो जस्ले द्वितिय विश्वयुद्ध ताका जर्मन नाजी शासकहरुले अन्धराष्ट्रवाद तथा असहिष्णु जर्मन अभिजात्यवादका पक्षमा दुनियाँँका तमाम यहूदीहरुका विरुद्ध कार्यहरु हिँस्रक अपनाउँदै आएका थिए । चरमदक्षिणपन्थले स्वतन्त्र अमेरिकि सञ्चार क्षेत्रलाई राष्ट्रपती ट्रम्पको माध्यमबाट तहसनहस पारीदैछ भन्ने कुरा हाल अमेरिकी सञ्चार जगतमा ब्याप्त भएको छ । सो कुरा द डिप स्टेटः द फल अव द कन्स्टिच्युशन एण्ड द राइज अव अ श्याडो नामक पुस्तकका रचयिता एवं वर्तमान विश्वलाई फरकधारबाट नियाल्ने माइक लफग्रेनले आफ्नो एक आलेखमा उल्लेख गरेका छन ।
हुनत डोनाल्ड ट्रम्पले हाल त्यस्तो बिघ्न उपद्रब केही पनि गरिहालेका त छैनन तर पनि उनले छनोट गरेका ह्वाइट हाउसका नवनियुक्त पदाधिकारीहरुका पृष्ठभूमी औँल्याउँदा यिनले अबको आउँदो चार वर्षमा के के मात्रै नगर्लान भन्ने धेरै कुरा प्रष्ट भै सकेका छन । स्वदेश मै अलोकप्रिय भैसकेको ट्रम्प सरकारका वाणिज्य मन्त्री एक अर्का अरबपती विल्बर रोस्स हुन जसले आफ्नै कारोबार गतिलोसित गर्न नसक्दा आर्थिक सँकट झेल्नु परीरहेको हुनाले बैंकिङ क्षेत्रमा जस्लाई मिस्टर ब्याङ्क्रप्सी पनि भनेर चिनिन्छ । यिनका अर्थमन्त्री पनि त्यस्तै अतिवादी सोचका धनकुबेर नै छन जसकालागी वित्त नै सबैको चित्त बुझाउने वस्तु हो भने ट्रम्पको सरकारमा महान्यायाधिबक्ताका रुपमा नियुक्ती पाउने ब्यक्ती हुन अमेरिकि सेनेटका सेनेटेर जेफ सेसन्स जो नागरिक अधिकार तथा आमजनताको सार्वभौम मतदानको अधिकार बारेका विधेयकहरुका तिखा अलोचक हुन । उनी समलिङ्गीका आधारभूत अधिकार लगायत अन्य महत्वपूर्ण जनाधिकारलाई सम्बोधन गर्ने ऐनहरुका विरोधी हुन । बेत्सी डीभोस यस्ती अरबपती महिला हुन जो भर्खरै अमेरिकाकी शिक्षा मन्त्री नियुक्त भएकी छन जस्ले विशेषत अमेरिकि यहूदिहरुले चाहेका अतिधार्मिक शिक्षानीतिलाई सदा प्रश्रय दिनेछिन ।
यसैगरी सबै वर्ग र समुदायका हितकालागी आरोग्य कार्यक्रम भनेर पूर्वराष्ट्रपती बाराक ओबामाद्वारा निर्मित र बिनियोजित ओबामाकेयर नामक राष्ट्रिय स्वास्थ्य कार्यक्रमका घोरविरोधी टी पार्टी कँग्रेसम्यान भनेर चिनिने टम प्राइस स्वास्थ्यमन्त्रिकारुपमा नियुक्त भएका छन । बेलैमाथि गतिलो नीतिगत निर्णय लिना नसकेर अमेरिकि जनतालाई खानि तथा भूगर्ब सम्बन्धी धेरै विवाद र संकट झेल्न बाध्य पार्ने एसियाली मूलकी राजनीतिज्ञ एलिन चाओ यातायात मन्त्री भएकी छन । त्यस्तै राष्ट्रिय सुरक्षा सल्लहाकारमा माइकल फ्लिन अँटाएका छन । सबैभन्दा महत्वपूर्ण मानिएको अमेरिकि विदेशमन्त्रिमा व्यापार र वाणिज्यका क्षेत्रमा मध्यपूर्व, विशेषगरी रसिया, युरोप लगायत संसारका सबै महत्वपूर्ण मुलुक र व्यापारिक अखडाका परिचित रेक्स टिलरसन छानिएका छन ।
धेरै जसो सैन्य पृष्ठभूमिका ब्यक्तिहरु राष्ट्रपती कार्यालयमा समाहित भएका हुनाले पनि ट्रम्प सरकारका सदस्यहरु हेर्दा यस्तो लाग्छ कि यिनी कुनै युद्ध को तयारी गर्दै छन । यस्तो बढ्दो विश्वब्यापी ध्रुविकरण र अती दक्षिणपन्थी ढाँचाका अमेरिकि र युरोपका कतिपय सरकारहरुका प्रारम्भिक कृयाकलाप साथइ तिनले उठाएका राजनैतिक मुद्दाहरुका सारस्वरुपलाई मध्यनजर गर्दा निकट भविष्यमा नै दुनियाँँले निकै ठुलो अर्को मानविय संकट झेल्नु पर्नेछ भन्ने संकेत मिल्छ ।
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको मौनता : संयोग वा राजनीतिक सन्देश ?
