एमसीसी विकास हैन, विनाश बोकेर आउँदैछः विप्लव

एमसीसी विकास हैन, विनाश बोकेर आउँदैछः विप्लव

नेक्रविक्रम चन्द (विप्लव) महासचिव नेकपा

नेपाली राजनीतिमा अमेरिकी योजना एमसीसीबारे तातो बहस छ । सिङ्गै देश एमसीसीको पक्ष र विपक्षमा बाँडिएको छ । सारा स्वाभिमानी, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी, बुद्धिजीवी, कम्युनिष्टहरू एमसीसीका विरुद्ध उभिएका छन् भने नेपाली कांग्रेस, केपी वली समूह, कमल थापालगायत केही दलाल, कमिसनखोरहरू एमसीसीका पक्षमा देखिएका छन् ।

एमसीसी के हो, यसको उद्देश्य के हो ? र यसलाई संसदबाट पास गरे के गर्न सकिन्छ ? भन्नेबारेमा छोटो चर्चा गरौँ ।

१) एमसीसी भनेको के हो ?
एमसीसीको नेपाली अर्थ सहस्राब्दी चुनौती निगम हुन्छ । यो संस्थाको नामबाट नै स्पष्ट हुन्छ– अमेरिकाले यो सहस्राब्दीमा विश्व व्यवस्थाबारे सैन्य–राजनीतिक दृष्टिले जसरी सोचिरहेको छ त्यसलाई दक्षिण एसियामा कार्यान्वयन गर्ने नै यस संस्थाको ध्येय हो ।

‘एमसीसी भनेको यही आईपीएसको सैन्य राजनीतिक रणनीतिलाई अर्थराजनीतिक मोर्चाबाट लागु गर्ने एकाइ हो । यसले पैसाको पोको बोकेर सेनाको प्रवेश वा हस्तक्षेपलाई ढोका खोलिदिन्छ ।’ 

सबैलाई थाहा छ अमेरिकाले दोस्रो विश्वयुद्ध पछि एसियामा कम्युनिष्ट प्रभाव अर्थात् वैज्ञानिक समाजवादी क्रान्ति रोक्नका लागि प्रशान्त क्षेत्रीय रणनीति सिक्टु बनाएर काम गर्दै आएको थियो । सिक्टुमा जापान, फिलिपिन्स, इन्डोनेसिया, थाइल्यान्ड, अस्ट्रेलियालगायत देशहरूलाई समाहित गरेको थियो । यसले प्रशान्त क्षेत्रमा अमेरिकी हैकम र अतिक्रमणलाई कायम गरायो । तर अमेरिकाको सोचाइअनुसार दक्षिणएसिया समेटिसकेको थिएन । मुख्यतः अन्तर्रा्ष्ट्रिय गठबन्धनमा भारत सोभियत सङ्घतिर ढल्किनुले अमेरिकालाई कठिनाइ भएको थियो ।

सोभियत सङ्घको विघटनपछि भारतलाई च्याप्न केही सहज भएको वा भारतसमेत अमेरिकी प्रभावमा ढल्किन थालेपछि अमेरिकाले दक्षिण एसियालाई नै केन्द्रितगरेर ट्रम्प प्रशासनले हालै हिन्द–प्रशान्त रणनीति (आईपीएस) बनाएको छ । यो भनेको दक्षिण एसियामा सैन्य दृष्टिले अरू केन्द्रित भएर काम गर्ने रणनीति हो ।

एमसीसी भनेको यही आईपीएसको सैन्य राजनीतिक रणनीतिलाई अर्थराजनीतिक मोर्चाबाट लागु गर्ने एकाइ हो । यसले पैसाको पोको बोकेर सेनाको प्रवेश वा हस्तक्षेपलाई ढोका खोलिदिन्छ ।

२) एमसीसीको उद्देश्य

मिलिनियम च्यालेन्ज कर्पोरेसनको मुख्य उद्देश्य दक्षिण एसियामा अमेरिकाले खडा गरेको हिन्द–प्रशान्त रणनीतिलाई अर्थ राजनीतिक मोर्चाबाट कार्यान्वयन गर्ने हो । दक्षिण एसिया स्तरबाट यहाँका देशहरूलाई अमेरिकी सैन्य गठबन्धनमा सहभागी बनाउने र नेपालका सन्दर्भमा नेपाललाई अमेरिकी सैन्य गठबन्धनमा हुल्ने उद्देश्य हो ।

नेताहरू दलालकै रूपमा भासिए भने स्वाधीनताको रक्षाका लागि जनताका बीचबाट देशभक्तिको सङ्घर्ष अगाडि बढाउनुपर्छ । देशको रक्षा गर्नु हरेक नागरिकको अधिकार र जिम्मेवारी हो ।

अमेरिकाले हिन्द–प्रशान्त रणनीतिको मुख्य उद्देश्य चीनको प्रभाव र विस्तारलाई दक्षिण एसियामा रोक्ने हो भनेकै छ तर हामीले नेपाल केन्द्रित अमेरिकी चासोलाई हेर्दा चारवटा भित्री योजना देख्न सकिन्छ । पहिलो, चीनको प्रभावलाई रोक्ने, दोस्रो दक्षिण एसियामा देखिएको कम्युनिष्ट क्रान्तिको सम्भावनालाई रोक्ने, तेस्रो नेपालको कम्युनिष्ट क्रान्तिलाई रोक्ने र चौथो नेपालमा अमेरिकी सैन्य अड्डा खडा गर्ने ।

३) यसको राष्ट्रघाती चरित्र
एमसीसी लिएर अमेरिका आउनुको उद्देश्य हेर्दा प्रस्ट हुन्छ– यो परियोजना नेपालका लागि राष्ट्रघाती छ । यसको राष्ट्रघाती अनुहार अझ छर्लङ्ग एमसीसी सम्झौतापत्रमा देखिन्छ । जब यो सम्झौता संसद्ले पास गर्नेछ त्यसपछि नेपालमा सम्झौतामा उल्लेख भएका हदसम्म नेपाली कानुनको सट्टा अमेरिकी कानुन (सम्झौता अमेरिकी कानुन नै हो लागु हुनेछ ।

नेपालका तत्तत् क्षेत्र अमेरिकी कानुनद्वारा निर्दे्शित र परिचालित हुनेछन् । नेपालका नागरिक नेपालको कानुनबाट होइन, अमेरिकी कानुनबाट शासित हुनेछन् । एमसीसीले विकास हैन, नेपालमा विनाश बोकेर आउँदैछ । भारतमा ब्रिटिसहरू पहिले घुमन्ते बनेर त्यसपछि व्यापारी बनेर त्यसपछि बन्दुक बोकेर त्यसपछि सत्ता खोस्दै आएको जस्तो एमसीसीको पैसा पछि अमेरिका त्यसरी नै आउने प्रस्ट छ ।

एमसीसी विरुद्ध ठूलो जनमत देखिएपछि केपी सरकारले के गर्ला ? भन्ने प्रश्न उठेको छ । तर केपी संसदबाट राष्ट्रघात हुने सम्भावना प्रबल बनेको छ ।

