इतिहास उलट्याउने कोशिसमा राप्रपा, राजतन्त्र र हिन्दू राज्यका पक्षमा निर्णय गर्ने
काठमाडौं, ३ फागुन । तीन महिनाअघि एकीकरण भएको पूर्वपञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पुनः संसद्द्वारा नियन्त्रित राजसंस्थाको विषयलाई आफ्नो वैचारिक आधारस्तम्भ बनाउने भएको छ ।
आजको नयाँ पत्रिकामा खबर छ– ६–९ फागुनसम्म काठमाडौंमा हुने एकता महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक कार्यपत्रलाई कार्यसम्पादन समितिले अन्तिम रूप दिँदै संसद्को नियन्त्रणमा हुने राजसंस्थालाई नै पार्टीको नीति बनाएको हो । राप्रपाले राष्ट्रियता, सनातन राजासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, असंलग्न परराष्ट्र नीति, सामाजिक न्याय तथा समावेशी सिद्धान्तलाई पार्टीको वैचारिक आधारस्तम्भका रूपमा अगाडि सारेको छ ।
अध्यक्ष कमल थापाले आइतबार वरिष्ठ ३८ नेता सम्मिलित कार्यसम्पादन समितिको बैठकमा राजनीतिक कार्यपत्रमा यी विषयलाई प्रस्तुत गरेपछि थोरै परिमार्जनसहित राप्रपाले यस्तो नीति लिने भएको हो । ‘राष्ट्रिय एकता संवद्र्धन गर्ने लक्ष्यका लागि राष्ट्रियता सकारात्मक रूपमा जोडिएको संस्थाको उपयोग गर्नु जरुरी रहन्छ ।
राजसंस्था नेपालमा शान्ति, स्थायित्व र विकासका लागि आवश्यक छ । विगतका घटनाक्रम र देशको वर्तमान अवस्थाले यस पक्षलाई पुष्टि गरको छ,’ अध्यक्षले प्रस्तुत गरेको कार्यपत्रबारे उल्लेख गर्दै प्रवक्ता राजाराम श्रेष्ठले भने, ‘सार्वभौमसत्ता जनतामा निहित रहने, निर्वाचित गतिविधिमार्फत जनताले नै शासन गर्ने र संसद्को परिधिभित्र रहेको राष्ट्रियता र सांस्कृतिक एकताको प्रतीकको रूपमा राजसंस्था रहेनछ ।’
महाधिवेशनले पारित गरेपछि राजसंस्था पार्टीको ‘आधारस्तम्भ’
अध्यक्षले पेस गरेको ‘संवैधानिक राजसंस्था’ भन्नेमा ‘संविधानद्वारा नियन्त्रित राजसंस्था’जस्ता शब्दावलीमा मात्र परिमार्जन भएको राप्रपाका नेता दिलनाथ गिरीले जानकारी दिए । अध्यक्षको प्रतिवेदनलाई कार्यसम्पादन समितिले पारित गरेपछि अब महाधिवेशनमा पार्टीको राजनीतिक प्रतिवेदनका रूपमा यसलाई प्रस्तुत गरिन्छ ।
थापाले आइतबार दुई घन्टा लगाएर २२ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरेका थिए । महाधिवेशनले पनि पारित गरेपछि राजसंस्थाको विषयलाई राप्रपाले फेरि आफ्नो आधारस्तम्भ बनाउनेछ । अध्यक्षले आइतबार कार्यपत्र प्रस्तुत गर्दै धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता हचुवाको भरमा थोपरिएको आरोप लगाएका थिए । कार्यपत्रमा यी विषयलाई यसअघि ‘आलोचनात्मक समर्थन’ गरिएको उल्लेख थियो ।
गणतन्त्रमा प्रवेश गरेकोमा ‘सचेत’
कार्यपत्रमा ६३ वर्षपछि संविधानसभाबाट संविधान जारी भएपछि नेपाल संवैधानिक रूपमा गणतन्त्रमा प्रवेश गरेकोप्रति सचेत रहेको राप्रपाले जनाएको छ । उसले राजसंस्था परिवर्तनका पक्षधरलाई समेत चित्तबुझ्ने विषय भएको दाबी गरेको छ । यसको अर्थ गणतन्त्र उपयुक्त थिएन भन्ने अर्थको रूपमा आफूहरूले प्रस्ट्याएको राप्रपा नेता गिरीले दाबी गरे ।
सबैलाई चित्त बुझाउन जनमतसंग्रह
राप्रपाले गणतन्त्र राष्ट्रिय यथार्थता बनिसकेको अवस्थामा राजसंस्थाबारे आवश्यक परे जनमतसंग्रह गर्नुपर्ने विकल्प पनि उपयुक्त हुने जनाएको छ । ‘गणतन्त्र अहिले राष्ट्रिय यथार्थता पनि बनिसकेको अवस्था छ । कतिपय अवस्थामा विरोध पनि छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यसैले सबैलाई चित्त बुझाउने बनाउन जनमतसंग्रह पनि गर्न सकिन्छ भन्ने राप्रपाले निर्णय गरेको छ ।’
वैकल्पिक शक्तिमा राप्रपा
ठूला दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्रको गतिविधिले देशलाई समृद्ध र अखण्ड बनाउने घोषणामा बल नपु¥याएको दुई दशकको अनुभवले देखाएको भन्दै थापाले अब यस्ता कमजोरी हुन नदिन राप्रपा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि लाग्ने जनाएका छन् ।
एकीकरणअघि फरक मुद्दा
एकीकरणअघिको पशुपतिशमशेर राणासहितको राप्रपाले धर्मसापेक्ष हुनुपर्ने गरी संघीयता र गणतन्त्र स्विकारेको थियो । तत्कालीन कमल थापा नेतृत्वको राप्रपा नेपालले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रलाई स्विकारेको थिएन । यद्यपि संघीयतासहितको संविधानलाई भने राप्रपा नेपालले फरकमतसहित स्विकारेको थियो । फेरि महाधिवेशनको मुखमा आएर सिंगो राप्रपाले राजतन्त्रको पक्षमा उभिने निर्णय गरेको हो ।