पूर्ण घर्ति गणतन्त्र कुनै औपचारिक शब्द होइन। यो नेपाली जनताले दशकौंको संघर्ष, जनआन्दोलन, बलिदान र राजनीतिक रूपान्तरणको प्रक्रियाबाट प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो। त्यसैले जेठ १५ केवल क्यालेन्डरको एउटा मिति मात्र होइन, यो नेपाली राज्यको चरित्र र शासन व्यवस्थामा आधारभूत परिवर्तन भएको दिन हो। यही दिनमा राष्ट्रको कार्यकारी प्रमुख प्रधानमन्त्री मौन बस्नु सामान्य घटना मान्न सकिँदैन। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नै सभापतित्वमा सम्पन्न गणतन्त्र दिवसको औपचारिक समारोहमा सम्बोधन नगर्नु त छँदैछ, त्यसबाहेक पनि उनले यस राष्ट्रिय अवसरमा कुनै शुभकामना सन्देश जारी गरेनन्, गणतन्त्रको ऐतिहासिक महत्वबारे कुनै धारणा व्यक्त गरेनन् र जनतालाई सम्बोधन गर्न आवश्यकसमेत ठानेनन्। यसले स्वाभाविक रूपमा एउटा प्रश्न जन्माएको छ—के यो केवल व्यक्तिगत शैली हो, वा गणतन्त्रप्रति रहेको राजनीतिक असहजताको अभिव्यक्ति ? राजनीतिमा मौनता कहिल्यै पूर्णतः तटस्थ हुँदैन। विशेषतः त्यो मौनता राष्ट्रको कार्यकारी प्रमुखबाट आएको हो भने झन् हुँदैन। नयाँ वर्षमा शुभकामना दिने, धार्मिक पर्वमा सन्देश जारी गर्ने, सामाजिक विषयमा निरन्तर अभिव्यक्ति दिने प्रधानमन्त्रीले गणतन्त्र दिवसमा मात्र मौनता रोज्नु संयोगका रूपमा व्याख्या गर्न कठिन छ। गणतन्त्र दिवसमा शुभकामना दिनु कुनै दल वा विचारधाराको समर्थन गर्नु होइन। त्यो संविधानले परिभाषित गरेको राज्य व्यवस्थाप्रति सम्मान व्यक्त गर्नु हो। प्रधानमन्त्रीले संविधानको शपथ खाएर पद ग्रहण गरेका हुन्छन्। त्यसैले गणतन्त्र दिवसमा अभिव्यक्ति दिनु वैकल्पिक सौजन्यको विषय होइन, संवैधानिक संस्कार र राजनीतिक उत्तरदायित्वको विषय हो। कम्तीमा पनि गणतन्त्रप्रति आफ्नो सम्मान सार्वजनिक रूपमा व्यक्त गर्न नसक्ने नेतृत्वमाथि स्वाभाविक रूपमा प्रश्न उठ्छ। यहाँ प्रश्न प्रधानमन्त्रीले विगतमा राजतन्त्रको समर्थन गरे कि गरेनन् भन्ने मात्र होइन। मूल प्रश्न यो हो कि उनले वर्तमान संविधान र गणतान्त्रिक व्यवस्थाप्रति आफ्नो सार्वजनिक प्रतिबद्धता किन प्रष्ट पार्न चाहेनन् रु लोकतान्त्रिक नेतृत्वको दायित्व केवल सरकार सञ्चालनमा सीमित हुँदैनस त्यो राष्ट्रिय मूल्य, संवैधानिक व्यवस्था र ऐतिहासिक उपलब्धिप्रति पनि स्पष्ट अडान राख्नुपर्ने विषय हो। बालेन्द्र शाहको राजनीतिक उदय परम्परागत दलहरूप्रतिको जनअसन्तुष्टिको पृष्ठभूमिबाट भएको हो। उनले भ्रष्टाचार, अकर्मण्यता र राजनीतिक विकृतिविरुद्ध जनमत निर्माण