के यो तथ्य स्पष्ट छैन र ! विषय यति गम्भीर हुँदाहुँदै पनि काङ्ग्रेस, केपी वली समूह, कमल थापा र केही कूटनीतिज्ञ भन्नेहरूले एमसीसीलाई आर्थिक सहयोग र विकाससँग जोडेर यत्रो पैसा खेर जान दिनु नहुने, अमेरिकाको विकास होस् भन्ने चाहनालाई हस्तक्षेपमा बुझ्न नहुने, अमेरिकालाई जिस्क्याउन नहुने, शक्तिराष्ट्रसँग खेल्न नहुनेजस्ता अत्यन्त राष्ट्रिय आत्मसमर्पणवादी तर्क गरिरहेका छन् ।

हामीले बुझ्नुपर्छ एमसीसीको विषय धेरै पैसा र कम पैसा, विकास र अविकास, शक्तिराष्ट्र र कमजोर राष्ट्रसँग जोडिएको वा जोड्नुपर्ने विषय होइन । यस्तो तर्क गर्नु भनेको पद र पैसा पाएपछि देश बेचे पनि हुन्छ भन्ने लेन्डुपे तर्क हुन्छ । एउटा रमाइलो के भयो भने एमसीसीलाई आईपीएससँग सम्बन्धित छैन भनेर काङ्ग्रेस, केपी वलीका मान्छेहरू चिच्याइरहेकै बेला अमेरिकी राजदूतावासबाट आईपीएसकै अङ्ग हो भनेर वक्तव्य आयो ।

एमसीसीलाई आईपीएससँग सम्बन्धित छैन भनेर अमेरिकी सेवा गर्न चाहने दलालहरूलाई मालिकले यसरी उदाङ्गो बनाइदियो, दलालीको पनि आँट चाहिन्छ, पैसा चाहिएको हो भने खुला अमेरिकाका पक्षमा उभिएर बोल, हैन भने पाउँदैनौ भनिदियो । अब के गर्ने, मुख्यतः केपी गुटलाई चुनौती थपिएको छ ।

४) राष्ट्रघातको सम्भावना
एमसीसी विरुद्ध ठूलो जनमत देखिएपछि केपी सरकारले के गर्ला ? भन्ने प्रश्न उठेको छ । तर केपी वली, नेपाली काङ्ग्रेस र कमल थापाहरूले एमसीसी जसरी पनि पास गर्नुपर्छ भन्दै गर्दा संसदबाट राष्ट्रघात हुने सम्भावना प्रबल बनेको छ । यसलाई प्रचण्डको केही बुँदा सच्याएर पास गर्नुपर्छ भन्ने चरम अवसरवादी, उपयोगितावादी चरित्रले मलजल गर्ने देखिन्छ ।

हामीलाई एमाले पार्टी फुटाएर पनि केपी गुटले महाकाली सम्झौतालाई संसदबाटै पास गरेर अकल्पनीय क्षति पुर्‍याएको घटना ताजै छ । त्यसबेला पनि केपी गुट, काङ्ग्रेस र राप्रपाहरूकै गठजोड थियो । आज एक्काईस वर्षपछि केपी गुटले पुनः त्यही कलङ्कित अपराध दोहोर्‍याउने सम्भावना छ । सार्वभौमिक भनिएको संसदबाट राष्ट्रघातमा सहीछाप लगाइने सम्भावना बढेको छ ।

यसको छनक केपी वलीले पूर्वसभामुख कृष्ण महराले गर्दा संसदमा पेस हुन र पास हुन सकेन भनेर दिइसकेका छन् । एक प्रकारले भन्दा समस्या एमसीसीको भन्दा केपी प्रवृत्तिको बढी देखिन्छ । रूपमा शान्ति, विकास, राष्ट्र बोके जस्तो तर सारमा पद र कुर्सीका लागि देशलाई नै घात गर्ने प्रवृत्ति जुन प्रवृत्ति काङ्ग्रेस, प्रचण्डहरू भित्र पनि प्रसस्त देखिन्छ । यही प्रवृत्तिका कारण देशले ठूलो मूल्य चुकाउनुपर्ने समस्या आउन सक्छ ।

५) यसको प्रतिरोध
साम्राज्यवादी अतिक्रमण हुँदै गर्दा देशको स्वाधीनता र सार्वभौमिकता कुनै पनि पार्टी, नेता, संसद्, सरकारभन्दा माथि हुन्छ । कुनै नेता, पार्टी, संसद् र सरकारले देश र जनताको प्रतिनिधित्व एवम् नेतृत्व गर्न सक्दैनन् भने तिनको निर्णय, आदेश र नेतृत्व मान्ने हुँदैन ।

देशको स्वाधीनता र सार्वभौमिकताका लागि वास्तविक देशभक्त एवम् क्रान्तिकारी शक्तिले जनताको बीचबाट नेतृत्व गर्नुपर्ने हुन्छ । जसरी रुसमा संसद्को सट्टा सोभियतले र चीनमा च्याङकाई सेकको सट्टा जनवादी सरकारले देशको स्वाधीनताको नेतृत्व गर्नु परेको थियो ।

आज नेपालमा त्यस्तै परिस्थिति र जिम्मेवारी आएको छ । केपी सरकारले संसदबाट एमसीसी पास गर्ने अवस्था आयो, संसद्ले स्वाधीनताको रक्षा गर्न सकेन, देशभक्त नेपालीको प्रतिनिधित्व गर्न सकेन, नेताहरू दलालकै रूपमा भासिए भने स्वाधीनताको रक्षाका लागि जनताका बीचबाट देशभक्तिको सङ्घर्ष अगाडि बढाउनुपर्छ ।

देशको रक्षा गर्नु हरेक नागरिकको अधिकार र जिम्मेवारी हो । जनता एक भएर उठे कसैले हराउन नसक्ने तागत पैदा हुन्छ । देशको स्वाधीनताको रक्षा पनि अन्ततः जनताकै तागतले पूरा गर्छ । ज्वाला खबरबाट

'केपी ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य'