सनातन हिन्दूराष्ट्र नेपाल
एकीकरण भएपछि भने राप्रपामा सनातन हिन्दूराष्ट्र नेपाल बनाउने विषयमा मतान्तर नभई विषय पारित भएको राप्रपाका नेता गिरीले जानकारी दिए । पार्टी एक हुँदा संघीयता र गणतन्त्रको विषयमा महाधिवेशनबाट धारणा बनाउने निर्णय गरेको राप्रपाले सनातन हिन्दूराष्ट्र नेपाल बनाउनुपर्ने निर्णय गरेको छ । ९४ प्रतिशत जनता हिन्दुत्वमा विश्वास गर्ने भएको दाबी गर्दै राप्रपाले जनतालाई नसोधी, महत्व नदिई विदेशीको इसारामा धर्मनिरपेक्षता लादिएकाले स्विकार्न नसकिने विषयलाई फेरि अगाडि सारेको हो ।
संघीयतामा विकल्प, पाँच विकास क्षेत्रको संरचना
थापाले कार्यपत्रमा संघीयतामा जाने हो भने पाँच विकास क्षेत्रको अवधारणामा जान सकिने विषय उल्लेख गरेका छन् । यसअघि हिमाल, पहाड र तराई मिश्रित पाँच विकास क्षेत्रकै अभ्यासलाई प्रदेश बनाउँदा कतै पनि असन्तुष्टि नआउने विकल्प भएको राप्रपको निष्कर्ष छ । ‘लामो समयदेखि प्रतीक्षारत संविधानसभाबाट संविधान बनेपछि यसमा सबै पक्ष सन्तुष्ट हुन सकेनन् । यसको कार्यान्वयनका पनि दलबीच सहमति नभइरहेको अवस्था छ । प्रमुख दलहरूको मार्गचित्र असफल भएको भन्ने ठहर राप्रपाको छ,’ गिरीले भने, ‘अब असफलताबाट शिक्षा लिएर समृद्धि राष्ट्रका लागि कमजोरी नहोस् भन्दै विकल्पमा जानुपर्छ । यसका लागि पाँच विकास क्षेत्रको पहिलेको अभ्यासलाई संघीय संरचना ९प्रदेश० मा ढाल्न सकिन्छ ।’
आर्थिक प्रतिवेदन : प्रजातन्त्र र गणतन्त्रमा परनिर्भर
राप्रपा बैठकमा राष्ट्रिय अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि छलफल गर्दै राप्रपाका नेताहरूले प्रजातन्त्र र गणतन्त्रमा आर्थिक विकास झन् सुस्ताएको उल्लेख गरेका थिए । ‘विगतको शासनका प्रणालीको तुलनामा अहिले आर्थिक कार्यक्रम, औद्योगिक विकास, खाद्यान्न उत्पादनमा हामी परनिर्भर हुन पुग्यौँ । युवालाई विदेशतिर पठायौँ,’ गिरीले भने, ‘अहिले २० अर्बको खाद्यान्न किन्ने देशका रूपमा दरियौँ । अब यसरी हुँदैन । नेपाली जनतालाई समृद्ध बनाउन आर्थिक औद्योगीकरणसहितको आर्थिक क्रान्ति गर्दै अवसरको ढोका खोल्नुपर्ने राप्रपाको आर्थिक नीति छ ।’ विगतको आर्थिक भनेर पञ्चायतकालीन र राजाकालीन विषय भएको लोहनीको कार्यपत्रको निचोड छ । आर्थिक कार्यपत्र ७ पृष्ठको थियो । राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठले कार्यसम्पादन समितिको मंगलबार बस्ने बैठकले विधान संशोधन समितिको मस्यौदामाथि छलफल गरेर टुंगो लगाउने जानकारी दिए ।
उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षको जनमत सङ्ग्रहजस्तै होः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १६ गते हुने उपनिर्वाचन २०८४ को निर्वाचनका लागि आँखिझ्याल हुने बताउनुभएको छ । माओवादी केन्द्र कीर्तिपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको नतिजा इंगित गर्ने बताउनुभएको हो । ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ’– उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको बताउनुभयो । उहाँले सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । ‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन’– उहाँले भन्नुभयो– ‘मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् ।’ उहाँले नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको भन्दै हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै भएको बताउनुभयो । उहाँले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको बताउनुभयो । अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको स्पष्ट गर्दै उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन । बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’ ‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक रहेको औल्याउँदै उहाँले थप्नुभयो– ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु ।’ मंसिर १६ को निर्वाचनमा माओवादी केन्द्रलाई विजयी बनाउन आह्वान गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म ऐतिहासिक अपिल गर्न चाहन्छु । यो सामान्य कुरा छैन । यो सामान्य चुनाव जित र हारको कुरा मात्रै छैन । यो नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरू, अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्,’ उनले भने, ‘मैले त्यही विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो । पहिला दुई दुई पटक संसद् विघटन संविधान मिचेर गर्दा सेटिङमा भत्काइएको थियो । र यो सेटिङ भत्काउनैपर्छ भनेर हामीले ठूलो ठूलो आन्दोलन गरेका थियौँ । त्यतिबेला साँच्चै त्यो सेटिङ भत्किएको थियो ।’