गरे। तर एउटा महत्वपूर्ण तथ्य बिर्सनु हुँदैन—दलहरूको असफलता गणतन्त्रको असफलता होइन। सरकारहरूको कमजोरी संविधानको कमजोरी होइन। संविधानमा रहेका कमी–कमजोरी सुधार्ने, संशोधन गर्ने र समयानुकूल परिमार्जन गर्ने लोकतान्त्रिक बाटो खुला नै छ। यही कारणले गणतन्त्र दिवसमा प्रधानमन्त्रीको मौनता अझ गम्भीर देखिन्छ। किनभने यसले दलविरोध र व्यवस्थाविरोधबीचको सीमारेखालाई धमिलो बनाउने जोखिम पैदा गर्छ। यदि प्रधानमन्त्री गणतन्त्रप्रति असहमत छन् भने त्यसबारे स्पष्ट राजनीतिक बहस गर्न सक्नुपर्छ। यदि उनी गणतन्त्रवादी हुन् भने त्यसको पनि सार्वजनिक अभिव्यक्ति आवश्यक छ। तर संविधानको शपथ खाएर प्रधानमन्त्रीको कुर्सीमा बस्ने, अनि गणतन्त्र दिवसमा मौन बसेर सबै पक्षलाई आफ्नो–आफ्नो व्याख्या गर्ने अवसर दिनु जिम्मेवार राजनीतिक नेतृत्वको शैली मान्न सकिँदैन। नेपालमा गणतन्त्र स्थापनापछि विभिन्न असन्तुष्टि र आलोचना भए पनि समग्र जनमत गणतान्त्रिक व्यवस्थाकै पक्षमा रहेको देखिन्छ। यस्तो अवस्थामा प्रधानमन्त्रीको प्रत्येक सार्वजनिक व्यवहार राजनीतिक सन्देशमा रूपान्तरित हुन्छ। उनले बोलेका शब्दले मात्र होइन, उनले नबोलेका शब्दले पनि राजनीतिक अर्थ निर्माण गर्छन्। त्यसैले उनी गणतन्त्रप्रति कति प्रतिबद्ध छन् भन्ने विषयमा स्वयं उनले स्पष्ट धारणा राख्नु आवश्यक छ। गणतन्त्र दिवसमा देखिएको मौनताले गणतान्त्रिक संस्कारप्रतिको पर्याप्त संवेदनशीलता नदेखिएको संकेत दिएको छ। राष्ट्रको प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिक उपलब्धिप्रति सम्मान व्यक्त गर्न आवश्यक ठानेनन् भने त्यसले नागरिकमा स्वाभाविक रूपमा जिज्ञासा, प्रश्न र शंका जन्माउँछ। लोकतन्त्रमा प्रश्न उठाउनु विरोध होइनस उत्तर खोज्नु नागरिक कर्तव्य हो। त्यसैले आजको मुख्य प्रश्न प्रधानमन्त्री बालेन्द्र शाह गणतन्त्रवादी हुन् कि होइनन् भन्ने मात्र होइन। मुख्य प्रश्न यो हो कि गणतन्त्र दिवसजस्तो ऐतिहासिक अवसरमा उनले किन मौनता रोजे ? जब राष्ट्रको कार्यकारी प्रमुख बोल्नुपर्ने दिनमा मौन बस्छ, त्यो मौनता आफैं एउटा राजनीतिक अभिव्यक्ति बन्छ। इतिहासले प्रायः यस्ता मौनताहरूलाई पनि शब्दसरह गम्भीरताका साथ मूल्याङ्कन गर्ने गर्दछ। प्रधानमन्त्री बालेन्द्र शाहको यो मौनता पनि भविष्यमा नेपालको राजनीतिक इतिहास र गणतान्त्रिक संस्कारको बहसमा एउटा सन्दर्भ बिन्दुका रूपमा स्मरण गरिन सक्नेछ। अन्ततः यसको वास्तविक अर्थ र उद्देश्यको मूल्याङ्कन समयले नै गर्नेछ।
प्रधानन्यायाधीश सिफारिसः वरिष्ठता कि सत्ता इच्छा ?
