आइपीएल–२०१८: कुन टिम कस्ता ?
काठमाडौं, चैत्र २६ । विश्व क्रिकेटको महाकुम्भ इन्डियन प्रीमियर लीग ( आइपीएल) को ११ औं संस्करण शनिबारदेखि भारतमा शुरु भएको छ ।
११औँ संस्करणको आइपीए अप्रिल ७ बाट सुरु भएर मे २७ सम्म सञ्चालन हुनेछ। लिगमा कूल ८ टोलीको सहभागिता रहनेछ।
कुन टिम कस्ता ?
मुम्बई इन्डियन्स
टिम मालिक : मुकेश अम्बानी, नीता अम्बानी
प्रशिक्षक : महेला जयवद्र्धने
डिफेन्डिङ च्याम्पिन्स हो, मुम्बई इन्डियन्स अनि यसपटकको उपाधिको उत्तिकै बलियो दाबेदार पनि । मुम्बईले पछिल्लो पटक उपाधि जित्दाको टिमलाई नै कायम गरेको छ । रोहित शर्मा र जेपी डुमेनीले टिमको ब्याटिङ क्रम सम्हाल्नेछन् । बलिङतर्फ मुम्बईलाई केही कमजोर मान्न सकिन्छ, टिममा खासै नाम चलेका बलर छैनन । त्यसैले टिम अलराउन्डरहरूमा निर्भर रहनेछ । मुम्बईसँग हार्दिक पान्ड्याजस्ता धुरन्धर अलराउन्डर छन् ।
दिल्ली डेयरडेभिल्स
टिम मालिक : जीएमआर ग्रुप
प्रशिक्षक : प्याडी अप्टन
सन्दीप लामिछानेको टिम हो— दिल्ली डेयरडेभिल्स । दिल्लीले ब्याटिङकै कारण गत सिजनका अधिकांश खेल गुमाएको थियो । त्यसैले टिमले यसपटक गौतम गम्भीर, कोलिन मुनरो र ग्लेन म्याक्सवेललाई आफ्नो टिममा समावेश गरेको छ । दिल्लीले यसपटक बलर कगिसो रबादा , मोहम्मद सामी र अमित मिश्रा टिममा सामेल गरेको छ । क्रिस मोरिस ब्याट र बलबाट चम्किए भने प्रतियोगितामा दिल्लीको राम्रै सम्भावना छ ।
कोलकाता नाइटराइडर्स
टिम मालिक : शाहरूख खान, जुही चावला
प्रशिक्षक : ज्याक कलिस
कोलकाता नाइटराइडर्स यसपटक बलर हावी भएको टिम मानिएको छ । ब्याटिङतर्फ खासै ध्यान नदिँदा कोलकाताले चर्को मूल्य तिर्नुपर्ने हुनसक्छ । टिमका मु्ख्य ब्याट्सम्यान हुनेछन, रोबिन उत्थप्पा र दिनेश कार्तिके । बलिङ आक्रमणतर्फ टिमसँग सुनिल नारायण, कुलदीप यादव र मिचेल स्टार्क जस्ता खेलाडी छन् । यस्तै टिममा अनुभवी पीयूष चावला पनि छन् । अलराउन्डर आन्द्रे रसेलको प्रदर्शनले पनि धेरै हदसम्म कोलकाताको भाग्य निर्धारण गर्नेछ ।
किङ्स इलेभन पञ्जाव
टिम मालिक : प्रिटी जिन्टा र नेस वादिया
प्रशिक्षक : वीरेन्द्र सहवाग
पछिल्ला सिजनको तुलनामा यसपटक किङ्स इलेभन पञ्जाव केही बलियो देखिन्छ । पन्जाबसँग क्रिस गेल र आरोन फिन्च जस्ता ब्याट्सम्यान छन् । यस्तै केआर राहुल पनि टिमका प्रमुख ब्याट्सम्यान हुनेछन् । अक्षर पटेलले टिममा अलराउन्डरको भूमिका निर्वाह गर्नेछन् । पन्जाबका कप्तान रविचन्द्रन अश्विन हुन् । तर प्रश्न के छ भने अश्विन आफैं कति लयमा छन् ? चोटका कारण पोहोर उनले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।
सनराइज हैदराबाद
टिम मालिक : सन टीभी नेटवर्क
प्रशिक्षक : टम मुडी