उपनिर्वाचन : कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड
काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगरपालिकाले चुनावीसभा आयोजना गर्ने भएको छ । माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १३ गते २ः३० बजे कीर्तिपुर नःगाउँ दोबाटोमा चुनावी सभा गर्ने जनाएको छ । सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेयर पदका उम्मेदवार प्रा.डा.शिवशरण महर्जन लगायतले सम्बोधन गर्ने बताइएको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको माओवादी केन्द्रले जनाएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै महर्जनलाई मतदान गर्न अपिल गरेका छन् । सरल स्वभावका मर्हजनलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् । करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण निर्वाचन जित्नेमा पार्टी ढुक्क रहेको माओवादी केन्द्र कीर्तिपुरले जनाएको छ ।
बक्यौता नतिर्ने उद्योगको बैंक र सेयर खाता रोक्का गर्न प्राधिकरणको पत्राचार(पत्रसहित)
काठमाडौं । डेडिकेटेड तथा ट्रंक फिडरमा लाइन नकाट्न निर्देशन पाएपछि नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने उद्योगहरूको बैंक खाता, सेयर रोक्का गर्न पत्राचार गरेको छ । नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरण बैंक खाता रोक्का, सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा गएको हो । प्राधिकरणले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा खाता तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको छ । पत्रमा प्राधिकरणले खाताबाट रकम झिक्न नपाउने, सेयर निष्कासन गर्न नपाउने माग गरेको छ यस्तै, प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ विद्युत् खरिद सम्झौताबमोजिम भुक्तानी हुने रकमबाट असुल गर्न पियोर इनर्जीलाई पत्राचार गरेको छ । प्राधिकरणले ३४ वटा उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बाँकी रहेका उद्योगहरूको विवरणसहित पत्राचार गरेको हो । प्राधिकरणका अनुसार, उक्त अवधिको जम्मा ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ बाँकी छ । ३४ बाहेकका अन्य उद्योग भने किस्ताबन्दीमा आइसकेको प्राधिकरणले जनाएको छ ।
उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने महत्वपूर्ण अवसर: प्रचण्ड
काठमाडौं, १२ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभएको छ । उहाँले आज भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गर्नुभएको छ । ‘यो उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिनेछ । नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्वपूर्ण अवसर पनि हो’ अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमा ब्याप्त बेथिति, बिसंगति र विकृतिका विरुद्ध जनमत प्रकट गर्न म अनुरोध गर्न चाहन्छु ।’ उपनिर्वाचन केही निश्चित ठाउँमा मात्रै निर्वाचन हुने भए पनि यसको विशेष अर्थ र महत्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यहाँहरु सबैलाई अवगत नै छ, मैले आफ्नो नेतृत्वमा रहेको सरकारका तर्फबाट देशमा सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध, सामाजिक न्यायका पक्षमा, विभेद र अन्यायका विरुद्ध तथा आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ । त्यसैको परिणामस्वरुप देशमा सकारात्मक भाव पैदा भएको थियो र भइरहेको पनि छ ।’ अध्यक्ष प्रचण्डले यो उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने संकल्पको रुपमा, देशमा सुशासन कायम गर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धिको पक्षमा जागरण ल्याउन अभियानको रुपमा अघि बढाएको स्पष्ट गर्नुभयो । ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु ।’ उहाँले भन्नुभयो– ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु ।’