विदुर कटुवाल काठमाडौं । नेपालको संवैधानिक इतिहासमा विरलै देखिने एक प्रकारको तनाव अहिले संवैधानिक परिषद्को निर्णयसँगै सतहमा आएको छ । प्रधानन्यायाधीश नियुक्तिजस्तो संवेदनशील र दूरगामी प्रभाव पार्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले परम्परागत वरिष्ठता क्रमलाई पन्छाउँदै डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि सत्ता र विपक्षबीचको राजनीतिक दूरी मात्र बढेको छैन, न्यायपालिकाको स्वतन्त्रता, संवैधानिक संस्कार र संस्थागत स्थायित्वबारे गम्भीर बहस पनि सुरु भएको छ । यस विवादलाई अझ विस्फोटक बनाउने काम परिषद्भित्रकै दुई प्रभावशाली सदस्य–राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बेले गरेका छन् । उनीहरूले प्रधानमन्त्रीको प्रस्तावविरुद्ध लिखित रूपमा ‘नोट अफ डिसेन्ट’ दर्ता गर्दै खुला असहमति जनाएपछि संवैधानिक परिषद्भित्रै असाधारण दरार देखिएको हो । सामान्यतया परिषद्का निर्णयहरू गोप्य सहमतिका आधारमा टुंग्याइने अभ्यास रहँदै आएको अवस्थामा सार्वजनिक असहमति आफैंमा ठूलो राजनीतिक सन्देश मानिएको छ । राजनीतिक वृत्तमा अहिले सबैभन्दा धेरै उठिरहेको प्रश्न एउटै छ–प्रधानमन्त्री बालेन वास्तवमै ‘नयाँ अभ्यास’ को सुरुवात गर्न खोजिरहेका हुन्, कि न्यायपालिकाभित्र राजनीतिक प्रभाव विस्तार गर्ने जोखिमपूर्ण प्रयोग ? प्रधानमन्त्री शाहले परिषद् बैठकमा डा. शर्मालाई ‘स्वतन्त्र, प्राज्ञिक र अराजनीतिक व्यक्तित्व’ भन्दै प्रस्ताव गरेका थिए । उनी निकट स्रोतहरूका अनुसार बालेनले परम्परागत वरिष्ठता प्रणालीभन्दा ‘मेरिट र कार्यक्षमता’ लाई प्राथमिकता दिनुपर्ने तर्क गरेका थिए । तर परिषद्का विपक्षी सदस्यहरूले भने यो तर्कलाई संवैधानिक अभ्यास तोड्ने खतरनाक बहानाका रूपमा व्याख्या गरेका छन् । नेपालको न्यायपालिकामा वरिष्ठता प्रणाली कुनै लिखित संवैधानिक बाध्यता नभए पनि दशकौंको संस्थागत अभ्यासका रूपमा स्थापित छ । सर्वोच्च अदालतभित्र वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्पराले न्यायिक स्थायित्व, पूर्वानुमेयता र आन्तरिक विश्वास कायम गर्न सहयोग गरेको मानिन्छ । यही कारण वरिष्ठता तोडिने हरेक प्रयासलाई न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेपका रूपमा हेरिने गरिन्छ । यही संवेदनशील बिन्दुमा अहिले विवाद चर्किएको हो । विपक्षी नेता आङ्देम्बे र राष्ट्रियसभा अध्यक्ष दाहालले आफ्नो लिखित असहमतिमा ‘प्रधानन्यायाधीश नियुक्ति कुनै व्यक्तिको इच्छाअनुसार होइन, संवैधानिक संस्कार र विधिसम्मत प्रक्रियाअनुसार हुनुपर्छ’ भन्ने स्पष्ट अडान राखेका छन् । उनीहरूको यो कदमलाई धेरैले संस्थागत पारदर्शिता र लोकतान्त्रिक मूल्यको पक्षमा गरिएको साहसी हस्तक्षेपका रूपमा व्याख्या गरेका छन् । विशेषगरी प्रमुख विपक्षी नेता आङ्देम्बेले परिषद्भित्रै खुलेर प्रतिरोध जनाउनु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । सत्ता पक्षको निर्णयलाई बैठकमै चुनौती दिनु केवल औपचारिक असहमति होइन, यो सरकारको शैलीप्रतिको प्रत्यक्ष राजनीतिक प्रतिरोध हो । उनले ‘न्यायपालिकाको गरिमामा सम्झौता नगर्ने’ संकेत दिएका छन् । यसले आगामी दिनमा संसद् र सडक दुवैमा यो मुद्दा चर्किन सक्ने संकेत देखिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्री बालेनको यो कदमले दुईवटा सन्देश दिएको छ । पहिलो–उनी पुराना राजनीतिक दलहरूले निर्माण गरेका परम्परागत शक्ति संरचनालाई चुनौती दिन चाहन्छन् । दोस्रो–उनी संस्थागत अभ्यासभन्दा व्यक्तिगत दृष्टिकोणलाई बढी प्राथमिकता दिन तयार छन् । तर यही