“आर्केस्ट्रा” मा बेचिँदै नेपाली चेली

“आर्केस्ट्रा” मा बेचिँदै नेपाली चेली

पर्सा, माघ २० । रौतहट गमहरियाकी १८ वर्षीया रविना खातुन र उदयपुर गाईघाटकी १६ वर्षीया राधा चमार (दुवै नाम परिवर्तन) लाई प्रहरीले वीरगन्जस्थित नेपाल–भारत सीमामा फेला पार्‍यो । रविनालाई अर्जुन कलवारले घरायसी काममा लगाइदिन्छु भन्दै वीरगन्ज बोलाएका थिए । रविना १४ वर्षीया अर्की साथीका साथ सीमान्त सहर आइपुगेकी थिइन् ।

तीनैजना युवतीलाई वीरगन्ज नाकाबाट केही पर गाउँको बाटो हुँदै भारत लगियो । त्यहाँको अज्ञात गाउँमा लगेर स्थानीय पारस बैठाले सञ्चालन गरेको अर्केस्ट्रा (पेसेवर नृत्य समूह) मा जोडियो । पहिलो साता राम्रै व्यवहार भयो । पछि उनीहरूलाई कुटपिट गर्दै नृत्यको तालिम दिन थालियो । बैठाको समूहले युवतीलाई जबर्जस्ती वैवाहिक तथा अन्य समारोहमा नाच्न लगाउँथे । छोटा कपडा लगाएर नृत्य गर्नुपथ्र्यो । एक दिनको भारु १ हजार ५ सय रुपैयाँ आम्दानी हुन्छ भनेर प्रलोभन देखाए पनि पारिश्रमिक भने पाएनन् । ज्यादती बढेपछि युवतीले स्वदेश फर्कन खोजे ।

तीनैजनाले पारिश्रमिक माग्दा पाएनन् । खेतको बीचमा झुप्रो बनाएर राखिएको थियो । राति अपरिचित युवा आएर दुव्र्यवहार गर्थे । भाग्न खोज्दा कुटपिट गर्थे । एक रात भाँडा माझ्ने बहानामा रविना र राधा भागेर नेपाली सीमासम्म आइपुगे । रविनासँगै आएकी किशोरी अहिले पनि सीमापारि अर्केस्ट्रा समूहकै चंगुलमा छिन् । रविना र राधालाई भने माइती नेपाल वीरगन्ज शाखाले अभिभावक बोलाएर जिम्मा लगाएको छ । उनीहरूले अब कहिल्यै कामको लोभमा भारत नजाने बताए ।

स्याङ्जा वालिङ घर भएकी नाम मात्र लेख्न सक्ने सोनी मगर (नाम परिवर्तन) को कथा-व्यथा पनि उस्तै छ । गाउँकै तारा भनिने एक महिलाले मैनबत्ती उद्योगमा काम पाइन्छ भनेर उनलाई भारत विहारको बगाहा पुर्‍याइदिइन् । तर मैनबत्ती उद्योगमा नभई अर्केस्ट्रामा काम गर्नुपर्‍यो, उनले । त्यहाँ नारकीय यातना भोगिन् । माइती नेपालले भारतीय प्रहरीसँग समन्वय गरी बगाहा पुगेरै उनलाई उद्धार गरेर स्वदेश ल्यायो ।

यी प्रतिनिधि घटना मात्र हुन् । यसले अर्केस्ट्राका नाममा चेलीबेटी बिक्री हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । भागेर आउने आँट नभएका र माइती नेपाल तथा भारतीय प्रहरीको नजरमा नपरेका थुप्रै नेपाली चेली अहिले सीमावर्ती भारतीय बजारमा फस्टाएको अर्केस्ट्रा व्यवसायमा काम गर्न बाध्य छन् । कान्तिपुरमा खबर छ ।

आज देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।  विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् ।  विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो ।  यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम  सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो  ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।  उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब  ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।

लोकप्रिय