नेकपा (मसाल) पार्टीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै आफ्नो पार्टीको धारणा सार्वजनिक गरेको छ । मसालले ओली प्रधानमन्त्री हुनु दुर्भाग्यपूर्ण बताएको छ।ओलीको नेतृत्वमा सरकार बन्नु नेपालका लागि तात्कालिक र दीर्घकालीन दृष्टिले समेत दुर्भाग्यपूर्ण हुने मसालले बताएको छ । महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य प्रकाशित गरी प्रधानमन्त्री ओली अधिनायकवादी, स्वेच्छाचारी स्वभाव र हद दर्जाको भ्रष्टाचार र प्रतिगामी सोचाइका लागि बदनाम रहेको भन्दै उनमा इमानदारिताको अत्यन्त अभाव रहेको बताएको छ। यस्तो छ मसालको विज्ञप्तिमार्फत सार्वजनिक गरिएको विचार  मोहनविक्रम सिंह/राष्ट्रपतिले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। ओली आफ्नो अधिनायकवादी, स्वेच्छाचारी स्वभाव, हद दर्जाको भ्रष्टाचार र प्रतिगामी सोचाइका लागि बदनाम छन्। त्यसकारण उनको नेतृत्वमा सरकार बन्नु नेपालका लागि तात्कालिक र दीर्घकालीन दृष्टिले समेत दुर्भाग्यपूर्ण हुने छ। त्यसैले हाम्रो पार्टीले उनको नेतृत्वमा बनेको सरकारको कडा विरोध गर्दछ र उनका सबै गलत नीति र कार्यको सम्झौताहीन प्रकारले विरोध वा सङ्घर्ष गर्ने प्रतिबद्धता प्रकट गर्दछ। अहिले एमाले र नेकाबिचमा संविधानमा समेत संशोधनका लागि सहमति भएको कुरा बाहिर आएको छ तर उनीहरूले संविधानमा के कस्ता संशोधन गर्न थालेका छन्, त्यो कुरा गोप्य नै राखेका छन्। संसद्मा अहिलेको समीकरणको पक्षमा संसदमा विचार प्रकट गर्ने सांसदहरूले पनि संविधानमा कुन प्रकारको संशोधन गरिँदै छ, त्यसबारे उनीहरू अनविज्ञ भएको बताएका छन्। आश्चर्यको कुरा हो कि त्यस प्रकारको अनविज्ञता प्रकट गर्दागर्दै पनि उनीहरूले नयाँ समीकरणबाट बन्ने सरकारप्रति आफ्नो समर्थन प्रकट गरेका छन्। त्यसले नेपालको राजनीतिमा भएको गम्भीर प्रकारको दिवालियापनलाई नै बताउँछ। यदि उनीहरूले देश र जनताको हितमा संविधानमा संशोधन गर्ने समझदारी बनाएको भए त्यसलाई गोप्य राख्नुपर्ने आवश्यकता हुँदैनथ्यो तर त्यसलाई गोप्य राखिएको कुराबाट उनीहरूले संविधानमा गर्न लागेको संशोधन देश र जनता तथा संविधानमा स्वीकार गरिएका सकारात्मक व्यवस्थाका पक्षमा नभएको कुरा बुझ्न गाह्रो पर्दैन। राजावादीले पनि संविधानमा संशोधन गर्ने कुरालाई जोडदार प्रकारले समर्थन गरेका छन्। त्यसबाट जनताको महान् आन्दोलनद्वारा प्राप्त उपलब्धिहरू मुख्यतः गणतन्त्र र धर्मनिरपेक्षतामाथि पनि प्रहार गर्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न। ओलीको प्रतिगामी, अधिनायकवादी वा स्वेच्छाचारी चरित्र भएको कुराको इतिहास साक्षी छ। एमालेले गणतन्त्रको लागि सङ्घर्ष गर्ने निर्णय गरेको बेलामा नै उनले गणतन्त्रको नाराप्रति आफ्नो विरोध प्रकट गरेका थिए। उनले संसद्लाई २र२ पल्ट विघटन गरेका थिए। सर्वोच्चले विघटित संसद्को पुनर्स्थापना गरिसकेपछि पनि उनले त्यसलाई ९ महिनासम्म अवरुद्ध गरेका थिए। एमालेभित्र मतभेद चल्दा उनले बहुमतको निर्णय नमान्ने घोषणा गरेका थिए। प्रचण्डसित प्रधानमन्त्रीको आलोपालो गर्ने सहमति भएको भए पनि उनले त्यो सहमतिलाई पालन गरेका थिएनन्। केही दिनपहिले उनी सत्तामा आएपछि ९प्रचण्ड प्रधानमन्त्री भए पनि सत्ताको केन्द्रमा उनी नै थिए० उनले भूमि आयोगलाई विघटन मात्र गरेका थिएनन्, सर्वोच्चले त्यसको पुनर्स्थापना गरेपछि पनि उनले त्यसलाई काम गर्न दिएका थिएनन्। गिरिबन्धु टी स्टेटबारे सर्वोच्चले फैसला गरेपछि पनि उनले त्यो फैसलाका विरुद्ध सार्वजनिक रूपमा नै आलोचना गरेका थिए। यी केही उदाहरणबाट प्रष्ट हुन्छ, उनी संविधान, कानुन, अदालत र बहुमतका निर्णयको अतिक्रमण गर्न अलिकति पनि हिच्किचाउन्नन्। काङ्ग्रेसभित्र पनि गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध ठुलो जनमत छ। ओलीसितको उनीहरूको समीकरणबाट प्रतिगमनलाई मदत पुग्ने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ। यो कुरामा पनि कुनै शङ्का छैन कि उनमा निम्नस्तरको राजनीतिक इमानदारिता पनि छैन। जुन राति उनले नेकासित नयाँ समीकरण गर्ने सहमति गरे, त्यही दिनको दिउँसो नै उनले प्रचण्डसित स्वर्ग वा नर्क जहाँ गए पनि सँगै जाने प्रतिबद्धता प्रकट गरेका थिए। त्यही राति उनी आफ्नो प्रतिबद्धताका विरुद्ध गएर नेकासित प्रचण्डको सरकारलाई अपदस्त गर्ने सम्झौता गरे। त्यसबाट उनी कुनै सिद्धान्त वा नीति मानेर काम गर्ने मान्छे नभएको र उनी विश्वसनीय राजनीतिज्ञ नभएको कुरा पनि प्रष्ट हुन्छ। त्यस प्रकारको अविश्वसनीय चरित्रले गर्दा देश र जनताप्रति पनि उनी इमानदार नहुने र कुनै पनि बेला कुनै पनि प्रकारको धोका दिन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न। त्यस्तो व्यक्तिको नेतृत्वमा बनेको सरकारले देशलाई कहाँ पुर्‍याउने छ रु त्यो कुराको कसैले पनि सजिलैसित अनुमान गर्न सक्दछ। अहिले एमाले र नेपाली काङ्ग्रेसको गठबन्धन बनेको छ। कमसेकम यस अर्थमा नेकाका सभापति शेरबहादुरलाई इमानदार भन्न सकिन्छ कि जस्तो कि स्वयम् ओलीले पहिले संसद्मा दिएको वक्तव्यबाट प्रष्ट हुन्छ, ओलीले शेरबहादुरलाई पनि आफ्नो पक्षमा मिलाएर माओवादी र काङ्ग्रेससमेतको गठबन्धनमा फुट पार्ने प्रयत्न गरेका थिए तर देउवा त्यसरी बेइमानी गर्न तयार नभएको हुनाले प्रचण्डलाई फुटाउने प्रयत्न गरेका थिए र त्यसमा उनी सफल पनि भएका थिए। त्यसबाट तुलनात्मक रूपले देउवा बढी इमानदार भएको देखिन्छ तर आफ्नो अविश्वसनीय चरित्रका कारणले ओली नेपाली काङ्ग्रेसप्रति पनि के इमान्दार रहने छन् रु त्यो प्रश्न उठाउने ठाउँ छ। आउने दिनमा त्यो कुरा प्रष्ट हुँदै जाने छ। नेपाली काङ्ग्रेसले संसद्मा कथित स्वतन्त्र पार्टीका अध्यक्षले सहकारी रकममा गरेको अपचलनको कडा प्रतिरोध गरेको थियो। उनीहरूको त्यो अडान सही थियो र हामीले पनि त्यसलाई समर्थन