दोस्रो पक्ष अहिले उनको सबैभन्दा ठूलो आलोचनाको कारण बनेको छ । आलोचकहरूको प्रश्न स्पष्ट छ–यदि प्रत्येक सरकारले आफ्नो राजनीतिक वा वैचारिक सुविधाअनुसार वरिष्ठता तोड्दै ‘योग्य व्यक्ति’ को नाममा नियुक्ति गर्न थाल्यो भने न्यायपालिकाको संस्थागत स्वतन्त्रता कसरी सुरक्षित रहन्छ ? आज एक व्यक्तिलाई ‘योग्य’ भन्दै नियम बदल्ने हो भने भोलि अर्को सरकारले त्यही अभ्यासलाई अझ राजनीतिक रूपमा प्रयोग गर्न सक्दैन ? कानुन व्यवसायीहरू पनि अहिले विभाजित देखिएका छन् । केहीले ‘मेरिट आधारित नियुक्ति’ को बहसलाई स्वागत गरे पनि धेरै वरिष्ठ अधिवक्ताहरूले न्यायालयभित्र राजनीतिक प्रभाव विस्तार गर्ने जोखिम बढेको चेतावनी दिएका छन् । उनीहरूका अनुसार न्यायपालिका केवल दक्ष व्यक्तिको नेतृत्वले मात्र चल्दैन, त्यसको आधार संस्थागत विश्वास, परम्परा र निष्पक्षताको सार्वजनिक अनुभूति पनि हो । यदि त्यो अनुभूति कमजोर भयो भने अदालतको निर्णयप्रतिको सामाजिक विश्वास समेत खस्कन सक्छ । नागरिक समाजका केही प्रतिनिधिहरूले समेत यो घटनालाई गम्भीर रूपमा लिएका छन् । उनीहरूको तर्क छ–लोकतन्त्रमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचको शक्ति सन्तुलन अत्यन्त संवेदनशील विषय हो । यदि कार्यपालिकाले न्यायपालिकाको नेतृत्व चयनमा अत्यधिक प्रभाव जमाउन थाल्यो भने अन्ततः लोकतान्त्रिक संरचनामै असन्तुलन पैदा हुन सक्छ । यस विवादको अर्को महत्वपूर्ण पक्ष डा. मनोजकुमार शर्माको सम्भावित कार्यकालसँग जोडिएको छ । स्रोतहरूका अनुसार उनी प्रधानन्यायाधीश नियुक्त भएमा करिब ६ वर्षसम्म पदमा रहन सक्नेछन् । नेपालको सन्दर्भमा यो अत्यन्त लामो अवधि मानिन्छ । त्यसैले यो नियुक्ति सामान्य प्रशासनिक निर्णयभन्दा धेरै ठूलो राजनीतिक र संवैधानिक महत्वको विषय बनेको हो । यही कारण अहिलेको बहस केवल ‘को प्रधानन्यायाधीश बन्ने ?’ भन्ने प्रश्नमा सीमित छैन । असली बहस त न्यायपालिकाको भविष्य कस्तो हुने भन्नेमा केन्द्रित हुँदै गएको छ । न्यायालय विधि, परम्परा र संस्थागत सहमतिबाट चल्ने कि राजनीतिक शक्ति केन्द्रहरूको प्राथमिकताबाट ? प्रधानमन्त्री बालेनले आफूलाई ‘पुरानो राजनीतिक संस्कार तोड्ने नेता’ का रूपमा प्रस्तुत गर्दै आएका छन् । उनले परम्परागत दलहरूको आलोचना गर्दै ‘नयाँ राजनीतिक संस्कृति’ को वकालत पनि बारम्बार गरेका छन् । तर आलोचकहरू भन्छन्–संस्कार तोड्ने नाममा संस्थागत सन्तुलन नै भत्काउन थालियो भने त्यो परिवर्तन होइन, अस्थिरताको सुरुवात हुन सक्छ । संवैधानिक परिषद्भित्र सार्वजनिक रूपमा देखिएको यो असहमति आगामी दिनमा अझ ठूलो राजनीतिक संघर्षको संकेत हुन सक्छ । विपक्षी दलहरूले यसलाई ‘संवैधानिक निकायमाथिको सत्ता हस्तक्षेप’ का रूपमा प्रचार गर्ने सम्भावना बलियो देखिएको छ । उता सत्ता पक्ष भने ‘पुरानो शक्ति समूहको प्रतिरोध’ भन्दै आफ्नो कदमलाई सुधारवादी निर्णयका रूपमा प्रस्तुत गर्न प्रयासरत देखिन्छ । तर जे भए पनि एउटा तथ्य स्पष्ट भएको छ–प्रधानन्यायाधीश सिफारिसको यो विवादले नेपालको राजनीतिक बहसलाई गहिरो मोडमा पुर्याएको छ । अब यो केवल व्यक्तिको नियुक्तिको प्रश्न रहेन । यो प्रश्न बनेको छ–नेपालको लोकतन्त्र संस्थागत विधि र संवैधानिक संस्कारले चल्ने कि सत्ताको इच्छाअनुसार नयाँ परिभाषा निर्माण हुँदै जाने ? आगामी दिनमा यही प्रश्नले सरकार, विपक्ष, न्यायपालिका र नागरिक समाजबीचको सम्बन्धको दिशा तय गर्नेछ । अनि शायद, यही विवादले भविष्यको नेपालको लोकतान्त्रिक चरित्रसमेत परिभाषित गर्नेछ ।
सुकुमबासीप्रति राज्यको जिम्मेवारी: मानवीयता संवेदना किन जरुरी ?
