इम्बोस्ड नम्बर प्लेटमा नीतिगत भ्रष्टाचार !
अंक र अक्षर अंग्रेजीमा राख्ने सम्झौता गरेर नियमावली परिवर्तन
सरकारले हालै सुरु गरेको इम्बोस्ड नम्बरप्लेटमा नीतिगत भ्रष्टाचार गरेको पाइएको छ । यातायात व्यवस्था विभागले कार्यान्वयनमा रहेको कानुनविपरीत इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्ने गरी सम्झौता गरेको खुलेको हो । तत्कालीन समयमा कार्यान्वयनमा रहेको सवारी तथा यातायात व्यवस्था नियमावलीमा नम्बरप्लेटमा प्रयोग हुने अंक र अक्षर देवनागरी लिपिमा हुनुपर्ने व्यवस्था रहेको थियो । तर, इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर हुने गरी सम्झौता गरेको विभागले त्यसपछि मात्रै नियमावली संशोधन गरी अंग्रेजी भाषा प्रयोग गर्ने नियम बनाएको हो ।
विभागले १७ जेठ २०७३ मा बंगलादेशी कम्पनी डेकाटुर टाइगरसँग ५ वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी करिब साढे ४ अर्ब रुपैयाँमा सम्झौता गरेको थियो । विभागले नियमावलीविपरीत सम्झौता गर्दा सो व्यवस्था संशोधन गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरेको पाइएको छ । विभागका कर्मचारीको निहित उद्देश्य पूरा गर्ने गरी सरकारले भर्खरै नियमावली संशोधन गरेको छ । २५ साउन २०७४ को राजपत्रमा सूचना प्रकाशित गरी नियमावलीमा नेपाली भाषाको ठाउँमा अंग्रेजी भाषा प्रयोग गर्ने व्यवस्था गरिएको हो ।
विभागले ५ भदौदेखि वितरण थालेको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिएको छ । नम्बर प्लेटमा हाल प्रयोगमा रहेको नेपाली भाषाको ठाउँमा अंग्रेजी भाषाको प्रयोग गरिनुलाई नागरिक समाज र सांसदहरूले समेत विरोध गर्दै आएका छन् । सबै नेपाली नागरिकले अंग्रेजी भाषा नबुझ्ने र त्यसको प्रयोग गर्दा नेपाली भाषा तथा राष्ट्रियतामाथि गम्भीर आघात पुग्ने भन्दै बुधवार संसद्को विकास समितिको बैठकमा बोल्ने धेरैजसो सांसदले आपत्ति जनाएका छन् ।
सांसद शिवजी यादवले नम्बर प्लेटमा रहेको बारकोड मेसिनले अध्ययन गर्ने भन्दै त्यसमा लेखिने भाषाले फरक नपर्ने बताए । सीमापार यातायातको कारण देखाएर अंग्रेजी भाषा प्रयोग गर्नु सरासर गलत भएको उनको भनाइ थियो ।
सम्झौताबाट पछि हट्न सकिँदैन : मन्त्री
नेपाल क्रस बोर्डर ट्रान्सपोर्टसम्बन्धी सन्धिको पक्ष राष्ट्र भएको र ठेकेदार कम्पनीसँग पनि अंग्रेजी भाषाको प्रयोग गर्ने गरी सम्झौता भइसकेका कारण पछाडि फर्किन नसकिने भौतिक योजना तथा यातायातमन्त्री वीरबहादुर बलायरको भनाइ छ । बुधबार संसद्को विकास समितिको बैठकमा बोल्नेक्रममा उनले नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न ठूलो परिवर्तन आवश्यक हुने भन्दै तत्काल सम्भव नहुने बताए । ‘सम्झौताअनुसारको नम्बर प्लेटको आकारले दुवै भाषा समेट्न कठिन छ,’ मन्त्री बलायरले भने, ‘एउटा किसिमको सम्झौता गरेर अर्को किसिमको काम गर्न लगाउनु उपयुक्त हुँदैन, त्यसैले तत्काल नेपाली भाषाको प्रयोग गर्न सम्भव छैन ।’ विभागमै कारखाना खोलेर नम्बर प्लेट तयार पार्ने काम सुरु भइसकेको छ । त्यसमा नेपाली भाषाको प्रयोग गर्न सफ्टवेयर र डाइ पनि परिवर्तन गर्नुपर्ने हुन्छ ।