गरेका थियौँ। अब गृहमन्त्रालय नेपाली काङ्ग्रेसको हातमा नै जाँदै छ। के उनीहरूले सहकारी अपचलनको मुद्दामा पहिले उनीहरूले संसद्मा आवाज उठाए जस्तै इमानदारिता र दृढतापूर्वक कार्य गर्ने छन् रु उनीहरूले आफ्नै अडानका विरुद्ध गएर सहकारी रकम अपचलनको विषयमा कमजोर र सम्झौतापरस्त नीति अपनाए भने जनताले त्यसको कडा विरोध गर्ने छन् र गर्नु पनि पर्दछ। त्यो प्रश्न लाखौँ जनतासित सम्बन्धित प्रश्न हो। त्यसकारण त्यसबारे नेपाली काङ्ग्रेसले इमान्दारिता र दृढतापूर्वक कारबाही गरेर अपराधीलाई सजाय गर्ने तथा जनताको पैसा फिर्ता गर्ने जिम्मेवारी पूरा गर्‍यो भने त्यो स्वागतयोग्य कुरा हुने छ। अहिले कथित स्वतन्त्र पार्टीभित्रका विवाद सार्वजनिक रूपले नै बाहिर आइरहेका छन्। त्यसबाट प्रथमतः जुन उद्घोषका साथ उनीहरूले नेपालको राजनीतिमा प्रवेश गरेका थिए, उनीहरूको त्यो दाबी खालि जनतालाई झुक्याउने चालबाजी मात्र थियो भन्ने कुरा प्रष्ट भएको छ। नेपालको राजनीतिमा प्रायशः जनविरोधी तत्त्वले पनि विभिन्न प्रकारका भ्रम वा प्रलोभन दिएर तथा ठुलो पैमानामा पैसा बाँडेर चुनाव जित्ने गरेका छन्। जबसम्म जनता त्यस प्रकारका भ्रमबाट मुक्त हुने छैनन्† देशमा जनताको सरकारको स्थापना हुन सक्ने छैन तथा जनताका समस्याको समाधान र देशको विकास पनि हुन सक्ने छैन। हामीले त्यो वास्तविकताप्रति सम्पूर्ण जनाताको ध्यान आकर्षित गराउन चाहन्छौँ। देशको विकास हुन्छ वा उन्नति रु त्यसको फैसला अन्तमा जनताको चेतनामाथि नै निर्भर गर्दछ। अहिले पनि हाम्रो यो मत छ कि देशमा प्रतिगमन र साम्राज्यवाद दुवैको खतरा बढेर गएको छ। अहिलेको सरकार बनेपछि र उनीहरूले संविधानमा संशोधन गर्ने भनेपछि राजावादीहरू धेरै नै उत्साहित भएका छन्। नेपालको राजनीतिमा साम्राज्यवादी शक्तिहरू मुख्यतः अमेरिकन र भारतीय साम्राज्यवादको षड्यन्त्रकारी भूमिकाबारे पनि हामी अत्यन्त सावधान हुनुपर्ने आवश्यकता छ। जुन कुराले उनीहरूको खतरालाई गम्भीर बनाइदिन्छ, यो हो कि देशका कैयौँ राजनीतिक शक्तिले साम्राज्यवादपरस्त नीति अपनाउँछन्। विभिन्न साम्राज्यवादपरस्त एनजिओ र आइएनजिओले पनि साम्राज्यवादको पक्षमा देशमा जनमत तयार पार्ने काम गरिरहेका छन्। ठुलो सङ्ख्यामा बुद्धिजीवीमा पनि प्रतिगमन वा साम्राज्यवादपरस्त सोचाइ पाइन्छन्। यी सबै कारणले नेपाल गम्भीर सङ्कटको मुखमा उभिएको छ। त्यो अवस्थामा त्यस प्रकारका सबै खतराका विरुद्ध उच्च सतर्कता अपनाउनु, जनताको उच्च चेतना उठाउनु र सङ्घर्ष सङ्गठित गर्नु पनि हाम्रो जिम्मेवारी हुन्छ। हाम्रो पार्टीले अवश्य पनि त्यस प्रकारको जिम्मेवारी पूरा गर्न प्रयत्न गर्ने छ र सम्पूर्ण जनतालाई पनि हामीले त्यसका लागि आह्वान गर्दछौँ। अन्तमा जनता नै अजेय शक्ति हुन् र उनीहरूको चेतना र भूमिकामाथि नै देशको भविष्य निर्भर गर्दछ। अहिले माओवादी र उनीहरूको पक्षमा भएका कतिपय राजनीतिक सङ्गठनले ओलीका प्रतिगामी प्रकारका नीति र कार्यको विरोध गर्ने विचार प्रकट गरिरहेका छन् तर स्वयम् माओवादी नै अविश्वसनीय र अवसरवादी राजनीतिक शक्ति हो। आफ्नो स्थापना कालदेखि नै आधारभूत सैद्धान्तिक प्रश्नमा त्यसले बारम्बार गर्दै आएका परिवर्तन, जसलाई त्यसले ‘क्रमभङ्गता र गतिशीलता’ बताउने गरेको छ वा प्रधानमन्त्री पदका लागि त्यसले बारम्बार सिद्धान्तहीन र अराजनीतिक प्रकारले गरेको हेराफेरीबाट त्यसलाई विश्वास गर्न सकिने अवस्था छैन। जसरी ओलीमा इमानदारिताको चरम प्रकारको अभाव छ, प्रचण्डमा पनि त्यही प्रकारको प्रवृत्ति पाइन्छ यद्यपि पछिल्लो समयमा ओलीले प्रचण्डलाई मात दिएका छन्। सिद्धान्त र राजनीतिको प्रश्नमा पनि प्रचण्ड हदभन्दा बढी अवसरवादी रहेका छन्। उनले आफ्नो विचारमा कसरी बारम्बार परिवर्तन गरेका छन्, त्यसको एउटा लामो सूची छ। त्यो अवस्थामा उनले देश र जनताको हितका लागि कुनै ठोस, सकारात्मक वा विश्वसनीय भूमिका खेल्न सक्ने सम्भावनाको कमै आशा गर्न सकिन्छ। देशका प्रमुख राजनीतिक शक्तिको त्यस प्रकारको चरित्रले देशलाई अत्यन्त गम्भीर अवस्थामा पुर्‍याएको छ। त्यो समस्यालाई पनि खालि जनताको उच्च चेतनाले नै समाधान गर्न सक्ने छ। अहिले प्रधानमन्त्रीको भर्खर नियुक्ति भएको छ। अब तुरुन्तै मन्त्रिपरिषद् पनि बन्ने छ। अहिले नयाँ बनेको समीकरणलाई खास गरेर उनीहरूले संविधानमा गर्ने भनेको संशोधनप्रति राजावादीहरूले ठुलो उत्साह प्रकट गरेका छन्। त्यसबाट अहिलेको समीकरणले संविधानमा गर्ने भनेको संशोधनको प्रकृति अर्थात गणतन्त्र र धर्मनिरपेक्षतासमेतका विरुद्ध लक्षित हुने त होइन रु त्यसबारे पनि शङ्का गर्नका लागि ठाउँ छ। ओली सुरुदेखि नै गणतन्त्रको विरुद्ध भएको कुरा आधिकारिक रूपमा नै बाहिर आएको छ। त्यसका साथै पशुपतिनाथको मन्दिरमा सुनको जलप चढाएर तथा चितवनमा राममन्दिर निर्माणको कुरा गरेर उनी धर्मनिरपेक्षताको विरुद्ध भएको कुरा पनि बताइसकेका छन्। नेकाभित्र पनि एउटा ठुलो पङ्क्ति राजतन्त्रको पुनर्स्थापनाको पक्षमा र धर्मनिरपेक्षताका विरुद्ध छ। त्यो अवस्थामा अहिले बनेको गठबन्धन सरकारले देशलाई प्रतिगमनतिर लैजाने खतराप्रति हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ र त्यसप्रति हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहान्छौँ। अहिले नेपालमा भएको सत्ताको अदलाबदलीमा विदेशी शक्तिको पनि भूमिका रहेको कुरा आइरहेको छ तर त्यसबारे आधिकारिक रूपले हामीलाई केही थाहा नभएकाले त्यसबारे तत्काल कुनै टिप्पणी गर्नेतिर हामी लाग्दैनौँ। अन्तमा, आउने दिनमा सरकारले अपनाउने नीतिका आधारमा हामीले आवश्यकताअनुसार आफ्ना अरू ठोस नीति र कार्यक्रम निश्चित गर्दै जाने छौँ। त्यस सन्दर्भमा देशको राजनीतिक आवश्यकतानुसार पारस्पारिक समझदारी वा सहमतिका आधारमा संयुक्त मोर्चा वा कार्यगत एकता गर्ने हाम्रो नीति पनि कायम रहने छ।