विदुर कटुवाल काठमाडाैं । काठमाडौं उपत्यकामा नदी किनारका सुकुमबासी बस्ती हटाउने सरकारी अभियान आजदेखि फेरि सुरु भएको छ । वर्षौँदेखि अनौपचारिक रूपमा बसोबास गर्दै आएका हजारौँ परिवारलाई उठीबास लगाउने यो कदम केवल भौतिक संरचना हटाउने प्रशासनिक काम मात्र होइन, यसले समाजको सबैभन्दा कमजोर वर्गमाथि प्रत्यक्ष असर पार्ने मानवीय प्रश्न पनि हो । सरकारले ‘वास्तविक सुकुमबासीको पहिचान गरी उचित व्यवस्थापन गरिने’ आश्वासन दिएको भए पनि व्यवहारमा त्यस्तो संवेदनशीलता कत्तिको देखिन्छ भन्ने गम्भीर प्रश्न उठेको छ । सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने सुकुमबासी समस्या एकरातमा जन्मिएको होइन । यो दशकौँदेखि जमेको सामाजिक–आर्थिक असमानताको परिणाम हो । गाउँमा रोजगारीको अभाव, शिक्षा र स्वास्थ्य सेवाको सीमित पहुँच, प्राकृतिक विपत्ति तथा द्वन्द्वका कारण विस्थापित भएका नागरिकहरू बाँच्ने विकल्प खोज्दै सहर पस्छन् । सहरले उनीहरूलाई अवसर त दिन्छ, तर सम्मानजनक आवास दिन सक्दैन । अन्ततः उनीहरू नदी किनार, सार्वजनिक जमिन वा जोखिमयुक्त स्थानमा बस्न बाध्य हुन्छन् । यस्तो यथार्थलाई बेवास्ता गर्दै केवल ‘अवैध संरचना’ भनेर हटाउनु समस्याको समाधान होइन, बरु त्यसलाई झन् जटिल बनाउने कदम हो । सरकारको अहिलेको कदममा सबैभन्दा ठूलो कमजोरी मानवीय दृष्टिकोणको अभाव हो । कुनै पनि नागरिकलाई वैकल्पिक व्यवस्था नगरी जबरजस्ती उठीबास लगाउनु राज्यको दायित्वबाट पन्छिनु हो । विशेषगरी बालबालिका, गर्भवती र सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकजस्ता संवेदनशील समूहको अवस्थालाई प्राथमिकतामा राखिनुपर्थ्यो । उनीहरूका लागि अस्थायी आवास, स्वास्थ्य सेवा, पोषणयुक्त खाद्य सामग्री र मनोसामाजिक सहयोगको व्यवस्था नगरी गरिएको हटाउने अभियान अमानवीय मात्र होइन, गैरजिम्मेवार पनि देखिन्छ । अर्कोतर्फ, सुकुमबासीको नाममा सार्वजनिक जमिन अतिक्रमण गर्ने र निजी स्वार्थका लागि फाइदा लिने प्रवृत्तिलाई पनि बेवास्ता गर्न मिल्दैन । वास्तवमा सबै सुकुमबासी एउटै प्रकृतिका छैनन् । केहीसँग अन्यत्र घरजग्गा हुन सक्छ, केहीले योजनाबद्ध रूपमा सार्वजनिक जमिन कब्जा गरेका पनि हुन सक्छन् । तर यसै आधारमा सबैलाई एउटै तराजुमा राखेर कारबाही गर्नु न्यायसंगत हुँदैन । राज्यको दायित्व भनेको वास्तविक सुकुमबासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, रोजगारी र सामाजिक सुरक्षाको पहुँच उपलब्ध गराउनु हो, न कि सबैलाई एउटै समूहमा राखेर हटाउनु । सरकारले यस विषयलाई केवल ‘व्यवस्थापन’को समस्या जस्तो देखाउन खोजेको छ, तर यो मूलतः गरिबी, असमानता र विकासको असन्तुलनसँग जोडिएको गहिरो संरचनात्मक समस्या हो । अहिले विश्वव्यापी रूपमा देखिएको आर्थिक अस्थिरता, ऊर्जा संकट र रोजगारीमा आएको गिरावटले गरिब वर्गलाई झन् प्रभावित बनाइरहेको छ । नेपालजस्तो आयातमा निर्भर र विप्रेषणमा आधारित अर्थतन्त्रमा यसको प्रभाव अझ गहिरो हुन्छ । वैदेशिक रोजगारी घट्दा परिवारको आम्दानी घट्छ, उपभोग कम हुन्छ र अन्ततः सहरमा बस्ने न्यून आय भएका वर्गहरू प्रत्यक्ष मारमा पर्छन् । यस्तो अवस्थामा सुकुमबासी हटाउने जस्ता कदमले उनीहरूको जीवन अझ असुरक्षित बनाउँछ । घर मात्र होइन, उनीहरूले सानो–सानो रोजगारीका अवसर पनि