यसरी भयो नीतिगत भ्रष्टाचार
-१७ जेठ २०७३ मा बंगलादेशी कम्पनी डेकाटुर टाइगर कम्पनीसँग इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अंक र अक्षर प्रयोग गर्ने गरी सम्झौता।
-तत्कालीन अवस्थामा कार्यान्वयनमा रहेको सवारी तथा यातायात व्यवस्था नियमावलीको अनुसूची ६ मा नम्बर प्लेटमा प्रयोग हुने अंक र अक्षर देवनागरी लिपिमा स्पष्ट रूपमा लेखिएको हुनुपर्ने व्यवस्था ।
-२५ साउन २०७४ मा प्रकाशित राजपत्रमा नियमावलीमा रहेको नम्बर प्लेटसम्बन्धी प्रावधान परिवर्तन गरी अंग्रेजी अक्षर प्रयोग गर्ने व्यवस्था ।
अब प्रदेशकै नाममा इम्बोस्ड नम्बर प्लेट
यातायात व्यवस्था विभागले भर्खरै सुरु गरेको इम्बोस्ड नम्बर प्लेट अब प्रदेशकै नाममा जारी हुने भएको छ । यसअघिकै अञ्चलका नाममा नम्बरप्लेट वितरण सुरु गरिएको भए पनि भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयको सक्रियतामा सो कार्य रोकिएको हो ।
प्रदेशको नामाकरण भइनसकेको भए पनि हाल कायम प्रदेश नम्बरका आधारमा नम्बर प्लेट वितरण गरिने यातायातमन्त्री वीरबहादुर बलायरको भनाइ छ । प्रदेशको नामाकरण भइसकेपछि भने सोहीअनुसार नम्बर प्लेट तयार गरिनेछ ।
बंगलादेशको ठेकेदार कम्पनी डेकाटुर प्रदेशका आधारमा नम्बर प्लेट बनाउन तयार भइसकेको भन्दै मन्त्री बलायरले सम्झौता हुन भने बाँकी रहेको बताए । ‘मैले कम्पनीसँग प्रदेशका आधारमा नम्बर प्लेट तयार गर्नुपर्ने विषयमा निरन्तर जोड दिँदै आएको छु,’ उनले भने, ‘हाल अञ्चलका नामबाट नम्बरप्लेट वितरण गर्ने कार्यलाई भने मंगलबारदेखि नै बन्द गरिसकिएको छ ।’
के भन्छन् विज्ञ ?
उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिवक्ता तथा न्याय परिषद्का पूर्वसदस्य
कुनै निश्चित कम्पनीलाई फाइदा पुर्याउने गरी नियमावलीभन्दा बाहिर गएर इम्बोस्ड नम्बर प्लेटका लागि सम्झौता भएको देखिन्छ । यसले कानुनी तथा प्रशासनिक चुनौती पनि निम्त्याएको छ । सरकारकै निकायले पहिले सम्झौता गर्ने र पछि गएर सम्झौताअनुकूल हुने गरी कानुन परिवर्तन गर्नु सरासर नीतिगत भ्रष्टाचार ठहरिन्छ ।
रूपनारायण भट्टराई, महानिर्देशक, यातायात व्यवस्था विभाग
कम्पनीसँग भएको सम्झौताअनुसार नियमावली संशोधन गरिएको हो । यसमा कानुन मन्त्रालयको पनि सहमति लिइएको थियो । पहिले सम्झौता गरी पछि कानुनी सुधार गर्दा नमिल्ने भन्ने हुँदैन ।
विकास समितिका ५ निर्देशन
संसद्को विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई ५ वटा निर्देशन दिएको छ ।
१. सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट राख्ने सम्बन्धमा टेन्डर प्रक्रिया प्रारम्भ भएपश्चात् हालसम्म भएका कामलाई सार्वजनिक गर । विशेष गरी आवेदन गर्ने ४ वटा कम्पनीमध्ये सबैभन्दा न्यून रकम (२९ मिलियन डलर) प्रस्ताव गर्ने कम्पनीलाई छनोट नगरी बढी रकम प्रस्ताव गर्ने आवेदकमध्येको दोस्रो कम्पनी डेकाटोर टाइगर कोअपरेसन (बंगलादेश र अमेरिकन संयुक्त उपक्रम) (४०.५ मिलियन डलर) लाई छनोट गर्नु पछाडिको स्पष्ट कारणहरू, सार्वजनिक खरिद ऐन, नियमावलीसँग कम्पनी छनोटको तादात्म्यता खुलाई समितिलाई ७ दिनभित्र लिखित जानकारी उपलब्ध गराऊ ।
२. इम्बोस्ड नम्बर प्लेट राख्न प्रतिसवारीसाधन सवारी धनीसँग लिइने शुल्क अपारदर्शी, अस्पष्ट रहेको भन्ने जनगुनासो रहेको छ । सम्पूर्ण लागत रकम सेवाग्राहीबाटै उठाउने सरकारको लक्ष्यसमेत रहेको देखिएको छ । उक्त शुल्कलाई पुनर्विचार गर्न, प्रस्तावित शुल्कलाई व्यावहारिकताका आधारमा परिमार्जन गर ।
३. इम्बोस्ड नम्बर प्लेट प्रयोगमा ल्याउन आवश्यक प्रविधि, उपकरण एवं सञ्चालनको पूर्वतयारीका लागि आवश्यक पर्ने डेटा सेन्टर, कन्ट्रोल रुम, स्याटेलाइट कनेक्सन, रिडेबल डिभाइस र टावरलगायतका कार्यले पूर्णता नपाएको देखिएको छ । ती कार्यहरूलाई तत्काल पूर्णता दिन र त्यसपछि मात्र सेवाप्रवाह गर्न, गुणस्तरमा सुनिश्चितता गर्न, स्मार्ट लाइसेन्स वितरणमा देखिएको जस्ता समस्या-अवरोध इम्बोस्ड नम्बर प्लेट वितरणमा आउन नदिनेतर्फ सचेत रहन र स्तरीय सेवा उपलब्ध गराऊ ।
४. सवारीसाधनका लागि नम्बर प्लेट वितरण गर्ने कार्य अञ्चलगत आधारमा गरिँदै आएकोमा अब अनिवार्य रूपमा प्रदेशगत आधारमा गर्ने व्यवस्था मिलाउ ।
५. इम्बोस्ड नम्बर प्लेटमा नेपाली अक्षर नरहने भन्ने जनगुनासो रहेको सन्दर्भमा नेपाली अक्षर राख्न किन नसकिने हो सोसम्बन्धी जानकारी ७ दिनभित्र समितिलाई उपलब्ध गराऊ । साथै, नम्बर प्लेटमा देवनागरी लिपि राख्ने सम्बन्धमा आवश्यक उपाय पहिल्याई गृहकार्य अघि बढाउ । -नयाँ पत्रिकाबाट
तेलको मूल्य यस वर्षैभरि १०० डलर नाघ्ने प्रक्षेपण, विश्व अर्थतन्त्रमा दबाब बढ्ने संकेत
काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य यस वर्षभरि नै प्रति ब्यारेल एकसय अमेरिकी डलरको हाराहारीमा रहने प्रक्षेपण सार्वजनिक भएको छ । अमेरिकी बहुराष्ट्रिय वित्तीय संस्था जेपी मोर्गनले तेल आपूर्तिमा देखिएको अस्थिरता र मध्यपूर्वी तनावका कारण मूल्य उच्च रहने अनुमान गरेको हो । बीबीसीका अनुसार जेपी मोर्गनले सार्वजनिक गरेको विश्लेषणमा विश्वव्यापी आपूर्ति सहज हुने अवस्था तत्काल नदेखिएकाले कच्चा तेलको मूल्य यस वर्षको बाँकी अवधिभरि प्रति ब्यारेल एकसय डलर आसपास रहने उल्लेख गरिएको छ । बैंकले सन् २०२६ मा पनि औसत मूल्य ९७ डलर रहने प्रक्षेपण गरेको छ । विशेषगरी विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने स्ट्रेट अफ हर्मुजमा देखिएको अवरोध र आपूर्ति शृंखलामा कायम असहजताले बजारमा दबाब बढाएको विश्लेषण गरिएको छ । विश्वको करिब २० प्रतिशत तेल ढुवानी यही सामुद्रिक मार्ग हुँदै हुने भएकाले यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा सीधा असर पार्ने गरेको छ । मध्यपूर्वमा बढ्दो तनावका बीच युद्ध अन्त्यका लागि इरानले अघि सारेका सर्तहरू स्वीकार गर्न अमेरिका तयार नदेखिएपछि तेल बजार थप प्रभावित बनेको छ । यता, इरानले पनि बाह्य दबाबसामु नझुक्ने अडान दोहोर्याउँदै आएको छ, जसले ऊर्जा बजारमा अनिश्चितता झन् बढाएको विश्लेषकहरूको भनाइ छ । यसैबीच, अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ । पछिल्लो कारोबारमा यसको मूल्य प्रति ब्यारेल ४ प्रतिशतले बढेर १०५.