एपिएफ पहिलोपटक आहा रारा गोल्डकप च्याम्पियन

एपिएफ पहिलोपटक आहा रारा गोल्डकप च्याम्पियन

पोखरा । आहा राराको दुई दशकको इतिहासमा छ पटकको च्याम्पियन मनाङ मस्र्याङदी फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले पहिलोपटक गोल्डकपको उपाधि चुमेको छ।

यही माघ ६ गतेदेखि सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको २०औँ संस्करणको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा एपिएफले मनाङलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै इतिहास रच्न सफल भएको हो।

आहा रारामा १४ वर्षपछि फाइनलमा स्थान बनाएको एपिएफले च्याम्पियन बन्दै रु १० लाख एक हजार पुरस्कार र ट्रफी हात पार्न सफल हुँदा मनाङले रु पाँच लाख एक हजारमा चित्त बुझाउन बाध्य बन्यो। हालसम्म उपाधि जित्न नसकेको विभागीय टोली एपिएफले उपाधि उचालेसँगै आहा राराले नयाँ च्याम्पियन पाएको छ।

खेलको निर्धारित र अतिरिक्त ३० मिनेटको खेल दुई गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएकामा एपिएफ टाइब्रेकरमा भाग्यमानी भयो। एपीएफको जितमा गोलकिपर युया कोरियामा नायक बन्नुभयो। पेनाल्टी सुटआउटमा मनाङका ओलावाले अफिजको प्रहारलाई रोक्दै कोरियामाले एपिएफलाई पहिलोपटक च्याम्पियन बनाउँदै ऐतिहासिक सफलता दिलाउनुभयो।

टाइब्रेकरमा एपिएफका नवीन लामा, सनिष श्रेष्ठ, रवि थिङ, मणि लामा र अर्मान्ड बिडोमले गोल गर्न सफल हुनुभयो। मनाङका फ्रेङलिन, दयानन्द सिंह, शिव गुरुङ र रुपेश केसीले मात्र गोल गर्नुभयो। खेलको २१औँ मिनेटमा एपिएफका युवराज खड्काले गोल गर्दै अग्रता बनाउनुभएको थियो। पहिलो हाफमा १–० ले पछि परेको मनाङले दोस्रो हाफमा खेलको ६७औँ मिनेटमा दयानन्द सिंहको गोलमार्फत खेल बराबरीमा ल्याउन सफल भयो।

खेलको ८४औँ मिनेटमा फ्रेङलिनको गोलमार्फत् मनाङले अग्रता बनाएर विजय नजिक पुगेको अवस्थामा पाँच मिनेटको इन्ज्यूरी समयको पहिलो मिनेटमा एपिएफका रवि थिङले गोल गर्दै खेललाई अतिरिक्त समयमा लैजान सफल हुनुभएको थियो। अतिरिक्त समयमा दुवै टोलीबाट कुनै पनि गोल हुनसकेको थिएन।

‘क्याराभान गोल्डकप’ सहित १२औँ पटक फाइनल खेलेको मनाङलाई दुईपटक मात्र फाइनल पुगेको एपिएफले स्तब्ध बनाउँदै उपाधि जित्न सफल भएको हो। एपिएफ १४ वर्षपछि दोस्रोपटक फाइनल पुगेको हो। विसं २०६४ मा छैटौँ संस्करणमा पहिलोपटक फाइनल पुगेको एपिएफ नेपाल पुलिस क्लबसँग २–० ले पराजित भएको थियो।

मनाङले भने विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौँ, विसं २०७२ मा चौधौँ, विसं २०७३ को पन्धौँ र विसं २०७६ को १८औँ संस्करणको उपाधि जितेको थियो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि एपिएफका डिफेण्डर राजन गुरुङले प्राप्त गर्नुभयो। उहाँले पुरस्कारवापत एक थान स्कुटर पाउनुभयो।

यसैगरी उत्कृष्ट गोलकिपर एपिएफका युया कोरियाम, डिफेण्डर एपिएफका राजन गुरुङ, मिडफिल्डर एपिएफकै रवि थिङ, फरवार्ड मनाङका ओलावाले अफिज, उत्कृष्ट प्रशिक्षक एपिएफका कुमार थापा, सर्वाधिक गोलकर्ता एपिएफका रवि थिङ घोषित हुँदै जनही रु २५ हजारका दरले पुरस्कार पाउनुभयो। प्रतियोगितामा नेपालका ए डिभिजनका आठ क्लब, विदेशी एक र आयोजक सहाराको गरी १० टोलीले सहभागिता जनाएका थिए। रासस