लोकतन्त्रको १८ वर्षः सकारात्मक चिन्तनमा खडेरी

कृषि क्षेत्र सुधारका लागि भन्दै बैशाख एक गते देखि युवा किसान श्रीराम घिमिरे काठमाडौंको शान्ति वाटिकामा अनसन बसे । उनलाई एक्यबद्वता जनाउन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहभागी हुँदा अनसनरत घिमिरेसँगै रहेका एक सहयोगीले चार मिनेट नौ सेकेण्ड बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरले बन्यो । ४१ सय भन्दा बढिले सेयर गरेको यो भिडियोमा उनले बाबुराम भट्टराईलाई हेर्दै सबै गलत तथ्याङ्क सहित निराशामात्रै बाँडेको देखिन्छ ।  उनले भनेका छन्, ‘५० अगाडि मेरो गाउँमा २ लाख ४० हजार जनसंख्या थियो, कोही विदेश जानुपर्थेन, कोही बेरोजगार थिएन । २०४० सम्म नेपाल संसारकै धनि देश थियो...  अहिले दिनको २० हजार महिला विदेश जान्छन्...’ भिडियोमा ति युवा लगातार बोलिरहेपछि डाक्टर बाबुराम भट्टराईले यस्तो ठाउँमा बहस नगरौं भन्दै रोकेको देखिन्छ ।  यो एउटा उदाहरण भिडियो मात्रै हो, ‘नेता खराब’ भनिएका वा ‘नेपालमा केही छैन’ भनेर निराशा बाँडिएका वा नकारात्मक चिन्तन भएका सामाग्रीहरु नै अहिले नेपालीहरुले बढि रुचाएको पाइन्छ ।  त्यसो त असन्तुष्टी जनाउनु मानवीय स्वभाव हो । विश्वमै पनि असन्तुष्टी जनाउने सामाग्रीहरु बढि रुचाइएको पाइन्छ । त्यही आधारमा मिडिया वा सामाजिक सञ्जालमा पनि नकारात्मक चिजहरुको बढि चर्चा हुने गरेको छ । यही सन्दर्भमा विश्वकै धनि इलन मस्कले एउटा अन्तरवार्तामा भनेका छन्, ‘मैले पत्रिका वा सामाजिक सञ्जाल धेरै हेर्दिन, किनभने त्यसले मलाई नकारात्मक सोच बढाउँछ र मेरो उर्जा घटाउँछ ।’  मानव स्वभावमा देखिने असन्तुष्टीलाई कुन तहमा जनाउने र त्यसको प्रतिक्रिया वा समाधानमा कति चाँसो दिने भन्ने कुरा मुख्य हुन्छ । अहिलेको मुख्य समस्या भनेको कुनै पनि समस्यामा आफ्नो गल्ती नदेख्नु र अर्को पक्षको मात्र दोषी देख्नु हो । जीवनलाई सकारात्मक बनाउनका लागि विश्वव्यापी चलनमा आएको पाँच वटा स्वर्ण नियम (गोल्डेन रुल) यसमा पनि लागू हुन्छ । यस नियमको पहिलो बुँदामा रहेको कुनै पनि समस्या हुनुमा दुबै पक्षको दोष हुन्छ । जस्तैः देश सोचेजस्तो नबन्नुमा देशको नेतृत्वकर्ता नेताहरुको आधा दोष हुन्छ भने जनताको आधा दोष हुन्छ । नेता वा जनप्रतिनिधिहरु जनताबाट निर्वाचित छन् । तिनै जनप्रतिनिधिबाट सरकार बनेको छ । उनीहरुलाई निर्वाचित गर्ने जनता हुन् । त्यसकारण सरकारको कमजोरी छ भने जनताको पनि कमजोरी छ । २०६२/६३ पछि देशमा कुनै पनि पार्टीको बहुमत आउन सकेन । अर्थात जनताले एक पटक विचार गरौं भनेर एउटै पार्टीलाई पूर्ण बहुमत दिएन । फलस्वरुप अस्थिरता कायम रह्यो । जनताकै प्रतिनिधिले बनाएको संविधानले व्यवस्था गरे अनुसारको मिश्रीत निर्वाचन प्रणालीमा एउटा पार्टीको बहुमत आउन कठिन हुन्छ, तर असम्भव हुँदैन । यसो नहुँदै गर्दा पनि लोकतन्त्रको १८ वर्ष पछि केहि पनि नभएको भनेर जसरी नकारात्मक चिन्तन सहित प्रचार हुने गरेको छ र बौद्विक भनिनेहरुबाट समेत यस्तै सामाग्री पस्किने गरिएको छ यो नै नेपालका लागि खतरनाक सोच छ ।  के गणतन्त्रपछि नेपाल अझै बढि ओरोलो लागेकै हो त ? सामान्य हिसाबले पहिलेको अर्थात् हाम्रो बुवा पुस्ताको अवस्था र अहिलेको अवस्था तुलना गरे पुग्छ । त्यतिबेलाको समाजको दैनिकी र अहिलेको समाजको दैनिकीमा कति फरक छ, त्यसको तुलना गरे पुग्छ । शिक्षा, स्वास्थ्य, सडक सहितका पूर्वाधार निर्माण, कृषिमा आधुनिकीकरण सहितका भएका कुराहरुमा तुलना गरे पुग्छ । नभएको एउटै मात्रै हो सकारात्मक चिन्तन ।  सरकारले गरिरहेका राम्रा कामको प्रशंसा गर्न नसक्नु आलोचना मात्रै गर्न सक्नुले फाइदा कसैलाई हुँदैन । व्यवस्था फेरियो, अवस्था फेरिएन होइन, अवस्था पनि फेरियो तर चिन्तन फेरिएन । ‘आधा भरिएको गिलास’ लाई ‘आधा खाली’ देख्नु अहिलेको समस्या हो । ‘वल्र्ड पपुलेसन रिभ्यु’ ले १५ फेब्रुअरी २०२४ मा सार्बजनिक गरेको सूचीमा नेपाली जनताको आइक्यु विश्वमै सबैभन्दा कम ४२.९९ सहित १९९औं स्थानमा राखेको छ । यसको मुख्य कारण नै नेपालीहरुमा असन्तुष्टी बढ्नु र सकारात्मक चिन्तनको कमी हुनु नै हो ।  मानवीय चिन्तन र सोचलाई बदल्नका लागि आफु बदलिन कति प्रयास गरेको छ भन्ने कुराले समग्र कुरामा सकारात्मक वा नकारात्मक असर पर्छ ।  मान्छेलाई चाहिएको खुशी हो की सुख ? यो प्रश्न अहिलेको मुख्य प्रश्न बनेको छ । पद, पैसा र प्रतिष्ठा सहित भौतिक सुख हुँदाहुँदै पनि मानसिक सुख वा खुशी हुन सकेन भने यसले ल्याउने भनेको वितृष्णा र संकट मात्रै हो । अहिलेको समाजले आफु खुशी भएर अरुलाई खुशी बनाउन लाग्ने कि मानसिक दुःख सहित समाजलाई पनि नकारात्मक बनाउन भूमिका खेल्ने भन्ने अहिलेको प्रश्न बनेको छ । यो समाजमा एउटा मान्छे गतिलो छैन, भनिरहँदा त्यो ‘एउटा’ भित्र आफु पनि पर्छु भन्ने मानिसले विर्सिरहेको छ । देशमा कोही एक जना ठिक छैन भनिरहँदा आफुलाई विर्सिरहेको छ । गतिलो र ठिक बनाउन आफुलाई विर्सिरहेको मानिसले अरुलाई खुशी र सन्तुष्टी दिन सक्दैन । त्यसैले पहिलो काम भनेको मान्छेले आफ्नो चिन्तनलाई फेर्न सक्नुपर्छ ।  यसका लागि आवश्यक नैतिक शिक्षा र ज्ञानको विकासमा सबै लाग्नुपर्ने बेला भएको छ ।