गुमाउँछन् । दैनिक ज्याला मजदुरी गर्ने, सडक व्यापार गर्ने वा साना सेवा व्यवसायमा संलग्न मानिसहरूका लागि स्थान परिवर्तन गर्नु भनेको आम्दानीको स्रोत गुमाउनु हो । त्यसपछि उनीहरू अपराध, शोषण वा मानव तस्करी जस्ता जोखिममा पर्न सक्ने सम्भावना बढ्छ । सरकारले यस्ता दीर्घकालीन प्रभावको मूल्याङ्कन गरेको देखिँदैन । सरकारको अर्को आलोचनायोग्य पक्ष भनेको तथ्याङ्क र वास्तविकताको बीचको अन्तर हो । प्रायः सरकारी निकायहरू आर्थिक सूचकहरू राम्रो देखाउनमा केन्द्रित हुन्छन्, तर जमिनस्तरको यथार्थ फरक हुन्छ । गरिबी घटेको, रोजगारी बढेको वा विकास तीव्र भएको दाबी गरिए पनि सहरका झुपडी बस्तीहरू विस्तार हुँदै जानु आफैंमा त्यसको खण्डन हो । यदि नीतिहरू प्रभावकारी हुन्थे भने सुकुमबासीको संख्या घट्नुपर्ने हो, बढ्ने होइन । यसैले, अहिलेको परिस्थितिमा सरकारको प्राथमिकता स्पष्ट हुनुपर्छ । पहिलो, कुनै पनि हटाउने अभियान अघि वैकल्पिक आवासको सुनिश्चितता अनिवार्य हुनुपर्छ । दोस्रो, सुकुमबासीलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । तेस्रो, सामाजिक सुरक्षा सञ्जाललाई विस्तार गरी कमजोर वर्गलाई लक्षित सहायता उपलब्ध गराउनुपर्छ । चौथो, स्वास्थ्य र शिक्षामा सहुलियत दिई उनीहरूको जीवनस्तर सुधार गर्ने प्रयास गर्नुपर्छ । यसका साथै बजार अनुगमन प्रभावकारी बनाउन पनि जरुरी छ । कृत्रिम अभाव, कालोबजारी र अनियन्त्रित मूल्यवृद्धिले गरिब वर्गलाई सबैभन्दा बढी असर गर्छ । सरकारले कर छुट, सहुलियत र नियमनका माध्यमबाट अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण गर्नुपर्छ । तर यी सबै अल्पकालीन उपाय मात्र हुन्। दीर्घकालीन समाधानका लागि उत्पादन वृद्धि, कृषि आधुनिकीकरण, उद्योग विस्तार र आन्तरिक रोजगारी सिर्जना अपरिहार्य छ । अन्ततः, सुकुमबासी समस्या समाधान गर्न राजनीतिक इच्छाशक्ति र मानवीय संवेदनशीलता दुवै आवश्यक छन् । केवल कानुनी आधारमा संरचना हटाउनु सजिलो छ, तर मानिसको जीवन पुनःस्थापित गर्नु कठिन काम हो । यही कठिन काम गर्न सक्नु नै राज्यको असली परीक्षा हो । यदि सरकारले उठीबास गरिएका नागरिकलाई सम्मानजनक जीवन दिन सक्यो भने मात्र यो अभियान सफल मानिनेछ । अन्यथा, यो केवल गरिबमाथि अर्को अन्यायको अध्याय बन्नेछ । सरकारले अब निर्णय लिनुपर्छ-उसले विकासको नाममा कमजोरलाई विस्थापित गर्ने हो कि समावेशी नीति अपनाएर सबै नागरिकलाई साथ लिएर अघि बढ्ने हो । यही निर्णयले नेपालको सामाजिक न्यायको भविष्य निर्धारण गर्नेछ ।
सत्ताको 'उचाइ' र विधिको 'धरातल': नयाँ आवरणमा पुरानै प्रवृत्ति
पूर्णबहादुर घर्ती १. नयाँ आवरणमा पुरानै प्रवृत्ति: नेपाली राजनीति अहिले एउटा विचित्रको संक्रमणकालबाट गुज्रिरहेको छ। 'पुराना' दलहरूको असफलताको जगमा 'नयाँ' शक्तिहरूको उदय त भयो, तर कार्यशैलीमा भने एउटा साझा र खतरनाक चरित्र हावी हुन थालेको छI सस्तो लोकप्रियतावाद (Populism) र संस्थागत बेवास्ता। जनअपेक्षालाई सुशासनमा बदल्नुको साटो सत्ताको बागडोर सम्हालेका पात्रहरूले नै राज्यका दुई मुख्य स्तम्भ- व्यवस्थापिका (सदन) र न्यायपालिका (अदालत) को मर्यादालाई नजरअन्दाज गरिरहेका छन्। २. सैद्धान्तिक विचलन: लोकतन्त्रको आत्मा भनेको 'बहस' र 'सहमति' हो। तर, वर्तमान परिदृश्यले अर्कै संकेत गरिरहेको छ: * सदनको उपेक्षा: जनप्रतिनिधिहरूको सर्वोच्च थलो 'सदन' लाई जीवन्त बहसको केन्द्र बनाउनुको साटो राष्ट्रपतिलाई आह्वान गर्न लगाईएको सदन विनाकुनै कारण स्थगन गरिनुले संसदीय सर्वोच्चताको उपहास र राष्ट्रपतिलाई रबर स्ट्याम्प जस्तो वनाईएको छ । प्रचण्ड बहुमत हुँदाहुँदै पनि जब शासकहरूले अलोकतान्त्रीक र हुकुमी शासनको बाटो रोज्छन् छिट्टै पतनको दिशामा पुग्छन् । * लोकप्रियतावादको पासो: लोकप्रियताका लागि गरिने 'स्टन्ट' हरूले तत्कालका लागि सामाजिक सञ्जालमा ताली त पाउँछन्, तर यसले समाजमा गहिरो विभाजन निम्त्याउँछ। सुकुम्बासी समस्यालाई मानवीय र आर्थिक पाटोबाट हेर्नुको साटो केवल 'अतिक्रमणकारी' को लेभल लगाएर बल प्रयोग गर्नु शासकको अनुदारवादी र निरंकुश चरित्रको उपज हो। ३. कानुनी राज्यको उपहास: नेपालको संविधानले नागरिकको 'आवासको हक' लाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। तर, व्यवहारमा विधिको शासनलाई शक्तिको आडमा थिचिएको देखिन्छ। * अदालतको अवज्ञा: सर्वोच्च अदालतले २०८० मा दिएको "वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्ती नहटाउनु" भन्ने आदेशको पालना नगर्नु सिधै अदालतको मानहानि मात्र होइन, बरु लोकतान्त्रिक मूल्यमान्यता माथिको गम्भीर प्रहार हो। * संस्थागत पद्धतिलाई बाइपास: भूमि आयोग जस्ता संवैधानिक र कानुनी संयन्त्रलाई परामर्श र समन्वयमा सामेल नगरी 'डोजर' चलाउने आदेश जारी गर्नुले राज्यका स्थापित संस्थाहरूलाई कमजोर बनाउने र व्यक्तिलाई हाबी गराउने प्रवृत्तिको पुष्टि गर्छ। ४. काँधमा चढेको बच्चाको मनोविज्ञान: अहिलेको सत्ता सञ्चालनमा एउटा रोचक तर भयावह 'मनोविज्ञान' देखिएको छ। जनमतको काँधमा चढेर शक्तिमा पुगेका पात्रहरूले आफूलाई संसारकै अग्लो ठान्ने भ्रम पालेका छन्। * नयाँ शक्तिको विरोधाभास: 'जान्नेलाई छान्ने' भन्दै आएका शक्तिहरूले 'एकाधिकारवादी' शैलीलाई नै निरन्तरता दिने हो भने, जनतामा "जुन जोगी आए पनि कानै चिरेको" भन्ने निराशा बढ्नु स्वाभाविक छ। * सेलिब्रेटी संस्कृति र पद्धति: राजनीति जब 'सिस्टम' मा भन्दा पनि 'सेलिब्रेटी' र 'फ्यान फलोइङ' मा आधारित हुन्छ, तब संस्थागत जवाफदेहिता हराउँदै जान्छ। यसले बिस्तारै 'निर्वाचित अधिनायकवाद' लाई आमन्त्रण गर्छ। ५. निष्कर्ष र निकासको बाटो शासकले आफ्नो उचाइ आफू उभिएको धरातल (कानुन र संविधान) बाट नाप्नुपर्छ, अरूको काँधबाट होइन। अहिलेको संकटबाट निकासका लागि निम्न बुँदाहरू अनिवार्य छन्: 1.संवैधानिक सम्मान: सरकारले अदालतको आदेश र संविधानको धारा ३७ (आवासको हक) लाई पूर्ण रूपमा पालना गर्नुपर्छ। 2.संसदीय सक्रियता: जटिल मुद्दाहरूलाई सदनमा लगेर व्यापक छलफलबाट मात्र कानुन र नीति निर्माण गरिनुपर्छ। 3. मानवीय व्यवस्थापन: सुकुम्बासी समस्याको समाधान 'डोजर' होइन, 'पुनर्स्थापना' र 'वैज्ञानिक पहिचान' हो। वास्तविक सुकुम्बासी र भू-माफिया छुट्ट्याउने वैज्ञानिक विधि अपनाउनु नै सुशासनको पहिलो कदम हो। अन्त्यमा, जबसम्म पद्धतिलाई व्यक्तिभन्दा माथि राखिँदैन र राज्यका संस्थाहरूलाई खेलौना बनाइन्छ, तबसम्म लोकतन्त्रको आवरणमा अराजकता मात्र मौलाइरहनेछ जो छिट्टै पतनको दिशामा जान्छ । लेखक : नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभाका निवर्तमान सांसद हुन् । (२०८३ / ०१ / १२)