९४ डलर पुगेको जनाइएको छ । अप्रिल ८ मा युद्धविराम लागू भएपछि केही समय स्थिर देखिएको बजार पुनः उकालो लाग्दै प्रति ब्यारेल १०० डलर माथि पुगेको हो । ऊर्जा मूल्यमा आएको तीव्र उतारचढावले विश्वभरका ठूला ऊर्जा कम्पनीहरूको आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ । साउदी अराम्कोकाले सन् २०२६ को पहिलो त्रैमासिक आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतभन्दा बढीले बढेको जनाएको छ । त्यस्तै, बिपीले आफ्नो नाफा दोब्बरभन्दा बढी भएको प्रतिवेदन सार्वजनिक गरेको छ भने शेललले पनि आम्दानी वृद्धि भएको जानकारी दिएको छ । अराम्कोका प्रमुख कार्यकारी एक अधिकृतले युद्ध अन्त्य भए पनि ऊर्जा बजार तत्काल सामान्य अवस्थामा फर्किन नसक्ने चेतावनी दिएका छन् । उनका अनुसार, “यदि होर्मुज मार्ग तत्काल खुलिहाले पनि आपूर्ति सन्तुलनमा फर्कन समय लाग्नेछ । विश्व ऊर्जा बजार पूर्ण रूपमा सामान्य हुन सन् २०२७ सम्म कुर्नुपर्ने अवस्था आउन सक्छ ।” यता, तेल उत्पादनमा आएको गिरावटले पनि मूल्य बढाउन थप योगदान गरेको देखिएको छ । अाेपीईसीका अनुसार तेल उत्पादनमा दैनिक ८ लाख ३० हजार ब्यारेलले कमी आएको छ । हाल विश्वभर दैनिक करिब २०.०४ मिलियन ब्यारेल तेल उत्पादन भइरहेको छ । विश्व बजारमा तेल र ग्यासको मूल्य निरन्तर उकालो लागिरहँदा यसको असर इन्धन आयातमा निर्भर मुलुकहरू, विशेषगरी नेपालजस्ता अर्थतन्त्रमा थप महँगी र व्यापार घाटा बढ्ने जोखिमका रूपमा देखिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुकाे सहयाेगमा
चार महिनामा ८३ हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ घुमे
मुस्ताङ । सन् २०२६ को सुरुआती चार महिनामा ८३ हजार १४९ विदेशी पर्यटक मुस्ताङ घुम्न आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका अनुसार यो सन् २०२५ को सोही अवधिकोभन्दा बढी हो। यहाँ सन् २०२६ को जनवरीमा १० हजार ८०३, फेब्रुअरीमा ९ हजार चार, मार्चमा २३ हजार २०४ र अप्रिलमा ४० हजार १३८ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। यसअघि सन् २०२५ को सोही अवधिमा ५१ हजार ८९६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । त्यस वर्ष जनवरीमा चार हजार ३४६, फेब्रुअरीमा पाँच हजार ३०३, मार्चमा १९ हजार ९५ र अप्रिलमा २३ हजार १५२ जना विदेशी पर्यटक यहाँ आएका थिए । कार्यालय प्रमुख गुप्तका अनुसार सन् २०२५ को पहिलो चार महिनाको तुलनामा सन् २०२६ को पहिलो चार महिनामा ३१ हजार २५३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको हो । यहाँ भित्रिएका विदेशी पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेका छन्। यहाँ आउने पर्यटकमध्ये अधिकांशले मुक्तिनाथ दर्शन गरी फर्किने गरेको पाइएको छ। पोखरा–जोमसोम हवाईमार्ग र सडकमार्ग हुँदै आउने तेस्रो मुलुकका (सार्कबाहेक) पर्यटकहरू जोमसोम हुँदै उपल्लो मुस्ताङ प्रस्थान गर्ने गरेको एक्यापले जनाएको छ।