प्रतियोगिताअघि नै सनराइज हैदराबादलाई ठूलो धक्का लागेको छ, हैदराबादले कप्तान डेविड वार्नरलाई गुमाइसकेको छ । त्यसैले ब्याटिङको जिम्मेवारी अब शिखर धवनमा केन्द्रित भएको छ । यस्तै न्युजिल्यान्डका कप्तान केन विलियम्स तथा मनिष पाण्डेले पनि ब्याटिङ क्रम सम्हाल्नेछन् । साकिब अल हसन उपयोगी अलराउन्डर सावित हुन सक्छन् । हैदराबादको बलिङ भुवनेश्वर कुमार तथा अफगानिस्तानका रसिद खानले सम्हाल्नेछन् ।
रोयल च्यालेञ्जर्स बैंगलोर
टिम मालिक : युनाइटेड स्प्रिट्स
प्रशिक्षक : ड्यानिएल भिटोरी
रोयल च्यालेञ्जर्स बैंगलोरको विशेषता नै हो— आक्रामक रूपमा खेल्ने र यो आक्रामक खेलको नेतृत्व गर्ने अरू कोही नभएर विराट कोहली आफैं हुन् । तय छ, यसपटक पनि बैंगलोरको टिम उपाधिको बलियो दावेदार हुनेछ । टिममा एकसेएक ब्याट्सम्यान छन्, कोहलीसँगै एबी डे भिल्लियर्स, क्विन्टेन डे कक, ब्रेन्डन म्याककलम । टिमको बलिङ तुलनात्मक रूपमा कमजोर छ । बैंगलोरले यसअघि पनि बलिङकै कारण खेल गुमाउने गरेको थियो । बैंगलोरसँग नाम चलेका कुनै पनि बलर छैनन ।
राजस्थान रोयल्स
टिम मालिक :मनोज बडाले र ल्याचलन मुर्डाेच
प्रशिक्षक : शेन वार्न
राजस्थान रोयल्सले दुई वर्षपछि प्रतियोगितामा पुनरागमन गर्दैछ, त्यसैले यो टिममाथि एक खालको दबाब हुनेछ । राजस्थानको विशेषता नै हो, प्रतिभाशाली तर कम नाम चलेका खेलाडीमा भर पर्ने । यसपटक पनि राजस्थानले त्यही प्रवृत्ति रोजेको छ । यद्यपि टिमसँग सनसनीपूर्ण अलराउन्डर बेन स्टोक्स नभएका होइनन् । टिमले बल ट्याम्परिङका कारण कप्तान स्टिभ स्मिथलाई गुमाइसकेको छ । उनको अनुपस्थितिमा अब टिमको जिम्मेवारी अजिन्के रहाणेले सम्हाल्नेछन् । धेरै अर्थमा टिमको बलिङ कमजोर नै छ, टिममा नाम चलेका कुनै बलर छैनन् ।
चेन्नाई सुपर किङ्स
मालिक : चेन्नाई सुपर किङ्स प्रालि
प्रशिक्षक : स्टेफेन फ्लेमिङ
आईपीएल इतिहासको सर्वाधिक सफल टिम हो— चेन्नाई सुपर किङ्स । यो टिमले पनि प्रतियोगितामा पुनरागमन गर्दैछ, त्यसैले प्रतिस्पर्धा थप रोमाञ्चक हुनेछ । आईपीएलमा चेन्नाईको टिम किन बलियो हुन्छ, किन यसले बढी खेल जित्छ र उपाधिमाथि कब्जा जमाउँछ भन्ने कुरा रहस्यमै छ । टिमका कप्तान हुन्— महेन्द्रसिंह धोनी । यो टिममा ब्याटिङ र बलिङ दुवैका स्टार खेलाडीको कमी छैन । सुरेश रैना, रवीन्द्र जडेजा, फाफ डु फ्लेसेस, ड्वेन ब्राभो, सेन वाट्सन आदि । चेन्नाईको सबैभन्दा बलियो पक्ष हो— प्रशस्त अलरान्डर खेलाडी हुनु । साप्ताहिकबाट
स्कट्ल्यान्डमाथि नेपालको जित, ११ अंकसहित चौथो स्थानमा
काठमाडौं। नेपालले आइसिसी विश्वकप लिग २ मा स्कट्ल्यान्डलाई पराजित गरेको छ।मंगलबार भएको खेलमा आरिफ सेखको अर्धशतकसँगै नेपालले स्कट्ल्यान्डलाई पाँच विकेटले पराजित गरेको हो। यसअघि नेपालले नेदरल्यान्ड्सलाई घरेलु मैदानमा आठ विकेटले पराजित गरेको नेपालको लिग २ मा यो दोस्रो जित हो। त्यसअघि र त्यसपछि भएका ९ मध्ये एक टाइको नतिजा निकालेको नेपालले ७ खेलमा भने नेपाल पराजित भएको थियो। जितसँगै सातौं स्थानमा रहेको नेपालले १० खेलबाट ५ अंक पुर्याएको छ। एक खेल कम खेलेको