गगनको म्याद गुज्रेको गनगन

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले बुधबार साँझ १९ मिनेट ४० सेकेण्डको एउटा भिडियो सन्देश सामाजिक सञ्जालमा सार्बजनिक गरे । पार्टीका नेता कार्यकर्तालाई आश्वस्त पार्न र विचलित नहुनका लागि प्रयास गरिएको यो भिडियो सन्देशमा गठबन्धन भत्किनु र नयाँ बन्नुमा नेकपा माओवादी केन्द्र र उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्पूर्ण रुपले दोश थोपरिएको छ । कुनै फरक परिस्थिति वा संकटको समयमा सामान्यतयाः पार्टी प्रमुखले जनतासामु वा कार्यकर्तासामु आफ्ना विषयवस्तु राख्ने चलन भएपनि यहाँ थापा पार्टी सभापति भन्दा एक कदम अगाडि बढेर भिडियो सन्देश जारी गरेका थिए ।  भिडियो सन्देशमा माओवादी र अध्यक्ष प्रचण्डले गठबन्धन भत्काउन बहानाबाजी मात्रै गरेको र अहिले गठबन्धन नटुटेको भए अर्को महिना, नभए अझै अर्को महिना गठबन्धन टुट्ने उनले भविश्यवाणी पनि गरेका छन् ।  व्यवस्थापिका संसदको बिहीबारको बैठकमा पनि महामन्त्री थापाले प्रमुख सचेतक रमेश लेखकले रोष्टमबाट बोलिरहँदा अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगै बसेर सबैभन्दा बढि टेबुल ठोकेको देखिन्थ्यो । संसद सकिएर बाहिरिदै गर्दा पनि थापाले पत्रकारहरुसँगको कुराकानीमा माओवादीले बहानाबाजी गरेर गठबन्धन तोडेको आरोप लगाए ।  महामन्त्री थापा नेपाली काङ्ग्रेसका तिनै पात्र हुन्, जसले नेपाली काङ्ग्रेस र माओवादीबीचमा गठबन्धन बन्दै गर्दा पनि विरोध गरे । र बनेपछि पनि निरन्तर गठबन्धन विरोधी कित्तामा उभिएर त्यसको नेतृत्व गरिरहे ।  २०७९ को निर्वाचन अघि गठबन्धन नगर्नका लागि सभापति शेरबहादुर देउवालाई निरन्तर दवाब दिइरहेका थापा केन्द्रीय समितिमा अल्पमतमा परेपछि विरोध सहित सम्झौता गर्न बाध्य त भए तर त्यसपछि पनि उनि निरन्तर यो वा त्यो बहानामा गठबन्धन विरुद्वमा सक्रिय रहिरहे । आफु निकटकाहरुलाई स्थानीय स्तरमा पनि माओवादीसँग सहकार्य र समन्वय नगर्न निरन्तर दवाब दिइरहे । गठबन्धन विरुद्वको उनको रबैया यत्तिकै रोकिएन । विभिन्न उपनिर्वाचनहरु र पछिल्लो समय भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि गठबन्धन विरोधी मोर्चा बनाउन सफल भए । गठबन्धन विरोधी क्रियाकलापको उत्कर्षको रुपमा महामन्त्री थापाले फागुन ७ देखि १० सम्म गोदावरीमा भएको नेपाली काङ्ग्रेसको महासमिति बैठकमा अब गठबन्धन नगर्ने प्रस्ताव ल्याए । सभापति शेरबहादुर देउवाको अनिच्छाका बीचमा महासमिति बैठकले यो प्रस्ताव पारित गरेको थियो । जबकी महासमिति बैठकको उद्घाटनको अवसरमा नै सभापति देउवाले विद्यमान निर्वाचन प्रणालीप्रति स्मरण गराउँदै गठबन्धन गर्ने वा नगर्ने तत्कालिन परिस्थितिमा निर्भर हुनुपर्ने बताएका थिए । सुरु देखि अन्तिमसम्म गठबन्धनको विरुद्वमा सक्रिय थापा गठबन्धन टुटाउन सफल भएकोमा खुशी हुनुपर्नेमा बोलीमा ठीक उल्टो गरिहेका छन् । काङ्ग्रेसको संस्थापन विरुद्वको प्रस्ताव पारित गराउन सफल गगन थापा अहिले गठबन्धन निकै प्यारो लागेको जस्तो बोलिरहेका छन् । माओवादी र माओवादी अध्यक्ष प्रचण्डकै कारण गठबन्धन भत्किएको भनिरहेर आफु चोखो बन्ने प्रयास गरिरहेका छन् । पुराना उनका गतिविधि र गठबन्धन विरुद्व तथा माओवादी जनयुद्व विरुद्व उनको निरन्तरको विषबमन नभएको भए सायद उनले अहिले भिडियो सन्देशमा बोलेको वा बाहिर बोलेका कुराहरु पत्याउन कर लाग्थ्यो । तर काङ्ग्रेसकै देउवा पक्षका नेताहरुलाई सुहाउने तर्क थापाले गरिरहँदा पटक्कै नसुहाएको देखिएको छ । त्यस अर्थमा थापाले अहिले बोलिरहेको कुरा म्याद गुज्रेको गनगन को रुपमा बुझ्न सकिन्छ । थापाले बाँडिचुडी खानका लागि अवसरबादी गठबन्धन बनेको भन्दै सरकारको आयु र भविश्यका बारेमा समेत ठोकुवा गर्न भ्याएका छन् । काङ्ग्रेससँग गठबन्धन गर्दा बाँडिचुडी खानका लागि अवसरबाद नहुने अरुसँग गठबन्धन गर्दा बाँडिचुडी खानकै लागि अवसरबाद हुने उनको तर्कमा कुनै दम देखिदैन ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच यसअघि २०७४ देखि नै गठबन्धनको अभ्यास, पार्टी एकताको अभ्यास र फुटको अनुभव समेत देखिन्छ ।  अहिलेको यि पार्टीबीचको गठबन्धन हुँदै गर्दा ती अभ्यास र अनुभवले दुबै पार्टीका शीर्ष नेताहरुलाई अबको गठबन्धन र एकता प्रक्रियाका धेरै कुरामा सोच्न बाध्य बनाएकै हुनुपर्छ । त्यस अर्थमा यो गठबन्धन यत्तिकै र सजिलै बनेको पनि देखिदैन । त्यसैले काङ्ग्रेस महामन्त्री थापाले भनेजस्तो गठबन्धनको आयु पहिले जस्तो छोटो र सरकार परिवर्तन जस्ता कुरामा त्यसको प्रभाव तत्काल पर्ने अवस्था पनि देखिदैन । स्पष्ट बत्ताका रुपमा चिनिएका गगन थापाले अहिले बोलिरहेका कुरा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बिहीबार संसदमा भनेजस्तै ‘बेचैनी र छटपटाहट’को रुपमा बुझ्न धेरै बेर सोच्नु पर्दैन ।  काङ्ग्रेस र माओवादी केन्द्रको गठबन्धन टुट्नुमा काङ्ग्रेसमा बढ्दै गएको गगन थापा प्रबृत्ति नै मुख्य जिम्मेवार देखिन्छ । जनतामा बढेको निराशालाई आशामा परिणत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै शब्दमा औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिवद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? भन्नेमा प्रचण्डले रोजेको दोस्रो विकल्प नै अहिलेका लागि सबैभन्दा उत्तम विकल्प हो । जनचाहना अनुसार बेलैमा उचित निर्णय गर्नुपर्नेमा सरकार बाहिर हुनुपरेपछि अनावश्यक टिप्पणी गर्नुको अर्थ हुँदैन । प्रतिपक्षमा नै रहेर जनताका जनजिबिका र सुशासनका पक्षमा निरन्तर आवाज उठाउन सकेमा काङ्ग्रेसकै लागि हितकर हुनेछ ।  