प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीलाई

काठमाडौं । प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीले लगातार चौथो पटक जित्दै कीर्तिमान बनाएको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा सिटीले वेष्ट हम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । अन्तिम दिनसम्म सिटी र आर्सनल दुवै उपाधि होडमा रहेका थिए । उपाधि जित्न सिटीलाई स्पष्ट जितको आवश्यकता थियो भने आर्सनलको हकमा उपाधि जित्न सिटीले अंक गुमाउनुपर्ने थियो । अन्तिम दिन भने सिटी र आर्सनल दुवै विजयी हुँदा उपाधि सिटीको पक्षमा गयो । सिटीले ३८ खेलबाट ९१ अंक जोड्यो । एभरटन विरुद्ध २–१ को पुनरागमन जित हात पारेको आर्सनलले ८९ अंक जोड्यो । सिटी लगातार चौथो पटक प्रिमियर लिग जित्न पहिलो टोली बनेको छ । सिटीलाई च्याम्पियन बनाउन फिल फोडेनले दुई तथा रोड्रीले एक गोल गरे । सिटी र आर्सनलसँगै लिभरपुल र एस्टन भिल्ला यस सिजन शीर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि पनि छनोट भएका छन् ।

इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा

एजेन्सी । फ्रान्सेली प्रतिद्वन्द्वीलाई हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा पुगेको छ । एटलान्टाले बिहीबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा फ्रान्सेली प्रतिद्वन्द्वी क्लब मार्सेलीलाई ३–० गोलले हरायो । यो नतिजापछि एटलान्टा ४–१ कुल गोल भिन्नताका आधारमा फाइनलमा प्रवेश गरेको हो । अघिल्लो साता खेलिएको सेमिफाइनलको पहिलो खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेग खेल एटलान्टाको घरेलु मैदानमा खेलिएको थियो ।  सेमिफाइनलको दोस्रो लेग खेलमा एटलान्टाले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेल सुरु भएको ३०औँ मिनेटमा एटलान्टाका लागि एडमोला लुकम्यानले पहिलो गोल गरे ।  सोही गोलका कारण पहिलो हाफमा अगाडि रहेको एटलाण्टाका लागि ५२औँ मिनेटमा माटियो रुगेरीले दोस्रो गोल थपे । टोलीका लागि तेस्रो गोल भने इन्जुरी समयको चौथो मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका अल बिलाल टुरेले गरे ।  एटलान्टाले अब फाइनलमा उपाधिका लागि जर्मन क्लब बायर लेभरकुजनसँग प्रतिस्पर्धा गर्नेछ । बायर लेभरकुजन क्लब बलियो मानिएको इटालियन प्रतिद्वन्द्वी रोमालाई हराउँदै युरोपा लिगको फाइनलमा पुगेको हो ।

बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता सुरु

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताएका छन् । प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश सरकारलाई महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न आग्रह गर्ने विश्वास दिलाए । विकासमा पछि परेको पालिका र यहाँका जनताको समस्या समाधानको विशेष ध्यान जाने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमार्फत महाँकाललाई प्राथमिकता दिने बताए ।  ललितपुरको महाँकाल गाउँपालिका–३ गोटीखेलको महाँकाल माध्यमिक विद्यालय परिसरमा आजदेखि सुरु भएको प्रतियोगितामा बागमती प्रदेशका १६ टोलीको सहभागिता रहेको छ भने प्रतियोगिता यही वैशाख २२ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । 

प्रकाश दाहालको स्मृतिमा १२ लाख पुरस्कार राशीको अन्तरपालिका भलिबल हुने

काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  वैशाख २२ देखि २५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाले आयोजना गर्ने प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्नको लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरू गठन गरिएको छ ।  समितिहरूले द्रुत गतिमा तयारी गरिरहेको संयोजक डोल्मा माया गोलेले बताइन् ।  प्रतियोगिताका लागि जिल्ला तहमा ललितपुर जिल्ला खेलकुद विकास समितिले समन्वय तथा सहजीकरणको गरिरहेको छ । यस्तै, पालिका स्तरमा नेकपा माओवादी केन्द्र तथा अन्य संघसंस्थाले तयारीको काम अगाडि बढाइरहेको उनले जानकारी दिइन् । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग छ । त्यसैगरि नेपाल भलिबल संघको प्राविधिक सहयोग रहनेछ ।  प्रतियोगितामा प्रदेशका १ सय १९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख छ भने प्रतियोगिताको विजेतालाई तीन लाख रुपैयाँ, उपविजेतालाई दुई लाख तथा तृतीय हुने २ टिमलाई १÷१ लाख रुपैयाँ प्रदान गरिने छ ।  साथै, उत्कृष्ट प्रशिक्षक र खेलाडी पाँच जनालाई जनही ५० हजार रुपैयाँ पुरस्कार रहेको प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य सन्तु दराई परवानाले जानकारी दिए ।  वैशाख १५ गतेसम्म टिम दर्ताको लागि समय निर्धारण गरिएको छ । टिम दर्ताका लागि १५ हजार रुपैयाँ रकम राखिएको छ । प्रतियोगिताका क्रममा १ करोड ३९ लाख खर्च हुने अनुमान आयोजकले छ ।  महाकाल माविको प्राङ्गणमा हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् भने उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेतृत्वलाई सहभागी गराउनका लागि पहल भइरहेको आयोजकले बताएको छ ।

लोकप्रिय