स्कट्ल्यान्ड भने ११ अंकसहित चौथो स्थानमा छ। स्कट्ल्यान्डले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा पाँच विकेट गुमाउँदै १५७ रन बनायो। छैटौं नम्बरमा उत्रिएका आरिफले अविजित रहँदै सर्वाधिक ५१ रन बनाए। ४२ बल खेलेका उनले आठ चौका प्रहार गरे। गुलसनकुमार झा २५ रनमा अविजित रहँदा कुशल भुर्तेल २५ रनमा पेभिलियन फर्किए। ओपनर आसिफ सेख २१ र अनिलकुमार साह १३ रनमा आउट हुँदा कुशल मल्ल सात र कप्तान रोहितकुमार पौडेलले एक रन बनाए।
आईसीसी लिग-२ : नेपाल अमेरिकासँग ३ विकेटले पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्धको खेलमा नेपालले हार व्यहोरेको छ। अमेरिकाका टेक्सासस्थित डलासको ग्राण्ड प्रिएरीमा नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न खेलमा नेपाल ३ विकेटले पराजित भएको हो। टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा पूरा खेल्दा २८६ रनमा अलआउट भयो। नेपालका लागि ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले अर्धशतक प्रहार गरे। साहले ५६ रन र शेखले ५२ रन बनाए। कप्तान रोहित पौडेलले नेपालका लागि सर्वाधिक ९६ रन जोडे। उनले ७५ बलमा ८ चौका र ३ छक्का हिर्काए। कुशल भुर्तेलले ११ रन जोडे। शेखले ३७ रन जोडे भने दीपेन्द्रसिंह ऐरी १३ रनमा आउट भए। अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा कुशल भुर्तेलले ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए। ललित राजवंशीले १ विकेट हात पारे। २८७ रनको लक्ष्य अमेरिकाले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पार गर्यो। उसका लागि ओपनिङ ब्याटर शायन जहानगिरले शतक प्रहार गरे। उनले १०४ रन जोडे। अर्का ओपनर आन्द्रेस गस १ रनमा आउट भए। तर कप्तान मोनाक पटेलले ६२ रन जोडे। उनले दोस्रो विकेटका लागि जहानगिरसँग १६१ रनको साझेदारी गरे। बलिङमा अमेरिकाका केञ्जिगेले ४ विकेट लिए। हर्मित सिंहले ५७ रन र साड्ली भान साल्वेकले २९ रन जोडेर अमेरिका जित नजिक पुगेको हो। यो श्रृङ्खलामा नेपालले नेपालले दुवै टोलीसँग दुई-दुई खेल खेल्नेछ। अब नेपालले मंगलबार राति सवा ९ बजे स्कटल्याण्डसँग खेल्नेछ।
ट्वान्टी–२० शृंखला : अमेरिकाविरुद्ध नेपालको ‘क्लिन स्विप’
काठमाडौं । अमेरिकाविरुद्धको ट्वान्टी–२० शृंखलामा नेपालले ‘क्लिन स्विप’ गरेको छ । तीन खेलको शृंखलाअन्तर्गत सोमबार भएको अन्तिम खेलमा घरेलु टिमलाई आठ विकेटले हराउँदै नेपालले शृंखलामा ३–० को जीत हासिल गरेको हो। आज भएको खेलमा अमेरिकाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा ओपनर आसिफ सेखले ५० रन बनाए । उनले ३९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । कुशल मल्लले ३० बलमा चार चौका र एक छक्कासहित ४४ रन थपे । कुशल भुर्तेलले ४० रन जोड्दा अर्का ओपनर अनिल साहले १३ रन बनाए । अमेरिकाका जुनोय ड्राइसडेल र जसदीप सिंहले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको थियो । अमेरिकाका ओपनर साइतेजा मुक्कमल्लले ६८ रन बनाएका थिए । मिलिन्ड कुमारले ४३ रन थप्दा आरोन जोनसले १३ र हर्मीत सिंहले १० रन बनाए । नेपालका सोमपाल कामीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले २७ रन खर्चिए । यस्तै, रिजन ढकाल र ललित राजवंशीले समान एक विकेट लिए । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिमलाई १७ रन र दोस्रो खेलमा सुपरओभरमा हराएको थियो ।
अमेरिकालाई सुपर ओभरमा जितेर नेपाल सिरिजमा नाम लेखाउन सफल
नेपालले आइतबार अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेको छ । यससँगै नेपाल तीन खेलको सिरिजमा २–० ले अगाडि रह्यो र त्यसलाई आफ्नो नाममा लेखाउन सफल रह्यो । हारको संघारमा रहेर नेपाल यो खेलमा विजयी रहेको हो । अब सोमबार हुने अन्तिम खेल औपचारिक हुनेछ । डलासमा भएको खेलमा नेपालको जितका नायक सोमपाल कामी रहे । उनले सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लिए । उनले चार बलमा दुई विकेट लिए । अन्तिम दुई बलमा लगातार विकेट हात परेको थियो । त्यसमा सयन जहाँगीर र एरोन जोन्स चार बल मात्रै टिके । त्यसपछि सौरभ नेट्राभाल्करको बलमा नेपालका लागि कप्तान रोहित पौडेल र कुशल भुर्तेलले चार बलमा तीन रन बनाए । यसअघि जितका लागि १ सय ७१ रन पछ्याएको अमेरिकाले आठ विकेटमा १ सय ७० रन मात्र बनाउन सक्यो र यस्तोमा खेल टाई भएको थियो । जसदीप सिंह अन्तिम बलमा रनटआउट भएपछि अमेरिका विजयी रन बटुल्न असफल रह्यो । अमेरिकालाई आन्द्रेस गुसले सर्वाधिक ६२ रन बनाए । उनले ४३ बलमा तीन चौका र चार छकका प्रहार गरे । अमेरिकालाई अन्तिम ओभरमा जित्नलाई सात रन चाहिएको थियो । अझ अन्तिम बलमा दुई रन चाहिने स्थिति बनेको थियो, तर त्यसलाई हात पार्न सकेन । अमेरिकाका लागि ओपनर साइतेजा मुखमलले ४१ बलमा ४७ रन बनाए । उनले दुई चौका र तीन छक्का प्रहार गरे । नेपाली बलरमध्ये करण केसीले तीन र सोमपाल कामीले दुई विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । नेपालको इनिङ्स कुशल भुर्तेलमा टिकेको थियो र उनले नटआउट रहेर ५४ बलमा ९२ रन बनाए । त्यसमा सात चौका र छ छक्का सामेल थियो । नेपालको सुरुवात भने राम्रो रहेन र ११ रनको स्थितिमै ओपनर आसिफ सेखले विकेट गुमाए । उनले एक रन मात्र बनाए । अर्का ओपनर अनिल साहले भने २५ रनको योगदान गरे र त्यसमा दुई चौका र एक छक्का सामेल थियो । त्यसपछि गुल्सन झाले १२ बलमा १९ रन बनाए । उनको ब्याटबाट दुई चौका र एक छक्का निस्केको थियो । कप्तान रोहित पौडेलले भने १४ बलमा १८ रनको योगदान गरे । उनले दुई चौका प्रहार गरे । दीपेन्द्रसिंहले दुई रन मात्रै बनाए । अर्का नटआउट ब्याटर करण केसीले ६ रन बनाए । अमेरिकी बलरमध्ये नोसथुस केनजिगे र जसदीप सिंहले दुई/दुई विकेट लिए । नेपाल पहिलो ट्वान्टी-२० १७ रनले विजयी रहेको थियो ।