नेपालको शान्ति प्रक्रिया, सक्रमणकालीन न्याय र प्रचण्डविरुद्धको मुद्धा

नेपालमा सञ्चालित माओवादी जनयुद्धका क्रममा भएका घटनामा नियमित अदालतमा मुद्धा चलाउने वा सक्रमणकालीन न्यायको वाटोवाट न्याय निरुपण गर्ने भन्ने विषयमा फेरि बहस सुरु भएको छ । यही फागुन १९ गते सर्वोच्च अदालतले माओवादी जनयुद्धका प्रमुख कमाण्डर रहेका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध जनयुद्धकालका घटनामा रिट दर्ता गर्न अनुमति दिएपछि सर्वोच्च अदालतवाटै बिस्तृत शान्ति सम्झौता र संविधानको भावना कुल्चने काम भएको महशुस हुँदैछ । कानूनतः सर्वोच्च अदालतको क्षेत्राधिकारभित्र नरहेको र उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् टुंगो लगाउनुपर्ने विषयमा सर्वोच्चले आदेश जारी गरेको धारणा सरकार र माओवादी दुवै पक्षले सार्वजनिक गरिसकेको छ ।यो आदेशपछि नेपालको शान्ति प्रक्रियामा सहभागी विभिन्न पक्षकोसमेत ध्यान तानिएको छ । सर्वोच्चको आदेश लगत्तै फागुन २१ गते बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, एकीकृत समाजवादी, राजमो, नेसपासहित ९ दलको बैठकले संविधान र बृहद शान्ति सम्झौता अनुसार सक्रमणकालका घटनाको टुंगो सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगमार्फत् लगाइने वताउँदै यससम्वन्धमा संसदवाटसमेत आवश्यक कानून बनाउने प्रतिवद्धता सार्वजनिक गरेको छ । २०६३ मंसिर ५ गते तत्कालिन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र जनयुद्धरत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” बीच भएको बिस्तृत शान्ति सम्झौताको बुँदा नम्बर ५.२.५ मा भनिएको छ “सशस्त्र द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार उल्लङ्घन गर्ने र मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिहरूको सत्यतथ्य छानबिन गर्न र समाजमा मेलमिलापको वातावरण सिर्जना गर्न आपसी सहमतिबाट उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न दुवै पक्ष सहमत छन् ।” यसैगरी उक्त सम्झौताको बुँदा ५.२.७ मा दुवै पक्षले राजनीतिक कारण र विचाराधीन मुद्दाका आधारमा लगाइएका सबै आरोप, अभियोग र उजुरी फिर्ता लिने र राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्ने ग्यारेन्टी गरिएको छ । नेपाल सरकार र माओवादीबीच भएको सोही बृहद शान्ति सम्झौताका आधारमा देशमा राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना हुनुका साथै संविधानसभाको चुनाव सम्पन्न भई संविधानसभाले नयाँ संविधान जारी गरिसकेको छ । बिस्तृत शान्ति सम्झौतालाई अन्तरिम संविधानको अंग बनाइएको र सोही सम्झौताअनुसार देश राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणको वाटोमा अघि बढिसकेको अवस्थामा अहिले फेरि जनयुद्धकालीन घटनालाई परम्परागतढंगले अदालती प्रक्रियावाटै टुंगो लगाउन खोज्नु नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनलाई नजर अन्दाज गर्नु हो । सर्वोच्च अदालतवाट आदेश जारी गर्ने न्यायधिशद्वय मध्ये न्यायधिश हरिप्रसाद फूयाल् सर्वोच्च अदालत प्रवेश गर्नुपूर्व कानून व्यवसायीकारुपमा अग्नी सापकोटासहित विभिन्न माओवादी नेताको द्धन्द्धकालीन मुदामा नियमित अदालतवाटै कारवाही हुनुपर्छ भन्ने मान्यताका साथ एनजिओ आइएनजिओमार्फत् अभियान चलाउनुका साथै अदालतमासमेत बहस पैरवी गर्दै आएको कुरा कसैवाट छिपेको छैन । साथै हालको प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहँदा विगतमा महान्यायधिवक्ता रहीसकेको र एमालेमा केन्द्रीय लेखा आयोगको सदस्य भइसकेकाले पनि न्यायधिश हरि फूयालवाट प्रधानमन्त्री प्रचण्डविरुद्धको उजुरीमा सुनुवाई गरिँदा निष्पक्षताको सिद्धान्तको बर्खिलाप हुनुका साथै राजनीतिक स्वार्थ प्रेरित हुनसक्ने देखिन्छ । अदालतवाट आएको यस किसिमको विवादास्पद आदेशले विषयलाई थप गम्भीर बनाएको छ । हामी सबैलाई थाहा छ, नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक र अनुकरणीय छ । नेकपा (माओवादी)का प्रमुख नेता प्रचण्डको नेतृत्वमा ०५२ फागुन १ देखि सुरु गरेको जनयुद्धको मुख्य उद्देश्य राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र स्थापना गर्ने रहेको थियो । २०६३ मंसिर ५ गते तत्कालिन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” बीच भएको बिस्तृत शान्ति सम्झौता बमोजिम देशमा राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको हो । सोही सम्झौताका आधारमा संविधानसभाको चुनाव भएर नयाँ संविधान जारी गरिएको हो । पहिलो संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियतले गणतन्त्रात्मक सरकारको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्ने हैसियत माओवादी अध्यक्ष प्रचण्डलाई प्राप्त भएको हो । नयाँ संविधान जारी भएपछि दोस्रो पटक २०७३ सालमा र तेस्रो पटक हाल २०७९ सालमा प्रचण्ड प्रधानमन्त्री बन्नु भयो । अहिले पनि प्रचण्ड प्रधानमन्त्री नै हुनुहुन्छ । नेपालको वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हालका प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सञ्चालित माओवादी जनयुद्धकै कारण संभव भएको हो । प्रचण्डको नेतृत्वमा जनयुद्ध नभएको भए नेपालमा न त संविधानसभावाट नयाँ संविधान बन्दथ्यो, न गणतन्त्र नै संभव थियो । माओवादीकै कारण समावेशिता, समानुपातिक सहभागिता, महिला, दलित, आदिवासी, जनजाति, मधेशी, सिमान्तकृतका अधिकार सम्भव भएको हो । यसरी अहिले देशमा भएका राजनीतिक परिवर्तन र उपलब्धीहरुको बास्तविक जन्मदाता रहेका प्रधानमन्त्री प्रचण्डविरुद्ध अमुक राजनीतिक भाषणलाई आधार बनाएर मुद्धा चलाउन अनुमति दिने सर्वोच्चको आदेश मात्र राजनीतिक स्टन्बाजी हो । यसले कुनै संबैधानिक र कानूनी महत्व राख्दैन । तीन वर्ष अघि पनि द्वन्दकालीन घटनाका सम्वन्धमा अदालती प्रक्रियावाट माओवादीका नेता कार्यकर्तामाथि मुद्धा चलाइन थालेपछि पार्टी अध्यक्ष प्रचण्डले द्वन्दको समयमा माओवादी पक्षवाट भए गरेका घटनाको नैतिक जिम्मा आफूले लिने राजनीतिक भाषण गर्नुभएको थियो । नेपालमा माओवादी जनयुद्धका क्रममा राज्य र बिद्रोही पक्षवाट करिव १७ हजार मानिस मारिएको तथ्यांक छ । यसमा राज्य पक्षवाट १२ हजारभन्दा बढी र माओवादी पक्षवाट करिव ५ हजार मारिएको अनुमान छ । कहिलेकाही माओवादीमाथि “१७ हजारको हत्यारा” भन्दै गालीगलौच गर्ने गरिएको सन्दर्भमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवाद गर्दै बोलेका शब्दहरुवाट केही शब्दमात्रै टिपेर माओवादीका विरोधीहरुले अनर्गल प्रचार गर्दै मुद्धा मामिला गरेकै भरमा सर्वोच्चले मुद्धा चलाउन अनुमति दिने हो भने नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुग्नुको साटो विथोलिदै जाने अवस्था आउन सक्छ । माओवादी जनयुद्धका समयमा भएका एक एक घटनामा सक्रमणकालीन न्यायको साटो नियमित अदालतकै वाटो समात्ने हो भने ०५२ साल फागुन १ गते यता सरकारमा पुगेर माओवादी समाप्त पार्ने नाममा जनतामाथि दमन श्रृंखला चलाएका नेपाली कांग्रेस, एमाले, राप्रपाका नेता र स्वयं राजा ज्ञानेन्द्रमाथिसमेत सयौ ज्यानमुद्धा लाग्न सक्छ । त्यतिमात्रै होइन, २००७ सालको राण शाषन विरुद्धको लडाईमा नेपाली कांग्रेसले हतियार बोकेकै हो र मान्छे मारेकै हो । ०२८ सालको झापा आन्दोलनमा एमलेले व्यक्तिहत्याको वाटो रोजेकै हो । यी घटनामा तत्कालिन पार्टी नेतृत्वले राजनीतिक उद्देश्य प्राप्तिका लागि गरिएको भन्दै नैतिक जिम्मा लिने गरेको थियो । नैतिक जिम्मा लिएकै भरमा मुद्धा चलाउँदै जाने हो भने २००७ साल, २०१७ साल, २०२८ साल र ०४६ साल लगायतका सबै आन्दोलनका क्रममा भएका हिंसा र हत्यामा तत्कालिन नेतृत्वकर्ता विरुद्ध मुद्धा चलाउनु पर्ने हुन्छ । के यसरी राजनीतिक प्रतिशोध साधेर मुद्धा चलाउँदै गएर नेपालमा शान्ति कायम होला त ? अवश्य हुँदैन । तर २०५२ सालको जनयुद्ध, जसका कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव बन्यो, त्यसका अगुवा माथि मुद्धा चलाउनुको अर्थ अहिलेको परिवर्तन र संविधानमाथिकै प्रहार हो । नेपालको विस्तृत शान्ति सम्झौताको मक्सद गम्भीर अपराधमा संलग्नहरुलाई कुनै पनि कारवाही नगर्ने भन्ने हुँदै होइन । राजनीतिक द्वन्दपछि शान्ति प्रक्रियामा सहभागी हुँदा नियमित अदालतभन्दा बेग्लै कार्यादेशसहित बन्ने संयन्त्रहरुवाट न्याय प्रक्रिया अघि बढाउदा समाजमा शान्ति र मेलमिलाप कायम हुनुका साथै द्वन्द अन्त्य गर्न सकिने अन्तराष्ट्रिय अनुभवहरु छन् । विश्वका विभिन्न देशमा भएका राजनीतिक द्वन्द र शान्ति सम्झौताका अनुभवका आधारमा नेपालमा पनि निश्चित विधि, प्रक्रिया र संयन्त्रवाट सक्रमणकालीन न्यायको वाटो तय गरिएको हो । द्वन्दमा दुवै पक्षवाट भएका घटनाको छिटो छानविन गरेर सत्य तथ्य पत्ता लगाउने, गम्भीर र नियतवस भएका घटनामा कारवाहीको शिफारिस गर्ने, परिस्थितिजन्य र अन्य घटनामा एकआपसमा मेलमिलाप गर्न चाहेमा मध्यस्थता गर्ने, क्षतिपूर्ती र राहत उपलब्ध गराउने तथा आममाफी दिन सकिने घटनामा आम माफीको शिफारिस गर्ने जस्ता कार्यहरु सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्न सक्छ । यी कामका लागि नियमित अदालतको साटो फरक संयन्त्र बनाएर न्याय दिँदा एकातिर सत्य के हो भनेर स्थापित हुन्छ भने अर्कोतिर समाजमा मेलमिलाप र एकले अर्कोलाई स्विकार्ने अवस्था सिर्जना हुन्छ । बास्तविक पीडितले न्याय पाउने, गम्भीर घटनाका दोषीले उन्मुक्ति पनि नपाउने र सामाजिक सम्बन्धहरुमा खलल पैदा नहुने वाटो नै अहिलेका लागि सक्रमणकालीन न्याय निरुपणको बाटो हो ।

लोकप्रिय