तेलकाे मूल्य वृद्धिसँगै विश्व आर्थिक अवस्था थप चुनौतीपूर्ण बन्ने अनुमान
काठमाडाैँ । अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टालिना जर्जिएभाले पश्चिम एसियामा जारी युद्ध सन् २०२७ सम्म लम्बिएमा विश्व अर्थतन्त्रमा अझ गम्भीर प्रभाव पर्न सक्ने सम्भावना औंल्याएकी छिन्। वासिङ्टन डी.सी.मा आयोजित एक कार्यक्रममा बोल्दै उनले तेलको मूल्य प्रति ब्यारेल १२५ अमेरिकी डलरसम्म पुग्न सक्ने र यसले मुद्रास्फीति थप बढाउने सङ्केत गरिन्। उनका अनुसार यस्तो परिस्थितिमा मुद्रास्फीति मात्र बढ्ने होइन, भविष्यमा मूल्य स्थिर रहने विश्वास समेत कमजोर हुन सक्ने देखिन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले वर्तमान अवस्थालाई ‘प्रतिकूल परिदृश्य’ अन्तर्गत राखिसकेको छ, जसमा दीर्घकालीन द्वन्द्व, तेलको उच्च मूल्य र बढ्दो मुद्रास्फीति दबाबजस्ता पक्षहरू समावेश छन्। गत अप्रिलमा सार्वजनिक गरिएका तीन सम्भावित परिदृश्यहरूमध्ये ‘सन्दर्भ पूर्वानुमान’, ‘प्रतिकूल परिदृश्य’ र ‘कठोर परिदृश्य’ समावेश रहेका छन्। प्रतिकूल परिदृश्यअनुसार सन् २०२६ मा विश्व आर्थिक वृद्धि २.५ प्रतिशतमा सीमित हुने तथा मुद्रास्फीति ५.४ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । अझ गम्भीर ‘कठोर परिदृश्य’ लागू भएमा आर्थिक वृद्धि दर २ प्रतिशतमा झर्ने र मुद्रास्फीति ५.८ प्रतिशतसम्म पुग्ने सम्भावना व्यक्त गरिएको छ। त्यस्तै, छोटो अवधिको द्वन्द्व रहने अनुमान गरिएको ‘सन्दर्भ पूर्वानुमान’ मा आर्थिक वृद्धि ३.१ प्रतिशत र मुद्रास्फीति ४.४ प्रतिशत रहने अपेक्षा गरिएको थियो । तर वर्तमान परिस्थितिलाई हेर्दा यस्तो सकारात्मक परिदृश्य क्रमशः टाढिँदै गएको संकेत गरिएको छ।
काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ आयातबाट चालु आवको नौ महिनामा सात अर्ब ४४ करोड ७८ लाख १८ हजार राजस्व संकलन भएको उनले जानकारी दिए । कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा सात अर्ब ७५ करोड ९४ लाख मूल्यबराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, पाँच अर्ब ८७ करोड १८ लाख मूल्यबराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको छ । त्यसैगरी, एक अर्ब ९० करोड ५९ लाख मूल्यबराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास, ५७ करोड ५१ लाख मूल्यबराबरको पाँच हजार ९८८ किलोलिटर एटीएफ तथा ७० करोड १२ लाख मूल्यबराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको सूचना अधिकारी हुमागाईंले बताए ।

